धर्मको अनुशरणद्वारा दुःखबाट मुक्ति

संस्कृतको धर्म शब्दलाई तिब्बती भाषामा “छ्यो” भनिन्छ। यसको अर्थ धारण गरेर राख्नु वा पालना गर्नु हो। तर केलाई धारण गरेर राख्नु? दुःखको अन्त र खुशी प्राप्तिको प्रयत्नलाई हामी धारण गर्छौं। धर्मले हाम्रा लागि मात्र नभएर सबै सत्त्वका लागि यो कुरा सम्भव बनाउँछ।

दुःखको पहिचान 

हामीले भोग्ने दुःख दुई प्रकारका छन् ः पहिलो, मानवका रूपमा सामान्यतया हामीले देख्न सक्ने दुःख र दोश्रो, इन्द्रियातीत क्षमताबिना देख्न नसकिने दुःख। पहिलोमा जन्मका बखत हुने कष्ट, बेलाबेला लाग्ने विमारीका कारण हुने सकस, बुढ्यौलीका कारण हुने विषाद, र मृत्युको त्रास पर्छन्। 

मृत्युपश्चात आउने दुःख चाहिँ सामान्य मानिसले देख्न सक्दैनन्। हामीलाई सामान्यतया मरेपछि फेरी मानिसकै रूपमा जन्मिहाल्छु नि भन्ने लाग्न सक्छ। तर त्यसो हुनैपर्छ भन्ने छैन। हाम्रो गति त्यस्तो नै हुन्छ भनेर मान्नका लागि कुनै युक्तिसंगत तर्क छैन। त्यसैगरी मरेपछि फेरी बिल्कुलै जन्मिँदैनौं भन्ने कुरा पनि होइन।

हाम्रो पुनर्जन्म ठ्याक्कै कुन लोकमा कसरी हुन्छ भनेर जान्न अति कठिन छ। अहिलेकै अवस्थामा हामीसँग त्यो जान्ने ज्ञान छैन। तर पक्कै पनि यो जीवनकालमा सकारात्मक (कुशल) कर्मको बल संग्रह गर्यौं भने त्यसले हाम्रो पुनर्जन्मलाई सुधार्न सहयोग गर्छ। तर धेरैजसो नकारात्मक (अकुशल) कर्म मात्र गर्ने हाम्रो बानी रहेछ भने उच्च लोकमा पुनर्जन्म हुँदैन, नीच लोकमा हुन्छ जहाँ असंख्य कठिनाइको सामना गर्नुपर्छ। यो चाहिँ निश्चित छ। पुनर्जन्मको यथार्थ यही हो। हामीले गहुँको बीऊ रोप्यौं भने पक्कै पनि गहुँ नै फल्छ, धानको बीऊ रोप्यौं भने धान नै फल्छ। नकारात्मक (अकुशल) कर्म गर्नु भनेको तीन नीच लोकहरू (अर्थात् नरक, प्रेत, वा पशु) लोकमा जन्मिने बीऊ रोप्नु हो। 

नरक लोक (कष्टपूर्ण लोक) पनि चार प्रकारका छन् – उष्ण, शीत, प्रादेशिक र प्रत्येक। यसलाई पनि थप विभाजन गर्ने हो भने आठ विभिन्न प्रकारका नरकहरू छन्। यसमध्ये प्रथम सन्जीव नरक हो। यसमा अपेक्षाकृत अन्य नरकभन्दा कम कष्ट हुन्छ। तैपनि पृथ्वीमा ज्यादै भयानक आगोमा जल्दा जति कष्ट हुन्छ, त्यो यस लोकका वासिन्दाले भोग्नुपर्ने कष्टको दाँजोमा निकै थोरै हो। यो सन्जीव नरकभन्दा नीचस्तरका अन्य नरकहरूमा एकपछि अर्को गर्दै कष्टको तीव्रता बढ्दै जान्छ। 

नरक र प्रेत लोकका जीवहरूको दुःख हामी देख्न सक्दैनौं। तर पशुलोकको दुःख चाहिँ प्रत्यक्ष देख्न सक्छौं। पशुका रूपमा जन्मिएका भए के हुन्थ्यो, त्यो जान्न भारतका सडकमा डुल्ने वा कष्टकर काममा लादिने पशुहरूलाई हेर्दा पुग्छ। उनीहरूको जस्तो हालत हाम्रो भैदिएको भए के हुन्थ्यो, सोचौं। धर्मले हामीलाई त्यस्तो नीच लोकमा पुग्न र त्यहाँका जीवले भोग्नुपर्ने हालत भोग्नबाट बचाउँछ। 

यस्तो पुनर्जन्मको अनवरत क्रम, अर्थात् संसारको अनियन्त्रित चक्र स्वभावले नै दुःखोत्पादक छ। तर संसारको यो दुःखबाट धर्मले हामीलाई बचाउँछ। त्यसमा पनि महायान धर्मले त हामी एक्लैको मात्र होइन, अपितु सीमित क्षमतायुक्त सबै सत्त्वको रक्षा गर्छ। 

शरणगमन, एक सुरक्षित बाटो

बुद्धधर्ममा हामी अक्सर तीन रत्नको चर्चा सुन्छौं। ती तीन रत्न हुन् – बुद्ध, धर्म र संघ। पहिलो अर्थात् बुद्धरत्नभित्र सबै बोधिप्राप्त सत्त्वहरू समेटिन्छन्, जसले धर्मको शिक्षा दिन्छन्। तीमध्ये शाक्यमुनि बुद्ध हाम्रा लागि सबैभन्दा महत्त्वपूर्ण हुनुहुन्छ जसले बनारसमा प्रथम पटक धर्मचक्र प्रवर्तन गर्दै चार आर्यसत्यको शिक्षा प्रदान गर्नुभएको थियो। ती चारमध्ये पछिल्ला दुई सत्य हाम्रा लागि यथार्थ मार्गको शिक्षा हो। यो यथार्थ मार्गको शिक्षा नै निर्वाणका लागि पालना गर्नुपर्ने धर्मको शिक्षा हो। यो नै जीवनलाई सुरक्षित दिशा प्रदान गर्ने शरणगमनको धर्मरत्न हो। 

धर्म अभ्यासमा दुई कुरा समावेश छन् – संसारका दुःखको मूल पत्ता लगाउनु र सो मूललाई निर्मूल गर्नु। हाम्रो पुनर्जन्मको निरन्तर चलिरहने चक्रको कारण के हो? आफू र पदार्थहरूलाई नित्य शाश्वत सारतत्त्व मानी त्यसप्रति आसक्ति राख्नाले यो चक्र चल्छ। यस्तो आसक्तिबाट हामीलाई विरति चाहिन्छ किनकि यसले नै दुःख उत्पन्न गर्ने हो। यस्तो नित्य शाश्वत अस्तित्त्वप्रतिको आसक्ति तोड्ने ज्ञानको विकास गर्नुपर्छ। अनात्मभाव र ठोस अस्तित्त्व–शून्यताको प्रज्ञाले त्यस्तो ज्ञान प्रदान गर्छ। अनात्मको यो ज्ञानले हामीलाई दुःखमुक्तिको अवस्थातर्फ लैजान्छ। 

संसारमा हामीले भोग्ने दुःख कुनै हेतुबिना उत्पन्न हुँदैनन्। अशान्तकारी आवेग (क्लेश) र मिथ्या दृष्टि र तिनले उत्पन्न गर्ने कर्मका कारण हाम्रो दुःख उत्पन्न हुन्छ। सबै क्लेश, मिथ्या दृष्टि र कर्मको स्रोत आत्माप्रतिको आसक्ति नै हो। यो कुरा हामीले जानेपछि यस्तो आत्माप्रतिको आसक्तिबाट मुक्त हुने उपायको खोजी गर्ने आकांक्षा राख्छौं। तर यस्तो आकांक्षा अहिलेसम्म पनि आफ्नो चित्तमा किन उत्पन्न गरेका छैनौं? नित्य अस्तित्त्व कसैको पनि हुँदैन भन्ने कुरा हामीले किन जान्न सकेनौं? यसको एक कारण के हो भने हामीलाई मृत्यु र अनित्यताको पर्याप्त ज्ञान छैन। 

मृत्यु र अनित्यता

जन्मको एकमात्र अन्तिम परिणति मृत्यु हो। हामी सबै अवश्य नै मर्नेछौं। त्यस्तो कुनै प्राणी छैन जसको मृत्यु नहुने होस्। मृत्युलाई पन्छाउन मानिस अनेक प्रयत्न गर्छन्, तर त्यसमा सफलता पाउन असम्भव छ। त्यस्तो कुनै औषधि छैन जसले हामीलाई मृत्युबाट सधैँका लागि मुक्ति दिलाओस्। 

तर “म अवश्य नै मर्नेछु,” भनेर सोच्नु मात्र मृत्युमाथि ध्यान गर्ने उत्तम तरीका होइन। सबैजना मर्छन् नै, त्यसैले यो तथ्यका बारेमा सोचेर मात्र धेरै प्रभावकारी हुँदैन। यो सही तरीका होइन। त्यस्तै म एकदिन जीर्णशीर्ण हुनेछु, मेरो यो शरीर विघटित हुनेछ, यो सडेर जानेछ भनेर सोच्नु मात्र पर्याप्त हुँदैन। हामीले सोच्नुपर्ने मूल विषय भनेको कसरी आफ्नो अधोगतिलाई रोक्ने भन्ने हो। 

मृत्युका बखत मनमा आउने डर कस्तो होला र त्यो डरबाट बच्ने उपाय के होला भनी चिन्तन गर्यौं भने हाम्रो मृत्यु ध्यान प्रभावकारी हुनेछ। जसले आफ्नो जीवनमा असाध्यै धेरै अकुशल कर्मको सञ्चय गरेका छन्, उनीहरू मृत्युका बखत असाध्यै भयभीत हुन्छन्। उनीहरू क्रन्दन गर्छन्, आँखाबाट अश्रुधारा बग्न थाल्छ, मुखबाट र् याल चुहिन्छ, कपडामै दिसापिसाब गर्छन्, मृत्युको भयले पूर्णतः आक्रान्त हुन्छन्। जीवनभर गरेका अकुशल कर्मका कारण उत्पन्न हुने भयको फलस्वरूप उनीहरूको चित्त कष्टपूर्ण अवस्थामा हुन्छ। मृत्युका बखतको यस्तो लक्षणले त्यही कष्टपूर्ण अवस्था दर्शाउँछ। 

त्यसका विपरीत हामीले आफ्नो जीवनकालमा अकुशल कर्म गर्नबाट आफूलाई रोकेका छौं भने मृत्युको सामना आरामपूर्वक गर्न सक्नेछौं। त्यतिबेला कुनै बालक आफ्नो बुवाआमालाई भेट्न गएजस्तो आनन्दित मन हुनेछ। हामीले आफूलाई परिशुद्ध राखेका छौं भने खुशीखुशी मृत्युवरण गर्न सक्छौं। दश अकुशल कर्म गर्नबाट आफूलाई रोकेका छौं, र त्यसको विपरीत प्रभाव उत्पन्न गर्ने कुशल कर्महरूको अभ्यास गरेका छौं भने हाम्रो मृत्यु सहज हुनेछ र दुःखपूर्ण पुनर्जन्मबाट बच्नेछौं। हाम्रो पुनर्जन्म भाग्यशाली लोकमा हुने कुरा पक्का हुनेछ। औषधीय रुखको बीऊ रोप्यौं भने औषधीय फलवाला रुख नै उम्रिनेछ, विषालु रूखको बीऊ रोप्यौं भने विषालु फलवाला रुख उम्रिनेछ। त्यस्तै आफ्नो चित्तमा कुशल कर्मको बीऊ रोप्यौं भने भविष्यका जन्ममा पनि खुशी प्राप्त हुनेछ। शारीरिक र मानसिक दुवै स्तरमा हामी भाग्यशाली हुनेछौं। विनाशात्मक काम नगर, सिर्जनात्मक काम गर भन्ने आधारभूत शिक्षा बुद्धधर्ममा मात्र होइन, क्रिश्चियानिटी लगायत अन्य धेरै धर्ममा पनि दिइएको छ।

त्यसो भए मृत्यु र अनित्यतामाथि ध्यान कसरी गर्ने त? मैले अघि नै भनिसकेँ, “म अवश्य नै मर्नेछु” भनेर सोच्नु मात्रले धेरै लाभ हुँदैन। बरु हामीले यस्तो चिन्तन गर्नुपर्छ – “मैले दश अकुशल कर्ममध्ये कुनै पनि गरेको रहेछु भने मृत्युका बखत असाध्यै धेरै डर र कष्ट हुनेछ। त्यसको परिणामस्वरूप म एकदमै दुर्भाग्यपूर्ण पुनर्जन्ममा झर्नेछु। तर त्यसका विपरीत यदि मैले पुण्यको बल सञ्चय गरेको रहेछु भने मृत्युका बखत त्यस्तो डर र कष्टको सामना गर्नुपर्ने छैन र मेरो पुनर्जन्म भाग्यशाली लोकहरूमा हुनेछ।” यसरी चिन्तन गर्नु चाहिँ मृत्यु ध्यानको सही तरीका हुनेछ। 

यस्तो ध्यानको अर्थ विषादपूर्ण र निराशावादी धारणा राख्दै “म त मर्ने नै हुँ, यसमा मैले गर्नसक्ने कुरा केही छैन” भनेर सोच्नु होइन। हामीले मृत्युपछि के हुन्छ भन्ने चाहिँ सोच्नुपर्छ। “मरेपछि म कस्तो ठाउँमा पुग्ने हुँला? मैले कस्तोखाले हेतुहरूको निर्माण गरेको हुँला? म सुखपूर्वक मर्न सकुँला कि नसकुँला? त्यसको उपाय के होला? आफ्नो पुनर्जन्मलाई उन्नत बनाउन सकुँला कि नसकुँला? त्यसको उपाय के होला?” यस्तो ढंगले चिन्तन गर्नुपर्छ। 

भविष्यमा हुने पुनर्जन्मका बारेमा चिन्तन गर्दा हामीले के ख्याल राख्नुपर्छ भने संसारमा कुनै त्यस्तो ठाउँ छैन जसमा पक्का भर पर्न सकियोस्। हामी जुनसुकै रूपमा जन्मिएपनि त्यसको अन्त हुने नै छ। इतिहासमा हामी सय वर्ष वा हजार वर्ष बाँचेका मानिसहरूका कथा पनि सुन्छौं। ती कथाहरू सुन्दा जति रोमाञ्चक लागेपनि त्यस्तो कुनै मानिस हामी पाउँदैनौं जो अन्ततः नमरेको होस्। यो संसारमा हामीले जस्तोसुकै शरीर लिएर जन्मे पनि मृत्यु अवश्यंभावी छ। 

त्यसैगरी, कतै कुनै ठाउँ त्यस्तो छैन जहाँ गएर मृत्युबाट बचियोस्। हामी जुनसुकै ठाउँमा किन नहोऊँ, समय आएपछि मर्नैपर्छ। कुनै औषधि, मन्त्र, वा साधनाले हामीलाई मृत्युबाट बचाउन सक्दैन। शल्यचिकित्साका माध्यमले शरीरका केही अंगमा भएका निश्चित प्रकारका रोगलाई निको पार्न सकिएला, तर त्यस्तो कुनै चिकित्साविधि छैन जसले मृत्युलाई आउनै नदियोस्। 

फेरी, जस्तोसुकै प्रकारको पुनर्जन्म भएपनि हामी फेरी मर्नैपर्छ। यो क्रम चलिरहन्छ। यससन्दर्भमा हामीले गर्ने कर्मका कस्ताखाले दीर्घकालीन परिणाम हुन्छन्, त्यसको चिन्तन गर्नुपर्छ। जन्म, जीवन, मृत्यु र पुनर्जन्मको क्रम कसरी निरन्तर चलिरहन्छ भन्ने चिन्तनका मद्दतले हामी सकारात्मक (कुशल) कर्मको सञ्चय गर्न सक्छौं। 

हुनत हामी कहिलेकाहीँ धर्म अभ्यास गर्ने योजना पनि बनाउँछौं। तर अधिकांशतः हामी त्यस्तो योजनालाई भोलि गरौंला, पर्सि गरौंला भनेर पन्छाउँछौं। हामी कहिले मर्छौं, कसैले भन्न सक्दैन। यदि एक सय वर्ष बाँच्ने ग्यारेन्टी भएको भए समय छुट्याएर यतिबेला धर्म अभ्यास गरौंला भन्न सक्थ्यौं होला। तर त्यस्तो हुँदैन। हामी कहिले मर्छौं भन्ने कुराको लेशमात्र पनि सुनिश्चितता छैन। त्यसैले आफ्नो अभ्यासलाई पछि गरौंला भनेर पन्छाउनु मूर्ख्याईं मात्र हुनेछ। कतिपय मानिस जन्मनुअघि आफ्नो आमाको गर्भमै मर्छन्, कति जन्मिएपछि नवजात अवस्थामा हिँड्न सक्ने नै नभई मर्छन्। त्यसैले हाम्रो दीर्घायु हुन्छ भनेर केही गरी पनि भन्न सकिँदैन। 

हाम्रो शरीर अत्यन्तै नाजुक छ। यदि यो ढुंगा वा फलामले बनेको भए यो स्थायी छ कि भन्ने भान पर्थ्यो होला। तर होइन, थोरै मात्र पनि अनुसन्धान गर्यौं भने यो कति कमजोर छ भनेर तत्काल जान्न सक्छौं। यसमा खराबी आउन कति बेर पनि लाग्दैन। यो त अनगिन्ती स–साना पूर्जाहरूले बनेको नाजुक हाते घडीजस्तै हो, यसमाथि धेरै विश्वास गर्न सकिँदैन। हाम्रो मृत्यु गराउन अनेकौं स–साना कुराहरू पर्याप्त छन् – विषाक्त भोजन, कुनै सानो किराको टोकाई, वा विषालु काँडाले घोच्यो मात्र भने पनि पुग्छ। यस्ता साना कुराहरूबाट हामी मर्न सक्छौं। हामी जुन खानेकुरा वा पेयपदार्थ धेरै बाँच्नका लागि लिन्छौं, तिनै हाम्रो मृत्युको कारण बन्न सक्छन्। हामी कहिले मर्छौं वा के कारणले मर्छौं भन्ने कुरा बिल्कुलै अनिश्चित छ।  

हामी एक सय वर्ष बाँच्छौं भन्नेमा ढुक्क हुन सक्छौं, र त्यस्ता कैयौं सय वर्ष पनि कटे होलान्, तर हामीले खासै प्रगति गरेका छैनौं। जसरी रेलको डिब्बाभित्र निदाइरहेको मानिसलाई आफ्नो गन्तव्य नजिकै आइसकेको पत्तै हुँदैन, त्यस्तै हामी निरन्तर मृत्युको गन्तव्यतिर अगाडि बढ्दैछौं, तर हामीलाई त्यसको पत्तै छैन। मृत्युको यो प्रक्रियालाई रोक्ने कुनै उपाय छैन। हामी हरेक क्षण मृत्युको नजीक मात्रै पुगिरहेका छौं। 

हामीले आफ्नो जीवनकालमा जतिसुकै धन–सम्पत्ति, हिरा–जुहारात, घर–बंगला, वा लत्ताकपडा कमाएर थुपारेका भएपनि मृत्युका बखत ती कुनै चीज काम लाग्ने छैनन्। मर्नेबेला हामी खाली हात नै जानुपर्नेछ। एकदमै सानो चीज पनि हामीले आफ्नो साथ लैजान पाउने छैनौं। यो शरीर नै पनि छाडेर जानुपर्नेछ। त्यो बेला हाम्रो यो भौतिक शरीर र चित्त अलग्गिन्छन्, शरीर छुट्छ र चित्तको प्रवाह (चित्तसन्तान) मात्र अगाडि बढ्छ। आफ्नो कुनै सम्पत्ति त के कुरा, यो शरीर नै पनि साथमा लैजान पाउने छैनौं। 

कर्म 

मृत्युपश्चात् हाम्रो हंस (विज्ञान) को साथ जाने कुरा के हो? यदि हामीले आफ्नो यो शरीर छाड्नुपर्यो, आफ्ना साथीसंगी र सबै श्रीसम्पत्ति छाडेर जानुपर्यो भने हाम्रो चित्तको साथ लागी यसलाई अर्को जन्मसम्म सहयोग गर्नसक्ने कुनै सहयोगी होला? 

मृत्युपश्चात् पनि चित्तको साथ नछाड्ने एक तत्त्व छ। त्यो हो, हामीले यस जीवनकालमा गरेका काम र तिनबाट सञ्चित कर्म–भार (कर्मका बीज)। दश अकुशल कर्ममध्ये कुनै कर्म हामीले गरेका रहेछौं भने त्यसबाट एक नकारात्मक (अकुशल) कर्म–भार हाम्रो चित्तको प्रवाहमा जोडिन्छ र हाम्रो साथ लागेर भविष्यका जन्ममा पनि पुग्छ। कुनै जीवको हत्या, अरूको सम्पत्ति चोरी, अनुपयुक्त यौन व्यवहार लगायतका शारीरिक अकुशल कर्म गरेका रहेछौं भने त्यसको नकारात्मक कर्म–भार हाम्रो चित्तको प्रवाहमा थपिन्छ। झूठो बोल्ने, अरूको निन्दा गर्ने, अरूबीच फूट ल्याउनेगरी कुरा गर्ने, रूखो बोलेर अरूको चित्त दुखाउने, वा व्यर्थको बकबक गर्नेजस्ता वाचिक अकुशल कर्म गरेका रहेछौं भने त्यसको नकारात्मक कर्म–भार हाम्रो मृत्युपश्चात् चित्तसँग जोडिएर जान्छ। त्यस्तै लोभी मनले सोच्ने, अरूको सम्पत्तिमा आँखा गाड्ने, अरूप्रति कुत्सित भाव राख्ने र उनीहरूलाई हानि पुगोस् वा कुनै नराम्रो घटना होस् भनी चिताउने, अथवा एकदमै जड र मिथ्या दृष्टिकोण राख्ने (जस्तैः पूर्वजन्म र पुनर्जन्म हुँदैन, कार्य–कारण भन्ने कुरै हुँदैन, शरणगमनबाट जीवनले एक सुरक्षित दिशा पाउने सम्भावनै छैन आदि) जस्ता मानसिक अकुशल कर्म गरेका रहेछौं भने त्यसको नकारात्मक कर्म–भार पनि हाम्रो चित्तसँगै जोडिएर जान्छन्। तिनले भविष्यको जन्ममा हाम्रो चित्तको दिशा निर्देशित गर्छन्।

यसको अर्को पाटो पनि उत्तिकै सत्य हुन्छ। अर्थात्, हामीले कुशल कर्म गरेका छौं र नकारात्मक कर्म–भार जोड्ने काम गरेका छैनौं भने त्यस्तो कर्मको फलस्वरूप सकारात्मक बल हाम्रो चित्त-प्रवाह (चित्तसन्तान) मा जोडिन्छ र यसले भविष्यका जन्महरूका लागि उत्तम वातावरणको सिर्जना गर्छ। 

अहिलेको आफ्नो अवस्थाबारे राम्रोसँग चिन्तन गर्ने हो भने हामी अवश्य नै कुशल कर्मको निर्माण गर्ने र अकुशल कर्मबाट बच्ने हरसम्भव प्रयत्न गर्नेछौं। सम्भव भएसम्म आफूलाई यस्तो अकुशलबाट निवृत्त गराउनुपर्छ र भविष्यका जन्ममा तिर्न बाँकी हुनेगरी सानोभन्दा सानो कर्म–भार पनि आफ्नो साथ नराख्ने प्रयत्न गर्नुपर्छ। 

कार्य–कारणको सम्बन्धले कस्तो फल उत्पन्न गर्छ, त्यससम्बन्धमा ध्यान दिनु जरुरी छ। यसम्बन्धी एउटा कथा छ। एक धेरै गुणवान व्यक्ति थिए। तर आफ्ना तमाम सद्गुणका वावजूद उनी रुखो वचन बोल्थे। अरूलाई “तेरो त बोली पनि कुकुरजस्तो छ” भनेर गाली गरिरहन्थे। त्यसको फलस्वरूप उनले पाँचसय पल्ट कुकुरको जुनी लिएर जन्मिनुपरेको थियो। यसको अर्थ हो, सानोजस्तो लाग्ने कर्मको पनि असाध्यै ठूलो परिणाम हुनसक्छ।  

त्यसैगरी, एकदमै सानो देखिएता पनि सकारात्मक (कुशल) कर्मको परिणाम असाध्यै ठूलो हुन सक्छ। यससम्बन्धी पनि एउटा कथा छ। एकपटक एक बालकले बुद्धलाई कुनै तुच्छजस्तो लाग्ने कुरा चढाएका थिए। तर त्यसको परिणामस्वरूप ऊनी महान सम्राट अशोकका रूपमा जन्म लिन पुगे, र हजारौं बौद्ध स्मारकको निर्माण गर्नुका साथै अनेकौं उत्कृष्ट कार्यहरू गरे। 

नैष्क्रम्य र करुणा

आफूले गरेका अनेक अकुशल कर्महरू र तिनले ल्याउनसक्ने परिणामका बारेमा चिन्तन गर्नु भनेको आफ्नै कल्याण र खुशीको बाटो सुनिश्चित गर्नु हो। यदि यस्ता अकुशल कर्मको नकारात्मक परिणाम हुने र आफूले दुःख पाउने कुराको स्मरण गर्यौं भने यस्तो दुःख पाउने अवस्थाबाट बच्ने प्रबल आकांक्षा जागृत हुन्छ। त्यसरी विकसित चित्तावस्था नै “नैष्क्रम्य” हो। 

यस्तो चित्तावस्थामा आफूलाई अभ्यस्त राख्नु पनि एक प्रकारको ध्यान अभ्यास हो। प्रथमतः हामीले आफ्नो दुःखप्रति स्मृति भाव विकास गर्नुपर्छ। अनि यो स्मृति भावमा अन्य सबै जीवहरूलाई समेट्नुपर्छ। कुनै पनि जीव कुनै पनि प्रकारको दुःख चाहँदैनन्। तैपनि उनीहरू दुःखपूर्ण अवस्थामै फसिरहेका हुन्छन्। यस्तो स्मृति भावले हामीमा करुणाको उदय गराउँछ। तर हामीले आफ्नै दुःखबाट मुक्तिको आकांक्षा राखेनौं भने अरूका लागि यस्तो दुःखमुक्तिको आकांक्षा कसरी राख्न सकौंला र! हामी आफ्ना सबै दुःखहरूमा पूर्णविराम लगाउन सक्छौं, तर त्यसले मात्र उच्चतम लाभ हुँदैन। हामीले यस्तो आकांक्षामा अन्य सबै जीवहरूलाई पनि समेट्नुपर्छ जो सुख चाहन्छन्। आफ्नो चित्तलाई प्रशिक्षित गर्नुपर्छ र अन्य सबै जीवहरू पनि सबै दुःखबाट पूर्ण मुक्त होऊन् भन्ने कामनाको विकास गर्नुपर्छ। यस प्रकारको चिन्तन बृहत्तर र ज्यादा हितकर हुन्छ। 

तर हामीले अन्य जीवको किन वास्ता गर्नुपर्यो? किनभने उनीहरू सबैले हामीलाई धेरै गुन लगाएका छन्। उदाहरणका लागि, हामीले खाने दुध दिएर गाई र भैंसीले हामीलाई गुन लगाएका छन्। ठण्डी र हावाबाट बचाउने न्यानो लुगाका लागि ऊन दिएर भेडा र बाख्राले हामीलाई गुन लगाएका छन्। यस्ता धेरै उदाहरण छन्, जसलाई मनन गर्दै हामीले ती सबै जीवलाई दुःखबाट उद्धार गर्ने उपायको खोजी गर्नुपर्छ।

हामी मन्त्र ध्यान वा अन्य कुनै प्रकारका ध्यान अभ्यास गर्न सक्छौं। जे अभ्यास गरे पनि हामीले सधैं यही विचार मनमा लिनुपर्छ – “यसले सीमित क्षमता भएका सबै सत्त्वको कल्याण गरोस्।” स्वाभाविक रूपमा यसको लाभ हामी आफैंलाई पनि हुन्छ। यो कुरा त दैनिक जीवनमा नै देख्न सक्छौं। उदाहरणका लागि, कुनै व्यक्ति केवल आफ्नो मात्र स्वार्थका लागि काम गर्छ भने उ सबैको अप्रिय हुन्छ। त्यसको विपरीत, कुनै व्यक्ति सधैं अरूप्रति स्नेहपूर्ण व्यवहार गर्छ र अरूको ख्याल राख्छ भने उ सबैको प्रिय हुन्छ। 

हामीले आफ्नो चित्त-प्रवाह (चित्तसन्तान) मा ल्याउनुपर्ने भावना यस्तो हो – “सबै जीव सुखपूर्वक बाँचुन्, कसैले पनि दुःख भोग्नु नपरोस्।” यो हाम्रो चिन्तनको धार नै बन्नुपर्छ, जसका लागि हामी यो भावनालाई आफ्नो चित्तमा बारम्बार ल्याउँछौं। यो अभ्यास अति नै हितकर हुन्छ। विगतमा यस्तो चिन्तनको विकास गरेका व्यक्तिहरू नै अहिले आएर बुद्ध, बोधिसत्त्व र महान सन्तहरू बन्ने हुन्। संसारका सबै महान पुरुष र महिलालाई हेरौं, उनीहरूको जीवन यही भावनाका आधारमा चल्छ। हामीले पनि यस्तो भावनाको विकास गर्नसके कति उत्तम हुन्थ्यो होला!

आफ्ना प्रियजनलाई बचाउन अरूलाई हानि पुर्याउँदा प्राप्त हुने कर्म

के कसैले आफूलाई हानि पुर्याउन लाग्दैछ भने आत्मरक्षा नगर्नु ठीक हो?

यो प्रश्नको दायरा एकदमै व्यापक छ। कुनै व्यक्तिले तपाईंको टाउकोमा लठ्ठी वा छडीले हिर्काउँछ भने सबैभन्दा उत्तम प्रतिक्रिया त विगतमा गरेका कुनै खराब कर्मका कारण अहिले यो भोग्दैछु भनेर चिन्तन गर्नु हो। उक्त व्यक्तिले तपाईंको कुनै कर्मफललाई अहिले नै विपाक हुने अवसर दियो, भविष्यमा त्यसको फल भोग्नुपरेन भनेर सोच्नु ठीक हुन्छ। तपाईंले त्यसका लागि उक्त व्यक्तिप्रति कृतज्ञताको भाव जगाउनुपर्छ, किनकि उसले एक नकारात्मक कर्म–भारलाई तपाईंको चित्त–प्रवाहबाट हटाइदियो। 

त्यसो भए, कसैले ममाथि आश्रित श्रीमती वा सन्तानलाई आक्रमण गर्यो भने के गर्नुपर्ला? के मैले उनीहरूको रक्षा गर्न मिल्छ? यो पनि अकुशल कर्ममा पर्छ?

आफ्नो श्रीमती र सन्तानको रक्षा गर्नु तपाईंको कर्तव्य र दायित्वभित्र पर्छ। त्यसैले तपाईंले त्यो बेला सकेसम्म कुशलतापूर्वक कार्य गर्नुपर्छ। तपाईं चलाख पनि हुनुपर्छ। सबैभन्दा उत्तम त आक्रमणकारीलाई हानि नपुर्याइ उनीहरूको रक्षा गर्नु हो। अर्थात्, तपाईंले उनीहरूको रक्षा गर्ने उपाय त गर्नुपर्छ तर त्यसका लागि कसैको हानि गर्नु हुँदैन। 

उनीहरूले मेरो सन्तानलाई हानि पुर्याउन हुने, मैले चाहिँ उनीहरूलाई केही गर्न नहुने? कसैको बर्बरता वा क्रुरताबाट आफ्नो बालकको रक्षा गर्नु हाम्रो कर्तव्य होइन र? के हामीले त्यत्तिकै आफ्नो जीवनको बलि दिने?

यस्तो अवस्थालाई उपायकुशल ढंगले पार लगाउन तपाईंमा असाध्यै ठूलो साहस हुनुपर्छ। बुद्धको पूर्वजन्मको एक कथा छ। कुनै जन्ममा बुद्ध समुद्री नौका चालक हुनुहुन्थ्यो। एकपटक उहाँ पाँचसय मानिसलाई साथ लिएर समुद्रमा डुबेको खजाना खोज्न निस्कनुभएको थियो। उहाँको दलमा एक असाध्यै लोभी चित्तको मानिस थियो, जो सबै धन आफैं हत्याउन डुंगामा सवार सबै मानिसको हत्या गर्ने योजना बनाइरहेको थियो। बुद्ध त्यतिबेला बोधिसत्त्व हुनुहुन्थ्यो। उहाँले उक्त मानिसको योजनाका बारेमा जान्नुभयो र के निष्कर्षमा पुग्नुभयो भने त्यसलाई सफल हुन दिनु हुँदैन, किनकि त्यसबाट पाँचसय मानिसको ज्यान जाने थियो। बोधिसत्त्वले उक्त व्यक्तिलाई मारेर भए पनि पाँचसय मानिसलाई बचाउनु उपयुक्त ठान्नुभयो र त्यो काम आफैंले गरेर त्यसको पापको पूर्ण भागी आफैं बन्ने अत्यन्तै साहसी निर्णय लिनुभयो। यदि तपाईं पनि अरूलाई बचाउनका लागि बरु नरकमा जन्मिनु परे पनि परोस् भन्ने बोधका साथ जिम्मेवारी लिन सक्नुहुन्छ भने तपाईंको सोच अत्यन्त साहसी हुनेछ। त्यस्तो अवस्थामा मात्र तपाईंले यो खालको काम गर्न सक्नुहुन्छ, जसरी बुद्धले गर्नुभएको थियो। 

त्यस्तो अवस्थामा पनि हत्यालाई अकुशल कर्म नै मानिन्छ?

नागार्जुनले “सुहृल्लेख” ग्रन्थमा लेख्नुभएको छ कि कसैले आफ्नो मातापिता, सन्तान, बुद्धधर्म, वा त्रिरत्नको रक्षा गर्ने नाममा कुनै अकुशल कर्म गरेको छ भने त्यसको पनि फल भोग्नैपर्छ। त्यसको फल के हुन्छ, थाहा नहुन सक्छ। तपाईंले त्यस्तो कदम स्वार्थरहित भएर आफ्नो श्रीमती वा सन्तानलाई बचाउने उद्देश्यले मात्र गर्नुभएको हो कि होइन भन्ने कुरा आउँछ। तपाईंले कुनै शत्रुलाई हानि पुर्याउनु भयो भने दुःखपूर्ण पुनर्जन्म हुन्छ। त्यसरी पापको भारी बोक्नुपर्यो भने यस्तो सोच राख्नुपर्नेछ – “यो दुःखको भारी म आफैं बोक्छु, ताकि मेरा श्रीमती र सन्तानले दुःख भोग्नु नपरोस्।”

त्यसो भए बुद्धधर्म अनुसार यो नकारात्मक कर्म नै हुने भयो?

आफ्नो श्रीमती र बच्चाको जीवन बचाउनु सकारात्मक र सिर्जनात्मक (कुशल) कर्म हो। तर शत्रुलाई हानि पुर्याउनु नकारात्मक र विनाशात्मक (अकुशल) कर्म हो। तपाईंले दुवैको फल भोग्न तैयार रहनुपर्छ।

तपाईंले भन्नुभयो, नराम्रो कर्म गर्यो भने भविष्यमा दुःख भोग्नुपर्छ र राम्रो कर्म गर्यो भने सुख प्राप्त हुन्छ। के यसरी राम्रो कर्महरू गर्नाले फेरी जन्मिनु नपर्ने गरी पूर्ण मुक्ति प्राप्त हुन्छ?

तपाईंलाई पूर्ण मुक्ति नै चाहिन्छ भने शिक्षालाई सम्पूर्ण रूपमा र सटीक ढंगले पालना गर्नुपर्ने हुन्छ। उदाहरणका लागि यदि तपाई इसाई धर्म मान्नुहुन्छ भने, क्राइस्टका शिक्षा सम्पूर्ण रूपमा पालना गर्नुपर्छ। तब मात्र इसाई मुक्ति प्राप्त हुन्छ। जीजस एक्लैले हामीलाई हाम्रा पापबाट बचाउन सक्नुहुन्न। हामीले आफ्नो तर्फबाट प्रयास गर्नैपर्छ। नत्र जीजसले हामीलाई पाप नगर किन भन्नुहुन्थ्यो? जीजसले दिनुभएको शिक्षालाई सही ढंगले पालना गर्ने हो भने मलाई लाग्छ इसाई मुक्ति प्राप्त हुन्छ। त्यस्तै बुद्धका शिक्षा सही ढंगले पालना गर्यो भने बौद्ध मुक्ति, अर्थात् निर्वाण प्राप्त गर्न सम्भव छ। 

Top