चार आर्यसत्यको आधारमा लाम–रिमको संरचना

चार आर्यसत्य

शाक्यमुनि बुद्धले आफूलाई बोधिलाभ भएपछि सोही अवस्था अरूले पनि प्राप्त गरुन् भनेर विभिन्न विधिहरूको शिक्षा दिनुभएको थियो। त्यसमध्ये आधारभूत विधि भनेको निवारक उपाय अपनाउने थियो, अर्थात् धर्मको अभ्यास गर्ने थियो। यो शिक्षाअनुसार (१) हामी सबैले भोग्नुपर्ने यथार्थ समस्याहरू (दुःख) छन्। (२) तिनका यथार्थ कारणहरू हुन्छन्। (३) ती कारणहरूलाई रोक्न सक्यौं भने समस्याहरूलाई पनि यथार्थ रूपमा निरोध गर्न सक्छौं। यसरी समस्याको यथार्थ निरोध गर्नका लागि (४) चित्तको यथार्थ मार्ग छ। 

प्रारम्भिक स्तर

यी चार यथार्थ (चार आर्यसत्य) लाई विभिन्न स्तरबाट बुझ्न सकिन्छ। प्रारम्भिक स्तरबाट हेर्ने हो भने नीच लोक वा खराब परिस्थितिमाझ जन्म लिनुपर्दा भोग्नुपर्ने दुःख छन्। यदि हामी दुःखको पराकाष्ठामा छौं र अत्यधिक रोग, भोक, प्यासको अनुभूति गदैछौं, अत्यन्तै पीडाको अवस्थामा छौं भने आध्यात्मिक उन्नतिका लागि कुनै संभावना रहँदैन। किनभने त्यो अवस्थामा हामी आफ्ना दुःख र समस्याले पुरै थिचिएका हुन्छौं। 

यसको यथार्थ कारण हामीले अकुशल कर्म गर्नु हो। बुद्धले के भन्नुभएको थियो भने हामीले पीडा वा दुःखको अवस्था सिर्जना गर्यौं भने स्वयंले पनि त्यो अवस्थाको अनुभूति गर्नुपर्छ। त्यसको विपरीत कुशल कर्म गर्यौं, सुखको अवस्था सिर्जना गर्यौं भने त्यो सुख अन्ततः हामी स्वयंले पनि अनुभूति गर्छौं। त्यसैले यदि हामी आफ्ना दुःखको यथार्थ निरोध चाहन्छौं भने यस्ता अकुशल वा नकारात्मक ढंगले कार्य गर्नबाट आफूलाई रोक्ने सही मार्गको अनुसरण गर्नुपर्छ।

प्रथमतः हामीले आफूसँग भएको अमूल्य मानव जीवनको स्मरण गर्नुपर्छ। अहिले हामीसँग ती सबै अवसर विद्यमान छन् जो आफ्नो सुधार र आध्यात्मिक उन्नतिका लागि सहयोगी हुन सक्छन्। तर यी अवसरहरू सधैं रहनेवाला छैनन्, किनकि हाम्रो मृत्यु निश्चित छ र त्योसँगै यो अमूल्य मानव जीवन हामीबाट छुट्नेछ। त्यो कहिले हुन्छ, केही निश्चित छैन। बाटोमा कुनै पनि क्षण हामीलाई ट्रकले ठक्कर दिन सक्छ। यही क्षण हामी मर्यौं र जीवनभर हामीले अकुशल कर्म मात्र गरेका छौं भने हाम्रो भविष्यको गति अहिलेभन्दा खराब हुनेछ अर्थात् हामी खराब परिस्थितिमा पुग्नेछौं। हाम्रो आगामी जन्म त्यस्तो ठाउँमा हुनेछ जहाँ हामीले यहाँ सिर्जना गरेकोजस्तै पीडा र दुःख स्वयंले अनुभूति गर्नुपर्छ। यस्तो भविष्यको संभावनाबाट त्रसित भएर बच्ने कुनै उपाय छ कि भनेर खोज्न थाल्छौं। र हामी बुद्धतर्फ आशापूर्ण नजरले हेर्न थाल्छौं। 

बुद्धहरू ती हुन् जो आफ्ना सम्पूर्ण सीमितताबाट मुक्त भैसकेका हुन्छन् र जसको चित्त, वचन र शरीर असीम क्षमताले युक्त र निर्मल भैसकेको हुन्छ। उनीहरूको चित्तलाई क्रोध, आसक्ति वा अतिवाद जस्ता क्लेशहरूले बाधा पुर्याएको हुँदैन। उनीहरूको चित्तलाई शिथिलता वा चञ्चलताले बाधा पुर्याएको हुँदैन। उनीहरूको हृदय, जो चित्तकै एक आयाम हो, स्वार्थीपना वा पक्षपातले बाधित हुँदैन। उनीहरूको बोलीमा संप्रेषण गर्ने क्षमताको र शरीरमा उर्जाको सीमितता हुँदैन। यसरी उनीहरूको चित्त, हृदय, वचन, र शरीर हरप्रकारले निर्मल हुन्छ। उनीहरूले आफ्नो सम्पूर्ण क्षमता हासिल गरिसकेका हुन्छन् र उच्चतम सम्भव अवस्थासम्म पुगिसकेका हुन्छन्।

बुद्धहरूले यो अवस्था हासिल गरिसकेका मात्र हुँदैनन्, कसरी गरेँ भनेर बताएका पनि हुन्छन्। उनीहरूले त्यस्तो निवारक उपाय अर्थात् धर्म अवलम्बन गरेका हुन्छन् जसबाट स्वयं र अरूका लागि समस्या सिर्जना गर्ने सीमितताहरूमा घेरिएर रहनबाट बचिन्छ। फेरि, त्यस्तो लक्ष्य हासिल गर्नका लागि कटिबद्ध र सो लक्ष्यतर्फ निकै अगाडि बढिसकेका मानिसहरूको समुदाय अर्थात् संघ पनि छ। यसरी बुद्ध, धर्म र संघका उत्तम गुणहरूद्वारा प्रेरित भएर आफ्नो र अरूको लागि समस्या सिर्जना गर्ने खालको अवस्थालाई निरन्तरता दिनुभन्दा बुद्ध, धर्म र संघको मार्गमा हिँडेको खण्डमा यस्ता समस्याबाट बचिने रहेछ भन्ने जानेर उनीहरूले देखाएको सुरक्षित मार्गको अनुसरण गर्न थाल्छौं। शरणगमनको अर्थ यही हो – आफ्नो जीवनलाई सुरक्षित दिशा प्रदान गर्ने।  

यस्तो सुरक्षित दिशामा हेतु र फलसम्बन्धी नियमको पालना गरिएको हुन्छ। त्यसैले हामी भविष्यमा दुःख वा समस्याबाट बच्न चाहन्छौं भने सत्य मार्गको अनुसरण गर्नुपर्ने हुन्छ र आफूलाई अकुशल कर्म गर्नबाट रोक्नुपर्ने हुन्छ, जस्तो कि जीवहत्या गर्ने, चोर्ने, झुठ बोल्ने आदि। अतः हामी कुशल कर्म गर्छौं। चार आर्यसत्यको बोध गर्ने यो प्रारम्भिक स्तर हो।  

मध्यम स्तर

माध्यमिक स्तरमा हामीले के बुझ्छौं भने जुनसुकै परिस्थितिमा हाम्रो पुनर्जन्म भए पनि जन्मँदा, विरामी हुँदा, वृद्धावस्थामा पुग्दा, र मृत्यु हुँदाको दुःख यथार्थ हुन्छ र त्यो भोग्नैपर्ने हुन्छ। प्रयत्न गरे पनि चाहेको कुरा प्राप्त गर्न नसकिने र नचाहेका कुरा भोग्नुपर्ने दुःखपूर्ण परिस्थितिको सामना गर्नुपर्ने हुन्छ। अरूसँगको जटिल सम्बन्धहरूका कारण दुःखी हुनुपर्ने लगायतका बारम्बार दोहोरिरहने परिस्थिति आइरहन्छन्। यो सबैको यथार्थ कारण के हो भने हामीलाई सत्यको बोध छैन। हाम्रो आफ्नो सत्य के हो र हामी कसरी अस्तित्वमा छौं भन्ने कुराको जानकारी छैन। त्यसकारण आत्म–केन्द्रित र ठोस प्रकारको अहंभावलाई पकडिन्छौं, तर त्यसैप्रति आफूलाई असुरक्षित महसुस गर्छौं। फलस्वरूप आत्म–केन्द्रित पहिचानको रक्षा गर्न वा त्यसलाई थप मजबुत बनाउन हाम्रो चित्त आसक्ति, रिस, मूढता, अहंकार, इर्ष्या, दुबिधा आदि अनेक अशान्तकारी क्लेश र दृष्टिकोणले भरिन्छ। यसलाई आधार बनाउँदै अनेक प्रवृत्ति वा कर्म चित्तमा आउन थाल्छन्, जसलाई हामी बेपर्वाह ढंगले व्यवहारमा परिणत गर्छौं। उदारणका लागि हामी बढी से बढी धन आर्जन गर्ने, भौतिक बस्तुहरूको संग्रह गर्ने, मित्रहरू भेला गर्ने, वा आफूलाई मन नपर्ने जोसुकै वा जेसुकैलाई पन्छाउने वा नष्ट गर्ने प्रयत्न गर्छौं। यो सबै हामी आफ्नो आत्म–केन्द्रित पहिचानलाई थप मजबुत बनाउनका लागि गर्छौं। यसप्रकारले बेपर्वाह ढंगको काम गर्दा अरूप्रति रिस पोख्ने वा निर्दयी व्यवहार गर्न सक्छौं, जसले हाम्रा लागि समस्या सिर्जना गर्नेछ।

यस्ता समस्या या दुःखको यथार्थ निरोध गर्ने चाहना छ भने हामीले सही मार्ग अनुसरण गर्नुपर्छ। प्रथमतः हामीले उचित आशय या प्रेरणा विकसित गर्नुपर्छ, अर्थात् आफ्ना समस्या या दुःखहरूबाट मुक्त हुने दृढ अठोटको विकास गर्नुपर्छ। यसलाई नैष्क्रम्य भनिन्छ। यो आशयका साथ हामीले प्रज्ञा या विवेकपूर्ण होशको विकास गर्नुपर्छ जसबाट हामीले सत्य अर्थात् शून्यताको बोध गर्नसक्छौं। यस्तो प्रज्ञाको विकास गर्न हामीलाई चित्तको एकाग्रता चाहिन्छ। आफ्नो मनमाथिको यस्तो अनुशासनका लागि हामीले शरीर र वचनद्वारा गरिने कार्यहरूलाई अनुशासित राख्नुपर्ने हुन्छ। यी तीन उच्चस्तरका अभ्यास अर्थात् उच्च तहको शील (नैतिक आत्म–संयम), समाधि (मानसिक एकाग्रता) र प्रज्ञाको अभ्यासद्वारा हामी त्यस्तो बोध हासिल गर्न सक्छौं जसबाट शून्यताको अनुभूति गर्न सकिन्छ। यो भनेको असम्भव तरिकाको अस्तित्वको पूर्णतया अभाव छ भन्ने बोध हो। 

यथार्थप्रति हामी अनभिज्ञ रहेको तथा आफू को हुँ, कसरी अस्तित्वमा छु र संसारको अस्तित्व कस्तो हो भन्ने सम्बन्धमा भ्रमपूर्ण बुझाइ भएका कारण हामी ती सबैको अस्तित्वबारे असम्भव धारणालाई पकडेर बस्छौं। सबैथोकको ठोस र स्वतन्त्र सत्ता हुन्छ भन्ने बुझाइ यसको उदाहरण हो। यस्तो काल्पनिक र असम्भव अस्तित्व कसैको पनि हुँदैन। हरेक चीजमा यस्तो प्रकारको असम्भव अस्तित्वको अभाव हुन्छ। तर यसको अर्थ कुनै चीज अस्तित्वमै छैन भन्ने होइन। बरु हरेक चीज अरूसँग अन्तर्निर्भर भएर उत्पन्न भएका हुन्छन्, तिनीहरूको उत्पत्ति हेतु र प्रत्ययहरूमा, घटक अंगहरूमा, तथा चित्तले थाहा पाउने र तिनको संज्ञा गर्ने प्रक्रियामा निर्भर गर्छ। यो कुरा जान्ने र बोध गर्ने यथार्थ मार्गको अनुसरण गर्नाले हामी मानसिक अस्पष्टता र अवरोध आदि क्लेशबाट छुटकारा पाउन र निर्वाणको अनुभूति गर्न सक्छौं। चार आर्यसत्यको बोध गर्ने यो माध्यमिक स्तर हो। 

उन्नत स्तर 

प्रेरणाको उन्नत स्तरमा हामी के देख्छौं भने समस्या या दुःख भोग्ने हामी मात्र छैनौं, अरू सबैले पनि त्यस्तै समस्याहरू भोगिरहेका हुन्छन्। त्यसैले यो स्तरमा यथार्थ दुःख भनेको सबैले भोग्ने दुःख हो। अर्को यथार्थ दुःख के हो भने हामी अरूलाई उनीहरूको समस्याबाट मुक्तिमा सहयोग गर्न असमर्थ छौं। सबैले भोग्ने समस्याको यथार्थ कारण स्वार्थीपना हो जसले गर्दा हामी आफ्नो बारेमा मात्रै सोच्छौं र अरूलाई बेवास्ता गर्छौं। अनि केही मानसिक व्यवधान वा अवरोधहरू पनि हुन्छन् जसले अरूको हित गर्ने कुशल उपायहरू जान्नबाट हामीलाई रोक्छन्। यी त्यस्ता अवरोधहरू हुन् जसले हामीलाई सर्वज्ञ हुन दिँदैनन्। यसको यथार्थ निरोध तब हुन्छ जब हामी आफ्ना दुःखबाट मुक्त हुनेमा मात्र सीमित नरहेर बुद्धको झैं अवस्था प्राप्त गर्छौं, अर्थात् सबै कमीकमजोरीबाट मुक्त भई आफ्नो पूर्ण क्षमता विकसित गर्छौं र सबैको यथाशक्य हित गर्न सक्षम बन्दछौं।

त्यहाँसम्म पुर्याउने यथार्थ मार्गअन्तर्गत पहिलो त बोधिचित्तको विकास पर्छ, जसको अर्थ आफ्नो हृदयलाई अरूको हितका लागि र बुद्धको झैं अवस्था अर्थात् बुद्धत्व प्राप्तिका लागि तत्पर बनाउनु वा विस्तारित गर्नु हो। यो प्रेरणाका साथ हामी ती पारमिताहरू अर्थात् दूरव्यापी मनोवृत्तिहरूको अभ्यास र विकास गर्छौं जो मैत्रीभाव र करुणामा आधारित हुन्छन्। यस अन्तर्गत दान, शील, क्षान्ति, वीर्य, ध्यान र प्रज्ञाको अभ्यास पर्छन्। प्रज्ञाको पारमिता हुँदा हामीले आफ्ना क्लेशहरूबाट छुटकारा पाई निर्वाणको अवस्था प्राप्त गर्न जुन शून्यता अर्थात् यथार्थको बोध गर्नु पर्ने हो, त्यो गर्छौं। यहाँनेर जान्नुपर्ने कुरा के हो भने बोधिचित्तको प्रेरणा ज्यादा बलशाली हुने भएकाले केवल आफूले मुक्ति पाउने अठोट राख्दा हुने बोधभन्दा यसमा हुने बोध बढी सशक्त हुन्छ।

यदि हामीले केवल आफ्ना समस्याबाट मात्र मुक्त हुने अठोट राख्यौं भने सत्यको बोध गर्ने हाम्रो उर्जा सीमित हुन्छ। तर सत्यको बोध गर्ने लक्ष्यपछाडिको प्रेरणा सबैको हित गर्ने छ भने त्यसले हामीलाई थप उर्जा दिन्छ। त्यसैले यो स्तरको बोधमा हामीलाई अशान्त बनाइराख्ने क्लेश र सर्वज्ञताबाट रोक्ने सीमितता – यी दुवैखाले अवरोधहरूलाई पार गरिन्छ। 

उदाहरणका लागि, मानिलिउँ विषालु सर्पले टोकेकोमा गरिने उपचारबारे चिकित्सा विज्ञानको कक्षा चलिरहेको छ। एक विद्यार्थी सो कक्षामा छ, जसको उद्देश्य चिकित्सक बन्ने मात्र छ, त्यसबाट धेरै पैसा कमाउने र आफ्नो आर्थिक समस्या समाधान गर्ने छ भने उसको सिक्ने उर्जा सीमित हुन्छ। तर एक आमा, जसको बच्चालाई भरखरै सर्पले टोकेको छ, पनि उक्त कक्षामा छिन् भने उनले सर्पले टोकेकोमा गरिने उपचारबारे ज्यादै गहनतापूर्वक सिक्नेछिन्, किनकि उनलाई आफ्नो सन्तानको उपचारप्रति ज्यादै चिन्ता छ। त्यस्तै, यदि सत्यको बोध गर्ने उद्देश्य पछाडि बोधिचित्तको प्रेरणा छ भने त्यसले हाम्रो अभ्यासमा निकै ठूलो उर्जा प्रदान गर्छ र हामी आफ्ना सबै मानसिक अवरोधहरूबाट पार पाउन सक्छौं। 

यो विधिमा चित्तको त्यस्तो मार्ग आवश्यक हुन्छ जसले उपाय र प्रज्ञालाई सँगसँगै जोडेर लैजाओस्। सूत्रको शिक्षामा यो दुवैलाई समानान्तर तरिकाले अभ्यास गर्नेभन्दा पनि एकले अर्कोलाई समाहित गर्ने विधि अवलम्बन गरिएको हुन्छ। त्यसैले आफ्नो हृदयलाई अरूको हितप्रति समर्पित गर्ने र उनीहरूको हितका लागि बोधि प्राप्त गर्ने लक्ष्य राख्दा त्यसको अभ्यास प्रज्ञा जागृत गर्ने अथवा सत्यको बोध गर्ने सन्दर्भभित्रै हुन्छ। अर्को शब्दमा, अरूको हितप्रति आफ्नो हृदयलाई विस्तारित गर्ने अभ्यास हाम्रो चित्तलाई सत्यको बोधप्रति विस्तारित गर्ने अभ्यासको सन्दर्भभित्रै हुन्छ। र, चित्तलाई सत्यको बोधप्रति विस्तारित गर्ने अभ्यास अरूको हितप्रति आफ्नो हृदयलाई विस्तारित गर्ने अभ्यासको सन्दर्भभित्रै हुन्छ। यसप्रकारले एकको अभ्यास अर्कोको सन्दर्भभित्रै हुन्छ। यो तबसम्म हुन्छ जबसम्म हामी स्वयं बुद्ध बन्दैनौं। यो दुवै अभ्यास चित्तमा अलग अलग समानान्तर हिसाबले हुँदैन। 

यो विधिले उपाय र प्रज्ञालाई जोडेर गरिने अभ्यासमा चित्तका सबै अवरोधहरू पार गर्न धेरै लामो समय लाग्छ। यसका लागि तीन असंख्य कल्प लाग्छ, र हामीले हित गर्ने असंख्य सत्वहरूको संख्या सबैभन्दा ठूलो अंक अर्थात् १० को पछाडि ६० वटा शून्य लगाउँदा जति हुन्छ, त्यति बराबर हुन्छ भनिन्छ। मानिलिउँ यो संख्या एक “जिलियन” हो। यसमा लाग्ने समय असाध्यै लामो भएकाले हामीलाई आफ्ना सबै सीमितता पार गरी पूर्ण क्षमता विकसित गरेर सबैको सर्वोत्तम हित गर्न सक्ने हुन्जेल अरूले प्रतीक्षा गर्न सक्दैनन्। त्यसैले हामीलाई तन्त्रको अभ्यास चाहिने हो। तन्त्र महायानको त्यो असीमित चित्तको अभ्यास हो जसमा प्रवेश गर्नाले बुद्धको अवस्थामा सबैभन्दा चाँडै र कुशलतापूर्वक पुग्न सकिन्छ ताकि सबै सत्वको यथासम्भव र यथाशीघ्र हित गर्न सकियोस्। चार आर्यसत्यको सन्दर्भमा हामीले भर्खरै चर्चा गरेको पद्धतिमा यो अभ्यास आधारित छ। 

Top