कोविड–१९ विरुद्ध विश्वव्यापी संयुक्त पहलका लागि सबै एकजुट हुनु आवश्यक

World in hands

गहन संकटको यो घडीमा हामी आफ्नो स्वास्थ्यमाथिको चुनौती तथा परिवारजन र साथीहरू गुमाएको पीडा भोगिरहेका छौं। आर्थिक अवरोधका कारण सरकारहरूमाथि ठूलो चुनौती आइलागेको छ भने धेरै मानिसहरू आफ्नो जीविका चलाउन धौधौ पर्ने अवस्थामा पुगेका छन्।

एक साझा विश्व परिवारको सदस्यका रूपमा हामीलाई एकजुट हुन केले सहयोग गर्छ, त्यसमा ध्यान दिनु अहिलेको आवश्यकता हो। हामीले करुणापूर्ण भावले एकआपसलाई सहयोग गर्नुपर्छ। मानवजातिका रूपमा हामी सबै उस्तै हौं। हामीले भोग्ने डर, हाम्रा आशा र अनिश्चितताहरू उस्तै हुन्छन्। खुशी हुने चाहना हामी सबैको उस्तै हुन्छ, र त्यसैले हामीलाई जोड्छ। मानवजातिका रूपमा हामीसँग विवेकको शक्ति छ र परिस्थितिलाई यथार्थको कोणबाट हेर्नसक्ने क्षमता छ। यसैकारण हामी कठिनाइलाई अवसरमा बदल्न सक्षम छौं।

यो संकट र यसबाट उत्पन्न परिस्थिति हाम्रा लागि चेतावनी पनि हो ताकि हामीले बुझौं – विश्वव्यापी रूपमा एकजुट भएर र समन्वयपूर्ण पहल गरेर मात्र हामी आफूमाथि आइपर्ने असीम चुनौतीहरुको सामना गर्न सक्छौं। म प्रार्थना गर्छु, हामी सबैले यो “ऐक्यबद्धताका लागि आह्वान” लाई स्वीकार गर्नेछौं।

दलाई लामा, मे ३, २०२०

Top