आध्यात्मिक गुरूकमा विश्वास र पूर्ण प्रतिबद्धता विकास गर्नु
आध्यात्मिक गुरूप्रति पूर्ण प्रतिबद्धता बौद्ध धर्मको सबैभन्दा कठिन र नाजुक अभ्यास हो। यो ठीकसँग स्थापना र संरक्षण गर्न ठूलो सावधानी चाहिन्छ। एकपटक बलियो आधारमा स्थापना भएपछि केहीले यसलाई भत्काउन सक्दैन। सेर्कोङ रिन्पोछेले उहाँ र मेरो बीचमा यस्तो हुने कुरा सुनिश्चित गर्न ठूलो प्रयास गर्नुभयो। मुण्डगोडमा महान् मोनलाम पर्वको अन्त्यमा एक साँझ रिन्पोछेले मलाई त्यहाँको आफ्नो सम्पत्तिसम्बन्धी जटिल आर्थिक अवस्थाबारे मलाई भन्नुभयो। उहाँको अन्य सेवकहरूले यो अनावश्यक ठान्दा पनि रिन्पोछेले मलाई थाहा पाउनु महत्वपूर्ण रहेको बताउनुभयो। पछि मैले यस विषयमा ईर्ष्यालु पक्षबाट झूटा अफवाहहरू सुने पनि उहाँको इमानदारीमा वा मेरो पूर्ण प्रतिबद्धताको बारेमा मैले एक क्षणको लागि पनि शंका नगरूँ भनेर उहाँ निश्चित बनाउन चाहनुहुन्थ्यो।
आध्यात्मिक गुरूकप्रति पूर्ण प्रतिबद्धताको लागि सम्भावित शिष्य र शिक्षकहरूबीच विस्तृत र लामो आपसी परीक्षण आवश्यक हुन्छ। ध्यानपूर्वक परीक्षणपछि शिष्यहरूले आफ्नो लामाहरूलाई बुद्धको रूपमा हेर्नुपर्छ, तर यसको अर्थ आध्यात्मिक गुरूहरू गल्ती नगर्ने भन्ने होइन। शिष्यहरूले गुरूहरूले भनेको कुरा सधैं जाँच्नुपर्छ र आवश्यक भएमा विनम्रताका साथ थप सुझाव दिनुपर्छ। सधैं सतर्क रहेर तिनीहरूले आफ्ना लामाहरूले भनेको वा गरेको कुनै अनौठो कुरालाई आदरपूर्वक सुधार गर्नुपर्छ।
एक पटक रिन्पोछेले फ्रान्सको नालन्दा गुम्बामा रहेका पश्चिमी भिक्षुलाई यो कुरा देखाउन खोज्नुभयो। एउटा प्रवचनको क्रममा उहाँले जानाजानी पूर्ण रूपमा गलत कुरा बुझाउनुभयो। उहाँले भन्नुभएको कुरा अत्यन्तै हास्यास्पद भए पनि भिक्षुहरूले सबै आदरपूर्वक आफ्ना नोटबुकमा उहाँका शब्दहरू उतारे। अर्को सत्रमा रिन्पोछेले भिक्षुहरूलाई गाली गर्नुभयो र भन्नुभयो कि अघिल्लो घण्टा आफूले पूर्ण रूपमा हास्यास्पद र गलत कुरा व्याख्या गरेको थिएँ, तर किन कसैले प्रश्न गरेन? उहाँले भन्नुभयो, बुद्धले आफैंले सल्लाह दिनुभएको अनुसार शिक्षकले भनेको कुरा कहिल्यै आँखा बन्द गरेर र बिना प्रश्न स्वीकार गर्नु हुँदैन। महान आचार्यहरूले पनि कहिलेकाहीँ जिब्रो चिप्लिन्छ, अनुवादकहरूले प्रायः गल्ती गर्छन्, र विद्यार्थीहरूले प्रायः अस्पष्ट र भ्रमित नोटहरू लिन्छन्। यदि केही कुरा अनौठो लाग्छ भने सधैं प्रश्न गर्नुपर्छ र प्रत्येक बुँदा महान ग्रन्थहरूसँग मिलाएर जाँच्नुपर्छ।
बौद्ध महागुरुहरूले लेखेका ग्रन्थहरूमा पनि विश्लेषण र प्रश्न गर्ने अभ्यास
व्यक्तिगत रूपमा, रिन्पोछेले मानक बौद्ध टीकाटिप्पणीहरूमा समेत प्रश्न गर्नुहुन्थ्यो। त्यसो गर्दा, उहाँले चोङ्खापाको उदाहरण पछ्याउनुभयो। यस चौधौं शताब्दीका सुधारकले उल्लेख गर्नुभयो कि भारतीय र तिब्बती दुवैको आचार्यहरूका धेरै सम्मानित ग्रन्थहरूले एकअर्काको विरोध गर्छन् वा तर्कहीन कथनहरू समावेश गर्छन्। चोङ्खापाले यी बिन्दुहरूलाई खुलासा गरे र ध्यानपूर्वक परिक्षण गर्नुभयो, या त तर्कको सामना गर्न नसक्ने अवस्थाहरूलाई अस्वीकार गरे वा पहिले गलत बुझिएका खण्डहरूको नयाँ, अन्तर्दृष्टिपूर्ण व्याख्या दिए। विशाल शास्त्रीय ज्ञान र गहिरो ध्यान अनुभव भएकाहरू मात्र यस्तो नयाँ आधार तोड्न योग्य हुन्छन्। सेर्कोङ रिन्पोछे तिनीहरूमध्ये एक हुनुहुन्थ्यो।
उदाहरणको लागि, उहाँको निधन हुनु भन्दा केही समय अघि, रिन्पोछेले मलाई बोलाउनुभयो र चोङ्खापाको सबैभन्दा कठिन दार्शनिक ग्रन्थहरूमध्ये एक, व्याख्यात्मक र निश्चित अर्थको उत्कृष्ट व्याख्याको सार बाट एउटा खण्ड देखाउनुभयो। रिन्पोछेले यो सयौं पृष्ठको ग्रन्थ उहाँले आफ्नो दैनिकी अभ्यासका रूपमा प्रत्येक दिन कण्ठस्थ गरेर पाठ गर्नुहुन्थ्यो। उक्त खण्डले मनबाट भ्रम हटाउने चरणहरू र विशेष गरी भ्रमका "बीउहरू"को मुद्दालाई छुन्थ्यो। मानक टीकाहरूले यी बीउहरूलाई परिवर्तनशील घटनाहरूको रूपमा व्याख्या गर्छन् जुन न त भौतिक चीज हुन् न त केहि ज्ञानको तरिका हुन्। यो कुरा व्यक्त गर्न, मैले यो शब्दलाई "बीउ"को सट्टा "प्रवृत्ति"को रूपमा अनुवाद गर्दै आएको थिएँ। तर्क, अनुभव र ग्रन्थका अन्य खण्डहरूलाई उद्धृत गर्दै, रिन्पोछेले व्याख्या गर्नुभयो कि धानको बीउ अझै पनि धान नै हो। त्यसैले, भ्रमको बीउ भ्रमको "निशान" हो। यो क्रान्तिकारी व्याख्याले अचेतनलाई बुझ्ने र त्यससँग काम गर्ने तरिकामा गहिरो प्रभाव पार्छ।
रिन्पोछेको साधारण जीवनशैली
सेर्कोङ रिन्पोछेको नवीनतापूर्ण प्रतिभा भए पनि, उहाँले सधैं र सबै तरिकाले विनम्रता र आडम्बरको अभावलाई जोड दिनुहुन्थ्यो। यसैले, मुन्डगोडस्थित आफ्नो गुम्बामा उहाँ सर्वोच्च लामा हुनुहुन्दा पनि, रिन्पोछेले कुनै दिखावटी भव्य घर बनाउनुभएन, केवल एउटा साधारण झुप्रोमा बस्नुभयो। धर्मशालामा रहेको उहाँको घर पनि अत्यन्त साधारण थियो, जसमा चार जना मानिस, प्रायः आउने पाहुना, दुईवटा कुकुर र एउटा बिरालो सहित जम्मा तीनवटा कोठा मात्र थिए।
रिन्पोछेले आफ्नो महानतालाई प्रदर्शन नगरेझैं, आफ्ना शिष्यहरूले पनि आफूलाई बढाइचढाइ नगरून् भन्ने प्रयास गर्नुहुन्थ्यो। केही ध्यान अभ्यासहरूमा आध्यात्मिक गुरु सँगको सम्बन्धलाई केन्द्रमा राखिन्छ, जस्तै गुरु-योग नामक विस्तृत ध्यानदृश्य र लामाको संस्कृत नाम समावेश भएको मन्त्र जप्नु। गुरु-योग अभ्यासहरूमा रिन्पोछेले सधैं आफ्ना शिष्यहरूलाई केवल परमपावन दलाई लामालाई कल्पना गर्न निर्देशन दिनुहुन्थ्यो। जब उहाँको नाम मन्त्र सोधिन्थ्यो, रिन्पोछेले सधैं आफ्ना पिताको नाम जप्न दिनुहुन्थ्यो। रिन्पोछेको बुबा, सेरकोङ दोर्जे-छाङ बीसौं शताब्दीको सुरुमा महान साधक र शिक्षकहरूमध्ये एक हुनुहुन्थ्यो। उहाँ आफ्नो समयमा कालचक्र परम्पराका धारक हुनुहुन्थ्यो, जसको अर्थ उहाँले त्यस ज्ञान र ध्यानअनुभवलाई आगामी पुस्तामा हस्तान्तरण गर्ने जिम्मेवारी पाउनु भएको मान्यता प्राप्त आचार्य हुनुहुन्थ्यो।
महात्मा गान्धीको विलासी जीवनबाट टाढा रहने उदाहरण पछ्याउँदै
रिन्पोछेको सादागीपूर्ण शैली अन्य धेरै तरिकाहरूमा देखिन्थ्यो। जब रिन्पोछे यात्रा गर्नुहुन्थ्यो, उदाहरणका लागि, जब रिन्पोछे यात्रा गर्दा, उहाँले महात्मा गान्धीको उदाहरण पछ्याउनुहुन्थ्यो। भारतका रेलहरूमा उहाँले सधैं तेस्रो श्रेणीको तीन-तले कोचमै यात्रा गर्न आग्रह गर्नुहुन्थ्यो, जबसम्म त्यसो नगर्नुको विशेष आवश्यकता पर्दैनथ्यो। यसरी गर्दा दुर्गन्धित शौचालयको छेउमै सुत्नुपर्ने अवस्थामा पनि उहाँ राजी हुनुहुन्थ्यो, जस्तै हामी पहिलोपटक पश्चिमतर्फ भ्रमण गर्न धर्मशालाबाट दिल्ली जाँदा भएको थियो। यो सत्य हो। रिन्पोछेले भन्नुभयो यो सामान्य तरिकामा यात्रा गर्नु राम्रो हो किनभने यसले करुणा विकास गर्न मद्दत गर्छ। तीनै वटा श्रेणी एकै समयमा गन्तव्यमा पुग्छन् भने किन पैसा फजुल खर्च गर्ने? रिन्पोछेलाई मानिसहरूले उहाँमाथि पैसा फजुल खर्च गरिदिनु साह्रै मन पर्दैनथ्यो, फर्स्ट क्लास रेल टिकट किनेर होस् वा महंगा रेस्टुरेन्टमा लगेर होस्।
एकपटक, जब रिन्पोछे स्पीतिबाट धरमसाला फर्किनु हुँदै थियो, म सहित अरु केही शिष्यहरू उहाँलाई स्वागत गर्न भारतीय बजारमा पर्खिरहेका थियौं। धेरै कार र बसहरू गएको देखेपछि, एउटा फोहोर पुरानो ट्रक बजारमा रोकियो। ट्रकको भीडभाड भएको क्याबमा आफ्ना प्रार्थना गर्ने माला हातमा लिएर सेर्कोङ रिन्पोछे बसिरहनुभएको थियो। उहाँ र उहाँका सहयोगीहरूले आराम वा देखावटबारे कुनै चिन्ता नगरी तीन दिनसम्म स्पीति बाट यही यातायातको साधनमा यात्रा गर्नुभएको थियो।
जब रिन्पोछे मुन्डगोडको महान् मोनलाम उत्सवबाट आफ्ना सेवकहरू र मसँग धर्मशाला फर्कंदै हुनुहुन्थ्यो, हामीले पुणामा दिनभर रेलको पर्खाइ गर्नुपर्यो। उहाँ खुशीसाथ एउटा अत्यन्त कोलाहलपूर्ण र तातो तेस्रो दर्जाको होटेल कोठामा बस्नुभयो जुन एउटा स्थानीय तिब्बती स्वेटर बेच्नेले हामीलाई प्रयोग गर्न दिएको थियो। वास्तवमा, रिन्पोछेले प्रायः भारतमा यात्रा गर्दा राति चल्ने बसहरू लिन सुझाव दिनुहुन्थ्यो किनभने तिनीहरू सस्तो र सजिलो हुन्थे। भीडभाड भएको बसपार्कमा पर्खन उहाँलाई कहिल्यै आपत्ति लाग्दैनथ्यो। उहाँले हामीलाई भन्नुभयो कि उहाँसँग आफूलाई व्यस्त राख्न धेरै ध्यान अभ्यासहरू वरिपरिको आवाज, अव्यवस्था र फोहोरले उहाँको एकाग्रतामा कहिल्यै असर पारेन।
रिन्पोछे कहिल्यै एउटै ठाउँमा लामो समयसम्मा बस्नुभएन, प्रायः सधैं घुमिरहनुभयो। उहाँ भन्नुहुन्थ्यो, यसले आसक्ति कम गर्न मद्दत गर्छ। त्यसैले यात्रामा हुँदा हामी कहिल्यै केही दिनभन्दा बढी एउटै घरमा बस्दैनथ्यौं, कि कतै हाम्रा आतिथ्यदातामाथि बोझ नबनियोस्। जहाँसुकै एउटा तिब्बती वृद्ध भिक्षु शिक्षक भएको बौद्ध केन्द्रमा बस्दा, रिन्पोछेले उहाँलाई आफ्नो निकटतम साथीझैँ व्यवहार गर्नुहुन्थ्यो। उहाँले आफ्नो हार्दिक सम्बन्धलाई केवल एउटै विशेष व्यक्तिमा सीमित गर्नुभएन।
निरन्तर, सरल अभ्यास, परिस्थिति अनुसार लचिलो हुनु
रिन्पोछे जहाँ गइरहनु भए पनि उहाँले दिनभर दृढ अभ्यास कायम राख्नुहुन्थ्यो र राति झन्डै ननिदाई बिताउनुहुन्थ्यो। मन्त्र र तन्त्रिक (साधना) का पाठहरू उहाँले भेटघाटबीच मात्र होइन, विदेशी पाहुनासँग भेट्दा मेरो अनुवादको पर्खाइको छोटो समयमा समेत जपिरहनुहुन्थ्यो। आफ्नो साधना ध्यान उहाँले गाडीमा, रेलमा, हवाईजहाजमै गर्नुहुन्थ्यो, बाहिरी परिस्थितिले कहिल्यै फरक पारेन। उहाँले जोड दिनुभयो कि बलियो दैनिक अभ्यासले हामी जहाँ गए पनि र जे गरे पनि हाम्रो जीवनमा निरन्तरताको भावना प्रदान गर्छ। यसले ठूलो लचिलोपन, आत्मविश्वास र स्थिरता दिलाउँछ।
रिन्पोछेले आफ्नो अभ्यासको कुनै प्रदर्शन पनि गर्नुभएन। उहाँले खाना खानुअघि आशीर्वाद दिनु वा शिक्षण अघि प्रार्थना गर्नुजस्तो कामहरू चुपचाप र निजी रूपमा गर्नुहुन्थ्यो। अरूसँग खाना खानुअघि लामो गम्भीर श्लोकहरू जाप गर्नुले तिनीहरूलाई असहज बनाउन सक्छ वा हामीले तिनीहरूलाई प्रभावित पार्न वा लाजमर्दो महसुस गराउन खोजिरहेका छ भन्ने लाग्न सक्छ। थप रूपमा, उहाँले कहिल्यै अरूमाथि कुनै अभ्यास वा चलन थोपर्नुभएन, तर उहाँलाई निम्तो दिने केन्द्रले सामान्यतः अनुसरण गर्ने जुनसुकै प्रार्थना वा अनुष्ठानलाई मात्र उहाँले शिक्षण अघि वा पछि पालना गर्नुहुन्थ्यो।
यद्यपि रिन्पोछेले परम पावन र तिब्बती तथा पश्चिमी दुवै मठहरूमा व्यापक अर्पण चढाउनुभयो, उहाँले कहिल्यै घमण्ड गर्नुभएन वा तिनीहरूको बारेमा केही भन्नुभएन। उहाँले त्यसो नगर्न सिकाउनुहुन्थ्यो। एक पटक, इटालीको विलोर्बामा (Villorba, Italy) एउटा विनम्र मध्यम उमेरका मानिस रिन्पोछेलाई भेट्न आए। कोठाबाट निस्कँदै गर्दा उसले कुनै प्रमुख स्थानमा होइन, बरु छेउको टेबलमा मात्र एउटा ठूलो दान भएको लिफाफा चुपचाप राख्यो। त्यसपछि रिन्पोछेले भन्नु भयो, लामा प्रति चढावा दिने सही तरिका यही हो।
रिन्पोछेले जोड दिनुभयो कि हाम्रो विनम्रता साँचो हुनुपर्छ, झुटो होइन। उहाँलाई विनम्र भएको बहाना गर्ने तर वास्तवमा घमण्डी र अहंकारी वा आफूलाई महान् योगी ठान्ने मानिसहरू मन पर्दैनथ्यो। उहाँले एक घमण्डी साधकको कथा सुनाउनुहुन्थ्यो जो घुमन्ते पृष्ठभूमिको थियो र एउटा महान् लामाकहाँ गएको थियो। सभ्यताको कुनै कुरा पहिले नदेखेको जस्तो गरेर, त्यो मानिसले लामाको टेबलमा राखिएका अनुष्ठानका सामानहरू के हुन् भनेर सोध्यो। जब उसले लामाको बिरालोलाई देखाएर यो अचम्मको जनावर के हो भनेर सोध्यो, लामाले उसलाई लात हानेर बाहिर निकाल्नुभयो।
आफ्नो व्यक्तिगत साधना गोप्य राख्ने
रिन्पोछेलाई मानिसहरूले आफ्नो साधनाको बारेमा घमण्ड गर्नु विशेष गरी मन पर्दैनथ्यो। उहाँले भन्नुहुन्थ्यो यदि हामीले ध्यान गर्ने व्रत लिन लाग्दा, वा गरिसकेका छौं भने पनि, हामीले त्यो अरूलाई घोषणा गर्नु हुँदैन। यस्ता कुराहरू गुप्त राख्नु र हामी के गर्दैछौं भनेर कसैलाई थाहा नहुनु नै उत्तम हुन्छ। अन्यथा मानिसहरूले हाम्रोबारे कुरा गर्दा घमण्ड, अरूको डाहा वा प्रतिस्पर्धा जस्ता धेरै अवरोधहरू उत्पन्न हुन्छन्। चोङखापाको मुख्य तान्त्रिक साधना कुन बुद्ध-आकृति थियो भनेर कसैलाई थाहा थिएन। उहाँको शिष्य खेद्रुब जेले उहाँको मृत्युभन्दा ठीक अगाडि उहाँलाई आफ्नो भित्री-अर्पणको कचौराबाट बैसठ्ठी अर्पण चढाउँदै गरेको देखेर मात्र उनले यो चक्रसंवर हो भनेर अनुमान गरे, जुन भित्री आनन्दलाई मूर्त रूप दिने बुद्ध-आकृति हो। त्यसै गरी, कालचक्र विशेषज्ञ र पण्डितको रूपमा प्रसिद्ध भए पनि सेर्कोङ रिन्पोछेको मुख्य व्यक्तिगत साधना के थियो भनेर कसैलाई थाहा थिएन।
रिन्पोछेले प्रायः कदम्पा गेशेहरूको कथा सुनाउनुहुन्थ्यो, जसले आफ्नो तान्त्रिक साधना यति गोप्य राख्थे कि तिनीहरूको मृत्युपछि मानिसहरूले तिनीहरूको चोगाको कुनामा सिलाइएको सानो वज्र र घण्टी फेला पारेपछि मात्र थाहाहुन्थ्यो उहाँहरूले के साधना गरिरहेको थिए भनेर। रिन्पोछेले आफ्नो जीवन यही आदर्शअनुसार बिताउनुभयो। रिन्पोछे प्रायः आफ्नो घरपरिवारका सबैभन्दा आधा घण्टा अगाडि सुत्नुहुन्थ्यो र बिहान तिनीहरूभन्दा अलिकति पछि उठ्नुहुन्थ्यो। तर उहाँका सेवकहरू र मैले प्रायः देख्यौं कि सबैजना सुतेको मानिएपछि उहाँको कोठामा बत्ति बल्थ्यो र घरपरिवार ब्युँझनुभन्दा केही समयअगाडि मात्र निभ्थ्यो।
एकपटक जर्मनीको जेगेनडर्फमा (Jegendorf, Germany) रिन्पोछेका वरिष्ठ सहयोगी छोन्झेलाले रिन्पोछेसँगै एउटै कोठामा सुत्नुभयो। सुतिरहेझैँ गरेर, छोन्झेलाले रिन्पोछे मध्यरातमा उठेर नारोपाका छवटा साधनासँग सम्बन्धित कठिन आसनहरू लिनुभएको देख्नुभयो। यद्यपि दिनको समयमा रिन्पोछेलाई उठ्न र हिँड्न प्रायः सहयोग चाहिन्थ्यो, वास्तवमा उहाँसँग ती योग अभ्यासहरू गर्न पर्याप्त शक्ति र लचकता थियो।
आफ्नो राम्रो गुणहरू लुकाएर राख्नु
रिन्पोछेले सधैं आफ्ना राम्रो गुणहरू लुकाएर राख्न कोशिश गर्नुहुन्थ्यो। वास्तवमा, उहाँले अपरिचितहरूसँग आफ्नो पहिचान खुलाउन पनि मन पराउनुहुन्नथ्यो। एकपटक, एक वृद्ध इन्डोनेसियाली (Indonesian) दम्पतीले हामीलाई पेरिस (Paris) देखि एम्स्टर्डम (Amssterdam) सम्म आफ्नो कारमा लैजान प्रस्ताव गर्नुभयो। एम्स्टर्डम पुगेपछि, त्यो दम्पतीले रिन्पोछेलाई खानाको लागि आफ्नो घरमा निम्तो दिनुभयो। त्यसपछि मात्र, जब स्थानीय बौद्ध केन्द्रका मानिसहरूले त्यो दम्पतीलाई रिन्पोछेको शिक्षामा निम्तो दिन फोन गरे, तब तिनीहरूले थाहा पाए कि तिनीहरूका पाहुना वास्तवमा को हुनुहुन्थ्यो। तिनीहरूले उहाँलाई केवल एक सामान्य वृद्ध, मित्रवत भिक्षु ठानेका थिए।
यही भावनामा, रिन्पोछे कहिलेकाहीँ विदेश यात्रा गर्दा बालबालिकासँग चेस खेल्नुहुन्थ्यो, वा आफ्ना कान्छा सहयोगी ङवाङलाई खेलाउनुहुन्थ्यो र उहाँले दुवै पक्षलाई सहयोग गर्नुहुन्थ्यो। बालबालिकाहरूलाई उहाँ एक दयालु वृद्ध हजुरबुबा मात्रै लाग्थे। एकपटक, जर्मनीको म्युनिख (Munich, Germany) मा क्रिसमस (Christmas) को समयमा सडकमा हिँड्दा, रातो लुगा लगाएको देखेर बालबालिकाहरू उहाँलाई सान्ता क्लज (Santa Claus) ठानेर उहाँको पछि लागे।
रिन्पोछेले आफूलाई अंग्रेजी राम्रोसँग थाहा भएको कुरा पनि लुकाउनुभयो। स्पीतीमा भएको कालचक्र दीक्षापछि, रिन्पोछे बित्नुभन्दा एक महिना अघि, म ताबो गुम्बाबाट धर्मशालातर्फ फर्कन उहाँलाई बिदा गर्न गएको थिएँ। मैले पश्चिमीहरूको समूहका लागि बस भाडामा लिएको थिएँ र प्रस्थान गर्ने समय भएको थियो। तर तीमध्ये एक विदेशी अन्तिम क्षणमा बीस माइल टाढा रहेको क्यी गुम्बा गएको कारण अपेक्षित समयमा फर्किन सकेन। म उनलाई लिन क्यी गुम्बा जाँदा, एक इटालियन शिष्य बिना अनुवादक रिन्पोछेलाई भेट्न गए। रिन्पोछेले पहिल कहिल्यै कुनै विदेशीलाई अंग्रेजीमा एक शब्द पनि बोल्नुभएको थिएन, उनीतर्फ फर्केर शुद्ध अंग्रेजीमा सोध्नुभयो, "Where is Alex?" ती व्यक्तिले अचम्म मान्दै भने, "तर रिन्पोछे, तपाईं त अंग्रेजी बोल्नुहुन्न नि" रिन्पोछे भने हाँस्नुभयो।