What is compassion

बुद्धधर्म अनुसार करुणाको अर्थ अन्य सबै मानिस र चेतनशील प्राणी दुःख र दुःखको कारणबाट मुक्त होऊन् भन्ने चाहना हो। यसमा अरुको भावनाप्रति समानुभूति गरिन्छ।   हामी आफैंले त्यस्तो भावनाको अनुभूति गरेका छौं भने करुणा प्रभावकारी हुन्छ। तर अरुले जस्तो कठिन अवस्था भोगेका छैनौं भने पनि आफूलाई उनीहरुको ठाउँमा राखेर सोच्न सक्छौं र त्यो अवस्था कति कष्टकर होला भनेर बुझ्न सक्छौं। हामी जति आफ्ना लागि त्यो अवस्थाबाट मुक्तिको कामना गर्छौं, त्यत्तिकै प्रबल रूपमा अरुका लागि पनि गर्छौं।

मैत्री र करुणा आवश्यकताहरु हुन्, ती शोख मात्र होइनन्। तिनको अभावमा मानवजाति बाँच्न सक्दैन। चौधौं दलाई लामा

करुणाले हाम्रो हृदय र मस्तिष्क अरुका लागि खुला गरिदिन्छ। यसले हामीलाई आफ्नो बारेमा मात्र सोच्ने बानी र आफैंले सिर्जना गरेको एकलकाँटे र संकुचित दुनियाँबाट बाहिर ल्याउन सहयोग गर्छ। हामी सबैजना जीवनका विभिन्न समस्याहरु भोगिरहेका हुन्छौं। तर जब हामीले अरुसँग आफू अन्तरसम्बन्धित रहेको अनुभव गर्न सक्छौं, हामी एक्लोपन र निराशाबाट मुक्ति पाउँछौं। अरुको दुःख र पीडाको बोध गरेर उनीहरुलाई सहयोग गर्ने भावना जागृत गर्दा हामीलाई आन्तरिक शक्ति र आत्मविश्वास प्राप्त हुन्छ। हामीले करुणा जागृत गर्ने अभ्यास गर्यौ भने त्यो हाम्रो आफ्नै कल्याणको अत्यन्तै सबल स्रोत बन्नेछ।

तर करुणा सक्रिय हुनुपर्छ। अरुलाई दुःखबाट मुक्ति दिलाउनेतर्फ काम गर्न यसले हामीलाई प्रेरणा दिनुपर्छ। अरुलाई सहयोग गर्ने हाम्रो क्षमता सीमित हुनसक्छ, तैपनि हामी आफूले सकेसम्म सहयोग गर्छौं किनकि अरु मानिस त्यसै दुःखमा पिल्सिरहेको हामी चुपचाप हेरेर बस्न सक्दैनौं।

ज्ञान र प्रज्ञाको साथ भयो करुणा एकदमै प्रभावकारी हुन्छ। त्यसो भएमा हामी सही काम गर्नका लागि सही निर्णयहरु लिन सक्छौं। हामीमा भावनात्मक परिपक्वता छ भने आफूले सहयोग गर्न नसक्दा वा आफ्नो प्रयत्न खेर जाँदा पनि दुःखी हुँदैनौं। करुणा हाम्रो आफ्नै कमीकमजोरीबाट पार पाउन र आफ्नो पूर्ण क्षमता हासिल गर्न एकदमै प्रभावकारी प्रेरणा बन्नसक्छ।  

Top