नैष्क्रम्यबाट करुणातर्फ

नैष्क्रम्य र करुणा उस्तै दृष्टिकोण हुन्, दुवै दुःख र दुःखका हेतुबाट मुक्त हुने संकल्प हुन्। फरक मात्र के हो भने पहिलो आफैंप्रति केन्द्रित हुन्छ भने दोस्रो अरूप्रति। जब हामी नैष्क्रम्यको विकाससँग सम्बन्धित सबै पक्ष (जस्तै हेतु, सम्बद्ध चैतसिकहरू, विषयवस्तुको बुझाइ आदि) बारे विस्तारमा थाहा पाउँछौं, तब करुणा पनि पूर्णरूपमा विकसित गर्न सक्षम हुन्छौं।

नैष्क्रम्य र करुणा त्यस्ता महत्वपूर्ण चित्तावस्था हुन् जसलाई बौद्ध आध्यात्मिक पथमा अगाडि बढ्दा हामीले आफ्नो प्रेरणाको अंगका रूपमा विकसित गर्नुपर्छ। ती दुवै चित्तावस्था एक आपसमा धेरै नजीकबाट जोडिएका छन्, त्यसैले म यहाँ ती दुवैसँग सम्बन्धित केही खास विषयहरूको चर्चा गर्न चाहन्छु। वास्तवमा ती दुवै चित्तका एउटै अवस्था हुन्, फरक केवल तिनीहरू कतातिर लक्षित छन् भन्नेमा मात्र छ। 

बुद्धधर्मका सबै शिक्षाको लक्ष्य हामीलाई आफ्ना दुःख र समस्याबाट छुटकारा पाउन सहयोग गर्नु हो। यसका लागि अवलम्बन गरिने उपाय भनेको दुःख र समस्याका जुन वास्तविक कारण आफूभित्रै छन्, तिनलाई जान्ने र तिनबाट आफूलाई मुक्त गर्ने हो, ताकि तिनले फेरी दुःख उत्पन्न गर्न नसकुन्। ती कारणलाई फेरी कहिल्यै नदोहोरिने गरी सधैँका लागि हटाउन सकिन्छ भन्ने दृढ मान्यताका साथ यो उपाय अवलम्बन गरिन्छ। त्यसका लागि हामीले चित्तको एक मार्ग विकसित गर्नुपर्छ, जसबाट त्यस्तो बोध हासिल गरिन्छ जसले हाम्रो दुःखको मूल कारण (ज्ञानको अभाव, अविद्या) लाई पूर्णरूपमा परास्त गर्छ र जरैदेखि नष्ट गर्छ। 

यो विधि बुद्धले दिनुभएको पहिलो र सबैभन्दा आधारभूत शिक्षा अर्थात् चार आर्य सत्यको ढाँचासँग मिल्छ। नैष्क्रम्य र करुणा दुवै दुःखतर्फ नै लक्षित देखिन्छन् र तिनको अभिप्राय दुःख समाप्त होस् भन्ने नै हो। यी दुवैमा मुख्य अन्तर के हो भने नैष्क्रम्यमा हाम्रो चित्त आफ्नो दुःखमा केन्द्रित हुन्छ भने करुणामा अरूको दुःखमा। त्यसो हुँदा चित्तको अवस्था त उस्तैखाले हुन्छ, होइन र? तर यहाँनेर के प्रश्न उठ्छ भने दुवैमा संलग्न मनोभाव वास्तवमै एउटै हो? या आफ्नो मनोभावलाई एकबाट अर्कोमा कसरी रुपान्तरित गर्न सक्छौं? 

नैष्क्रम्य र करुणाको अर्थ

नैष्क्रम्यको अंग्रजी अनुवाद “रिनन्सिएसन्” अंग्रेजी भाषामा मात्र होइन, पश्चिमी जगतमा बुद्धधर्मको चर्चा गर्दा प्रायः अन्य सबै भाषामा प्रयोग गरिन्छ। तर संस्कृत वा तिब्बती भाषामा प्रयोग गरिएको मूल शब्दको सही अनुवाद त्यही हो कि होइन भन्ने प्रश्न मनमा उठ्छ। कसैलाई उक्त शब्द प्रारम्भिक दिनका धर्मप्रचारकहरूले पश्चिममा धर्मको अनुवाद गर्ने क्रममा आफैं प्रतिपादित गरेका हुन् कि भन्ने विचार पनि आउँछ। उनीहरूले बुद्धको शिक्षालाई मौलिक रूपमा नबुझी फरक अवधारणाबाट बुझेर त्यसै अनुसार प्रस्तुत गरेका हुन् कि भन्ने प्रश्न पनि उठ्छ। किनकि “रिनन्सिएसन्” भन्ने शब्दले सांसारिक कुरामा संलग्न रहनु नराम्रो हो, त्यसैले सबैथोक त्यागेर कुनै गुफा वा विहारमा गएर बस्नुपर्छ भन्ने खालले अर्थ दिन्छ। तर संस्कृत र तिब्बती भाषामा प्रयुक्त शब्दहरू “निःशरण” र “ङे–जुङ्” ले दिने खास अर्थ त्यो होइन। विशेष गरी तिब्बती भाषामा प्रयोग भएको शब्द लिने हो भने त्यसको अर्थ हुन्छ – एक अठोट। यसको भावार्थ कुनै निश्चित चीज बन्ने अठोट हो। यसको वास्तविक अर्थ भनेको दुःखबाट मुक्त बन्ने अठोट हो।     

दुःखबाट मुक्त हुने अठोटको विकासका लागि दुःख र यसका कारणहरूलाई छाड्ने तत्परता आवश्यक हुन्छ। त्यसैले यसको लक्ष्यार्थ कुनै चीज छाड्ने वा कुनै चीजबाट विमुख हुने हुन्छ। त्यो कुनै चीज भनेको दुःख र यसका कारणहरू हुन्, जसलाई हामी पहिला चिन्छौं र त्यसमा आफ्नो ध्यान केन्द्रित गर्छौं। पहिला त मैले यो जे अनुभव गरिरहेको छु त्यो दुःख हो, यसको कारण यो हो, मलाई अब फेरी यही कुरा भोग्नु छैन, मलाई यसबाट मुक्त हुनुछ भन्ने भाव आउनुपर्छ। अनि मात्र हामी त्यसलाई छाड्ने तत्परता जागृत गर्न सक्छौं। यसको तटस्थ अभिव्यक्ति “म चाहन्छु यो दुःख जाओस्” भन्ने हुन्छ। चाहे हाम्रो चित्त आफ्नै दुःखमा केन्द्रित होस् या अरूकोमा (करुणाको हकमा), यही कुरा लागू हुन्छ। आफू होस् या अरू, दुःख भोग्ने व्यक्ति मात्र फरक हो, कामना त एकै हो। हामी यो दुःख जाओस् भन्ने कामना गर्छौं।   

नैष्क्रम्य र करुणा उत्पन्न गर्न आवश्यक तत्व 

हामी आफ्नो ध्यान कुन कुरामा केन्द्रित गर्दैछौं (अर्थात् कुनै विशेष दुःख र त्यसको वास्तविक कारण, जुन आफू स्वयंले या अरू कसैले भोगिरहेको छ) भन्ने जान्नु एकदमै महत्वपूर्ण हुन्छ; साथै त्योसँग सम्बन्धित अन्य कारणहरूबारे जान्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ।  चोङ्खापाले आफ्नो ग्रन्थ सूत्र तथा तन्त्रसम्बन्धी व्यावहारिक उपदेश (लेटर अफ प्राक्टिकल एड्भाइस अन सूत्र एण्ड तन्त्र) मा प्रभावकारी ध्यान अभ्यासका लागि आवश्यक तत्वहरूबारे एकदमै स्पष्टसँग बताउनुभएको छ। त्यसमा सबैभन्दा पहिले त ध्यान भनेको के हो जान्नु नै हो। ध्यान त्यो विधि हो जसमा हामी कुनै निश्चित चित्तावस्था बारम्बार आफूमा उत्पन्न गरेर वा ध्यानको आलम्बनमा निरन्तर आफ्नो मन राखेर उक्त चित्तावस्था वा आलम्बनप्रति आफ्नो मनलाई अभ्यस्त बनाउँछौं। उक्त चित्तावस्थाप्रति मनलाई अभ्यस्त बनाउनका लागि यससँग सम्बन्धित मसिना सबै पक्षहरूलाई जान्नुपर्छ। हामीले के जान्नुपर्छ भने :

  • चित्तको उक्त अवस्थाको विषय के हो? यहाँ त्यो विषय भनेको दुःख र यसका कारणहरू हुन्।
  • चित्तले उक्त विषयलाई कसरी लिएको छ? यहाँ ध्यान दिनुपर्ने प्राविधिक शब्द हो – “उक्त विषयलाई कसरी लिएको छ?” चित्तले “त्यो जाओस्, नरहोस्” भन्ने कामनाका साथ उक्त विषयलाई लिएको हुन्छ। दुःख र दुःखका कारणलाई हाम्रो चित्तले त्यत्तिकै आफ्नो ध्यानको विषय बनाएको होइन। उक्त विषय लिने तरिका छ, त्यो तरिका भनेको “नरहोस्” भन्ने अन्तर्यका साथ हो।

हरेक चित्तावस्था अनेक चैतसिकहरूको सम्मिश्रण हो, जस्तै एकाग्रता, आशय, आदि। यदि हामीले ती सबै चैतसिकरूबारे जान्यौं भने आफूले चाहेजस्तो चित्तावस्था विकसित गर्न ठूलो सहयोग मिल्छ। यस सन्दर्भमा हामीले जान्नुपर्ने अन्य धेरै पक्षहरूबारे चोङ्खापाले सटीक रूपमा बताउनुभएको छ, जस्तै : 

  • उक्त चित्तावस्थालाई के ले आधार दिन्छ? अर्को शब्दमा, उक्त चित्तावस्था विकसित गर्नुअघि हामीले कुन कुन चित्तावस्थाको सिर्जना गर्नुपर्छ जसले वान्छित चित्तावस्था विकसित गर्न र त्यसलाई टेवा दिन हामीलाई मद्दत गरोस्। उदाहरणका लागि हामीले दुःख चिन्नु र आफू तथा अरूमा दुःख रहेको थाहा पाउनुपर्ने हुन्छ। 
  • विकसित गर्न लागेको चित्तावस्थालाई कुन कुन चैतसिकले सहयोग पुर्याउँछन् र कुन कुनले हानि गर्छन् भन्ने थाहा हुनुपर्छ। जस्तैः मैत्रीभाव, चाहे त्यो आफैंप्रति लक्षित होस् या अरूप्रति, ले यसलाई सहयोग गर्छ भने घृणाभाव, चाहे त्यो आफैंप्रति होस् या अरूप्रति, ले हानि गर्छ। 
  • विकसित गरेको चित्तावस्थाको लाभ र प्रयोजन या कार्य के हो भन्ने थाहा हुनुपर्छ। जस्तैः नैष्क्रम्यले हामीलाई आफ्नो दुःखबाट वास्तवमै मुक्त हुन सहयोग गर्छ र करुणाले अरूलाई उनीहरूको आफ्नै दुःखबाट मुक्ति पाउन सक्षम बनाउने हाम्रो प्रयासमा सहयोग गर्छ। 

हुनत यो अलि बढी नै प्राविधिक व्याख्याजस्तो लाग्ला, तर बौद्ध वा अन्य कुनै पनि आध्यात्मिक साधना मैत्री र करुणाजस्ता भाव विकसित गर्ने उद्देश्यका साथ गरियो भने वास्तवमै अत्यन्त लाभदायी हुन्छ। तर तपाईं यो अभ्यास कसरी गर्नुहुन्छ? प्रायजसो त हामीलाई मैत्री र करुणा भनेको के हो, सटीक रूपमा थाहा हुँदैन। त्यसैले हामीले खासमा के गर्ने हो, थाहै नपाई त्यत्तिकै खाली दिमागका साथ ध्यानमा बस्छौं। अथवा मैत्री र करुणाबारे हाम्रो आफ्नै धारणा होला, तर ती धारणा प्रायजसो अस्पष्ट हुन्छन्। यदि त्यस्तो अस्पष्ट ध्येयलाई विकसित गर्न खोज्यौं भने बढी से बढी एक अस्पष्ट अनुभूति होला, जुन संभवतः बुद्धधर्ममा हामीलाई विकसित गर्न सिकाइने अवस्थाभन्दा बेग्लै कुनै अन्य अस्पष्ट खालको अनुभूति हुन सक्छ।   

बुद्धधर्ममा हामीले गर्ने अभ्यास र विकसित गर्न लागेको चित्तावस्थालाई “आध्यात्मिक मान्यता” वाला भन्न सकिएला तर यो अभ्यासको विधि वैज्ञानिक र सटीक हुन्छ। यो सटीक हुन्छ, किनभने हामीलाई आफ्नो चित्तसँग सम्बन्धित के काम गर्दैछु र कसरी गर्दैछु भन्ने ठ्याक्कै थाहा हुन्छ। यदि हामीलाई आफ्नो चित्त, हृदय र आवेगहरूसँग कसरी व्यवहार गर्ने भन्ने सटीक रूपमा थाहा भयो भने तिनलाई सकारात्मक ढंगले विकसित गर्न सक्छौं। तर त्यसो भएन भने हाम्रो सबै काम ज्यादै अस्पष्ट हुन्छ।    

हामीमध्ये कसैमा वैज्ञानिक वा तर्कसंगत दृष्टिकोण हुन्छ। कसैमा अन्तर्दृष्टि वा आवेग बढी हुन्छ। तर अन्तर्दृष्टिमाथि अलि विचार गर्ने हो भने त्यही अन्तर्दृष्टि उपयुक्त हुन्छ जुन सटीक हुन्छ। अस्पष्ट अन्तर्दृष्टिले हामीलाई कहीँ पुर्याउँदैन। त्यसैले हाम्रो व्यक्तिगत प्रवृत्ति जस्तो भए पनि स्पष्टता हुनु आवश्यक छ। 

नैष्क्रम्य र करुणासँग सम्बद्ध मानसिक तत्वहरू : “अब त पुग्यो” भन्ने निश्चयात्मक भाव 

नैष्क्रम्य र करुणासँग जोडिएर आउने मानसिक तत्वहरू के होलान्? बौद्ध शिक्षाअनुसार ती चित्तावस्था के हुन् भन्ने कुराको एक सटीक तस्वीर म यहाँ प्रस्तुत गर्न चाहन्छु। यद्यपि ती चित्तावस्था र मनोभावहरूलाई सटीक रूपमा व्याख्या गर्न सके पनि तिनलाई यथार्थमा अनुभूति कसरी गर्ने भन्ने स्वाभाविक प्रश्न उब्जिन्छ। फेरि, अनुभूति गरेको कुरा नै यथार्थमा शिक्षामा बताइएजस्तै हो भनेर कसरी थाहा पाउने?  

ती चित्तावस्था वास्तवमै बौद्ध शिक्षामा बताइएजस्तै हुनका लागि तीसँग कुन कुन मानसिक तत्वहरू जोडिएको हुनुपर्छ भन्ने कुराको सटीक जानकारी भयो भने आफूले अनुभूति गरेको र बौद्ध शिक्षामा बताइएको यथार्थ चित्तावस्थाबीच हामी तुलना गरेर हेर्न सक्छौं। आफूले अनुभूति गरेको चित्तावस्थालाई हामी टुक्र्याएर हेर्छौं, त्यसका विभिन्न अवयवलाई हेर्छौं, र तीमध्ये कुन कमजोर वा दोषपूर्ण छन् भनेर निर्क्यौल गर्छौं। त्यसबाट स्पष्ट चित्तावस्थाको निर्माणका लागि कुन पक्ष सुधार्नुपर्ने रहेछ भन्ने कुरा थाहा हुन्छ। आफ्नो मनोभावलाई विश्लेषण गर्ने र जान्ने यो अभ्यास उक्त मनोभावलाई नष्ट गर्ने प्रक्रिया होइन। अहिले मनोचिकित्सामा पनि यो प्रक्रिया अपनाइन्छ, जसले हामीलाई निको हुन र आफू तथा अरूका लागि उपयोगी हुन मद्दत गर्छ।  

नैष्क्रम्य र करुणामा हुने प्रबल मनोभाव के हो? तिब्बती भाषामा यसलाई “यिद्–जुङ्” भनिन्छ, जसलाई अनुवाद गर्न सजिलो छैन। यो कुनै चीजबाट वाक्क भैसकेको अवस्था हो, अर्थात् “अब त पुगिसक्यो” भन्ने भाव हो। कहिलेकाहीँ यसलाई अलि कडा शब्दमा अनुवाद गरिन्छ, त्यो हो “घृणा”। हामीलाई आफ्नो दुःख देखेर घृणा लागिसक्यो। अरूको दुःख देखेर घृणा लागिसक्यो। तर अलि गहिरिएर विचार गर्दा मलाई के लाग्छ भने यो शब्द ज्यादै कडा भयो। किनकि घृणा सजिलैसँग द्वेषमा परिणत हुनसक्छ, जुन एक नकारात्मक मनोदशा वा क्लेश हो। हामीले भन्न खोजेको मनोदशा अलि तटस्थ खालको हो। “यो दुःख अब त पुग्यो। अब त यो सकिनुपर्छ” – यस्तो भावको हामी कुरा गर्दैछौं, चाहे त्यो दुःख हाम्रो आफ्नै होस् या अरूको। यसमा एक खालको निश्चयात्मकता हुन्छ – “अब त भयो! पुग्यो!” 

सामान्य सन्दर्भमा पनि हामी यो कुरा बुझ्न सक्छौं। मानौं हामी कुनै समस्यामा छौं र त्यसबाट मुक्ति पाउन खोज्दछौं। तर त्यसका लागि तबसम्म कुनै वास्तविक कदम उठाइरहेका हुँदैनौं, जबसम्म “अब त अति भयो! पुग्यो!” भन्ने विन्दुमा पुग्दैनौं र मनले निश्चित रूपमा त्यसबाट मुक्ति पाउनुपर्यो भन्ने ठान्दैनौं। त्यसैले “अब त पुग्यो” भन्ने भाव नैष्क्रम्यको एक प्रमुख अंग हो, एक प्रमुख मनोभाव हो।

कुनै तथ्यलाई यथार्थ हो भनी विश्वास गर्नु

नैष्क्रम्य र करुणासँग सम्बद्ध अर्को मानसिक तत्व हो, श्रद्धा अर्थात् कुनै तथ्यलाई यथार्थ हो भनी गरिने विश्वास। कहिलेकाहीँ यसलाई अंग्रजीमा “फेथ” या निष्ठाका रूपमा अनुवाद गरिन्छ, तर मलाई त्यो ठीक अनुवाद हो भन्ने लाग्दैन। किनभने निष्ठा कुनै असत्य या अनिश्चित कुराप्रति पनि हुन सक्छ, जस्तो कि अर्थतन्त्र एकनास रूपमा बृद्धि भैरहन्छ भन्ने विश्वास। तर हामीले भन्न खोजेको श्रद्धा कुनै सत्य कुराप्रति हो, र यसले उक्त सत्यलाई यथार्थ हो भनी विश्वास गर्छ। त्यसैले हामी ईस्टर पर्वको खरायो वा त्यस्तै कुनै कुराप्रति विश्वास गर्ने कुरा गर्दैछैनौं।

तर्कसंगत/प्रमाणसंगत तथ्यमाथि विश्वास

कुनै तथ्यप्रति विश्वास गर्नुका तीन तरिका हुन्छन्। पहिलो, तथ्य तर्कसंगत छ भने त्यसमा गरिने विश्वास। यहाँ हामी दुःखलाई लिन्छौं। यो अवस्था दुःखपूर्ण हो र यो वास्तवमै अमुक कारणबाट आउँछ भन्ने तथ्यमा हामी दृढ रूपमा निश्चित हुन्छौं। उक्त दुःखबाट मुक्ति पाउन सकिन्छ, र सधैँका लागि मुक्ति पाउन सकिन्छ भन्ने कुराप्रति दृढ विश्वास गर्छौं। 

यो अन्तिम बुँदा एकदमै महत्वपूर्ण छ। यदि दुःखबाट मुक्ति पाउन सकिन्छ र कुनै निश्चित प्रतिपक्षले यसलाई सधैंका लागि निर्मूल गर्न सक्छ भन्ने कुरालाई तर्कसंगत ढंगले बुझेर दृढ विश्वास गरिएन भने अभ्यासको सम्पूर्ण मनोभाव नै भिन्नै रंगको हुन्छ। उदाहरणका लागि हामीलाई आफ्नो जीवनमा भएको कुनै समस्याबारे जानकारी हुन सक्छ र यसको कारणबारे पनि केही जानकारी हुन सक्छ। त्यो समस्याबाट हामी साँच्चिकै पार पाउन खोजिरहेका हुन सक्छौं, र भित्रैदेखि अब त अति भयो भन्ने विन्दुमा पुगिसकेका हुन सक्छौं। त्यसबाट पार पाउन हामी साँच्चिकै केही गर्ने चाहना राखिरहेका हुन सक्छौं। तर त्योसँगै हाम्रो मनमा यो त सम्भव छैन, मैले यो समस्याबाट पार पाउने कुनै उपाय छैन, अब चुपचापसँग यसलाई स्वीकारेर यसैसँग बाँच्नुको विकल्प छैन भन्ने सोच्न थाल्यौं भने के होला? अथवा यो समस्यालाई सधैँ सधैँका लागि भोग्न म अभिसप्त छु भन्ने सोच आयो भने के होला? त्यो बुद्धधर्मले बताएको तथ्यलाई श्रद्धा गरेको भन्दा विल्कुलै भिन्न चित्तावस्था हो, होइन त? आशाको कुनै गुन्जाइस नै छैन भन्ने लाग्छ भने त्यस्तो चित्तावस्थामा सबैथोक घोर निराशापूर्ण हुन्छ। हामी पूर्णरूपमा कुण्ठित हुन पुग्छौं, किनकि हामी आफ्नो समस्याबाट साँच्चिकै पार पाउन त चाहौंला, तर त्यो एक असम्भव कल्पना मात्र हो र केही गर्न सकिँदैन भन्ने ठान्छौं। 

त्यसैले आफ्नो दुःखबाट सदाका लागि मुक्ति पाउन सक्छौं भन्ने कुराप्रतिको हाम्रो दृढ विश्वास तर्कसंगत या प्रमाणसंगत हुनुपर्छ। दुःखबाट कसरी बाहिर निस्कने भन्ने कुराको जानकारी हुनुपर्छ, र त्यो उपायले काम गर्ने कुरामा दृढ विश्वास हुनुपर्छ। यसले हामीमा एक आशा, शक्ति र बलको सञ्चार गर्छ, जो दुःखबाट बाहिर निस्कन साँच्चिकै केही कदम चाल्नका लागि अति महत्वपूर्ण हुन्छ। प्रमाणसंगत तथ्यमा विश्वास गर्नुको अर्थ यही हो।  

मानसिक स्पष्टताका साथ तथ्यमाथि विश्वास

तथ्यमाथि विश्वास गर्नुको अर्को तरिका हो, “कुनै कुराको तथ्यमाथि मानसिक स्पष्टताका साथ गरिने विश्वास”। यसले हामीलाई यो अर्थमा मानसिक स्पष्टता दिन्छ कि चित्त क्लेशहरूबाट मुक्त हुन्छ तर त्यसका लागि चित्तको ध्येयलाई छोड्नुपरेको हुँदैन। यसको अर्थ के हो? यसको अर्थ के हो भने दुःखलाई सदाका लागि अन्त गर्न सकिन्छ भन्ने दृढ विश्वासले हाम्रो चित्तलाई अवसादबाट मुक्त गराउँछ, आफ्नो अवस्थालाई लिएर हुने शंकाबाट चित्तलाई मुक्त गर्छ, र असहायपन तथा डरको भाव चित्तबाट हटाइदिन्छ। अन्यथा धेरै समस्या र कठिनाइ भोग्नुपरेको बेला हाम्रो मनमा ठूलो डर हुन्छ र यस्तो सोच्न थालिन्छ – “यस्तै अवस्था अब सधैं रहिरहन्छ” वा “अवस्था अझ बिग्रन्छ कि भनेर मलाई कुनै कदम चाल्न डर लाग्छ।”

मलाई पक्का विश्वास छ कि हामी सबै आफ्नो वा अरूको जीवनमा यस्ता दृष्टान्तहरू पाउँछौं। उदाहरणका लागि, कुनै व्यक्तिसँग हाम्रो एकदमै नराम्रो सम्बन्ध होला, अति नकारात्मक र दुर्व्यवहारपूर्ण सम्बन्ध होला तैपनि हामी त्यो सम्बन्ध अन्त्य गरेर त्यसबाट निक्लन सक्दैनौं किनकि हामीलाई लाग्छ उक्त व्यक्तिको साथ भएन भने जीवन झनै खराब हुनेछ। तर उक्त सम्बन्ध अन्त्य गर्नाले समस्याबाट छुटकारा पाइन्छ, र त्यसो गर्नाले जीवन सुध्रिनेछ भन्ने कुराप्रति दृढ विश्वास भयो भने हामीलाई मानसिक स्पष्टता प्राप्त हुनेछ र डर तथा अनिर्णयको अवस्था हट्नेछ। 

यस्तो दोस्रो प्रकारको दृढतापूर्ण विश्वास भयो भने हामी दुःखको नकारात्मक पक्षलाई बढाइचढाइ गर्न छाड्छौं। हाम्रो सामु वास्तवमै कुनै समस्या हुन सक्छ, तर यदि त्यसको नकारात्मक पक्षलाई बढाइचढाइ गर्यौं भने त्यसले हाम्रो मनमा एक भयानक दैत्यको स्वरूप लिन सक्छ। अझ मेरो समस्याको कारण बाहिर छ र त्यो बाहिरको कुनै सैतानको काम हो भन्ने अवस्थामा पुगियो भने त्यसले हामीमा भयको सिर्जना गर्छ। तर उक्त समस्याको समाधान गर्न सम्भव छ भन्ने स्पष्ट मानसिकताका साथ नैष्क्रम्यको भाव लियौं भने हामीमा भय हुँदैन। त्योबेला हामी आफ्नो समस्याबाट भाग्दैनौं, अपितु समस्याको सामना गर्छौं र आफू सफल हुन्छु भन्ने दृढ विश्वासका साथ त्यसलाई सुल्झाउनतिर लाग्छौं। 

त्यसैले “संसाररूपी बन्धनबाट मुक्त हुनुछ” भन्ने अभिव्यक्ति प्रयोग गर्दा हाम्रो मनोभाव कस्तो छ, त्यसप्रति सतर्क हुनुपर्छ। यहाँ कुरा के होइन भने बारम्बार र त्यो पनि अनियन्त्रित रूपमा दोहोरिरहने सांसारिक दुःखका कारण उत्पन्न भय वा घृणाका कारण हाम्रो मन विषाद वा अन्यौलले ग्रस्त होस्। त्यसका विपरीत आफूलाई यी सबै दुःखबाट मुक्त गराउन सक्छु भन्ने स्पष्ट मानसिकताका साथ लिइने विश्वासका कारण हाम्रो मनोभाव शान्त, स्पष्ट र सुनिश्चित हुन्छ।

कुनै तथ्यलाई त्योसँग सम्बन्धित अठोटका साथ विश्वास गर्नु

कुनै तथ्यमाथि गरिने विश्वासको तेस्रो तरिका हो – त्योसँग सम्बन्धित अठोटमाथि गरिने विश्वास। यहाँ हाम्रो अठोट हो, “म यो दुःखबाट बाहिर निस्कन्छु। यसबाट मुक्तिका लागि म केही त अवश्य नै गर्छु।” दैनिक जीवनमा पनि यस्तो मनस्थिति हामी देख्छौं। उदाहरणका लागि, कुनै मानिस गरिब परिवारमा जन्मिएको छ, उसलाई आफ्नो बाध्यात्मक अवस्था थाहा हुन्छ र त्यसबाट निस्कन चाहन्छ, जीवनमा केही सफलता हासिल गर्न चाहन्छ। तर त्यसको मतलब उक्त व्यक्तिको मन आफ्नो अवस्थाप्रति घृणाले भरिएको हुन्छ भन्ने होइन। उ आप्mनो गरिबीको चक्रलाई भत्काउन र त्यसबाट मुक्त हुन के गर्नुपर्छ भन्ने जान्दछ; त्यो कुराप्रति उसको मन स्पष्ट र शान्त हुन्छ। त्यसतर्फ उ आवश्यक कदम चाल्दछ, किनकि अब त अति भयो भन्ने उसलाई पक्का थाहा छ। गर्नुपर्ने काम उसलाई थाहा छ, र उ सीधै त्यही काम गर्छ। 

मेरो एक साथीको उदाहरण सम्झिन्छु, जो एकदमै गरिब परिवारमा जन्मेको थियो। उसको घर एकदमै खराब टोलमा थियो। उ जुन स्कूलमा, जुन कक्षामा पढ्थ्यो, त्यहाँका अधिकांश साथी गुण्डा टोलीका सदस्य थिए, आपसमा मारपीट गरिरहन्थे। उ आफ्नो त्यो अवस्थाबाट मुक्त हुन चाहन्थ्यो, त्यसप्रति उ दृढ संकल्पित थियो। त्यसका लागि के गर्नुपर्छ भन्ने उसलाई थाहा थियो। त्यसैले उसले निकै मेहनत गरेर पैसा जम्मा पार्यो, अध्ययनका लागि विश्वविद्यालय गयो र चिकित्सा विज्ञान पढ्यो। अहिले उ एक ज्यादै सफल मस्तिष्क शल्यचिकित्सक बनेको छ।   

करुणा र नैष्क्रम्यमा समान तत्वहरू छन् 

नैष्क्रम्य भनेको यही हो, यो आफ्नो दुःखमा केन्द्रित हुन्छ। जब यसको केन्द्र आफू नभएर अरू हुन्छन्, त्यतिबेला पनि कुरा उस्तै हो। हामी अरूको दुःखमा केन्द्रित हुन्छौं र हाम्रो चित्तले त्यो अवस्थामा पनि “यसबाट मुक्त हुनै पर्छ” भन्ने भाव लिएको हुन्छ। हाम्रो चित्तको अवस्था र आवेग “अब त अति भयो” भन्ने खालको हुन्छ। सबै मानिसको जीवनमा हाम्रा जस्तै अनेक समस्या हुन्छन् तर त्यो कारण हामी घृणाले भरिने वा असहाय महसुस गर्ने होइन। त्यस्तो भावना लिने हो भने त्यो त फेरी अशान्तकारी नै हुने भयो। बरु हामीलाई आफ्नो बुझाइ र विश्वासमाथि भरोसा हुन्छ कि उनीहरूको समस्याको कारण यो हो र यसबाट मुक्ति पाउन उनीहरूका लागि सम्भव छ। अन्तर्मनमा चाहिँ स्थितिलाई निराशापूर्ण ठान्ने तर बाहिर बाहिर राम्रो चिताउने मात्रले काम बन्दैन। हाम्रो मान्यता एक स्पष्ट मान्यता हुन्छ र करुणाको प्रभावले हाम्रो चित्त यस्तो अशान्तकारी मनोदशाबाट मुक्त हुन्छ। यो कुरा ज्यादै महत्वपूर्ण छ। 

केही थप उदाहरण प्रस्तुत गर्न चाहन्छु। मलाई सम्झना छ, मेरी आमा अमेरिकी टेलिभिजनमा स्थानीय समाचार हेर्नुहुन्थ्यो र हत्या, लुटपाट, बलात्कारजस्ता दिनदिनै घटिरहने घटनाहरू सुनेर क्रोध र घृणाले भरिनुहुन्थ्यो, र भन्नुहुन्थ्योः “ओहो कस्तो खराब; यो त नहुनुपर्ने!” यो भाव करुणाको जस्तो लाग्ला, तर होइन। यो त चित्त अति विचलित भएको अवस्था हो, यो “असली” करुणा होइन। यो एक प्रकारको सम्मिश्रण हो – करुणा, सरोकार, क्रोध र निराशाको। 

करुणा – “असली” करुणा – चित्त विचलित भएको अवस्था होइन। यो त चित्त अति सुस्पष्ट भएको अवस्था हो। यसमा एक विश्वास र अठोट जोडिएको हुन्छ – “म यस सम्बन्धमा केही गर्ने प्रयत्न गर्नेछु, म यो दुःखको निराकरणको लागि प्रयत्न गर्नेछु।” अर्थात् यहाँ हामी केवल “अरू कसैले” आएर सहयोग गरिदेला भन्ने चाहना मात्र राख्दैनौं; बरु आफैँ सहयोग गर्ने प्रयत्न गर्छौं। यस्तो अठोट र आशय लिँदा हामी आफूले कतिसम्म गर्न सक्छु भन्ने स्पष्ट हेक्का राख्नुपर्ने हुन्छ। “म त सर्वशक्तिमान इश्वर हुँ, मैले नै यो संसारको रक्षा गर्ने जिम्मा लिनुछ” र “यो व्यक्तिलाई सहयोग गर्न सकेँ भने म महान हुनेछु; सकिनँ भने मेरो दोष हुनेछ” भन्ने खालको विचार लिँदैनौं। त्यसैले दुःखबाट मुक्तिको प्रक्रिया के हो भन्ने स्पष्ट जानकारी हुनुपर्छ र त्यसमा दृढ विश्वास हुनुपर्छ। त्यो प्रक्रिया अनेक अनेक हेतु र प्रत्ययहरूमाथि निर्भर हुन्छ, केवल मेरो आफ्नो संकल्पशक्ति वा दुःख सकिइहालोस् भन्ने चाहनाले मात्र हुँदैन। 

पीडा र बेखुसीको दुःख (दुःख दुःख) मा केन्द्रित नैष्क्रम्य र करुणा 

हामीले पहिल्यै चर्चा गरिसक्यौं कि नैष्क्रम्य या करुणाको विकास गर्न आवश्यक पहिलो तत्व भनेको दुःखको भाव हो, चाहे त्यो हाम्रो आफ्नो दुःख होस् या अरू कसैको। त्यसैले यहाँ मुख्य प्रश्न हो, कस्तो प्रकारको दुःखको भावमा ध्यान केन्द्रित गर्ने? बुद्धले यथार्थ दुःखको तीन प्रकारबारे बताउनुभएको छ। यसको ज्यादै विस्तृत वर्णन गर्नेतर्फ नलागी हामी सामान्य रूपमा के जान्दछौं भने पहिलो प्रकारको दुःख पीडा र बेखुसीको दुःख हो। 

पीडा र बेखुसीबाट मुक्ति पाउने चाहना राख्नु धेरै कठिन काम होइन। मलाई पक्का थाहा छ, तपाईं दाँतको उपचार गर्न डाक्टरको कुर्सीमा बस्नु भएको छ भने यसको अनुभव गर्नुभएकै होला। तर अलि गहिरिएर विचार गर्ने हो भने यो ज्यादै रोचक विषय बन्न सक्छ। मानिलिउँ तपाईं कुर्सीमा बस्नुभएको छ र डाक्टरले नोवेकेन नामको औषधि नदिई तपाईंको दाँत खोतल्न थाल्यो भने के होला? त्यो पीडाप्रति तपाईंलाई नैष्क्रम्यको भाव आउला? के त्यतिबेलाको चित्तको अवस्था नैष्क्रम्यको हो? तपाईंको चित्तको अवस्था त्यतिबेला ठ्याक्कै कस्तो होला? कुर्सीमा बसिरहँदा तपाईंलाई कस्तो अनुभव होला? मलाई लाग्छ, हामीमध्ये धेरैलाई त्यतिबेला डर र बेचैनीले सताइरहेको हुन्छ। जहाँसम्म नैष्क्रम्यको कुरा छ, त्यतिबेला हाम्रो ध्यान केवल पीडामा हुन्छ र नैष्क्रम्य भावका विपरीत त्यो पीडालाई यति ज्यादा ठूलो बनाइरहेका हुन्छौं कि मानौं त्यो एक भयानक दैत्य हो। त्यो बेला हाम्रो चित्त कुनै हालतमा पनि शान्त अवस्थाको हुँदैन। 

तर मानिलिउँ हामी त्यो बेला नैष्क्रम्यको अभ्यास गर्छौं। निश्चय नै हाम्रो ध्यान दाँत खोतल्दाको पीडामा हुन्छ। त्यसैले त्यो पीडाको कारण जुन दुःख भएको छ, त्यो दुःखबाट मुक्ति भैहालोस् भन्ने चाहन्छौं। यो अवस्था हामीले धेरै भोगिसक्यौं र अब यसबाट मुक्ति हुन्छ भन्ने कुराप्रति हामीलाई विश्वास छ। तर यहाँनेर एक रोचक जटिलता देखापर्छ। हामीलाई थाहा छ कि धैर्यपूर्वक चुपचापसँग पर्खिरहँदा मात्र पनि त्यो अवस्थाबाट मुक्त हुन सकिन्छ। आखिर जिन्दगीभर हामी त्यही डाक्टरको कुर्सीमा बसिरहने र डाक्टरले दाँत खोतल्ने काम गरिरहने त होइन। अनित्यताको नियम त्यहाँ पनि लागू हुन्छ र दाँत खोतल्ने काम कुनै बेला सकिनेछ; यो कुरालाई हामीले स्वीकार गर्नुपर्ने मात्र हो। यस्तो दृष्टिकोणले हामी शान्त रहन सक्छौं र यो पनि जान्दछौं कि यदि हामी कुर्सीमा शान्तिपूर्वक बस्यौं, धेरै अत्तालिएनौं र अररिएर बसेनौं भने दाँत खोतल्दा हुने पीडा सकिनेछ र यसबाट छुटकारा मिल्नेछ। 

यहाँ अर्को सम्भावना हो, उक्त पीडाप्रतिको आफ्नो दृष्टिकोण बदलेको खण्डमा त्यसका कारण हुने दुःखबाट मुक्त हुन सकिन्छ भन्ने कुरा जान्नु। हाम्रो अभिप्राय प्रतिकूल परिस्थितिलाई सकारात्मक परिस्थितिमा परिवर्तित गर्ने दृष्टिकोण निर्माणका लागि आवश्यक मानसिक तालिमसँग छ। उदाहरणका लागि, हामीले तिब्बत या दुनियाका अरू भूभागमा प्रताडित मानिसहरूको दुःखको बारेमा सोच्यौं भने त्यसको अगाडि हामीले दन्त चिकित्सकको कुर्सीमा भोग्ने पीडा केही पनि होइन। आफ्नो दुःखलाई सापेक्षिक रूपमा जान्ने हो भने त्यो तुलनात्मक सानो दुःखको अवस्थामा हामी शान्त रहन सक्छौं र त्यसबाट महसुस हुने दुःख त्यति धेरै हुँदैन। हुनत पीडा विद्यमान नै हुन्छ, तर त्यो हाम्रो लागि कुनै ठूलो कुरा हुँदैन। 

यी दुवै उदाहरणमा हामीले नैष्क्रम्यको भाव लिएका हुन्छौं। तर केका प्रति हामीले नैष्क्रम्यको भाव लिएका हौं? सतही रूपमा हामी पीडाप्रति नैष्क्रम्यको भाव लिइरहेका छौं। तर पीडाप्रतिको हाम्रो दृष्टिकोण जस्तो सुकै भएपनि पीडाबाट तत्कालै मुक्त भैसकेका त छैनौं। दाँत खोतल्ने काम नसकिउन्जेल पीडायुक्त शारीरिक संवेदना अनुभव गरिरहेका हुन्छौं। हामीले नैष्क्रम्यको भाव लिए पनि नलिए पनि पीडा तबसम्म निरन्तर रहन्छ, जबसम्म दन्तचिकित्सकले आफ्नो काम सक्दैन। तथापि दाँत खोतल्दा हुने उक्त पीडा अनित्य हो र यही अनित्यताका कारण हामी त्यस पीडाबाट चाँडै मुक्त हुन सक्छौं भन्ने दृढ विश्वास भयो भने हामीले त्यसलाई सजिलै सहन सक्छौं। त्यसैले अलि गहिरिएर विचार गर्दा हामी उक्त शारीरिक पीडा अनुभव गर्दाखेरीको बेखुसीको भावलाई त्यागिरहेका हुन्छौं। अर्थात्, आफ्नो दृष्टिकोण बदल्ने बित्तिकै हामी बेखुसीको त्यो अवस्थाबाट तत्काल बाहिर निस्कन सक्छौं।    

उपचारको कुर्सीमा बस्दाखेरिको त्यो अनुभूतिमा डर र बेचैनी हावी भयो भने त्यस्तो मानसिक अवस्थाले हामीलाई झनै दुःखी तुल्याउँछ र परिस्थिति झनै खराब बन्न पुग्छ। तर माथि भनिएजस्तै अनित्यताको वा आफ्नो पीडाको सापेक्षिक न्यूनताको स्मरण गरेर आफ्नो दृष्टिकोण बदल्यौं भने दाँत खोतल्दा हुने पीडाका कारण हामी मानसिक वा शारीरिक रूपमा दुःखी हुनुपर्ने छैन भन्ने कुरा राम्रोसँग जान्दछौं। नैष्क्रम्यको अभ्यास भनेको यही हो। हामीले वास्तवमा के कुरा त्यागिरहेका छौं र आफनो दृष्टिकोण बदलेर हामी केबाट साँच्चिकै मुक्त हुन सक्छौं भन्ने कुरा बुझेर यो अभ्यास गर्छौं। हामीले त्यागिरहेको कुरा यी हुनः 

  • पीडापूर्ण शारीरिक अवस्थासँग सम्बन्धित बेखुसी
  • पीडापूर्ण मानसिक र भावनात्मक अवस्था
  • पीडापूर्ण मानसिक र भावनात्मक अवस्थासँग सम्बन्धित बेखुसी 

आफ्नो दृष्टिकोण बदल्नासाथ हामीले अनुभूति गर्ने पीडाको सम्पूर्ण अवस्था पूर्णरूपमा परिवर्तित हुन्छ। हामीले यसको उदाहरण ती महान लामाहरूमा देखेका छौं जसले पश्चिमी अस्पतालहरूमा क्यान्सर वा त्यस्तै प्राणघातक रोगहरूको सामना गर्दै मृत्युवरण गरेका छन्। पक्कै पनि उनीहरूलाई शारीरिक पीडाको अनुभूति हुन्छ, तर त्यसैका कारण हुने बेखुसी र डरलाई उनीहरूले त्यागेका हुन्छन्। अरूको दुःख र पीडा सम्झेर आफ्नो पीडाको अवस्थालाई उनीहरूले पूर्णरूपमा परिवर्तित गरेका हुन्छन्। यसमा ती डाक्टरको पीडा पनि समावेश हुन्छ, जो उपचार सफल बनाउन सकेका कारण निराश हुन्छन्। विरामी लामाहरू चाहिँ आफ्नो डाक्टरले अनुभव गरेको निराशा र आफूलाई भेट्न आउने मानिसहरूको मनोभावप्रति बडो सजग हुन्छन्। 

उनीहरूले आफ्नो रोगको सामना गर्न अपनाएको यो तरिकाको पछाडि के छ? नैष्क्रम्य र करुणा। ती लामाहरूले त्योबेला हुने तनाव र मानसिक पीडालाई त्यागेका छन्। आफ्नो मात्र होइन, सम्बन्धित सबैले अनुभूति गर्ने मानसिक पीडाप्रति उनीहरूको उस्तै भाव हुन्छ। र, उनीहरूले देखावटी रूपमा मात्र त्यो कुरा त्यागिरहेका हुँदैनन्। मनभित्र मेरो अवस्था ठीक छैन भन्ने लागेता पनि बाहिर बाहिर “सब ठीक छ, मलाई ठीक छ, चिन्ता नलेऊ” भनिरहेका हुँदैनन्। त्यसरी देखावटी व्यवहार गर्नु भनेको आफ्नो त्यो धारणागत स्पष्टता गुमाउनु हो जसमा एक प्रकारको बोध हुन्छ जसका कारण डर र कष्ट हराउँछ किनकि तनावको उक्त स्थितिमा कुन प्रतिपक्षी उपाय अवलम्बन गर्नुपर्छ भन्ने थाहा हुन्छ। यसले गर्दा त्योबेलाको सबै तनाव शान्त हुन्छ। त्यसैले लामाहरूले गर्ने नैष्क्रम्य र करुणाको यो अभ्यासका बारेमा हामी जति धेरै परिचित हुन्छौं, हामी भित्र पनि नैष्क्रम्य आफ्नो सम्पूर्णतामा सबै कारणहरूले युक्त भएर सहज नै उत्पन्न हुन्छ। त्यसलाई कृत्रिम ढंगबाट उत्पन्न गरिरहनु आवश्यक हुँदैन। 

कठिन परिस्थितिको अर्को उदाहरणमा आफ्नो रोजगारी वा सम्पूर्ण सञ्चित धन गुमाउनुलाई लिन सकिन्छ। यस्तो स्थितिमा हामीलाई असाध्यै दुःख लाग्छ। जो कोहीलाई पनि आफ्नो रोजगारी वा सञ्चित धन गुमाउँदा अति नै दुःख हुन्छ। त्यस्तो बेखुसी र निराशाको अवस्था सकिइहालोस् भन्ने हामी चाहन्छौं, आफ्नो हकमा पनि र अरूको हकमा पनि। नैष्क्रम्यबाट करुणातर्फको अभ्यासमा अगाडि बढ्दा हामी आफ्नो दुःखलाई त्याग्न छाड्छौं भन्ने होइन। बरु हामी आफ्नो मानसिक दायरा बढाउँछौं र सबैलाई त्यसमा समेट्छौं। यसमा हामी स्वयं र अरू सबै पर्छन्।  

सामान्य सुखको दुःख (विपरिणाम दुःख) माथि केन्द्रित नैष्क्रम्य र करुणा

यो त हामीले पीडा र बेखुसीको अवस्थामा हुने दुःखमाथि केन्द्रित नैष्क्रम्य र करुणाको चर्चा गर्यौं। तर सामान्यता हामीले ठानेको सुख पनि समस्यापूर्ण नै हुन्छ। एक प्रकारले त्यो पनि दुःखपूर्ण नै हो। दुःखपूर्ण किन हो भने त्यस्तो सामान्य सुख धेरै समय टिक्दैन, त्यसले हामीलाई सन्तुष्टि प्रदान गर्दैन, र त्यो कहिल्यै पनि पर्याप्त हुँदैन। चाँडै नै त्यो सुख पनि असुविधा र बेखुसीमा परिणत हुन्छ। त्यसैले यसलाई परिवर्तनको दुःख (विपरिणाम दुःख) भनिन्छ। उदाहरणका लागि यदि आइसक्रिम खानु यथार्थमा सुखको स्रोत हुन्थ्यो भने जति धेरै खायो हामी त्यति नै धेरै सुखी हुनुपर्ने थियो। तर हामी निश्चय नै त्यो विन्दुमा पुग्छौं जहाँ जति बढी खायो त्यति विसन्चो हुन थाल्छ। आइसक्रिमबाट पाइने सामान्य सुख परिवर्तित हुन्छ र त्यसबाट हामीलाई सुख हुन छाड्छ।  

संक्षेपमा भन्दा, सामान्य सुख निराशाजनक हुन्छ। निरन्तर सुखी भैराख्ने जतिसुकै चाहना राखे पनि हामीलाई थाहै नभै हाम्रो मनोदशा परिवर्तित भैसकेको हुन्छ। फेरि, वर्तमान सुख या विगतको सुखबाट हामी कहिल्यै पूर्ण सन्तुष्ट हुन सक्दैनौं। हामीलाई जहिले पनि अझ बढी चाहिन्छ। आफूलाई मुक्त गर्ने दृढ निश्चयका साथ परिवर्तनको यो दुःखलाई पनि हामी परित्याग गर्न सक्छौं।

तर सामान्य सुखमा नैष्क्रम्यको भाव लिने भनेको के हो? के यसको अर्थ फेरि कहिल्यै सुखको चाहना नगर्नु हो? अथवा आखिर यसले कहिल्यै सन्तुष्टि प्रदान गर्दैन भनेर आफ्नो सुखलाई त्याग्ने हो? त्यसरी सोच्नु बौद्ध शिक्षाको विल्कुल गलत बुझाई हुन जान्छ। बुझ्नुपर्ने कुरा के हो भने सामान्य सुख अनित्य हुन्छ र अनिवार्य रूपले त्यसको अन्त्य हुन्छ, जसरी पीडा र बेखुसीको अन्त्य हुन्छ। नैष्क्रम्यको अभ्यास गर्दा हामी सामान्य सुख जतिन्जेल टिक्छ, त्यतिन्जेल त्यसको अनित्यतालाई जान्दछौं र त्यसको असल पक्षलाई ज्यादै बढाइचढाइ गर्दैनौं। 

यसो गर्नाले हामी सामान्य सुखका कारण हुने दुःखबाट मुक्त हुन्छौं। हामी त्यो सुखलाई एक अस्थायी सुखद अनुभवका रूपमा ग्रहण गर्छौं, तर त्यो पनि धेरै समय टिक्दैन भन्ने जानकारी बनाइराख्छौं। त्यसको पनि अन्त्य हुन्छ भन्ने जानिराख्नाले हामी निराशाबाट बच्छौं, किनकि हामी त्यो चिरकालसम्म रहने आशा गर्दैनौं। तर जतिन्जेल त्यो रहन्छ, त्यसमा आनन्द लिन्छौं। त्यसको अन्त्य हुन्छ भन्ने जानेर त्यसमा आनन्द लिनुका साटो कुन बेला सकिने हो भन्दै व्याकुल र चिन्तित हुँदैनौं। याद राख्नुहोस्, सुस्पष्ट चित्तका साथ हामी त्यसको अन्त्य हुन्छ भन्ने जान्दै उक्त जानकारीका कारण हुने असुविधाबाट आफूलाई मुक्त राख्छौं। 

एउटा उदाहरण लिउँ। हामी कुनै साथीसँग छौं, जोसँग सधैं भेट भैरहँदैन। छोटो समयका लागि भेटेर उ बिदा हुन्छ, तर हामीलाई सन्तुष्टि मिलेको हुँदैन। उक्त साथी अझै केही बेर बसोस् भन्ने हामी चाहन्छौं। उसँगको त्यो छोटो भेटबाट हामीले के अपेक्षा राखेका थियौं, जुन नपाएका कारण हामीलाई असन्तुष्टि भयो? के हामीले उक्त व्यक्तिसँग रहँदा पूर्ण खुसी मिल्छ र एक्लोपन तथा असुरक्षाको भावबाट सधैँका लागि मुक्ति मिल्छ भन्ने सोचेका थियौं? के उ पाँच मिनेट ज्यादा बसेको वा बसेकी भए हामी पूर्ण सन्तुष्ट हुन्थ्यौँ? 

हामी सन्तुष्ट हुन सकेनौं, किनभने हाम्रो अपेक्षा पूरा भएन। तर त्यो अपेक्षा नै बिलकुलै अव्यावहारिक थियो। हामीले राखेको अपेक्षा असम्भव थियो। यदि हामीले चामत्कारिक ढंगले कुनै कुरा हुन्छ भन्ने अपेक्षा राखेनौं भने जे हुन्छ, त्यसमा सन्तुष्ट हुन सक्छौं। यथार्थलाई स्वीकार गर्नुको अर्थ त्यही हो। उसले हामीसँग बिताएको जुनसुकै क्षण, चाहे त्यो हामीलाई भेट्न आएको होस्, वा सँगै खाना खाएको, वा सामीप्यताको – त्यसैमा हामी आनन्दित हुन सक्छौं। त्यो क्षणले हाम्रो बेखुसी वा एक्लोपन वा भोक सँधैंका लागि दूर गर्न सक्दैन भन्ने हामीलाई थाहा छ। त्यस्तो अपेक्षा नै हामी राख्दैनौं। आफ्नो साथीको भ्रमणलाई हामी अतिरञ्जित तरिकाले ठूलो रूपमा लिँदैनौं, त्यसप्रति हाम्रो दृष्टिकोण स्पष्ट हुन्छ, र जब उ विदा भएर जान्छ वा जान्छे, हामी दुःखी वा निराश बन्दैनौं। त्यो साथ जतिञ्जेल जे रूपमा थियो, त्यसलाई हामी त्यही रूपमा आनन्दपूर्वक लिन्छौं, र जब त्यो सकियो, सकियो। 

आफ्नो सामान्य खुसीका कारणले हुने दुःखहरूबाट नैष्क्रम्य भाव विकसित गरेपछि त्यसलाई अरूका हकमा कसरी विस्तार गर्ने? अरूका हकमा पनि सामान्य सुखका कारण हुने दुःखसम्बन्धी हाम्रो दृष्टिकोणको स्पष्टता अति महत्वपूर्ण हुन्छ। उनीहरूलाई त्यो सुखले साँच्चिकै सन्तुष्टि दिने होइन भन्ने थाहा हुँदा हुँदै पनि उ सुखी छ, म छैन भनेर इर्ष्यालु हुने अवस्था त हाम्रो पक्कै पनि होइन। कुरा के हो भने उक्त व्यक्तिले आफ्नो कुनै साथीसँगको सम्बन्धबाट अति नै धेरै अपेक्षा राखेको छ भन्ने हामी बुझ्छौं, वा अहिले जतिसुकै राम्रो अवस्थाबाट गुज्रिरहेको भए पनि त्यसबाट एक दिन अवश्य असन्तुष्ट वा निराश हुनुपर्नेछ भन्ने स्पष्ट जानकारी हुन्छ। यो कुरालाई हामी दुःखको रूपमा देख्छौं। हामीले उसको सुख देख्न नचाहेको हुँदै होइन, बरु उसले त्यो मामुली सुखलाई जुन हिसाबले भोगिरहेको छ र त्यसबाट जुन समस्या वा बेखुसीको अवस्था उत्पन्न हुनेवाला छ, त्यसलाई ध्यानमा राख्ने हो। 

सुख र सुखसँग जोडिएको दुःखबीचको भेदलाई स्मरणमा राख्नाले हामी उक्त व्यक्तिले अनुभूति गरिरहेको सुखमा हर्षित हुन सक्षम हुन्छौं। यसरी हर्ष मनाउनुलाई बुद्धधर्ममा धेरै जोड दिइएको छ। उनीहरूको सुखमा हामी हर्षित हुन्छौं; यद्यपि, हामी सामान्य सुखका दुःखहरूलाई यथार्थ रूपमा बुझ्छौं र त्यस सुखका कारण उनीहरूलाई हुन सक्ने समस्याहरूप्रति करुणा राख्छौं। तथापि, त्यो सामान्य र सांसारिक सुख भए पनि हामी त्यसमा रमाउन सक्षम हुन्छौं।

सर्वव्यापी दुःख (संस्कारधर्म दुःख) मा केन्द्रित नैष्क्रम्य र करुणा

बुद्धले बताउनुभएको सबैभन्दा गहिरो स्तरको दुःख सर्वव्यापी दुःख हो। यसले अनियन्त्रित तवरले बारम्बार भैरहने पुनर्जन्मको चक्र अथवा तथाकथित “संसार” को दुःखलाई जनाउँछ। अघिल्ला दुई दुःखलाई आधार दिने कारण यही हो। बुद्धले चार आर्य सत्यको विशिष्ट शिक्षामा यही दुःखलाई यथार्थ दुःखको रूपमा प्रस्तुत गर्नुभएको थियो। हामीले जे भए पनि यस्तै “दोषपूर्ण” शरीरमा पुनः पुनः जन्म लिनुपर्ने हुन्छ। जुन रूपमा आए पनि त्यो शरीरले जन्मको प्रक्रियाबाट गुज्रिनै पर्छ, कसरी हिँड्ने र अरू सबैथोक कसरी गर्ने पुनः सिक्नै पर्छ, त्यो शरीरमा सजिलै घाउचोट लाग्न सक्छ, विरामी पर्नुपर्छ, बुढो हुनुपर्छ, आफ्नो क्षमता गुमाउँदै जानुपर्छ, र एकदिन मर्नुपर्छ। त्यस्तै “दोषपूर्ण” चित्त हाम्रो बारम्बार हुनेवाला छ, जुन एक वा अर्को रूपमा भ्रमपूर्ण दृष्टि राख्दै, अनेक प्रक्षेपण गर्दै, अनेक प्रकारका बेतुकी विचारहरू सोच्दै, तथा राम्रो र नराम्रो मुडको उतारचढावमा अल्झिँदै चलिरहन्छ। 

त्यस्तै हामी जटिल सम्बन्धहरूमा उल्झिरहन्छौं जो कहिल्यै पनि सन्तोषप्रद हुन सक्दैन। जुन कुरा हामीलाई मन पर्दैन, त्यो कुरा भैरहन्छ। जुन कुरा हामीलाई मन पर्छ, त्यो हुँदैन। अक्सर जे हामीलाई प्रिय लाग्छ, त्यसबाट एक दिन छुट्टिनु पर्छ र जे अप्रिय लाग्छ, त्यो आइलाग्छ। मानिसहरूले यो वा त्यो प्रकारको व्यवहार गर्छन्, जुन हामीलाई मन पर्दैन; आफ्नो मर्जी अनुसारले प्रायः हामी केही गर्न पाउँदैनौं। यसले हामी कुण्ठित हुन पुग्छौं; धेरै प्रयासका बावजूद पनि हामीलाई भनेजस्तो रोजगारी वा जीवनसाथी वा अन्य कतिपय चीज प्राप्त हुन सक्दैन। भविष्यमा कस्तो जन्म हुने हो त्यो मात्र बेटुङ्गोको हुने होइन कि अब तत्काल आउने क्षणमा के अनुभूति हुने हो त्यसको पनि कुनै टुङ्गो छैन।

यो शरीर र अहिले भोगिरहेको यो जीवनलाई हामीले एकदिन अवश्य पनि छाडेर जानुपर्छ र फेरि एक नयाँ पुनर्जन्ममा आफूलाई पाउनुपर्छ जहाँ हरेक कुरा फेरि शुरुदेखि नै सिक्नुपर्ने हुन्छ, साथीहरू पुनः एकपटक बनाउनुपर्ने हुन्छ, आदि। त्यसमाथि, अर्को जन्ममा हामी फेरि मानिस नै भएर जन्मिन्छौं भन्ने कुनै ग्यारेन्टी छैन। धेरै संभावना त मानिसभन्दा अर्थोकै रूपमा जन्मिने छ। हामी साङ्ला भएर जन्मिन सक्छौं, वा अझ त्योभन्दा पनि गएगुज्रेको अवस्था हुन सक्छ। नैष्क्रम्य अभ्यासमा यो सब अब अति नै भयो भन्नेमा पुगिन्छ। 

यो स्तरको नैष्क्रम्यमा संलग्न चित्तको अवस्थाको विश्लेषण गर्नु पनि रोचक काम हुन्छ। मलाई के लाग्छ भने संसारमा अनियन्त्रित रूपमा बारम्बार जन्मिरहनुपर्ने कुराबाट वाक्क भैसकेको भाव पनि यसमा सामेल हुन्छ। सांसारिक जीवनलाई हामीले बढाइचढाइ गरेर ठूलो बनाउने गर्दैनौं, त्यसैले एक हिसाबले हामी त्यसमा धेरै मख्ख परेर बस्दैनौं। हामीलाई त्यसमा रूचि नै लाग्दैन, किनकि त्यही कुरा बारम्बार दोहोरिरहेको मात्र छ।

ती सधैं दोहोरिरहने समस्याहरू जुन हामीले जीवनमा भोग्नुपर्छ, त्यसैमा हामी मख्ख परेर बसेका छैनौं र त्यसबाट वाक्क भैसकेका छौं भने त्यसको मतलब हामीले त्यो कुरालाई बेवास्ता गर्ने होइन। त्यसप्रति “जेसुकै होस्” भन्ने खालको उदासीनता पनि हामी देखाउँदैनौं। बरु त्यसरी अनियन्त्रित हिसाबले बारम्बार दोहोरिरहने पुनर्जन्मको सर्वव्यापी समस्याको कारण हाम्रै क्लेशहरू, मिथ्या दृष्टिहरू, र तिनले निर्देशित गर्ने कर्मको बाध्यकारी व्यवहार हुन् भन्ने कुरा हामी बुझ्छौं। त्योभन्दा पनि बढी हामी के बुझ्दछौं भने हाम्रो दुःखको मुख्य कारण चित्तको क्लेशपूर्ण अवस्था र बाध्यात्मक कार्मिक व्यवहार हो, जसको पछाडि हाम्रो अज्ञान र भ्रम रहेको छ। यो सबैबाट मुक्त हुन हामी दृढनिश्चयी छौं।  

यसरी संसारबाट मुक्त हुने अठोट राख्नु यथार्थ धर्मको मार्ग अथवा मैले भनेजस्तो “रियल थिङ्ग धर्म” हो। यो नैष्क्रम्यको गहनतम अवस्था हो। सांसारिक पुनर्जन्मको डरलाग्दो चक्रलाई अन्त्य गर्न सक्छौं भन्ने विश्वास हामीमा हुन्छ। नतिजास्वरुप हाम्रो चित्त अहिलेको यो अवस्थालाई लिएर विचलित हुँदैन, बरु स्पष्ट हुन्छ। हामी आफ्नो मुक्तिका लागि पहल गर्ने कुरामा संकल्पवान हुन्छौं। फेरि, यो अवस्थालाई अन्त्य गर्न के गर्नुपर्छ भन्ने कुरा हामीलाई थाहा हुन्छ र त्यो काम गर्न सक्छु भन्ने कुरामा हामी स्पष्ट हुन्छौं। यसरी यो संसारबाट मुक्त हुने अठोट गर्दा आफूमाथि ध्यान केन्द्रित गर्नुका साटो अन्य सबै जीवमा समान रूपमा ध्यान केन्द्रित गर्ने हो भने त्यो “महाकरुणा” बन्दछ। 

नैष्क्रम्यको विकास गर्दा बच्नुपर्ने संभावित जोखिम

नैष्क्रम्य र करुणालाई लाम–रिम अर्थात् बोधिका क्रमिक पथ अन्तर्गत प्रेरणाका तीन स्तरको सन्दर्भमा प्रस्तुत गरिन्छ। त्यसैले यही सन्दर्भमा रहेर हामी नैष्क्रम्य र करुणाको विकास गर्दा हुन सक्ने जोखिमको चर्चा गर्छौं। प्रेरणाको प्रारम्भिक स्तरमा भविष्यको जन्म सुधार गर्ने आकांक्षा राखिन्छ, ताकि पुनः मानिसकै रूपमा जन्म लिइरहन सकियोस् र बोधिप्राप्तिको लागि आध्यात्मिक मार्गमा निरन्तर लाग्ने सबै अवसर प्राप्त भैरहोस्। तर प्रेरणाको यो प्रारम्भिक स्तर विकसित गर्ने क्रममा अमूल्य मानव जीवनप्रति आसक्ति बढ्ने जोखिम रहन्छ। हामीलाई यस्तो प्रकारको भाव आउन सक्छ – “म फेरि जन्म लिएर आफ्ना साथीभाइ र प्रियजनहरूसँगै रहन चाहन्छु, मलाई सम्पन्नता र सुविधा पनि प्राप्त होस्।” अर्थात्, उन्नत पुनर्जन्मको आकांक्षा राख्दा त्यसैसँग अति धेरै आसक्ति जोडिएर आउन सक्छ। यसको मतलब के हो भने हामीे अमूल्य मानव जीवनका राम्रा पक्षहरूलाई धेरै बढाइचढाइ गर्दैछौं। यसरी गरिने बढाइचढाइ नै इच्छा र आसक्तिको कारक हुन्छ, चाहे त्यो राम्रो कुरा नै किन नहोस्। कुनै चीज हाम्रो साथमा भएन भने इच्छाका कारण हामीलाई यस्तो लाग्छ – “मैले यो चीज पाउनै पर्छ,” र जब त्यो चीज हाम्रो साथमा हुन्छ, तब आसक्तिका कारण यस्तो लाग्छ – “म यो चीजलाई गुमाउन चाहन्न।”

आसक्तिमा जस्तो जोखिम हुन्छ, नैष्क्रम्यमा पनि त्यस्तै हुन्छ। तर त्यसको दिशा घृणातर्फ हुन्छ। अमूल्य मानव जन्मका राम्रा पक्षहरूलाई धेरै बढाइचढाइ गर्नाले त्यसप्रति आसक्ति हुन्छ भने नैष्क्रम्यमा चाहिँ सांसारिक अस्तित्वका नकारात्मक पक्षलाई धेरै बढाइचढाइ गर्ने जोखिम हुन्छ। यसरी गरिने बढाइचढाइले हामी यसप्रति घृणाले भरिन्छौं, र पहिले चर्चा गरेजस्तो द्वेषपूर्ण अवस्थातर्फ पुग्छौं। घृणा र द्वेषबीच निकटको सम्बन्ध हुन्छ। 

जब हामी नैष्क्रम्यको विकास गर्ने अभ्यास गर्छौं, हाम्रो दायरा प्रेरणाको मध्यम स्तरको अभ्यासी बन्नेमा रहन्छ। हाम्रो अभ्यास यो संसार अर्थात् अनियन्त्रित रूपमा बारम्बार दोहोरिरहने पुनर्जन्मबाट मुक्तिका लागि हुन्छ। यो त्यति सहज छैन। यहाँ हामी संसारका कमीकमजोरीमाथि ध्यान केन्द्रित गर्छौं, जो धर्मतर्फ मोड्ने चार मति परिवर्तनको अभ्यासमध्ये एक हो। हामी हर समय यो संसारका कमीकमजोरीलाई स्मरण गर्ने प्रयास गरिरहन्छौं। 

जब हामी साँच्चिकै यो अभ्यास गरिरहेका हुन्छौं, तब जीवनका हरेक अनुभूतिमा हामी संसारका कमीकमजोरीमाथि ध्यान दिइरहेका हुन्छौं। यसले जीवनप्रतिको हाम्रो मनोभाव र अनुभूतिलाई अति नै प्रभावित गर्न सक्छ। आफ्नो वर्तमान अवस्था जस्तोसुकै भएपनि हाम्रो मनमा आउने पहिलो विचार भनेको दुःखको हुन्छ। उदाहरणका लागि, मानिलिउँ हामी कसैलाई भेट्दैछौं र उप्रति हामीलाई अलिकति आकर्षण होला। तर त्यही बेला हामी “दुःख” भनेर सम्झिहाल्छौं। कुनै नयाँ रोजगारी सुरु गर्न लाग्यो, “दुःख नै हो, अब नराम्रो हुनेवाला छ,” भनेर सोच्न थाल्छौं। जे भएपनि “दुःख” भन्ने स्मरण आइहाल्छ। टेलिफोनको घण्टी बज्यो, “दुःख”। जेमा पनि त्यही। नुहाउन थाल्यो, त्यही सोच्यो – “यो पनि दुःख नै हो, भरे फेरि अर्कोचोटि नुहाउनु परिहाल्छ। क्या दिक्क लाग्दो!” यसप्रकारले अनायासै जीवनको प्रत्येक अनुभवलाई नकारात्मक नजरले हेर्ने बानी पर्न सक्छ। प्रत्येक भोगाइ र विशेष गरेर मानिसहरूका सम्बन्धमा यस्तो भाव आउन सक्छ। कुनै नयाँ कम्प्युटर किन्यो, मनमा आइहाल्छ – “अहो, दुःख। यो पनि एकदिन बिग्रिहाल्छ, कुनै भाइरस पसिहाल्छ।” कुनै साथीलाई भेट्यो, पहिलो विचार नै उसँग बित्ने समय कति खल्लो होला भन्ने आइहाल्छ। कुनै कुरामा पनि हामी रमाउन सक्दैनौं। यसरी हरेक चीज बेकारको र मूर्खतापूर्ण छ भन्ने विचारले हामीलाई निराशातर्फ धकेल्न सक्छ।  

नैष्क्रम्य र करुणामा प्रसन्नताको मेल

यसरी नकारात्मक र निराश बन्ने जोखिमबाट बच्न के गर्नुपर्ला? “जीवनको सुन्दरतामा रमाऊ” मात्र भनेर पुग्ला? यहाँ हामी निकै सावधान हुनुपर्छ। जीवनको आनन्द लिनुको मतलब यसको दुःखपूर्ण स्वभावप्रति अनभिज्ञ हुनु हो र? के यो नैष्क्रम्यको विरोधी हो? यसैलाई करुणामा बदल्यौं भने हाम्रो सोच यसरी बदलिन्छ –“हत्तेरी, सबैजना कति दुःखी छन्; कस्तो नराम्रो।” तर अरूलाई भेट्दा हामी प्रसन्न हुन्छौं, र त्यो प्रसन्नतामा यो करुणा मिलाउँदा “म तिम्रो दुःख देखेर प्रसन्न छु,” भनेर सोच्नुपर्ने भयो त? पक्कै पनि होइन। त्यसो भए नैष्क्रम्य र करुणामा प्रसन्नता र आनन्दको भावलाई कसरी मिलाउने?

जब हामी आफ्नो जीवनमा सुख खोजिरहेका हुन्छौं, अरूलाई भेट्दा प्रसन्न हुन्छौं र उनीहरूको जीवनमा पनि सुख आओस् भन्ने चाहन्छौं, त्यतिबेला हाम्रो मन त्यस्तो कुरामा केन्द्रित हुन्छ, जुन नैष्क्रम्य र करुणाको अनुभूतिभन्दा भिन्न हुन्छ। हामी आफ्नो र अरूको बुद्ध बन्न सक्ने बीज (तथागतगर्भ) र आध्यात्मिक प्रगतिका ती अवसरमा ध्यान केन्द्रित गर्छौं जो यो जीवनमा प्राप्त छ। हामी प्रत्येकमा बुद्धत्व प्राप्त गर्न सक्ने क्षमता विद्यमान छ, र यो आफैंमा एक आनन्दित हुने विषय हो। हाम्रो आनन्दको स्रोत त्यही हो। हामी स्वयं आफ्नो र अरूको जीवनको दुःखमय प्रकृति देखेर त्यसैमा प्रसन्न हुँदै बस्दैनौं। 

उदाहरणका लागि, नैष्क्रम्यको अभ्यासमा हामी स्वयंलाई र आफ्नो जीवनलाई दृष्टिगत गर्छौं र त्यसमा व्याप्त दुःखलाई जान्दै त्यसलाई स्वीकार गर्छौं। त्यो दुःखमय छ, तर त्यसैको कारणले हामी निराश बन्दैनौं। “आ, जे सुकै होस्” भनेर बेवास्ता पनि गर्दैनौं, जुन खासमा असहायपन र आशाहीनताको अवस्था हो। त्यसको विपरीत नैष्क्रम्यमा हामी आफ्नो दुःखबाट मुक्त हुन सकिने कुरामा दृढ विश्वस्त हुन्छौं। हामी दृढ संकल्पित र निश्चित हुन्छौं कि यो अस्वीकार्य अवस्थालाई बदल्न हामी केही उपाय अवश्य गर्नेछौं। के गर्ने भन्ने हामीलाई थाहा हुन्छ, त्यो उपाय अपनाउन सम्भव छ र त्यसले हामी दुःखबाट मुक्ति पाउँछौं भन्ने पक्का थाहा हुन्छ। यस प्रकारको भावले हामीलाई प्रसन्नता दिन्छ, होइन त? 

यद्यपि यसरी नैष्क्रम्य वा करुणा र प्रसन्नता दुई भावलाई एकैसाथ मिलाउनु ज्यादै नाजुक विषय हो। के तिनीहरू एकैसाथ घटित हुन्छन्? या तीमध्ये एक अर्कोमा निहित हुन्छ? या ती तोङ्लेनको अभ्यासमा दुःख लिएर सुख दिने गरेजस्तै एकपछि अर्को पालैपालो उत्पन्न हुने हुन्? आफ्नो दैनिक जीवनमा यी दुईलाई कसरी समाहित गर्ने – ताकि नैष्क्रम्यको वास्तविक मनोभाव रहोस् तर हरेक कुरा सारहीन छ, मूर्खतापूर्ण छ भन्ने भाव उत्पन्न नहोस् र निराशाको अवस्था नआओस्। मलाई के लाग्छ भने नैष्क्रम्य वा करुणा र प्रसन्नताको कुरा गर्दा हामी स्वयं र अरूको जीवनलाई दुई फरक दृष्टिकोणबाट हेर्दै हुन्छौं। र मलाई लाग्छ, हामीले यो कुरालाई आफ्नो सन्दर्भमा आफैं विश्लेषण गरेर हेर्नुपर्छ। 

नैष्क्रम्यको मतलब अरूसँगको सम्बन्धबाट मुख मोड्नु होइन

मानिलिउँ, हामी साँच्चिकै नैष्क्रम्य विकसित गर्न सफल भयौं र आफ्नो सामान्य सांसारिक अस्तित्वमा आसक्त हुन छाड्यौं। र, संसारका हरेक सम्बन्धहरूले हामीलाई दुःख नै दिने हो भन्ने निचोड निकाल्दै भिक्षु वा भिक्षुणी भएर बिहारमा बस्ने निर्णयमा पुग्यौं। त्यतिबेला हामी अत्यन्त सावधान हुनु जरुरी हुन्छ, ताकि हामीमा सबै मानिसप्रति आमरूपमै घृणा उत्पन्न नहोस्। नत्र करुणाको अभ्यासमा ठूलो बाधा उत्पन्न हुन्छ। अरूलाई देख्दा “तिमी पनि दुःखकै कारण हौ” भन्ने भाव उत्पन्न हुन सक्छ। त्यसो हुँदा अरूसँग सम्बन्ध राख्नै नखोज्ने बानीको विकास हुन जान्छ। करुणाले युक्त बन्नका लागि अरूसँग सम्बन्ध राख्नु र उनीहरूलाई आवश्यक भएका बेला सहयोग गर्ने प्रयास गर्नु जरुरी हुन्छ।

यसरी अरूप्रति द्वेष वा उदासीनताको भाव राख्नु नैष्क्रम्य विकसित गर्ने अभ्यासमा सबैभन्दा ठूलो समस्याका रूपमा आउँछ। जोकोहीलाई भेट्दा पनि हाम्रो मनमा यस्तो विचार आउन थाल्छ – “यो मानिस पनि एक समस्यै हो। योसँग सम्बन्ध राख्नाले मेरा लागि समस्या र दुःखको सिर्जना हुन्छ। यसले मेरो सल्लाह त मान्नेवाला छैन, बरु मेरा लागि कठिनाइ अवश्य उत्पन्न गर्नेछ,” आदि। यस्तो विचारबाट बच्ने प्रयत्न गर्नुपर्छ। 

नैष्क्रम्यको विकास गर्दा हामीले आफ्नो दुःखलाई दुई कोणबाट हेर्नुपर्छ। पहिलो त, हामी दुःखलाई असहनीय रूपमा लिन्छौं र यसबाट मुक्तिका लागि दृढ संकल्पित हुन्छौं। दोस्रो, हामी आफूमा तथागतगर्भको गुण भएको कुरा जान्दछौं अर्थात् हामीसँग त्यस्तो क्षमता छ भन्ने जान्दछौं जसले सबै दुःखबाट छुटकारा पाइ मुक्त हुन र बुद्ध नै हुन सक्षम बनाउँछ। यसरी सम्पूर्ण दुःखबाट मुक्त हुन सक्ने क्षमताको बोधले हामीलाई जीवनमा प्रसन्नताको अनुभव गर्न रोक्दैन, बरु हामीलाई प्रसन्नताले भर्छ। यो प्रसन्नता नैष्क्रम्य अर्थात् मुक्त हुने अठोटको विरोधी होइन। वास्तवमा यसले हाम्रो नैष्क्रम्यलाई नै सबल बनाउँछ। यसबाट हामी आफैंलाई बेवास्ता गर्ने वा अरूसँगको सम्बन्धमा “आ, जे सुकै होस्” भन्ने उदासीनताको भाव राख्ने नभई स्वयंप्रति अत्यन्तै स्नेह गर्ने र एक अर्थमा करुणाको अभ्यास गर्ने हुन्छौं।  

यही कुरा अरू सबैका हकमा करुणाको विकास गर्न पनि लागू हुन्छ। हामी उनीहरू सबै दुःखबाट मुक्त होउन् भन्ने कामना गर्छौं र तथागतगर्भको गुणका कारण उनीहरू पनि मुक्त हुन सक्छन् भन्ने जानेर आनन्दित हुन्छौं। त्यसपछि उनीहरूलाई सहयोग गर्न यथार्थ कदम चाल्छौं। अर्थात्, हामी उनीहरूको दुःख सकियोस् भन्ने कामना गर्छौं तर स्वयं ती मानिसहरूप्रति पनि स्नेहको भाव राख्छौं जो दुःख भोगिरहेका त छन् तर त्यसबाट मुक्ति पाउन खोजिरहेका छैनन्। 

यो विधि हामी पहिला आफैंमा अपनाउछौं। “म यो दुःख गैहालोस् भन्ने चाहन्छु, तर म आफैंलाई नष्ट गर्छु भन्ने होइन। मेरो यो स्वीकार नगर्ने नकारात्मक दृष्टिकोण मेरो दुःखतर्फ लक्षित छ, व्यक्तिगत रूपमा म आफैंप्रति होइन।” तर यी दुईबीच सहजै झुक्किन सकिन्छ र यस्तो सोच्न सकिन्छ, “म यो दुःखबाट आफूलाई मुक्त गर्न आफैंलाई समाप्त गर्छु।” जब आफ्नो सम्बन्धमा यो फरक स्पष्टसँग हुन्छ, हामी सहजतापूर्वक आफूप्रति नै यसरी करुणाको भाव लिन सक्छौं – “म तिम्रो यो दुःख समाप्त होस् भन्ने चाहन्छु, तर तिमी आफैं समाप्त होऊ भन्ने चाहन्न।” 

यो भेद गर्न त्यति सरल छैन। त्यसैगरी त्यस्तो दोषपूर्ण नैष्क्रम्यबाट मुक्त हुन पनि सजिलो छैन जसको कारण हामीलाई मानिसहरूप्रति अरुचि हुन्छ, अरूसँग सम्बन्ध राख्न मन लाग्दैन, र  “मलाई एक्लो छाडिदेऊ। म केवल आफ्नो गुफा वा विहारमा गई ध्यान गरेर बस्न चाहन्छु,” भन्ने सोच आउँछ। हाम्रा क्लेशहरू अत्यन्तै प्रबल भएर अरूलाई सहयोग गर्न गम्भीर बाधा पुर्याइरहेका छन् र तिनबाट छुटकारा पाउन एकान्तमा गएर ध्यान गर्नु पर्ने अवस्था रहेछ भने पनि हामीले अरूसँग र आफूसँगको सम्बन्धमा नकारात्मक दृष्टिकोण राख्नु र करुणाहीन बन्नु हुँदैन।

मानिसहरू र उनीहरूले भोग्ने दुःखबीचको सम्बन्ध

यस्तो नकारात्मक दृष्टिकोण आउन नदिन के गर्नुपर्ला? यसका लागि मैले भन्ने गरेको “धर्म–लाइट” अर्थात् हल्काफुल्का धर्मको परिधिबाट बाहिर निस्किनुपर्छ र “द रियल थिंग धर्म” अर्थात् यथार्थ धर्मको गहिरो स्तरमा विश्लेषण गर्नुपर्छ। “धर्म–लाइट” मा केवल वर्तमान जीवनकालको चासोलाई मात्र सम्बोधन गरेर बुद्धधर्मका विधिहरू प्रस्तुत गरिन्छ भने “द रियल थिंग धर्म” मा पूर्व र पश्चात् जन्महरूलाई स्वीकार गरेर चलिन्छ।

हाम्रो जीवनकाल यसका सबै क्षणहरूको निरन्तरमा आरोपित हुन्छ। यो जीवन कुनै एक क्षणसँग मात्र सम्पूर्ण रूपमा एकाकार छैन, तर ती कुनै पनि क्षणबाट अलग स्वतन्त्र रूपमा विद्यमान पनि होइन। हामी यो पनि भन्न सक्दैनौं कि यो जीवन आफ्ना समस्त क्षणहरूको योगफल हो किनकि ती सबै क्षणहरू एकै समयमा घटित हुने होइनन्। हामी वयस्क भएका बेला बालापन घटित भैरहेको हुँदैन। यो जीवनकाल ती सबै क्षणको निरन्ततामा आरोपित गरिएको मात्र हो। 

रियल थिंग धर्ममा व्यक्तिहरूलाई त्यसैगरी चित्तको अलगअलग निरन्तरता (चित्तसन्तान) मा आरोपित गरिन्छ। तर त्यस्तो चित्तको निरन्तरता यो जीवनकालमा मात्र सीमित रहँदैन। त्यो अनादिदेखि अनन्तसम्म चलि नै रहन्छ। व्यक्तिको जीवनलाई जुन चित्तको निरन्तरतामा आरोपित गरिन्छ त्यसको कुनै एक क्षणमा मात्र उ एकाकार छैन, न नै त्यसको कुनै क्षणबाट अलग स्वतन्त्र रूपमा विद्यमान हुन्छ, न उसको जीवन ती सबै क्षण एकैसाथ घटित भैरहेको जस्तो सबै क्षणको समग्रमा एकाकार हुन्छ। 

चित्तको निरन्तरको कुनै पनि गुणमा आरोपित कुनै पनि व्यक्तिको बारेमा पनि यही विश्लेषण लागू हुन्छ। नैष्क्रम्य र करुणाको हकमा चित्तसन्तानको जुन पक्ष जोडिन्छ, त्यो पक्ष हो दुःख। व्यक्तिहरू अस्तित्ववान हुन्छन् र उनीहरू दुःखको अनुभूति गर्छन्। तर ती व्यक्तिहरूलाई जुन चित्तसन्तानमा आरोपित गरिन्छ (जुन चित्तसन्तानका रूपमा चिनिन्छ) त्यो चित्तसन्तानमा घटित हुने कुनै एक दुःखमय अवस्थासँग उसलाई एकाकार गर्न सकिँदैन। उ त्यो चित्तसन्तानमा अनादि कालदेखि निरन्तर रहेको सर्वव्यापी दुःखसँग पनि एकाकार होइन। यो कुरा बुझ्यौं भने हामी “आफू” लाई वा अरू कसैलाई यसरी अनुभूति गरिने दुःखसँग एकाकार गरेर हेर्दैनौं। जब “म” वा “तिमी” र यो दुःख एकै हो भनेर हामी झुक्किन छाड्छौं र ती एकै हुन् भनेर सोच्न छाड्छौं, तब उक्त दुःख मात्र समाप्त होस् भन्ने चाहन्छौं, “म” वा “तिमी” नै समाप्त होस् भन्ने चाहँदैनौं।   

यसप्रकार, हामी स्वयंको र अरूको “म” सम्बन्धमा स्पष्ट दृष्टिकोणले युक्त हुन्छौं। हाम्रो चित्तसन्तानमा रहेका दुःख र दुःखका कारणलाई फेरि कहिल्यै नफर्किने गरी हटाउन सकिन्छ, तर ती दुःख अनुभूति गर्ने व्यक्तिलाई हटाउन सकिन्न। जसरी ती चित्तसन्तानको कुनै अन्त छैन, त्यसैगरी तिनमा आरोपित व्यक्ति, जो प्रत्येक एक अलग “म” हो, पनि अन्तहीन हुन्छ। 

जब यो चित्तसन्तानको नैसर्गिक परिशुद्धताको ज्ञान हुन्छ र यसमा आउने दुःख तथा त्यसका कारणहरू सदाका लागि समाप्त गर्न सकिन्छ भन्ने थाहा हुन्छ, तब हामीले आफ्नो “म” लाई पनि त्यही विशुद्ध चित्तसन्तान हो भनेर झुक्किन हुँदैन। नत्र हामी दुःख वास्तवमा विद्यमान छैन भन्ठान्ने र यसलाई समाप्त गर्ने कुरालाई गम्भीरतापूर्वक नलिने भूल गर्छौं।

दुःख लिनुबाट सुख दिनुमा परिणत गर्ने तोङलेनको अभ्यास

अरूको वा आफ्नो दुःखका बारेमा सोच्दा हामीलाई दुःख लाग्छ। अरू कोही वा आफैंले दुःख पाएको देख्दा पक्कै पनि खुसी लाग्दैन। त्यसरी दुःख पाएकोमा हामीलाई अफसोच लाग्छ। तोङलेन अर्थात् लिने र दिने अभ्यासमा हामी अरूको वा आफ्नै दुःखमा ध्यान केन्द्रित गर्छौं र स्वाभाविक रूपमा त्यसप्रति अफसोच मान्छौं। त्यो दुःख पनि वास्तवमा होइन, त्यसले पीडा दिँदैन भनेजस्तो भावशून्यतामा हामीमा जाँदैनौं। त्यसपछि हामी उक्त दुःख आफैंले लिएको भावना गर्छौं, त्यसलाई स्वेच्छाले आफैं अनुभूति गरेको स्वीकार गर्छौं। त्यसपछि उनीहरूलाई वा आफैंलाई मैत्रीभाव प्रदान गर्छौं, जसमा सुख होस् भन्ने कामना गरिन्छ। आफ्नो अनुभूतिलाई यसरी हामी आफूले ग्रहण गरेको दुःखको भावबाट आफैंलाई वा अरूलाई प्रेषित गरेको सुखको भावमा परिणत गर्छौं। 

तोङलेनको अभ्यास गर्ने धेरैका लागि यसरी दुःखको भावबाट सुखको भावमा परिणत गर्ने काममा बाधा हुन्छ। दुःख अनुभव गरिरहेको मानिसले एक्कासी कसरी सुखको भाव ल्याउन सक्छ? आखिर यी दुई त विरोधी मनोभावहरू हुन्। यस्तै समस्याको चर्चा हामीले माथि पनि गर्यौं – नैष्क्रम्यको विकासका लागि दुःखमा ध्यान केन्द्रित गर्दै गर्दा निराशाले नभरिई कसरी जीवनका सुख र मुक्तिको संभावनालाई अनुभूति गर्ने भनेर। यो विषय पनि त्यस्तै खालको हो। 

एक उदाहरणमार्फत दुःख र सुखको भावलाई सन्तुलित गर्नु महत्त्वपूर्ण छ भन्ने कुरा बुझ्न सक्छौं। मानिलिउँ हामी बिरामी साथी वा नातेदारलाई भेट्न गयौं। उ बिमारी भएको र दुःख पाएको देख्दा हामीलाई दुःख लाग्छ। तर त्यो प्रिय व्यक्तिलाई भेट्दा हामी दुःखी र उदास भयौं भने उसलाई त केही सहयोग पुग्दैन। हामीले उक्त बिरामी साथी वा नातेदारलाई खुसी बनाउने प्रयत्न गर्नुपर्छ। तर त्यो अवस्थामा आफैंमा चाहिँ सुखको भाव कसरी ल्याउने? के हामी कृत्रिम भाव ल्याउँछौं? के मनमा औधी पीडा हुँदाहुँदै पनि हामी फगत उसका अगाडि एक कृत्रिम मुस्कान पस्किन्छौं?  

आफ्नो मनोभावलाई उदासीबाट खुसीमा बदल्न हामी महामुद्राको उन्नत ध्यानसाधनाको अभ्यास गर्न सक्छौं। यसमा हामीले गर्ने पहिलो काम भनेको अरूको वा आफ्नै दुःख लिने हो, जसमा स्वेच्छाले दुःखलाई स्वीकार गर्छौं। इमानदारीपूर्वक यो अभ्यास गर्दा हामीलाई आत्मविश्वास र बल प्राप्त हुन्छ। यसमा हामी आफूलाई बिचरा ठान्ने वा “म त पीडित हुँ”, म दुःखी हुँ भन्ने मानसिकताबाट माथि उठ्छौं। 

महामुद्राको पद्धतिमा हामी आफूले अनुभूति गरेको दुःखबाट उत्पन्न उदासीलाई चित्तको सागरमाथि उठेको लहरका रूपमा लिन्छौं। दुःखलाई स्वेच्छाले स्वीकार गरेका कारण जुन आन्तरिक बल प्राप्त भएको छ, त्यसका कारण हामीलाई उक्त लहरले उठाउने र फँ्याक्ने गर्न सक्दैन। शान्त चित्तले उक्त उदासीको लहरलाई विसर्जित हुन दिन्छौं। त्यो लहर आफ्सेआफ शान्त भएपछि हामी चित्तको गहिराइमा शान्ति र आनन्द महसुस गर्न सक्छौं। त्यो शान्ति र प्रफुल्लता हाम्रो अन्तरबाट सहज रूपमा स्फारित हुन थाल्छ र जुन हामी तोङ्लेनको अभ्यासमा अरूलाई प्रेषित गर्छौं र आफैं पनि अनुभव गर्छौं। 

चित्तको यस्तो सहज आनन्दमा अशान्त वा अशान्तकारी चीज केही हुँदैन। न त हामी आफ्नो खुसीको ढोल पिट्दै हिँडछौं, न अरूलाई बिचरा देखाउन यसो भन्छौं – “तिमी त बिमारी पो रहेछौ, कस्तो नराम्रो। मलाई तिम्रो हाल देखेर दुःख लागेको छ। तर म आफू खुसी छु। जीवन ठीकठाक चलिरहेको छ।” हामीभित्रको शान्त सहज आनन्दले हामी स्वयंलाई र अरूलाई आराम तथा सुखको अनुभूति गराउँछ। 

नैष्क्रम्य र करुणा विकसित गर्ने आधार

यो व्याख्यान सुरु गर्ने बेला मैले चोङ्खापाले दिनुभएको शिक्षाको कुरा बताएको थिएँ। उहाँका अनुसार करुणा या अन्य कुनै पनि चित्तावस्था निर्माणका लागि सर्वप्रथम त्यसलाई केले आधार प्रदान गर्छ भनेर जान्नुपर्छ। करुणाको विकासका लागि त्यसलाई आधार प्रदान गर्ने नैष्क्रम्यको विकास पहिला गरेको हुनपर्छ। नैष्क्रम्यमा हामी आफूलाई अनियन्त्रित पुनर्जन्मको सिलसिलामा धकेलिराख्ने क्लेशरूबाट मुक्त हुन दृढ संकल्पित हुन्छौं र त्यसतर्फ प्रयत्नशील हुन्छौं।  

करुणाको आधार निर्माणको दोस्रो चरण हो, समताभावको विकास जुन आफैंमा नैष्क्रम्य, अर्थात् क्लेशबाट मुक्तिको हाम्रो प्रयत्नमा आधारित हुन्छ। समताभावका साथ हामी सबै जीवप्रति  राग, द्वेष, वा उदासीनता जस्ता क्लेशहरूबाट मुक्त खुला हृदय राख्छौं। हामी सबैप्रति समानरूपले उदार हुन्छौं किनकि हामीले यो बुझेका छौं कि प्रत्येक जीव एक अनादि र अनन्त चित्तसन्ततिमा हामीले आरोपित गरेको मात्र हुनाले हामी सबै एक समान छौं। अनादि कालदेखिको यो सिलसिलामा हरेक प्रकारका जीवसँग हाम्रो हरेक खालको सम्बन्ध रहिसकेको छ, त्यसैले कसैलाई पनि कुनै एक समयमा भएको कुनै एक सम्बन्ध (साथी, शत्रु, वा अपरिचित) का आधारमा जान्दैनौं। तसर्थ, कसैसँग पनि आसक्ति, द्वेष, वा उदासीनताको कुनै आधार नै छैन। 

कुनै जीव कुनै समयमा हाम्रो शत्रु वा हाम्रो हत्यारा नै थियो भने पनि त्यो समयमा आफ्नो ध्यान केन्द्रित गर्नाले केही लाभ हुँदैन। बरु त्यही जीव कुनै अर्को समयमा हाम्रो आमा रहिसकेको र स्नेहपूर्वक हामीलाई मातृवात्सल्य प्रदान गर्ने वा मुख्य हेरचाह गर्ने हरेक जीवका बारेमा ध्यान केन्द्रित गर्दा चाहिँ धेरै लाभ हुन्छ। हुनत हामीमध्ये कतिपयको यो जन्मको आमा क्रुर होलिन् र हामीलाई दुर्व्यवहार गरेकी हुन सक्लिन्, तर कम्तीमा गर्भपात नगरेर हामीप्रति दया गरेकी हुन्छिन्। उनले वा आजकलको जमानामा भाडाको (सरोगेट) आमाले हामीलाई आफ्नो कोखमा लिएर दया गरेकी हुन्छिन्। 

अर्को चरणलाई सामान्यतया “त्यसरी लगाएको गुनको रिन तिर्ने” भनेर व्याख्या गरिन्छ। तर मलाई लाग्छ, यसरी रिन तिर्ने भन्दा गलत भाव प्रेषित हुन्छ। किनकि रिन तिर्ने भन्नाले आजकल व्यवसायमा लागेको कर्जा तिर्ने भन्ने अर्थमा लिइन्छ र यस्तो ऋण तिरेनौं भने हामी दोषी ठहरिन्छौं। जबकि हामीले यहाँ व्यक्त गर्न खोजेको मनोभाव बाध्यता वा अपराधबोधको होइन, आफूलाई अरूले गरेको दयालु व्यवहारप्रति कृतज्ञता र अहोभावको हो। यस्तो धन्यभावका साथ हामी ती आफ्नी आमालाई दयाको पात्रको रूपमा कल्पना गर्छौं – आँखा नदेख्ने, दिग्भ्रमित, पहाडको टुप्पाबाट गहिरो अँध्यारो कर्मको खाडलमा खस्न लागेकी। आफू उनको छेउमै उभिएको र उनलाई सहयोग गर्न सक्षम भएको पनि कल्पना गर्छौं। त्यस्तो अवस्थामा हामी स्वाभाविक रूपमै उनलाई उक्त खाडलमा खस्नबाट जोगाउन जे गर्न सकिन्छ, त्यो गर्छौं। उनको आफ्नै छोरा वा छोरीले त्यति सहयोग गरेन भने कसले गर्ला?  

यसरी अरू सबैले कुनै न कुनै समयमा हामीलाई गरेको दयालु व्यवहारप्रति कृतज्ञताको भावले भरिँदै उसलाई साँच्चिकै सहयोग गरेर आफ्नो कृतज्ञता व्यक्त गर्न तत्पर भएका कारण हामी आफूभित्र स्वतः नै “हार्दिक स्नेहभाव” को विकास गर्छौं। सबैसँग स्नेहले जोडिएको अनुभूति गर्छौं, र जोकोहीलाई पनि भेट्दा स्वतः आत्मीयताको अनुभव गर्छौं, मानिलिउँ हामी उसको आमा हौं र उ हाम्रो एकमात्र सन्तान। हामी उसको कल्याणका लागि साँच्चिकै संवेदनशील हुन्छौं र उसलाई केही नराम्रो भयो भने हामीलाई दुःख लाग्छ। 

यही हार्दिक स्नेहभावको आधारमा हामी बुद्धधर्ममा बताइएको मैत्रीभाव विकसित गर्छौं, अर्थात् पक्षपातरहित समान रूपमा सबै जीव सुखी होउन् र सुखका हेतुहरूले युक्त होउन् भन्ने कामना गर्छौं। सबैप्रतिको यो मैत्रीभावको आधारमा हामी करुणाको विकास गर्छौं, र उनीहरू दुःख तथा दुःखका हेतुहरूबाट मुक्त होउन् भन्ने कामना गर्छौं। यसरी हामी जान्दछौं कि करुणाको विकासमा टेवा पुर्याउने र यसलाई आधार प्रदान गर्ने सकारात्मक मनोभावहरूको एक सञ्जाल नै छ, जस्तो कि सबैप्रति खुलापन र आत्मीयताको भाव, उनीहरूबाट प्राप्त स्नेहप्रति कृतज्ञता, हार्दिक स्नेहभाव, प्रेम, मैत्रीभाव, आदि। यी सबै करुणाभित्रै समाहित छन्। 

यसको मतलब के भने, यदि करुणा अरूको दुःखतर्फ केन्द्रित नैष्क्रम्यको मानसिक अवस्था हो भने, करुणाको जग पनि नैष्क्रम्यको कुनै न कुनै रूपमा विद्यमान हुनुपर्छ। अर्थात्, हामीले पहिला त स्वयंप्रति समभावको विकास गर्नुपर्छ, राग, द्वेष वा उदासीनता होइन। अनि हामीले यो पनि जान्नुपर्छ कि वर्तमान वा विगतको जीवनकालमा गरेको कुनै नकारात्मक कर्ममाथि ध्यान केन्द्रित गर्नाले केही फाइदा हुँदैन। अरू सबै जीव आफ्नो आमा रहिसकेको र उनीहरूले गरेको कृपाको स्मरणसँगै हामीले स्वयंप्रति गरेको सकारात्मक र स्नेहपूर्ण व्यवहारलाई पनि स्मरणमा राख्नु जरुरी हुन्छ। यथार्थ के हो भने बहुमूल्य मानव जीवन पाएका कारण अहिले जुन उत्तम अवसर हाम्रो अगाडि छ, त्यो विगतमा आफूले नै गरेको सकारात्मक (कुशल) कर्मको परिणाम हो। आफ्ना ती कुशल कर्मका लागि स्वयंप्रति धन्यभाव राख्छौं र कृतज्ञ हुन्छौं। यसले आफूप्रति घृणा होइन, हार्दिक स्नेहभावको जागरण हुन्छ। तब हामी आफ्नो निकै ख्याल राख्छौं र आफूलाई केही नराम्रो भयो भने दुःख लाग्छ।

करुणाको अभ्यास गर्दा सबैलाई एक समान देख्नका लागि जान्नुपर्ने मुख्य कुरा के हो भने सबै खुसी नै हुन चाहन्छन्, कोही पनि दुःखी हुन चाहँदैन। दुःखी हुने होइन, बरु सुखी हुने अधिकार सबैलाई उत्तिकै छ। यहाँ “सबै” भित्र हामी स्वयं पनि पर्छौं। त्यसैले हामीलाई पनि सुखी हुने अधिकार छ, हामीलाई पनि दुःखी नहुने अधिकार छ। नैष्क्रम्य अर्थात् मुक्त हुने अठोटको विकास गर्नु भनेको आफैंप्रति करुणाको विकास गर्नु हो। 

कृपया यहाँ नझुक्किनु होला। मैले द्वैतवादी दृष्टिकोण राखेर यसरी आफूलाई इंगित गरिरहेको छैन, अर्थात् स्वयंप्रति करुणाको अभ्यास गर्ने यो “म” र करुणाको पात्र “म” फरक होइन। “आफैंप्रति करुणा राख्नु” भन्ने वाक्य एक शाब्दिक संरचना मात्र हो। तर यदि हामीले साँच्चिकै आफूलाई स्नेह गर्ने हो र दुःख र बेखुसीबाट छुटकारा दिलाउने हो भने यस्तो खालको दृष्टिकोण राख्नुपर्ने हुन्छ – “यो मानिससँग एक अस्वस्थ सम्बन्ध राख्न चाहन्न; म रिसले भरिन चाहन्न; म विषादले ग्रस्त हुन चाहन्न; म आसक्त पनि हुन चाहन्न।” यसप्रकारले हामी आफूलाई दुःखबाट मुक्त गराउने अठोटका साथ काम गर्छौं। हरेक कुरा दुःखमय नै छ भन्नुका साटो हार्दिक स्नेहभाव र शान्तिको अनुभूति गर्ने सन्तुलित दृष्टिकोणको यो अर्को आयाम हो। 

सारांश

हामीले धेरै विषयको चर्चा गर्यौं। मेरो चाहना बुद्धधर्मको यो महत्वपूर्ण विषयलाई अलि विस्तृत रूपमा प्रस्तुत गर्नु थियो। यो केवल अध्ययनको एक विषय मात्र होइन, हाम्रो आफ्नै व्यक्तिगत उन्नतिका लागि नैष्क्रम्य र करुणाको विकास कसरी गर्ने भन्ने जान्नु महत्वपूर्ण छ। स्वस्थ र स्थायी तरिकाले नैष्क्रम्यबाट करुणाको विकास कसरी गर्न सकिन्छ भन्ने चर्चा गर्यौ र ती दुई चित्तावस्थाबीच कस्तो सम्बन्ध छ भन्ने पनि हेर्यौं।

Top