मानिसहरू बुद्धधर्मप्रति किन आकर्षित छन्

09:59
वर्तमान युगमा किन धेरै मानिसहरू बुद्धधर्मप्रति आकर्षित हुँदै गैरहेका छन्? अवश्य पनि यसका धेरै कारणहरू छन्, किनकि विश्वमा अनेक प्रकारका मानिसहरू छन् र हरेक मानिस एक अलग्गै व्यक्ति पनि हो जसका आफ्नै कारणहरू हुन्छन्। मलाई चाहिँ के लाग्छ भने धेरै मानिसहरू बुद्धधर्मप्रति आकर्षित भैरहेका छन् किनकि उनीहरूलाई आफ्नो जीवनमा समस्याहरू थपिँदै गैरहेको थाहा छ।

वर्तमान युगमा मानिसले भोग्ने समस्याहरू

केही समस्याहरू त्यस्ता छन् जो यो पृथ्वीमा जहिलेदेखि मानिसहरू छन्, त्यति बेलादेखि नै विद्यमान छन्। शायद त्योभन्दा पनि पहिलादेखि छन् जतिबेला यहाँ जनावरहरू मात्र थिए। उदाहरणका लागि, एक अर्कासँग सम्बन्ध स्थापित गर्ने समस्या, रिसका कारण उत्पन्न हुने समस्या, झगडा र विवादका कारण हुने समस्या आदि। यी तपाईं र मैले मात्र सामना गरिरहेका कुनै नौलो समस्या होइनन्, यी त सदा सर्वदा सबैले भोगिरहेका समस्या हुन्। तर अहिले केही नयाँ समस्याहरू थपिएका छन्, जस्तो कि आर्थिक संकट, युद्ध, आदि। मानिसहरू यी समस्या धेरै भन्दा धेरै मात्रामा भोगिरहेका छन्, र तिनको समाधान भेटिरहेका छैनन्। तिनलाई व्यक्तिगत तवरमा, खासगरी भावनात्मक र मानसिक स्तरमा, कसरी सामना गर्ने थाहा पाइरहेका छैनन्। हाल जे उपाय उपलब्ध छ, त्यसले उनीहरूलाई ती समस्याबाट पार लगाउन सकेको छैन।

तर अहिलेको समयको एक अभूतपूर्व प्रगति भनेको सञ्चार माध्यमको विकास हो। अहिलेको युगलाई हामी सूचनाको युग भन्छौं र सामाजिक सञ्जालको युग भन्छौं। यसको अर्थ हो, हामीसँग अनेक वैकल्पिक प्रणालीहरूबारे धेरै भन्दा धेरै सूचना उपलब्ध छ। परम पूजनीय दलाई लामा र अन्य कैयौं महान् बौद्ध अग्रणीहरू हालको युगमा हुनुहुन्छ, जो विश्वभर भ्रमण गरिराख्नु हुन्छ। उहाँहरूले आफूलाई त्यस्तो असाधारण स्तरमा विकसित गर्नुभएको छ कि आफ्नो देश नै गुमाउनु परेको लगायतका अत्यन्तै कठिन परिस्थितिमा पनि शान्त, स्थिर र मैत्रीपूर्ण चित्तका साथ रहन सक्नु हुन्छ। धेरै मानिसले यो सबै आफ्नै आँखाले प्रत्यक्ष देख्न पाएका छन्। एक सजीव व्यक्तिको जीवनबाट पाइने यस्तो प्रेरणा धेरै महत्त्वपूर्ण छ जुन इन्टरनेट तथा किताबहरूबाट मात्र पाइने जानकारीभन्दा बढी र अझै प्रभावकारी हुन्छ।

मानिसहरू बुद्धधर्मप्रति आकर्षित भैरहेका छन्। यसको मुख्य कारण के हो भने उनीहरू आफूले सामना गर्नु परेका समस्याहरूको समाधान खोजिरहेका छन्, र यो आशामा हुन्छन् कि बुद्धधर्मले उनीहरूलाई जीवन जीउने उपाय बताउनेछ। तपाईंको समाजका लागि बुद्धधर्म बिल्कुलै नयाँ कुरा होस् वा जनमानसले परम्परागत रूपमा मानिरहेको प्रणाली होस्, दुवै अवस्थामा यही कुरा देखिन्छ।


बुद्धधर्मको तार्किक पक्ष

मानिसका समस्याहरूको समाधान प्रस्तुत गर्ने सन्दर्भमा बुद्धधर्मलाई राखेर हेर्दा हामी पाउँछौं कि यसका फरक फरक पक्षले फरक फरक मानिसहरूलाई आकर्षित गर्छन्। परम पूजनीय दलाई लामाले बुद्धधर्मको तार्किक, विश्लेषणात्मक र व्यावहारिक पक्षहरूमा विशेष जोड दिनुभएको छ। धेरै मानिसलाई यो तरीकाले आकर्षित गर्छ। उहाँ भन्नुहुन्छ, बुद्धधर्मको पद्धति भनेको आधुनिक विज्ञानको पद्धतिजस्तै हो। दुवै पद्धतिमा सिद्धान्तहरूलाई अन्ध आस्था र भक्तिको भरमा ग्रहण गरिँदैन। दुवैमा वैज्ञानिक विधिहरूको अवलम्बन गरिन्छ। यसमा हामी तर्क र बौद्धिकता, गहिरो विश्लेषण र आफैंले व्यवहारमा प्रयोग गरेर हेर्ने वैज्ञानिक विधिको उपयोग गर्छौं। बुद्धधर्मले सिकाएका विधिहरूलाई बुझेर र तिनलाई प्रयोग गरेर हेरेपछि हामी थाहा पाउँछौं कि ती विधिहरूले साँच्चिकै नतीजा दिन्छन् कि दिँदैनन्, हामीलाई चित्तको शान्ति प्रदान गर्छन् कि गर्दैनन्, र हामीलाई अझ उत्तम तरीकाले समस्याको सामना गर्न सक्ने बनाउँछन् कि बनाउँदैनन्। हामी आफ्नो तरीकामा एकदमै व्यावहारिक हुन्छौं। आदर्शवादी होइन, बरु यथार्थ र वास्तविकतामा आधारित भई व्यावहारिक पद्धति अपनाउँछौं र हामीलाई आफ्नो जीवनमा के चीज साँच्चिकै सहयोगी हुन्छ, त्यसै अनुसार व्यवहार गर्छौं। 

यसका अतिरिक्त पारम्परिक बौद्ध शिक्षामा केही त्यस्ता कुराहरू रहेछन् जो आधुनिक विज्ञानको दृष्टिमा गलत छन् वा विज्ञानको नयाँ खोजसँग मेल खाँदैनन् भने ती कुराहरूलाई बौद्ध शिक्षाबाट हटाउन दलाई लामा खुशीसाथ तयार हुनुहुन्छ। यसको एक उदाहरण ब्रह्माण्डको स्वरूपका बारेमा बौद्ध दृष्टि हुन सक्छ। उहाँका अनुसार बौद्ध शिक्षाका यस्ता पक्षलाई आधुनिक विज्ञानको खोजले विस्थापित गर्न मिल्छ, किनकि यी दुईबीच कुनै विरोधाभाष छैन। आखिर बुद्धको जोड यथार्थमा थियो, कल्पनामा होइन। बुद्ध हामीलाई भूगोलशास्त्र पढाउन आउनु भएको थिएन, बरु उहाँको उद्देश्य हामीलाई आफ्नो जीवनका समस्याहरू सुल्झाउने शिक्षा दिनु थियो। हामी बस्ने ग्रहको नाप कत्रो छ, पृथ्वीबाट सूर्य र चन्द्रमाको दूरी कति छ, बौद्ध शिक्षाका यस्ता परम्परागत कुराहरू पच्चीस सय वर्ष पहिलेका मानिसले जसरी बुझ्थे, त्यही अनुसारले प्रस्तुत गरिएका थिए। यो विषयका यस्ता पारम्परिक पाठहरू धेरै महत्त्वपूर्ण छैनन्, ती बुद्धधर्मको मुख्य शिक्षाका अंग होइनन्। बरु परम पूजनीय दलाई लामाले वैज्ञानिकहरूलाई पुनर्जन्म लगायतका शिक्षालाई गलत प्रमाणित गर्न चुनौती दिनु भएको छ, र भन्नु भएको छ कि यो विषयलाई “मलाई विश्वास लाग्दैन” भन्दै त्यत्तिकै पन्छाउन मिल्दैन। “मलाई विश्वास लाग्दैन” भन्नु कुनै चीजको अस्तित्वलाई गलत प्रमाणित गर्ने ठोस आधार होइन। 

पीडा नियन्त्रणमा धेरै हदसम्म सहयोग पुर्याउने कैयौं विधिहरू बुद्धधर्ममा छन्। पीडा आफैंमा अवाञ्छित छँदैछ, तर त्यसमा भय पनि थपियो र पीडाका कारण हुने भावनात्मक आवेगले भित्रैदेखि जकड्यो भने स्थिति झनै खराब हुन्छ। पीडाको अवस्थामा श्वासमा ध्यान केन्द्रित गर्ने विभिन्न विधि बुद्धधर्मले सिकाउँछ जसबाट पीडा कम गर्न धेरै नै सहयोग पुग्छ। यस सम्बन्धमा परीक्षणहरू पनि गरिएका छन्, र विभिन्न अस्पतालहरूमा यी विधिहरूको प्रयोग भएको छ। यी विधिहरूबाट लाभ लिनका लागि यिनलाई बुद्धधर्मको संरचनाभित्र राख्नु र त्यसै रूपमा मात्र प्रस्तुत गर्नु पर्दैन। यी विधिहरूको उपयोग गर्नका लागि मानिसहरूलाई यो वा त्यो तरीकाले कुनै न कुनै मात्रामा बुद्धधर्मको शिक्षा दिइराख्नु पनि पर्दैन। यी विधिहरू सार्वभौमिक रूपमा उपलब्ध छन्, जुन सबै धर्म र आस्थाका सबै मानिसहरूले उपयोगमा ल्याउन सक्छन्। तर यी विधिहरू निकालिएका त बुद्धधर्मबाटै हुन्, त्यसैले यसको अभ्यास गर्ने मानिसहरू बुद्धधर्मप्रति केही आकृष्ट हुनु र यसमा के रहेछ भनी अलि विस्तारमा जान्न खोज्नु स्वाभाविक हो। मार्सल आर्टको अभ्यास गर्ने मानिसहरूले पनि यस्तै खोजी गरेको हामीले पाएका छौं। मार्सल आर्टको विद्या बौद्ध देशहरूमा विकसित भएको हो, त्यसैले यसको अभ्यास गर्ने धेरै मानिसले यो विद्याको विकास भएको बौद्ध पृष्ठभूमिबारे जान्ने अभिरुचि देखाएका छन्। 


आध्यात्मिक गुरुहरूबाट प्राप्त हुने प्रेरणा

तर कैयौं मानिसहरू त्यस्ता पनि छन् जसको मन धेरै तार्किक प्रवृत्तिको हुँदैन। उनीहरू जीवन एकदमै वैज्ञानिक पद्धति अनुसार चल्नुपर्छ भन्ने दृष्टिले सोच्दैनन्। त्यसैले उनीहरूलाई बुद्धधर्मको अन्य पक्षले आकर्षित गर्छ। यस्तो एक पक्षबारे थोरै संकेत मैले माथि महान् आध्यात्मिक गुरुहरूबाट प्राप्त हुने प्रेरणाको चर्चा गर्दा गरेको थिएँ। आजकल धेरै महान् आचार्यहरूले विश्वको भ्रमण गरिरहनु भएको छ, र उहाँहरूको शिक्षा पुस्तक र इन्टरनेटमा अडियो तथा भिडियो रेकर्डिङ्गको रूपमा उपलब्ध छ। यसबाट धार्मिक आस्थामा झुकाव राख्ने मानिसहरू ठूलो प्रेरणा प्राप्त गर्छन्। राजनीतिक वा आर्थिक वृत्तमा सुनिने वा भेटिने विभिन्न नेताहरूबाट निराश भएका धेरै मानिसको ध्यान यी बौद्ध आचार्यहरूतर्फ मोडिन्छ। यहाँ अरुतिर भन्दा शुद्ध पथप्रदर्शक पाइएला भन्ने ठूलो आशा उनीहरूको मनमा हुन्छ।

तर अवश्य पनि, हामी यथार्थवादी हुनुपर्छ। बौद्ध पृष्ठभूमिबाट आएका सबै आध्यात्मिक शिक्षकहरू पूर्णतया शुद्ध हुँदैनन्। किनकि उनीहरू पनि हामीजस्तै मानवहरू नै हुन्। त्यसैले उनीहरूको पनि सबल पक्षहरू र निर्बल पक्षहरू दुवै हुन्छन्। तर उनीहरूमध्ये धेरै जना साँच्चिकै असाधारण छन्। त्यसैले मानिसहरू यस्ता आचार्यबाट ज्यादै प्रभावित हुन्छन्। यस्ता आचार्यहरूमा परम पूजनीय दलाई लामा अग्रणी हुनुहुन्छ। उहाँहरूलाई देख्दा कतिपय मानिसको मन मस्तिष्कमा यस्तो भावना आउँछः “म पनि यस्तै बन्न पाए हुन्थ्यो।” यी आचार्यहरूले हाम्रो सम्भाव्यता के हो र हामीमध्ये प्रत्येक व्यक्ति त्यो स्तरमा पुग्ने क्षमताले युक्त छौं भन्ने कुराको मानक प्रस्तुत गर्नुहुन्छ। दलाई लामा जस्ता उच्चस्तरका साधक सधैं भन्नुहुन्छ, ममा त्यस्तो विशेष केही छैन।” बुद्धले पनि त्यसै भन्नुभएको थियो, ममा त्यस्तो विशेष केही छैन। तपाईंहरू जस्तो हुनुहुन्छ मैले पनि त्यस्तै शुरु गरेको थिएँ। मसँग पनि त्यही साधन उपलब्ध थिए जुन तपाईंहरूसँग उपलब्ध छन् – चित्त, हृदय र अरुको ख्याल राख्ने आधारभूत मानव–मूल्य, आदि। र मैले यिनलाई विकसित गर्नका लागि धेरै कडा परिश्रम गरेको छु। यदि तपाईंले पनि कडा परिश्रम गर्नुभयो भने तपाईं पनि यसलाई विकसित गर्न सक्नु हुनेछ।” त्यसैले परम पूजनीय दलाई लामाजस्ता आध्यात्मिक आचार्य यो प्रयास गर्नुहुन्छ कि मानिसहरू उहाँलाई धेरै अग्लो पद र स्थान नदिऊन्। उहाँलाई अति पवित्र ठानेर व्यवहार नगरुन्, र यो नसोचुन् कि उहाँजस्तो बन्न वा उहाँको स्तरमा पुग्न असम्भव छ। यो कुराले ती मानिसहरूलाई एकदमै धेरै आकर्षित गर्छ जो धर्मप्रति बढी झुकाव राख्छन् र जीवनप्रति धेरै वैज्ञानिक दृष्टिकोण राख्दैनन्।  

बौद्ध अभ्यासको परम्परालाई पुनर्जीवन

परम्परागत रूपमा बुद्धधर्मको अनुयायी रहेका कतिपय ठाउँमा विभिन्न कारणले बुद्धधर्मको अभ्यास गर्ने अवसर कम भैरहेको अवस्था छ। ती ठाउँहरूमा आधुनिक युगमा बुद्धधर्मप्रतिको नयाँ आकर्षणको कारण भनेको यसलाई पुनर्जीवित गर्ने उद्देश्य हो। यो एकदमै महत्वपूर्ण र जायज दृष्टिकोण हो किनकि जति जति हाम्रा सामु आधुनिकीकरणको चुनौती बढ्दै जान्छ, त्यत्ति नै आत्मविश्वास र आत्मसम्मानको भाव कायम राख्न आवश्यक हुन्छ। मानिलिऊँ हामीलाई बारम्बार यो भनिन्छ कि हाम्रा पूर्वजले मान्ने गरेका सबै चीज काम नलाग्ने थिए, र यदि हामी साँच्चिकै आधुनिक युगमा प्रवेश गर्न चाहन्छौं भने ती सबै कुरालाई बिर्सनु पर्छ। यो अवस्थामा हामी आफूलाई र आफ्ना पूर्वजलाई एकदम दीनहीन नजरले हेर्न थाल्छौं। हाम्रो मनमा यस्तो भाव आउँछ कि हामी त बिल्कुलै निकम्मा हौं, मूर्ख हौं। आफ्ना बारेमा यस्तो भावना आयो र हाम्रो भावनात्मक मान्यता यस्तो भयो भने हामीमा कुनै आत्मसम्मान वा आत्मविश्वास बाँकी रहने छैन। हामीसँग आफूप्रति गर्व गर्न सक्ने र आफ्नो विकास गर्न सक्ने कुनै आधार बाँकी रहने छैन। त्यसैले मलाई लाग्छ कि हामीले आफ्नो परम्परा र रीति–रिवाजहरूलाई सम्मान गर्नु र तिनलाई पुनर्जीवन दिनु आवश्यक छ ताकि हामीलाई आफ्नो उत्तरोत्तर विकास र आधुनिकीकरणका लागि एक भावनात्मक आधार प्राप्त होस्।

तर हरेक परम्परामा केही सबल पक्षहरू हुन्छन् र केही दुर्बल पक्षहरू पनि हुन्छन्। कहिलेकाहीँ ती दुर्बल पक्षहरूको दुरुपयोग पनि गरिएको हुन सक्छ। यो अवस्थामा सबल पक्षहरूमा जोड दिनु महत्त्वपूर्ण हुन्छ। आधुनिक मनोविज्ञानको एक पद्धतिमा निष्ठाको सिद्धान्तमा धेरै जोड दिइएको छ। मानिसहरूमा आफ्नो परिवार, सम्प्रदाय, धर्म आदि कुनै न कुनै कुराप्रति निष्ठावान हुने प्रवृत्ति हुन्छ। निष्ठाको विकास पनि दुई प्रकारले हुन सक्छ। या त मानिस सकारात्मक गुणप्रति निष्ठावान हुन्छन्, या नकारात्मक गुणप्रति। उदाहरणका लागि, मानिलिऊँ कुनै परम्परामा अन्य परम्परालाई नसहने नकारात्मक प्रवृत्तिलाई प्रोत्साहित गरिन्छ। यदि त्यस्तो परम्परा मान्ने कुनै मानिसले त्यसलाई त्याग्यो भने पनि उसले अरुप्रति असहिष्णु हुने नकारात्मक प्रवृत्तिलाई लिइरहन्छ। त्यसैले आफूले त्यागेको परम्परालाई अरु कसैले मान्यो भने उ तिनीहरूप्रति पनि असहिष्णु हुन पुग्छ। यो नकारात्मक निष्ठा हो, गलत निष्ठा हो। अर्कोतर्फ, कसै कसैले चाहिँ आफ्नो परम्पराका सकारात्मक पक्षहरूमा जोड दिइरहन्छन्, तर साथै यसका नकारात्मक पक्षहरूलाई पनि नजरअन्दाज गर्दैनन्। यो तरीकाले निष्ठावान हुँदा चाहिँ कमी कमजोरीहरूप्रति आँखा चिम्लेर बसिँदैन, जसले गर्दा तिनलाई दोहोर्याउनबाट बचिन्छ। यो तरीका अपनाइने कारणले पनि बुद्धधर्मप्रतिको आकर्षणको बढेको हो। यसमा आफ्नो संस्कृति, पूर्वज र स्वयं आफैंप्रतिको आत्मसम्मानलाई पुनर्जीवन दिन र तिनलाई विकसित गर्न प्रोत्साहित गरिन्छ। 

बुद्धधर्मको रहस्यमय पक्ष

एक अर्को प्रकारका मानिसहरूको समूह पनि छ जो आफ्ना कल्पनाहरूका कारण बुद्धधर्मप्रति आकर्षित हुन्छन्। उनीहरूको जीवनमा अनेक समस्या छन्, जसको समाधानका लागि उनीहरू कुनै जादुई, रहस्यात्मक तरीकाको खोजीमा हुन्छन्। विशेष गरी तिब्बती, मंगोलियन र काल्मिकी पद्धतिका बुद्धधर्ममा अनेक प्रकारका असाधारण कुराहरू भरिएका छन्। अनेक प्रकारका अनुहार, हात, खुट्टा भएका अनेकथरी देवी देवताहरू, अनेकथरी मन्त्रहरू, यस्ता विभिन्न कुराहरू त्यहाँ छन्। केही जादुई निर्देशनहरू पनि छन् – तिमीले फलानो मन्त्र दश लाख पल्ट जप गर्यौ भने तिम्रा सबै समस्याहरू छुमन्तर भएर हराउने छन्। फेरी ती दशथरीका हात खुट्टा भएका देवी देवताहरूमा पक्कै पनि कुनै अलौकिक कुरा होला। यस्तो कुराहरूप्रति आकर्षित भएर कुनै जादुई विधिको प्रयोगले खुशी प्राप्त हुन्छ भन्ने आशामा कतिपय मानिस बुद्धधर्ममा आउँछन्।

ती मानिसहरूलाई यस्ता विधिहरूको अभ्यासले केही लाभ प्राप्त हुन सक्छ। (अवश्य पनि, यसमा कुनै शंका छैन कि यस्तो अविश्वसनीय र अव्यावहारिक दृष्टिकोणबाट बुद्धधर्मको अभ्यास गर्दा पनि केही लाभ हुन सक्छ।) तर परम पूजनीय दलाई लामाले सधैं यो कुरामा जोड दिनुहुन्छ कि यस्तो दृष्टिकोण सही अर्थमा यथार्थवादी दृष्टिकोण होइन। यसबाट केही लाभ हुन सक्छ, तर दीर्घकालमा यसबाट तपाईंलाई निराशा नै हात लाग्छ। किनकि, दुर्भाग्यवश हाम्रा समस्याहरूको जादुई समाधान हुँदैन। हामीलाई साँच्चिकै दीर्घकालीन रूपमा चित्तको शान्ति चाहिएको छ र हामी आफ्ना जीवनका समस्याहरूमाथि विजय प्राप्त गर्न चाहन्छौं भने हामीले आफ्नो व्यक्तित्वका त्यस्ता पक्षहरूको सामना गर्नैपर्ने हुन्छ जो हामीलाई मन पर्दैन र हामीलाई सहज लाग्दैन। हामीलाई आफ्नो रिस, स्वार्थीपना, लोभ, आसक्ति आदिको सामना गर्नुपर्छ र तिनबाट मुक्त हुनुपर्छ। यी व्यक्तिगत समस्याहरूलाई नजरअन्दाज गरेर केवल जादुई समाधान मात्र खोज्नु धेरै लाभदायक साबित हुनेवाला छैन। तैपनि कतिपय त्यस्ता मानिसहरू छन् जो यस्तो असाधारण कुराहरूले गर्दा नै बुद्धधर्मप्रति आकर्षित हुन्छन्।


सारांश 

संक्षेपमा भन्नपर्दा, बुद्धधर्ममा त्यस्ता कैयौं पक्षहरू छन् जसले मानिसलाई आफूतर्फ आकर्षित गर्छन्। तर बुद्धधर्मप्रति उनीहरूको आकर्षणको मूल कारण जीवनका समस्याहरू र दुःखहरूबाट मुक्ति पाउने विधिहरू जान्न सकियोस् भन्ने भित्री कामना नै हो। तर जे कारणवश जीवनका समस्याहरूको सामना गर्न बुद्धधर्मप्रति आकर्षित भएको भए पनि एउटा कुरा निश्चित छ, बुद्धको शिक्षालाई सबैले मन पराउँछन् किनकि यसले हामीलाई आफ्ना समस्याहरूबाट निस्कने बाटो देखाउँछ। यो एक सजीव परम्परा हो, र यसमा दुइ हजार पाँच सय वर्षको अनुभव संग्रहित छ। मानिसहरू यसको अभ्यास गर्छन्, र यसबाट लाभ प्राप्त गर्छन्। यसका विधिहरू सबैका लागि उपलब्ध छन्, हामीले तिनको उपयोग मात्र गर्नुछ। एक मात्र होइन, अनेक अनेक विधिहरू छन्। बुद्धले यो बोधका साथ विभिन्न विधिहरू सिकाउनु भयो कि हरेक मानिस एक भिन्नै व्यक्ति हो र उसका लागि भिन्नै विधि उपयोगी हुन सक्छ। धेरै मानिसका लागि यो एकदमै अद्भूत कुरा हुन सक्छ। बुद्धधर्मले सिकाउने विविध तरीकाहरूलाई मानिसले रेष्टुरेन्टमा उपलब्ध खानाको लामो सूचीसँग तुलना गर्न सक्छन्, जसबाट आफूलाई उपयोगी हुने तरीका लिन सकियोस्। एउटा उपायले काम गरेन भने अन्य धेरै उपाय उपलब्ध छन्। हालको सूचनाको युगमा हामी संसारको जुनसुकै कुनामा बस्ने भए पनि यी अनेक उपलब्ध विधिहरूको उपयोग गर्न सक्छौं।

Top