दान पारमिता

बालक हुँदा हामीलाई प्रायः आफ्ना खेलौना, क्यान्डी आदि अरूसँग बाँड्न सिकाउनुपर्ने हुन्छ। यस्तो दानशीलताको गुण वयस्क हुँदा पनि स्वाभाविक वा सहज रूपमा आइहाल्दैन। अक्सर हामीलाई के लाग्न सक्छ भने बहुमूल्य कुराहरू अरूसँग बाँड्यौं भने आफ्ना लागि केही बाँकी रहँदैन। तर बुद्धले दिनुभएको शिक्षाअनुसार दानशीलता त्यस्तो अमूल्य अभ्यास हो जसबाट न केवल अरूको प्रत्यक्ष हित हुन्छ, अपितु हामी आफैँ पनि असाधारण खुशी र सन्तुष्टि प्राप्त गर्छौं। यो लेखमा षट्पारमितामध्ये पहिलो दान पारमिताबारे चर्चा गरिएको छ।

परिचय

षट्पारमिता अर्थात “६ पारमिताहरू” वा “६ दूरगामी मनोवृत्तिहरू” चित्तका त्यस्ता अवस्था हुन् जसबाट हामी स्वयंको सुधार तथा अरूको सर्वोत्तम हित गर्न सक्षम हुन्छौं। यी पारमिताहरूले अल्छीपना, रिस आदि सफलताका मुख्य बाधकहरूको सीधै सामना गर्छन् र तिनबाट मुक्त हुन सहयोग गर्छन्। हामी तिनलाई “पारमिता” भन्छौं किनकि बौद्ध परिप्रेक्ष्यमा जब तिनलाई पूर्ण विकसित गरिन्छ, तब तिनले हामीलाई आफ्ना कमीकमजोरी र दुःखको महासागर पार गरेर अर्को किनारसम्म पुग्न सक्षम बनाउँछन्। नैष्क्रम्य, अर्थात् सबै दुःखबाट मुक्त हुने अठोट भयो भने तिनले हामीलाई निर्वाणतर्फ लैजान्छन्। बोधिचित्त, अर्थात् सबै सत्त्वको हितका लागि आफू बुद्ध बन्ने आकांक्षा राखियो भने तिनले हामीलाई पूर्ण बोधितर्फ लैजान्छन्। 

ती ६ पारमिताहरू हुन् – 

  • दान
  • शील
  • क्षान्ति
  • वीर्य
  • ध्यान
  • प्रज्ञा

दैनिक चर्या र ध्यान अभ्यासमा हामी यी ६ वटैमा आफूलाई प्रशिक्षित गर्छौं। मांसपेशी सबल बनाउन व्यायाम गरिराखेजस्तै जति धेरै हामीले यी चित्तावस्थामा आफूलाई अभ्यस्त गराइराख्छौं त्यति नै यी सबल बन्दै जान्छन्। अन्ततः यी हाम्रो जीवनको अभिन्न अंग बन्न पुग्छन् र हामीले आफू र अरूसँग गर्ने व्यवहारमा एक स्वाभाविक अनुभूतिका रूपमा हरदम रहिरहन्छन्। 

दान पारमिता

दान पारमिता त्यस्तो मनोवृत्ति हो जसमा हामी अरूलाई आवश्यक पर्ने जुनसुकै पनि कुरा दान गर्न तत्पर हुन्छौं। तर यसको अर्थ आफूसँग भएको सर्वस्व दानमा दिने र गरिबी नै ठूलो पुण्य हो भनेजसरी आफू चाहिँ हरिकंगाल भएर बस्ने होइन। यस्तो दृष्टिकोण पनि कुनै कुनै धर्ममा पाइन्छ। हाम्रो सन्दर्भमा दान भनेको कुनै झन्झट नमानी र कुनै अवरोध सिर्जना नगरी आफूसँग भएको कुरा दान गर्ने हो। यसका लागि विवेकको प्रयोग गर्नुपर्ने हुन्छ। कसैले मान्छे मार्नका लागि बन्दुक खोज्दैछ भने हामी “अहो! म त यस्तो दानशील छु! लैजाऊ, बन्दुक किन्नका लागि यो पैसा” भन्दै उक्त व्यक्तिलाई पैसा दिँदैनौं। त्यस्तै कसैलाई लागूऔषधी किन्न पैसा दिनु पनि अविवेकी दानको एक प्रकार हो। 

दानको अभ्यास गर्न हामी धनी नै हुनुपर्छ भन्ने छैन। हामी अत्यन्तै गरिब छौं र अरूलाई दिनका लागि केही छैन भने पनि कम्तीमा हामीसँग दिने तत्परता हुन सक्छ। नत्र त निर्धन मानिसले दानशीलताको विकास कसरी गर्नु? त्यसैले मनमोहक सूर्यास्तको दृश्य देख्यौं भने आफूजस्तै सबैले त्यसको आनन्द लिन सकून् भनेर कामना गर्न सक्छौं। सुन्दर प्राकृतिक दृश्य, राम्रो मौसम, मीठो खाना आदि हरेक कुरामा हामी यस्तो कामना गर्न सक्छौं। यो सबै दानशीलताको अभ्यास हो! आफूसँग भएको वस्तुको मात्र दान होइन, कसैको अधीनमा नभएका कुराहरूबाट पनि हामी दानको अभ्यास गर्न सक्छौं। ध्यानमा हामी सबै सुन्दर वस्तुहरू अरूलाई दिँदै गरेको कल्पना गर्न सक्छौं। तर यदि हामीसँग साँच्चिकै कुनै चीज छ र त्यसले कसैको हित गर्छ वा उनीहरूलाई त्यसको आवश्यकता छ भने हामी त्यसलाई दिएको कल्पना मात्र गर्दैनौं, यथार्थमै त्यसलाई दानमा दिन्छौं!

दानशीलता कन्जुस्याईंको उल्टो गुण हो। कन्जुस्याईंमा अरूसँग कुनै कुरा बाँड्ने वा कसैलाई केही दिने तत्परता हुँदैन। अरूलाई दान गर्यो भने आफ्नो उपभोगका लागि केही बाँकी रहँदैन भन्ने भाव जोडिएको हुन्छ। तर त्यसका विपरीत के हो भने - 

सबै कुरा मैले आफूसँग मात्र राखेँ भने, अरूलाई दिनका लागि के बाँकी रहला र? तिब्बती भनाई 

तर हामी पागलपनबाट चाहिँ बच्नुपर्छ। अरूलाई सहयोग त गर्नुपर्छ, साथै हामी स्वयंले पनि खानु र सुत्नुपर्छ। हामीले आफ्नो पनि ख्याल राख्नुपर्छ। दान पारमिताको तात्पर्य आफूले सक्ने कुरा अरूसँग बाँड्ने हो। उच्चकोटीका बोधिसत्त्वहरूले आफ्नो जीवन नै अरूको मद्दतका लागि बलिदान दिन सक्छन्। तर हाम्रो स्तरमा त्यो हदसम्म गर्नु सम्भव हुँदैन। त्यसैले हामी स्वयं भोकै मर्ने स्थितिमा पुगेर आफ्नो सबैथोक अरूलाई दिनेसम्मको सहयोग अहिल्यै गर्न सक्दैनौं, त्यसो गर्नु पनि हुँदैन। तैपनि हामीले आफ्नो शरीरको उपयोग गर्दै अरूलाई सहयोग गर्ने तत्परता देखाउनुपर्छ। त्यसमा कठिन वा दिक्कलाग्दो कार्य गर्न अरूलाई सहयोग गर्ने वा शारीरिक परिश्रम नै गर्ने पनि पर्न सक्छ। काम गर्दा हातमा फोहोर लाग्ला भनेर तर्सिनु हुँदैन!

दान पारमितामा हामी आफ्नो “कुशल मूल” पनि बाँड्छौं, जसको अर्थ हामीले आर्जन गरेको कुशल कर्मको कुशल बल हो। मेरो आफ्नै जीवनको एक उदाहरण प्रस्तुत गर्छु – विगतका जन्महरूमा गरेका कुशल कर्मको कुशल बलले गर्दा मैले भारतमा केही महानतम बौद्ध गुरुहरूलाई भेट्न र उहाँहरूबाट शिक्षा लिन पाएँ, संसारभरबाट मलाई निम्तो आउँछ, र थुप्रै अद्भूत मानिसहरूसँग म जोडिन पाएको छु। यसले थप सकारात्मक बल ममा थपिएको छ। अभ्यासका क्रममा यी सबै “कुशल मूल” हरूलाई म अरूसँग बाँड्ने प्रयत्न गर्छु, तिनबाट प्राप्त हुने फललाई आफूसँग मात्र राख्दिनँ। उपयुक्त भएसम्म म आफ्नो सम्बन्धलाई अरूको भलाईमा उपयोग गर्ने प्रयत्न गर्छु र उनीहरूलाई ती महान गुरुहरू तथा विश्वभरका कैयौं ज्ञानी तथा मनकारी व्यक्तिहरूसँग मेल गराउने प्रयत्न गर्छु। विश्वविद्यालयमा सिकेका कुरा तथा भारतमा कैयौं दशक रहेर गरेका अभ्यास तथा लिएका ज्ञान अरूसँग बाँड्ने प्रयत्न गर्छु। आफ्ना कुशल मूललाई अरूसँग बाँड्नुको अर्थ यही हो – अरूका लागि आफ्नो द्वार खुला राख्नु। 

दान पारमितामा चार प्रकारका दानको चर्चा गरिन्छ –

  1. शारीरिक रूपमा गरिने दान (आमिष दान)
  2. शिक्षाको दान (धर्म दान)
  3. अभय दान
  4. मैत्री दान

आमिष दान

आमिष दानमा आफूसँग भएका सम्पत्ति, खानेकुरा, लत्ताकपडा, पैसा, वा त्यस्तै अरू भौतिक चीजहरू दान गरिन्छ। यस्तो दान गर्न उपयुक्त हुने अवस्था रहेछ भने दिने भाव राख्नुपर्छ। र, दिँदा पनि सम्मानजनक ढंगले दिनुपर्छ, कुकुरलाई हड्डी फ्याँकेजस्तो गर्न हुँदैन। आमिष दानको अभ्यासका लागि हामी धनी हुनु वा कैयौं कुराको मालिक हुनु आवश्यक हुँदैन। आफ्नो अधीनमा नभएको कुराको पनि दान गर्न सकिन्छ। तर यसको अर्थ “रविन हुड” भएर चोरी गर्दै अरूलाई बाँड्दै हिँड्नु होइन। हामी सार्वजनिक कुराबाट दानको अभ्यास गर्न सक्छौं, जस्तै : वातावरण। वातावरण स्वच्छ राख्यौं भने अरूले त्यसबाट लाभ लिन सक्छन्। यो अरूलाई दिने अद्भूत दान हुनेछ। कुनै हर्षको भाव मनमा आयो भने त्यसलाई अरूसँग बाँड्न सक्छौं, जस्तै : “यस्तो सुन्दर मौसमको आनन्द सबैलाई मिलोस्” भनेर कामना गर्ने, आदि। 

आमिष दानलाई केवल भौतिक पदार्थको दानका रूपमा मात्र बुझ्नु हुँदैन। हामीले आफ्नो शरीरको उपयोग गर्दै अरूलाई समय दिने, काममा सहयोग गर्ने, रुचि देखाउने, उत्साह प्रदान गर्ने आदि तरिकाले पनि मद्दत गर्न सक्छौं। यी सबै तरिका भौतिक रूपमा दान पारमिताको अभ्यास गर्ने कुशल उपायहरू हुन्। 

अरूलाई विष, हतियार जस्ता भौतिक पदार्थ चाहिँ दिन उपयुक्त हुँदैन, किनकि त्यसबाट उनीहरू आफ्नो वा अरूको हानि गर्न सक्छन्। 

शिक्षाको दान (धर्म दान)

बुद्धधर्मको सन्दर्भमा यसको अर्थ बौद्ध शिक्षाको दान अर्थात धर्मको दान हुन्छ। तर यसलाई हामी अन्य गैर–बौद्ध सन्दर्भमा पनि लिन सक्छौं। यसमा केवल उपदेश दिने, अनुवाद गर्ने, लिपीकृत गर्ने, प्रकाशन गर्ने, वा शैक्षिक केन्द्रहरूको स्थापना वा ती केन्द्रमा गएर सेवा गर्ने काम मात्र पर्दैनन्, अपितु आफूले सकेसम्म मानिसहरूको प्रश्नको उत्तर दिने, सल्लाह दिने, सूचना प्रदान गर्ने आदि काम पनि पर्छन्। 

साक्या सम्प्रदायमा समाधि पूजा (अर्पण) को पनि अभ्यास गरिन्छ, जहाँ हामी आफ्नो धर्म अभ्यासका विविध पक्षलाई अरूसँग बाँड्छौं। आफ्नो अध्ययन र पठनबाट हामीले जेजति पनि सिकेका छौं त्यसलाई अरूसँग बाँड्छौं र अरूको सहयोगका लागि त्यसको उपयोग गर्छौं। आफूले आर्जन गरेका सबै ज्ञान, विश्वास, शील, अन्तर्दृष्टि, एकाग्रता तथा धर्मका व्याख्या पनि यसैगरी अरूसँग बाँड्न सक्छौं। यो धर्मको दान गर्ने अभ्यास भएता पनि यसअन्तर्गत हामी आफूले जानेका र अरूलाई हितकर हुने सबै कुरा अरूसँग बाँड्न सक्छौं।

अभय दान

यो प्रकारको दानअन्तर्गत हामी अरू संकटमा परेका बेला उनीहरूलाई सहयोग गर्छौं। यसमा वध गर्न ठीक पारिएका पशुहरूलाई बचाउने, पिँजरा र खोरमा बन्द गरिएका पशुहरूलाई खुला छाडिदिने जस्ता कार्य पर्छन्। पौडीपोखरी (स्विमिङ पुल) मा डुब्न लागेका झिंगालाई बचाउने, मानिस र पशुहरूलाई उग्र गर्मी र ठण्डीबाट बचाउने आदि कार्यहरू पनि अरूलाई सुरक्षा प्रदान गर्ने पहलअन्तर्गत पर्छन्। कोठाभित्र गोब्रेकिरा फेला पर्यो भने त्यसलाई झ्यालबाट फुत्त बाहिर फ्याँकिदिने र पाँच तल्लामुनि झर्दैमा त्यो मरिहाल्दैन भनेर आफ्नो कामको औचित्य साबित गर्न खोज्दैनौं। बरु त्यसलाई सावधानीपूर्वक बाहिर लगेर छाड्ने काम गर्छौं। त्यसलाई शौचालयमा लगेर तेरो यात्रा शुभ रहोस् भन्दै फ्लस गरेर बगाउने काम त कुनै हालतमा पनि गर्दैनौं! 

यो दानमा अरू भयभीत भएका बेला उनीहरूलाई सान्त्वना दिने काम पनि आउँछ, चाहे ती हाम्रा बालबालिका हुन् वा शिकार गर्न लागिएका पशु हुन्। उदाहरणका लागि, बिरालोले मुसालाई दुःख दिँदैछ भने त्यो मुसालाई बिरालोबाट टाढा पुर्याएर बचाउने प्रयत्न गर्छौं। 

तन्त्रमा अरूलाई अभयदान दिनुको अर्को तात्पर्य पनि हुन्छ – आफ्नो समभावलाई अरूसँग बाँड्नु। यसको अर्थ अरूले हामीसँग डराउनुपर्ने कुनै कारण छैन भनेर सान्त्वना दिनु हो, किनकि न त हामी उनीहरूसँग आसक्तिपूर्ण ढंगले लिप्सिन्छौं, न उनीहरूलाई रिस र आक्रोशका कारण परित्याग गर्छौं वा बिल्कुलै उपेक्षा गर्छौं। हामी सबैसँग एकदमै खुलापनका साथ प्रस्तुत हुन्छौं, जुन हाम्रा तर्फबाट उनीहरूलाई दिनसक्ने अद्भूत उपहार हुनेछ।

मैत्री दान

तन्त्रले चौथो प्रकारको दानको पनि चर्चा गर्छ, जुन हो मैत्रीको दान। मैत्रीको अर्थ बाटोमा निक्लेर सबैलाई अंगालो हाल्दै हिँड्नु होइन, अपितु सबैलाई सुख मिलोस् भन्ने कामना गर्नु र त्यो भावको अभ्यास गर्नु हो। अर्को व्यक्ति सुखी होस् र सुखका हेतुहरूले युक्त होस् भन्ने कामना गर्नु नै मैत्री हो।   

दान गर्ने उपयुक्त तरिका 

कुनै एक पारमिताको अभ्यास गर्दा हामी अन्य पाँचलाई पनि त्यसमा समावेश गर्ने प्रयत्न गर्छौं। त्यसैले दान पारमिताको अभ्यासमा – 

  • शील पारमितालाई पनि साथै राख्छौं र सबै प्रकारका अनुपयुक्त तथा गलत स्वार्थपूर्ण आशयहरूबाट आफूलाई मुक्त गर्छौं। 
  • क्षान्ति पारमितालाई पनि साथै राख्छौं र आइपर्ने जुनसुकै कठिनाइको सामना गर्न हिच्किचाउँदैनौं। 
  • वीर्य पारमितालाई पनि साथै राख्छौं र अभ्यासमा उत्साहित हुन्छौं, त्यसलाई एउटा गर्नैपर्ने कर्तव्य वा बाध्यताका रूपमा मात्र लिँदैनौं। 
  • ध्यान पारमितालाई पनि साथै राख्छौं र एकाग्रतापूर्वक दानबाट प्राप्त सकारात्मक उर्जाको परिणामना गर्छौं। 
  • प्रज्ञा पारमितालाई पनि साथै राख्छौं र दाता (आफू), ग्रहणकर्ता, र दिइने कुरा कसैको पनि स्वयं-स्थापित अस्तित्व छैन भन्ने बोध गर्छौं। ती सबै एक अर्कामा आधारित छन्। ग्रहणकर्ता भएन भने दाता पनि हुँदैन। 

दान र अनुपयुक्त आशय 

थुप्रै अवस्था त्यस्ता हुन्छन् जहाँ हामीले दानको अनुपयुक्त अभ्यास गरिरहेका हुन्छौं, त्यसबाट बच्नुपर्छ। अरू हामीसँग प्रभावित होऊन् भन्ने कामना अथवा आफू साँच्चिकै धर्मपरायण र विशिष्ट व्यक्ति भएकाले दान गर्दैछु भन्ने सोच; वा दान गर्दा सामान्यतया बदलामा कुनै न कुनै कुराको अपेक्षा गर्ने, चाहे त्यो एक धन्यवाद मात्र किन नहोस् – यस्तो आशय हाम्रो हुन सक्छ। तर दान गर्दा बदलामा कुनै पनि कुराको अपेक्षा गर्नु अनुपयुक्त हो, भलै त्यो एक धन्यवादको अपेक्षा मात्र किन नहोस्। अरूको अवस्थामा व्यापक सुधार ल्याउन सफल बनौंला भन्ने चाहना त झनै परको कुरा भयो। त्यो उनीहरूको कर्मले निर्धारण गर्ने कुरा हो। हामी आफ्नो तर्फबाट सहयोग मात्र गर्न सक्छौं, बदलामा सफलता वा उनीहरूबाट कृतज्ञताको अपेक्षा गर्न मिल्दैन। 

एकपटक म भारतको धर्मशालामा हुँदा वर्षाद्का बेला पानीको ढलमा मुसा डुब्दै गरेको देखेर त्यसलाई बचाउने प्रयत्न गर्दैथिएँ। मुसालाई निकालेर बाहिर भूईंमा जीउ सुकाओस् भनेर राखेँ। त्यत्तिनै बेला एउटा ठूलो बाज आएर त्यसलाई टप्प टिपेर लग्यो। हामीले अन्य व्यक्तिलाई सहयोग गर्न खोजेपनि उसको कर्म निर्णायक हुन पुग्छ। हामीले कसैलाई सफल हुनका लागि हरेक अवसर र सहयोग प्रदान गर्न सक्छौं, तैपनि उनीहरू पूर्ण असफल बन्न सक्छन्।  

फेरी, केही असल परिणाम आइहाल्यो भने पनि मैले तिमीलाई यो सहयोग गरेँ, यो कुरा दिएँ भनेर धक्कु लगाउनु हुँदैन। कसैलाई सहयोग गर्दा मैले त तिम्रो कति न ठूलो उपकार गरेँ भन्दै अरूलाई हीन अनुभव गराउने काम गर्नु हुँदैन। खासमा उपकार त उनीहरूले गरेका हुन्छन् – हाम्रो सहयोग स्वीकार गरेर र सहयोग गर्ने मौका दिएर उनीहरूले हामीलाई कुशल कर्म आर्जन गर्न मद्दत गर्छन्, जसले हामीलाई बोधि प्राप्त गर्न र फेरी अरू सबैलाई धेरैभन्दा धेरै सहयोग गर्न सक्षम बनाउँछ। 

त्यस्तै, अपराधबोध र बाध्यताको भावले दान अभ्यास गर्नु पनि अनुपयुक्त हुन्छ। यसमा अरू कसैले दान गर्यो भने मैले पनि त्यस्तै गर्नुपर्छ वा उसलाई उछिनेर अझ बढी गर्नुपर्छ भन्ने सोचका साथ गरिने दान पर्छन्। 

दान र उपयुक्त आशय 

दानको अभ्यास गर्दा हाम्रो एकमात्र आशय अरूको अल्पकालीन र दीर्घकालीन हित गर्ने हुनुपर्छ। हामी आफ्नो तर्फबाट भरमग्दुर प्रयास गर्छौं, चाहे सफलता हात लागोस् वा नलागोस्। “म सबै सत्त्वहरूलाई सहयोग गर्न चाहन्छु,” भनेर अमूर्त खालको सोच मात्र राख्दैनौं, अपितु जे सहयोग गर्न पनि तत्पर हुन्छौं, उनीहरूलाई भाँडा माझ्न सहयोग गर्नु पर्यो भने पनि पछि हट्दैनौं! 

फेरी, दान दुइतर्फी नै हुन सक्छ। अरू हामीप्रति उदार भएर सहयोग गर्ने तत्परता देखाए भने घमण्डी भएर उनीहरूको अनुरोध वा उपहारलाई अस्वीकार गर्ने काम गर्दैनौं। कतिपय मानिस त्यसै गर्छन्, अरूले कुनै सानो उपहार खरीद गर्न खोज्दा वा खानाको बिल तिर्नेजस्तो सानो सहयोग गर्न खोज्दा पनि अस्वीकार गर्छन्। त्यसो गर्दा हामी उनीहरूलाई सकारात्मक कर्म आर्जन गर्ने अवसरबाट वञ्चित गर्छौं। अरूले सहयोग गर्ने प्रस्ताव गरे र त्यसले उनीहरूलाई नोक्सान नगर्ने रहेछ भने बोधिसत्त्व संवरअनुसार हामीले त्यस्तो प्रस्ताव स्वीकार गर्नुपर्छ। 

एकपटक म सेरकोंग रिन्पोछेसँग इटलीको यात्रामा थिएँ। एकजना व्यक्ति रिन्पोछेलाई केही प्रश्न सोध्न आउनुभयो। फर्कने बेला चुपचापसँग ढोका छेउको टेबलमा केही दानसहितको खाम राखेर जानुभयो। त्यो देखेर सेरकोंग रिन्पोछेले मलाई एक महत्त्वपूर्ण कुरा बताउनुभयो – “दान गर्ने उचित तरिका यो हो। केही व्यक्तिहरू आउँछन् र लामालाई व्यक्तिगत रूपमा हातैमा दान थमाएर ठूलै तमासा खडा गर्छन्, ताकि लामालाई कसले दान गर्यो भन्ने पक्कासँग थाहा होस्, उसको प्रशंसा गरोस्, उसको बारेमा राम्रो ठानोस्। त्यो उचित तरिका होइन।” त्यसैले चुपचापसँग, गोप्य रूपले दिनु राम्रो हुन्छ, धेरै तामझामका साथ होइन। यसलाई सुखद र सम्मानजनक ढंगले गर्न सक्यो भने त झनै उत्तम। 

दिन्छु भनेको कुरा दिन ढिलाइ गरेर अरूलाई कुराइरहनु हुँदैन। सहयोग गर्छु भन्नु तर भोलिपल्ट मात्र दिनु ठीक हुँदैन। दान दिनु भनेको अर्पण गर्नु जस्तै हो। सेरकोंग रिन्पोछे दलाई लामाका शिक्षकहरूमध्ये एक हुनुहुन्थ्यो, त्यसैले उहाँलाई भेट्न धेरै मानिसहरू आइरहन्थे। केही मानिसहरू भीडमा कुरिरहन्थे र रिन्पोछेको ठ्याक्कै अगाडि पुगेपछि मात्र ढोगको लामो ढाँचा गर्न थाल्थे। उहाँलाई यो कुरा अविवेकी र बकम्फुसे लाग्थ्यो, र भन्नुहुन्थ्यो – “यसले मेरो समय मात्र बर्बाद गर्छ। मैले उहाँहरूले ढोग गरेको हेर्न जरुरी छैन। उहाँहरूले ढोग गर्दा मलाई लाभ हुने होइन। पहिले नै ढोग गरिसक्ने र मेरो छेउ आइपुग्दा जे कुरा भन्नु छ त्यो सीधै भनिहाल्ने गर्दा राम्रो हुन्छ।” तिब्बतीहरूको लामालाई खादा चढाउने चलन हुन्छ, तर यसरी चढाउँदा उहाँलाई प्रभावित पार्ने उद्देश्यले गर्नु हुँदैन। याद राख्नुहोस्, ढोग गर्नु हाम्रो आफ्नै लाभको लागि हो, गुरुको लागि होइन। 

व्यक्तिगत रूपमा दान गर्नु

दान गर्ने निर्णय गरेपछि त्यसलाई आफैंले व्यक्तिगत रूपमा दिनु महत्त्वपूर्ण हुन्छ। अतीशको एक सहायक हुनुहुन्थ्यो जसले गुरुको सबै दानकर्म आफैंले गरिदिने, पानीको पात्र आफैं भरिदिने आदि गर्नुहुन्थ्यो। अतीशले उहाँलाई भन्नुभयो – “यो सबै काम मैले आफैं गर्नुपर्छ। के मेरो लागि तिमीले खाइदिएर हुन्छ र?” त्यसैले जहाँसम्म सम्भव हुन्छ, यस्तो काम हामी आफैंले व्यक्तिगत रूपमा गर्नुपर्छ। 

दान गर्ने पक्का गरिसकेपछि फेरी आफ्नो मन बदल्न हुँदैन वा दिइसकेपछि पछुतो मान्ने र फिर्ता लिने गर्नु हुँदैन। त्यस्तै, केही कुरा दिइसकेपछि त्यसलाई हामीले भनेअनुसार नै उपयोग गर भनेर दबाब दिनुहुँदैन। यो खासगरी आर्थिक दान दिँदा पैसा कसरी खर्च गर्ने भनेर दिइने दबाबसँग सम्बन्धित छ। यो अवस्थाको एक उदाहरण हेरौं – हामीले कसैलाई कुनै चित्र उपहार दियौं, तर उसको घर जाँदा त्यो भित्तामा टाँगिएको देखेनौं भने हामीलाई चोट पुग्छ। खासमा कुरा के हो भने, हामीले कसैलाई कुनै कुरा दिएसकेपछि त्यो हाम्रो रहनु हुँदैन। 

मलाई सम्झना छ, धर्मशालामा एउटा गुम्बा थियो जहाँ खानेकुराको गुणस्तर एकदमै गएगुज्रेको थियो र त्यहाँ बस्ने लामाहरूको स्वास्थ्य ठीक थिएन। हामी पश्चिमाहरूले केही पैसा भेला पार्यौं र उनीहरूलाई राम्रो खानेकुरा किन्नका लागि दियौं। तर उनीहरूले त्यसलाई आफ्नो मन्दिर अझ ठूलो र सुन्दर बनाउन ईंटा किन्नमा खर्च गरेछन्। कतिपय पश्चिमालाई यो पटक्कै मन परेन र त्यो पैसालाई खानेकुरा किन्न खर्च नगरेकोमा ठूलै तमासा खडा गरे। त्यसैले उनीहरूले राम्रो खानेकुरा खाऊन् भनेर हामी आफैंले किनेर दिनुपर्ने भयो। त्यसपछि त उनीहरूले खानैपर्थ्यो! हामी अलि ज्यादा चलाख हुन खोज्यौं। तर फेरी उनीहरूलाई जे मन पर्छ त्यही दिनुपर्ने भयो। तिब्बतीहरूलाई मासु मन पर्थ्यो, यद्यपि हामीमध्ये केही पश्चिमाहरूले त्यो कुरा मान्न सक्दैनथियौं। तोफु वा त्यस्तै केही कुरा किनेर दिनु उपयुक्त थिएन किनकि त्यो उनीहरूले कहिल्यै खाँदैनथिए।  

सेरकोंग रिन्पोछेलाई म करीब दैनिकजसो भेट्थेँ। हरेकपटक म केही कुरा किनेर लगिदिन्थेँ। केही समयपछि उहाँले मलाई गाली गर्नुभयो र भन्नुभयो, “यी खादा र धूप किन लिएर आउँछौ? मलाई यी पत्रु कुराहरू चाहिँदैन!” उहाँलाई ती पत्रु लाग्थे! “यी १,००० खादाको म के गर्नु?” उहाँ भन्नुहुन्थ्यो। “तिमीलाई केही ल्याउनै छ भने मलाई मन पर्ने र मैले उपयोग गर्न पाउने कुरा लिएर आऊ।” उहाँलाई केरा मन पर्छ भन्ने मलाई थाहा थियो, त्यसैले उहाँलाई भेट्न एउटा केरा लिएर जान्थे। त्यसैले कसैलाई केही दिनु नै छ भने हामीले अलि कुशलतापूर्वक काम गर्नुपर्छ र उनीहरूलाई जे मनपर्छ त्यही दिनुपर्छ। मेरो विश्वास गर्नुस्, लामाहरूलाई धूपको कत्ति पनि खाँचो छैन! 

फेरी, अरूलाई राम्रो गुणस्तरको चीज दिनुपर्छ, हामीलाई मन नपर्ने वा नचाहिने चीज मात्र दिनु उचित हुँदैन। हुनत कसैलाई अरूले दिएको कुरा कहिल्यै पनि स्वीकार गर्न मन लाग्दैन। त्यो बेलामा भन्न सकिन्छ, “यो चीज मलाई अरू कसैले दिएको हो, तर म यसलाई कहिल्यै उपयोग गर्नेवाला छैन। त्यसैले कृपया यो लैजानुहोस्। यसलाई खेर फाल्न मन छैन।” त्यस्तै, अरूलाई अनुपयुक्त हुने खालका चीज पनि दिनुहुँदैन। जस्तै, शाकाहारीलाई ह्यामबर्गर कहिल्यै दिनुहुँदैन। कुनै व्यक्ति खानेकुराको परहेज गर्दैछ भने त्यसलाई सम्मान गर्नुपर्छ। कसैले कडाइका साथ डाइटिङ् गर्दैछ भने उसलाई केक कदापि नदिनु होला!

धर्म दान 

धर्म दान गर्ने सम्बन्धमा, कसैले हामीसँग रिस, आसक्ति, दम्भबाट प्रेरित भै अथवा त्यत्तिकै सतही जिज्ञासावश धर्म चर्चा गर्न खोज्छ भने उनीहरूसँग धर्म चर्चा गर्नु हुँदैन र धर्मका शास्त्रहरू पनि दिनु हुँदैन। धर्मको शिक्षा वा चर्चा त्यस्ता व्यक्तिहरूसँग मात्र गरिन्छ जो त्यसका लागि इच्छुक छन्। कोही धर्म शिक्षा लिन तयार छैन भने उसलाई शिक्षा दिनु वा उसँग चर्चा गर्नु अनुपयुक्त हुन्छ। यो समयको बर्बादी मात्र हुनेछ, र यसले उनीहरूको चित्तको नकारात्मक अवस्था र आक्रामकतालाई मात्र बढावा दिन्छ। जो खुला सोचका छन्, र जो सिक्न चाहन्छन्, उनीहरूलाई मात्र धर्मको शिक्षा दिनुपर्छ। 

धर्म दान दिँदा सुन्ने व्यक्तिको स्तरबाट दिनुपर्छ। आफ्नो पण्डित्याईं साबित गर्न भएभरको सिकाई र ज्ञानको महासागर उसका अगाडि पोख्ने काम गर्नुहुँदैन। शिक्षाको केही झलक दिँदा उसको हित हुन्छ भने मात्र, होइन भने अति उच्चस्तरको शिक्षा उसलाई दिइहाल्नुहुँदैन। कहिलेकाहीँ यस्तो उच्चस्तरको शिक्षाले मानिसहरूलाई त्यसको बोधका लागि आवश्यक मेहनत गर्ने प्रेरणा प्रदान गर्छ, र कहिलेकाहीँ सुन्ने व्यक्ति घमण्डी खालको रहेछ उसलाई कुरा बुझाउन पनि सहयोग पुग्छ। कहिलेकाहीँ परम पूजनीय दलाई लामाले बौद्ध शिक्षाहरू कति गहन रहेछन् भन्ने स्पष्ट पार्न विश्वविद्यालयका प्राध्यापकहरूलाई अलि जटिल पाराले शिक्षा दिनुहुन्छ। यसले बौद्ध शिक्षा अति प्रारम्भिक तहको वा पछौटे हो भन्ने भ्रम निवारण गर्न मद्दत गर्छ।

एक पटक सेरकोंग रिन्पोछे पश्चिमको कुनै धर्म केन्द्र पुग्नुभएको थियो। उहाँहरूले रिन्पोछेलाई शान्तिदेवको ग्रन्थबाट शून्यताको पाठमा व्याख्या गर्न अनुरोध गर्नुभयो। समय थियो केवल दुई दिन। त्यो वास्तवमा हास्यास्पद अनुरोध थियो! ग्रन्थको त्यो एउटा पाठमा मात्र विस्तृत चर्चा गर्न झण्डै एक वर्ष लाग्छ। रिन्पोछेले पाठका शुरुका केही शब्दहरूको व्याख्या अति उच्चस्तरबाट र जटिल ढंगले गर्न थाल्नुभयो। प्रत्येक शब्दको अर्थ कति गहिरो छ भन्ने स्पष्ट पार्नु उहाँको अभिप्राय थियो। कसैले केही बुझ्न सकेनन्। त्यस्तो जटिल शिक्षा केवल दुई दिनमै सिकिहाल्छु भन्नु दम्भपूर्ण सोच रहेछ भन्ने स्पष्ट भयो। त्यसपछि रिन्पोछेले सरल ढंगबाट उहाँहरूले बुझ्ने स्तरमा कुरा गर्न थाल्नुभयो र उक्त पाठको एक सानो अंशको सामान्य अर्थको चर्चा गर्नुभयो। 

परम पूजनीय दलाई लामाले ठूलो समूहलाई देशना दिँदा त्यहाँ उपस्थित मानिसहरू सबैले आ–आफ्नो स्तरबाट बुझुन् भनी सबैका लागि केही न केही हुनेगरी देशना दिनुहुन्छ। धेरैजसो त उहाँले उच्चतहका लामा, गेशे र खेन्पोहरूलाई उच्चस्तरको शिक्षा दिनुहुन्छ। उहाँहरू सबैको भन्दा दलाई लामाको ज्ञानको तह माथि छ, त्यसैले त्यही तहबाट शिक्षा दिनुहुन्छ। अनि त्यसरी प्राप्त शिक्षालाई उहाँहरू आ–आफ्ना विद्यार्थीमाझ अलि सहज ढंगले लिएर जानुहुन्छ। यो परिप्रेक्ष्यमा बोधको अति न्यून क्षमतायुक्त वर्गलाई ध्यानमा राखेर शिक्षा दिइँदैन, किनकि त्यो काम अरूले पनि गर्न सक्छन्। तपाईंले उच्च क्षमतायुक्त वर्गलाई उच्च तहबाट शिक्षा दिनुभयो भने विस्तारै त्यसलाई न्यून क्षमताका मानिसहरूमा सरल रूपमा विस्तारित गर्दै लग्न सकिन्छ। 

अन्ततः, जसलाई साँच्चिकै आवश्यकता छ, उसलाई मात्र शिक्षा दिनु महत्त्वपूर्ण हुन्छ। कसैलाई आवश्यकता छैन तैपनि केटाकेटीले जति बेला पनि चकलेट नै मागिरहेजस्तो कुनै लोभ वा आसक्तिका कारण मात्र शिक्षा मागिरहेको छ भने उसलाई शिक्षा दिनु उपयुक्त हुँदैन। हामीले आफ्नो विवेकपूर्ण बोधको उपयोग गर्दै कसलाई कतिखेर के दिनु उपयुक्त वा अनुपयुक्त हुन्छ भन्ने जानेर मात्र दिनुपर्छ। ट्रुङ्पा रिन्पोछेले यसलाई  बुझाउन एक रोचक शब्दको प्रयोग गर्नुभएको छ – “मूर्ख करुणा”। अरूले जे जे इच्छा गर्छन्, हामी त्यो सबै पूरा गरिहाल्न सहयोग गर्दैनौं। त्यसो गर्नु ठूलो मूर्ख्याईं हुनेछ! दानशीलताको अभ्यास विवेकसम्मत ढंगले गरिनुपर्छ। 

सारांश

दान पारमिताको अभ्यास गर्न धनवान वा धेरै सम्पत्तिले युक्त हुनु आवश्यक छैन। हामी जहाँ जुन अवस्था जेसुकै गर्दै भएपनि दानशील चित्तको विकास गर्दै मानसिक स्तरबाट आफूलाई मनपर्ने कुराहरू अरूसँग बाँड्न सक्छौं – चाहे त्यो सास फेर्ने शुद्ध हावा होस् वा हामीलाई औधी मनमोहक लाग्ने सूर्यास्तको दृश्य, अथवा आफूलाई मनपर्ने स्वादिष्ट खानेकुरा। यसरी आफूलाई मनपर्ने कुराको आनन्द अरूले पनि लिन पाउन् भन्ने कामना गर्नाले अगाडिको बाटो खुल्छ, जहाँ हामी वास्तवमै अरूलाई आवश्यक पर्ने सहयोग प्रदान गर्छौं। 

यदि आफ्नो क्षमताले दिन्छ भने भौतिक रूपमै कुनै सहयोग प्रदान गर्नु उपयुक्त हुनेछ। होइन भने समय र परिश्रम खर्चेर पनि सहयोग गर्न सकिन्छ। यदि हामी उल्लासपूर्ण र विशुद्ध भावनायुक्त चित्तका साथ दान गर्छौं भने त्यसबाट हाम्रो आफ्नै र अरूको सम्बृद्धि र खुशीको बाटो प्रशस्त हुनेछ।

Top