बौद्ध मार्गक्रमको अनुसरण कसरी र किन गर्ने

लामरिम के हो र यो बुद्धको शिक्षाबाट कसरी विकसित भयो?

मार्गक्रम अर्थात् लाम–रिम बौद्ध शिक्षा ग्रहण गर्ने र त्यसलाई आफ्नो जीवनमा उतार्ने उपाय हो। बुद्धको जीवनकाल २५०० वर्ष अगाडिको हो। उहाँले भिक्षुहरू र पछि भिक्षुणीहरूलाई समेत शिक्षा दिनुभयो। त्यसका अतिरिक्त उहाँलाई गृहस्थीहरूले पनि आफ्नो घरमा आमन्त्रण गर्थे, भोजन अर्पण गर्थे र उहाँबाट शिक्षा लिन्थे। 

बुद्धले सधैँ “उपाय कौशल” को प्रयोग गर्दै शिक्षा दिनुभयो। अर्थात्, सुन्ने मानिसले जसरी ग्रहण गर्न सक्थे, त्यसैगरी शिक्षा दिनुभयो। त्यो आवश्यक थियो किनकि त्यतिबेला मानिसको बुद्धि र आध्यात्मिक जागरणको अवस्था एकसमान थिएन। अहिले पनि हुँदैन। त्यसैले बुद्धले विविध विषयमा विभिन्न स्तरबाट शिक्षा प्रदान गर्नुभयो। 

बुद्धका धेरै शिष्यहरूको स्मरणशक्ति असाधारण क्षमताको थियो। त्योबेला शिक्षालाई लेखेर राख्ने चलन थिएन, केवल भिक्षुहरूले आफ्नो स्मरणमा कण्ठस्थ राख्थे। एक पछि अर्को पुस्तामा ती शिक्षालाई मौखिक रूपमै हस्तान्तरण गरियो। अन्ततः शिक्षालाई लेखनमा पनि उतारियो, जसलाई सूत्र भन्न थालियो। केही शताब्दीपश्चात महान भारतीय आचार्यहरूले ती सामग्रीलाई व्यवस्थित गर्ने र तिनमा भाष्यहरू लेख्ने प्रयत्न गरे। ती महान भारतीय आचार्यहरूको श्रृंखलाका अतीश तिब्बत पुग्नुभयो, र त्यहाँ उहाँले एघारौं शताब्दीमा बुद्धशिक्षालाई लाम–रिमको प्रारूपमा प्रस्तुत गर्नुभयो। 

अतीशले प्रस्तुत गर्नुभएको प्रारूपले मानिसहरूलाई बुद्धत्व प्राप्तिमा अग्रसर हुने मार्ग दियो। सूत्रहरूलाई अव्यवस्थित ढंगले पढ्दैमा स्पष्ट आध्यात्मिक मार्ग भेटाइन्छ वा बोधि लाभ हुन्छ भन्ने छैन। हुनत त्यसका लागि चाहिने सबै शिक्षा सूत्रहरूमा छन्, तर तिनलाई व्यवस्थित ढंगले ग्रहण गर्न त्यति सहज छैन। 

लाम–रिमले हामीलाई त्यस्तो व्यवस्था प्रदान गर्छ। बुद्धशिक्षालाई व्यवस्थित क्रममा हामीलाई उपलब्ध गराउँछ। अतीशपश्चात यसलाई थप विकसित गर्ने काम भयो र तिब्बतमा यो मार्गक्रमको थप विस्तारित संस्करणहरू आए। हामी पन्ध्रौं शताब्दीमा चोङ्खापाले लेख्नुभएको संस्करणको चर्चा गर्नेछौँ, जुन सम्भवतः लाम–रिमको सबैभन्दा विस्तृत रूप हो। चोङ्खापाको संस्करणमा सूत्र र भारतीय आचार्यका भाष्यहरू उद्धृत छन्, त्यसकारण उहाँले त्यत्तिकै हावादारी गफ दिनुभएको होइन भन्ने कुरामा हामी ढुक्क हुन सक्छौं।

यसमा अर्को महत्त्वपूर्ण कुरा के छ भने चोङ्खापाले सबै विषयमा विस्तृत र तर्कसंगत प्रमाण पेश गर्नुभएको छ।त्यसैले हामी शिक्षालाई तर्क र विवेकको कसौटीमा राखेर लिन सक्छौं, जसबाट शिक्षा प्रामाणिक भएको कुरामा अझ दृढ विश्वास हुन्छ। चोङ्खापाको विशेषता के हो भने अन्य ग्रन्थकारले चर्चा गर्न नचाहेका जटिल विषयलाई पनि उहाँले सम्बोधन गर्नुहुन्थ्यो।

तिब्बतका चार बौद्ध परम्परामध्ये चोङ्खापाबाट स्थापित परम्परालाई “गेलुक्पा” भनिन्छ।

आध्यात्मिक मार्गको अर्थ के हो? यसको खाका कसरी कोर्ने?

आध्यात्मिक मार्गको खाका कसरी कोर्ने? मूल सवाल त्यही हो। भारतमा आमरूपमा कैयौं विधिहरूको प्रशिक्षण दिइन्थ्यो। बुद्धको समयमा एकाग्रताको विकास गर्ने विधिहरू सबै परम्परामा सिकाइन्थे। त्यसैले एकाग्रताको विधि बुद्धले बनाएको वा पत्ता लगाएको होइन। आफ्नो आध्यात्मिक विकासका लागि एकाग्रता र अन्य विविध अभ्यासलाई अपनाउने कुरामा सबैको मतैक्य थियो। 

स्वाभाविकै थियो, बुद्धसमक्ष आत्मविकास सम्बन्धी धेरै विषयबारे अलग अलग व्याख्याहरू उपलब्ध थिए। तर आध्यात्मिक लक्ष्यहरूको बोधका हिसाबले उहाँको दृष्टिकोण बिल्कुल भिन्न थियो। यी लक्ष्यहरूसँग सम्बन्धित प्रमुख सिद्धान्तलाई विभिन्न क्रमिक स्तरमा राखेर प्रस्तुत गरिएको छ। हाम्रो प्रेरणाको आधार यही हो। 

यो साहित्यलाई लाम–रिम नाम दिइएको छ। “लाम” को अर्थ हुन्छ “मार्ग” र “रिम” को अर्थ हुन्छ, उक्त मार्गको क्रमिक चरण। मार्ग भनेको हामीले विकास गर्नुपर्ने चित्तका विविध अवस्थाहरू हुन्, जसलाई आफ्नो लक्ष्यसम्म पुग्नका लागि चरणबद्ध तवरले विकास गरिन्छ। यसलाई यात्राको उदाहरणले बुझ्न सकिन्छ ः मानिलिऊँ हामी रोमानियाबाट स्थलमार्ग हुँदै भारत जान लाग्दैछौं भने भारत त हाम्रो अन्तिम लक्ष्य भयो, तर त्यहाँसम्म पुग्न टर्की, इरान आदि देश हुँदै जानुपर्छ।

आध्यात्मिक प्रेरणा ः जीवनलाई अर्थ दिने प्रयास 

लाम–रिममा प्रस्तुत क्रमिक चरण वास्तवमा हाम्रो प्रेरणाको चरण हो। बौद्ध पद्धतिअनुसार यसका दुई अंग छन्। प्रेरणा हामीले लिने लक्ष्य वा उद्देश्यसँग सम्बन्धित हुन्छ, साथै यसमा हाम्रो मानसिक आवेग जोडिएको हुन्छ जसले उक्त लक्ष्यतर्फ बढाउँछ। यसलाई अझ सटीक रूपमा भन्ने हो भने, कुनै लक्ष्यमा पुग्नका लागि हामीसँग कारण हुनुपर्छ, र त्यहाँसम्म पुर्याउने मनोवेग हुनुपर्छ।

हाम्रो दैनिक व्यावहारिक जीवनको हकमा पनि यही कुरा लागू हुन्छ। जीवनको विभिन्न चरणमा हाम्रा निश्चित उद्देश्यहरू हुन्छन्। उदाहरणका लागि, हामी शिक्षा हासिल गर्न चाहन्छौं, आफ्नो जीवनसाथी भेट्टाउन चाहन्छौं, वा राम्रो रोजगारी पाउन चाहन्छौं। यो सबमा सकारात्मक वा नकारात्मक आवेगहरू जोडिएका हुन्छन्, जुन मान्छेपिच्छे फरक पर्छ। तर दैनिक जीवनका यी क्रियाकलापमा पनि प्रेरणाका क्रमिक चरणहरूले काम गरिरहेका हुन्छन्। 

आध्यात्मिक प्रेरणाको हकमा पनि त्यही नै हो। हाम्रा चित्तावस्थाहरू दैनिक जीवनसँग पूर्णतया सम्बन्धित हुन्छन्। हामी आफ्नो जीवनमा के गर्दैछौं? पक्कै पनि हाम्रो एक “सांसारिक स्तर” को जीवन छ, जहाँ परिवार, काम, वा त्यस्तै अनेकथोक छन्। अनि आध्यात्मिक स्तरमा चाहिँ हामी के गर्दैछौं? यसले पनि हाम्रो जीवनलाई प्रभावित पार्छ। जीवनका यी दुई पक्षहरू एक आपसमा विरोधी हुनु हुँदैन, एकले अर्कोलाई काट्ने हुनु हुँदैन। बरु ती दुवै एक आपसमा मेल खाने हिसाबको हुनुपर्छ। 

ती एक आपसमा मेल खाएर मात्र पुग्दैन, तिनले एक आपसलाई टेवा पनि दिनुपर्छ। हाम्रो आध्यात्मिक जीवनले सांसारिक जीवनलाई सबल बनाउनुपर्छ भने सांसारिक जीवनले आध्यात्मिक अभ्यासका लागि आवश्यक पर्ने स्रोतसाधन जुटाउन सहयोग गर्नुपर्छ। लाम–रिमका यी क्रमिक चरणहरूमा हामीले सिक्ने हरेक कुरा व्यावहारिक जीवनमा उत्रनुपर्छ।

असल व्यक्ति बन्नु

त्यसो भए यहाँ प्रस्तुत बौद्ध अभ्यासमार्फत हामी के गर्न खोज्दैछौं त? खासमा बौद्ध अभ्यासलाई सामान्यतया थोरै शब्दहरूमा बताउन सकिन्छ। सामान्य भाषामा भन्ने हो भने यहाँ हामी असल व्यक्ति बन्नका लागि आफ्नै सुधारको काम गर्दैछौं। यो “असल व्यक्ति” भन्ने शब्द फैसलात्मक सुनिएला, तर यहाँ त्यस्तो कुनै फैसलाको कुरा भैरहेको छैन। खास अर्थ त्यो होइन। खास अर्थ के हो भने हामी आफ्ना रिस, लोभ, स्वार्थीपना जस्ता विनाशकारी व्यवहार र विनाशकारी आवेग, जो हामी सबैले आफूमा बेलाबखत अनुभव गर्छौं, बाट छुटकारा पाउन खोजिरहेका छौं। 

तर यस प्रकारको लक्ष्य पनि केवल बुद्धधर्मले मात्रै लिएको छैन। अन्य धर्म वा दार्शनिक प्रणालीमा पनि यही कुरा छ। यस्तो लक्ष्य हामी क्रिश्चियन, इस्लाम, यहुदी, हिन्दू सबै धर्म तथा मानवतावाद जस्तो दर्शनमा पनि पाउँछौं। यो सर्वत्र छ। यी विभिन्न प्रणालीमा भएजस्तै असल व्यक्ति बन्ने लक्ष्य प्राप्तिमा सहयोगका लागि बौद्ध प्रणालीले क्रमिक चरणको अभ्यास प्रस्तुत गरेको छ।

“असल व्यक्ति” बन्नका लागि प्रथमतः हामीले विनाशात्मक व्यवहार बन्द गर्नुपर्छ। अरुलाई हानि गर्न बन्द गर्नुपर्छ। यसका लागि आत्म–नियन्त्रण आवश्यक हुन्छ। त्यसपछि अलि गहन स्तरमा पुगेर जेले हामीलाई विनाशकारी काम गराउने हो, त्यसलाई आफ्नो वशमा पार्नुपर्छ। अर्थात्, रिस, लोभ, आसक्ति, ईर्ष्या, घृणा आदिलाई आफ्नो वशमा पार्नुपर्छ। त्यसका लागि यी नकारात्मक आवेगहरू कसरी उत्पन्न हुन्छन्, तिनले कसरी काम गर्छन्, जान्नु जरुरी हुन्छ। त्यसैले हामी यी नकारात्मक आवेगहरूलाई कम गर्न वा निर्मूल गर्न आवश्यक निश्चित प्रकारका बोधहरूको विकास गर्छौं।

त्यसपछि अझ गहिरो स्तरमा हामी यी विनाशकारी आवेगको जडमा के छ भन्ने खोतल्न थाल्छौं। स्वार्थीपना र आफ्नो बारेमा मात्र सोच्ने आत्मकेन्द्रित बानीप्रति सजग हुन्छौं। हामी सामान्यतया “सधैं मैले भनेको जस्तो नै हुनुपर्छ” भन्ने सोच्छौं। आफूले सोचेको जस्तो भएन भने रिसाउँछौं। हामीलाई आफूले सोचेको जस्तो नै सबैथोक चाहिन्छ। तर त्यसै हुनुपर्छ भन्ने केही छ? पक्कै पनि छैन, हामीले सोचेजस्तो मात्र हुनुपर्ने कुनै आधार नै छैन। तर हामीलाई त्यसै होस् भन्ने चाहना हुन्छ। सबैलाई आफूले सोचेको कुरा नै ठीक हो, त्यही हुनुपर्छ भन्ने लाग्छ। तर सबैको सोचाई एकैसाथ पूरा हुन सक्दैन। 

हामी विस्तारै, क्रमैसँग त्यो विन्दुमा पुग्छौं जहाँबाट यो समस्याको जडदेखि मुक्ति पाउन सकिन्छ। “म” र मेरो “आफ्नो” भन्ने भावका कारण स्वार्थीपना आउँछ। अझ भन्ने हो भने “म एकदमै विशिष्ट छु” भन्ने हाम्रो सोच हुन्छ, र यही सोचका आधारमा आफ्नो बारेमा धारणा बनाउँछौं। हामीलाई लाग्छ म नै यो ब्रह्माण्डको केन्द्र हुँ। म नै सबैभन्दा महत्त्वपूर्ण व्यक्ति हुँ। म अरु कोहीमाथि पनि निर्भर छुईंन। आफ्नो यस्तो विकृत सोचमाथि हामीले होस पुर्याउनुपर्छ किनकि यस्तो सोचमा पक्कै पनि निकै ठूलो गडबडी छ। हामीले चर्चा गर्न लागेको मार्गक्रमले ठ्याक्कै यही कुरालाई सम्बोधन गर्छ। 

प्रेरणाको बढ्दो क्रम ः धर्म–लाइट

बुद्धले सिकाउनुभएका विधिहरू लक्ष्य प्राप्तिमा निकै उपयोगी छन्। मूलतः यहाँ विनाशकारी व्यवहार र रिस, स्वार्थीपना जस्ता नकारात्मक आवेगबाट किन बच्नुपर्छ भन्ने कुराको कारण बताइन्छ। त्यो के भने, जब यस्ता विनाशकारी व्यवहार र नकारात्मक आवेगको अधीनमा भै व्यवहार गरिन्छ, तब हामी स्वयं र अरु सबैका लागि नरमाइलो वातावरण बन्छ तथा समस्याहरू उत्पन्न हुन्छन्। पक्कै पनि हामीलाई समस्या चाहिएको छैन। 

यस्तो समस्या उत्पन्न गर्ने क्रियालाई पनि हामी चरणबद्ध रूपमा हेर्न सक्छौं। कुनै एक ढंगले काम गर्यौं भने त्यसबाट तत्काल नै समस्या र कठिनाइ उत्पन्न हुन्छन्। जस्तै, कसैसँग गएर ठूलो झगडा गर्यौँ र उसलाई घाइते बनायौं भने हामी आफैंलाई पनि चोट लाग्न सक्छ। वा हामी जेल पर्न सक्छौं। त्योभन्दा गहन स्तरमा हामी यस्ता विनाशात्मक व्यवहारको दीर्घकालीन असरबारे विचार गर्न सक्छौं, किनकि हामी तत्कालका लागि मात्र नभएर भविष्यमा पनि समस्या चाहँदैनौं। त्यस्तै आफ्नो परिवार, प्रियजन, मित्रहरू, र समाजका लागि पनि समस्या तथा कठिनाइ उत्पन्न गर्न चाहँदैनौं। यो सबै हाम्रो जीवनकालभित्रै हुने कुरा हो। थप गहन स्तरमा जाने हो भने हामी अझ व्यापक खालका समस्याहरूबाट मुक्ति चाहन्छौं। हामी भविष्यका पुस्तालाई पनि हानिबाट बचाउने प्रयत्न गर्छौं, जस्तै विश्वव्यापी तापमान बृद्धिलाई रोक्ने पहल।

यी सबै प्रेरणाको अभ्यासमा हामी पछिल्लो चरणमा पुग्दा अघिल्लोलाई बिर्सदैनौं। ती चरणहरू त शुरुदेखि नै एकपछि अर्को हुँदै र एकले अर्कालाई सघाउँदै आउने हुन्। मार्गक्रमको सामान्य सिद्धान्त यही हो। तर माथि गरिएको चर्चा मैले भन्ने गरेको “धर्म–लाइट” अन्तर्गत मात्र हो। यसमा बुद्धधर्मको शिक्षालाई यही जन्मको सन्दर्भमा मात्र प्रस्तुत गरिन्छ, पुनर्जन्मको कुरा गरिँदैन। “धर्म–लाइट” र “रियल थिंग धर्म” चाहिँ मैले जन्माएका शब्दहरू हुन्। चिनी कम भएको कोका–कोला लाइट र चिनीमिश्रित असली कोका–कोलाजस्तै।

पुनर्जन्मलाई शंकाको सुविधा र वर्तमान जीवन मात्र सुधार्ने प्रयास

यहाँ प्रयोग गरिएको “धर्म” संस्कृत शब्द हो, जसले बुद्धको शिक्षा जनाउँछ। “लाइट” शब्दमा केही खराबी छैन, मात्र के हो भने यो असली र पक्का चीजभन्दा अलि कम हो। तिब्बती परम्परामा भएको लाम–रिमको असली प्रस्तुति चाहिँ “रियल थिंग” हो। तर हामीमध्ये कतिपयलाई प्रारम्भमा यो अलि बढी नै हुन सक्छ। त्यसको मुख्य कारण के हो भने यसले हामी पुनर्जन्ममा विश्वास गर्छौं भन्ने मानेको हुन्छ। सम्पूर्ण शिक्षा नै पुनर्जन्म हुन्छ भन्ने मान्यताको आधारमा, त्यसैको सेरोफेरोमा प्रस्तुत गरिएको हुन्छ। हामीले अभ्यास शुरु गर्दादेखि नै भविष्यको जन्मलाई सुधार्ने र त्यसमा आउने समस्याहरूबाट मुक्ति पाउने उद्देश्य रहेको हुन्छ। 

तर यदि भविष्यमा फेरी जन्म हुन्छ भन्ने कुरा नै हामी पत्याउँदैनौं भने त्यसलाई सुधार्ने प्रेरणाका साथ काम गर्न सकिँदैन। त्यसमा इमान्दार हुन सम्भव नै छैन। त्यसैले पूर्व र पश्चात् जन्ममा हामी विश्वस्त छैनौं, त्यसमा शंका छ, वा त्यसलाई हामी बुझ्न सक्दैनौं भने धर्म–लाइटबाट शुरु गर्नु उचित हुन्छ। आफ्नो आध्यात्मिक अभ्यासमा हामी कुन उद्देश्यका लागि प्रयासरत छौं भन्ने कुरामा इमान्दार हुनैपर्छ।  

हामीमध्ये धेरैलाई आफ्नो वर्तमान जीवन सुधार्नु नै अभिष्ट लक्ष्य हुन सक्छ। यो लक्ष्य एकदमै ठीक हो। यो नै प्रारम्भिक र आवश्यक कदम हो। तर यो स्तरमा अभ्यास गर्दा हामीले जान्नु आवश्यक छ कि यो धर्म–लाइट मात्र हो, असली परम्परागत धर्म होइन। यदि त्यति हामीले जानेनौं भने बुद्धधर्मलाई पनि आत्म–सहायता (सेल्फ हेल्प) वा कुनै थेरापीको रूपमा सीमित गरिदिने सम्भावना हुन्छ। बुद्धधर्मलाई त्यत्ति मात्र ठान्नु चाहिँ यो धर्मप्रति अन्याय हुनेछ।  

त्यस्तै हामीले याद राख्नुपर्छ, रियल थिंगको स्तरमा धर्म के हो बुझ्दै बुझेनौं भने यसलाई सत्य भनी विश्वास गर्ने कुरै आउँदैन। त्यसैले हामीले मन खुला राख्नुपर्छ, र यसरी सोच्नुपर्छ, “भविष्यको जन्म र मुक्तिका बारेमा जे कुरा बताइएको छ, त्यो सत्य हो वा होइन मलाई थाहा छैन। अहिले चाहिँ म धर्म–लाइटको स्तरमा मात्र अभ्यास गर्नेछु। यसमा अलि बढी ज्ञान भएपछि र ध्यानको केही अभ्यास गरेपछि रियल थिंग धर्मका बारेमा पनि म केही बुझ्न सकुँला।” यसरी अभ्यास गर्नु चाहिँ एकदमै युक्तिसंगत र उचित तरीका हो। यसो गर्दा बुद्धप्रति हाम्रो सम्मान कायम रहनेछ, र उहाँले यो शिक्षा दिँदा कुनै वाहियात कुरा बताइरहनुभएको थिएन भन्ने कुराप्रति पनि विश्वास रहन्छ। 

त्यस्तै पुनर्जन्म र मुक्तिका बारेमा हाम्रो पहिल्यैदेखि केही धारणाहरू हुन सक्छन्। ती पूर्वाग्रही धारणा र मान्यताहरू विल्कुलै गलत पनि हुन सक्छन्, र बुद्धधर्मको शिक्षामा ती मान्य नहुन सक्छन्। त्यसैले हामीलाई जे लाग्छ, वा हामी जे कुरालाई बिल्कुलै वाहियात हो भन्ठान्छौं, बुद्धले पनि ती कुरालाई बिल्कुलै वाहियात हो र गलत धारणा हो भन्न सक्नुहुन्छ। उदाहरणका लागि हामी त त्यस्तो आत्मा हौं जसको पंखा हुन्छ, जो यो शरीरबाट उडेर अर्को शरीरमा जान्छ भन्ने कुरा हामीलाई वाहियात लाग्न सक्छ। बुद्धले पनि ती कुरालाई वाहियात भन्नुहुन्छ। त्यस्तै बुद्धले हामी आफैं सर्वशक्तिमान परमेश्वर बन्न सक्छौं भन्ने कुरा पनि स्वीकार गर्नुहुन्न। 

अनादिकालदेखिको पुनर्जन्ममाथि चिन्तन गर्नुका फाइदा

मार्गक्रममा प्रस्तुत अधिकांश विधिहरूलाई धर्म–लाइट वा रियल थिंग धर्मको तरीकाले व्यवहारमा उतार्न सकिन्छ। तर कतिपय विधिहरूलाई व्यवहारमा उतार्न पुनर्जन्मको बुझाईसँग जोड्नै पर्ने हुन्छ। उदाहरणका लागि हामी सबै जीवप्रति समान हिसाबले मैत्रीको भाव विकसित गर्न चाहन्छौं भने त्यसका लागि एक उपाय हो – सबै जीवको जन्म अनगिन्ती पटक भैसकेको छ, तर जीवहरूको संख्या निश्चित मात्र छ भन्ने जान्नु। यो कोणबाट हेर्ने हो भने, हरेक जीव कुनै न कुनै समयमा हाम्रो आमा रहिसकेको हुन्छ। हाम्रो मात्र होइन, अरु प्रत्येक प्राणीको पनि। त्यस्तै हामी आफैं पनि कुनै न कुनै समयमा सबै जीवको आमा रहिसकेका हुन्छौं। यसको गणितीय प्रमाण पनि पेश गर्न सकिन्छ, किनकि जीवहरूको संख्या निश्चित छ, तर उनीहरूको शुरुवात कहिलेदेखि भयो, थाहा छैन। अर्थात्, उनीहरू अनादिदेखि अस्तित्वमा छन्, तर उनीहरूको संख्या गन्न सकिन्छ। यसका विपरीत जीवहरू अनादिकालदेखि अनन्त संख्यामा भएका भए यो तर्क दिन सकिने थिएन। 

अवश्य पनि, यो विषयलाई आत्मसात गर्न त्यति सहज भने हुँदैन, खास गरी असंख्य पुनर्जन्मका बारेमा सोच्न हामी अभ्यस्त छैनौं भने। तर असंख्य पुनर्जन्मका कोणबाट सोच्ने हो भने हामी प्रत्येक जीवले हामीप्रति कुनै बेला देखाएको मातृत्वपूर्ण प्रेमको स्मरण गर्न सक्छौं। त्यसको कदर गर्दै बदलामा त्यसैगरी प्रेमपूर्ण र दयालु व्यवहार दर्शाउने चाहना राख्छौं। यो स्मरणको आधारमा अभ्यासको एक सिंगो आयाम खुल्छ। यसरी स्मरण गर्दा हरेक व्यक्ति कुनै जन्ममा हाम्रो आमा भएको कुरा पक्का हुन्छ, केवल कुन जन्ममा वा कहिले भन्ने मात्र थाहा हुँदैन। तर याद राखौं, आफ्नी आमालाई दश मिनेट वा दश दिन वा दश वर्ष, जति अगाडिदेखि नभेटेपनि उनी त हाम्री आमा नै हुन्। त्यस्तै अर्को व्यक्तिलाई दश जन्म अगाडिदेखि नभेटेपनि उनी त आमा नै हुन्। यदि पुनर्जन्मको कुरामा विश्वास गर्ने हो भने यसरी चिन्तन गर्नु एकदमै उपयोगी हुनेछ। तर विश्वास छैन भने यो चिन्तन बिल्कुलै वाहियात हुनेछ। 

यो चिन्तन मानिसका हकमा मात्र होइन, एउटा लामखुट्टेको हकमा पनि लागू हुन्छ। कुनै पूर्वजन्ममा उक्त लामखुट्टे हाम्रो आमा रहिसकेको होला, किनकि चैतसिक गतिविधि हुने कुनै पनि सत्त्वका रूपमा पुनर्जन्म हुन सक्छ। यसलाई बुझ्ने धर्म–लाइट भर्सन पनि छ – कहिलेकाहीँ हामीलाई अरु मानिसले घर लैजान्छन्, हाम्रो ख्याल राख्छन्, र खानेकुरा दिन्छन्। यात्रा गरिरहेका बेला कैयौं पटक हामीलाई बिल्कुलै अन्जान मानिसहरूले सहारा दिन्छन्, हाम्रो हेरविचार गर्छन्। उक्त मानिसले पुरुष वा महिला जे भएपनि आमाजत्तिकै हाम्रो ख्याल राख्न सक्छ। त्यस्तै कुनै बालकले पनि उ वयस्क भएपछि हाम्रो ख्याल राख्न सक्छ। हुनत यो सीमित तहमा कुरा गर्दा कुनै दिन लामखुट्टेले पनि हामीलाई आफ्नो घर लिएर गएको होला, आमाजस्तै हाम्रो ख्याल राखेको होला भनेर सोच्न सकिँदैन। तैपनि यस्तो चिन्तनले हामीलाई सहयोग गर्छ। 

माथिको चर्चाले धर्म–लाइट र रियल थिंग धर्मका तहमा कसरी यी विधिहरूको उपयोग गर्न सकिन्छ भन्ने देखाउँछ। दुवै तरीका आफ्नो ठाउँमा ठीकै छन्, तर धर्म–लाइट भर्सनको दायरा सानो हुन्छ। त्यसका विपरीत रियल थिंग धर्मको दायरा व्यापक छ, र यसले सम्भाव्यताको बृहत् ढोका खोल्छ। तर जुनसकै तहमा अभ्यास गरे पनि हामीले यसलाई दैनिक जीवनमा उतार्नुपर्छ। जस्तै, ट्राफिकमा फँसेका बेला वा कुनै लामो लाइनमा उभिएका बेला कुनै व्यक्तिप्रति हामीलाई रिस उठ्छ, हामी असहिष्णु बन्छौं। त्यतिबेला उक्त व्यक्तिलाई आफ्नो आमाको रूपमा हेर्न सक्छौं। पूर्वजन्ममा होस्, वा यही जन्ममा, आमाको रूपमा कल्पना गर्नासाथ हाम्रो रिस शान्त हुन्छ, हामी सहनशील बन्छौं। हाम्री आफ्नै आमा लाइनमा अगाडि हुनुहुन्छ र उहाँको काम पहिला भयो भने हामीलाई रिस उठ्दैन। त्यो कुरा त पक्का छ। बरु उहाँको काम पहिला सकियो भने हामीलाई धेरै खुशी लाग्छ। एवं प्रकारले हामी यो शिक्षालाई व्यवहारमा उतार्न सक्छौं। चकटीमा ध्यानको आसन लगाएर बस्दा मात्र होइन, दैनिक सांसारिक क्रियाकलाप गरिरहँदा पनि यस्तो चित्तावस्था निर्माणको प्रयत्न हामी गरिरहन्छौं। 

आत्मसुधारको अभ्यासका रूपमा ध्यान

धर्मको अभ्यासलाई आफ्नो सुधारको अभ्यास भन्ने गरिन्छ, त्यसको अर्थ हामीले माथि भनेजस्तै सुधार हो। आफ्नो कोठाको शान्त र व्यवस्थित वातावरणमा बसेर ध्यान गर्दा हामी यहाँ चर्चा गरेजस्तो बोधको विकास र सकारात्मक चित्तावस्थाको निर्माणका लागि प्रयत्नशील हुन्छौं। कल्पनाशक्तिको उपयोग गर्दै अन्य मानिसका बारेमा सोच्छौं र उनीहरूप्रति सकारात्मक भावको विकास गर्छौं। ध्यानमा सहयोगका लागि मानिसहरूको तस्वीरलाई पनि हेर्न सक्छौं, यद्यपि यो ध्यानको पारम्परिक तरीका चाहिँ होइन। पच्चीस सय वर्ष अगाडि मानिसको तस्वीर खिच्ने चलन थिएन। तर वर्तमान युगको प्रविधिलाई उपयोग गर्दै अभ्यास गर्नुमा कुनै हानि हुन्छ भन्ने मलाई लाग्दैन। 

कुनै निश्चित खालको सकारात्मक चित्तावस्थासँग राम्रोसँग अभ्यस्त भैसकेपछि हामी त्यसलाई दैनिक जीवनमा उतार्ने प्रयास गर्छौं। अभ्यासको उद्देश्य नै त्यही हो। ध्यानको आसनमा बसुञ्जेल मैत्रीपूर्ण भावले सोच्ने तर आसनबाट उठ्ने वित्तिकै आफ्ना परिवारका सदस्य वा सहकर्मीहरूप्रति रिसाउने गर्न थाल्छौं भने त्यो हाम्रो अभिष्ट अवस्था होइन। ध्यानको अभ्यासलाई सांसारिक जीवनबाट भाग्ने उपक्रमका रूपमा लिनु हुँदैन। हामी केही मिनेट आफूलाई शान्ति प्रदान गर्नका लागि मात्र ध्यानको अभ्यास गर्दैनौं। कुनै सपनाको दुनियामा हराएर अनेकथोक कल्पना गरिबस्नु पनि ध्यानको उद्देश्य होइन। त्यसको बिल्कुल विपरीत, ध्यानको अभ्यासमा हामी दैनिक जीवनका समस्याहरूको सामना गर्नसक्ने हुनका लागि आफूलाई प्रशिक्षित गर्छौं।    

ध्यानको अभ्यास निकै लगनशीलताको काम हो। हामी आफूलाई उल्लु बनाउने काम नगरौं, कसैको विज्ञापनमा भर परेर ध्यानको अभ्यास त एकदमै छोटो र सजिलो कुरा हो भन्ठान्ने मूर्ख्याईं नगरौं। स्वार्थीपना र अन्य विनाशकारी आवेगहरूबाट मुक्ति पाउनु सहज छैन, किनकि तिनीहरू हामीभित्र असाध्यै गहिरो संस्कारका रूपमा जरो गाडेर बसेका छन्। यसको एकमात्र उपाय भनेको जगतप्रतिको हाम्रो दृष्टिकोण परिवर्तन गर्नु हो, र यस्ता विनाशकारी चित्तावस्थाको कारणका रूपमा रहेको हाम्रो आफ्नै भ्रमहरूबाट मुक्ति पाउनु हो। 

सारांश

बुद्धधर्मको अभ्यासलाई धर्म–लाइट र रियल थिंग धर्म गरी दुई स्तरमा विभाजन गर्न सकिन्छ। धर्म–लाइटको स्तरमा हामी आफ्नो जीवनको गुणस्तर सुधार गर्न चाहन्छौं। यहाँ हामी जीवनमा आइपर्ने विविध समस्याहरूको सामना गर्न आवश्यक मानसिक गुणहरूको विकास गर्छौं। धर्म–लाइटको स्तरमा अभ्यास गर्दा पनि केही समस्या भएन, तर यो कोका–कोला लाइट जस्तै हो। यसमा असली कोका–कोला जत्ति स्वादको पूर्णता हुन सक्दैन।

लाम–रिमको परम्परागत शिक्षामा हामीले चर्चा गरेजस्तो धर्म–लाइटको कुनै सन्दर्भ छैन। परम्परागत शिक्षा त पूर्व र पश्चात जन्मको विश्वासमै आधारित छ। तैपनि आफ्नो वर्तमान जीवनलाई सुधार्ने र असल मानिस बन्ने उद्देश्य राखेर काम शुरु गर्नु रियल थिंग धर्मतर्फको यात्राका लागि आवश्यक पहिलो कदम हुनेछ। 

Top