"अंशकालिक" तान्त्रिक ध्यान रिट्रिट गर्नु
यद्यपि लामो अवधिसम्म निरन्तर गरिने पूर्णकालिक तान्त्रिक ध्यान रिट्रिट लाभदायी भए पनि, अधिकांश मानिससँग त्यसमा लाग्ने विलासिता हुँदैन। त्यसैले, रिन्पोछेले केवल तीन महिना वा बढी खाली समय भए मात्र यस्तो रिट्रिट गर्न सकिन्छ भन्ने सोच संकुचित भएको बताउनुभयो। रिट्रिटको अर्थ अरूसँग पूर्ण रूपमा टाढा हुनु होइन, बरु कुनै साधनासँग हाम्रो मनलाई लचिलो बनाउन गहन अभ्यास गर्ने समय हो। बिहान र बेलुकी एक–एक सत्र गरेर, बाँकी दिन सामान्य जीवन जिउँदा पनि रिट्रिट गर्न पूर्ण रूपमा मिल्छ। कसैलाई थाहा पनि नदिई, रिन्पोछे आफैंले आफ्ना धेरै रिट्रिटहरू यस्तै तरिकाले गर्नुभएको थियो।
अभ्यासको यस विधिमा एक मात्र नियम भनेको रिट्रिटभरि एउटै ओछ्यानमा सुत्ने र एउटै स्थानमा एउटै आसनमा ध्यान गर्नु हो, अन्यथा आध्यात्मिक उर्जा निर्माण गर्ने गति भङ्ग हुन्छ। साथै, प्रत्येक सत्रमा कम्तिमा केही निश्चित संख्यामा मन्त्र, छाग-प्रणाम, वा अरू दोहोरिने अभ्यास समावेश हुनुपर्छ, जुन संख्या पहिलो सत्रमा दोहोरिएको आधारमा निर्धारण हुन्छ। त्यसैले, रिन्पोछेले प्रारम्भिक सत्रमा चयन गरिएको अभ्यास तीनपटक मात्रै दोहोराउन सल्लाह दिनुभयो। यसरी गर्दा, यदि गम्भीर रोग परे पनि रिट्रिटको निरन्तरता तोडिनु पर्दैन र फेरि सुरु गर्न आवश्यक पर्दैन।
जब आवश्यकताले एकान्तवास ध्यानका प्रतिबन्धहरूलाईभन्दा महत्त्वपूर्ण ठहरिन्छ
सबै प्रकारका बौद्ध अनुशासनमा जस्तै, "आवश्यकताले कहिलेकाहीं प्रतिबन्धलाई भन्दा महत्त्वपूर्ण ठहरिन्छ," तर केवल धेरै विशेष अवस्थाहरूमा मात्र। एक पटक, धर्मशालामा (Dharamsala), ध्यान एकान्तवासको बीचमा, मैले परम पावन दलाई लामाले भारतको अर्को हिमालयी सहर मनालीमा (Manali) दिइरहनुभएको अभिषेक र शिक्षाहरू अनुवाद गर्न अनुरोध आयो। मैले रिन्पोछेसँग सल्लाह लिएँ, जसले मलाई कुनै हिचकिचाहट वा शंका बिना जान भन्नुभयो। परम पावनलाई सहायता गर्नु मैले गर्न सक्ने अन्य कुनै पनि कुराभन्दा बढी फाइदाजनक हुनेछ। मैले हरेक दिन एउटा ध्यान सत्र गर्दै, सुरुमा तोकेको न्यूनतम संख्यामा मन्त्रहरू दोहोर्याइरहेसम्म मेरो अभ्यासको गति टुट्ने थिएन। मैले यो प्रक्रिया पछ्याएं र परम पावनसँग दस दिन बिताएपछि धर्मशाला फर्केर मेरो एकान्तवास ध्यान पूरा गरें।
अनुष्ठान प्रक्रियाहरू सही रूपमा पालन गर्नु
रिन्पोछेले सधैं जोड दिनुहुन्थ्यो कि अनुष्ठान प्रक्रियाहरू उद्देश्यपूर्ण र गम्भीर हुन्छन्। तिनीहरूलाई ठीकसँग पालन गर्नुपर्छ। उदाहरणका लागि, तान्त्रिक एकान्तवासमा निश्चित मन्त्रहरू तोकिएको संख्या अनुसार दोहोर्याउनुपर्छ र त्यसपछि "होम पूजा" गर्नु पर्छ।होम पूजा विशेष पदार्थहरू आगोमा अर्पण गर्ने जटिल अनुष्ठान हो। यस अनुष्ठानको उद्देश्य अभ्यासमा भएका कुनै कमीहरू पूर्ति गर्नु र हाम्रा गल्तीहरू शुद्ध गर्नु हो।
केही एकान्तवास ध्यानहरू विशेष गरी कठिन हुन्छन्। मैले गरेको एउटामा, उदाहरणका लागि, दस लाख पटक मन्त्र जप गर्नुपर्छ र विस्तृत होम पूजाको समयमा दस हजार जोडी लामो घाँसका दण्डहरू अर्पण गर्नुपर्छ। प्रत्येक जोडीसँग मन्त्र जप गर्दै। सबै दस हजार जोडी एकै बैठकमा, विश्राम बिना आगोमा हाल्नुपर्छ। जब मैले यस एकान्तवासको अन्त्यमा आफ्नो होम पूजा गरें, आवश्यक संख्याभन्दा केही कम घाँसका दण्डहरू सकिए। बाँकी अनुष्ठान पूरा गरेपछि, मैले रिन्पोछेलाई जानकारी दिएं। उहाँले मलाई केही दिनपछि सम्पूर्ण होम पूजा दोहोर्याउन लगाउनुभयो। यस पटक, मैले दस हजार जोडी दण्डहरू तयार राखेको सुनिश्चित गरें!
अनुष्ठान विशेषज्ञहरू सधैं उपलब्ध नहुने भएकाले, रिन्पोछेले आत्मनिर्भर हुनुको आवश्यकतामा जोड दिनुभयो। त्यसैले, उहाँले आफ्ना उन्नत पश्चिमी शिष्यहरूलाई आफैं होम पूजा गर्न सिकाउनुभयो। यसमा अग्निकुण्डको तयारी र त्यसको भुइँमा रंगीन धुलोले आवश्यक मण्डलको डिजाइन कोर्ने तरिका समावेश थियो। पश्चिमीहरूलाई अनुष्ठान आफ्नै भाषामा अझै उपलब्ध नभएको कारणले अरू कसैलाई पाठ गराउन आवश्यक परे पनि, रिन्पोछेले बताउनुभयो कि तिनीहरूले विभिन्न पदार्थहरू आफैं आगोमा अर्पण गर्नुपर्छ। सामूहिक ध्यान एकान्तवास गर्दा पनि यो लागू हो।
तथापि, प्रक्रियाहरूको सही पालनाले व्यावहारिक दृष्टिकोणसँग विरोधाभास गर्दैन। उदाहरणका लागि, तान्त्रिक एकान्तवासको सुरुवात घरको वेदीमा विशेष भेटीहरू व्यवस्थित गरेर गरिन्छ र त्यसपछि बाधाहरू हटाउन प्रत्येक दिन ती अर्पण गरिन्छ। बाधाहरूलाई हस्तक्षेप गर्ने आत्माहरूको रूपमा कल्पना गरिन्छ र प्रत्येक दिन भेटी ग्रहण गर्न निमन्त्रणा दिइन्छ। रिन्पोछेले सुझाव दिनुभयो कि यस उद्देश्यका लागि प्रयोग हुने परम्परागत सुसज्जित तोर्माहरूको सट्टामा कुकिजका बक्स वा जारहरू पूर्ण रूपमा स्वीकार्य विकल्प हो।
अयोग्य हुँदा उन्नत अभ्यासहरू गर्न प्रयास नगर्नु
रिन्पोछे मानिसहरूले अयोग्य हुँदा पनि उन्नता अभ्यासहरू गर्न खोज्दा खुसी हुनुहुन्नथ्यो। केही मानिसहरू, उदाहरणका लागि, लामो साधना गर्न इच्छुक वा रुचि नराख्दै र त्यसमा दक्षता हासिल नगरी नै निष्पन्न क्रमका अभ्यासहरू गर्न खोज्छन्। तन्त्रको उच्चतम वर्ग, अनुत्तरयोगमा, पहिलो उत्पन्न क्रम र त्यसपछि निष्पन्न क्रमका अभ्यासहरू हुन्छन्। पहिलो चरणले साधना अभ्यासको माध्यमबाट कल्पना र एकाग्रताको शक्तिहरू प्रशिक्षण दिन्छ। पछिल्लो चरणले मानसिक शक्तिका विकसित क्षमताहरू प्रयोग गरेर शरीरको सूक्ष्म ऊर्जा प्रणालीसँग काम गर्छ र वास्तविक आत्म-रूपान्तरण ल्याउँछ। साधना अभ्यासबाट प्राप्त सीपहरू बिना, यस सूक्ष्म प्रणालीका चक्र, नाडी र प्राण-वायुसँग काम गर्नु ढोंग मात्र हो।
उन्नत तन्त्र अभ्यासहरू यदि अयोग्य व्यक्तिले गलत तरिकाले गरे भने धेरै हानिकारक हुन सक्छन् भनेर रिन्पोछेले चेतावनी दिनुभयो। उदाहरणका लागि, चेतना सार्ने अभ्यास (फोवा), जसमा मृत्युको प्रत्याशामा आफ्नो चेतनालाई टाउकोको माथिबाट बाहिर प्रक्षेपण गर्ने कल्पना गरिन्छ, यसले आयु छोट्याउन सक्छ। चक्कीको सार ग्रहण गर्ने (चूलेन), जसमा व्यक्ति हप्तौँ उपवास बस्छन् र पवित्र अवशेष चक्कीहरू खाएर बसिन्छ, विशेष गरी समूहमा गर्दा, त्यो क्षेत्रमै अनिकाल निम्त्याउन सक्छ। यसका अतिरिक्त, यस्तो अभ्यास गर्ने व्यक्तिले खाना र पानीको कमीका कारण गम्भीर बिरामी पर्न सक्छ, र मृत्यु समेत हुन सक्छ।
तान्त्रिक ध्यान एकन्तवास आफैंमा उन्नत अभ्यास हुन्, र रिन्पोछेले यसमा समयभन्दा अघि प्रवेश नगर्न चेतावनी दिनुभयो। उदाहरणका लागि, कतिपय मानिसहरूले एक लाख मन्त्र जप्ने उद्देश्यले ध्यान एकन्तवास बस्छन्, तर अभ्यासबारे पहिले नै परिचित हुँदैनन्। उनीहरूले ध्यान एकन्तवासको क्रममा अनुभव प्राप्त गर्ने सोच बनाउँछन्। यद्यपि कुनै विशेष अभ्यासलाई गहिरो अध्ययन गरेर र बिस्तारै परिचित भएर समय बिताउनु लाभदायक हुन्छ, यो काम औपचारिक तान्त्रिक ध्यान एकन्तवासको समयमा गर्ने होइन। जसले पौडी खेल्न नै जान्दैन, उसले तालमा बाह्र घण्टा अभ्यास गरेर सुरु गर्दैन। यस्तो मूर्खताले केवल ऐंठन र थकान मात्र ल्याउँछ। गहिरो तालिम त केवल दक्ष पौडीबाजले उत्कृष्ट खेलाडी बन्नका लागि गर्ने कुरा हो। यही कुरा तान्त्रिक ध्यान-एकन्तवासमा पनि लागू हुन्छ।
हाम्रो अभ्यासको बारे घमण्ड नगर्नु
यसका अतिरिक्त, तान्त्रिक अभ्यास निजी राख्नुपर्छ। नत्र धेरै अवरोधहरू आउन सक्छन्। रिन्पोछेले देख्नुभयो कि धेरै पश्चिमीहरूले आफ्ना अभ्यास र उपलब्धिहरू आफूसँग मात्र राख्दैनन्, बल्कि तिनका घमण्ड गर्छन्। उहाँले भन्नुभयो कि कुनै बुद्ध-आकारको केही लाख मन्त्र जप गरेर छोटो ध्यान एकन्तवास मात्र गरेर महान् योगी अभ्यासकर्ता भएको दाबी मार्नु बेतुकी कुरा हो, र त्यो आकारको लामो साधना दैनिक अभ्यास पनि नगरेर यति दम्भी र अहङ्कारी हुनु झन् दयनीय छ। रिन्पोछेले सधैं बुझाउनुहुन्थ्यो कि लामो साधनाहरू नयाँ सिक्नेहरूका लागि हुन्। यी साधनाहरूमा प्रायः सयभन्दा धेरै पानाहरू हुन्छन् र तिनीहरू दृश्यावलोकनको नाटकको स्क्रिप्टजस्तै हुन्छन्। छोटा संक्षिप्त साधनाहरू त उन्नत अभ्यासकर्ताहरूका लागि हुन् जो सम्पूर्ण अभ्याससँग यति परिचित हुन्छन् कि तिनीहरूले केही शब्द मात्र उच्चारण गर्दा सबै दृश्यावलोकन र प्रक्रियाहरू भर्न सक्छन्।
तान्त्रिक शिक्षण विधिको उद्देश्यपूर्ण अस्पष्टताको प्रशंसा
रिन्पोछेले सिकाउनुभयो कि पश्चिमीहरूले सबै शिक्षाहरू र निर्देशनहरू सुरुमै स्पष्ट रूपमा प्रस्तुत गरिएका चाहने प्रवृत्तिलाई पनि नियन्त्रण गर्न आवश्यक छ, विशेष गरी यो तन्त्रको विषयमा लागु हुन्छ। महान् भारतीय र तिब्बती आचार्यहरू स्पष्ट ग्रन्थ लेख्न पूर्ण रूपमा सक्षम थिए। तर पनि, उनीहरूले जानाजानी अस्पष्ट शैलीमा लेखेका थिए। तान्त्रिक सामग्रीलाई धेरै स्पष्ट र सजिलै पहुँचयोग्य बनाउनुले सजिलै व्यवधान र अभ्यासको पतन ल्याउन सक्छ। उदाहरणका लागि, मानिसहरूले शिक्षालाई सामान्य रूपमा ठानेर त्यसमा गम्भीर प्रयास नगर्न सक्छन्।
बौद्ध शिक्षण विधिको एक महत्वपूर्ण भाग भनेको अरूलाई अर्थमाथि प्रश्न उठाउन लगाउनु हो। यदि विद्यार्थीहरू साँच्चै इच्छुक छन् भने, तिनीहरूले थप स्पष्टीकरण खोज्नेछन्। यसले स्वतः "आध्यात्मिक पर्यटकहरू" लाई छुट्याउँछ जो ज्ञान प्राप्तिका लागि आवश्यक कठिन परिश्रम गर्न अनिच्छुक हुन्छ। तर, यदि तन्त्रहरू स्पष्ट पार्ने उद्देश्य मानिसहरूको विकृत, नकारात्मक धारणाहरू हटाउनु हो भने, परम पावन दलाई लामाले स्पष्ट व्याख्याहरू प्रकाशित गर्न समर्थन गर्नुभएको छ। यी व्याख्याहरू केवल सिद्धान्तसँग मात्र सम्बन्धित हुनुपर्छ, तर व्यक्तिगत बुद्ध-आकृतिहरूका विशिष्ट अभ्यासहरूसँग होइन। स्पष्ट "कसरी गर्ने" निर्देशिकाले मानिसहरूलाई शिक्षकको निरीक्षणबिना नै उन्नत अभ्यासहरू प्रयास गर्न प्रेरित गर्न सक्छ, जुन धेरै खतरनाक हुन सक्छ।
धर्मपालहरूलाई हल्का रूपमा नलिनु
सबैभन्दा खतरनाक कुरा, रिन्पोछेले चेतावनी दिनुभयो कि धर्मपालहरूलाई हल्का रूपमा व्यवहार गर्नु हो। धर्मपालहरू शक्तिशाली शक्तिहरू हुन्, प्रायः आत्माहरू, जसलाई महान् गुरुहरूले वशमा पारेका छन्। उनीहरूले यी सामान्यतया हिंसक प्राणिहरूलाई बौद्ध शिक्षाहरू (धर्म) र तिनका निष्ठावान् साधकहरूलाई हानि र अवरोधबाट बचाउने शपथ खुवाएका हुन्छन्। केवल महान् योगीहरूले मात्र तिनीहरूलाई नियन्त्रणमा राख्न सक्छन्।
रिन्पोछेले प्रायः एउटा धर्मपालको कथा भन्नुहुन्थ्यो जसले वादविवादमा समर्पित एउटा गुम्बाको अभ्यासलाई रक्षा गर्ने प्रतिज्ञा लिएको थियो। यदि कोही वादविवाद गर्नु पर्ने बेला त्यस गुम्बाभित्र तान्त्रिक अभ्यास गर्न खोज्यो भने उसलाई बिरामी वा दुर्घटनाजस्ता व्यवधान ल्याउनुपर्ने उसको कर्तव्य थियो। केवल ती भिक्षुहरूलाई मात्र तान्त्रिक अभ्यास गर्न अनुमति थियो, जसले आफ्नो वादविवाद प्रशिक्षण पूरा सकेको थियो र त्यसपछि दुई तान्त्रिक कलेजहरूमध्ये एउटामा थप अध्ययन गरेको थिए, तर त्यो अवस्थामा पनि गुम्बाको पर्खालभित्र अभ्यास गर्न दिइएको थिएन।
एकजना गेशे, विद्यार्थी हुँदा, गुम्बाको भित्र तन्त्रसँग सम्बन्धित धुप पातको होम गर्थे। उनलाई निरन्तर बाधाहरूले सताइरहन्थ्यो। त्यसपछि उनले एउटा तान्त्रिक कलेजमा प्रवेश गरे र स्नातकको पछि यो होम फेरि सुरु गरे, तर गुम्बा भित्र नभई एउटा नजिकैको डाँडामा गरिन्थ्यो। केही वर्षपछि, जब गेशेले शून्यताको प्रत्यक्ष, निष्कल्पना दर्शन प्राप्त गरेपछि, धर्मपाल उनलाई दर्शनमा देखा पर्यो। डरलाग्दो देखिने आत्माले माफी मागे र भन्यो, "मैले तपाईंलाई पहिले हानि पुर्याउनुपरेकोमा दुःखी छु, तर त्यो तपाईंको मठको संस्थापकसँग मेरो प्रतिज्ञाको भाग थियो। अब तपाईंले शून्यताको प्रत्यक्ष अनुभुति प्राप्त गर्नुभएको छ र मैले चाहे पनि तपाईंलाई कुनै हानि पुर्याउन सक्दिन।"
रिन्पोछेले यस उदाहरणको महत्त्वलाई जोड दिनुहुन्थ्यो। हाम्रो नियन्त्रणको क्षमताभन्दा बाहिरका शक्तिहरूसँग खेलवाड गर्दा विपत्ति निम्त्याउन सक्छ। उहाँले प्रायः परमपावन दलाई लामाको उद्धृत गर्नुहुन्थ्यो जसले भन्नुहुन्थ्यो कि धर्मपालहरू बुद्धाकृतिको सेवक हुन् भन्ने कुरा सधैं सम्झनुपर्छ। अनुत्तरयोग तन्त्रको उत्पत्तिक्रम्मा पूर्ण दक्षता र बुद्धाकृतिको हैसियतमा आज्ञा दिने शक्ति भएकाहरू मात्रले संलग्न हुनुपर्छ। अन्यथा, समयअगावै संलग्नता भनेको सानो बच्चाले ठूलो सिंहलाई आफ्नो सुरक्षाको लागि बोलाउनु जस्तै हो। सिंहले बच्चालाई सिधै निल्न सक्छ। परमपावनले सल्लाह दिनुहुन्थ्यो कि हाम्रो कर्महरूले सिर्जना गर्ने कर्म नै हाम्रो उत्तम संरक्षक हो। त्यसमाथि, त्रिरत्नमा शरणागमन - बुद्ध, धर्म र उच्च साधक आध्यात्मिक समुदायमा – शरण लिनु भेन्ने कुरा के भयो?