धर्मबाट अलग नैतिक आचरण

गौण भिन्नतालाई बढी महत्व दिनुका बेफाइदा

प्यारा दाजुभाई तथा दिदीबहिनीहरू।  तपाईंहरूसँग बोल्ने अवसर पाउँदा मलाई एकदमै खुशी लागेको छ।प्रथमतः यस्तो प्रवचनका बेला जहिले पनि म सबैलाई अनुरोध गर्छु, तपाईंहरू कृपया आफूलाई केवल एक मानवको रुपमा मात्र सम्झिनु होला। कृपया “म स्वीस हुँ” वा “म इटालियन हुँ” वा “म फ्रेन्च हुँ” वा त्यस्तै अरु केही भनेर नसोचिदिनु होला। म पनि आफूलाई तिब्बतीका रुपमा हेर्दिन। मेरा अनुवादकले पनि आफूलाई फ्रेन्चका रुपमा नहेर्नु होला! मैले त आफूलाई बौद्धमार्गी भनेर सोच्नु पनि हुँदैन, किनकि यी प्रवचनहरूमा म प्रायः भन्ने गर्छु – आफूलाई मानवका रुपमा मात्र सोच्नाले जीवनलाई सुखी बनाउने र चिन्ता कम गर्ने आधार दिन्छ।

यो पृथ्वीका सात अरब मानिस प्रत्येकले सुखी जीवन जिउन चाहन्छन्। र, प्रत्येक मानिसलाई त्यो लक्ष्य प्राप्त गर्ने पूरा अधिकार छ। हामीले गौण भिन्नताहरू, जस्तो कि “म तिब्बती हुँ” भन्ने कुरालाई प्राथमिकता दियौं भने आफूलाई तिब्बतको कुरामा मात्र केन्द्रित गराउन थाल्छौं। त्यस्तै “म बौद्धमार्गी हुँ” भन्नाले अरु बौद्धमार्गीहरूसँग सामीप्यता त हुन्छ, तर अन्य धर्मावलम्बीसँग चाहिँ स्वत केही दूरी उत्पन्न हुन्छ।

यो दृष्टिकोण नै खासमा समस्याहरूको जड हो । यसैका कारण मानवजातिको इतिहासमा धेरै समस्याहरू आए, भीषण हिंसाहरू भए, र एक्काइसौं शताब्दीमा पनि हाम्रा सामु अनेकौं समस्याहरू आइरहेका छन्। अरु मानिसलाई पनि आफूजस्तै मानिसको रुपमा हेर्ने हो भने हिंसा कहिल्यै पनि हुँदैन। एकले अर्कालाई मार्नु पर्ने कारण नै हुँदैन। मानवजातिको एकत्व बिर्सेर “मेरो देश”, “उनीहरूको देश”, “मेरो धर्म”, “उनीहरूको धर्म” जस्ता भिन्नताका गौण कुराहरूमा केन्द्रित हुँदा हामी विभाजित हुन्छौं। हामी आफ्नो मान्छे र आफ्नो धर्मका अनुयायीहरूको बारेमा मात्र धेरै ख्याल गर्न थाल्छौं। हामी अरुको अधिकारको बेवास्ता गर्छौं र उनीहरू बाँच्न पाउने अधिकारको समेत सम्मान गर्न छोड्छौं। कम महत्वका कुराहरूलाई चाहिनेभन्दा बढी प्राथमिकता र जोड दिएका कारण नै अहिले हामीले भोगिरहेका धेरै समस्याहरू उत्पन्न भैरहेका हुन्।

यो समस्याको एक मात्र हल भनेको तर्कसंगत ढंगबाट सोच्ने र आफूलाई सबै सीमा–बन्धन र छेकबारहरूबाट मुक्त मानवका रुपमा हेर्ने हो। उदाहरणका लागि यसरी प्रवचन दिँदाखेरी मैले आफूलाई तिब्बती बौद्धमार्गी भनेर सम्झिन थालेँ भने वा अझ “परमपूज्य दलाई लामा” भनेर सोच्न थालेँ भने म र मेरा श्रोताबीच एकप्रकारको दूरी उत्पन्न हुन जान्छ। त्यो वास्तवमा मूर्खतापूर्ण काम हुनेछ। यदि म तपाईंहरूको भलाईप्रति साँच्चिकै चिन्तित छु भने, मैले तपाईंहरूलाई आफूजस्तै मानव ठानेर मानवीय बन्धुत्वको भावले दाजुभाई दिदीबहिनीकै रुपमा कुरा गर्नुपर्छ। वास्तवमा हामी उस्तै छौं, मानसिक, भावनात्मक, र शारीरिक सबै रुपमा। सबैभन्दा महत्वपूर्ण कुरा के हो भने हामी सबै पीडाबाट मुक्त सुखी जीवन जीउन चाहन्छौं। म पनि त्यस्तै नै हुँ। त्यसैले हामी त्यही स्तरबाट कुरा गरौं।

धर्मनिरपेक्ष नैतिकता

धर्मनिरपेक्ष नैतिकता जैविक गुणसँग सम्बन्धित छ, जबकि धार्मिक आस्था भनेको मानवजातिमा मात्र हुने कुरा हो। मानवजातिमा धर्मको विकास भयो, तर यो पक्कै पनि जैविक गुणसँग सम्बन्धित छैन। धर्मनिरपेक्ष नैतिकताले सम्पूर्ण सात अरब मानिसलाई समेट्छ। मैले हिजो पनि उल्लेख गरेको थिएँ, ती सात अरबमध्ये एक अरबले त आफू कुनै पनि धर्मको अनुयायी नभएको बताएका छन्। बाँकी छ अरब धर्म अनुयायी छन् भनेर मान्ने हो भने पनि त्यसमध्ये कति त भ्रष्ट छन्। नराम्रा उदाहरणहरू धेरै छन्, शोषण, भ्रष्टाचार, धोखाधडी, झूठ, र बदमासीजस्ता प्रवृत्ति धेरै छन्। मलाई लाग्छ, यी सब नैतिक मूल्यमान्यतामा दृढ विश्वास नभएर हुने कुरा हुन्। त्यसैले धर्म पनि गलत प्रयोजनका लागि प्रयोग हुन सक्छ। मैले हिजो यो कुरा उल्लेख गरेँ वा गरिँन, तर मलाई कहिलेकाहीँ लाग्छ धर्मले हामीलाई कसरी पाखण्डी व्यवहार गर्ने भन्ने सिकाउँछ। हामी “प्रेम” र “करुणा” का कुरा गर्छौं, तर वास्तवमा हामी त्यस अनुसार व्यवहार गर्दैनौं। त्यसैले यतिको अन्याय भैरहेको छ।

धर्मले यस्ता राम्रा कुराहरूको शिक्षा त दिन्छ, तर त्यो परम्परागत ढर्राको हुन्छ। त्यसले तपाईंको हृदयलाई छुँदैन। सम्बन्धित मानिसहरूमा नैतिकताको कमी हुने भएकाले वा उनीहरूमा नैतिक मूल्यमान्यताप्रति कम विश्वास हुने भएकाले त्यस्तो भएको हो। कुनै धर्मको अनुयायी या गैर-अनुयायी जे भए पनि हामीले मानिसहरूलाई नैतिक मूल्यमान्यताको शिक्षा कसरी दिने भन्ने कुरामा गम्भीरतापूर्वक ध्यान दिनु आवश्यक छ। यस्तो मूल्यमान्यतामा तपाईंले धर्म जोड्नुभयो भने त्यो चाहिँ सही अर्थमा धर्म हुन सक्छ। त्यसो त मैले हिजो पनि भनेँ, सबै धर्मले यिनै मूल्यमान्यताको कुरा गर्छन्।

आफ्नो कार्यक्षेत्रप्रति अनासक्ति

गत शताब्दी जब मानिसहरू एकआपसमा हत्याहिंसा गरिरहेका थिए, दुवै पक्षले ईश्वरकै पुकारा गरिरहेका थिए। कस्तो अप्ठ्यारो! आजको दिनमा पनि तपाईं धर्मको नाममा द्वन्द्वहरू भैरहेको पाउनुहुनेछ। मलाई लाग्छ, त्यसमा दुवै पक्ष ईश्वरकै प्रार्थना गरिरहेका हुन्छन्। म कहिलेकाहीँ ठट्टा गरेर भन्ने गर्छु, ईश्वरलाई पनि बडो द्विविधा होला! दुवै पक्षले उनैलाई पुकारा गरिरहँदा र आशीर्वाद मागिरहँदा कसलाई दिने भनेर निर्णय गर्न धेरै गाह्रो हुन्छ होला। एकपटक अर्जेन्टिनामा वैज्ञानिकहरू र धार्मिक नेताहरूसँग छलफल (अन्तर्धर्म संवाद चाहिँ होइन) गर्ने क्रममा मैले मातुराना नाम गरेका एक भौतिकशास्त्री भेटेको थिएँ। उहाँ दिवंगत फ्रान्सिस्को भरेलाका शिक्षक हुनुहुन्थ्यो। मैले उहाँलाई अर्जेन्टिना अगाडि स्विट्जरल्याण्डमा पनि भेटेको थिएँ। तर त्यसपछि मेरो उहाँसँग भेट भएन। गफगाफका क्रममा उहाँले आफ्नो कुरा भन्नुभयो – भौतिकशास्त्री भए पनि आफ्नो वैज्ञानिक कार्यक्षेत्रप्रति धेरै आसक्ति राख्नु ठीक हुँदैन। मैले उहाँबाट एक अद्भुत विवेकपूर्ण ज्ञान पाएँ।

म एक बौद्धमार्गी हुँ तर मैले आफ्नो बुद्धधर्मप्रति आसक्ति राख्न मिल्दैन। किनभने आसक्ति एक नकारात्मक मनोभाव हो। आसक्ति राखियो भने हाम्रो दृष्टिकोण पूर्वाग्रही बन्छ। जब दृष्टिकोण पूर्वाग्रही हुन्छ, कुनै कुरालाई पनि निष्पक्ष भएर हेर्न सकिँदैन।

जब मानिसहरू धर्मको नाममा झगडा गर्छन्, मेरो विचारमा धेरै जसो अवस्थामा त्यस्तो झगडा वास्तविक धर्मका कारणले हुँदैन बरु आर्थिक वा राजनैतिक स्वार्थ साध्नका लागि हुने गर्छ।

तर कुनैकुनै अवस्थामा, जस्तै धार्मिक कट्टरपन्थीका हकमा, मानिसहरू आफ्नो धर्मप्रति यति ज्यादा आसक्त हुन्छन् कि उनीहरू अरु परम्पराको महत्व देख्न सक्दैनन्।

मातुरानाको भनाई मेरा लागि एक ठूलो उपदेश थियो। म धेरै मानिसहरूलाई भेटिरहेको हुन्छु। अन्य धेरै परम्पराहरूको म उत्तिकै सम्मान गर्छु। पक्कै पनि, मेरो विचारमा म कट्टरपन्थी वा रुढिवादी होइन। एक पटक म दक्षिणी फ्रान्सको लाउर्देस भन्ने ठाउँमा थिएँ। त्यहाँ म तीर्थयात्रीको रुपमा गएको थिएँ, र मैले जिसस क्राइस्टको प्रतिमाको अगाडि अलिकति पानी पिएँ। प्रतिमाको अगाडि उभिँदा मेरो मनमा कुराहरू आइरहेका थिए। कैयौं शताब्दी अगाडिदेखि लाखौंलाख मानिसहरू शान्तिको कामना गर्दै त्यो ठाउँमा पुगेका थिए। मैले सुनेअनुसार त्यहाँ पुग्ने कैयौं विरामी मानिसहरू आफ्नो आस्था र एक प्रकारको आशीर्वाद पाएर निको भएका थिए। त्यो सब सम्झँदा मलाई क्रिश्चियानिटीप्रति गहिरो सम्मान उत्पन्न भयो। आँखा भरिएर आए। त्यस्तै एक पटक म पोर्चुगलको फातिमा भन्ने ठाउँमा पुगेको थिएँ। त्यहाँ त अचम्मै भयो। क्याथोलिक र अन्य क्रिश्चियनहरूबाट म घेरिएको थिएँ। मेरीको प्रतिमा अगाडि हामीले एक छिन मौन ध्यानको अभ्यास गर्यौ। हामी सबैजना त्यहाँबाट फर्किने तरखर गर्दै थियौं। त्यसैबेला मैले पछाडि फर्केर हेरेँ, र देखेँ, मेरीको प्रतिमा मतिर हेरेर मुस्कुराइरहेको थियो। मैले दोहोर्याई तेहेर्याई हेरे, हरेक पटक मेरी मुस्कुराई नै रहेकी थिइन्। मलाई लाग्यो शायद मेरीलाई मेरो असाम्प्रदायिक तरीका मन पर्यो होला। तर अझ केही बेर बसेर मेरीसँग दर्शनशास्त्रको गफ हाँक्न थालेको भए घटनाले जटिल मोड लिने थियो होला!

तर जे होस्, आफ्नो धर्मप्रति पनि आसक्ति ठीक होइन। कहिलेकाहीँ धर्मले द्वन्द्व निम्त्याउँछ, र मानिसलाई विभाजित गर्छ, जुन ज्यादै गम्भीर कुरा हो। धर्मले त करुणा र क्षमा सिकाउनुपर्ने हो। रिस र क्रोधको उपचार भनेको करुणा र क्षमा हो।   तर धर्मले नै अरुप्रति थप घृणा उत्पन्न गर्न सिकायो भने के गर्नु? रोग निको पार्न औषधि खाइन्छ, तर त्यो औषधिले रोग निको पार्न छाडेर थप रोग लगायो भने त बिस्मात् परेन? नैतिक मूल्यमान्यताप्रति दृढ विश्वास र आस्था भएन भने यस्तो विडम्बनापूर्ण अवस्था आउँछ। त्यसैले मलाई लाग्छ, धर्मनिरपेक्ष नैतिकताको प्रवर्धनका लागि इमान्दार प्रयास गर्नुपर्छ, जसका लागि विभिन्न प्रक्रियाहरु र साधनहरूको आवश्यकता हुन्छ।

धर्मनिरपेक्षता र अरुको सम्मान

अब हामी धर्मनिरपेक्ष नैतिकताको सम्बन्धमा केही चर्चा गरौं। भारतीय पूर्व उपप्रधानमन्त्री [लालकृष्ण] आडवाणीसँग मेरो राम्रो परिचय छ। एक पटक एउटा क्यानेडियन टेलिभिजन टोलीले उहाँको अन्तर्वार्ता लिएको प्रसंग मलाई सुनाउनुभयो। उनीहरूले भारतमा प्रजातान्त्रिक अभ्यास सफल हुनुको आधार के हो भन्ने प्रश्न सोधेछन्। उहाँले जवाफ दिनुभएछ – भारतमा हजारौं वर्षदेखि अरुको सम्मान गर्ने प्रचलन छ, चाहे उनीहरूसँग विवाद वा मतभेद नै किन नहोस्। उहाँले मलाई बताउनुभए अनुसार करीब तीन हजार वर्षअघि भारतमा चार्वाक अर्थात “नश्वरवादी” दार्शनिक सोचको विकास भयो। अन्य भारतीय दार्शनिक पद्धतिहरूले त्यो मतको आलोचना गरे, त्यसको निन्दा गरे। तर चार्वाक मत मान्नेलाई अझै पनि भारतमा “ऋषि” भनिन्छ। “ऋषि” को अर्थ हुन्छ, सन्त। यसले के देखाउँछ भने त्यहाँ मतभेद वा उग्र विवाद भए पनि अरुको सम्मान गर्ने चलन छ। यसको तात्पर्य हो, हामीले धर्म नमान्ने मान्छेको पनि सम्मान गर्नु पर्छ।

हिजो मैले भनेजस्तै मेरा केही क्रिश्चियन र मुस्लिम साथीहरूलाई मैले “धर्मनिरपेक्ष” शब्द प्रयोग गरेको मन पर्दैन। फ्रान्सेली र बोल्सेभिक क्रान्तिहरूमा धर्मको विरोध गर्ने चलन आएको थियो। मलाई लाग्छ धर्मनिरपेक्षता शब्द मन नपर्ने कारण पनि त्यही होला। तर म के भन्न चाहन्छु भने धर्म र धार्मिक संस्थाहरू एउटै कुरा होइनन्। तिनीहरू विल्कुल फरक कुरा हुन्। कुनै पनि संवेदनशील मानिस कसरी धर्मविरोधी हुन सक्छ? धर्मको अर्थ हो प्रेम र करुणा। कोही पनि यसको विरोधी हुन सक्दैन। तर धार्मिक संस्थाहरूको कुरा चाहिँ अलग हो। फ्रान्सेली र बोल्सेभिक क्रान्तिको पृष्ठभूमिमा तत्कालीन शासकहरूले सर्वसाधारणमाथि ठूलो अत्याचार गरेका थिए। शासकवर्गले धार्मिक संस्थाबाट पूर्ण सहयोग पाउँथे।  त्यो परिवेशमा शासकवर्ग विरुद्ध संघर्ष गर्न पनि ती धार्मिक संस्थाको विरोध गर्नु तर्कसंगत थियो। त्यसैले त्यो अवस्थामा धर्म वा ईश्वरका विरुद्ध जाने प्रवृत्तिले केही ठाउँ पाएको थियो।

यो कुरा आजको दिनमा पनि लागु हुन्छ। तिब्बती बौद्ध लगायत अन्य कुनै धार्मिक संस्थाभित्र कुनै प्रकारको अत्याचार वा शोषणको अवस्था छ भने हामीले त्यसको विरोध गर्नुपर्छ। मेरो आफ्नै कुरा गर्दा दुई वर्षअघि मैले चारसय वर्ष पुरानो एक परम्परा बन्द गरेँ जसअनुसार दलाई लामा स्वतः तिब्बती समुदायको सांसारिक र आध्यात्मिक दुबै नेता हुन्थे। मैले त्यो प्रथा स्वेच्छापूर्वक बन्द गरेँ, त्यसमा म खुशी छु र गर्व पनि गर्छु। यस्ता कुराले वास्तवमा धर्मको वास्तविक मूल्यमा हानि पुर्याउँछन्। हामीले धार्मिक संस्था र वास्तविक धार्मिक आचरण तथा संदेशहरूबीचको अन्तर बुझ्नु आवश्यक छ।

धर्मनिरपेक्षताको भारतीय दृष्टिकोणले धर्मलाई नकारात्मक कोणबाट हेर्दैन। बरु सबै धर्मलाई समान रुपमा सम्मान गर्छ। यसले नास्तिकहरूको पनि उत्तिकै सम्मान गर्छ। मलाई लाग्छ यो एकदमै विवेकपूर्ण अभ्यास हो। यो अभ्यासलाई हामीले कसरी बढाउने त? उपदेश दिएर? पक्कै पनि होइन। उसो भए प्रार्थना गरेर त? त्यो पनि होइन। हामीले उचित शिक्षाका माध्यमबाट यसलाई बढाउन सकिन्छ। हामीलाई शारीरिक स्वच्छताको शिक्षा त दिइन्छ, मानसिक वा संवेगात्मक स्वच्छताको शिक्षा किन नदिने? चित्त स्वस्थ राख्ने सामान्य शिक्षा पनि किन नदिने? हामीले ईश्वर वा अर्को जन्मको अथवा बुद्ध र निर्वाणको कुरा गरिरहनु पर्दैन। बस् एक स्वस्थ चित्त भएको खुशी मान्छेको निर्माण गर्ने कुरा मात्र गरे पुग्छ। मान्छे खुशी छ भने उसले परिवारलाई खुशी राख्छ र यसबाट समुदाय नै खुशी रहन्छ। त्यसैले हामीले संवेगात्मक स्वास्थ्यको कुरा गर्नु आवश्यक छ।

संवेगात्मक स्वास्थ्य

संवेगात्मक स्वास्थ्य भनेको के हो त ? यसको अर्थ ती कारक तत्त्वहरूलाई नियन्त्रित गर्नु हो जसले हाम्रो चित्तको स्थिरता र शान्तिलाई खलबल्याउँछन्। यी तत्त्वहरू मानसिक रोग जस्तै हुन्, किनकि यी नकारात्मक संवेगहरूले तपाईंको शान्तिपूर्ण र स्वस्थ चित्तलाई अस्थिर गर्ने मात्र होइन, वास्तविकता बुझ्ने मनको क्षमतालाई नै नष्ट गरिदिन्छन्। यस्ता संवेगले धेरै नोक्सान गर्न सक्छन्। जब तपाईंलाई रिस उठेको हुन्छ, त्यसबेला तपाईंले यथार्थलाई राम्रोसँग देख्न सक्नुहुन्न र मनमा पूर्वाग्रह भरिन्छ। आसक्तिका कारण पनि तपाईं यथार्थलाई राम्रोसँग देख्न सक्नुहुन्न। यो चित्तको रोग हो। हाम्रो चित्तको मूल प्रकृति चेतनशीलता हो। हाम्रो चैतन्यको क्षमतालाई जुन कुराले कम गराउँछ, त्यो कुरा हाम्रा लागि हानिकारक हो।

संवेगात्मक स्वास्थ्य भनेको नकारात्मक मनोभाव वा संवेगहरूको प्रभाव कम गर्ने र चित्तको निर्मलता तथा शान्ति कायम राख्ने प्रक्रिया हो, जुन स्वस्थ चित्तका लागि आवश्यक हुन्छ। यो स्वास्थ्य हासिल गर्नका लागि पहिला त यसप्रति हामीले रुचि जगाउनु पर्यो। रुचि भएन भने मानिसलाई बलजफ्ती गरेर काम गराउन सकिँदैन। कुनै संविधान वा कानुनले मानिसलाई यसमा बाध्य गराउन मिल्दैन। यो त व्यक्तिगत रुचि वा उत्साहले मात्र हुन सक्छ, जुन कुरा कुनै पनि कार्य गर्दा के लाभ हुन्छ वा त्यसको महत्व के छ भनेर बुझेपछि मात्र सम्भव हुन्छ। यही महत्वका बारेमा हामी शिक्षा दिन सक्छौं।

चित्त र संवेगबारे वैज्ञानिक निष्कर्ष

अब केही वैज्ञानिक दृष्टिले हेरौं। पहिला पहिला आधुनिक विज्ञानको ध्यान नाप्न सकिने पदार्थमाथि मात्र केन्द्रित हुन्थ्यो। मलाई लाग्छ बीसौं शताब्दीको अन्त्यतिर र एक्काइसौं शताब्दीको शुरुवातदेखि नै धेरै वैज्ञानिकहरूले चित्त र यसका संवेगहरूको अध्ययनमा रुचि देखाइरहेका छन्। यसको कारण छ। चित्त र यसका संवेगहरूको शारीरिक स्वास्थ्यमा गहिरो सम्बन्ध छ। केही वैज्ञानिकहरुले भन्ने गरेका छन्ः “स्वस्थ मन, स्वस्थ शरीर”।  शरीरक्रिया वैज्ञानिकहरूका अनुसार निरन्तर डर, रिस र घृणाको भावले हाम्रो रोग प्रतिरोधात्मक क्षमतामा ह्रास ल्याउँछ। त्यसका विपरीत करुणामय चित्तले  शरीरको स्वास्थ्य कायम राख्ने मात्र होइन, त्यसलाई बढाउँछ पनि। स्पष्टै छ, जो मानिस मानसिक रूपले खुशी छन्, तिनलाई शारीरिक रुपमा पनि अनगिन्ती लाभ प्राप्त हुन्छ।

नकारात्मक परिस्थितिमा सकारात्मक पक्षको खोजी

मैले आफ्नो जीवनमा सोह्र वर्षको उमेरदेखि नै धेरै जिम्मेवारी वहन गर्नु परेको थियो। परिस्थिति निकै नै विषम थियो। चौबीस वर्षको उमेरमा मैले आफ्नो देश गुमाउनुपर्यो। मैले आफ्नो अधिकांश जीवन शरणार्थीका रुपमा बिताएको छु। यो दौरानमा तिब्बतमा धेरै दुःख र समस्याहरू आए। मानिसहरूले ममाथि धेरै आशा र भरोसा राखेका छन्। तर म केही गर्न सक्दिन। तर मेरो चित्त शान्त छ, जसका माध्यमले म यो परिस्थितिलाई यथार्थ रुपमा हेर्न सक्छु। शान्तिदेवले भन्नुभए जस्तै यदि समस्याको समाधान छ भने चिन्ता गर्ने कुरै भएन। तर समस्याको कुनै समाधान देखिँदैन भने पनि धेरै चिन्ता लिनुको अर्थ हुँदैन। यो एकदम यथार्थवादी दृष्टिकोण हो। मैले यही दृष्टिकोण लिएको छु।

कुनै पनि कुरालाई यथार्थवादी दृष्टिले हेर्नु र सबैथोक परस्परमा सम्बन्धित छन् भन्ने कुरा बुझ्नु जरुरी छ। जे घटना घटेपनि त्यसको कुनै न कुनै सकारात्मक पक्ष हुन सक्छ। मेरो कुरा गर्दा, म शरणार्थी भएँ तर त्यसले गर्दा मैले धेरै मानिसहरू भेट्न र धेरै नयाँ विचारहरू सिक्न पाएँ। मैले भिखारीहरू भेटेको छु, नेताहरू, विभिन्न क्षेत्रका विद्वानहरू, र गैर–धार्मिक व्यक्तिहरू भेटेको छु। यसबाट धेरै लाभ भएको छ, किनकि तिब्बतमै बसिरहेको भए मैले अहिलेभन्दा आधा मात्र कुरा जान्न पाउँथे होला। त्यसैले एक हिसाबले अत्यन्तै ठूलो दुर्भाग्यको कुरा भए पनि अर्को हिसाबले हेर्दा यसले राम्रा अवसरहरू प्रदान गरेको छ। अलग अलग कोणबाट हेर्ने हो भने हामीलाई ठीकै लाग्छ। अप्रिय घटनाहरू घट्न सक्छन्, तर तिनमा पनि केही राम्रो कुरा लुकेको हुन सक्छ।

विगतमा तिब्बती जनता बाँकी संसारबाट अलग्गै थिए। तर अहिले उनीहरूको सोच निकै व्यापक भएको छ। शताब्दियौंदेखि तिब्बती जनता करीब करीब निद्राको अवस्थामा थिए, अहिले उनीहरू बिउँझेका छन्। यो राम्रै कुरा हो। तपाईंले भिन्नाभिन्नै कोणबाट हेर्नुभयो भने सकारात्मक कुराहरू पनि देखिन्छन्। यसले हाम्रो चित्त शान्त बनाइराख्न धेरै सघाउ पुर्याउँछ। आजकल मेरा पुराना मित्रहरूले मलाई देखेर भन्नुहुन्छ, म आफ्नो उमेरभन्दा जवान देखिन्छु रे। कतिजनाले त्यसको रहस्य सोध्नुहुन्छ। म उहाँहरूलाई भन्ने गर्छु – आठ वा नौ घण्टा सुत्नाले हामीलाई शान्त रहन सहयोग गर्छ। यसले पक्कै पनि फाइदा हुन्छ, तर यो बाहेक अरु कुरा पनि छन्। चित्त र यसका अवस्थालाई अपेक्षाकृत शान्त र स्थिर राख्न सकियो भने बढी लाभ हुनेछ।

शान्त चित्तले शल्यक्रिया जस्ता चिकित्सापछि निको हुन पनि सहयोग गर्छ। मेरो पित्तथैलीको शल्यक्रिया गर्दा स्थिति निकै गम्भीर भएको थियो। चिकित्सकले पछि मलाई भन्नुभयो कि त्यो शल्यक्रियाका लागि सामान्यतः करीब पन्द्रदेखि बीस मिनेट लाग्छ। तर मेरो हकमा यसका लागि झण्डै तीन घण्टा लाग्यो। मेरो पित्तथैली सामान्यभन्दा झण्डै दोब्बर साइजको भएको रहेछ र धेरै पीप पनि जमेको रहेछ। तर म पाँच दिनमै ठीक भइहालेँ। शान्त चित्त र सकारात्मक दृष्टिकोणले शरीर स्वस्थ राख्न साँच्चिकै सहयोग गर्छ। केही विमारी भैहाल्यो भने पनि छिट्टै निको हुन्छ। राम्रो स्वास्थ्यका लागि चित्तको शान्ति धेरै महत्वपूर्ण हुन्छ

सौन्दर्यः आन्तरिक कि बाह्य?

अब थोरै ठट्टाको र थोरै मजाकको कुरा गरौं। युवतीहरू सौन्दर्य प्रशाधनमा ज्यादै पैसा खर्च गर्छन्। केही महिलाहरू आफ्नो अनुहारमा नीलो, हरियो, विभिन्न थरी रङ्ग लगाउँछन्। त्यसले राम्रो देखिँदैन, तर कतिजनाले आफू धेरै नै राम्री देखिएकी छु भन्ने सोच्छन्। भन्नुको तात्पर्य के हो भने मानिसहरू बाहिरी सौन्दर्यमा धेरै नै ध्यान दिन्छन्। एक दिन प्रवचनका क्रममा मैले एक महिलाको नीलो रंगको कपाल देखेँ। मैले ठट्टा गर्दै उहाँलाई भने – नीलो कपाल राम्रो देखिनै पर्छ भन्ने छैन। यसको मतलब बाहिरी सौन्दर्यको महत्व छैन भन्ने होइन, तर खास महत्व चाहिँ भित्री सौन्दर्यको हुन्छ। बाहिरी सौन्दर्यमा धेरै पैसा खर्चिने महिलालाई मेरो आग्रह छ, तपाईंहरू भित्री सौन्दर्यमा बढी ध्यान दिनुहोस्। त्यो बढी राम्रो हुनेछ।

प्राज्ञिक विषयका रुपमा चित्त र संवेग

हामी वैज्ञानिक उपलब्धिको कुरा गरिरहेका छौं। चित्तको वास्तविक शान्ति एकदमै आवश्यक छ। आत्मविश्वास र आन्तरिक शक्ति चित्त शान्तिका आधार हुन्। अरुप्रति सम्मान र कल्याणको भाव राख्दै प्रेम र करुणाको व्यवहार गर्नाले आत्मविश्वास र आन्तरिक शक्ति प्राप्त हुन्छ। धर्मनिरपेक्ष नैतिकताको अर्थ यही हो।

किंडरगार्टनदेखि विश्वविद्यालय स्तरसम्म हामी चित्तको विषयमा र मनोभाव वा संवेगहरू नियन्त्रित गर्ने उपायका सम्बन्धमा शिक्षा दिन सक्छौं। यो एकदमै व्यापक विषय हो, र हाम्रो चित्त र मनोभाव वा संवेगका बीचको अन्तर्सम्बन्धका बारेमा अनेकौं व्याख्याहरू उपलब्ध छन्। हामी यसमा एक प्रकारले हेतु–प्रत्ययको सम्बन्ध देख्न सक्छौं। चित्तको एक भागमा केही घटित हुन्छ भने अन्यत्र केही अरु नै घटित भैरहेको हुन्छ। यस्तो स्थितिमा हामीले चित्त र पूरै मस्तिष्कको अन्तर्सम्बन्धलाई गम्भीरतापूर्वक बुझ्नु आवश्यक हुन्छ।

प्राज्ञिक दृष्टिबाट यो गहन विषयको अध्ययन एकदमै उपयोगी हुन्छ। अमेरिकामा विगत केही वर्षयता वैज्ञानिकहरूले प्राप्त जानकारीका आधारमा अनेकौं प्रयोगहरू गरिरहेका छन्, जसबाट केही ठोस परिणामहरू देखिएका छन्। यसको परिणामस्वरुप केही प्राज्ञिक कार्यक्रमहरूको विकास गरिएको छ जहाँ धर्मनिरपेक्ष नैतिकताको पढाइ हुन्छ। हामी पनि धर्मनिरपेक्षतामा आधारित नैतिक आचरणको एक यस्तो मस्यौदा पाठ्यक्रम तैयार गर्न प्रतिबद्ध छौं, जसलाई धर्मनिरपेक्ष शिक्षा प्रणालीमा समावेश गराउन सकियोस्।

यहाँ उपस्थित श्रोतागण र विशेषतः शिक्षाविद तथा चिन्तकहरूले यस सम्बन्धमा अझ गहिरो विचार गर्नु आवश्यक छ। र, यदि मौका मिल्यो भने यो विषयमा थप छलफल आयोजना गर्नुपर्छ। यस्तो लाग्छ, वर्तमान शिक्षा प्रणालीमा नैतिक आचरणसम्बन्धी शिक्षाको अभाव छ। त्यसैले धेरै मानिस नैतिक शिक्षाका लागि धर्ममा निर्भर हुन्छन्। यो निःसंदेह एकदमै राम्रो कुरा हो। तर त्यस्ता मानिस पनि छन्, जसलाई धर्ममा कुनै रुचि छैन र धार्मिक अवधारणाहरूलाई स्वीकार गर्न सक्दैनन्। त्यसो हुँदा अप्ठ्यारो पर्छ। त्यसै कारण हामीले धर्मनिरपेक्ष तरीका खोज्नु पर्छ, जुन सबैका लागि स्वीकार्य होस्।

अहिलेलाई यत्तिनै। अब केही प्रश्नको पालो।

प्रश्नहरू

परम पूजनीय, तपाईंले आफ्नो अन्तिम टिप्पणीमा त्यो कुरा उल्लेख गर्नुभयो, जुन म सोध्न लाग्दै थिएँ। तपाईंलाई अन्यथा लाग्दैन भने म त्यसको पूरा उत्तर पाउन सोही प्रश्न सोध्न चाहन्छु। स्कूल र विश्वविद्यालयमा धर्मनिरपेक्ष नैतिकताको शिक्षा दिनका लागि तपाईं कसैसँग मिलेर उपयुक्त शिक्षण कार्यक्रम तयार गर्दै हुनुहुन्छ? यसमा कुनै शैक्षिक वा वित्तीय संस्थाले तपाईंलाई सघाइरहेको छ? 

भारतमा केही विश्वविद्यालयसँगको सहकार्यमा हामीले अघि उल्लेख गरेको मस्यौदा पाठ्यक्रम तयार गर्न शुरु गरिसकेका छौं। यसका अतिरिक्त हाम्रो माइन्ड एण्ड लाइफ इन्स्टिच्यूट छ। अमेरिकामा विस्कन्सिन युनिवर्सिटी, एमोरी युनिवर्सिटी, स्ट्यानफोर्ड युनिवर्सिटी आदिमा विज्ञहरू आ–आफ्नो स्तरमा धर्मनिरपेक्ष नैतिकतामा आधारित शिक्षा दिने काम गर्दै हुनुहुन्छ। र, युरोपमा पनि हाम्रो संस्थाको विस्तार भएको छ। चाँडै नै हामी दिल्ली वा त्यसको छेउछाउमा एक संस्थान स्थापित गर्ने प्रयास गर्दैछौं। अहिलेसम्म हाम्रो काम त्यतिसम्म मात्र भएको छ। पाठ्यक्रम तैयार भैसकेपछि सम्भवतः हामी केही शिक्षकहरूलाई प्रशिक्षित गर्न सक्छौं होला। तब केही परिणाम हासिल हुनेछ। आशा छ, यो सब उपयोगी साबित हुन्छ होला। हामी परिणामको प्रतीक्षा गरौं।

परम पूजनीय, मलाई यो ग्रह र यसका सबै चिजहरू – रुख विरुवा, जनावरहरू, मानवजाति – सबैसँग प्रेम छ। तर मानिसहरू कहिले प्लास्टिक बोतलको प्रयोग जस्तो तुच्छ काम गरेर त कहिले बन विनाश जस्तो ठूलो गल्ती गरेर यो ग्रहलाई नष्ट गर्ने काम गरिरहेका छन्। मलाई थाहा छ मैले धैर्य अपनाउनु पर्छ, तर जब यो सब भैरहेको देख्छु, जीवजगत मरिरहेको र दुःखमा पिल्सिरहेको देख्छु, मलाई भित्रैदेखि रिस उठेर आउँछ। म यी सबका विरुद्ध लड्न चाहन्छु। यसमा मेरो प्रश्न छ, स्वस्थ रिस भन्ने कुरा पनि हुन्छ? के म प्रेमको भावले लडाईं लड्न सक्छु?

मैले पहिला भनेजस्तै रिस मानिसको प्रेरणासँग जोडिएको हुन्छ। अर्थात्, कुनै कुराप्रति वा अरु मानिसको कल्याणप्रति चिन्तित भएर रिस गर्नु एउटा कुरा हो भने कसैप्रति घृणाका कारण गरिने रिस नितान्त फरक कुरा हो।

परम पूजनीय, तपाईं यो ग्रहमा निवास गर्ने छ अरब आस्तिक र सम्भवतः एक अरब नास्तिकको कुरा गर्नुहुन्छ। मलाई लाग्छ एक तेश्रो वर्ग पनि छ जो परम्परागत संस्थागत धर्ममा आफूलाई सहज अनुभव गर्दैनन्, तर उनीहरू नास्तिक पनि हुँदैनन्। उनीहरू संस्थागत धर्मव्यवस्था बाहिर आध्यात्मिकता खोजिरहेका हुन्छन्। उनीहरूलाई तपाईंको सुझाव के छ?

धेरै बर्षअघि स्टकहोममा एक सानो समूहसँग मेरो भेट भएको थियो। उनीहरू प्रचलित परम्परा र धर्मव्यवस्थाको पक्षधर थिएनन्, तैपनि उनीहरूमा कुनै न कुनै आध्यात्मिक ज्ञानको चाहना थियो। पक्कै पनि, यस्ता मानिसहरू छन्। तर मेरो अनुभवमा त्यस्तो अभ्यास जसलाई तपाईंहरू “नयाँ युग” भन्नुहुन्छ, जसमा यताउताबाट कुराहरू निकालिन्छ र जोडजाड गरेर सम्मिश्रण तयार गरिन्छ, त्यो धेरै उपयोगी हुँदैन!

मलाई लाग्छ, आफ्नो भौतिक आवश्यकताहरू पूरा गर्नुमात्र पर्याप्त हुँदैन। हामीले आफ्नो आन्तरिक मूल्यहरूको खोजी गर्नुपर्छ। तिनको प्राप्तिमा मात्र केही उपलब्धि हुन्छ। हामीले आफ्नो जीवनको मूल्यांकन गर्नुपर्छ, र यो कुरा बुझ्नुपर्छ कि कुनै बाह्य इन्द्रियबाट पाइने संतुष्टिबाट हामीलाई खुशी प्राप्त हुँदैन। उदाहरणका लागि, जब संगीत बजिरहेको हुन्छ, तपाईंलाई संतुष्टि मिल्छ, तर संगीत बन्द हुने बित्तिकै संतुष्टि पनि हराउँछ। यसका विपरीत मानसिक स्तरमा विश्वास वा करुणाले जुन संतुष्टि प्राप्त हुन्छ, त्यो धेरै बढी स्थायी हुन्छ।

तपाईंको विचारमा कुनै मानिसको जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा के होला?

म सधैं मानिसहरूलाई भन्ने गर्छु, हाम्रो जीवनको उद्देश्य सुखपूर्वक जीउनु हो। तर जीवनमा सुख वा खुशीको प्राप्ति इन्द्रियसँग सम्बन्धित साधन र अनुभवहरूमा आश्रित हुनु हुँदैन। खुशीको प्राप्ति हाम्रो चित्तको अवस्थामा निर्भर हुनुपर्छ। त्यसैले म सधैं भन्छु, हामीले आफ्नो आन्तरिक मूल्यहरूमाथि धेरै ध्यान दिनु आवश्यक छ। तपाईंहरूलाई धेरै धेरै धन्यवाद।

Top