म पहिलो पटक १९७० मा भारतको डलहौसी (Dalhousie) मा गेशे ङवाङ धार्ग्ये (Ngawang Dhargyey) सँग भेटेँ र अध्ययन सुरु गरेँ। त्यसभन्दा एक वर्षअघि म आफ्नो पीएचडी शोधप्रबन्धको अनुसन्धान गर्न फुलब्राइट फेलोशिप (Fulbright Fellowship) मार्फत भारत (India) आएको थिएँ। मैले पहिले नै हार्वर्ड (Havard) मा तिब्बती सिक्ने क्रममा न्यू जर्सी (New Jersey) मा गेशे वाङ्ग्याल (Wangyal) सँग सम्बन्ध स्थापित गरिसकेको थिएँ र भारत पुगेपछि, मैले अमेरिका मा गेशे वाङ्ग्यालको मार्गदर्शनमा अंग्रेजी पढेका दुई जना युवा पुनर्जन्म भएका लामा (टुल्कु), शार्पा र खाम्लुङ रिन्पोछेहरूबाट सहयोग लिएको थिएँ।
मेरो शोधप्रबन्ध लागि गुह्यसमाज तन्त्र को बारे लेख्नु मेरो क्षमताभन्दा धेरै बाहिर रहेको बुझेपछि, परम पावन दलाई लामाका कनिष्ठ गुरु क्याब्जे ठ्रिजाङ रिन्पोछेले मलाई बोधिसत्त्वको मार्गको क्रमबद्ध चरणहरू, लम-रिम अध्ययन गर्न सल्लाह दिनुभयो। गेशे ङवाङ धर्ग्ये शार्पा (Sharpa) र खमलुङ (Khamlung) रिन्पोछेका गुरु हुनुहुन्थयो। उहाँहरूले मेरो तर्फबाट उहाँलाई मलाई लम-रिम पढाउन सहमत हुनुहुन्छ कि भनेर सोध्दा उहाँले कृपापूर्वक सहमति दिनुभयो। म उहाँको पहिलो पश्चिमी विद्यार्थी थिएँ।
गेशे धार्ग्ये एउटा परित्यक्त माटो र गोबरले बनेको गाईकोखोरमा बस्नुहुन्थ्यो, जहाँ एउटा कोठामा उहाँको खाटका लागि मात्र ठिक्क हुने र त्यसको छेउमा विद्यार्थीहरूले भुइँमा बस्न सक्ने सानो ठाउँ मात्र थियो। उहाँका दाँतविहीन तर सधैं हँसिलो खाना पकाउने खेडुप थर्चिन (Khedup Tarchin) अझ सानो भान्साकोठामा बस्ने गर्थे। हामीले गेशे धर्ग्येलाई “बहुमूल्य ज्येष्ठ” भनेर सम्बोधन गर्ने गेन रिन्पोछे भन्थ्यो। उहाँ युवा टुल्कुहरूको गुरुका रूपमा प्रसिद्ध हुनुहुन्थ्यो। नौ जना टुल्कुहरू उहाँको हेरचाहमा थिए र विवादकर्ता विद्वान तथा साधकका रूपमा प्रख्यात हुनुहुन्थ्यो। त्यसैले म उहाँ पूर्ण योग्य हुनुहुन्छ भन्नेमा ढुक्क थिएँ।
मेरो पाठहरू हप्तामा छ दिन हुन्थ्यो। शार्पा र खमलुङले मेरो लागि अनुवाद गर्नुहुन्थ्यो, किनभने गेन रिन्पोछे खम्पाको गहिरो बोलीमा बोल्नुहुन्थ्यो जुन त्यतिबेला मेरो लागि लगभग नबुझिने थियो। अर्का युवा टुल्कु झाडो रिन्पोछे (Jhado Rinpoche) पनि मेरो पाठहरूमा सहभागी हुनुहुन्थ्यो। उहाँ पछि दलाई लामाको नामग्याल मठका मुख्य लामा बन्नुभयो र हाल ग्युतो तान्त्रिक मठका मुख्य खेन्पो लामा हुनुहुन्छ। हामी सबै गेन रिन्पोछेको खाटको छेउको सानो ठाउँमा कोचिएर बस्थ्यौं।
झुप्रो आफैंमा सधैं झिंगाहरूले भरिएको देखिन्थ्यो। त्यसले कोठामा म बाहेक अरू कसैलाई बाधा पुर्याएको देखिंदैनथ्यो। खमलुङ रिन्पोछेले वास्तवमा झिंगासँग खेल्नुहुन्थ्यो। उहाँले तिनीहरूलाई हातमा समात्नुहुन्थ्यो र त्यसमा उहाँ त्यसमा अत्यन्तै सिपालु हुनुहुन्थ्यो। तिनीहरूलाई हल्लाएर छोड्नुहुन्थ्यो र तिनीहरू चक्कर लागेर उड्थे र सबैजना हाँस्थे। म खासै रमाइलो मान्दिनथेँ। मेरो असहजता देखेर एक दिन गेन रिन्पोछे आफ्नो खाटमा उठेर झिंगाहरूलाई भगाउन हावामा आफ्नो लुगा जोडले हल्लाउनुभयो। त्यसपछि मलाई हेरेर हाँस्नुभयो। त्यसपछि मैले हाम्रा पाठहरूमा बढी ध्यान दिएँ र झिंगाहरूलाई बेवास्ता गर्न सिकेँ।
केही समयपछि मैले गेन रिन्पोछेलाई बस्नका लागि राम्रो ठाउँमा सर्न केही पैसा दिएँ। उहाँले स्नेहपूर्वक स्वीकार गर्नुभयो, तर रहस्यमयी हुनु र मजाक गर्न मन पराउनुहुन्थ्यो, त्यसैले उहाँले हामीमध्ये कसैलाई पनि कहाँ सर्नुभयो भनेर भन्नुभएन। उहाँ एक्कासि हराउनुभयो र हामीले उहाँलाई फेला पार्न कुर्दै बस्नुभयो। जब हामीले भेट्यौं, उहाँ ठट्टा गर्दै ठूलो आवाजमा हाँस्नुभयो। उहाँ ग्युमे तान्त्रिक गुम्बाको छेउमा रहेको टिनको झुपडीमा सर्नुभएको रहेछ, जुन ठूलो सुधार थियो। त्यहीँ मैले आफ्नो पढाइ जारी राखेँ र बेला–बेलामा युवा टुल्कुहरूसँगै हामी सुन्दर पहाडी घाँसे मैदानहरूमा लामो हिँडडुल र पिकनिकमा जान्थ्यौं। जेन रिन्पोछे पिकनिकलाई सधैं मन पराउनुहुन्थ्यो।
परम पावन दलाई लामालाई हाम्रो पाठहरूको बारेमा थाहा भयो र उहाँले हामीलाई प्रकाशनको लागि अंग्रेजीमा अनुवाद गर्न केही साना तिब्बती ग्रन्थहरू दिन थाल्नुभयो। त्यसपछि, १९७१ मा, परम पावनले धर्मशालामा तिब्बती सहित्य तथा अभिलेख पुस्तकालय स्थापना गराउनुभयो। हामी सबै त्यो शरद ऋतुमा धर्मशालामा थियौं र परम पावनले दिनुभएको केही गुह्यसमाज शिक्षाहरूमा सहभागी भएका थियौं, जब परम पावनले गेन रिन्पोछेलाई पुस्तकालयमा पश्चिमीहरूको लागि शिक्षक बन्न र शार्पा र खमलुङ रिन्पोछेहरूलाई अनुवादक बन्न भन्नुभयो। मैले म पनि सहयोग गर्न सक्छु कि भनेर सोधेँ, र परम पावनले सहमति जनाउनुभयो, तर मलाई पहिले हार्भर्ड फर्केर मेरो शोधपत्र बुझाउन र डक्टरेट डिग्री लिएर त्यसपछि फर्केर आउन सिफारिस गर्नुभयो। मैले त्यसै गरें र अर्को वर्ष फर्केर आएँ, धर्मशालामा गेन रिन्पोछे र दुई टुल्कुहरूसँग सामेल भएँ। सँगै, हामीले पुस्तकालयमा अनुवाद ब्यूरो विभाग स्थापना गर्यौं।
अर्को बाह्र वर्षसम्म, एक व्यापक अन्तर्राष्ट्रिय शिक्षण भ्रमण बाहेक, गेन रिन्पोछेले पुस्तकालयमा हप्तामा छ दिन पढाउनुभयो। मैले उहाँका लगभग सबै कक्षाहरूमा उपस्थित भएँ र उहाँले सिकाउनुभएको सबै कुराहरूको विस्तृत नोट लिएँ। त्यतिबेला, राष्ट्रमण्डल नागरिकहरूलाई भिसा बिना नै भारतमा बस्न सम्भव थियो, र त्यसकारण धेरै विद्यार्थीहरू वर्षौंसम्म धर्मशालामा बस्न सक्षम भए। यसले गेन रिन्पोछेलाई धेरै प्रमुख बौद्ध ग्रन्थहरूमा केही वर्षभरि चल्ने पाठ्यक्रमहरू सिकाउन र चलिरहेको ध्यान निर्देशनमा हामीलाई मार्गदर्शन गर्न सक्षम बनायो। उहाँले तान्त्रिक दीक्षाहरू र अभ्यासहरूमा विस्तृत शिक्षाहरू पनि दिनुभयो। हरेक केही हप्तामा, हामी उहाँसँग गुरु पूजा गर्न भेला हुन्थ्यौं, जसलाई कसरी गर्ने भनेर उहाँले हामीलाई सिकाउनुभयो। यो एक अविश्वसनीय समय थियो, हामी यो अनुपम अवसर पाएकोमा धेरै भाग्यमानी थियौं।
विशेष गरी स्मरणीय कुरा यो थियो कि गेन रिन्पोछे जहिले पढाउनुहुन्थ्यो त्यतिकै उत्साहित हुनुहुन्थ्यो, र उहाँले सधैं गहिरो व्याख्याहरूलाई सामान्य हाँसोमजाकसँग मिसाउनुहुन्थ्यो। हामीले उहाँले सिकाउनुभएका कुराहरू नसम्झिंदा उहाँले बारम्बार ती नै कुराहरू बुझाउनमा कहिल्यै थाक्नुभएन - यो करुणा र धैर्यताको प्रेरणादायी उदाहरण थियो। उहाँ अनुशासन र आफ्नो भिक्षुका व्रतहरूको बारेमा पनि अत्यन्त सावधान हुनुहुन्थ्यो। मध्यरातमा शौचालय जानको लागि उठ्दा पनि उहाँ आफ्नो भिक्षुको सुरुवाल औढ्नुहुन्थ्यो।
गेन रिन्पोछेले मलाई धेरै कठिन समयहरूमा सहयोग गर्नुभयो। जब छेन्शब सेर्कोङ रिन्पोछे स्पितिमा यति अचानक निधन हुनुभयो, म त्यो खबर सुने लगत्तै गेन रिन्पोछेको कोठामा गएँ। सेर्कोङ रिन्पोछे गेन रिन्पोछेको गुरुहरू मध्ये एक हुनुहुन्थ्यो। म भित्र पस्दा गेन रिन्पोछे केही तिब्बती साथीहरूसँग चिया पिउँदै र खुसीसाथ कुराकानी गरिरहनुभएको थियो। उहाँले मलाई बस्न भन्नुभयो र तिनीहरू नगएसम्म कुर्न भन्नुभयो। जब तिनीहरू गए र मैले उहाँलाई सेर्कोङ रिन्पोछेको मृत्युको खबर सुनेको भनेँ, उहाँले मलाई भन्नुभयो कि उहाँले पनि सुन्नुभएको थियो। त्यसपछि उहाँले आफ्नो माला समातेर आफ्ना मृत्यु भएका सबै गुरुहरूको नाम गन्न थाल्नुभयो। उहाँले भन्नुभयो मृत्यु सबैको लागि आउँछ, त्यो अचम्मको कुरा होइन। तर यदि हामीले हाम्रो गुरुहरू र तिनीहरूका उपदेशहरूलाई हाम्रो मुटुमा राखेका छौं भने, तिनीहरू शारीरिक रूपमा बितेर गए पनि, तिनीहरू सधैं हामीसँगै हुनुहुन्छ र जीवन चलिरहन्छ। यसले मलाई अत्यन्त ठूलो सहयोग पुर्यायो।
गेन रिन्पोछेले १९८४ मा पुस्तकालय छोड्नुभयो, न्युजिल्यान्डको डुनेडिन (Dunedin, New Zealand) मा बसोबास गर्न र पढाउन आएको निमन्त्रणा स्वीकार गर्नुभयो। उहाँ युरोप र उत्तर अमेरिकाबाट यति टाढा दुर्गम ठाउँमा जानुभएको उपयुक्त लाग्यो। उहाँलाई सधैं अलि रहस्यमय बन्न मन पर्थ्यो र विद्यार्थीहरूले उहाँलाई खोज्न र उहाँका शिक्षाहरू प्राप्त गर्न प्रयास गरोस् भन्ने चाहनुहुन्थ्यो।
गेन रिन्पोछे १९९५ मा निधन हुनुसम्म न्युजिल्यान्डमै बस्नुभयो। मधुमेहका रोगका (Diabetes) कारण उहाँको दृष्टि गुमाउनुभएको थियो, तर अन्तिम क्षणसम्म पनि उहाँले शिक्षादान र आफ्ना सबै दैनिक अभ्यासहरू कण्ठै गरेर निरन्तर जारी राख्नुभयो।
गेन रिन्पोछे न्युजिल्यान्ड सरेपछि मैले उहाँलाई केवल दुई पटक मात्र भेटेँ। तर सबै आधारभूत बौद्ध शिक्षा र अभ्यासहरूमा मलाई आधार दिनुभएकोमा र महान् भारतीय र तिब्बती ग्रन्थहरू सिकाउनुभएकोमा म सधैंका लागि कृतज्ञ छु। उहाँका पुनर्जन्म, याङ्सी रिन्पोछे, १९९६ मा जन्मिनुभयो र हाल दक्षिण भारतको सेरा जे गुम्बामा आफ्नो शिक्षा ग्रहण गरिरहनुभएको छ।