केही जीवनोपयोगी बौद्ध सल्लाह

How to tips for life ridwan meah unsplash

कहिलेकाहीँ हामी कतै अल्मलिएको अनुभव गर्न सक्छौं। जीवनका चुनौतीहरूको सामना कसरी गर्ने र आफ्नो सकारात्मक लक्ष्यहरू कसरी प्राप्त गर्ने भन्ने बारे कुनै उपाय नपाइरहेका हुन्छौं । अरुसँग कसरी राम्रो सम्बन्ध स्थापित गर्ने, थाहा नपाएर बसिरहेका हुन्छौं। यस्तो अवस्थाबाट पार पाउनका लागि बुद्धधर्ममा थुप्रै व्यावहारिक शिक्षाहरू छन्, जुन सबैका लागि, जुनकुनै समय र संस्कृतिमा सहयोगी हुन सक्छन्।

अरुको सहयोगका लागि विकास गर्नुपर्ने गुणहरू

  • उदारता – आफ्नो समय, सल्लाह र स्रोतसाधनको उपयोग गर्दै
  • आत्मअनुशासन – व्यवहार गर्ने वा बोल्ने विनाशकारी तरिकाहरूबाट बच्दै, र अरूलाई आफूले सक्नेजति सहयोग गर्दै
  • धैर्य – अरुलाई मद्दत गर्दा आइपर्ने कठिनाईप्रति, ताकि रिस वा निराशा हामीमाथि हावी नहोस्
  • साहस र सहनशीलता – जतिसुकै प्रतिकूल परिस्थितिमा पनि काम जारी राख्न
  • मानसिक र भावनात्मक स्थिरता – आफ्नो काममा केन्द्रित रहन र लक्ष्यबाट विचलित नहुन
  • विवेक – सहयोगी र हानिकारक तथा उचित र अनुचित कुराहरूमा फरक छुट्याउन

अरुमाथि सकारात्मक प्रभाव छोड्न

  • दयालु बनौं – आफ्नो समय, रुचि र उर्जाको उपयोग गरेर
  • सहृदयतापूर्वक कुरा गरौं – बोल्ने कुरा र भन्ने तरीकाले अरुमाथि के असर गर्छ भन्ने कुराप्रति सजग भएर
  • अर्थपूर्ण कुरा र कर्म गरौं – अरुलाई पनि आफ्नो सकारात्मक सीप विकास गर्न प्रेरित गरेर
  • राम्रो उदाहरण बनौं – आफूले जे बोलिन्छ, त्यही काम गरेर

सकारात्मक लक्ष्य हासिल गर्न आवश्यक गुण

  • आफ्नो लक्ष्यबारे स्पष्ट होऔं – यथार्थपरक लक्ष्य लिऔं र त्यसलाई हासिल गर्ने आफ्नो क्षमतामा विश्वास राखौं
  • आत्मसंयम अपनाऔं – लक्ष्यमा केन्द्रित होऔं, लक्ष्यबाट नभट्किऔं, त्यस्तो केही काम नगरौं जसले लक्ष्य प्राप्तिमा बाधा पुर्याओस्
  • उदार बनौं – लक्ष्य प्राप्तिका लागि आवश्यक समय र परिश्रमको दृष्टिबाट
  • ग्रहणशील बनौं – लक्ष्य प्राप्तिका लागि सहयोगी हुने ज्ञान आर्जन गरिराखौं
  • आत्मसम्मान कायम राखौं – लज्जित हुनुपर्ने केही काम नगरौं जसले लक्ष्य प्राप्तिमा बाधा पुर्याओस्
  • सरोकार राखौं – आफ्नो टीमलाई नकारात्मक असर पर्ने कुनै गैरजिम्मेवार काम नगरौं
  • विवेकको उपयोग गरौं – केले लक्ष्य प्राप्तिमा सहयोग गर्छ र केले गर्दैन, जानौं

सकारात्मक लक्ष्य हासिल गर्न आवश्यक गुणको विकास

  • सन्तोषी बनौं – यथार्थपरक लक्ष्यमा ध्यान दिऔं, असम्भव कुरामा लोभ नगरौं
  • अरुप्रति निराशा, रिस वा द्वेषको भाव नराखौं – यदि नचाहँदा नचाहँदै कुनै गडबडी भयो भने
  • आफ्नो ध्यान लक्ष्यमा केन्द्रित राखौं – लक्ष्य हासिल गर्दा हुने लाभहरूका बारेमा सोचौं
  • चित्तलाई नियंत्रित राखौं – सबै परिस्थितिमा चित्तको शान्ति र भावनात्मक सन्तुलन कायम राखौं
  • अनित्यताप्रति निरन्तर सजग रहौं – आफ्नो मनस्थिति जस्तो सुकै भएपनि, यो जानौं कि मन र मनोदशाहरू एकै समान रहँदैनन्, ती स्थायी हुँदैनन्, तिनलाई सुधार्न सकिन्छ
  • चित्तको शान्ति कायम राखौं – आफूले भरसक प्रयास गरिरहेको कुराप्रति ढुक्क बनौं

आफ्नो जीवन आफ्नै अधीनमा राखौं

  • त्यस्तो शक्तिहीन अवस्थामा आफूलाई नपुर्याऔं जहाँ तपाईंको निर्णय तपाईंको हातमा नहोस् – यस्तो भयो भने तपाईंले सिद्धान्तविपरीत सम्झौताहरू गर्ने र पछि पछुताउनु पर्ने हुन्छ
  • यौनसम्बन्धमा विश्वासघात नगरौं – यसले जटिलता र समस्याहरू निम्त्याउँछ
  • अत्यधिक जिम्मेवारीयुक्त उच्च ओहदाको पछाडि नदगुरौं – यसले तपाईंको सबै समय र उर्जा खोसेर लग्छ
  • अरुको प्रभावमा परेर आफ्नो सकारात्मक बानी नछाडौं – स्वस्थकर खाना खाने, धुम्रपान नगर्ने, कसरत गर्नेजस्ता बानी त्यागियो भने हाम्रो स्वास्थ्य बिग्रिनेछ
  • आफूले गर्न नसक्ने काम जिम्मा नलिऔं – यसले तपाईंको आत्मसम्मान गुम्नेछ
  • लापरवाहीपूर्ण काम नगरौं – यसले नकारात्मक नतीजा ल्याउँछ

विषम परिस्थितिबाट बच्न सहयोगी गुणहरू

  • उत्तेजित नबनौं – खासगरी अरुले आफ्नो प्रशंसा वा निन्दा गर्दा
  • कसैप्रति आसक्त नबनौं, शत्रुता नराखौं – आफूलाई मन पर्ने वा नपर्ने मानिस भेट्दा
  • आफ्ना असल सिद्धान्तहरू विपरीत काम नगरौं – सामान्य व्यवहार चलाउने अवस्थामा
  • भौतिक कुराहरूप्रति लिप्त नबनौं – धनसम्पत्ति र भौतिक बस्तुका लागि आफ्ना उच्च लक्ष्यहरू नभुलौं
  • आफैप्रति टिठ खाएर नबसौं – बिरामी वा दुःखमा परेको समयलाई आफ्नो आन्तरिक शक्ति र चरित्रको विकास गर्ने अवसरका रूपमा उपयोग गरौं
  • कमीकमजोरीहरू पन्छाउँदै आफ्नो पूर्ण सकारात्मक क्षमता हासिल गर्न सदैव प्रयत्नशील बनौं – जुनसुकै परिस्थितिमा पनि

लोङ्छेम्पाको मेन् ङाग जोद् (उपदेशकोश) (ट्रेजर हाउस अफ क्विन्टेसेन्स टिचिङ्स) का आधारमा तयार गरिएको।  नेपाली अनुवाद अरुण पौडेल।

Top