बौद्धमार्गीहरूका लागि “धर्म” को अर्थ बुद्धले दिनुभएको शिक्षा हो, जसबाट हामी वर्तमान भ्रम र असन्तुष्टिबाट मुक्त हुँदै होश र आनन्दको अवस्थामा पुग्न सक्छौं। जसरी धर्मको अंग्रेजी शब्द “रिलिजन” ल्याटिन भाषाको “एक ठाउँमा जोड्नु” भन्ने अर्थबाट बनेको छ, त्यसरी नै संस्कृतको “धृ” धातुबाट धर्म शब्द बनेको छ। “धृ” को अर्थ दृढतापूर्वक हामीलाई आड दिने र टिकाउने भन्ने लाग्छ। मूलभूत रूपमा धर्मले हामीलाई त्यस्तो दुर्भाग्यपूर्ण अधोगतितिर झर्नबाट बचाउने बलियो आधार प्रदान गर्छ, जहाँ पुगेको भए दीर्घकालसम्म अनियन्त्रित तवरले दुःख भोगिरहनु पर्ने हुन्थ्यो।
What is dharma

बुद्धको पहिलो धर्म शिक्षा (प्रथम धर्मचक्रप्रवर्तन)

पच्चीस सय वर्षभन्दा अघि बुद्धले बुद्धत्व प्राप्त गर्नुभयो, तर उहाँ त्यो ज्ञान तत्कालै मानिसहरूलाई प्रदान गर्न तयार हुनुभएको थिएन। मानिसहरूले त्यति गहिरो र जटिल ज्ञान बुझ्न नसक्ने या आफ्नो सांसारिक सुखमै अति लिप्त भएका कारण त्यसप्रति रुचि नदेखाउने सम्भावना थियो। प्रारम्भिक ग्रन्थहरूमा के बताइन्छ भने ब्रह्मा नामका देवता बुद्धसामु आउनुभयो र सबै जीवको हितका लागि धर्मको शिक्षा दिन आग्रह गर्दै भन्नुभयो – कोही त पक्कै होलान् जो बोधिलाभ गर्न सक्षम होउन्। त्यसपश्चात् बुद्धले मृगदावनमा पहिलो पटक धर्मशिक्षा प्रदान गर्नुभयो, जसअन्तर्गत उहाँले चार आर्यसत्यको ज्ञान दिनुभयो। यो पहिलो शिक्षाले सम्पूर्ण बौद्धमार्गको खाका प्रस्तुत गर्छ। अहिले संसारमा भएका सबै बौद्ध परम्पराहरूको आधारशीला यही पहिलो शिक्षा हो। 

बुद्धले बताउनुभएको पहिलो सत्य हो - जीवन सधैँ असन्तुष्टिपूर्ण छ। कुनै बेला हामीलाई सुखको अनुभूति हुन्छ, तर जति नै सुख भएता पनि त्यो धेरै टिक्दैन, त्यो अस्थायी हुन्छ। यो सार्वभौमिक सत्य हो – हामी सबैले आफ्नो जीवनमा यसको अनुभव गरेका हुन्छौं। हामीले अनुभव गर्ने खुसी जस्तोसुकै भएपनि सधैँभरी टिक्दैन र कुनै पनि बेला बेखुसीमा परिवर्तन हुनसक्छ। दोस्रो सत्य हो - यस्तो बेखुसी हामी बाहिरबाट आउँदैन, बरु आफूलाई मनपर्ने कुराप्रतिको हाम्रो आफ्नै आसक्ति र अझ चीजहरू कसरी अस्तित्ववान छन् भन्ने कुराप्रतिको हाम्रो अज्ञानबाट आउँछ। तेस्रो सत्यले के भन्छ भने हामी आफ्ना तमाम दुःख र समस्याहरूबाट मुक्त हुन सक्छौं, र चौथो सत्यले त्यो मार्ग देखाउँछ जसको अनुसरण गर्नाले हामी आफ्ना सबै दुःखहरूबाट सदाका लागि मुक्त हुन सक्छौं। 

बुद्धले दिनुभएको शिक्षाको लक्ष्य दुःखबाट मुक्ति हो 

बुद्धको पालामा सबै धर्मशिक्षा मौखिक रूपमा दिइन्थ्यो र त्यसलाई स्मरणमा उतारिन्थ्यो। त्यो शिक्षालाई कैयौं पुस्तासम्म त्यसरी नै हस्तान्तरण गर्दै लगियो र पछि लिखित रूपमा उतारियो। आज हाम्रासामु कैयौं सय सूत्रहरू, भिक्षुले पालन गर्नुपर्ने नियमहरू, र तात्त्विक व्याख्याहरूको संग्रह उपलब्ध छ जसलाई समग्र रूपमा त्रिपिटक (अर्थात् तीन टोकरी वा डालाहरू) भनिन्छ। परम्पराअनुसार कहिलेकाहीँ के भनिन्छ भने बुद्धले ८४,००० धर्मशिक्षा दिनुभएको थियो, जसले हाम्रा ८४,००० क्लेशलाई निर्मूल गर्न सहयोग गर्छन्। यो संख्या ठ्याक्कै त्यत्ति नै हो भन्ने होइन, तर यसको तात्पर्य के हो भने हामीले भोग्नुपर्ने समस्या, निराशा, दुःखका प्रकार अत्यन्तै धेरै हुने रहेछन् र ती सबैको सामना गर्ने बृहत् शिक्षा बुद्धले दिनुभएको रहेछ। 

वास्तवमा, बुद्धका सबै शिक्षाको उद्देश्य दुःखबाट मुक्ति हो। बुद्धलाई दार्शनिक चर्चा परिचर्चा गर्नुमा कत्ति पनि रुचि थिएन। यतिसम्म कि आत्मा वा ब्रह्माण्डका बारे सोधिएका कतिपय प्रश्नको उत्तर दिन समेत इन्कार गर्नुभयो, किनकि ती विषयमा चर्चा गरेर दुःखमुक्ति हुने थिएन। बुद्धले मानिसको विद्यमान अवस्थाको अन्वेषण गर्नुभयो। हामी सबै मानिस दुःखमै छौं भन्ने देख्नुभयो र यसबाट मुक्तिको उपाय निकाल्नुभयो। त्यसैले बुद्धलाई प्रायः एक चिकित्सकको उपमा दिइन्छ र उहाँले दिनुभएको धर्मशिक्षालाई औषधिको। यो धर्मको औषधिले हाम्रा तमाम दुःखलाई सधैँका लागि समाधान गर्न सहयोग गर्छ। 

शरणगमनका तीन रत्न छन् – बुद्ध, धर्म, र संघ। तर वास्तविक शरण रत्न त धर्म नै हो। बुद्धहरूले धर्मको शिक्षा दिन्छन्, तर चुट्की बजाएको जस्तो हाम्रा सबै समस्यालाई चामत्कारिक रूपमा निर्मूल गरिदिन सक्दैनन्। त्यस्तै संघले हामीलाई सहयोग र हौसला त प्रदान गर्न सक्छन्, तर हामीलाई धर्मको अभ्यास गर्न बाध्य बनाउन सक्दैनन्। हामी आफैंले धर्मको अध्ययन र अभ्यास गर्नुपर्छ। दुःखबाट मुक्त हुने एकमात्र उपाय त्यही हो। अर्थात्, आफ्नो उद्धारक हामी आफैं हौं। 

धर्मका गुणहरू

धर्मका गुणहरू असंख्य छन्। तैपनि केही प्रमुख गुणको उल्लेख निम्नानुसार गर्न सकिन्छः 

१. धर्म अनेक विविधता र अनेक स्वभावयुक्त मानिसका लागि उपयुक्त छ। थाइल्याण्ड, तिब्बत, श्रीलंका, जापान आदि देशमा बुद्धधर्मको स्वरूपमा व्यापक परिवर्तन भएको देखिन्छ, तर ती सबै परम्पराले बुद्धका मूलभूत शिक्षाहरू नै समेटेका छन् र सबैले निर्वाण प्राप्तिकै लक्ष्य राख्छन्। 

२. धर्म तर्कसङ्गत छ। यसले हामीलाई आफ्नो मन र हामीले अनुभूति गर्ने हरेक चीजलाई यथार्थपरक ढंगले हेर्न सिकाउँछ। यसमा कट्टरपन्थ छैन, र हामीलाई कुनै ईश्वर वा देवताहरूमा आस्था गर्न बाध्य गराइँदैन। अपितु हामीलाई हरेक कुरामा तर्कसङ्गत प्रश्न गर्न सिकाइँछ। परम पूजनीय दलाई लामाले चेतना र मनजस्ता बुद्धशिक्षाका कतिपय विषयमा अध्ययन गर्न कैयौं वर्षदेखि वैज्ञानिकहरूसँग सहकार्य गर्दै आउनुभएको छ। यस क्रममा बौद्धमार्गी र वैज्ञानिकहरू दुवैले एक अर्काबाट सिक्न पाएका छन्। 

३. धर्म कुनै एक निश्चित समस्याको मात्र समाधान गर्नेतर्फ लक्षित छैन, यसको लक्ष्य सबै दुःखको मूलमै पुग्ने हो। यदि हामीलाई हरेक दिन असाध्यै टाउको दुख्ने समस्या छ भने एस्पिरिनको चक्की लिन सक्छौं। त्यसले केही समयका लागि दुखेको निको गर्छ, तर दुखाइ फेरी फर्किन्छ। कुनै औषधिले टाउको दुख्ने समस्या सधैँका लागि समाधान गर्ने हो भने हामी पक्कै पनि त्यसलाई लिने थियौं। धर्म त्यस्तै औषधि हो, यसले हामीलाई टाउको दुखाइबाट मात्र होइन, अपितु हाम्रा सबै दुःख र समस्याबाट सधैँका लागि मुक्ति दिन्छ। 

सारांश

बुद्ध अति कुशल चिकित्सक जस्तै हुन्, जसले हाम्रा दुःखहरूको सही निदान गर्छन् र तिनबाट मुक्तिको सबैभन्दा उत्तम औषधि दिन्छन्। त्यो औषधि हो धर्म। तर त्यसलाई सेवन गर्ने – अर्थात्, धर्मलाई धारण गर्ने वा त्यसको अभ्यास गर्ने – काम हाम्रो हो। कसैले हामीलाई यसमा बाध्य बनाएर हुँदैन। तर जब हामी धर्मले दिने लाभ र यसले ल्याउने मनको शान्ति साँच्चिकै अनुभव गर्छौं, र कसरी यसबाट आफ्ना सबै कठिनाइ, निराशा र दुःखहरूबाट मुक्ति पाउन सहयोग पुग्छ भन्ने देख्छौं, तब हामी उत्साहपूर्वक आफ्नो र अरुको हितका लागि धर्मको अभ्यास गर्न थाल्छौं। 

Top