सुख शारीरिक वा मानसिक दुवै हुन सक्छ। त्यस्तै दुःख पनि दुई प्रकारका हुन्छन् – शारीरिक र मानसिक। हामी खुशीको चाहना त गर्छौं, तर त्यसको प्राप्ति कुन तरीकाले हुन्छ, थाहा पाउँदैनौं। त्यसैले हामी त्यस्ता तरीका अपनाउन पुग्छौं जसले दुःखतर्फ डोर्याउँछ।
कसैकसैले जीविकोपार्जनका लागि लुटपाट र हत्या–हिंसाको सहारा लिन्छन्। उनीहरूलाई यसैबाट खुशी भइन्छ भन्ने लाग्छ। तर भईंदैन। अरू धेरैले खुशीका लागि व्यापार, खेती किसानी, वा अन्य कुनै कानुनसम्मत पेशा अपनाउँछन्। यी तरीकाबाट कसैकसैले असाध्यै धन र यशकीर्ति कमाउन पनि सक्छन्। तर यसरी पाइने खुशी पनि धेरै टिक्दैन किनकि यो उत्कृष्ट खुशी होइन। जतिसुकै सुखसुविधा र धनधान्य प्राप्त गरेपनि हामी सन्तुष्ट हुन सक्दैनौं किनकि हामीलाई त्यो कम नै लाग्छ। एउटा सिंगै देश आफ्नो स्वामित्वमा रहेछ भने पनि हामीलाई त्योभन्दा बढी नै चाहिन्छ।
खुशी पाउनका लागि हामीले गर्ने पेशा–व्यवसायको दौड कहिल्यै कुनै टुंगोमा पुग्दैन। एक ठाउँबाट अर्को ठाउँमा पुग्न कार आदि तेज साधनहरूको प्रयोग गर्छौं, तर कहिल्यै चित्त बुझ्दो गति हुँदैन। त्यसैले सांसारिक भागदौडको कहिल्यै कुनै निष्कर्ष छैन भनिन्छ, यो त गोलचक्कर जस्तै घुमिमात्र रहन्छ। हामी सबैले बुझेकै कुरा हो कि सांसारिक सुखका लागि गरिने दौडधुप कहिल्यै पनि सकिँदैन।
फूल नयाँ हुँदा फक्रक्क फूलेको हुन्छ, पुरानो भएपछि ओइलाउँछ। तपाईंले यो जीवनमा जेसुकै हासिल गर्नुहोस्, एक दिन त्यसको अन्त हुनेछ। समय बितिरहेको हुन्छ, त्यससँगै हामीले जोडेका कुराको अन्त नजिकिँदै जान्छ। जब जीवनकै अन्तिम समय आउँछ, हामीलाई सर्वाधिक पीडा हुन्छ। मोटरगाडीको उदाहरण लिऊँ। तपाईं कुनै कबाडीघर पुग्नुभयो भने मिल्काइएका थोत्रा कारहरू देख्नुहुनेछ। त्यो त्यसको अन्त हो, हरेक चीज कुनै दिन त्यसरी नै कबाडीमा परिणत हुनेछ। कार राम्रै चलिरहेको छ भने पनि हामीलाई चिन्ता भैरहन्छ। यसका कुनै कलपूर्जा बिग्रने पो हुन् कि, कर कति तिर्नुपर्ने हो, बीमालेख पनि किन्नै पर्यो, आदि अनेक चिन्ता हुन्छन्। यही हालत हाम्रा सबै भौतिक सम्पत्तिको हो। हामीसँग जति धेरै भौतिक सम्पत्ति छ, त्यति नै धेरै हामीलाई तिनका बारेमा चिन्ता हुन्छ।
धर्मले हामीलाई मानसिक खुशी प्राप्त गर्ने उपायहरूको शिक्षा दिन्छ। मानसिक खुशी पाउन हामीलाई भौतिकस्तरमा कार्य गर्नुपर्दैन, केवल चित्तको स्तरमा प्रयत्न गरे पुग्छ। हाम्रो चित्तको निरन्तरताको प्रवाह निकै लामो छ। विगतका जन्महरूदेखि यो चलिआएको छ र भविष्यका जन्महरूमा पनि यो कायम रहनेछ। हरेक जन्ममा हामीले एक शरीर धारण गरेका हुन्छौं, त्यसको सुखसयल जुटाउने प्रयत्न हामी गर्छौं। मृत्युपश्चात पनि हाम्रो चित्त चलिरहन्छ। त्यसैले हामीले त्यस्तो खुशीको कामना गर्नुपर्छ, जुन केवल उत्कृष्ट र स्थायी मात्र नहोस्, भविष्यका सबै जन्महरूमा पनि कायम रहोस् र जसको निरन्तरतामा कुनै व्यवधान नहोस्।
हामीले सामान्यता गर्ने कार्यहरू सकारात्मक नै भए पनि धर्मको अभ्यासभित्र पर्दैनन्। तर ती सकारात्मक कार्यहरू जुन भविष्यको जन्मलाई ध्यानमा राखेर गरिन्छन्, ती चाहिँ धर्मको अभ्यासभित्र पर्छन्।
खुशी र दुःख हामीले गर्ने व्यवहारका कारण उत्पन्न हुन्छन्। कर्म बन्ने यी व्यवहारहरू सकारात्मक र नकारात्मक दुवै हुन सक्छन्। नकारात्मक व्यवहारले नकारात्मक नतीजा ल्याउँछ भने सकारात्मक व्यवहारले सकारात्मक नतीजा। चाहे खेतीपाती होस् वा अरू केही, हामीले यो जीवनमा गर्ने सफलतापूर्वक गर्ने हरेक कार्य विगतका जीवनमा गरेका सकारात्मक कर्मका नतीजास्वरूप नै फलित भएका हुन्छन्। हामी त्यत्तिकै रोगी ज्यानका छौं, वा बेखुशी छौं, वा हाम्रो जीवन छोटो छ भने त्यो विगतमा हामीले गरेका नकारात्मक कर्मको परिणाम हो।
उदाहरणका लागि, मानिलिऊँ दुई व्यापारीहरू छन्। एक आफ्नो व्यवसायमा सफल छ, अर्को असफल। यसको कारण उनीहरूको विगतको कर्म हो। दुई व्यापारीमध्ये एकले धेरै मेहनत गर्छ, तर असफल हुन्छ। अर्कोले धेरै मेहनत गर्दैन, तैपनि सफल हुन्छ। तपाईंले जीवहरूको हत्या गर्नुभयो भने तपाईंको जीवन छोटो हुन्छ र रोग लाग्छ। यहाँ गेशे–ला हुनुहुन्छ, यसबारे थप ज्ञान चाहिएमा उहाँलाई सोध्नुहोला।
तर तपाईंले यस्ता नकारात्मक कार्य गर्नबाट आफूलाई रोक्नुभयो भने नीच लोकहरूमा जन्म लिनुपर्ने छैन, तपाईंको जन्म मानव वा देवका रूपमा हुनेछ। तर मानव वा देव जे भएपनि त्यसले तपाईंलाई दीर्घकालीन खुशी प्रदान गर्न सक्दैन। ती अवस्था पनि दुःखधर्मी नै हुन्। किन? किनकि तपाईं राम्रो अवस्थामा हुनुहुन्छ भने नराम्रो अवस्थामा झर्नुपर्ने हुनसक्छ, र नराम्रो अवस्थामा हुनुहुन्छ भने राम्रो अवस्थामा पुग्न सक्नुहुन्छ। यी दुवै अवस्थाहरूमा असाध्यै धेरै दुःख लुकेको हुन्छ। तपाईंलाई भोक लाग्यो भने खाना खानुहुन्छ। तर धेरै खानुभयो भने विरामी पर्नुहुन्छ। तपाईंलाई जाडो लागेको छ भने आगो बाल्नुहुन्छ। त्यसले पोल्न थाल्छ र फेरी चिसो चाहिन्छ। हाम्रा सबै समस्या यस्तैखाले हुन्छन्।
संसार (अर्थात् अनियन्त्रित पुनर्जन्महरूको श्रृंखला) मा यस्तै प्रकारका दुःखहरू हुन्छन्। हाम्रो कर्म, अनेक खालका क्लेश र मिथ्या धारणाहरूका कारण यी सबै दुःखहरू उत्पन्न हुन्छन्। यसबाट मुक्ति पाउनका लागि हामीले शून्यता अर्थात् चीजहरूको निःस्वभावताको ज्ञानका लागि प्रज्ञा जगाउनुपर्छ।
यस्तो दुःखबाट मुक्तिको अवस्था छ भन्ने कुरा हामी ती सत्त्वहरूलाई देखेर जान्न सक्छौं जसले आफ्नो सांसारिक दुःखलाई पार गरिसकेका छन्। सोह्र अर्हत र अन्य आर्यहरूको उदाहरण हामीसँग छ। हामी आफूले सांसारिक दुःखबाट पार पाउन सक्छौं तर त्यतिले मात्र पुग्दैन। हामी सीमित क्षमतायुक्त ती अनेकौं सत्त्वहरूको स्मरण गरौं जसले हामीलाई अत्यन्तै धेरै गुन लगाएका छन्। हामीले उपभोग गर्ने दुध र दुधजन्य सामग्रीका लागि हामी पशुहरूप्रति ऋणी छौं। हामीमध्ये कतिपय मासु खान्छौं, जुन सारसौंदो ज्यान भएका पशुहरूलाई काटेर प्राप्त हुन्छ। जाडोमा भुवावाला कोट र ऊनीका कपडा लगाउँछौं, जुन पशुहरूबाटै प्राप्त हुन्छ। यी सबैथोकका लागि हामी उनीहरूप्रति ऋणी छौं। यो ऋण तिर्नका लागि हामीले पहिला आफैं बुद्धत्त्व प्राप्त गर्नुपर्छ। त्यसपछि हामी ती सबै सत्त्वको उद्धार गर्न सक्षम हुनेछौं।
श्रावक र अर्हतहरूले यी सबै सीमित क्षमतायुक्त सत्त्वको उद्धार गर्न सक्दैनन्। त्यो काम बुद्धहरूले मात्र गर्न सक्छन्। त्यसैले सबै सत्त्वलाई सही अर्थमा सहयोग गर्नुछ भने हामीले पनि बुद्धत्त्व प्राप्त गर्नुपर्छ। अर्थात् हामी आफैं बुद्ध बन्नुपर्छ।
तर बुद्ध कसरी बन्ने? धर्मको अभ्यास गरेर। भारतमा कैयौं महासिद्धहरू थिए। तीमध्ये अस्सीको जीवनगाथाका बारेमा हामीलाई जानकारी छ, तर त्यस्ता महासिद्ध त्योभन्दा धेरै ज्यादा, अनगिन्ति संख्यामा छन्। उनीहरूले आफ्नो एक जीवनकालमै पूर्ण बोधि प्राप्त गरेका हुन्छन्। तिब्बतमा हामीसँग मिलारेपाको उदाहरण छ। त्यस्तै काग्यु, न्यिङ्मा, साक्या र गेलुक् सम्प्रदायका अनेकौं महान आचार्यहरूका उदाहरण हामीसँग छन्।
बुद्ध बनिसकेपछि हाम्रो धर्मको अभ्यास परिपूर्ण हुन्छ। यसरी गर्ने धर्मको साधना प्रारम्भमा अत्यन्तै कठिन हुन्छ। तर जसैजसै हामी साधनामा प्रगति गर्दै जान्छौं, उसैउसै हाम्रो बाटो सहज हुँदै जान्छ र हामी पहिलेभन्दा ज्यादा खुशी हुँदै जान्छौं। धर्म साधनाको परिपूर्णतामा हामी पूर्ण आनन्दको अवस्थामा हुन्छौं। तर त्यसका विपरीत सांसारिक उपलब्धि जतिसुकै भएपनि हाम्रो दुःख मात्रै बढ्दै जान्छ।
मृत्युका बखत, अर्थात् आफ्नो जीवनको परिपूर्णता वा अन्तिम विन्दुमा पुग्दा मानिसमा व्याकुलता र दुःख मात्र हुन्छ। यो दुःख उनीहरूमा मात्र सीमित हुँदैन, अपितु उनीहरूका आफन्तजनसम्म प्रसारित हुन्छ। यो कुरा अन्तिम संस्कार गर्ने ठाउँमा देखिन्छ। त्यसैले हामीले यस सम्बन्धमा केही विचार गर्नुपर्छ र धर्मको अभ्यास शुरु गर्नुपर्छ। धर्मको परिपूर्णता वा अन्तिम विन्दुमा पुग्दा बोधि प्राप्त हुन्छ। त्यो अवस्थामा हामीमा खुशी मात्र हुन्छ, जुन आफूमा मात्र सीमित रहँदैन, अरू सबैका लागि समेत हुन्छ।
हामीले दश अकुशल कर्म गर्नबाट आफूलाई रोक्नुपर्छ। कुशल कर्म गर्यौं भने हामीलाई खुशीको अनुभूति हुन्छ, अकुशल कर्म गर्यौं भने दुःखको। आफूले गर्ने कर्मको परिणाम के हुन्छ, त्यसको अनुसन्धान गर्नुपर्छ। त्यस्तै चित्त, जो हामीले गर्ने कर्मको कारण हो, का बारेमा पनि हामीले अनुसन्धान गर्नुपर्छ। यसरी अनुसन्धान गर्दा हामीले पाउनेछौं कि हामीमा त्रिविष अर्थात् तीन विषपूर्ण आवेग र दृष्टिकोणहरू हुन्छन् – राग, द्वेष र अज्ञान (अर्थात् संकीर्ण अबोधपन)।
यी तीन मूल क्लेशहरू हुन् जसबाट ८४,००० क्लेश र मिथ्या दृष्टिहरू जन्मिन्छन्। यी ८४,००० क्लेश र मिथ्या दृष्टिहरू हाम्रा मुख्य शत्रु हुन्। त्यसैले हामी आफ्नो शत्रुलाई आफैँभित्र खोज्छौं, बाहिरतिर होइन। यी ८४,०० मध्ये ती तीन विष नै सबैभन्दा महत्त्वपूर्ण छन्। त्यसमध्ये पनि अज्ञान सबैभन्दा खराब हो, जुन हाम्रो चित्तमै रहेको हुन्छ।
संक्षेपमा, हामीले यी आन्तरिक शत्रुहरूलाई तह लगाउन आफैंभित्र फर्केर हेर्नुपर्छ। त्यसैले बुद्धधर्मको अनुशरण गर्ने मानिसलाई भित्रिया (नाङ्–पा) भनिन्छ, किनकि उनीहरू सधैं आफूभित्र नै हेर्छन्। यदि हामीले आफ्नो चित्तमा भएका ती क्लेश र मिथ्या दृष्टिहरूलाई अन्त गर्यौं भने हाम्रा दुःखको पनि अन्त हुनेछ। त्यसका लागि प्रयासरत मानिसलाई धर्मको अनुयायी भनिन्छ।
कसैले आफूभित्र रहेका मात्र क्लेश र मिथ्या दृष्टिलाई अन्त गर्ने प्रयास गर्छ भने उसले गर्ने धर्म साधना हीनयानको साधना हो। कसैले आफ्नो मात्र दुःख अन्त गर्नु नभई सबै सत्त्वलाई सहयोग गर्नु महत्त्वपूर्ण ठान्छ र त्यसैअनुसार उनीहरूको चित्तमा रहेका क्लेश र मिथ्या दृष्टिको अन्तमा पनि सहयोग पुगोस् भनी आफ्नो अज्ञान हटाउने प्रयत्न गर्छ भने त्यो महायानको साधना हो। यो मानव शरीरलाई अभ्यासको आधारभूमि बनाउँदै हामी महायानी बन्नु जरुरी छ। यसबाट हामीलाई बुद्धको जस्तो पूर्ण बोधिको अवस्था हासिल हुनेछ।
यहाँ महत्त्वपूर्ण कुरा के हो भने हामीले अरू सबैको हित हुने र कहिल्यै कसैको हानि नहुने काम गर्नुपर्छ। तपाईं “ओम् मणि पद्ये हुँ” को जप गर्नुहुन्छ भने यस्तो भावनाका साथ गर्नुपर्नेछ, “यो अभ्यासको फलस्वरूप सिर्जना हुने सकारात्मक बलले सबै सत्त्वको हित गरोस्।”
हामीसँग भएको यो शरीरले अभ्यासको आधारभूमि प्रदान गर्छ, तर यो पाउन अत्यन्तै कठिन छ। मानव शरीर त्यत्तिकै सजिलोसँग पाईंदैन। हाम्रै पृथ्वीको उदाहरण लिएर हेरौं। यसको अधिकांश भाग समुद्रले ढाकेको छ। ती सबै समुद्रमा कति माछाहरू होलान्, कल्पना गरौं। सजीव प्राणीहरूमा सबैभन्दा धेरै संख्या जनावर र कीराफट्याङ्ग्राको होला। यो सिंगै पृथ्वी र यहाँका जनावर र कीराफट्याङ्ग्राहरूको संख्या हेर्ने हो भने त्यसको तुलनामा मानिस कति कम छन् र यो जुनी पाउन कति कठिन रहेछ भन्ने अनुमान गर्न सकिन्छ।
सारांश
धर्म अभ्यासको क्रममा अनुभूति र ज्ञानहरू एकदमै ढीलोगरी पाइन्छ। केही दिनमै वा हप्ता वा महिनामा पाइने भन्ने हुँदैन। एकदमै थोरै मानिसले मात्र धर्मको बारेमा विचारसम्म गर्छन्, अनुभूति गर्ने कुरा त परै जाओस्। हामीले लामो समयसम्म निरन्तर यसको साधना गरिरहनु पर्छ। तपाईंले एकदमै योग्य गेशेलाई पथप्रदर्शकका रूपमा पाउनुभएको छ। उहाँ तपाईंका सबै प्रश्नको उत्तर दिन सक्नुहुन्छ। दीर्घकालीन रूपमा बुद्धधर्मको विकास र विस्तार भैरहनेछ। यो अहिले पनि एकदमै जीवन्त छ। बुद्धले पहिलो पटक शिक्षा दिँदा उहाँका अगाडि पाँच शिष्य मात्र थिए। ती थोरै मानिसबाट शुरु भएको यो शिक्षा अहिलेसम्म चलिरहेको छ र व्यापक मात्रामा फैलिरहेको छ।
अहिले हाम्रो युगमा शाक्यमुनि बुद्धकै स्तरका परम पूजनीय दलाई लामा हुनुहुन्छ। उहाँ अक्टोवरमा यहाँ आउनुहुनेछ। उहाँले जे शिक्षा तपाईंलाई दिनुहुन्छ, त्यसलाई राम्रोसँग मनन गर्नुहोला र गम्भीरतापूर्वक त्यसको अभ्यास गर्नुहोला। यो शिक्षाको मूल मर्म भनेको कुनै जीवलाई हानि नपुर्याउनु र हानि पुर्याउने विचार पनि नराख्नु, तथा सबैको हित गर्ने प्रयत्न गर्नु हो। यो नै हाम्रो अभ्यासको मुख्य विषय हो। तपाईंले यो हिसाबले अभ्यास गर्नुभयो भने भविष्यसम्मका लागि कल्याणको बाटो खुल्नेछ।