आफ्ना कसुर र गल्तीलाई जीवनको व्यापक दायराभित्र राखेर हेर्यौं भने त्यसलाई चाहिनेभन्दा ठूलो बनाउन छाड्नेछौं। आफूप्रति अपराधभाव राख्नुका साटो क्षमाभावका साथ त्यसलाई फेरी नदोहोर्याउने प्रण गर्छौं।
Meditation dispelling guilt

व्याख्या

क्षमाको अर्थ कसैको कुनै अपराध, गल्ती वा भूलमा नरिसाउनु र कुण्ठा विकसित नगर्नु हो। यो चित्तको सकारात्मक अवस्था हो, र अरूले कुनै हानिकारक काम वा त्रुटि गर्दा मात्र होइन, हामीले आफ्नै कसुर र त्रुटिहरूका लागि पनि यो चित्तावस्थाको विकास गर्नुपर्छ। यसका लागि हामीले एक व्यक्तिका रूपमा आफूलाई आफूले गरेका कसुर वा त्रुटिहरूबाट अलग राखेर हेर्नुपर्छ। आफ्नाबारे सोच्दा समग्र जीवनलाई हेर्नुपर्छ। यदि हामी पुनर्जन्मको बौद्ध शिक्षामा विश्वास गर्छौं भने आफ्नो विगत र भविष्यका जन्महरूलाई समेत समग्रतामा हेर्नुपर्छ। यस्तो बृहत् सन्दर्भमा खुला मनले आफ्नो मूल्यांकन गर्ने हो भने पाउनेछौं कि हामीले गरेको उक्त अकुशल कर्म वा त्रुटि केवल एक घटना मात्र थियो। हामीले जीवनमा यस्ता अनेकथोक गरेका र्छौं। हामी बुद्ध भैसकेका छैनौं, त्यसैले निश्चय नै गल्तीहरू गर्छौं। तर यदि हामीले आफूलाई त्यही एक त्रुटि वा कसुरसँग एकाकार गर्यौं, र त्यही त्रुटि वा कसुर नै म हुँ भनेर त्यसलाई आफ्नो पहिचान बनायौं भने निश्चय नै हामी अपराधभावले भरिन्छौं। यसलाई जति धेरै पकडेर राख्यो, त्यति आफूलाई दोषी ठानिरहन्छौं र हामीलाई नराम्रो मात्र लागिरहन्छ। 

आफूलाई क्षमा गर्नुको अर्थ मैले गरेको काम केही खास थिएन, त्यसले केही फरक परेन भनेर बिर्सिदिनु होइन। हामी त आफूले गरेको कसुर र गल्तीको जिम्मेवारी लिन्छौं। तर अपराधबोधको भावले त्यसैलाई पकडेर मात्र बस्दैनौं। आफूप्रति रिसाएर पनि बस्दैनौं। आफ्नो दुष्कर्म र त्रुटिलाई स्वीकार गर्छौं, र आफूलाई त्योसँग एकाकार गर्नबाट बचाउँछौं। “म नीच हुँ” वा “म बेवकूफ हुँ” भन्दै आफूलाई दोषी करार गर्दैनौं। बरु निम्नानुसार चार प्रतिरोधी अभ्यासको सहयोग लिन्छौं –

  • पछुतो मान्ने
  • अब त्यस्तो अकुशल कर्म वा त्रुटिलाई दोहोरिन नदिने हरसम्भव प्रयास गर्छु भन्ने अठोट लिने
  • आफूले जीवनमा लिन लागेको कुशल मार्गलाई दृढ बनाउने
  • आफूले गरेका गल्तीका कारण भएको हानिका लागि माफी माग्ने र सम्भव भएसम्म भूलसुधारका लागि सकारात्मक कार्य गर्ने

ध्यान 

  • श्वासमा ध्यान केन्द्रित गर्दै चित्तलाई शान्त गर्नुहोस्।
  • आफूले गरेका कुनै अकुशल कर्मलाई स्मरण गर्नुहोस् – तपाईंले कसैलाई आफ्नो वचन वा व्यवहारले चोट पुर्याउनुभएको होला। पछि त्यही कुरा सम्झेर आफूलाई दोषी ठान्दै आफूसँगै रिसाउँदै बस्नुभएको होला। 
  • अब आफ्नो अस्तित्वको दायरालाई बढाउनुहोस् र आफ्नो सिंगै जीवनलाई हेर्नुहोस्। त्यो घटना तपाईंको समग्र जीवनको एक सानो भोगाई मात्र थियो। तपाईंको जीवनमा त्योबाहेक पनि धेरै कुरा भएका थिए, धेरै कुरा अहिले पनि भैरहेका छन्।
  • जान्नुहोस् – त्यही एउटा कुरामा आफूलाई अल्झाइराख्नाले तपाईं आफूलाई दोषी ठानिरहनुभएको छ, र यसले तपाईंलाई नराम्रो लागिरहेको छ। तपाईंले आफूलाई एकदमै साँघुरो दृष्टिले हेरिरहनुभएको छ।  
  • त्यो घटना नै सिंगै तपाईं होइन, यो बोधका साथ आफूलाई अपराधभावमा एकाकार गर्नबाट मुक्त गर्नुहोस्।  
  • फेरी आफ्नो समग्र जीवनलाई हेर्नुहोस्, तपाईंले अन्य कति धेरै सकारात्मक र सिर्जनात्मक कामहरू गर्नुभएको छ, त्यसमा हर्ष मनाउनुहोस्। 
  • स्वीकार गर्नुहोस् – मैले जे गरेँ, त्यो अकुशल र हानिकारक थियो। मैले निर्वाण प्राप्त गरिसकेको छुईन, त्यसैले म कहिलेकाहीँ गल्ती गर्छु। 
  • तपाईंले गरिसकेको कामलाई नगरेको बनाउन सकिँदैन। त्यो काम गरेकामा पछुतो मान्नुहोस्। अर्थात्, तपाईंलाई त्यो काम नगरेको भए हुन्थ्यो भन्ने लाग्छ।
  • अब फेरी त्यस्तो अकुशल काम नगर्ने हरसम्भव प्रयास गर्नेछु भन्ने अठोट लिनुहोस्। तपाईं आफ्नो बोली र व्यवहारप्रति होशमा रहनुहुनेछ र कुनै अकुशल गर्न वा भन्न मन लागेको अवस्थामा आत्मसंयम अपनाउनु हुनेछ।  
  • आफ्नो जीवनमा लिएको सकारात्मक बाटोलाई पुनःस्मरण गर्दै त्यसप्रतिको प्रतिबद्धतालाई दृढ बनाउनुहोस्। तपाईं सबै कमीकमजोरी र समस्याबाट मुक्त हुँदै आफ्नो पूर्ण सम्भाव्यता हासिल गर्न प्रयत्नशील हुनुहुनेछ। 
  • तपाईंको व्यवहारले चोट पुगेका व्यक्ति वा व्यक्तिहरूसँग मनमनै भए पनि माफी माग्नुहोस्, र भूलसुधार गर्न उनीहरूका लागि कुनै सकारात्मक काम गरेको कल्पना गर्नुहोस्। उक्त व्यक्तिलाई पुनः भेट्नुभयो भने कल्पनामा गरेको काम साँच्चिकै गर्नेछु भन्ने अठोट लिनुहोस्। 

यो सबै प्रक्रिया आफूले गरेका कुनै त्रुटिका लागि दोहोर्याउनुहोस्। 

  • आफूले गरेको कुनै त्रुटिको स्मरण गर्नुहोस् – मानौं, कम्प्युटरमा भएको महत्त्वपूर्ण फाइल तपाईंले गल्तीले मेटाउनुभएको होला। त्यसबाट तपाईं आफैंसँग कति रिसाउनुभयो, उदास हुनुभयो, आफूलाई तथानाम गाली गर्नुभयो, आफूलाई बेवकूफ भन्नुभयो। 
  • आफ्नो अस्तित्वको दायरालाई बढाउनुहोस्, र जान्नुहोस् कि त्यो घटना तपाईंको सिंगै जीवनको समग्रताको एक सानो भोगाई मात्र थियो। त्यो त भैसक्यो। तपाईंको जीवनमा अरू धेरैथोक भैरहेका वा हुन लागिरहेका होलान्। अधिकांश समय त तपाईंले ठीकठाकै काम गर्नुहुन्छ। 
  • जान्नुहोस् – आफूले गरेको त्यही एक त्रुटिमा तपाईंले कसरी आफूलाई एकाकार गर्नुभएको छ, त्यसैमा अल्झेर कसरी नरमाइलो र उदास महसुस गर्दै हुनुहुन्छ। तपाईंले आफूलाई एकदमै साँघुरो दृष्टिले हेरिरहनुभएको छ।
  • त्यो एक घटना नै सिंगै तपाईं होइन, यो बोधका साथ आफूलाई त्यो त्रुटिभावमा एकाकार हुनबाट मुक्त गर्नुहोस्।  
  • फेरी आफ्नो समग्र जीवनलाई हेर्नुहोस्, तपाईंले कति धेरै कामहरू सही र उपयुक्त ढंगले गर्नुभएको छ, त्यसमा हर्ष मनाउनुहोस्। 
  • स्वीकार गर्नुहोस् – मैले जे गरेँ, त्यो त्रुटिपूर्ण थियो। म कहिलेकाहीँ त्यस्तो गल्ती गर्छु – यसमा केही ठूलो कुरा भएन। 
  • तपाईंले गरिसकेको कामलाई नगरेको बनाउन सकिँदैन। त्यो काम गरेकामा पछुतो मान्नुहोस्। अर्थात्, तपाईंलाई त्यो काम नगरेको भए हुन्थ्यो भन्ने लाग्छ।
  • अब फेरी त्यस्तो त्रुटि नदोहोर्याउने हरसम्भव प्रयास गर्नेछु भन्ने अठोट लिनुहोस्। कम्प्युटरमा काम गरेका बेला तपाईं होशपूर्ण र सचेत हुनुहुनेछ र सावधानी अपनाउनुहुनेछ। 
  • आफ्नो जीवनमा लिएको सकारात्मक बाटोलाई पुनःस्मरण गर्दै त्यसप्रतिको प्रतिबद्धतालाई दृढ बनाउनुहोस्। बेहोशीमा काम गर्नेलगायतका कमजोरी र समस्याबाट मुक्त हुँदै आफ्नो पूर्ण सम्भाव्यता हासिल गर्न प्रयत्नशील हुनेछु, यस्तो दृढता लिनुहोस्। 
  • शान्त चित्तले उक्त फाइलमा के थियो, त्यो सम्झिने प्रयत्न गर्नेछु र त्यसलाई पुनः टाइप गर्नेछु भन्ने प्रण गर्नुहोस्। र साँच्चिकै गर्नुहोस्। 

सारांश

आफूले अरूलाई पुर्याएका हानि र त्यसै गरेका त्रुटिपूर्ण कामहरूका लागि आफूलाई क्षमा गर्नुको अर्थ आफूसँग नरिसाउनु, आफूलाई नीच व्यक्ति नठान्नु, अपराधभाव नराख्नु र आफैंलाई मूर्ख भन्दै नसराप्नु हो। हामी आफूले गरेका कुनै कसुर वा त्रुटिसँग आफूलाई एकाकार गर्न छाड्छौं किनकि ती घटना हाम्रो जीवनको समग्रता होइनन्। तर त्योसँगै आफ्नो कर्मको जिम्मेवारी लिन्छौं र त्यसको सामना गर्छौं। आफूले गरेको गल्तीलाई स्वीकार गर्दै त्यसमा पछुतो मान्छौं, फेरी दोहोरिन दिन्न भनेर अठोट गर्छौं, आफूले जीवनमा लिएको सुरक्षित बाटोप्रतिको प्रतिबद्धतालाई सुदृढ गर्छौं, अरूलाई पुर्याएको हानिका लागि माफी माग्छौं र भूलसुधारको प्रयत्नस्वरूप कुनै सकारात्मक काम गर्छौं तथा आफूले गरेको त्रुटिलाई सच्याउने पहल गर्छौं। 

Top