बोधिचित्त भनेको त्यस्तो चित्त हो जुन अरूको हितका लागि पूर्णतः समर्पित हुन्छ र अरूको अधिकतम हितका लागि बोधि प्राप्तिको लक्ष्यमा अग्रसर हुन्छ। यसको विकास गर्ने दुई परम्परा वा तरिका छन् : सात चरणको हेतु–फलविषयक अभ्यासको तरिका र आफूलाई अरूसँग समान जानेर अरू र आफूप्रतिको दृष्टिकोणमा अदलाबदली गर्ने तरिका। दुवैमा पूर्वतयारीका रूपमा समभावको विकास गरिन्छ जसको विधि दुवैमा अलग र विशिष्ट प्रकारको छ। नाम एकै भए पनि यसरी विकास गरिने समभावको प्रकार फरक हुन्छ।
- सात चरणको हेतु–फलविषयक ध्यानको अभ्यासमा सबै जीवलाई कुनै बेला आफ्नो आमा रहिसकेको भावना गर्नुअघि जुन समभावको विकास गरिन्छ, त्यसमा कुनै साथी या शत्रु या अपरिचितको कल्पना गरिन्छ। यो समभावमा हामी राग वा द्वेषको भाव लिन छाड्छौं। यसलाई बुझाउन “केवल एक समभाव जसमा हामी साथी, शत्रु, वा अपरिचितप्रति राग र द्वेषको भाव लिन छाड्छौं,” भन्ने पदावली गरिन्छ। यहाँ प्रयोग गरिएको केवल शब्दले अर्को तरिका पनि छ जसमा अरूथोक पनि सामेल हुन्छ भन्नेतर्फ इंगित गर्छ।
यो प्रकारको समभावलाई बुझाउन “श्रावक र प्रत्येकबुद्धहरूले विकास गर्नेजस्तो केवल समभाव” भन्ने पदावली पनि प्रयोग गरिन्छ। श्रावक र प्रत्येकबुद्धहरू बुद्धधर्मको हीनयान अन्तर्गतका अभ्यासी हुन्। यहाँ केवल शब्दले त्यस्तो समभाव बताउन खोजेको हो जसमा हाम्रो हृदय बोधिचित्तमा समर्पित हुँदैन वा त्यस्तो अभ्यासमा सम्बद्ध हुँदैन। - आफूलाई अरूसँग समान जानेर अरू र आफूप्रतिको दृष्टिकोणमा अदलाबदली गर्ने प्रारम्भिक चरणमा जुन समभावको विकास हामी गर्छौं, त्यो माथि बताएजस्तो केवल समभाव होइन। यो त त्यस्तो समभाव हो जसमा हामी सीमित क्षमतायुक्त सम्पूर्ण जीवको हित र सहयोग गर्ने तथा उनीहरूको दुःख समाप्त गर्ने हाम्रो विचार र कर्ममा निकटता या दूरीको भावले भेदभाव गर्दैनौं। समभावको विकासका लागि यो महायानको विशिष्ट र असामान्य तरिका हो।
केवल समभाव
हेतु–फलविषयक सात चरणको विधिमा सबैलाई आफ्नो आमा रहिसकेको जान्ने अभ्यासपूर्व आउने समभावको विकास कसरी गर्ने? यसमा निम्न उपाय अवलम्बन गरिन्छः
तीन व्यक्तिको मानसिक चित्रण
प्रथमतः हामी तीन खालका व्यक्तिलाई मनमा चित्रित गर्छौं – पहिलो, हामीले घृणा गर्ने अत्यन्तै खराब र मन नपरेको व्यक्ति; दोस्रो, एकदमै मन पर्ने प्यारो व्यक्ति वा साथी; र तेस्रो, एक अपरिचित वा त्यस्तो व्यक्ति जसप्रति हाम्रो कुनै खास धारणा छैन। यी तिनै खालका व्यक्तिलाई हामी एकसाथ मानसिक रूपमा चित्रित गर्छौं।
ती तीनै व्यक्तिमाथि क्रमैसँग ध्यान केन्द्रित गर्दा हाम्रो मनमा सामान्यतया कस्तो भाव उत्पन्न होला? मन नपरेको व्यक्तिमा ध्यान केन्द्रित गर्दा अप्रियता, असहजता र घृणाको भाव उत्पन्न हुन्छ। मन परेको प्यारो साथीप्रति आकर्षण र आसक्तिको भाव उत्पन्न हुन्छ। र अपरिचित व्यक्तिप्रति उदासीनता र सहयोग वा हानि केही गर्न नचाहने भाव उत्पन्न हुन्छ किनकि उप्रति हामीमा न आकर्षण हुन्छ, न विकर्षण।
मन नपर्ने व्यक्तिप्रतिको घृणाबाट मुक्ति
हाम्रो छलफललाई सजिलो बनाउन ती तीनै व्यक्ति महिला भएको कल्पना गरौं। पहिलो, त्यो व्यक्तिमाथि ध्यान गर्छौं जो हामीलाई मन पर्दैन, जसलाई हामी आफ्नो शत्रु समेत ठान्न सक्छौं।
- उक्त महिला अप्रिय र घृणायोग्य भएको भावलाई उत्पन्न हुन दिन्छौं। जब यो भाव स्पष्ट हुन्छ, तब
- हामी के पाउँछौं भने थप अर्को भाव उत्पन्न भैरहेको हुन्छ – उनलाई केही नराम्रो भैदिए वा उसले नचाहेको केही घटित भैदिए गजब हुने थियो।
- अनि हामी यस्तो नराम्रो भाव र चाहना उत्पन्न हुनुका कारणहरूको विश्लेषण गर्छौं। संभवतः उनले हामीलाई कुनै चोट पुर्याएकी थिइन्, वा कुनै हानि गरेकी थिइन्, अथवा हामी वा हाम्रा साथीलाई केही नराम्रो कुरा भनेकी थिइन्। त्यसैले उनको केही बिगार होस्, वा उनले चाहेको कुरा नपाउन् भनी कामना गर्छौं।
- त्यसपछि हामी असाध्यै मन नपर्ने उक्त महिलाको बिगार होस् भन्ने आफ्नो कामनाको विश्लेषण गर्छौं। के उसले गरेको व्यवहार त्यो कामनाका लागि उपयुक्त कारण हो? र हामी निम्न प्रकारले चिन्तन गर्छौं –
- यो तथाकथित शत्रु पूर्वजन्महरूमा कैयौं पटक मेरो आमा, बुबा, साथी र नातेदार रहिसकेकी छिन्। उनले मलाई धेरै सहयोग गरिसकेकी छिन् र त्यो पनि असंख्य पटक।
- यही जीवनमा पनि भोलि के हुन्छ थाहा छैन। उ मेरा लागि ठूलो सहयोगी बन्न सक्छिन्, वा भविष्यमा मेरो असल मित्र हुन सक्छिन्। यस्तो सम्भावना पनि धेरै छ।
- जे भए पनि के कुरा निश्चित छ भने भविष्यमा उनको र मेरो असंख्य जन्म हुनेछ, र उनी कुनै समय मेरो आमा वा बुबा हुने कुरा लगभग निश्चित नै छ। त्यो बेला उनले मलाई ज्यादै ठूलो गुन लगाउने छिन्, उनी मेरो सम्पूर्ण आशाको केन्द्र हुने छिन्। त्यसैले विगत, वर्तमान र भविष्यमा उनले मलाई अनगिन्ती तरिकाले मद्दत गरिसकेकी छिन्, गर्दै छिन् र गर्ने छिन्। त्यसैले अन्ततः उनी मेरो असल हितैषी नै हुन्। यो कुरा त निश्चित रूपले नै हो। यो सबैका बावजुद यदि यो जीवनमा उनले कुनै सानो कुरामा मेरो चित्त दुखाएकी रहिछन् भने त्यसैको आधारमा उनलाई शत्रु ठान्नु र उनको नराम्रो चिताउनुले केही कल्याण हुने छैन।
- केही उदाहरण लिऊँ। मानिलिउँ एक बैंक अधिकारी वा सम्पन्न व्यक्ति छ जसले हामीलाई धेरै आर्थिक सहयोग गर्न सक्छ र त्यसो गर्ने आशय पनि राख्छ। विगतमा उसले केही रकम दिएको पनि थियो। तर एकदिन उसले आफ्नो सन्तुलन गुमायो र रिसाउँदै मलाई एक थप्पड लगायो। अब म पनि रिसाएँ र रिस पोखेँ भने उसमा मलाई थप रकम दिने आशय बाँकी नरहन सक्छ। उसले आफ्नो सोच बदलेर अरू कसैलाई सो रकम दिनसक्ने खतरा हुन्छ। तर त्यसको साटो मैले उसको थप्पड सहेँ, आफ्नो नजर झुकाएर र मुख थुनेर बसेँ भने उ मसँग पछि प्रसन्न हुन सक्छ किनकि त्योबेला म उसँग रुष्ट भइँन। र, उसले मलाई शुरुमा सोचेभन्दा बढी रकम दिने सम्भावना पनि रहन्छ। तर यदि मैले पनि उत्तिकै रिसाएर ठूलो हंगामा गरेको भए कुरा बिग्रने थियो। त्यो त तिब्बतमा प्रचलित एक भनाईजस्तै हुने थियो – “तिम्रो मुखमा खानेकुरा छ, तर तिम्रै जिब्रोले त्यसलाई धकेलेर बाहिर निकाल्छ।”
- त्यसैले मैले आफूलाई मन नपर्ने यो मानिसका बारेमा दूरव्यापी दृष्टिकोण राख्नुपर्छ। सीमित क्षमतायुक्त सबै जीवका हकमा यही कुरा लागु हुन्छ। दीर्घकालमा उनले मलाई सहयोग गर्ने कुरा त १०० प्रतिशत निश्चित छ। त्यसैले उसले पुर्याएको कुनै मामुली र तुच्छ हानिका लागि रिसाएर बस्नु मेरा लागि सर्वथा अनुचित हो।
- त्यसपछि कुनै गँगटो, जंगली जनावर, वा भूतप्रेतले सानोभन्दा सानो उक्साहट वा उत्तेजनामा कसरी तत्काल झम्टिन आइहाल्छन् भनेर सम्झौं। त्यस्तो खालको कुनै जीवसरह आफूले पनि फर्केर अरूमाथि झम्टिनु कति अनुचित होला, स्मरण गरौं। यसप्रकारले हामी आफ्नो रिसलाई मत्थर पार्छौं। यो व्यक्तिले मलाई जतिसुकै हानि पुर्याएको भएपनि मैले आफ्नो सन्तुलन गुमाउनु हुँदैन र रिसाउनु हुँदैन, नत्र त म त्यो जंगली जनावर वा गँगटो भन्दा केही गतिलो हुने भइँन।
- निष्कर्षमा, यो सबै कुरालाई एक तार्किक क्रममा राखेर सोचौं। कसैले मलाई केही हानि गर्यो भन्दैमा म उसँग रिसाइहाल्दिन, किनभनेः
- अघिल्ला जन्महरूमा उ मेरो आमा वा बुबा रहिसकेको छ।
- अहिलेको जन्ममा पनि उ कुनैबेला मेरो अत्यन्तै नजिकको साथी हुन सक्दैन भनेर निश्चित गर्न सकिँदैन।
- भविष्यमा पनि कुनै न कुनै समयमा उ मेरो आमा वा बुबा बनेर जन्मिनेछ र मलाई ज्यादै ठूलो गुन लगाउनेछ। त्यसैले तीनै कालमा उसको सहयोग मलाई प्राप्त छ।
- यदि प्रतिकार गर्दै म पनि रिसाएँ भने म एक जंगली जनावरभन्दा केही गतिलो हुने छैन। त्यसैले यो जीवनमा उसले गरेको सानो हानिका लागि म उसँग रिसाउने छैन।
मन पर्ने व्यक्तिप्रतिको आसक्तिबाट मुक्ति
- अघि मनमा चित्रित गरेको मन नपर्ने व्यक्ति, प्यारो साथी र अपरिचित व्यक्तिहरूको समूहबाट हामी आफूलाई प्यारो लाग्ने साथीमाथि ध्यान केन्द्रित गर्छौं।
- उक्त व्यक्ति (महिला) प्रति आकर्षण र आसक्तिलाई उत्पन्न हुन दिन्छौं।
- उक्त महिलासँगै रहने आफ्नो चाहनालाई अझ प्रबल रूपमा प्रकट हुन दिन्छौं। त्यसपछि,
- उप्रतिको त्यस्तो अनुराग र आसक्ति पछाडिको कारण के हो, विश्लेषण गर्छौं। सायद उनले मलाई यो जीवनमा कुनै सानो गुन लगाएकी होलिन्, मेरा लागि केही राम्रो व्यवहार गरेकी होलिन्, मलाई राम्रो लाग्ने केही काम गरिदिएकी होलिन्, अथवा त्यस्तै केही होला। त्यसैले म उप्रति आकर्षित र आसक्त भएको अनुभव गर्दैछु।
- अब, के यति नै उप्रति आसक्त हुनका लागि उपयुक्त कारण हो त भनी विश्लेषण गर्छौं। यो पनि उपयुक्त कारण होइन, किनभने,
- कुनै पूर्वजन्ममा उ मेरो शत्रु रहिसकेकी छ, मलाई हानि गरिसकेकी छ, यसमा कुनै शंका छैन। यहाँसम्म कि मेरो मासु नै खाने र मेरो रगत पिउने काम गरिसकेकी छ।
- यही जीवनमा पनि पछि कुनैबेला उ मेरो सबैभन्दा ठूलो शत्रु हुनेछैन भन्ने कुनै निश्चित छैन।
- भविष्यको जन्ममा पनि उसले मलाई हानि गर्ने र कुनै न कुनै बेला मेरो ज्यादै ठूलो बिगार गर्ने त पक्का पक्की निश्चित छ।
- त्यसैले अहिलेको यो जीवनमा कुनै मामुली गुन लगाइदिएकी कारण म उप्रति अनुरक्त र आसक्त भएँ भने म र ती मानिसमा के नै फरक भयो र जो नरभक्षी राक्षसीका मनमोहक गीतमा लट्ठिन्छन्! त्यस्ता नरभक्षी राक्षसी सुन्दर रूप धारण गर्छन्, मानिसलाई आफ्नो जालमा पार्छन्, र पछि सर्लक्कै निल्छन्।
- यसप्रकारले हामी कसैप्रति पनि उसले यो जीवनमा लगाएको सानो गुनका लागि आसक्त हुने छैनौं भनी अठोट गर्छौं।
तटस्थ व्यक्तिप्रतिको उदासीनताबाट मुक्ति
अन्तमा, हामी यी दुवैथरी व्यक्ति बीचको तटस्थ व्यक्ति, त्यस्तो अपरिचित जो न मित्र हो न शत्रु, का सन्दर्भमा पनि यही तरिका अपनाउँछौं।
- यस्तो व्यक्तिलाई मानसिक रूपमा चित्रित गर्छौं र उसमा आफ्नो ध्यान केन्द्रित गर्छौं।
- उक्त व्यक्तिप्रति निर्विकार भावमा रहन्छौं, न हानि गर्ने, न भलो गर्ने। उक्त व्यक्तिबाट छुटकारा पाउने विचार पनि राख्दैनौं।
- उसलाई थप बेवास्ता गर्ने भावनालाई तीव्र हुन दिन्छौं।
- यस्तो भावना राख्नु पछाडिका कारणलाई विश्लेषण गर्छौं। उसले मलाई सहयोग गर्ने वा हानि पुर्याउने कुनै काम गरेकी छैन। त्यसैले उसँग मेरो कुनै सम्बन्ध छैन।
- यसमा थप जाँच गरेर हेरौं, के मलाई उत्पन्न भावका लागि यो मान्य कारण हुन सक्छ? जबकि खासै भन्नुपर्दा उ मेरो अपरिचित त होइन, किनकि असंख्य पूर्वजन्महरूमा, वर्तमान जन्ममा, र भविष्यका जन्महरूमा पनि उ मेरो निकट सम्बन्धी, साथी आदि हुनेछ।
यसप्रकारले हामी शत्रु, मित्र र अपरिचित सबै व्यक्तिहरूप्रति रिस, आसक्ति, तथा उदासीनताको सबै भावलाई निरोध गर्न सक्छौं। श्रावक र प्रत्येकबुद्ध दुवैले विकसित गर्ने केवल समभावको मार्ग यही हो। यसैले बोधिचित्तको विकासका लागि ७–चरणको हेतु–फलविषयक अभ्यासअन्तर्गत सबै जीव आफ्नो आमा रहिसकेको भावना गर्ने क्रममा प्रारम्भिक चरणको काम गर्छ।
आफू र अरूप्रतिको दृष्टिकोणमा समानता र अदलाबदली गर्ने पूर्वतयारीका रूपमा असाधारण महायान समभाव
आफू र अरूप्रतिको दृष्टिकोणमा समानता र अदलाबदली गर्ने पूर्वतयारीका रूपमा महायानको असाधारण समभाव विकसित गर्ने अभ्यासका दुई तह छन्ः
- सापेक्ष दृष्टिकोणमा आधारित भएर अनुभूत गरिने समभाव
- परमार्थ दृष्टिकोणमा आधारित भएर अनुभूत गरिने समभाव
सापेक्ष दृष्टिकोणमा आधारित भएर प्राप्त गरिने समभावलाई थप दुई चरणमा बाँडिन्छ।
- आफ्नै दृष्टिकोणमाथि आधारित भएर अनुभूत गरिने समभाव
- अरूको दृष्टिकोणमाथि आधारित भएर अनुभूत गरिने समभाव
आफ्नै दृष्टिकोणमाथि आधारित भएर अनुभूत गरिने समभाव
यसमा तीन बुँदा पर्छन्ः
- असंख्य जन्महरूको यो सिलसिलामा हरेक सत्व कुनै न कुनै बेला हाम्रो आमाबुबा, नातेदार र साथी रहिसकेका हुन्छन्। त्यसैले कसैलाई नजिक र कसैलाई टाढा ठान्नु, वा कसैलाई साथी र कसैलाई शत्रु मान्नु, वा कसैलाई स्वागत गर्नु र कसैलाई निषेध गर्नु उचित हुँदैन। हामीले यो हिसाबले सोच्नुपर्छ कि मैले मेरी आमालाई नभेटेको दश मिनेट होस् या दश वर्ष या दश जुनी, आखिरमा उनी मेरी आमा नै हुन्।
- फेरि यो पनि सम्भव छ कि जसरी यी सत्त्वहरूले मलाई सहयोग गरेका छन्, त्यसैगरी उनीहरूले मलाई हानि पुर्याएका होउन्। तर उनीहरूले मलाई गरेको सहयोग र लगाएको गुनको तुलनामा मलाई पुर्याएको हानि असाध्यै न्यून मात्र हो। त्यसैले एकलाई नजिकको ठानेर स्वागत गर्नु र अर्कोलाई टाढाको ठानेर निषेध गर्नु अनुचित हुनेछ।
- निश्चय नै हामीले मर्नुपर्छ। तर मर्ने समय बिल्कुलै अनिश्चित छ। उदाहरणका लागि, मानिलिउँ हामीलाई भोलि मृत्युदण्ड दिइँदैछ। आफ्नो जीवनको अन्तिम दिन रिसाउँदै र अरूलाई हानि गर्दै बस्नु त मूर्खता नै हो। एउटा तुच्छ कुरालाई पकडेर बस्ने हो भने हामीले आफ्नो जीवनको अन्तिम दिनमा केही सकारात्मक र अर्थपूर्ण काम गर्ने अवसर गुमाउनेछौं। मानौं, कुनै शक्तिशाली अधिकारी एक दिन कसैसँग रिसाउँछ र भोलिपल्ट उसलाई कठोर सजाय दिने विचार गर्छ। दिनभरी त्यसैको योजना बनाउँदै बस्छ, र भोलिपल्ट बिहानै त्यसको कार्यान्वयन गर्न नपाउँदै अचानक उसको मृत्यु हुन्छ। उसले गरेको रिस त बिल्कुलै खेर गयो। त्यही अवस्था भोलिपल्ट मृत्युदण्ड पाएको मान्छेको हकमा पनि हुन्छ। आज हानि गर्नु बेकार हुनेछ।
अरूको दृष्टिकोणमाथि आधारित भएर अनुभूत गरिने समभाव
यसमा पनि तीन बुँदा पर्छन्ः
- हामीले यस हिसाबले सोच्नुपर्छः मेरो आफ्नो कुरा गर्दा, कुनै पनि हिसाबले मलाई दुःख पाउन मन पर्दैन चाहे त्यो सपनामै किन नहोस्। चाहे जति नै सुख मलाई किन प्राप्त नहोस्, मलाई त्यसमा पूरा सन्तुष्टि हुँदैन। अरू जुनसुकै मानिसका हकमा पनि यही हो। सीमित क्षमतायुक्त सबै सत्व, चाहे त्यो एक सानो किरा होस् या ठूलो जीव, सुखी हुन चाहन्छन्, कहिल्यै दुःखी हुन चाहँदैनन्, र समस्याहरूबाट मुक्त हुन चाहन्छन्। त्यसैले कसैलाई काखा र कसैलाई पाखा गर्नु अनुचित हुनेछ।
- मानौं दश भिखारी मेरो ढोका ढक्ढक्याउन आइपुगे। तीमध्ये कसैलाई खानेकुरा दिनु र कसैलाई नदिनु अनुपयुक्त हुनेछ। सबैलाई भोक लागेको छ र सबै खानेकुरा चाहन्छन्, त्यसैले सबै समान हुन्। त्यस्तै भ्रमबाट मुक्त सुख पनि सबैले चाहन्छन्। तर त्यो कसलाई प्राप्त छ? हुनत भ्रमले युक्त सुख पनि सबै जीवलाई पर्याप्त सन्तुष्टि हुनेगरी प्राप्त छैन। सबै जीवले सुखको कामना गरिरहेका हुन्छन्। त्यसैले कसैलाई काखा र कसैलाई पाखा गर्नु अनुचित हुनेछ।
- अर्को उदाहरण लिउँ। मानौं दशजना बिरामी मानिस छन्। तिनीहरू सबै दुःखी छन् र दयनीय अवस्थामा छन्, त्यस अर्थमा सबै एक समान छन्। तसर्थ, कसैलाई काखा गर्नु र उनीहरूको मात्र उपचार गर्नु, अरूलाई पाखा गर्नु र बेवास्ता गर्नु अनुचित हुनेछ। एवं प्रकारले सबै सत्वहरू उत्तिकै दयनीय छन्, उनीहरूका आफ्नै समस्या छन्, उनीहरू सबैको आम समस्या भनेको अनियन्त्रित रूपमा बारम्बार भैरहने पुनर्जन्म अर्थात् संसारको चक्र हो। त्यसैले कसैलाई टाढाको ठानेर दुत्कार्नु र अरूलाई नजिकको ठानेर सत्कार गर्नु अन्यायपूर्ण र अनुचित हो।
परमार्थ दृष्टिकोणमा आधारित भएर अनुभूत गरिने समभाव
यसमा पनि विचारका तीन बुँदा पर्छन्।
- आफ्नो भ्रमका कारण हामी कसरी सानो सहयोग गर्ने व्यक्तिलाई सच्चा मित्र र सानो हानि गर्नेलाई सच्चा शत्रु ठान्छौं भन्ने कुरामाथि चिन्तन गर्छौं। तर त्यसरी हामीले गरेको वर्गीकरण अनुसार उनीहरूको यथार्थ अस्तित्व हुने भए त तथागत बुद्धले पनि उनीहरुलाई त्यही रूपमा देख्नुपर्ने थियो। तर उहाँले त त्यो रूपमा देख्नु भएन। धर्मकीर्तिले दिग्नागको प्रमाणवार्तिकको टीकामा भन्नुभएको छ, “आफ्नो शरीरको एकातर्फ कसैले सुवासित जल लेपन गर्दैछ र अर्कोतर्फ कसैले तरवारले चिर्दैछ भने ती दुवैप्रति बुद्धको धारणा एउटै हुन्छ।”
बुद्धको यस्तो निष्पक्षता उहाँले आफ्नो मामाको छोरा देवदत्तप्रति गर्ने व्यवहारमा देख्न सक्छौं, जो इर्ष्यावश सधैं बुद्धलाई हानि गर्ने सोचिरहन्थे। त्यसैले हामीले पनि भ्रमवश मानिसहरू आफूले गर्ने वर्गीकरण अनुसारकै हुन्छन् भन्ने ठानेर पक्षपाती व्यवहार गर्न र एक वा अर्को पक्ष लिन छाड्नुपर्छ। हामीले गर्ने वर्गीकरण अनुसारको अस्तित्व कसैको पनि हुँदैन। त्यस्तो ठोस सत्ताजस्तो अस्तित्वप्रतिको पकडलाई हामीले छाड्न प्रयत्न गर्नुपर्छ। भ्रमित चित्तले चीजहरू जस्तो होइनन्, त्यस्तो रूपमा देख्ने मिथ्याबोधका कारण यस्तो पकड आउँछ।
- यदि सीमित क्षमतायुक्त सत्वहरू हामीले मानेर ठप्पा लगाएजस्तो मित्र वा शत्रुको रूपमा यथार्थमै अस्तित्ववान हुने हो भने त्यही रूपमा सधैँ अस्तित्ववान हुनुपर्ने हो। उदाहरणका रूपमा एक घडीलाई लिउँ। हामीलाई लाग्छ, यसले सधैँ ठीक समय दिन्छ। तर त्यसो त हुँदैन। कुनैबेला घडीको अवस्था परिवर्तन हुन सक्छ र ढीलो चल्न सक्छ। त्यसैगरी हामीले सोचेको व्यक्तिको अवस्था पनि सधैँ एउटै स्थिर रहँदैन, परिवर्तन हुन सक्छ।
यो संसारको चक्रमा अनियन्त्रित रूपमा भैरहने हाम्रो पुनर्जन्मको कुनै निश्चितता छैन भन्ने शिक्षालाई पनि स्मरण गरौं। यहाँ कुनैबेला छोराले बुबालाई खान्छ, आमालाई हिर्काउँछ, र शत्रुलाई काखमा राख्छ। यसरी चिन्तन गर्नु उपयोगी हुन्छ। यो उदाहरण बोधिप्राप्तिको क्रमिक मार्ग (लाम–रिम) का चरणहरूको शिक्षामा मध्यम स्तरको प्रेरणा अन्तर्गत आउँछ। एक पटक उच्च सिद्धिप्राप्त आर्य कात्यायन कुनै घरमा पुग्नुभयो। त्यहाँ एक पिता पुनर्जन्म लिएर माछा भएका थिए, र त्यहीँको पोखरीमा जन्मेका थिए। अनि उनको छोराले त्यही माछा खाँदै थिए। त्यसपछि छोराले पिता माछाको हड्डीले कुकुरलाई हिर्काए, जो पूर्वजन्ममा उसकी आमा थिइन्। र, आफ्नो शिशुलाई अंगालोमा राख्दै झुला झुलाउन थाले, जो खासमा उनको शत्रु थियो। संसारको चक्रमा घुम्ने जीवहरूको यस्तो अनिश्चित र असंगत अवस्था देखेर कात्यायनलाई हाँसो उठ्यो। त्यसैले हामीले पनि मानिसहरू मित्र वा शत्रुको ठोस र स्थायी स्वरूपमा अस्तित्ववान हुन्छन् भन्ने भ्रमलाई पकडेर बस्ने र त्यसैका आधारमा कसैलाई अंगाल्ने र कसैलाई दुत्कार्ने गर्नु हुँदैन।
- शान्तिदेवले शिक्षासमुच्चयमा आफू र अरू जीव कसरी एक अर्कामा निर्भर हुन्छन् भन्ने बताउनु भएको छ। टाढा वा नजिकको पहाडजस्तै उनीहरू एक अर्कामा निर्भर वा एक अर्काको आधारमा अस्तित्ववान हुन्छन्। एउटा पहाडको छेउमा हुँदा अर्को पहाड टाढा र यो नजिकजस्तो लाग्छ। तर जब हामी अर्कोतिर जान्छौं, त्यो अर्को पहाड नजिकको र यो टाढाको बन्न पुग्छ। त्यसैगरी हामी आफ्नो तर्फबाट जसलाई “म” भन्छौं, त्यो म म रहँदैन जब हामी अर्काको दृष्टिले हेर्छौं। अर्काको दृष्टिमा त यो “म” “अरू” बन्न पुग्छ। त्यस्तै मित्र वा शत्रु पनि कुनै मानिसलाई हेर्ने दृष्टिकोण वा लिइने धारणाको फरक मात्र हो। कोही मानिस एकै समयमा एउटाको मित्र र अर्कोको शत्रु भैरहेको हुन्छ। टाढाको पहाड र नजिकको पहाड भनेजस्तै यो सबै हाम्रो दृष्टिकोणले निर्धारित गर्ने कुरा हो।
पाँच निर्णय
यस प्रकारले माथिको बुँदाहरूमा चिन्तन गर्दा हामीले निम्न पाँच निर्णय लिनुपर्ने हुन्छ।
म पक्षपाती हुन छाड्नेछु
सापेक्ष वा परमार्थ, जुनसुकै दृष्टिकोणले हेर्दा पनि कुनै व्यक्ति वा जीवलाई नजिकको र कुनैलाई टाढाको ठानेर व्यवहार गर्नु निरर्थक हो। त्यसैले हामीले एक ठोस निर्णय लिनुपर्छः म पक्षपाती हुन छाड्नेछु। म कसैलाई सत्कार गर्ने र कसैलाई दुत्कार्ने पक्षपाती भावनाबाट स्वयंलाई मुक्त गराउनेछु। द्वेष र आसक्तिले मलाई वर्तमान र भविष्य कुनै जन्ममा पनि हित गर्नेछैन, चाहे अस्थायी हिसाबले होस् या स्थायी, चाहे अल्पकालीन रूपमा होस् या दीर्घकालीन। ती त सयौं दुःखका हेतु हुन्। ती त्यस्ता पहरेदारजस्ता हुन् जसले मलाई यो संसारमा अनियन्त्रित हिसाबले निरन्तर बल्झिरहने दुःखहरूको कारागारबाट कहिल्यै उम्किन दिने छैनन्।
ती तिब्बती नागरिकको उदाहरण लिउँ जो सन् १९५९ को विद्रोहपश्चात् पनि त्यहीँ बसे। तिनीहरू आफ्नो गुम्बा, सम्पत्ति, जायजेथा, घरबार, नातेदार, साथीहरू आदिप्रति अति नै आसक्त भएका कारण ती सबैलाई छाडेर हिड्न सकेनन्। यही आसक्तिका कारण उनीहरूले बीसौं वर्ष वा सोभन्दा लामो समय कारागार वा यातना गृहमा गुजार्नु पर्यो। पक्षपातपूर्ण यो भाव त्यस्तो कसाहीजस्तो हो जसले हामीलाई सुखको नामोनिशाना नहुने दुःखी नरक लोकको अग्निकुण्डमा पुर्याँउछ। यो त हामीभित्र लुकेर बस्ने र राती सुत्न नदिने सैतानजस्तो हो। हामीले कुनै पनि हालतमा यसलाई पूर्णरूपेण निर्मूल गर्नैपर्छ।
अर्कोतर्फ सबैप्रति समानताको भाव भयो र यो भावका साथ हामी सीमित क्षमतायुक्त सबै जीवलाई सुखी भएको तथा दुःखबाट मुक्त भएको कामना गर्छौं भने त्यो चाहिँ अल्पकालीन र दीर्घकालीन दुवै दृष्टिले अति महत्वपूर्ण हुन्छ। यो बाटो सबै बुद्ध र बोधिसत्वले आफ्नो लक्ष्य प्राप्तिका लागि तय गर्ने मूलबाटो हो। तीनै कालका सबै बुद्धको आशय र गहनतम कामना यही हो। त्यसैले हामीले के सोच्नुपर्छ भने सीमित क्षमतायुक्त सबै जीवले आफ्नो तर्फबाट मलाई जेजस्तो हानि र सहयोग गरेपनि मेरो तर्फबाट मैले के गर्ने भन्ने कुराको विकल्प छैन। म रिसाउने वा आसक्त हुने छुइँन। म कसैलाई आत्मीय र कसैलाई पराया ठान्ने छुइँन। स्थितिको सामना गर्ने योभन्दा अर्को उपाय या मार्ग हुँदैन। यसबारे मैले पक्का निश्चय गरिसकेँ। मैले अरूप्रति राख्ने सोच र गर्ने व्यवहारमा समानताको भाव राख्नेछु, किनकि सबैजना सुखी नै हुन चाहन्छन्, कोही कहिल्यै दुःखी हुन चाहँदैन। यसका लागि मैले सकेसम्म प्रयत्न गर्नेछु। हे मेरा आध्यात्मिक गुरु, यसलाई सबैभन्दा उत्तम तरिकाले गर्न मलाई प्रेरणा दिनुहोस्। गुरु पुजा-लामा छोपाको पाठमा आउने पाँचमध्ये पहिलो श्लोकको उच्चारण गर्दा यस्तै भावना चित्तमा उत्पन्न गर्नुपर्छ।
अरू र आफूमा केही भिन्नता छैन भन्ने स्मरणका साथ अरूलाई ज्यादा सुख र आनन्द प्रदान गर्न सकौं, हामीलाई त्यस्तो प्रेरणा दिनुहोस्। सानोभन्दा सानो दुःख पनि कोही चाहँदैन, आफूलाई प्राप्त सुखले कसैलाई कहिल्यै सन्तुष्टि हुँदैन।
यसप्रकार यो पहिलो श्लोकका साथ हामी त्यस्तो समानताको दृष्टि विकसित गर्ने प्रार्थना गर्छौं, जसले अरू सबै मानिसलाई समान रूपमा सुखी बनाउने र उनीहरूको दुःख नष्ट गर्ने प्रयत्न गर्दा आफ्नो सोच र व्यवहारमा कसैप्रति पनि आफन्त वा पराया भन्ने भाव नआओस्। यो समानताको दृष्टिकोणले हामीले विकसित गर्न खोजेको समभावलाई समेट्छ। जसरी हामी कुनै पसलमा गजबको सामान भेट्दा किन्ने पक्कापक्की निर्णय गर्छौं, ठीक त्यसरी नै यस्तो दृष्टिकोण विकसित गर्ने र हासिल गर्ने पक्कापक्की निर्णय गर्छौं।
म आत्मपोषण गर्नबाट आफूलाई बचाउनेछु
त्यसपछि हामी आफ्नै मात्र पोषण गरिरहने दृष्टिकोणको खोटबारे चिन्तन गर्छौं। आत्मपोषण मात्र गर्ने स्वार्थी प्रवृतिका कारण नै हामी क्लेशयुक्त कार्य गर्छौं, दश अकुशल कर्म गर्छौं, र अन्ततः आफैंलाई नारकीय पुनर्जन्ममा धकेल्छौं। यो प्रवृत्तिबाट माथि उठेर अर्हत् (मुक्त जीव) ले झैँ बोधिलाभ प्राप्त नगरुञ्जेल यही प्रवृत्ति सबै सुख र शान्ति नष्ट गर्ने कारण बनिरहन्छ। बोधिसत्वहरू बोधिको नजिक हुन्छन्, तीमध्ये पनि कोही ज्यादा नजिक हुन्छन्। तिनीहरूबीचको अन्तरलाई आत्मपोषणको प्रवृत्ति अझै कति बाँकी छ भन्ने कुराले निर्धारण गर्छ। देशहरूबीच हुने द्वन्द्वदेखि लिएर आध्यात्मिक गुरू र तिनका चेलाबीच, परिवार परिवारबीच, र साथी साथीबीच हुने मतभेदसम्म यही आत्मपोषणकै कारणले हुने हो। त्यसैले हामीले के सोच्नुपर्छ भने आफूभित्र रहेको यो रद्दीको टोकरीजस्तो स्वार्थीपना र आत्मपोषणको प्रवृत्तिबाट आफूलाई मुक्त गराइँन भने मैले कुनै सुख महसुस गर्न पाउनेछैन। त्यसैले मैले आफूलाई कदापि यस्तो आत्मपोषणको जालमा पस्न दिनेछैन। हे मेरा आध्यात्मिक गुरु, यस्तो आत्मपोषणको प्रवृत्तिबाट आफूलाई मुक्त राख्ने प्रेरणा प्रदान गर्नुहोस्। यही चिन्तन दोस्रो श्लोकमा गरिन्छ।
यस्तो प्रेरणा हामीलाई प्रदान गर्नुहोस् कि आत्मपोषणको दीर्घकालीन रोग नै हाम्रा लागि नखोजिएको दुःख उत्पन्न गराउने हेतु हो भन्ने देख्न सकुँ र दोषको भागी यसैलाई जानेर स्वार्थीपनाको यो अजङ्गको दानवलाई नष्ट गर्न सकुँ।
यसरी दोस्रो श्लोकमा हामी स्वार्थीपनायुक्त आत्मपोषणको प्रवृत्तिबाट आफूलाई मुक्त गराउने पक्का निर्णय लिन्छौं।
परहितलाई म आफ्नो मुख्य साधना बनाउनेछु
त्यसपछि हामी परहितको असल पक्ष र त्यसबाट हुने फाइदाबारे चिन्तन गर्छौं। यो जीवनमा सबै खुसी प्राप्त हुनेछ र सबै परिस्थिति सुध्रिनेछ; भविष्यमा मानव वा देवको रूपमा जन्म मिल्नेछ। समग्रमा, परहित केन्द्रित हुँदा सबै सुखहरू र बोधिलाभसम्मको उपलब्धि मिल्नेछ। यसलाई अनेक उदाहरणका माध्यमले हामी विस्तृत रूपमा चिन्तन गर्छौं। उदाहरणका लागि कुनै लोकप्रिय अधिकारीलाई लिउँ, उसको लोकप्रियता अरूको हितमा रमाउने र अरूको हितमा केन्द्रित हुनाको कारणले हुन्छ। परहितको चिन्तनले अरूको प्राण हरण नगर्ने र चोरी नगर्नेजस्ता शीलयुक्त नैतिक–आचरणको अभ्यास गर्न थालिन्छ, यसैबाट हामीलाई पुनर्जन्ममा पनि मानवको जुनी प्राप्त हुन्छ।
परम पूजनीय दलाई लामा हर समय हरेक दिशाका हरेक मानिसको हितको चिन्तन गरिरहनु भएको हुन्छ। उहाँका सबै उत्तम गुणहरू यसरी परहितको चिन्तन गरिरहनाले आएका हुन्। कामदेवले बोधिसत्व थोग्मे–साङ्पोको साधनामा विघ्न पुर्याउन प्रयत्न गरेका थिए, तर सकेनन्। यी महान् तिब्बती धर्म अभ्यासी त्यस्ता व्यक्ति थिए जो किरा आगोमा होमिएको देख्दा रुन थाल्थे। उनी सच्चा हृदयले अरूको हितको ख्याल राख्थे, त्यसैले भूतप्रेत वा अरू कुनै पनि विघ्नकर्ताले उनलाई हानि पुर्याउने प्रयत्न गर्दैन थिए। किनभने, भूतप्रेतले समेत के भन्थे भने यो मानिस केवल हाम्रो हितको मात्र ख्याल राख्छ।
बुद्धको अनेक पूर्वजन्ममध्ये एक देवताहरूको राजा इन्द्रका रूपमा भएको थियो। त्योबेला देवता र असुरबीच युद्ध चलेको थियो। असुरहरूले जितिरहेका थिए, र इन्द्र आफ्नो रथमा भाग्दै थिए। जाँदाजाँदै बाटोमा एक ठाउँमा उनले धेरै परेवाहरू भेला भएको देखे। आफ्नो रथको चक्काले कसैलाई किच्ला भनेर रथ रोके। त्यो देखेर असुरहरूले ठाने, यो फर्केर हामीलाई आक्रमण गर्ने विचार गर्दैछ, त्यसैले रथ रोक्यो। र उनीहरू भागे। यसलाई गहिरिएर सोच्ने हो भने हामी पाउँछौं कि इन्द्रले परहितको चिन्ता गरेकोले असुरहरूको पलायन भयो। यसरी अरूको हितको चिन्तन गर्दा अनेक कोणबाट हुने अनेक फाइदाका बारेमा सोच्नुपर्छ।
कुनै मजिस्ट्रेट वा सरकारी अधिकारी आफ्नो कार्यालयमा शानसँग बसिरहेको छ भने उसको त्यो पद र त्योसँग सम्बन्धित सबैथोक अरू मानिसको अस्तित्वका कारण आएको हो। अरू मानिसले आफू अस्तित्वमा रहेकै कारण उसलाई गुन लगाएका छन्। यदि उ बाहेक अरु कोही अस्तित्ववान नभएका भए उ मजिस्ट्रेट हुने थिएन। उसका लागि गर्ने केही काम हुने थिएन। र, मानिसहरू अस्तित्ववान भएर पनि कोही उकहाँ सेवाका लागि नआउने भए उसँग केवल कुर्सीमा बस्नुबाहेक केही काम हुने थिएन। तर यदि धेरै मानिसहरू आफ्नो कामका लागि उकहाँ आउँछन् भने ती मानिसमाथि निर्भर हुँदै उ कुर्सीमा राम्रोसँग बस्न पाउँछ र सेवा दिन पाउँछ। लामा गुरुका हकमा पनि यही कुरा लागु हुन्छ। अरूमाथि निर्भर हुँदै उ आरामसँग आसनमा बस्न र शिक्षा दिन पाउँछ। उसको पद यही कुरामा निर्भर गर्छ कि उसको सहयोग लिनका लागि अरू मानिस विद्यमान छन्। उसले उनीहरूको हितका लागि धर्मको शिक्षा दिन्छ। र, उसले गर्ने यो परहितकारी काम पनि अरूबाट प्राप्त स्नेहपूर्ण व्यवहारको स्मरण या त्यस्तै कुनै कारणले गर्दा अरूमाथि नै निर्भर हुन्छ।
मैत्री र करुणा तथा परहितको चिन्तन नै त्यो कारण हो जसले हामीलाई शीघ्र बोधिलाभ दिलाउँछ। उदाहरणका लागि कुनै शत्रुले हामीलाई हानि पुर्यायो र त्यसैमा हामीले धैर्यको अभ्यास गर्यौं र बोधिलाभसम्म पुग्यौं भने परहितकै चिन्ताले हामीलाई त्यो अवस्थामा पुर्याएको जान्नु पर्छ। सीमित क्षमतायुक्त यी सबै जीव सबै सुख र कल्याणको आधार र स्रोत हुन्, त्यसमा कोही अपवाद छैनन्। त्यसैले तिनीहरूले जे व्यवहार गरे पनि र मलाई हानि गरेका भए पनि म सधैँ परहितकै चिन्ता गर्नेछु। सबै जीवलाई म मेरा आध्यात्मिक मार्गदर्शक, बुद्ध र अमूल्य रत्नहरूझैं मान्नेछु, तिनलाई महत्वपूर्ण ठान्नेछु, तिनलाई केही हानि भयो भने त्यसलाई आफ्नो क्षति सम्झनेछु, र जुनसुकै अवस्थामा पनि तिनलाई कदापि त्याग्ने छुइँन। म सधैँ तिनीहरूप्रति दयालु र स्नेहपूर्ण हृदय राख्नेछु। हे मेरा आध्यात्मिक गुरु, म अरूप्रति सधैँ यस्तो हृदय र भावना राख्न सकुँ, यसबाट एकै क्षण पनि विमुख नहोउँ, यस्तो प्रेरणा दिनुहोस्। तेस्रो श्लोकको अर्थ यही होः
यस्तो प्रेरणा हामीलाई दिनुहोस् कि आफ्नो आमाको हितको चिन्ता गर्ने र उनलाई परम सुखपूर्ण अवस्थामा सुरक्षित राख्ने चित्त अपरिमित पुण्यको द्वार हो भन्ने जानकारी हामीलाई होस्; र त्यसैले भट्किरहेका सबै जीवको हितलाई आफ्नै जीवनभन्दा ज्यादा मूल्यवान ठान्न सकुँ चाहे तिनले शत्रुकै रूपमा हामीलाई घेर्न खोजेका किन नहुन्।
यसप्रकारले हामी अरूको हितको चिन्तनलाई आफ्नो ध्यानको केन्द्र बनाउने निर्णय गर्छौं।
म आफू र अरूबीचको दृष्टिकोणमा अदलाबदली गर्न निश्चय नै सक्षम छु
यसरी आत्मपोषणमा मात्र केन्द्रित हुँदाका अनेक दोषहरू र परहितमा केन्द्रित हुँदाका अनेक सद्गुणहरूको चिन्तन गर्दा हामीलाई कसको हितलाई ज्यादा महत्व दिनुपर्छ भन्ने कुरा महसुस हुन्छ। तब जिज्ञासा आउँछ, यो कुरालाई अपनाउँदै आफ्नो चित्तको केन्द्रलाई बदल्न सकिन्छ त? अवश्य पनि सकिन्छ। हामी आफ्नो दृष्टिकोण अवश्य पनि बदल्न सक्छौं, किनभने बुद्धको अवस्था पनि बोधिलाभपूर्व हाम्रो जस्तै थियो। उहाँ पनि हामीजस्तै यो संसारको अनियन्त्रित रूपमा दोहोरिरहने परिस्थिति र दुःखहरूको चक्रमा एक पछि अर्को जन्म हुँदै घुमिरहनु भएको थियो। तर सक्षम बुद्धले कसको हितलाई ज्यादा महत्व दिने भन्ने दृष्टिकोण बदल्नु भयो। अरूको हितलाई आफ्नो मुख्य केन्द्रमा राखेका कारण उहाँले आफ्नो र अरूको लक्ष्य प्राप्तिलाई सम्भव तुल्याउने शिखरमा पुग्नुभयो।
तर त्यसको विपरीत हामीले केवल आत्मपोषणलाई केन्द्रमा राखेका छौं र अरू सबैलाई बेवास्ता गरेका छौं। अरूको हितको लागि केही गर्ने कुरा त परै जाओस्, हामीले आफ्नै मात्र पनि रत्तिभर हित हुने काम गर्न सकेका छैनौं। आत्मपोषण मात्र गर्ने र अरूलाई बेवास्ता गर्ने बानीले हामीलाई बिलकुल असहाय बनाएको छ, हामीले साँच्चिकै सारपूर्ण काम केही गर्न सकेका छैनौं। हामी आफू दुःखबाट मुक्त हुने सच्चा अठोट र नैष्क्रम्यको विकास गर्न सक्दैनौं। नीच लोकमा हुने निकृष्ट पुनर्जन्ममा खस्नबाट आफूलाई बचाउन समेत सक्दैनौं। यसप्रकारले हामी आत्मपोषणका दोषहरू र परहितका फाइदाहरूबारे चिन्तन गर्छौं। यदि बुद्ध पनि हामी जस्तै हुनुहुन्थ्यो र उहाँले आफ्नो दृष्टिकोण बदल्न सक्नुभयो भने हामी पनि अवश्य नै सक्नेछौं।
त्यति मात्र होइन, अलिकति अभ्यस्त हुन सकेमा अरूको भौतिक शरीरको हितलाई पनि हामी आफ्नो जस्तै गरी ख्यालमा राख्न सक्छौं। आखिरमा हामीले अरूको (आफ्नो मातापिताको) शरीरबाट केही थोपा वीर्य र डिम्ब लिएका न हौं, जसबाट बनेको शरीरलाई अहिले मेरो भनी माया गरिरहेका छौं। सुरुवातमा त त्यो मेरो थिएन। हाम्रो दृष्टिकोण परिवर्तन हुन सक्छ, त्यो असम्भव छैन भनेर हामीले सोच्नुपर्छ। मैले आफू र अरूप्रतिको दृष्टिकोणलाई अदलाबदली गर्न सक्छु। तर जति सोचे पनि तबसम्म म आफ्नो धारणा बदल्न सक्दिन जबसम्म आफू र अरूलाई हेर्ने दृष्टिकोणमा अदलाबदली गर्दिन। यो मैले गर्न सक्ने काम हो, गर्न नसक्ने होइन। त्यसैले हे मेरा आध्यात्मिक गुरु, मलाई यसो गर्न प्रेरणा दिनुहोस्। चौथो श्लोकको तात्पर्य यही हो।
संक्षेपमा, हामीलाई त्यस्तो चित्त विकसित गर्ने प्रेरणा दिनुहोस् जसबाट बालबुद्धियुक्त जीवजस्तो फगत आफ्नो स्वार्थको दास रहँदाका दोषहरू र केवल अरूको हितका लागि कार्यरत महानतम सन्तका गुणहरूबीच भेद गर्न सकौं। र, आफू तथा अरूलाई हेर्ने दृष्टिकोणमा अदलाबदली गर्न सकौं।
यसप्रकार, हामीले यहाँ गर्ने निर्णय भनेको आफ्नो पोषण र अरूको हितबीचको दृष्टिकोण अदलाबदली गर्न सक्छु भनी पक्का निश्चित हुनु हो।
म निश्चय नै आफू र अरूसम्बन्धी दृष्टिकोणमा अदलाबदली गर्न सक्छु
हामी फेरि पनि आत्मपोषणका दोषहरू र परहितका लाभहरूबारे चिन्तन गर्छौं, तर यसपटक दुवैलाई मिलाउँदै पालैपालो गर्छौं। अर्थात्, हामी दश अकुशल कर्म र दश कुशल कर्मलाई बुँदागत चिन्तन गर्छौं, त्यसो गर्दा दुवै सूचीको प्रत्येक बुँदालाई पालैपालो लिन्छौं। तिनको परिणाम आत्मपोषण र परहितको सन्दर्भमा केलाएर हेर्छौं। उदाहरणका लागि यदि म आत्मपोषणको मात्र ख्याल गरिरहन्छु भने मलाई अरूको ज्यान लिनमा कुनै संकोच हुने छैन। त्यसको परिणामस्वरूप म सुखविहीन नरक लोकहरूमा जन्मिनेछु, र पछि कुनैबेला मानवको जुनी प्राप्त गरिहालेँ भने पनि रोगी र अल्पायु हुनेछु। त्यसका विपरीत परहितलाई केन्द्रमा राखेँ भने अरूको ज्यान लिन छाड्नेछु र परिणामस्वरूप उच्च लोकमा जन्मिनेछु, दीर्घायु प्राप्त गर्नेछु, आदि। यस्तै विश्लेषण हामी अरू बुँदामा पनि गर्छौं, जस्तै चोर्ने वा चोर्नबाट बच्ने, अनुपयुक्त यौन आचरणमा लिप्त हुने वा त्यसबाट बच्ने, आदि। संक्षेपमा, पाँचौं श्लोकले यसो भन्छः
आत्मपोषणको दृष्टि सम्पूर्ण दुःखकष्टको द्वार हो भने मातृहितको चिन्तन सबै कुशलको मूल हो। त्यसैले आफूलाई अरूसँग अदलाबदली गर्ने अभ्यासलाई ध्यानको मूल अभ्यास बनाउन सकौं, यही प्रेरणा दिनुहोस्।
तसर्थ पाँचौं निर्णय हो, म निश्चय नै आफू र अरूबीचको दृष्टिकोणमा अदलाबदली गर्नेछु। तर यसको अर्थ यो होइन कि अब म तिमी भएँ, तिमी म भयौ। यसको अर्थ के हो भने कसको हितलाई ज्यादा महत्व दिने, त्यो दृष्टिकोणमा म अदलाबदली गर्छु। आफूलाई मात्र माया गर्ने र अरूलाई हेला गर्नुका साटो हामी आफ्नो स्वार्थकेन्द्रित दृष्टिलाई बेवास्ता गर्छौं र सबैको हितलाई केन्द्रमा राख्छौं। यति गर्न सकेनौं भने हामी केही पनि सिद्ध गर्न सक्दैनौं। तर आफ्नो दृष्टिकोणमा यसरी अदलाबदली गर्यौं भने यसैलाई आधार बनाएर आफ्नो सुख अरूलाई दिने र अरूको दुःख आफूले लिने ध्यानको अभ्यास गर्न सक्छौं, जसबाट साँच्चिकै स्नेहयुक्त व्यवहार र करुणायुक्त समानुभूतिको विकास गर्न सक्छौं। यसलाई आधार बनाउँदै हामी सबै जीवको दुःख अन्त्य गर्ने र सुख प्रदान गर्ने असाधारण संकल्पको विकास गर्न र पूर्ण बोधिचित्तका साथ बोधिप्राप्तिको बाटोमा अग्रसर हुन सक्षम हुन्छौं ताकि सबैको ज्यादा से ज्यादा हित गर्न सकियोस्।
सारांश
यो शिक्षाको स्रोत शान्तिदेवद्वारा रचित बोधिचर्यावतार, कदम्पा परम्पराका गुरुहरूको उपदेश र निश्चय नै चौथो पञ्चेन लामाद्वारा रचित गुरु पूजा – लामा छोपा हो। यो शिक्षा यसै रूपमा चाहिँ परम पूजनीय दलाई लामाका कान्छा शिक्षक दिवंगत क्याब्जे थिजाङ् दोर्जेछांगका संग्रहित रचनाहरूका सूचीकृत खण्डहरूमा पाइन्छ। तर त्यो कुन रूपमा कतिऔं नम्बरमा पर्छ भनेर खोज्ने जाँगर धेरै चलाइयो भने हातमा सातवटा मःमःको प्लेट लिएर खपाखप खान सुरु गर्नुका साटो त्यहाँ कतिवटा मःमः छन्, के कारणले त्यस्तो आकारको बनाइएको हो, आदि सोधिखोजी गर्न थालेजस्तै हुन जान्छ। खुरुक्क बसेर खान थाले भैहाल्यो!