आध्यात्मिक गुरुसँग शिक्षा ग्रहण

आध्यात्मिक शिष्य र गुरुहरूको योग्यताका धेरै तहहरू हुन्छन्। यदि सम्भावित शिष्यले आफू वा आफ्नो गुरु वा दुवैलाई जति हो त्योभन्दा माथिल्लो तहमा भएको भन्ठान्यो या आफ्नो गुरुलाई मनोचिकित्सकका रूपमा लियो भने ज्यादै भ्रमपूर्ण अवस्था बन्न जान्छ। तर इमान्दारीपूर्वक आत्मनिरीक्षण गरेर वा यथार्थपरक परीक्षण गरेर दुवैजना आफ्नो वास्तविक अवस्थाबारे स्पष्ट हुन सके भने शिष्य र गुरुबीच एक स्वस्थ सम्बन्धको निर्माण हुन सक्छ।

आध्यात्मिक गुरु–शिष्य सम्बन्धबारे केही अनुभवजन्य तथ्यहरू

आध्यात्मिक गुरु–शिष्यबीचको सम्बन्धमा भ्रामक अवस्था आउन नदिन हामीले केही अनुभवजन्य तथ्यहरूमा विचार पुर्याउनुपर्ने हुन्छ। 

  1. अध्यात्मको मार्गमा प्रायः सबै साधकहरूको प्रगति चरणबद्ध ढंगले हुन्छ। 
  2. अधिकांश अभ्यासीहरूले आफ्नो जीवनकालमा धेरै गुरुहरूसँग शिक्षा लिएका हुन्छन् र उनीहरू सबैसँग अलग्गै खालको सम्बन्ध बनाएका हुन्छन्। 
  3. सबै आध्यात्मिक गुरु साधनाको उही तहमा पुगेका हुँदैनन्।
  4. कुनै निश्चित साधक र गुरुबीच कुन प्रकारको सम्बन्ध हुनुपर्छ भन्ने कुरा दुवै साधनाको कुन तहमा छन्, त्यसमा निर्भर गर्छ। 
  5. प्रायः मानिसहरू साधनामा जति अगाडि बढ्दै जान्छन्, त्यति गुरुसँगको उनीहरूको सम्बन्ध गहिरो हुँदै जान्छ।
  6. एक गुरुले आफ्ना विभिन्न शिष्यहरूको आध्यात्मिक जीवनमा विभिन्न प्रकारका भूमिकाहरू निभाइरहेको हुन सक्छ। त्यसैले विभिन्न साधकको उक्त गुरुसँगको सबैभन्दा उपयुक्त सम्बन्ध कस्तो हुने भन्नेमा भिन्नता हुन्छ। 

आध्यात्मिक गुरु र शिष्यका तहहरू 

त्यसैले आध्यात्मिक गुरु र शिष्यहरू विभिन्न तहमा हुन सक्छन्। गुरुका प्रकारहरूः 

  • बुद्धधर्मका प्राध्यापकहरू, जसले विश्वविद्यालयमा जस्तै जानकारीमूलक शिक्षा दिन्छन्। 
  • धर्म प्रशिक्षकहरू जसले जीवनमा धर्म कसरी लागू गर्ने भन्ने सिकाउँछन्। 
  • ध्यान प्रशिक्षकहरू जसले ताइ–ची वा योग सिकाएजस्तै ध्यानका विधिहरू सिकाउँछन्। 
  • आध्यात्मिक गुरुहरू जो शिष्यहरूलाई दिने शील (उपासक वा भिक्षु शील, बोधिसत्व संवर, तान्त्रिक समय) को स्तरको आधारमा विभिन्न तहका हुन्छन्। 

एवं प्रकारले शिष्यका प्रकारहरूः

  • बुद्धधर्मका अध्येताहरू जो धर्मबारे जानकारी लिन चाहन्छन्।
  • धर्मका विद्यार्थीहरू जो दैनिक जीवनमा धर्म कसरी लागू गर्ने सिक्न चाहन्छन्।
  • ध्यान प्रशिक्षार्थी जो मनलाई तालिम दिने र शान्त राख्ने तरिका सिक्न चाहन्छन्।
  • शिष्यहरू जो आफ्नो भविष्यको जन्म सुधार गर्न चाहन्छन्, मुक्त हुन चाहन्छन्, वा बोधिलाभ गर्न चाहन्छन्, र यस्ता लक्ष्यहरू प्राप्तिका लागि सहयोगी हुने तहका शील संवरहरू ग्रहण गर्न तत्पर छन्। यी शिष्यहरूले यही जीवनकाललाई सुधार्ने इच्छा राखे भने त्यसलाई मुक्ति र बोधिलाभको मार्गमा सहयोगी प्रारम्भिक चरणका रूपमा लिन्छन्। 

यी प्रत्येक स्तरका लागि आफ्नै योग्यताहरू हुन्छन्। आध्यात्मिक साधकका रूपमा हामीले आफ्नो र गुरुको पृष्ठभूमिलाई पनि ध्यानमा राख्नुपर्ने हुन्छ, जस्तै एशियाली हो कि पश्चिमी जगतको, भिक्षु भिक्षुणी वा गृहस्थ के हो, शिक्षाको स्तर कस्तो छ, भावनात्मक वा नैतिक परिपक्वताको स्तर कस्तो छ, कतिसम्म प्रतिबद्ध छ, आदि। त्यसैले विस्तारै र सावधानीपूर्वक यस दिशामा अगाडि बढ्नुपर्ने हुन्छ। 

सम्भावित गुरु र सम्भावित शिष्यका योग्यताहरू

सम्भावित शिष्यका रूपमा हामीले आफ्नो प्रगतिको स्तर थाहा पाउनुपर्ने हुन्छ, ताकि हामी कुनै त्यस्तो सम्बन्धमा आफूलाई आवद्ध नगरौं जसका लागि हामी तयार नै भैसकेको छैनौं। एक शिष्यमा हुनुपर्ने केही प्रमुख योग्यताहरू निम्नानुसार छन्ः 

  1. आफ्ना पूर्व धारणाहरू वा विचारहरूमा नबाँधिएको खुला चित्त
  2.  के उचित हो र के होइन छुट्याउन सक्ने सामान्य बुद्धि
  3. धर्मअभ्यास र योग्य गुरु प्राप्तिका लागि गहन अभिरुचि 
  4. धर्मअभ्यास र योग्य गुरुप्रति कदर तथा सम्मानको भाव
  5. सजग चित्त
  6. भावनात्मक परिपक्वता र स्थायित्वको एक आधारभूत स्तर
  7. नैतिक उत्तरदायित्वको एक आधारभूत स्तर

सम्भावित गुरुमा उनीहरूको स्तरअनुसार अझ धेरै योग्यताहरू हुनुपर्छ। जसमध्ये केही प्रमुख योग्यताहरू निम्नानुसार छन्ः

  1. उनीहरूको आफ्नै आध्यात्मिक गुरुहरूसँगको स्वस्थ सम्बन्ध
  2. शिष्यमा भन्दा बढी धर्मको ज्ञान
  3. ध्यान अभ्यास तथा दैनिक जीवनमा धर्मका विधिहरूलाई प्रयोगमा ल्याएको अनुभव र यसमा निश्चित हदसम्म सफलता प्राप्त गरेको
  4. धर्मलाई दैनिक जीवनमा उतार्दाका लाभहरूको प्रेरक उदाहरण प्रस्तुत गर्न सक्ने। यसअन्तर्गत निम्न गुणहरू आउँछन्ः
  5. नैतिक आत्मानुशासन
  6. शिष्यहरूको हित गर्ने सच्चा चाहना नै शिक्षणको मूल आशय हुने
  7. तुच्छ आवेगात्मक समस्याहरूबाट मुक्त र भावनात्मक रूपमा परिपक्व तथा स्थिर
  8. शिक्षणमा धैर्य
  9. आडम्बरबाट मुक्त (आफूसँग नभएका गुणहरू भएको आडम्बर नगर्ने), ढोङ्गीपनाबाट मुक्त (आफ्ना कमीकमजोरीलाई नलुकाउने, जस्तै आफूले नजानेका कुरा, नभएको अनुभव आदि)

हामीले आफ्नो साधनालाई यथार्थ स्थितिअनुरूप ढाल्नुपर्ने हुन्छ – जस्तै आफ्नो नजिकमा रहेका शिक्षकको योग्यताको स्तर कति छ, म कति समय दिन सक्छु, मेरो प्रतिबद्धता कति छ, मेरो आध्यात्मिक लक्ष्य के हो (यथार्थ लक्ष्य, न कि “सबै सत्वको हितका लागि” भनेजस्तो आदर्शवादी लक्ष्य) आदि। यदि हामीले आध्यात्मिक सम्बन्ध सुरु गर्नुअघि सम्भावित शिक्षकको योग्यता जाँच गर्यौं भने उसलाई देवता वा दानव बनाउनुपर्ने अतिवादबाट बच्न सक्छौं। यदि आफ्नो गुरुलाई देवता बनायौं भने हाम्रै अबोधपनाका कारण उसबाट दुर्व्यवहारमा परिने सम्भावना उत्पन्न हुन्छ। त्यस्तै यदि उसलाई दानव बनायौं भने त्यस्तो मिथ्याभ्रमका कारण हामीले धर्मको लाभ लिन नसक्ने हुन्छौं। 

आध्यात्मिक गुरुको शिष्य बन्नु र मनोचिकित्सकको ग्राहक बन्नुबीचको अन्तर

आध्यात्मिक गुरु–शिष्य सम्बन्धमा उत्पन्न हुने भ्रमको एक प्रमुख स्रोत के हो भने शिष्यले आफ्नो गुरुलाई मनोचिकित्सकको रूपमा देख्न चाहन्छ। मानिलिउँ कोही आफ्नो जीवनभरी भावनात्मक रूपमा खुसी हुन र राम्रा सम्बन्धहरूमा रहन चाहन्छ। यस्तो लक्ष्य प्राप्तिका लागि उ आध्यात्मिक गुरुको शिष्य बन्छ भने त्यो धेरै अर्थमा मनोचिकित्सकको ग्राहक बन्नुजस्तै हुन पुग्छ। 

हुनत बुद्धधर्म र मनोचिकित्सामा केही समानता छन्ः

  1. दुवै हाम्रो जीवनमा दुःख भएको तथ्य जान्ने, स्वीकार गर्ने र त्यसबाट मुक्ति पाउने चाहनाबाट विकसित भएका हुन्।
  2. दुवैमा आफ्ना समस्या तथा तिनका कारणहरूबारे जान्न र बुझ्न अरू कसैसँग सहयोग लिएर काम गर्नुपर्ने हुन्छ। बुद्धधर्मले जस्तै मनोचिकित्साका कतिपय पद्धतिले के मान्छन् भने स्वयंको रूपान्तरणका लागि ज्ञान नै महत्वपूर्ण हुन्छ।  
  3. दुवैले हाम्रा समस्याको कारणलाई गहनतापूर्वक जान्नमा जोड दिने दर्शन प्रणाली, ती कारणहरूबाट छुटकारा पाउन व्यावहारिक विधिहरूमा जोड दिने परम्परा, र ती दुवै दृष्टिकोणको सन्तुलित मिश्रणको वकालात गर्ने पद्धति अंगीकार गर्छन्।
  4. दुवैले आत्मोन्नतिको प्रक्रियाको एक महत्वपूर्ण अंगका रूपमा गुरु वा मनोचिकित्सकसँग स्वस्थ भावनात्मक सम्बन्ध स्थापित गर्नुपर्ने कुरामा जोड दिन्छन्। 
  5. मनोचिकित्साका अधिकांश शास्त्रीय पद्धतिहरूमा ग्राहकको व्यवहार र सोच्ने शैली परिवर्तन गर्ने प्रक्रिया अपनाउँदा नैतिक दिशानिर्देशलाई उतिसारो ख्याल नगरेको जस्तो देखिन्छ। तर उत्तर–शास्त्रीय पद्धतिहरूले त्यस्ता नैतिक सिद्धान्त अपनाउन जोड दिन्छन् जो बुद्धधर्मसँग मिल्दाजुल्दा छन्। उदाहरणका लागि, विखण्डित परिवारका सबै सदस्यसँग एक समान राम्रो व्यवहार गर्ने, रिस लगायतका विनाशकारी आवेगलाई क्रियान्वित गर्नबाट बच्ने आदि। 

यी समानताका वावजूद बौद्ध गुरुको शिष्य हुनु र मनोचिकित्सकको ग्राहक हुनुबीच कम्तीमा पाँच प्रमुख भिन्नता रहन्छन्। 

(१) सम्बन्ध स्थापित गर्दाखेरिको भावनात्मक अवस्था। सम्भावित ग्राहक मनोचिकित्सककहाँ त्यतिबेला पुग्छन् जतिबेला उनीहरू भावनात्मक रूपमा विचलित हुन्छन्। उनीहरू मानसिक रूपमा विक्षिप्त भै उपचारका लागि औषधि सेवन गरिरहेका पनि हुन सक्छन्। त्यसको विपरीत सम्भावित शिष्यले आध्यात्मिक मार्गको पहिलो चरणकै रूपमा आफ्नो गुरुसँग सम्बन्ध स्थापित गर्दैन। त्योभन्दा पहिल्यै उसले बुद्धका शिक्षाहरू अध्ययन गरेको हुन्छ र अभ्यास शुरु गरिसकेको हुन्छ। परिणामतः उ भावनात्मक रूपले एक हदसम्म परिपक्व र स्थिर भैसकेको हुन्छ ताकि उसले स्थापित गर्ने गुरु–शिष्य सम्बन्ध बौद्ध अर्थमा हितकारी हुन्छ। अर्को शब्दमा भन्नुपर्दा, एक बौद्ध अभ्यासी शिष्य हुनुअघि नै विक्षिप्त मानसिक दृष्टिकोण र व्यवहारबाट निकै हदसम्म मुक्त भैसकेको हुन्छ। 

(२) सम्बन्धमा हुने अपेक्षित आदानप्रदान। सम्भावित ग्राहकले अधिकांशतः कोही त्यस्तो मानिस खोजिरहेको हुन्छ जसले उसको कुरा सुनिदियोस्। त्यसैले उसले मनोचिकित्सकले आफू र आफ्नो व्यक्तिगत समस्यालाई एकाग्र भएर ध्यानपूर्वक सुनोस् भन्ने अपेक्षा राख्छ, चाहे उसको उपचार समूहमै भैरहेको किन नहोस्। त्यसका विपरीत शिष्यले सामान्यतया गुरुसँग व्यक्तिगत समस्या राख्दैन र गुरुले व्यक्तिगत रूपमा उसैलाई ध्यान देओस् भन्ने अपेक्षा या माग राख्दैन। गुरुसँग कुनै व्यक्तिगत विषयमा सल्लाह लिन गयो भने पनि नियमित रूपमा गइरहँदैन। उसको मुख्य ध्यान गुरुको शिक्षा सुन्नेमा हुन्छ। मूलतः बौद्ध शिष्यले आफ्नो गुरुसँग प्रायः सबैले भोग्ने आम समस्याहरूबाट मुक्ति पाउने विधि नै सिक्न खोजिरहेको हुन्छ। त्यसपछि उसले ती विधिलाई आफ्नो विशिष्ट परिस्थितिअनुसार उपयोगमा ल्याउँछ, त्यसको जिम्मेवारी आफैं लिन्छ।  

(३) सक्रिय सम्बन्धबाट प्राप्त हुने अपेक्षित नतिजा। मनोचिकित्सामा जीवनका समस्याहरूलाई स्वीकार गर्ने, तिनीहरूसँगै जिउने, र सकेसम्म तिनलाई न्यूनीकरण गर्न सिक्ने लक्ष्य राखिन्छ ताकि तिनलाई सहन सकियोस्। कुनै बौद्ध गुरुकहाँ यो जीवनमा भावनात्मक रूपमा स्वस्थ रहने उद्देश्यले गयौं भने त्यहाँ पनि आफ्ना समस्याहरूको न्यूनीकरण हुने अपेक्षा त राख्न सकिन्छ। किनकि बुद्धले बताउनुभएको जीवनको पहिलो तथ्य (पहिलो आर्यसत्य) अनुसार जीवनमा कठिनाई भए पनि त्यसलाई हामीले कम कठिन बनाउन सक्छौं। 

तर यसरी जीवनलाई भावनात्मक रूपमा कम कठिन बनाउनु भनेको शास्त्रीय बौद्ध मार्गको प्रारम्भिक खुड्किलो मात्र हो। आध्यात्मिक गुरुका शिष्यहरू कम्तीमा पनि एक अनुकूल पुनर्जन्म, मुक्ति, वा बोधिलाभको उच्चतर लक्ष्यमा अभिप्रेरित हुन्छन्। बौद्ध शिष्यहरूले पुनर्जन्मबारे बौद्धिक रूपमा जानेका हुन्छन् र यो सत्य हुने कुरालाई कम्तीमा अस्थायी रूपमा स्वीकारेका हुन्छन्। यसको विपरीत मनोचिकित्साका ग्राहकले पुनर्जन्मका बारेमा सोच्नु वा आफ्नो तत्कालको स्थितिमा सुधार गर्नेभन्दा पर्तिरको लक्ष्य राख्नु जरुरी हुँदैन। 

(४) स्व–रुपान्तरणका लागि प्रतिबद्धताको स्तर। मनोचिकित्सकका ग्राहकहरूले हरेक घण्टाको हिसाबले शुल्क तिर्छन्, तर उनीहरू जीवनपर्यन्त आफ्नो दृष्टिकोण र व्यवहार परिवर्तन गर्ने प्रतिबद्धता राख्दैनन्। त्यसको विपरीत बौद्ध शिष्यहरूले शिक्षाका लागि शुल्क तिर्न वा नतिर्न सक्छन्, तैपनि उनीहरू औपचारिक रूपमा आफ्नो जीवनको दिशा परिवर्तन गर्छन्। जीवनलाई एक सुरक्षित दिशा प्रदान गर्ने शरणगमनको चरणसँगै शिष्यहरूले आफूलाई त्यस्तो स्व–रुपान्तरणको मार्गमा प्रतिबद्ध गर्छन् जुन बुद्धहरूले आफैं पूर्णरूपमा आत्मसात गरी अरूलाई देखाएका हुन्छन्, र जुन उच्चकोटिका आध्यात्मिक साधकहरूले अनुसरण गरिरहेका हुन्छन्।

फेरि, बौद्ध शिष्यहरूले जीवनमा गर्ने कार्य, बोली, र सोचलाई सकारात्मक र नैतिक शीलयुक्त दिशामा लगाउन आफूलाई प्रतिबद्ध गर्छन्। उनीहरू विनाशात्मक प्रवृत्तिहरूलाई यथासम्भव त्याग्दै सकारात्मक प्रवृत्ति अपनाउने प्रयास गर्छन्। अनियन्त्रित तवरले दोहोरिरहने पुनर्जन्मको चक्रबाट आफूलाई मुक्त गराउने इच्छा गम्भीरतापूर्वक लिने शिष्यहरूको प्रतिबद्धताको स्तर अझ गहिरो हुन्छ, र उनीहरू गृहस्थ वा भिक्षुका संवरहरू ग्रहण गर्छन्। यो स्तरमा आफ्नो रुपान्तरण चाहने शिष्यहरू जीवनपर्यन्त त्यस्तो व्यवहार नगर्ने प्रण गर्छन् जुन स्वाभाविक रूपमै पनि नकारात्मक हुन्छन् र जसका बारेमा बुद्धले निश्चित व्यक्तिहरूका लागि निश्चित कारणवश गर्न नहुने भनी निषेध गर्नुभएको छ। यसको एक उदाहरण भिक्षुहरूले गृहस्थीको भेषभूषा छाडेर भिक्षु भेष वा चीवर लगाउनु हो, जसको उद्देश्य आसक्तिलाई कम गर्नु हो। पूर्ण मुक्तिको चाहना विकसित गर्नुअघि नै शिष्यहरूले प्रायः गृहस्थ वा भिक्षुको संवरहरू लिने गर्छन्।

अर्कातर्फ मनोचिकित्सकका ग्राहकहरू उपचार सेवा लिँदाखेरिको शर्तबमोजिम केही प्रक्रियागत नियमहरू पालना गर्छन्, जस्तै पचास मिनेटको निर्धारित भेटघाटको समयमा गएर भेट्ने। तथापि, ती नियमहरू उपचारको हदसम्म मात्र सम्बन्धित हुन्छन्। उपचारभन्दा बाहिरको सन्दर्भमा ती नियम लागू हुँदैनन् र स्वाभाविक रूपमै नकारात्मक व्यवहारलाई त्याग्ने कुरा आवश्यक हुँदैन। र, ती नियम जीवनभरीका लागि लागू हुँदैनन्। 

(५) गुरु र मनोचिकित्सकप्रतिको दृष्टिकोण। शिष्यहरूले आध्यात्मिक गुरुलाई आफूले हासिल गर्न चाहेको लक्ष्यको जीवन्त प्रतिरूपका रूपमा देख्छन्। गुरुका असल गुणहरूको सही पहिचानले यस्तो दृष्टि विकसित भएको हुन्छ, र बोधिपर्यन्तको क्रमिक मार्गमा शिष्यले यो दृष्टिलाई कायम राख्छन्, अझ सुदृढ बनाउँदै लैजान्छन्। त्यसका विपरीत विरामीले आफ्नो मनोचिकित्सकलाई भावनात्मक स्वास्थ्यको आदर्शका रूपमा हेर्न सक्छन्, तर उनीहरूलाई मनोचिकित्सकको असल गुणहरूको सही जानकारी हुनु जरुरी छैन। मनोचिकित्सकजस्तै हुनु उक्त सम्बन्धको अभिष्ट होइन। उपचारको दौरानमा चिकित्सकले विरामीलाई काल्पनिक आदर्शबाट बाहिर निकाल्छन्। 

“शिष्य” शब्दको अनुपयुक्त प्रयोग

कहिलेकाहीँ कतिपय मानिसले आफूलाई कुनै आध्यात्मिक गुरुको शिष्य बताउँछन्, यद्यपि या त उनीहरू, या गुरु, या दुवै यथार्थमा सो पदको योग्य हुँदैनन्। अबोधपनाले गर्दा प्रायः उनीहरू अव्यावहारिक अपेक्षा राख्न पुग्छन् र भ्रम, मानसिक चोट, तथा दुर्व्यवहारसम्मको शिकार हुन सक्छन्। यो सन्दर्भमा दुर्व्यवहार भन्नाले कसैले शक्तिको आडमा यौन शोषण गर्ने, भावनात्मक वा वित्तीय शोषणको शिकार बनाउने, वा कठपुतली जस्तो नचाउने हुन सक्छ। पश्चिमी जगतमा पाइने यस्ता तीन प्रकारका मिथ्या शिष्यहरूबारे चर्चा गरौं जसको आध्यात्मिक गुरुसँगको सम्बन्ध समस्यापूर्ण बन्ने सम्भावना हुन्छ। 

(१) केही मानिसहरू धर्मकेन्द्रहरूमा आफ्ना स्वैरकल्पनाहरूको तृप्तिका लागि धाउँछन्। उनीहरूले “रहस्यपूर्ण पूर्वीय जगत” वा सुपरस्टार गुरुहरूका बारेमा सुनेका वा पढेका हुन्छन्, र आफ्नो जीवनको पट्यारलाग्दो अवस्थाबाट उम्किन कुनै असाधारण वा अद्भूत अनुभव खोजिरहेका हुन्छन्। उनीहरू कुनै आध्यात्मिक गुरुलाई भेट्छन्, र ती गुरु एशियाली वा सन्यासी भेषधारी रहेछन् भने तत्काल आफूलाई उसको शिष्य घोषणा गरिहाल्छन्। कुनै पश्चिमा गुरुले एशियाली नाम वा पदवी लिएको रहेछ भने पनि उनीहरू यसैगरी फँस्छन्, चाहे उक्त गुरुले सन्यासी भेष धारण गरेको होस् या नहोस्।  

रहस्यमयी अनुभव खोज्ने यो प्रवृत्तिले ती आध्यात्मिक जिज्ञासुहरूको गुरुसँगको सम्बन्ध जोखिमपूर्ण बन्छ। योग्य गुरुकै फेला परेर आफूलाई उसको शिष्य घोषणा गरेपनि यस्ता चेलाले प्रायः आफ्ना गुरुलाई छाड्छन् किनकि उनीहरूले सोचेजस्तो चमत्कार स्वैरकल्पनामै सीमित हुन्छ, वास्तविक दुनियाँमा घटित हुँदैन। त्यसमाथि अव्यावहारिक दृष्टिकोण र उच्च अपेक्षाले ती “क्षणिक चेला” को विवेकलाई ढाकिदिन्छ। ढोंग गर्न सिपालु आध्यात्मिक ठगको फेला परे भने उनीहरू सजिलै धोका खान्छन्।

(२) केही मानिसहरू त्यस्ता हुन्छन् जो आफ्नो भावनात्मक वा शारीरिक पीडाबाट छुटकारा पाउने व्यग्रताका साथ धर्मकेन्द्र धाउँछन्। उनीहरूले धेरै प्रकारका उपचारहरू लिने असफल प्रयास गरिसकेका हुन सक्छन्। उनीहरू कुनै जादुगर उपचारकले चामत्कारिक ढंगले उपचार गरिदेओस् भन्ने खोजिरहेका हुन्छन्। उनीहरू तत्काल आफूलाई त्यस्तो मानिसको शिष्य घोषणा गरिहाल्छन् जसले आशीर्वादको शैलीमा कुनै दवाईको गोली दिन्छ अथवा प्रार्थना वा मन्त्र वा साधना (जस्तै एक लाख पटक ढोग गर्ने) सिकाउँछ र यसबाट उनीहरूको समस्या स्वतः समाधान हुने कुरा बताउँछ। उनीहरू अक्सर त्यस्तै खालका गुरुहरूकहाँ पुग्छन् जो अलौकिक विद्या खोज्ने मानिसहरूलाई आकर्षित गर्ने काम गरिरहेका हुन्छन्। “तत्काल समाधान” को मानसिकताले चमत्कारका आकांक्षीहरूलाई अक्सर निराश र हतास बनाउँछ। योग्य गुरुहरूकै निर्देशन पालना गर्दा पनि चामत्कारिक समाधान भईहाल्ने त होइन। बरु यस्तो “तत्काल समाधान” को मानसिकताले आध्यात्मिक ठगहरूको फन्दामा पुगी दुर्व्यवहारमा परिन्छ। 

(३) तेस्रो प्रकारमा सामान्य जीवनबाट विरक्तिएका र वेरोजगार युवाहरू पर्छन्। उनीहरू त्यस्ता धर्म केन्द्रहरूमा पुग्छन् जुन नयाँ गुट या सम्प्रदाय बनाउने प्रकृतिका हुन्छन्। आफ्नो एक सशक्त अस्तित्व होस् भन्ने आशामा उनीहरू त्यहाँ पुगेका हुन्छन्। आकर्षक व्यक्तित्व भएका उन्मादी गुरुले “आध्यात्मिक फासीवाद” को शैलीमा उनीहरूलाई आकर्षित गर्छन्। उनीहरूले तथाकथित शिष्यहरूलाई आफ्नो सम्प्रदायमा पूर्ण समर्पित भएमा संख्यात्मक हिसाबले उनीहरूको शक्ति बढ्ने आश्वासन दिन्छन्। उनीहरू ती शिष्यलाई प्रचण्ड शक्तिशाली रक्षकहरूका बारे बताएर लोभ्याउँछन् जसले उनीहरूका शत्रुलाई नष्ट गरिदिनेछन्। खासगरी निम्नस्तरका र अशुद्ध बौद्ध परम्परामा यो देखिन्छ। एक त्यस्तो शक्तिशाली मार्गदर्शक होस् जसले हाम्रो आध्यात्मिक उत्थान गरिदियोस् भन्ने सपना बोकेका चेलाहरूलाई आश्वस्त बनाउन उनीहरू आफ्नो सम्प्रदायका संस्थापकहरूको अलौकिक शक्तिका अतिरञ्जित कहानी सुनाउँछन्। यस्तो आश्वासनबाट प्रभावित हुनेहरू तत्काल आफूलाई उनीहरूको शिष्य घोषणा गरिदिन्छन् र ती निरंकुश गुरुहरूले दिने जुनसुकै निर्देशन वा आदेशलाई आँखा चिम्म गरेर पालना गर्छन्। यसको परिणाम अक्सर दुखद हुन्छ। 

सारांश

संक्षेपमा, कुनै बौद्ध धर्मकेन्द्रमा गुरुका रूपमा रहेका सबै मानिस सच्चा आध्यात्मिक गुरु हुँदैनन्। त्यसैगरी यस्ता धर्मकेन्द्रमा शिक्षा लिन आउने जोकोही पनि सच्चा आध्यात्मिक शिष्य हुँदैनन्। गुरु र शिष्य शब्दको प्रयोग उचित तवरले गर्नुपर्छ। यसका लागि आध्यात्मिक इमान्दारी चाहिन्छ र ढोंगबाट मुक्त हुनुपर्छ। 

Top