सेर्कोङ रिन्पोछेका बौद्ध अभ्यासकर्ताहरूका लागि सल्लाहहरू

आफ्नो आध्यात्मिक गुरु प्रति विचारशील हुनु

सेर्कोङ रिन्पोछेले सधैं सबै लामाहरूप्रति विचारशील हुन र उनीहरूको समय व्यर्थ नगर्ने कुरामा जोड दिनुहुन्थ्यो। उहाँले स्पितीका भक्तजनहरूको उदाहरण नअपनाउन सल्लाह दिनुहुन्थ्यो। जब उनीहरू रिन्पोछेलाई खादा चढाउन लाइन बस्थे, उनीहरू प्रत्येक व्यक्ति अलग्गै र प्रत्यक्ष उहाँको अगाडि पुगेसम्म प्रणाम गर्न पर्खिन्थे। यस्तो प्रक्रिया प्रायः घण्टौं लिन सक्छ। थप रूपमा, लामासँग प्रश्न गर्दा, रिन्पोछेले भन्नुहुन्थ्यो कि लामो कथा नबोल्ने वा देखावटी गर्नु हुँदैन। वास्तवमा, उहाँले मलाई यस्तो प्रश्नहरूको शाब्दिक रूपमा अनुवाद कहिल्यै नगर्न सिकाउनुहुन्थ्यो, केवल मुख्य कुरामा पुग्न निर्देशन दिनुभयो।

थप रूपमा, रिन्पोछेले पाहुनाहरूले सधैं उहाँलाई खदा र उहाँले "निकम्मा" भन्नुभएको बिस्कुटका बक्सहरू ल्याउन चाहनुहुन्नथ्यो। उहाँले भन्नुहुन्थ्यो कि लामालाई केही चढाउन चाहनेहरूले वास्तवमै राम्रो चीज चढाउनुपर्छ जुन त्यो व्यक्तिले प्रयोग गर्न सक्छ वा मन पराउँछ। यसबाहेक, यदि कसैले उहाँलाई बारम्बार भेटिरहन्छन, जस्तै मैले भेटेको थिएँ, उहाँले केही नल्याउन भन्नुहुन्थ्यो। उहाँलाई केही चाहिएको थिएन वा आवश्यकता थिएन।

साधारण बुझाइ प्रयोग गर्नु र कुनै कुरा सफल नभएको खण्डमा वैकल्पिक योजनासहित तयारी हुनु

रिन्पोछेले सधैं मानिसहरूलाई साधारण बुझाइ प्रयोग गर्न सल्लाह दिनुहुन्थ्यो। यसैले, उहाँले मानिसहरूले सांसारिक कुराहरूको बारेमा उहाँसँग जोखना हेर्न आउँदा मन पराउनुहुन्नथ्यो। जोखना हेर्न उपयुक्त हुने एकमात्र अवस्था तब हो जब सामान्य उपायहरूले कुनै समस्याको समाधान गर्न सक्दैनन्, विशेषगरी आध्यात्मिक विषयहरूसँग सम्बन्धित भएमा। एकपटक मेरो भाडाको समस्या थियो र के गर्ने भनेर जोखना हेर्न अनुरोध गरेको थिएँ। रिन्पोछेले मलाई भगाउनुभयो, वकिललाई भेट्न जान भन्नुभयो।

त्यसैगरी, कुनै पनि गतिविधिको योजना बनाउँदा, रिन्पोछेले सधैं कम्तीमा तीनवटा सम्भावित उपायहरू तयार गर्न सुझाव दिनुहुन्थ्यो। यस्तो रणनीतिबाट प्राप्त लचिलोपनले कुनै योजना असफल भएमा हुने असहाय त्रासबाट जोगाउँछ। धेरैवटा विकल्प तयार हुँदा कम्तीमा एउटाले त काम गर्छ भन्ने आत्मविश्वासमार्फत सुरक्षित महसुस हुन्छ।

तथापि, शिष्यहरू कहिलेकाहीं जोखनामा निर्भर हुन्छन्, जसले गर्दा तिनीहरूले आफैं सोच्न नसक्ने अक्षमतालाई बढावा दिन्छन्। आफ्नो जीवनको जिम्मेवारीबाट नलिएर, यस्ता व्यक्तिहरूले कसैले आफ्ना निर्णयहरू गरिदियोस् भन्ने चाहन्छन्। महत्वपूर्ण निर्णयहरूको बारेमा आध्यात्मिक गुरुसँग सल्लाह लिनु प्रायः उपयोगी  हुन्छ भने, यो गर्ने सबैभन्दा स्थिर तरिका उहाँका मूल्यहरूलाई आत्मसात् गर्नु हो। लामा नभएको बेलामा पनि, यी मूल्यहरू सधैं हातमा हुन्छन् र बुद्धिमानी कार्यक्रम निर्धारण गर्न सहयोग गर्छन्।

रिन्पोछेले विशेषगरी मानिसहरूले एउटै प्रश्नमा आफूलाई चाहिएको उत्तर नपाउँदासम्म धेरै लामाहरूसँग जोखना हेर्नु अनुरोध गरिरहन नपरोस् भनेर सल्लाह दिनुहुन्थ्यो। जोखनाको अनुरोध गर्नुको  अर्थ भनेको लामाप्रति विश्वास र भरोसा देखाउनु हो। यसको मतलब भनेको उहाँले भन्नुभएका कुरामात्रै गर्नु हो। साथै, रिन्पोछेले यो पनि चेतावनी दिनुहुन्थ्यो कि कुनै लामासँग गएर "अरू गुरुहरूले यो गर्न भन्नुभएको छ, तपाईंको के विचार छ? म गर्नु ठीक हुन्छ?" भन्ने कुरा भन्नु हुँदैन। कुनै लामालाई अर्को आध्यात्मिक गुरु गलत ठहर्याउनुपर्ने असहज स्थितिमा राख्नु भनेको संवेदनशीलताको अभाव देखाउनु हो।

प्रश्नहरू सही तरिकाले सोध्न सिक्नु

वास्तवमा, अधिकांश पश्चिमेलीहरूले लामाहरूसँग प्रश्नहरू सही तरिकाले सोध्न जान्दैनन्। जब तिनीहरू आएर मूर्खतापूर्वक कुराहरू सोध्थे, रिन्पोछेले प्रायः उनीहरूलाई सच्याउनुहुन्थ्यो। उदाहरणका लागि, यदि कसैलाई कुनै अभिषेकमा सहभागी हुने कि नहुने थाहा छैन भने, "यो अभिषेकमा सहभागी हुनु राम्रो हो?" भनेर सोध्नु हास्यास्पद छ। निस्सन्देह त्यो राम्रो हो। कसैले त्यो नराम्रो छ भन्न सक्दैन। र यदि कसैले "म जानूँ कि नजानूँ?" भनेर सोध्छ भने, यसको अर्थ "मेरो सहभागी हुने बाध्यता छ कि छैन?" हुन्छ। कसैको पनि सहभागी हुने बाध्यता हुँदैन। यस्ता विषयहरूमा आध्यात्मिक गुरुको सल्लाह माग्दा, सबैभन्दा राम्रो भनेको "तपाईंले मलाई के गर्न सल्लाह दिनुहुन्छ?" भनेर सोध्नु हो।

यसबाहेक, जब कुनै लामासमक्ष गई उहाँले दिन लागेको अभिषेक लिन अनुमति मागिन्छ, त्यतिबेला "के म दीक्षा लिन सक्छु वा सक्दिन?" भनेर सोध्नु मूर्खतापूर्ण हुन्छ। यसको मतलब "के म सक्षम छु वा छैन?" हुन्छ, जुन पूर्ण रूपमा बेतुका हो। सही तरिका भनेको "कृपया म अभिषेक लिन सक्छु?" भनेर सोध्नु हो। विदेशी भूमिमा बस्नको लागि भिसा विस्तारको लागि निवेदन गर्दा, केवल मूर्खले मात्र "के म धेरै समय बस्न सक्छु वा सक्दिन?" भनेर सोध्छ। परिपक्व तरिका भनेको "तपाईंको कृपाले, म अझै केही समय बस्न चाहन्छु" भनेर अनुरोध गर्नु हो।

टर्नरले लगातार केही महिनासम्म रिन्पोछेलाई दुख दिँदै षठभुजा महाकालको आह्वान गर्ने अनुमति विधि दिन आग्रह गरे। अन्ततः रिन्पोछेले सहमति जनाउनुभएपछि टर्नरले दैनिक जपको वचनबद्धता के हुने हो भनेर सोधे र रिन्पोछेले उनलाई झन्डै पिट्नु भयो, गाली गर्दै भन्नुभयो कि उसले प्रतिबद्धताको रूपमा जे भए पनि गर्न इच्छुक हुनुपर्छ।

वचनबद्धता गर्नु अघि जाँच गर्नु

जब पश्चिमीहरूले अभिषेकबाट आउने जाप वचनबद्धताको बारेमा मोलमोल गर्न खोज्थे तब रिन्पोछे धेरै असन्तुष्ट हुनुहुन्थ्यो। उहाँले सधैं कुनै विशेष बुद्ध आकृतिको अभिषेक लिनु भनेको सबैको हितको लागि ज्ञान प्राप्त गर्न यसको अभ्यासमा संलग्न हुने इमानदार इच्छाको कारणले मात्र हो भनेर जोड दिनुहुन्थ्यो। केवल "राम्रो अनुभुति पाउँला" भनेर वा सबैजना जान गएकै कारण सहभागी उहाँले बेतुका ठान्नुहुन्थ्यो। छोटो परिचयात्मक ध्यान शिवरि मात्र गरेर त्यसपछि ध्यान अभ्यासलाई बिर्सने मनसायले जाने कुरा पनि अनुचित हो। कुनै विशेष तान्त्रिक अभ्यासको वचनबद्धता भनेको सम्पूर्ण जीवनभरको लागि हो। 

रिन्पोछेले आध्यात्मिक अभ्यास र गुरुहरूलाई संलग्न हुनु अघि नै राम्ररी परीक्षण गर्नुपर्छ, पछि मात्रै जाँच्नु हुँदैन भनेर जोड दिनुहुन्थ्यो।पश्चिमीहरूमा उहाँले देख्नुभएको मुख्य कमजोरी यही थियो। हामी प्रायः हतारमा काम सुरु गर्छौं। रिन्पोछेले चेतावनी दिनुहुन्थ्यो कि बरफ जमेको तालमा पागलजस्तो दौडेर छिर्ने अनि पछि मात्र लठीले थिचेर बरफ आफ्नो तौल धान्छ कि धान्दैन भनेर जाँच्ने जस्तो व्यवहार नगर्नू।

रिन्पोछेले भन्नुहुन्थ्यो कि मानिसहरूले जो कोहीको भए पनि शिक्षामा सहभागी हुन सक्छन् र शिष्टाचारका लागि गुरुको भिक्षु वस्त्र वा कोठामा रहेको बुद्ध-प्रतिमा अगाडि समेत नमन गर्न सक्छन्। तर त्यो गुरुको शिष्य हुनु भने अर्कै कुरा हो। उहाँले मलाई यो समेत भन्नुभएको थियो कि म कुनै पनि लामाको लागि अनुवाद गर्न सक्छु, तर कसैको काम गर्नु भनेको उसलाई मेरो आध्यात्मिक गुरु बनाउँदैन। यो कुरा सत्य नै हो, उहाँले स्पष्ट पार्नुभयो, चाहे मैले तान्त्रिक अभिषेककै अनुवाद गरे पनि, मुख्य कुरा भनेको शिष्यको गुरुप्रति भएको मनोभाव हो।

अपरिपक्व रूपमा भिक्षु वा भिक्षुणी बन्नबाट जोगिनु

रिन्पोछेले यो पनि महसुस गर्नुभएको थियो कि धेरै पश्चिमीहरू पर्याप्त जाँचबुझ नगरी छिट्टै बौद्ध भिक्षु वा भिक्षुणी बन्छन्। यो जीवनभरका लागि आफूले रोजेको सही मार्ग हो वा होइन भन्ने कुरा नसोचिकन, प्रायः उनीहरूले आफ्नो दीक्षाले आमाबाबुलाई कस्तो असर पार्छ वा भविष्यमा आफूलाई कसरी धान्ने भन्ने विषयमा ध्यान दिंदैनन्। निस्सन्देह, यदि कोही विगतका महान त्यागी साधकहरूझैं छ भने, उसले परिवार वा पैसाजस्ता कुरा विचार गर्नुपर्दैन। तर हामी मिलारेपा हौं वा होइनौं भन्ने कुरा आफैंलाई थाहा हुन्छ।

यस सन्दर्भमा, रिन्पोछेले प्रायः द्रुबकाङ गेलेग-ग्याछोको उदाहरण दिनुहुन्थ्यो। यी महान् तिब्बती गुरुले आफ्नो युवावस्थामा भिक्षु बन्न चाहनुहुन्थ्यो, तर उहाँका परिवारले असहमति जनाए र धेरै दुखी भए। त्यसैले उहाँले आफ्ना आमाबाबुको जीवनकालमा राम्रोसँग सेवा गर्नुभयो र तिनीहरूको निधन भएपछि, उहाँले आफ्नो सम्पत्ति योग्य कार्यहरूमा दान गर्नुभयो। त्यसपछि मात्र उहाँ भिक्षु बन्नुभयो।

रिन्पोछेले सधैं हाम्रो आमाबुबालाई सम्मान गर्ने र सेवा गर्नेमा जोड दिनुहुन्थ्यो। पश्चिमी बौद्धहरूको रूपमा, हामी सजिलै भन्छौं कि सबैलाई पूर्व जन्ममा हाम्रो आमाबाबु भएको रूपमा चिन्नुपर्छ र तिनीहरूको दयाको प्रतिदान गर्ने कुरा बोल्छौं। तर व्यक्तिगत स्तरमा, हामी मध्ये धेरैले यस जन्मका आफ्ना आमाबाबुसँग पनि राम्रो सम्बन्ध राख्न पनि सक्दैनौं। आफ्ना आमाबाबुको सेवा गर्नु र दयालु हुनु, रिन्पोछेले सिकाउनुभयो, वास्तवमा यो एउटा महान् बौद्ध अभ्यास हो।

यदि कसैले पहिले नै राम्ररी अनुसन्धान गरेर भिक्षु वा भिक्षुणी बन्छ, वा कसैले पहिले नै भिक्षु दीक्षा लिएको छ भने, रिन्पोछेले चमेरो जस्तै आधा मनले नबस्न भन्नुहुन्थ्यो। जब चमेरो चराहरू माझ हुन्छ र तिनीहरूले गरिरहेको कुरा पछ्याउन मन लाग्दैन, त्यो भन्छ, "ओह, म त्यो गर्न सक्दिन। मेरो दाँत छ।" जब मुसाहरू माझ हुन्छ, त्यो भन्छ, "ओह, म त्यो गर्न सक्दिन। मेरो पखेटा छ।" यो उदाहरण जस्तै व्यवहार गर्नु भनेको सुविधाको लागि मात्र भिक्षुको पोशाक प्रयोग गर्नु हो। जब त्यस्ता व्यक्तिहरूलाई केही गृहस्थ गतिविधिहरू मन पर्दैन, जस्तै आफ्नो आर्थिक सहायता गर्नु, तिनीहरूले आफ्ना पोशाकको बहाना गर्छन्। जब तिनीहरूले केही भिक्षु कार्यहरू वा रूपहरूको वास्ता गर्दैनन्, जस्तै लामो पूजामा सहभागी हुनु वा पोशाकमा यात्रा गर्नु, तिनीहरूले पश्चिमी भएको बहाना गर्छन्। रिन्पोछेले भन्नुहुन्थ्यो, "तपाईं कसलाई मूर्ख बनाउँदै हुनुहुन्छ?"

आध्यात्मिक अभ्यासमा संलग्न हुनु काम नपाउनुको बहाना होइन

यसको अर्थ बौद्ध साधकहरूले काम गर्नु हुँदैन भन्ने होइन भनेर रिन्पोछेले स्पष्ट पार्नुभयो। गृहस्थ वा भिक्षु जो भए पनि सबै व्यावहारिक र यथार्थवादी हुनु आवश्यक छ। रिन्पोछेले शिक्षा दिनुभयो कि हामीले शरीरलाई भन्दा मन र वाणीलाई कसरी प्रयोग गर्छौं भन्ने कुरा धेरै महत्वपूर्ण हुन्छ। त्यसैले उहाँले आफूलाई धान्नुपर्ने गहन साधकहरूलाई साधारण काम गर्न सल्लाह दिनुभयो। काम गर्दा हामी मन्त्र जप्न सक्छौं र आत्मीय भावना तथा दयालु विचारहरू विस्तार गर्न सक्छौं। काम गर्ने बेला शिक्षालाई सम्झन गाह्रो भए पनि यदि हामीले तान्त्रिक दीक्षा प्राप्त गरेका छौं भने कम्तीमा आफ्नै स्वरूपलाई रुपान्तरण गर्न सक्छौं। दिनभर हामी आफूलाई बुद्धको स्वरूपमा र वरिपरिको वातावरणलाई आध्यात्मिक विकासका लागि उपयुक्त शुद्ध भूमि ठान्न प्रयास गर्न सक्छौं। अनि बिहान सबेरै र राति हामी विस्तृत साधनाको ध्यान गर्न सक्छौं। रिन्पोछेले सधैं बौद्ध धर्मलाई जीवनबाट अलग नगर्नु पर्ने कुरामा जोड दिनुभयो।

कैयौं वर्षसम्म टर्नरले इंग्ल्यान्ड (England) मा बेरोजगार अवस्थामा, सामाजिक सहयोगमा, आफ्नी श्रीमती र दुई छोराछोरीसँग जीवन बिताए। उनले आफ्नो लगभग सबै समय गहन ध्यान अभ्यासमै बितए। उनको सोच थियो, "मैले शिक्षाको अभ्यास गर्न सक्दा किन काम गरेर समय खेर फाल्ने?" यसअघि उनले रिन्पोछेबाट धनसँग सम्बन्धित संरक्षक सेतो महाकालाको अनुमति अनुष्टान प्राप्त गरेका थिए र दैनिक आफ्ना आर्थिक समस्याहरू समाधान होस् भनेर प्रार्थना गर्थे। तर रिन्पोछे यस कुरामा बिलकुल खुशी हुनु भएन। उहाँले भन्नुभयो, यो त बिरामीले औषधि नखाईकन औषधि बुद्धसँग निको होस् भनेर प्रार्थना गरेको जस्तै हो। उहाँले टर्नरलाई काम गर्न र बिहान बेलुकी छोटो समयमा मात्र गहिरो अभ्यास गर्न भन्नुभयो। त्यसपछि मात्र सेतो महाकालालाई स्मरण गर्दा उनको काम आर्थिक दृष्टिले सफल हुने बताउनुभयो।

सधैं व्यावहारिक र प्रभावकारी हुनु

रिन्पोछेले मानिसहरू व्यावहारिक र प्रभावकारी हुनुपर्छ, अन्यमनस्क हुनु हुँदैन भन्नुहुन्थ्यो। त्यसैले उहाँले सधैं अभ्यास र मन्त्रपाठ छिटो गर्नुपर्नेमा जोड दिनुहुन्थ्यो। एकपटक इटालीको मिलान (Milan, Italy) स्थित घेफेललिङ केन्द्र (Ghepheling Center) मा विद्यार्थीहरूले रिन्पोछेलाई आफ्नो मार्गको चरण (लम-रिम) र अवलोकितेश्वर अभ्याससम्बन्धी पाठ्यक्रमको अन्त्यमा ध्यान सत्र नेतृत्व गर्न अनुरोध गरे। रिन्पोछेले सहमति जनाएर तिनीहरूलाई छ गुना प्रक्रियाबाट अवलोकितेश्वरको स्वरूपमा आफूलाई उत्पन्न गर्न र लमरिमका दर्जनौं बुँदाहरूमा दुई मिनेट ध्यान गर्न निर्देशन दिनुभयो। विद्यार्थीहरूले आश्चर्य प्रकट गरी यस्तो ठूलो अभ्यासका लागि समय छोटो भएको भन्दै आपत्ति जनाएपछि रिन्पोछेले सम्झौता गर्दै भन्नुभयो, "ठिक छ, तीन मिनेट गर।" उहाँले व्याख्या गर्नुभयो कि कुशल साधकले घोडामा चढ्दा खुट्टा काठीमाथि राख्ने समयमै सम्पूर्ण लमरिम समेट्न सक्छ। मृत्यु आउँदा, सुस्त गतिमा दृश्यकल्पना मिलाएर ध्यान बस्ने समय हुँदैन।

हाम्रो बौद्ध अभ्यासमा यथार्थपरक हुनु

रिन्पोछेले बौद्ध अभ्यासका सबै पक्षहरूमा यथार्थवादी हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो। यो विशेष गरी महत्वपूर्ण हुन्छ जब हामी अरूलाई लाभ पुर्‍याउन चाहने बोधिसत्व बन्ने आकांक्षा राख्छौं। यद्यपि हाम्रो तर्फबाट हामी सधैं मद्दत गर्न इच्छुक हुनुपर्छ, हामीले सम्झनुपर्छ कि अरूको हाम्रो सहायताको लागि खुलापन र अन्ततः हाम्रो प्रयासको सफलता तिनीहरूको कर्ममा निर्भर गर्छ। पहिलेका ढाँचाहरू जसले तिनीहरूको दिमागलाई सर्तमा राखेको छ। त्यसैले, रिन्पोछेले हामीलाई चासो नराखेका विषयहरूमा वा अरूले हाम्रो सहायता लिन इच्छुक नभएका बेला मद्दत गर्ने प्रस्ताव गर्नबाट सावधान गराउनुभयो। हाम्रो हस्तक्षेपले केवल असन्तुष्टि ल्याउनेछ र यदि हाम्रो मद्दत असफल भयो भने, सबै दोष हामीमाथि आउँछ।

हामीले गर्न सक्नेभन्दा बढी वाचा नगर्नु

सबैभन्दा राम्रो कम प्रोफाइल राख्नु राम्रो हुन्छ। हामी अरूलाई मद्दत गर्न इच्छुक छौं भनेर जनाउन सक्छौं र यदि तिनीहरूले सोधे भने, हामी निश्चय नै तिनीहरूको मामिलाहरूमा संलग्न हुन सक्छौं। तर हामीले आफूलाई "भाडामा लनिने बोधिसत्व" को रूपमा प्रचार गर्नबाट बच्नुपर्छ। राम्रो भनेको दैनिक ध्यान अभ्यास गर्नु र नम्रताका साथ बाँच्नु हो। रिन्पोछेले विशेष गरी हामीले पूरा गर्न सक्ने भन्दा बढी गर्ने वाचा गर्न वा भविष्यमा केही काम गर्छौं वा पूरा गर्छौं भनेर सार्वजनिक गर्नबाट चेतावनी दिनुभयो। यसले केवल अधिक बाधाहरू सिर्जना गर्छ र अन्तमा यदि हामीले घोषणा गरेको कुरा साकार पारेनौं भने, हामी आफैंलाई मूर्ख बनाउँछौं र सबै विश्वसनीयता गुमाउँछौं।

हामीले गर्न सक्ने भन्दा बढी गर्ने वाचा नगर्ने यो कुरा विशेष गरी हाम्रा आध्यात्मिक गुरुहरूसँगको सम्बन्धमा अझ बढी सान्दर्भिक छ। रिन्पोछेले सधैं आश्वघोषको "आध्यात्मिक गुरुबारे पचास श्लोक" का दिशानिर्देशहरू पालना गर्न भन्नुभयो, जुन उहाँले आफ्नो ध्यान अभ्यासको भागको रूपमा दैनिक पाठ गर्नुहुन्थ्यो। यदि हाम्रा गुरुहरूले हामीलाई कुनै कारणले गर्न नसक्ने कुरा गर्न भन्नुभयो भने, हामी किन पालना गर्न असमर्थ छौं भने कुरा नम्रता र शिष्टताका साथ स्पष्ट गर्नुपर्छ। रिन्पोछेले जोड दिनुभयो कि आध्यात्मिक गुरुप्रति पूर्ण हृदयले प्रतिबद्धताको अर्थ दास वा रोबोट बन्नु होइन, बल्कि आफ्नै खुट्टामा उभिन सिक्नु, आफैं सोच्न सिक्नु र बुद्धत्व प्राप्त गर्नु हो। यदि हामी हाम्रो गुरुहरूले सुझाव दिएको कुरा गर्न असमर्थ छौं भने, हामी आफ्ना गुरुहरूलाई निराश पारिरहेका छौं र त्यसैले हामी खराब शिष्य छौं भनेर दोषी महसुस गर्नु पूर्णतया अनुपयुक्त छ। उचित आध्यात्मिक गुरु अनुचित तानाशाह हुँदैन।

यदि हामीले कसैका लागि केही गर्न सहमत भयौं भने, चाहे गुरुहरूको लागि होस् वा अरू कसैका लागि होस्, रिन्पोछेले सुरुदेखि नै सबै कुरा स्पष्ट पार्न सुझाव दिनुभयो। यदि हामी भोली भालाइ दयालु बनेर सहमत भयौं र त्यसपछि मात्र, काम गर्दै गर्दा वा सकेपछि, केही प्रतिफलको अपेक्षा छ भनेर घोषणा गर्‍यौं भने, त्यो विपत्तिको कारण हुन्छ। रिन्पोछेले सिकाउनुभयो कि यदि हामी व्यावहारिक र यथार्थवादी भएर, काम अघि नै सोच्ने बानी बसाल्छौं भने सांसारिक र आध्यात्मिक दुवै कार्य राम्रोसँग अघि बढ्छन्। यदि हामी अव्यावहारिक र अवास्तविक भएर, बिना सोच-विचार हतारमा लाग्छौं भने, न सांसारिक कुरा सफल हुन्छ न त आध्यात्मिक।

बौद्ध केन्द्रहरूका लागि सल्लाह

रिन्पोछेले पश्चिमी बौद्ध केन्द्रहरूप्रति पनि यस्तै दृष्टिकोण अपनाउन सुझाव दिनुभयो। उहाँले उनीहरूलाई सम्भवतः कार्यान्वयन वा पूरा गर्न नसक्ने परियोजनाका ऋण र वाचाहरूको बोझ बोक्ने गरी अति ठूलो नहुन सल्लाह दिनुभयो। उहाँले सानो र विनम्रताका साथ सुरु गर्न र दुर्गम ग्रामीण क्षेत्रहरूमा स्थापना गर्ने प्रलोभनलाई ईन्कार गर्न भन्नुभयो।  बौद्ध केन्द्रहरू शहरमा बस्नेहरूको पहुँचमा सजिलो हुनुपर्छ, र त्यहाँका बासिन्दाहरूले नजिकै रोजगारी पाउन सक्ने स्थानमा हुनुपर्छ। आवश्यक परे समूहले केन्द्र बेचेर ठूलो किन्न सक्छ, तर सबै कुरा उचित समयमा हुनुपर्छ।

बौद्ध केन्द्रहरूको उद्देश्य सर्कसको जस्तै दिखावटी विज्ञापनले ठूलो भीडलाई आकर्षित गर्नु होइन। रिन्पोछेले सधैं इमानदार विद्यार्थीहरूको सानो समूहलाई प्राथमिकता दिनुभयो। थप रूपमा, आध्यात्मिक गुरु छान्दा मुख्य कुरा गुरु कत्तिको मनोरञ्जक छन् वा उहाँले सुनाउने कथाहरू कत्तिको हास्यास्पद छन् भन्ने होइन। यदि हामी हाँस्न चाहन्छौं वा केही विचित्र कुरा हेर्न चाहन्छौं भने, हामी सर्कसमा जोकरहरू हेर्न जान सक्छौं वा साइड शो हेर्न जान सक्छौं।

Top