रिन्पोछेका बुबा सेर्कोङ दोर्जेचाङका अतिप्राकृतिक शक्तिहरू
सेर्कोङ रिन्पोछेले आफूलाई योगी वा विशेष शक्ति भएको भनेर कहिल्यै दाबी गर्नुभएन। यदि यसो गर्ने कसैको उदाहरण चाहिएको भए, उहाँले भन्नुभयो कि केवल टाढाको विगतमा मात्र हेर्नु पर्दैन। उनका पिता, सेर्कोङ दोर्जेछाङ, स्पष्ट उदाहरण हुनुहुन्थ्यो। गदेन जाङ्चे मठमा भिक्षु हुँदादेखि नै उहाँका पिताले अनुत्तरयोग तन्त्रको त्यो स्तर हासिल गर्नुभएको थियो जसमा गहिरो चेतनाको तहमा पुग्नका लागि संगिनीसँग विशेष योग अभ्यास गर्न सकिन्थ्यो। यो सम्पूर्ण चरणको उन्नत बिन्दुले सूक्ष्म ऊर्जा प्रणालीमाथि पूर्ण निपुणता चहिन्छ, जसमा भित्री र बाहिरी दुवै पदार्थ र ऊर्जामाथि सम्पूर्ण नियन्त्रण हुन्छ। उहाँको ब्रह्मचर्य व्रतले सामान्यतया यस प्रकारको अभ्यासलाई निषेध गर्ने गर्थ्यो। तेह्रौं दलाइ लामाले उहाँको सिद्धिको प्रमाण माग्दा, सेर्कोङ दोर्जेछाङले याकको सिङ गाँठो हालेर प्रस्तुत गर्नुभयो। तेह्रौं दलाइ लामा विश्वस्त भएर उहाँलाई यस स्तरमा अभ्यास गर्दा पनि मठीय सम्पत्ति कायम राख्न अनुमति दिनुभयो। रिन्पोछेले सिधा तरिकाले भन्नुभएको थियो कि बाल्यकालमा उनीहरूको घरमा त्यो सिङ राखिएको थियो।
सेर्कोङ दोर्जेछाङलाई एघारौं शताब्दीका अनुवादक मार्पाको पुनर्जन्मको रूपमा व्यापक रूपमा चिनिन्थ्यो। सेर्कोङ रिन्पोछे आफ्ना पिताको परम्परा निरन्तरता दिन जन्मनुभएको थियो र उहाँलाई मार्पाका प्रख्यात छोरा धर्म-दोदेको पुनर्जन्मको रूपमा पनि हेरिन्थ्यो। तर, रिन्पोछेले यो कुरा मलाई कहिल्यै भन्नुभएन, न त आफैंलाई पितासँग तुलना गर्नुभयो। यद्यपि रिन्पोछेको मौनताका बाबजुद, उहाँको नजिकको मानिसहरूलाई उहाँले सूक्ष्म ऊर्जा–वायुमा नियन्त्रण राख्नु भएको र असाधारण शक्तिहरू भएको स्पष्ट थियो। रिन्पोछेले इच्छा अनुसार तुरुन्त निदाउन सक्ने क्षमता यसको एउटा प्रमाण थियो। एकपटक रिन्पोछेले अमेरिकाको विस्कन्सिन राज्यको म्याडिसन (Madison, Wisconsin) शहरमा भएको स्वास्थ्य परीक्षणका क्रममा ईलेक्ट्रोकार्डियोग्राम गर्नुभयो। परीक्षणका लागि पल्टिनुहुन्दा सक्रिय र सतर्क हुनुहुन्थ्यो। तर चिकित्सकले आराम गर्न भन्नासाथ केही सेकेन्डमै उहाँ घुराउन थाल्नुभयो।
रिन्पोछेका आफ्नै अतीन्द्रिय क्षमताहरू
रिन्पोछेको भविष्य जान्ने अतीन्द्रिय क्षमताहरू धेरै उदाहरणहरूमर्फत देख्न सकिन्छ। रिन्पोछे परम पावनका गुरुहरूमध्ये एक मात्र नभएर उहाँका आमासहित परम पावनका परिवारका धेरै सदस्यहरूलाई कहिलेकाहीं सिकाउनुहुन्थ्यो। प्रोटोकल अनुसार रिन्पोछेले सामान्यतया औपचारिक भेटघाटको समय नतोक्दासम्म कहिल्यै आदरणीय आमालाई भेट्न जानुहुन्नथ्यो। तर आदरणीय आमाको मृत्यु हुनुअघि, रिन्पोछेले उहाँको अवस्था बुझेर शिष्टाचार तोडेर अप्रत्याशित रूपमा उहाँलाई अन्तिम भेट गर्नुभयो।
एक पटक रिन्पोछे फ्रान्सको लावाउर (Lavaur, France) मा रहेको वज्रयोगिनी इन्स्टिच्युट (Vajrayogini Institute)मा शिक्षण गरिरहनु भएको थियो र पेरिस (Paris) जानु अघि केही दिनको विश्राम थियो। म अगाडि पेरिस गएर साथीहरूलाई भेट्न चाहन्थेँ र कसैले मलाई लैजान प्रस्ताव गरेको थियो। जब मैले आइतबार पेरिस जान अनुमति मागेँ, रिन्पोछेले भन्नुभयो, "धेरै राम्रो, तिमी सोमबार पेरिस जाँदैछौ।" मैले जवाफ दिएँ, "होइन, होइन। म भोलि आइतबार जान्छु," रिन्पोछेले फेरि भन्नुभयो, "धेरै राम्रो, तिमी सोमबार जाँदैछौ।" त्यसपछि मैले सोधेँ, "के आइतबार जानुमा केही समस्या छ? म स्थगित गरेर सोमबार जाउँ?" रिन्पोछेले हाँस्नुभयो र भन्नुभयो, "होइन, होइन। यसले खासै फरक पार्दैन।"
त्यसपछि म आइतबार पेरिसतर्फ निस्किएँ। बाटोको बीचमा कार बिग्रियो। फ्रान्समा आइतबार अटो ग्यारेजहरू बन्द हुने भएकाले हामी एउटा सानो गाउँमा रात बिताउनुपर्यो। सोमबार बिहान कार मर्मत गरायौं र रिन्पोछेले पूर्वानुमान गरेझैं, म पछि सोम्बारमै पेरिस पुगें।
रिन्पोछेले कहिलेकाहीँ टाढाको कुराहरू देख्न सक्ने क्षमता प्रदर्शन गर्नुहुन्थ्यो। एक दिन धर्मशालामा तुषिता ध्यान केन्द्र (Tushita Retreat Center) का निर्देशकले रिन्पोछेलाई एउटा अनुष्ठानको नेतृत्व गर्न निमनत्रणा दिइन्। जिप केन्द्रको नजिक पुग्दा रिन्पोछेले भन्नुभयो, "छिटो! मन्दिरको कोठा जाँच गर्न जाऊ! एउटा मैनबत्ती खसेको छ!" निर्देशक छिर्नासाथ उनले साँच्चै एउटा मैनबत्ती ढलेको र आगो लाग्न लागेको पाईन्।
रिन्पोछेले मानिसहरूसँग आफ्नो कस्तो कार्मिक सम्बन्ध छ भन्ने मात्र महसुस गर्नुहुन्नथ्यो बल्कि कहिलेकाहीं अपरिचित व्यक्तिहरूको बारेमा पनि नभनिकन धेरै कुराहरू थाहा भएको देखाउनुहुन्थ्यो। एक पटक विस्कन्सिनको म्याडिसनमा (Madison, Wisconsin) मेरो एकजना पुरानो साथी पहिलो पटक रिन्पोछेलाई भेट्न आयो। मेरो साथीले बिल्कुल सामान्य व्यवहार गरे र उसले र मैले कहिल्यै रिन्पोछेलाई उसको गाँजा सेवन गर्ने बानीको बारेमा भनेका थिएनौं तर रिन्पोछेले मेरो साथीलाई त्यो लागूपदार्थ छोड्नुपर्छ भन्नुभयो। यसले उसको विकासमा हानि गरिरहेको थियो। रिन्पोछेले भेटेका सबै पश्चिमा मानिसहरूमध्ये मेरो साथी एक मात्र व्यक्ति थियो जसलाई उहाँले गाँजाको बारेमा सल्लाह दिनुभएको थियो।
मानिसहरूलाई आफ्नो कमजोरीहरू चिन्न र सुधार गर्न मद्दत गर्ने कुशल तरिकाहरू
रिन्पोछेलाई अरूमा धेरै हानिकारक बानी र प्रवृत्ति देखिए पनि, उहाँ सधैं मानिसहरूलाई आफ्ना गल्ती र कमजोरी देखाउन कुशल हुनुहुन्थ्यो। एक पटक, रिन्पोछे केही महिनाका लागि नेपालमा रहनु भएको बेला, म आफ्ना कामसँग सम्बन्धित व्यक्तिगत कठिनाइमा परेँ। पछि हामी बोधगयामा भेट्यौं जहाँ म परमपावनले दिनुभएको बोधिचर्यावतार सम्बन्धी उपदेशको अनुवाद गरिरहेको थिएँ। रिन्पोछेले मलाई मैले आफ्ना कामहरू पूर्णतया मूर्खतापूर्ण तरिकाले गरिरहेकोछौं प्रत्यक्ष भनिदिनुको सट्टा, रिन्पोछेले मैले अनुवाद गरिरहेको ग्रन्थतर्फ ध्यान दिनुभयो। पानाहरू पल्टाउँदै उहाँले केही शब्द देखाउनुभयो र ती शब्दहरूको अर्थ मलाई थाहा छ कि छैन भनेर सोध्नुभयो। ती शब्दहरू ठीक त्यही समस्यासँग सम्बन्धित थिए जुन म भोगिरहेको थिएँ। रिन्पोछेले तिनको पूरा अर्थ स्पष्ट पार्नुभयो र त्यसै मार्फत समाधानतर्फ लाग्ने बाटो देखाउनुभयो।
एक पटक एकजना धनी वृद्ध स्विस (Swiss) महिलाले रिन्पोछेलाई ज्युरिख (Zurich) को सबैभन्दा भव्य र महँगो डिपार्टमेन्ट स्टोरमा ट्याक्सीमा लगिन्। जब रिन्पोछे पसलबाट बाहिर निस्कनुभयो, उहाँले भन्नुभयो कि त्यहाँ कसैलाई वास्तवमै आवश्यक हुने एउटा पनि सामान छैन। त्यसपछि उहाँले ती महिलालाई सोध्नुभयो कि के उनीहरू ट्रली चढेर उनको घर फर्कन सक्छौं। सामान्यतया मानिसहरू कसरी यात्रा गर्छन् भन्ने हेर्न रमाइलो हुने थियो। लज्जित हुँदै ती महिलाले स्वीकार गर्नुपर्यो कि उनले जीवनभर कहिल्यै ट्रली चढेकी नै छैनन् र त्यसलाई कसरी प्रयोग गर्ने वा कहाँ झर्ने भन्ने समेत थाहा छैन। यसरी, रिन्पोछेले अत्यन्त कोमल तरिकाले उनलाई सामान्य जीवनसँग भएको दूरी देखाउनुभयो।
फेरि अर्को पटक, रिन्पोछेलाई ज्युरिख (Zurich) नजिकैको एक विशाल र ऐश्वर्यशाली हवेलीमा बस्न निमन्त्रणा गरियो। त्यस घरकी गृहिणी त्यस्तो दमघोट्ने ऐश्वर्यमा असहज महसुस गर्थिन्। उनी साधारण र भुइँमा टेकेर बाँच्न चाहन्थिन्। उनले घरको सबैभन्दा भव्य कोठा भएको ओक-प्यानल लगाइएको पुस्तकालयको कोठा रिन्पोछेलाई सुत्नका लागि तयार गरिन्।रिन्पोछेले हेर्ने बितिकै त्यहाँ सुत्न अस्वीकार गर्नुभयो र बरु झ्यालले घेरेको सनपोर्चमा सुत्ने आग्रह गर्नुभयो। उहाँले महिलालाई भन्नुभयो कि आफूलाई तम्बुमा बस्न कति मन पर्छ। उनको सनपोर्चले तल देखिने बगैँचा र तालको रमणीय दृश्यका कारण उहाँलाई तम्बुमा बसिरहेको अनुभव गरायो। यसरी, रिन्पोछेले उनलाई आफ्नो हवेलीले दिने सरल आनन्दहरूको कदर गर्न र त्यसको मजा लिन सहयोग गर्नुभयो।
अरूलाई सहयोग गर्ने बहुमुखी प्रतिभा
रिन्पोछेले जहाँ आवश्यकता पर्थ्यो र सम्भव थियो त्यहीँ अरूलाई सहयोग गर्नुहुन्थ्यो। इटलीको पोमाइया (Pomaia, Italy) मा सम्पन्न भएको धनसम्बन्धी देवी पहेंलो तारा अभ्यासको अनुमति समारोहमा, रिन्पोछेले अनुष्ठानका लागि चित्र बनाउने जिम्मा एक गरीब इटालियन कलाकारलाई दिनुभयो। यसरी गर्दा, सो कलाकारले यस ध्यान अभ्यासबाट समृद्धि प्राप्त गर्ने बलियो कर्म सम्बन्ध स्थापित गर्ने थिए। त्यही केन्द्रमा अर्को अवसरमा, रिन्पोछेलाई भेट्न आएको एक युवालाई, जसको आमाबाबुको घर हालै चोरी भएको थियो, सानो आर्थिक सहयोग दिनुभयो। यो उपहार उनको परिवारले पुनः सम्पत्ति पुनःस्थापना गर्ने शुभ सुरुवात हुने थियो। एलन टर्नर (Alan Turner) नामका एकजना नजिको बेलायती शिष्य, जसलाई तिब्बती भाषा सिक्ने क्षमता र चासोमा विश्वास थिएन, रिन्पोछेले तिब्बती वर्णमालाको मौखिक परम्परा दिनुभयो ताकि भविष्यमा कुनै अवसरमा त्यसको प्रभाव स्थापन होस्। र जब म आफ्नो तिब्बती अध्ययनमा एउटा स्तरमा पुगेर अघि बढ्न सकेको थिइनँ, रिन्पोछेसँग तिब्बती शब्दकोश पढ्न थाल्नुभयो र प्रत्येक शब्द प्रयोग गरेर वाक्य लेख्न लगाउनुभयो।
रिन्पोछे एउटा उत्कृष्ट कूटनीतिज्ञ पनि हुनुहुन्थ्यो। उहाँ भन्नुहुन्थ्यो, कसैले ईमानदारीपूर्वक केही अर्पण गरेमा स्वीकार गर्नुपर्छ, विशेष गरी अस्वीकार गर्दा कसैको मन दुख्नेछ भने र स्वीकार गर्दा कुनै हानी हुने छैन भने। त्यसैले, रिन्पोछेलाई मिठाई मन नपरे पनि, कसैले विशेषगरी उहाँका लागि केक बनाइदिए भने उहाँ उत्साहपूर्वक खानुहुन्थ्यो। वास्तवमा, यदि त्यसले कसैको आत्मविश्वासलाई फाइदा पुर्याउने भए, रिन्पोछेले ङवाङलाई सो व्यञ्जनको विधि लेख्न भन्नुहुन्थ्यो।
सबैभन्दा महत्त्वपूर्ण कुरा रिन्पोछे अत्यन्त खुला दिमागको र बहुपक्षीय हुनुहुन्थ्यो। उहाँलाई निमन्त्रणा दिने बौद्ध केन्द्र कुनै सम्प्रदायको भएता पनि काग्यु, न्यिङमा, साक्य, गेलुग, जेन वा थेरवाद उहाँले त्यो विशेष परम्पराको शैली अनुसार शिक्षा दिनुहुन्थ्यो। यो लचिलोपन बौद्ध धर्मको सीमाभन्दा बाहिर पनि फैलिएको थियो। एक पटक इटालीको मिलान (Milan, Italy) मा क्याथोलिक पृष्ठभूमि भएकी एक महिलाले सोधिन्, "अब मैले शरणगमन, बोधिचित्त र तान्त्रिक व्रत दुवै लिएको छु, अब म चर्च जानु गलत कुरा होरा?" रिन्पोछेले जवाफ दिनुभयो, "केही गलत छैन। यदि तिमी अर्को धर्मको प्रेम र करुणाका शिक्षाहरूमा ध्यान दिइरहेकी छौ भने के तिमी आफ्नो शरणागमन र व्रतहरूको दिशामा नै जाँदै हुनुहुन्न र?"