संज्ञानका प्रकारहरूको प्रासंगिकता र उपयोग

भारतीय बौद्ध दर्शन प्रणालीमध्ये सौत्रान्तिक दर्शनमा हामीले थाहा पाउने वा संज्ञान गर्ने तरिकालाई सात प्रकारले विश्लेषण गरिन्छ। तिब्बती गेलुग परम्पराको व्याख्याअनुसार ती निम्नानुसार छन् :

  1. प्रत्यक्ष (ङोन् सुम्)
  2. अनुमान (जे पाग्) 
  3. परिच्छिन्न संज्ञा (चे शे)
  4. अनिश्चित प्रभास (नाङ्ला माङेपा)
  5. मनोविवेक (यिच्यो)
  6. विचिकित्सा (थेछोम्)
  7. विपर्यास संज्ञा (लोग्शे)

कुनै कुरा थाहा पाउने वा संज्ञान गर्ने तरिका चिन्नु एक त्यस्तो अनिवार्य सीप हो जसले हामीलाई आफूले जानेको वा जान्दछु भनेर ठानेको कुराको परीक्षण गर्न सक्षम बनाउँछ। हाम्रो चित्तले अनेक भ्रान्त धारणा पकडिरहेको हुन्छ र अनेक खालका प्रक्षेपणहरू गरिरहेको हुन्छ जसको यथार्थसँग कुनै सम्बन्ध हुँदैन। त्यसै कारण हामी आफ्ना र अरूका लागि समस्या सिर्जना गर्छौं। यो खासगरी तब हुन्छ जब हामी आफूले जानेको वा जान्दछु भनेर ठानेको कुरा मिथ्या भएको थाहा पाउँदैनौं र अपरिपक्व वा गलत निष्कर्षमा पुग्छौं।  

उदाहरणका लागि, मानिलिउँ एक साथी हामीलाई भेट्न सडकबाट हामीतर्फ आउँदैछिन् तर हामीले चश्मा लगाएका छैनौं। दृष्टि धुमिल भएका कारण सडकमा हेर्दा एक धमिलो छायाँजस्तो आफूतर्फ बढ्दै गरेको देखिन्छ। तर वास्तवमा हामीतर्फ आउँदै गरेको चीज कुनै धमिलो छायाँमात्र होइन।  

मानिलिउँ अब हामीले आफ्नो चश्मा लगायौं र हेर्यौं। तर उक्त व्यक्ति निकै टाढा भएका कारण उ को हो, ठम्याउन सकेनौं। हाम्रो देखाइ कुनै महिला हामीतर्फ आइरहेकी छिन् भनेर जान्ने हदसम्म सही अर्थात् प्रामाणिक भयो तर उ आफ्नो साथी भएको ठम्याउने कुरामा भएन। यसरी आफ्नो देखाइ उसलाई ठ्याक्कै ठम्याउन सक्ने कुरामा असमर्थ भएको हामीले जान्यौं भने प्रामाणिक रूपमा हामी यो पनि जान्दछौं कि उक्त व्यक्तिलाई ठम्याउनका लागि उ हामी नजिक आइपुग्नुपर्छ। त्यसैले हामी धैर्यतापूर्वक प्रतीक्षा गर्छौं, कुनै निष्कर्षमा पुगिहाल्दैनौं। 

उ आफ्नो साथी होली भन्ने हामी आश गर्छौं, उसकै छवि आफ्नो मनमा बनाउँछौं, र सडकबाट आउँदै गरेकी महिलामाथि उक्त छवि प्रक्षेपित गर्छौं। तर आउँदै गरेकी महिलाप्रतिको त्यस्तो अवधारणात्मक ज्ञान (कन्सेप्चुअल कग्निसन) हामीलाई प्रत्यक्ष (बेयर कग्निसन) जस्तो लाग्ने मात्र हो; त्यो सही या प्रामाणिक होइन। हामी भ्रमित हुन्छौं। हाम्रो प्रतिभास भ्रमपूर्ण छ किनकि यसले हामीलाई छलपूर्वक यो अपेक्षा राख्नका लागि प्रेरित गर्छ कि उक्त महिला निश्चित रूपमा हाम्रो साथी हो। जबकि हाम्रो त्यो अपेक्षा असत्य हुन सक्छ।

मानिलिउँ कुनै वास्तविक कारण नभइकनै सहज अनुमानका आधारमा मात्र उक्त महिला आफ्नो साथी हुने अपेक्षा गर्नुका साटो हामी उक्त व्यक्ति आफ्नो साथी नै हो निष्कर्षमा पुग्यौं। तब हामीलाई लाग्नेछ कि उक्त महिला नजिक पनि आइराख्नु पर्दैन, हामीलाई पक्का छ कि उ उही हो। यो समयमा साथीले भेट्न आउनुपर्ने थियो, त्यसैले उक्त महिला आफ्नो साथी नै भएको तर्क गर्दै हामी निष्कर्षमा पुग्छौं। आफ्नो साथी महिला भएको, अहिले आउने समय भएको, र एक महिला आइरहेकोले हामी पक्का निष्कर्ष निकाल्छौं कि उ आफ्नो साथी नै हो।

यदि हामीलाई उनी आफ्नो साथी नै भएको पक्का विश्वास छ तर उनी होइन रहिछन् भने हाम्रो निष्कर्ष असत्य हुन्छ। तर यदि त्यति पक्का विश्वास छैन, तैपनि उनी आफ्नो साथी भएको अनुमान गर्छौं र उनी वास्तवमै हाम्रो साथी रहिछन् भने हाम्रो अनुमान ठीक हुने भयो। तर यस्तो अनुमान प्रामाणिक तर्कमा आधारित हुँदैन। हामीले अप्रामाणिक तर्कका आधारमा के निष्कर्ष निकाल्यौं भने साथीले भेट्न आउनुपर्ने थियो, एक महिला हामीतिर हिँडेर आउँदैछिन्, त्यसैले उनी हाम्रो साथी नै हुनुपर्छ किनकि उनलाई यतिबेला नै आइपुग्नुपर्ने थियो। 

त्यस्तै हामी आफ्नो साथी नै आएकी हुन् कि अरू कोही भनेर पक्का निष्कर्ष निकाल्न नसक्ने पनि हुनसक्छौं। त्यसैले हो कि होइन भन्ने दुई निष्कर्षबीच हामी अलमलिन सक्छौं, र यसले हामीलाई असहज बनाउँछ। कुनै निष्कर्ष लिन हामी आफूलाई असुरक्षित ठान्छौं, किनकि आउँदै गरेकी महिला को हुनेछिन् भन्ने कुरा हाम्रो नियन्त्रणमा हुँदैन। यस्तो अनिश्चय गराउने र दुबिधाको स्थितिमा राख्ने मनोदशा अशान्त मनोदशा हो। यसका कारण हामी चित्तको शान्ति र आत्म–संयम गुमाउँछौं। हामी अनियन्त्रित रूपमा चिन्ता गर्न थाल्न सक्छौं। 

जब हाम्री साथी निकै पर हुन्छिन् र हामी प्रामाणिक रूपमा उनी को हुन् भनेर देख्न सक्दैनौं, तब हामी के देखिरहेका हुन्छौं? के हामी एक क्षणमा एक रंगीन आकृति र अर्को क्षणमा भिन्नै रंगीन आकृति देखिरहेका हुन्छौं त? होइन, हामी एक सिंगो वस्तु या आलम्बन देखिरहेका हुन्छौं। हाम्रो सामान्य बुद्धिले के भन्छ भने त्यस्तो वस्तुलाई देख्न, सुन्न, सुँघ्न, चाख्न, वा छुन सकिन्छ र त्यो एक क्षणका लागि मात्र नभएर केही समय अवधिसम्म रहन्छ। के त्यो वस्तु केही पनि होइन? होइन, वस्तुनिष्ठ रूपमा भन्नुपर्दा त्यो एक शरीर हो, एक मानव शरीर, एक महिलाको शरीर। के हामी केवल एक शरीर मात्र सडकमा हिँडिरहेको देख्छौं त? होइन, हामी उक्त शरीरमा हामीले सोचेको मानिसलाई आरोपित गर्छौं। के त्यो व्यक्ति केवल एक शरीर हो? होइन, त्यो व्यक्ति एक त्यस्तो सिंगो चीज हो जसलाई हामी सामान्य बुद्धिको आधारमा मन, मनोभावहरू, संवेदनाहरू आदिले युक्त भएको र एक समय अवधिसम्म कायम रहने भनेर जान्दछौं। 

अब मानिलिउँ त्यसरी हामीतर्फ आउँदै गरेको व्यक्ति वास्तवमै मेरी नाम गरेकी हाम्री साथी हो। जब हामी उनलाई देख्छौं, के उनलाई एक मानव मात्र देख्छौं वा आफ्नी साथी मेरीलाई देख्छौं? हामीले देखेको उक्त मानव कोही पनि नभएको होइन, त्यो वास्तवमै मेरी हो। हामीले सोध्यौं भने उनले आफू मेरी नै भएको बताउनेछिन्, र उनलाई चिन्ने अरूले पनि त्यसै भन्नेछन्। तर यदि उनी निकै टाढा छिन् र हामी को हो भनेर छुट्याउन सक्दैनौं, त्यो अवस्थामा हामी भन्न सक्दैनौं कि हामीले मेरीलाई नै देखिरहेका छौं। तर वास्तवमा हामीले मेरीलाई नै देखेका हुन्छौं। हामीले अन्य कसैलाई देखेका हुँदैनौं, र हामीले देखेको कोही होइन भन्ने पनि हुँदैन।

जब हाम्री साथी नजिक आइपुग्छिन् र हामी प्रामाणिक रूपमा उनी मेरी नै हुन् भनेर देख्छौं, त्योबेला उनी मेरी नै हुन् भनेर कसरी जान्दछौं त? हामी अवधारणाको स्तरमा जान्दछौं, अर्थात् उक्त एक व्यक्तिलाई चिन्ने सम्बन्धमा आफ्नो मनमा जुन छाप छ त्यसका आधारमा जान्दछौं। उनको शरीरलाई देख्दा वा उनको बोली सुन्दा वा शरीरको कुनै भागमा स्पर्श गर्दा जे ज्ञान हुन्छ, त्यसलाई उक्त एक अलग व्यक्तिप्रतिको आफ्नो मनमा भएको छापसँग दाँजेर हेर्छौं। उनी अहिले के गर्दैछिन्, के भन्दैछिन्, वा हामीले उनलाई स्पर्श गर्दा कस्तो अनुभूति भैरहेको छ भन्ने कुरा त्यसमा आउँदैन। यो छाप स्थायी छ, यो बदलिँदैन, र उनी के गर्दैछिन् वा भन्दैछिन् भन्ने कुराले यसलाई असर गर्दैन। यो छापमा “मेरी” भन्ने नाम जोडिएको छ, र जब हामी उनलाई देख्छौं वा सुन्छौं वा छुन्छौं, तब उनलाई यही नामसँग जोडेर जान्दछौं। 

उक्त व्यक्तिलाई “मेरी” भन्ने आफ्नो मानसिक छापसँग कसरी जोड्यौं? उक्त व्यक्तिका केही विशिष्ट पक्षहरूलाई हामीले छुट्यायौं, र “मेरी” भन्ने छापका केही समग्र पक्षहरूलाई अरूबाट भिन्न राख्यौं। विशिष्ट पक्ष भनेको त्यो हो जुन मेरीमा मात्र छ र अरू कसैमा छैन। समग्र पक्ष भनेको एक श्रेणी या मानसिक छापभित्र समेटिने साझा पक्ष हो। हामीले मेरीलाई देखेको वा बोलेको वा उनको बारेमा सोचेको सबै क्षणहरूको छाप यो समग्र पक्षमा समेटिन्छ। यो तर्कका आधारमा हामी उक्त व्यक्ति मेरी हुन् भन्ने निष्कर्ष निकाल्छौं। उक्त व्यक्तिमा यसप्रकारका विशिष्ट पक्ष छन्, जो उसका यसप्रकारको समग्र पक्षभित्र समेटिन्छन् भन्ने हाम्रो निष्कर्ष हुन्छ। 

भूलवश यदि हामीले उक्त महिला मेरी नभएर सुजन हुन् भन्ने ठानेको भए टाढाबाट मेरीलाई देख्दा पनि हामीले उनलाई आफूले बनाएको “सुजन” नामको व्यक्तिको श्रेणीभित्र राख्ने थियौं। यस्तो त्रुटिपूर्ण धारणाले हामी मेरीको विशिष्ट व्यक्तिगत पक्षहरूलाई सुजनको विशिष्ट व्यक्तिगत पक्षहरू भन्ठान्ने थियौं। त्यसका आधारमा उक्त महिलालाई त्रुटिपूर्वक सुजन भन्ठान्ने थियौं, किनकि उक्त महिलामा सुजनका विशिष्ट व्यक्तिगत पक्षहरू छन् भन्ने हाम्रो धारणा नै त्रुटिपूर्ण हुने थियो। यो त्रुटिका कारण हामीले मेरीलाई सुजनको श्रेणीभित्र राख्छौं। अर्थात् हामी सुजनलाई मेरीमाथि प्रक्षेपित गर्छौं। मेरीलाई सुजन भनेर चिन्ने हाम्रो बुझाइ वा प्रतिभाष नै भ्रमपूर्ण हुन्छ। उनी सुजनजस्तै देखिएलिन् तर त्यो यथार्थ होइन। 

अब मेरी अझ नजिक आइपुग्छिन् र हामी अवधारणाको स्तरमा उनलाई मेरी भनेर सही पहिचान गर्छौं र यो पनि जान्दछौं कि उनी सुजन होइनन्। उनी सुजन हुन् भन्ने कुरालाई हामी नकार्दछौं। तर त्यो जान्ने काम कसरी हुन्छ? प्रथमतः हामीले सुजनलाई पहिल्यैदेखि चिनेका छौं भने मात्र उनी सुजन होइनन् भनेर जान्दछौं। तर सुजनलाई पहिल्यैदेखि चिनेका छैनौं भने उनलाई सुजन होइनन् भनेर नकार्न सक्दैनौं र मेरीलाई “सुजन होइनन्” भनेर भन्न सक्दैनौं। उनी मेरी हुन् भन्ने हामीलाई पक्का थाहा भयो भने उनी मेरी बाहेक अन्य कोही हुन सक्ने संभावनालाई वहिष्कृत गर्न सक्र्छौं। यसरी “मेरी बाहेक अन्य कोही” मा सुजन पनि पर्छिन्। तर जब हामी पूर्ण निश्चित रूपमा उनी मेरी नै हुन् भन्ने निर्धारण गर्छौं, तब अघि सुजन हुन् वा हुन सक्लिन् भनेर सोचेकोमा अब उनी सुजन हुनसक्ने कुराको पक्कासँगले खण्डन गर्न सक्छौं। अवधारणाको स्तरमा व्यक्त रूपमा उनी मेरी नै हुन् भन्ने जान्दछौं भने अव्यक्त रूपमा उनी “सुजन होइनन्” र “मेरी बाहेक अन्य कोही होइनन्” भनेर जान्दछौं। यहाँ “व्यक्त” रूपमा भन्नुको अर्थ मेरी हाम्रो अवधारणामा स्पष्ट हुन्छिन्, र अव्यक्त रूपमा भन्नुको अर्थ उनी सुजन होइनन् वा मेरी बाहेक अन्य कोही होइनन् भन्ने ज्ञान भएपनि सुजनको अनुपस्थिति वा मेरी बाहेक अरू कसैको अनुपस्थिति दर्शाउने रिक्तता वास्तवमा प्रकट भएको हुँदैन। 

यसका अलावा हामी उनलाई शुरुमै मेरी हुन् भनेर चिन्दछौं भने त्यो बेला अनुमानमा आधारित अवधारणात्मक ज्ञान हुन्छ, पहिलो क्षणमा उक्त ज्ञान ताजा हुन्छ। र, हामी सोच्छौं, “अहो, मेरी आउँदैछिन्।” त्यस क्षणपश्चात हामी सक्रिय रूपमा कुनै थप निष्कर्ष निकाल्ने काम गर्दैनौं। उनी मेरी हुन् भन्ने ज्ञान भैसक्यो र अब तुरुन्तै यो ज्ञान ताजा हुन छाड्छ। हामीले मेरी भनेर चिनिसक्यौं, र पहिलो क्षणमा उनी को हुन् भन्ने जुन ज्ञान भएको थियो, त्यो त्यति ताजा वा सक्रिय हुँदैन। 

यी उदाहरणहरूले कुनै कुरा थाहा पाउने वा संज्ञान गर्ने सात तरिकालाई दर्शाउँछन्, साथै ती तरिका हाम्रो दैनिक जीवनमा कसरी लागू हुन्छन् र कुनै पनि चीजबारे जान्न कसरी सहायक सिद्ध हुन्छन् भन्ने कुरा स्पष्ट पार्छन्। 

Top