दुराचारी आध्यात्मिक गुरुहरूसँग व्यवहार गर्नेसम्बन्धमा दलाई लामाको सुझाव

तपाईंहरू मध्ये कतिपय तिब्बतबाट आउनुभएको छ र धेरै संख्यामा चिनियाँहरू पनि हुनुहुन्छ। केही कुरामा तपाईं स्पष्ट हुनु जरुरी छ। कुनै बेला ढोंगी वा ठग गुरुहरू फेला पर्न सक्छन्, तिनको पाखंड र ठगीका बारेमा तपाईंले खुलासा गर्नुपर्ने हुन्छ। यसमा तपाईं स्पष्ट हुनु जरुरी छ। 

केही वर्षअघि तिब्बती बुद्धधर्म, जेन बुद्धधर्म, आदि विषय पढाउने पश्चिमा शिक्षकहरूको एक सम्मेलन धर्मशालामा भएको थियो। त्यसबेला केही पश्चिमा शिक्षकहरूले के भनेका थिए भने, “आजकल जेन शिक्षकहरूमध्ये कतिपय त्यस्ता छन्, जसलाई ज्यादै दुर्व्यवहारी भनेर चिनाउन मिल्छ। त्यस्तै कतिपय तिब्बती लामा त्यस्ता छन्, जसलाई ज्यादै दुर्व्यवहारी भनेर चिनाउन मिल्छ। यो अवस्था छ, र तिनलाई रोक्न कुशल उपाय र साधनको आवश्यकता पर्छ।”

त्यो सुनेर मैले भनेँ, “तिनलाई रोक्न हामी आफैंले केही गर्न सक्दैनौं। भगवान बुद्धले स्पष्ट र निर्णायक रूपमा हामीले छाड्नु पर्ने र अपनाउनु पर्ने कुराहरूको निर्देश दिनुभएको छ। उदाहरणका लागि, उहाँले स्पष्ट र निर्णायक रूपमा के बताउनुभएको छ भने - 'अरूलाई यी शिक्षाका उद्देश्य अनुरूप चल्नका लागि प्रेरित गर, र स्वयं पनि यिनै उद्देश्य अनुरूप आचरण गर।' तर यदि उनीहरू यो निर्देशलाई मान्दैनन् भने त्यसको अर्थ हुन्छ, उनीहरूलाई यसको मतलब छैन। र यदि भगवान बुद्धले बताएका कुरालाई उनीहरू मतलब गर्दैनन् भने हामीले सम्झाएर केही लाभ होला? यसले बिल्कुलै केही लाभ हुँदैन।”

“तपाईंले यो कुरालाई सार्वजनिक गर्नुपर्छ। पत्रिकामा छाप्नुहोस्, उनीहरूको नाम नै उल्लेख गर्नुहोस्, र भन्नुहोस् कि यी त्यस्ता मानिसहरू हुन् जो धर्मको शिक्षा त दिन्छन् तर गलत आचरण गर्छन्। यो विषयलाई उजागर गर्नुहोस्। यसले केही काम बन्छ र केही लाभ हुन्छ। त्यसो नगरी हामीले मात्र सम्झाएर उनीहरूको गलत आचरण रोकिँदैन,” मैले भनेँ।  

तपाईंले यो कुरा बुझ्नु जरुरी छ। ढोंगी र ठग शिक्षकहरू छन् भने तपाईंले तिनीहरूको नाम सार्वजनिक गर्नुपर्छ। उनीहरूलाई पक्राउ गराउनु आवश्यक रहेछ भने त्यसो पनि गर्नुपर्छ। अमेरिकामा त्यस्ता केही व्यक्ति पक्राउ परेका छन्, र संभवतः ताइवानमा पनि केही पक्राउ पर्छन् होला। उनीहरूलाई निश्चित रूपमा कानुनको कठघरामा ल्याउनुपर्छ। 

त्यस्ता केही धर्मगुरुहरू जो “लामा” उपाधिधारी छन् र प्रख्यात पनि छन् भने उनीहरूको दुराचारलाई सार्वजनिक रूपमा उजागर गर्दा बुद्धधर्मलाई हानि पुग्ला भनेर चिन्ता नगर्नुस्। केही वर्षअघि म बेलायत जाँदाको कुरा हो, त्यहाँको एक धर्मकेन्द्रमा एकजना लामा थिए जसले महिलासँग गरेको दुर्व्यवहारले गर्दा निकै ठूलो बदनामी भएको थियो र तिनलाई अमेरिकामा कानुनतः गिरफ्तार गरिएको थियो। उनका चेलाहरू ज्यादै चिन्तित रहेछन्, त्यो कुरा उनीहरूले मलाई बताए। यो घटनाले बुद्धको शिक्षालाई क्षति पुग्छ भन्ने चिन्ता उनीहरूलाई रहेछ। मैले भनेँ, चिन्ता नगर्नु। भगवान बुद्ध यो संसारमा आउनुभएको २५०० वर्ष बितिसकेको छ। हाल आएर केही थोरै संख्यामा धर्म शिक्षकहरू दुराचारी निक्लिए। यसले बुद्धको शिक्षालाई केही क्षति हुँदैन। यी शिक्षकहरू दुराचारी भनेर चिनिँदैमा बुद्धको शिक्षालाई केही क्षति पुग्न सक्दैन। यो कुरा मैले उनीहरूलाई सम्झाएँ। र यो कुरामा मलाई पक्का विश्वास छ।

Top