सेर्कोङ रिन्पोछेसँगको प्रशिक्षण

सेर्कोङ रिन्पोछेसँग मेरो पहिलो भेट र उनको प्रारम्भिक सल्लाह

म पहिलो पटक सन् १९७० जनवरीमा बोधगयामा सेर्कोङ रिन्पोछेसँग भेटेको थियो। शार्पा र खामलुङ रिन्पोछे, जो दुई जना युवा पुनर्जन्मित लामा थिए र गेशे वाङ्ग्यालको मार्गदर्शनमा अमेरिकामा अङ्ग्रेजी अध्ययन गरेका थिए, तिनीहरूले मलाई उहाँको सिफारिस गर्नुभएको थिए। सेर्कोङ रिन्पोछेले मलाई गुह्यसमाज (लुकेका तत्वहरूको सम्मेलन) अध्ययन गर्न सबैभन्दा उपयुक्त गुरु कुन हो भनेर मार्गदर्शन गर्न सक्ने बताइएको थियो। मैले स्नातकोत्तर सेमिनारमा यसको मुख्य गूढ ग्रन्थको सानो अंश संस्कृत र तिब्बती संस्करणसँग तुलना गरेपछि, आफ्नो पीएचडी शोध प्रबंधको विषयको रूपमा यो जटिल तन्त्र प्रणाली चयन गरेको थिएँ।

यद्यपि मेरा भाषाविज्ञान अध्ययनहरूले मलाई यति उन्नत अध्ययनका लागि बिल्कुलै तयार पारेको थिएनन्, सेर्कोङ रिन्पोछेले मलाई गम्भीरतापूर्वक लिनुभयो र उहाँले खेन्जुर येशे दोन्डुबको सुझाव दिनुभयो। जो ग्युतो, माथिल्लो तान्त्रिक महाविद्यालयका सेवानिवृत्त खेन्पो आचार्य तथा पछि धेरै वर्षपछि गेलुग परम्पराका प्रमुख बनेका थियो। रिन्पोछेले यति प्रसिद्ध आचार्यलाई छानेकोमा मैले गौरव महसुस गरेको थिएं।

गेशे ङवाङ धार्ग्येसँग डलहौसीमा अध्ययन

केही महिनापछि, मैले खेन्पोलाई धर्मशाला (Dharamsala) नजिकैको पहाडी गाउँ डलहौसी (Dalhousei) माथि उनको सानो माटो र गाईको गोबरले बनेको झुप्रोमा भेटेको थिएं। त्यहाँ ग्युतो गुम्बा अवस्थित थियो र म त्यहीँ बसोबास गरेको थिएं। सोझासिधा वृद्ध भिक्षुले भर्खरै लगातार दुई पटक तीन वर्षे ध्यान साधना पूरा गर्नुभएको थियो। जब मैले उहाँलाई मलाई पढाउन अनुरोध गरेँ, आचार्यले सहजै सहमति दिनुभयो। उहाँले भन्नुभयो कि म बिल्कुल सही समयमा आएको छु। भोलिपल्ट उहाँ गुह्यसमाज प्रणालीमा तीन वर्षे गहन ध्यान साधना सुरु गर्दै हुनुहुन्थ्यो। के म उहाँसँगै सामेल हुन चाहन्छौं? मेलै निस्सन्देह इन्कार गर्नुपर्‍यो, तर रिन्पोछेले परम्परागत बौद्ध शैलीमा प्रस्तुत गर्नुभएको पाठ सिकेँ। रिन्पोछेले मलाई सत्य आफैं बुझ्ने परिस्थिति तयार गर्नुभएको थियो। यो सबैभन्दा उन्नत तन्त्र अध्ययन र अभ्यास गर्न, मलाई सुरुवातदेखि सुरु गर्नुपर्ने थियो

मैले चाँडै मेरो शोध प्रबंधको विषय परिवर्तन गरेर एक सामान्य विषयमा लगेको थिएं - लम-रिमको मौखिक परम्परा (मार्गको क्रमबद्ध चरणहरू)। मैले शार्पा र खामलुङ रिन्पोछेका गुरु गेशे ङवाङ धार्ग्येसँग आधारभूत कुराहरू सिक्ने व्यवस्था मिलाएको थिएं। “गेशे” भनेको मठीय उपाधि हो, जुन लगभग पीएचडी बराबरको हुन्छ। गेशे धार्ग्येको शिक्षकको कौशलतले उहाँलाई पाँच किशोर पुनर्जन्मित लामाहरूको शिक्षकको पद दिलाएको थियो। त्यतिबेला गेशे धार्ग्ये गोठलाई रुपान्तरण गरी बनाइएको घरमा बस्नुहुन्थ्यो, जहाँ झिंगाहरूले भरिएको थियो। त्यो घर यति सानो थियो कि केवल उहाँको ओछ्यान मात्र अट्थ्यो, बाँकी ठाउँमा तीन जना भुइँमा भेला भएर बस्न सक्थे। उहाँ बस्ने अवस्था मलाई घृणास्पद लागे पनि म आफ्ना अध्ययनका लागि बसें। मलाई आधुनिक बोलीचालीको तिब्बती पनि सिक्न आवश्यक थियो। हार्वर्डमा मैले केवल शास्त्रीय लिखित भाषा मात्र अध्ययन गरेको थिएँ।

अर्को पटक मैले सेर्कोङ रिन्पोछेलाई त्यही वर्षको जुन महिनामा भेटेको थिएं। त्यस क्षेत्रमा भयानक हैजा र टाइफाइडको (cholera and typhoid) महामारी फैलिएको थियो। परम पावन दलाई लामाले रिन्पोछेलाई डलहौसी आएर हयग्रीव अभिषेक प्रदान गर्न अनुरोध गर्नुभएको थियो। यस बलशाली बुद्ध आकृतिको अभ्याससँगै सरसफाइले मानिसहरूलाई संक्रमणबाट बच्न सहायता गर्छ। यो दीक्षा पाउने मुट्ठीभर पश्चिमीहरूमध्ये म एक थिएँ तर रिन्पोछेसँग व्यक्तिगत रूपमा भेट्ने अवसर पाइनँ। उनका अन्य ठाउँहरूमा पनि यो अभिषेक दिनुपर्ने भएकाले चाँडै डलहौसीबाट प्रस्थान गर्नुभयो।

विश्वविद्यालयको प्राध्यापक बन्ने बाटो त्यागेर धरमशालातर्फ प्रस्थान

हामी फेरि भेट्दा सम्म धेरै परिवर्तनहरू भइसकेका थिए। सन् १९७१ को शरद ऋतुमा, परम पावनले गेशे धार्ग्येलाई धरमशालामा नयाँ निर्माण गरिएको तिब्बती पुस्तकालय तथा अभिलेखालयमा विदेशीहरूलाई बौद्ध धर्म पढाउन भन्नुभयो। शार्पा र खम्लुङ रिन्पोछेहरू उहाँका अनुवादकका रूपमा सहभागी भए। मैले पनि पुस्तकालयमा ग्रन्थहरूको अनुवाद गरेर सेवा गर्न सक्छु कि भनेर सोधें, र परम पावनले स्वीकार गर्नुभयो। पहिले मैले आफ्नो शोधप्रबन्ध बुझाउनुपर्ने, अनि डक्टरेट उपाधि लिनुपर्ने, र त्यसपछि फर्किनुपर्छ। सय माइलभन्दा कम दूरीमा पाकिस्तानसँगको सीमा युद्ध सुरु भएकोले ढिला नगरी फर्किने निर्णय गरेँ। म हार्भर्ड फर्किएँ र परम पावनको सल्लाह पालन गरें। विश्वविद्यालयमा शिक्षण पेशालाई धन्यवाद भन्दै इन्कार गरें, जसले मेरा प्राध्यापकहरूलाई आश्चर्यचकित बनायो, अनि केही महिनापछि, १९७२ को सेप्टेम्बरमा, म धरमशाला सरेँ।

रिन्पोछेको शिष्य बन्दै

सेर्कोङ रिन्पोछे भर्खरै नेपाल प्रस्थान गरेर त्यहाँ बनेका केही नयाँ मठहरूमा दुई वर्षसम्म अभिषेक र मौखिक परम्परा प्रदान गर्नुभएको थियो। उहाँ १९७४ को शरद ऋतुमा धरमशाला फर्किनुहुँदा, म अन्ततः उहाँसँग कुराकानी गर्न सक्ने गरी तिब्बती भाषा बोल्न सक्थें। यद्यपि सुरुमा मैले बुझ्न सकेको थिइनँ, तर रिन्पोछेले मलाई आफ्ना अनुवादक बन्ने कर्मसम्बन्ध छ भन्ने थाहा पाउनु भएको जस्तो लाग्थ्यो। उहाँले मलाई बारम्बार आउन र विभिन्न मानिसहरूसँग भेट्दा छेउमा बस्न प्रोत्साहन गरेर यो संकेत दिनुभयो। भेटघाटको बीचमा, रिन्पोछेले मेरोसँग कुराकानी गर्नुहुन्थ्यो र तिब्बतीका विभिन्न शब्दहरूको अर्थ खुलाइदिनुहुन्थ्यो ताकि मैले संवाद राम्रोसँग बुझेको छु भन्ने सुनिश्चित गर्न सकियोस्।

केही समयपछि, रिन्पोछेले मलाई स्पीति वासिन्दाहरूले हालै उहाँलाई अर्पण गरेका तीन अद्भुत थाङ्का चित्रहरू दिनुभयो। ती चित्रहरू सेतो मञ्जुश्री, सेतो सरस्वती र सेतो तारा हुन्। यी बौद्ध आकृतिहरू बाल्यकालदेखि नै उहाँको व्यक्तिगत विकास र ध्यान अभ्यासका केन्द्रमा रहेका थिए। तिनीहरूले क्रमशः अरूलाई सहयोग गर्ने मानसिकता स्पष्टता, स्पष्ट र रचनात्मक साहित्यिक अभिव्यक्तिका लागि अद्भुत प्रज्ञा, र दीर्घ र फलदायी जीवनका लागि जीवन्त ऊर्जा प्रतिनिधित्व गर्छन्। यो गहिरो उपहारले हाम्रो सम्बन्धलाई पुष्टि गर्‍यो। मैले रिन्पोछेलाई म उहाँको शिष्य बन्न सक्छु कि भनेर सोध्दा, उहाँले मेरो पश्चिमी बानी, जुन प्रष्टै देखिएको कुरा शब्दमा भन्नुपर्ने, प्रति धैर्यपूर्वक मुस्कुराउनुभयो।

मलाई अनुवादक र शिक्षक बनाउन प्रशिक्षण दिनुभएको

त्यस्पछि रिन्पोछेले मलाई अनुवादक बनाउन व्यवस्थित रूपमा प्रशिक्षण दिन थाल्नुभयो, तर कहिल्यै यसो गर्दैछु भनेर स्पष्ट भन्नुभएन। सुरुमा उहाँले मेरो स्मरणशक्ति अभ्यास गर्नुभयो। जब म उहाँलाई भेट्न जान्थेँ, अप्रत्याशित समयमा उहाँले भर्खरै भन्नु भएको कुरा शब्दशः दोहोर्याउन भन्नुहुन्थ्यो। त्यस्तैगरी, मैले आफैंले भर्खर भनेको पनि दोहोर्याउन भन्नुहुन्थ्यो। सन् १९७५ को शरद ऋतुमा मैले उहाँका लागि अनुवाद गर्न थालेपछि, रिन्पोछेले प्रायः आफ्ना कुरा पुनः तिब्बती भाषामा अनुवाद गर्न लगाउनुहुन्थ्यो, ताकि कुनै गल्ती, थप वा छुट नहोस्। वास्तवमा, आठ वर्षसम्म मैले उहाँको अनुवादकको रूपमा सेवा गर्दा, प्रत्येक पटक यसरी फिर्ता अनुवाद गर्न लगाउँदा मैले उहाँको कुरा अनिवार्य रूपमा गलत बुझेको रहेछु भन्ने महसुस गर्थें। मैले गल्ती गर्दा रिन्पोछेले सधैं थाहा पाउनुहुन्थ्यो जस्तो लाग्थ्यो।

त्यसपछि रिन्पोछेले सत्रहरूको अन्त्यमा आफ्नो शिक्षाहरूको पाँच मिनेटको सारांश दिन थाल्नु हुन्थियो, र त्यसपछि भन्नुहुन्थ्यो कि अब मेरो पालो हो भनेर मलाई संक्षेप गर्न लगाउनु हुन्थ्यो। यसरी, उहाँले मलाई धेरै लामो प्रवचनहरू अनुवाद गर्न मात्र नभएर सिकाउन पनि प्रशिक्षण दिन थाल्नुभयो। कहिलेकाहीँ त उहाँ मेरो संक्षेप सुनाउँदै गर्दा आफ्नो सहयोगीहरुसँग कुराकानी गर्नुहुन्थ्यो, जसले मेरो एकाग्रताको क्षमता परीक्षण गर्थ्यो। राम्रो शिक्षकलाई बाहिरी आवाजले ध्यान भंग गर्न वा विचलित पार्न हुँदैन।

मेरो स्मरणशक्तिको प्रशिक्षण दिनुभएको

जब रिन्पोछेले मलाई निजी रूपमा सिकाउनुहुन्थ्यो, उहाँले मलाई कहिल्यै कुनै नोट लिन दिनुहुन्नथ्यो। मैले सबै कुरा सम्झनुपर्थ्यो र पछि लेख्नुपर्थ्यो।केही समयमै, रिन्पोछेले मलाई पाठपछि अनगिन्ती कामहरू दिनुहुन्थ्यो, जसले गर्दा म धेरै पछि मात्र, रातमा मेरा नोटहरू लेख्न सक्थें। अन्तमा, रिन्पोछेले कहिलेकाहीं मैले अनुवाद गरिरहेको शिक्षाको बीचमा रोकेर, छेउमा, पूर्ण रूपमा फरक विषयमा मेरा पाठहरूको बारेमा मलाई निजी रूपमा केही व्याख्या गर्नुहुन्थ्यो। त्यसपछि, मलाई उहाँका शब्दहरूमाथि चिन्तन गर्न वा केही लेख्नको लागि एक क्षण पनि नदिई, उहाँ आफ्नो मूल शिक्षा फेरि सुरु गर्नुहुन्थ्यो।

यदि मैले रिन्पोछेलाई उहाँले पहिले भन्नुभएको कुनै कुराको बारेमा प्रश्न सोधें भने, उहाँले मेरो स्मरणशक्ति कमजोर भएको भन्दै कडा रूपमा गाली गर्नुहुन्थ्यो। मलाई याद छ एक पटक मैले उहाँलाई एउटा शब्दको अर्थ सोधेको थिएँ र रिन्पोछेले तीखो जवाफ दिनुभएको थियो, "मैले त्यो शब्द तिमीलाई सात वर्ष अगाडि नै व्याख्या गरेको थिएँ! मलाई त्यो स्पष्ट रूपमा याद छ। तिमीलाई किन छैन?" वास्तवमा, उहाँले मलाई एक पटक भनेका थिए कि उहाँ जति बुढो हुँदै जानुहुन्छ, उहाँको दिमाग त्यति नै स्पष्ट हुँदै जान्छ।

अझ सटीक अनुवाद शब्दहरू खोज्न मसँग काम गर्नुभएको

सेर्कोङ रिन्पोछे मेरो स्मरणशक्ति विकासमा मात्र नभई, मेरो अनुवादलाई पनि सटीक बनाउन चासो राख्नुहुन्थ्यो। पश्चिमीहरूलाई पढाउँदा आएको आफ्नो अनुभवबाट उहाँले बुझ्नुभयो कि उनीहरूको धेरै गलतफहमी केही प्राविधिक शब्दहरूको भ्रामक अनुवादबाट आएको हो। त्यसैले उहाँले मसँग मिलेर अंग्रेजीमा नयाँ पारिभाषिक शब्दावली विकास गर्न काम गर्नुभयो। उहाँले हरेक तिब्बती शब्दको आशय धैर्यपूर्वक व्याख्या गर्नुहुन्थ्यो र त्यसको सम्भावित अंग्रेजी विकल्पहरूको प्रभावबारे सोध्नुहुन्थ्यो, ताकि सही अर्थ मिलाउन सकियोस्। उहाँले सधैं मलाई नयाँ शब्दहरू प्रयोग गर्न प्रोत्साहन दिनुहुन्थ्यो र अपर्याप्त परम्पराको दास नबन्न भन्नुहुन्थ्यो। संस्कृतबाट बौद्ध ग्रन्थहरू अनुवाद गर्ने क्रममा प्रयोग भएको प्रचलित तिब्बती पारिभाषिक शब्दावली पनि शताब्दीहरूमा क्रमशः विकसित भएको हो। त्यसैले पश्चिमी भाषाहरूमा अनुवाद गर्दा पनि त्यस्तै संशोधनको प्रक्रियाको विकास हुनु स्वाभाविक हो।

मलाई सामाजिक सीप र नम्रता सिकाउनुभएको

जब मैले सुरुमा रिन्पोछेलाई मलाई शिष्यको रूपमा स्वीकार गर्न अनुरोध गरें, मैले विशेष गरी उहाँलाई कुशल उपाय सिकाउन भनें - कसरी अरूलाई दयालुता र बुद्धिमानीपूर्वक मद्दत गर्ने। उच्च शैक्षिक पृष्ठभूमिबाट आएको र सधैं सफल भएको कारण मेरो व्यक्तिगत विकास एकतर्फी थियो। मलाई सामाजिक सीप र नम्रता सिक्न आवश्यक थियो। फलस्वरूप, रिन्पोछेले मलाई केवल एउटै नामले बोलाउनुहुन्थ्यो, "मूर्ख," र मैले भनेको वा गरेको हरेक मूर्खतापूर्ण वा गलत कुरालाई निरपवाद रूपमा औंल्याउनुहुन्थ्यो। उदाहरणको लागि, मलाई अनुवाद गराउँदा, रिन्पोछेले म पूर्ण रूपमा बुझनैपर्छ भन्ने जोड दिनुहुन्थ्यो। जब म हिच्किचाउँथे, यो जतिसुकै समय लागे पनि वा मलाई मूर्ख भन्दा जतिसुकै लाज लागे पनि फरक पर्दैनथ्यो। उहाँले मैले नबुझी र सही अनुवाद नगरी कुनै पनि शब्द जान दिनुहुन्नथ्यो। यस्तो तरिका आत्मसम्मान कमजोर भएका विद्यार्थीहरूको लागि अनुपयुक्त भए पनि, उहाँको अटल दृष्टिकोण मेरो लागि एकदम उपयुक्त थियो।

एक पटक, फ्रान्सको लावाउरमा (Lavaur, France) रिन्पोछेले एक जटिल ग्रन्थको व्याख्यामाथि प्रवचन दिनुभयो। जब म अनुवाद गर्न बसें, रिन्पोछेले मलाई व्याख्याका धेरै संस्करणहरूको तुलना गर्न र हामी अगाडि बढ्दै जाँदा सँगसँगै पाठ सम्पादन गर्न पनि भन्नुभयो। मसँग कलम थिएन, तर मेरो सामुन्ने एउटी महिला बसिरहेकी थिइन् जसका कपाल चम्किलो रातो रङ्गले रङ्गिएको थियो, भव्य रूपमा रातो लिपस्टिक लगाएकी थिइन्, र रातो गुलाब थिइन् जुन उनले शिक्षाभरि दाँतमा समातेकी थिइन्। मै मैले कसैसँग अतिरिक्त कलम छ भने दिन भन्नें, र उनले आफ्नै कलम दिएर सहयोग गरिन्। सत्र सकिएपछि, म पूर्ण रूपमा थाकेको थिएँ। जब म उठें, त्यो महिलाले एक शब्द नभनी आफ्नो हात अगाडि बढाइन्। म आफ्नै सोचमा यति व्यस्त थिएँ कि मैले उनलाई मेरो अनुवाद राम्रो भएकोमा बधाई दिन हात मिलाउन चाहेको ठानेँ। जब मैले पनि हात बढाएँ, रिन्पोछे गर्जनुभयो, "मूर्ख, उनलाई उनको कलम फिर्ता दे!"

मलाई कुनै प्रशंसाको इच्छा बिना अरूलाई सहयोग गर्नमा मात्र चिन्तित हुनको प्रशिक्षण

मेरो आत्मकेन्द्रितता कम गर्न, रिन्पोछेले मलाई केवल अरूका लागि मात्र काम गर्न सिकाउनुभयो। यसका लागि उहाँले मैले आफ्नै लागि मागेको कुनै पनि शिक्षा वा अभिषेक कहिल्यै दिन सहमति जनाउनु भएन। अरू कसैले अनुरोध गर्दा म अनुवादक भएमा मात्र उहाँ राजी हुनुहुन्थ्यो। रिन्पोछेले मलाई व्यक्तिगत रूपमा ती कुराहरू मात्र सिकाउनुभयो जुन उहाँ आफैंले मेरो लागि सिक्न महत्वपूर्ण ठान्नुभयो। 

यसबाहेक, रिन्पोछेले मेरो अगाडि कहिल्यै मेरो प्रशंसा गर्नुभएन, बल्कि सधैं मलाई गाली गर्नुहुन्थ्यो। उहाँले यो विशेष गरी अरूको अगाडि गर्नुहुन्थ्यो, ताकि म आलोचना र दबाबबाट अविचलित रहूं। वास्तवमा, मलाई याद छ रिन्पोछेले मेरो सहयोगको लागि केवल एक पटक मात्र धन्यवाद दिनुभएको थियो, यो हाम्रो पहिलो पश्चिमी यात्राको अन्त्यमा थियो। यो भावनात्मक रूपमा शक्तिशाली तरिकाले, प्रशंसाको इच्छा वा गुरुलाई खुशी पार्ने इच्छा नगरि रिन्पोछेले मलाई केवल अरूलाई फाइदा पुर्याउने इच्छाबासट मात्र प्रेरित हुन प्रशिक्षण दिनुभयो। जब मैले उहाँको धन्यवादको प्रतीक्षा गर्नु कुकुरले टाउकोमा सुमसुम्याइ पर्खे जस्तै हो भन्ने देखेपछि, चाँडै नै मैले अनुमोदनको कुनै संकेतको अपेक्षा गर्न छोडेँ। उहाँले प्रशंसा गर्नुभयो भने पनि, पुच्छर हल्लाउनु बाहेक म के गर्न सक्थेँ र!

तिब्बती भाषामै महान ग्रन्थहरू पढ्न मलाई उत्साहित गर्नुभएको

रिन्पोछेले सधैं मानिसहरूलाई आफैंले महान शास्त्रीय ग्रन्थहरू पढ्न सिक्न प्रोत्साहित गर्नुहुन्थ्यो। जब कसैलाई शंका वा प्रश्न आउँथ्यो भने, रिन्पोछेले सम्बन्धित व्यक्तिलाई आफैं खोजेर जाँच्न लगाउनुहुन्थ्यो। उहाँले यो शिक्षाहरू आफैं बनाएको होइन, वैध स्रोतहरूबाट आएको हो भनेर स्पष्ट पार्नुहुन्थ्यो। उहाँले यो पनि भन्नुहुन्थ्यो कि कुनै एउटा लामाले सबै कुरा शिक्षादिन सक्ने अपेक्षा गर्नु गलत हो। साथै, पश्चिमेलीहरूका लागि, उहाँले परम पावन दलाई लामाको भनाइलाई दोहोर्‍याउँदै भन्नुहुन्थ्यो कि आगामी दुई सय वर्ष वा सोभन्दा बढी समयसम्म बुद्धका सम्पूर्ण शिक्षाहरू तिब्बती भाषामै उपलब्ध हुनेछन्। त्यसैले उहाँले आफ्ना पश्चिमेली शिष्यहरूलाई तिब्बती भाषा सिक्न कडा रूपमा प्रोत्साहित गर्नुहुन्थ्यो। उहाँले भन्नुहुन्थ्यो कि तिब्बती भाषाको प्रत्येक अक्षर अर्थले भरिएको हुन्छ। त्यसैले, शिक्षादान गर्दा रिन्पोछे प्रायः तिब्बती प्राविधिक शब्दहरूको गहन अर्थमा विस्तारपूर्वक व्याख्या गर्नुहुन्थ्यो।

यस दृष्टिकोणअनुसार, रिन्पोछेले मलाई ग्रन्थहरू पढेर अध्ययनलाई निरन्तरता दिन लगाउनुभयो र तिनीहरूको बारेमा मलाई जुनसुकै प्रश्न सोध्न अनुमति दिनुभयो। उहाँले भन्नुहुन्थ्यो कि यसरी अघि बढ्दा, शिष्यहरूले अन्ततः बौद्ध साहित्यका जुनसुकै भागमा पनि अध्ययन गर्न सक्नेछन्, जस्तै समुद्रमा पौडिने वा आकाशमा उड्ने जस्तो। लामाहरूले शिष्यहरूलाई आफ्नै खुट्टामा उभिन र त्यसपछि उड्न सिकाउनुपर्ने हो भनेर उहाँले व्याख्या गर्नुभयो। त्यसपछि, उहाँले के अध्ययन गर्ने र के पढ्ने भन्नेबारे मार्गदर्शन दिनुहुन्थ्यो। अन्ततः, उहाँले आफ्ना शिष्यहरूलाई गुँडबाट बाहिर धकेली उनीहरूलाई आफ्नै बाटोमा पठाउनुहुन्थ्यो।

मलाई उहाँमाथि निर्भर नहुन सिकाउनुभएको

रिन्पोछेले मलाई कुनै पनि हिसाबले उहाँमाथि निर्भर नहुन अनेक तरिका प्रयोग गर्नुभयो। उदाहरणका लागि, रिन्पोछे र मेरो अत्यन्त नजिकको सम्बन्ध हुँदाहुँदै पनि, उहाँले कहिल्यै सबै परिस्थितिमा मलाई सहयोग गर्न सक्ने दाबी गर्नु भएन। एक पटक म निकै बिरामी परेँ र मैले खायिरहेको औषधिले केही फाइदा गरेन। मैले रिन्पोछेलाई कुन प्रकारको चिकित्सा पद्धति – पश्चिमी, तिब्बती वा भारतीय– र कुन चिकित्सकमा भर पर्नु उचित हुन्छ भनेर जोखना हेर्न अनुरोधगर्दा, उहाँले त्यो समयमा आफ्नो जोखना स्पष्ट नभएको भन्नुभयो। त्यसपछि, उहाँले मलाई अर्को महान लामासमक्ष पठाउनुभयो जसले मलाई अधिक प्रभावकारी उपचार खोज्न सहयोग गर्नुभयो। म चाँडै निको भएँ।

परम पावन दलाई लामाको अनुवादक बनाउन मलाई तयार पार्दै

केही वर्षपछि, मैले बुझें कि रिन्पोछेले मलाई परम पावन दलाई लामाको अनुवादक बनाउन तालिम दिनइरहनुभएको थियो। वास्तवमा, कहिलेकाहीँ मलाई लाग्थ्यो कि म एउटा उपहार जस्तै थियो, जसलाई रिन्पोछेले उहाँलाई प्रस्तुत गर्न तयार पारिनहनुभएको थियो। तर, राम्रोसँग सेवा गर्नका लागि मैले कहिल्यै परम पावनसँग आसक्त वा निर्भर हुनु हुँदैन। म परम पावनको अनुवाद आवश्यकताअनुसार छनोट गर्न सकिने थुप्रै गोल्फ क्लबहरूमध्ये (golf clubs) एउटा जस्तै मात्र हुने बन्नुपर्छ। साथै, मलाई अत्यधिक दबाब सामना गर्नुपर्ने र आफ्नो अहंकारलाई जित्नुपर्ने थियो।

यसरी, रिन्पोछेले मलाई दलाई लामाको सेवा गर्दा कसरी उचित व्यवहार गर्ने भनेर सिकाउनुभयो। उदाहरणका लागि, परम पावन दलाई लामाको अनुवादकहरूले नाचेजस्तो गरेर हात हल्लाउनु हुँदैन, न त चिडियाखानामा जस्तै उहाँलाई हेरिरहनु हुन्दैन। बल्कि, तिनीहरूले आफ्नो टाउको निहुराएर बस्नुपर्छ, पूर्ण रूपमा ध्यान केन्द्रित रहनुपर्छ, र कहिल्यै आफ्नो व्यक्तित्वको केही थप्नु हुँदैन। परम पावनले जसरी ब्यक्तिहरू र बुँदाहरू उल्लेख गर्नुहुन्छ, त्यही क्रममा सूचीबद्ध गर्नुपर्छ, कहिल्यै परिवर्तन गर्नु हुँदैन वा परम पावनले भन्नुभएको कुनै कुरालाई अर्थहीन वा उद्देश्यहीन ठान्नु हुँदैन।

लामाहरूको उपाधिहरू सही तरिकाले अनुवाद गर्नुपर्छ, जसरी परम पावन दलाई लामाले प्रयोग गर्नुहुन्छ। विदेशीहरूले झण्डै हरेक लामालाई “His Holiness” भन्ने तरिकाले होइन। यी लामाहरूलाई सम्मान गर्ने साटो, यस प्रकारको अज्ञानपूर्ण पश्चिमी चलनले दलाई लामालाई नै आपमान गरिन्छ। वास्तवमा, विदेशीहरूले आफूलाई दलाई लामा जस्तै सम्मानजनक उपाधिले सम्बोधन गरेको थाहा पाए यी लामाहरू डराउनुहुन्छ। क्याथोलिक चर्च र कूटनीतिक निकायमा जस्तै तिब्बती शिष्टाचार र यसको पदानुक्रमिक उपाधि प्रयोगले कडा नियम अनुसार चल्छ।

प्रायः जब म परम पावनका लागि अनुवाद गर्थें, सेर्कोङ रिन्पोछे मेरो सामुन्ने बस्नुहुन्थ्यो। उहाँलाई देखेर मलाई उहाँले दिनुभएको प्रशिक्षण सम्झना गराउन सहायता मिल्थ्यो। उदाहरणका लागि, एक पटक धर्मशालामा केही सयौं पश्चिमेली र हजारौं तिब्बतीहरूको सामु अनुवाद गर्दै गर्दा परम पावनले मलाई रोक्नुभयो र ठूलो स्वरमा हाँस्दै भन्नुभयो, "यसले भर्खर गल्ती गर्यो!" परम पावनले अंग्रेजी राम्ररी बुझ्नुहुन्छ। म कमिलाझैं कार्पेटमुनि लुक्न चाहन्थें तर मेरो दृष्टिक्षेत्रमा बसेका रिन्पोछेले मूर्खलाई धैर्यता राख्न सहायता गर्नुभयो।

मेरो मूर्खतापूर्ण व्यवहार सच्याउन कडा विधिहरू प्रयोग गर्नु

तर कहिलेकाहीं, मलाई मेरा पाठहरूको बलियो सम्झनाहरू चाहिन्थ्यो। उदाहरणका लागि, मैले परम पावनका लागि अनुवाद गरेका सबैभन्दा प्रारम्भिक समयहरूमध्ये एक बोधगयाको बोधि रुखमुनि करिब दस हजार मानिसहरूलाई दिइएको प्रवचनको थियो। मेरो माइक्रोफोन बिग्रियो र त्यसैले परम पावनले मलाई ध्वनि उपकरणहरू साझा गर्नका लागि जप गुरुको (chant master) काखमा चढ्न लगाउनुभयो। त्यो पनि काम नगरेपछि, परम पावनले त्यसपछि मलाई उहाँको सिंहासन र अगाडिको पङ्क्तिमा बसेका सेर्कोङ रिन्पोछेको बीचमा भुइँमा बस्न लगाउनुभयो र वाक्यहरूका बीचमा मलाई आफ्नै माइक्रोफोन दिनुभयो। म यति घबराएको थिएँ कि म आफूलाई नियन्त्रण गर्न सकिनँ। मैले माइक्रोफोन ग्रहण गर्दा र फर्काउँदा परमपावनलाई दुवै हात फैलाएर दिने चलनबमोजिम नभई, केवल एउटा हातले मात्र दिँदै गरें। पछि, रिन्पोछेले मलाई बाँदरले केरा समाएझैँ  माइक्रोफोन लिएकोमा झन्डै पिट्नुभयो।

परम पावन दलाई लामाका शिक्षाहरूमा उचित शिष्टाचार

रिन्पोछेले पश्चिमीहरूले सामान्यतया परम पावनसामु आफूलाई राम्रो तरिकाले प्रस्तुत गरून् भन्ने कुराको पनि ख्याल राख्नुहुन्थ्यो। परम पावनका सार्वजनिक शिक्षाहरूमा तिनीहरूको व्यवहारले उहाँलाई अक्सर अचम्मित पार्थ्यो। उहाँले भन्नुहुन्थ्यो परम पावन को हुनुहुन्छ भन्ने कुरा बुझ्नु महत्त्वपूर्ण छ। उहाँ कुनै साधारण पुनर्जन्मित लामा होइन। उहाँको उपस्थितिमा विशेष सम्मान र नम्रताको आवश्यकता पर्छ। उदाहरणका लागि, दीक्षा वा प्रवचनका बेलाका चिया विश्रामहरूमा, परम पावनलाई बेवास्ता गरेझैँ उहाँको अगाडि उभिएर कुराकानी गर्नु अत्यन्त असभ्य हो। उचित शिष्टाचार भनेको कुनै पनि कुराकानीका लागि बाहिर निस्कनु हो।

एकपटक पश्चिमी बौद्ध संस्थाले धर्मशालामा परमपावनका लागि उपदेश आयोजना गर्‍यो, जसको अनुवाद मैले गरेको थिएँ। परमपावनले लिखित प्रश्नहरूको उत्तर दिने प्रस्ताव गर्नुभएको थियो। प्रत्येक सत्रपछि, रिन्पोछेले भोलिका लागि पेश गरिएका प्रश्नहरू मलाई पढ्न लगाउनुभयो र मूर्खतापूर्ण वा तुच्छ प्रश्नहरूलाई ठाडै अस्वीकार गर्नुहुन्थ्यो। प्रायः, रिन्पोछेले ती प्रश्नहरूलाई अझ गहिरो हुने गरी पुनः शब्दबद्ध गर्न लगाउनुहुन्थ्यो। यसरी मात्र परमपावनको समय खेर नजाओस् र धेरै मानिसहरूले जवाफबाट लाभ पाउन सकून् भन्ने उहाँको सोच थियो। धेरैपटक, परमपावनले प्रश्नहरू कति उत्कृष्ट र गहन छन् भनेर टिप्पणी गर्नुभयो। परमपावनसँग यात्रा गर्दा मैले आफैं पनि यही सम्पादन प्रक्रिया पछ्याउन सिकेँ।

Top