दलाई लामाका सहायक गुरुको रूपमा रिन्पोछेको भूमिका
छेनशब सेर्कोङ रिन्पोछे एक विशाल व्यक्ति थिए, खौरिएको टाउको, रातो भिक्षु वस्त्र र गहिरो रेखा भएको अनुहार जसले उहाँलाई आफ्नो उमेरभन्दा धेरै बढी बुढ्यौली देखिन्थ्यो। उहाँको विनम्र, बुद्धिमान शैली र कोमल हास्यले उहाँलाई कथाहरूका पुरातन ऋषिजस्तै देखाउँथ्यो। यो गुणले उहाँलाई भेट्ने पश्चिमीहरूको ध्यान आकर्षित भयो। उदाहरणका लागि, धर्मशालामा उहाँलाई देखेपछि, लोकप्रिय चलचित्र स्टार वार्स (Star Wars) का निर्माताहरूले उहाँलाई महाकाव्यका आध्यात्मिक मार्गदर्शक योडा (Yoda) को नमूनाको रूपमा प्रयोग गर्ने निर्णय गरे। रिन्पोछेले फिल्म कहिल्यै हेर्नुभएको थिएन, तर निस्सन्देह व्यंग्य चित्रणमा रमाउनुहुन्थ्यो। यद्यपि, रिन्पोछेको सबैभन्दा उत्कृष्ट विशेषता भने उहाँको परमपावन दलाई लामासँगको सम्बन्ध थियो।
दलाई लामा तिब्बतका आध्यात्मिक र अस्थायी राजनैतिक नेता हुन्। उहाँको उत्तराधिकारको श्रृंखला पुनर्जन्म मार्फत निरन्तर रहन्छ। दलाई लामाको मृत्युपछि, उहाँका निकटतम शिष्यहरूले जटिल प्रक्रिया पछ्याएर उहाँको पुनर्जन्मलाई सानो बालकको रूपमा पहिचान र खोजी गर्छन्। त्यसपछि, हरेक नयाँ दलाई लामाले सबैभन्दा योग्य शिक्षकहरूबाट उपलब्ध सर्वोत्तम शिक्षा प्राप्त गर्नुहुन्छ। यी मार्गदर्शकहरूमा एक वरिष्ठ र एक कनिष्ठ गुरु, र सात जना छेनशब हुन्छन्, जसलाई सामान्यतया "सहायक गुरु" भनेर अनुवाद गरिन्छ।
तिब्बती बौद्ध धर्ममा चार मुख्य सम्प्रदायहरू छन्, जुन भारतबाट विभिन्न वंशपरम्परा मार्फत स्थानान्तरण भएका हुन्, तर तिनीहरूका आधारभूत शिक्षाहरूमा कुनै ठूलो विरोधाभास छैन। दलाई लामाका नौ मुख्य शिक्षकहरू यी चारमध्ये सबैभन्दा ठूलो गेलुग सम्प्रदायबाट आउँछन्। उहाँले आफ्नो आधारभूत शिक्षाहरू पूरा भएपछि अन्य तीन वंशका गुरुहरू - ञिङमा, काग्यु र साक्यसँग अध्ययन गर्नुहुन्छ। सात छेनशबहरू तिब्बतको राजधानी ल्हासा नजिकको सात मुख्य गेलुग गुम्बाहरूबाट एक एकजना आउँछन्। तिनीहरूलाई तिनीहरूको ज्ञान, ध्यान उपलब्धि र सबैभन्दा महत्त्वपूर्ण कुरा, तिनीहरूको चरित्र विकासको आधारमा छनोट गरिन्छ। सेर्कोङ रिन्पोछे गान्देन जाङचेबाट नियुक्त छेनशब थिए, जुन गुम्बा गेलुग परम्पराका संस्थापक चोङखापा आफैले स्थापना गरेका थिए। १९४८ मा यो पद ग्रहन गर्दा उहाँ ३४ वर्षका हुनुहुन्थ्यो, र त्यतिबेला दलाई लामा १३ वर्षका हुनुहुन्थ्यो। सात छेनशबहरूमध्ये उहाँ मात्र एक थिए जसले १९५९ मा भारतमा निर्वासनमा परमपावनसँग सामेल हुन सक्नुभएको थियो।
रिन्पोछेको विशेषज्ञताको क्षेत्रहरू
सन् १९८३ को अगस्टमा देहावसान हुनुअघि, रिन्पोछेले पहिले ल्हासामा र पछि धर्मशालामा परमपावनलाइ निष्ठापूर्वक सेवा गर्नुभयो। उहाँको मुख्य कर्तव्य भने परमपावनले पाउनुहुने सबै पाठहरूमा उपस्थित हुनु र त्यसपछि परमपावनको सही बुझाइ सुनिश्चित गर्न उहाँसँग बहस गर्नु थियो। वास्तवमा, परम पावनले आफूले प्राप्त गर्ने प्रत्येक शिक्षामा ्पोछे पनि सहभागी हुनुपर्छ भनेर आग्रह गर्नुहुन्थ्यो, ताकि कम्तीमा अर्को एउटा लामाले पनि सम्पूर्ण शिक्षा र प्रशिक्षण साझा गरुन। यसरी, परम पावनजस्तै रिन्पोछे पनि तिब्बती बौद्ध धर्मका चारै सम्प्रदायका आचार्य हुनुहुन्थ्यो। उहाँको विशेषज्ञता बौद्ध प्रशिक्षणका दुई मुख्य विभागहरू सुत्र र तन्त्रको पूर्ण दायरामा फैलिएको थियो। सुत्रहरूले आधारभूत शिक्षाहरू प्रसारण गर्छन्, जबकि तन्त्रहरूमा आत्म-परिवर्तनका गहिरो पहुँचका विधिहरू छन्।
रिन्पोछे परम्परागत बौद्ध कला र विज्ञानमा पनि निपुण हुनुहुन्थ्यो। उदाहरणका लागि, उहाँ तान्त्रिक अनुष्ठानमा प्रयोग हुने द्वि-आयामिक र त्रि-आयामिक प्रतीकात्मक विश्व-प्रणाली (मण्डल) को मापन र निर्माणमा, साथै अवशेषहरू राख्न प्रयोग हुने विभिन्न प्रकारका स्मारकहरूको (स्तूप) निर्माणमा विशेषज्ञ हुनुहुन्थ्यो। थप रूपमा, उहाँ कविता, रचना र तिब्बती व्याकरणका आचार्य हुनुहुन्थ्यो। यसरी उहाँको शिक्षण शैली प्राविधिक विवरणप्रतिको गहिरो ध्यानसँगै सुन्दर सन्तुलनमा सौन्दर्य र संवेदनशीलताले भरिएको थियो।
सेर्कोङ रिन्पोछे तिब्बती भविष्यवाणीको विधि (मो) मा पनि विशेषज्ञ हुनुहुन्थ्यो। यस प्रणालीमा, व्यक्तिले ध्यानको केन्द्रित अवस्थामा प्रवेश गरि, तीनवटा पासा धेरै पटक फ्यालिन्छ र त्यसका परिणामहरूको व्याख्या गरेर मानिसहरूलाई कठिन निर्णयहरू लिन मद्दत गरिन्छ। यसैगरी, उहाँलाई तिब्बती ज्योतिष पनि थाहा थियो, जसमा ग्रहहरूको स्थिति गणना गर्नका लागि जटिल गणितीय सीप आवश्यक हुन्छ। तर, यी गुप्त विषयहरूप्रति उहाँको दृष्टिकोण सधैं व्यावहारिक र यथार्थपरक रहन्थ्यो। तिनीहरूलाई सल्लाह लिनु भनेको सामान्य बुद्धिको प्रयोगलाई प्रतिस्थापन गर्न नभएर पूरक बनाउनु हो।
दलाई लामाका गुरुको रूपमा रिन्पोछेको विनम्रता
आफ्नो आधिकारिक पदको महत्त्व र आफ्ना शिक्षाको व्यापकताको बावजुद, रिन्पोछे सधैं विनम्र रहे। यद्यपि उहाँ वास्तवमै परम पावन दलाई लामाका प्रमुख गुरुहरूमध्ये एक हुनुहुन्थ्यो - विशेष गरी कालचक्र (समयको चक्र), तान्त्रिक प्रणालीहरूमध्ये सबैभन्दा जटिल प्रणालीका - र यद्यपि उहाँले आफ्ना उत्कृष्ट शिष्यलाई धेरै तान्त्रिक अभिषेकहरू पनि प्रदान गर्नुभयो, तर उहाँलाई अङ्ग्रेजीमा "Assistant Tutor" भनिएको मन पर्दैनथ्यो। उहाँले आफ्नो उपाधि छेनशब शब्दलाई शाब्दिक रूपमा "Debate Servant" भनेर अनुवाद गर्न चाहनुहुन्थ्यो, तर अन्ततः "Master Debate Partner" भन्ने अनुवादमा सहमत हुनुभयो।
सेर्कोङ रिन्पोछेले परम पावनको औपचारिक र अनौपचारिक दुवै तरिकाले सेवा गर्नुभयो। उदाहरणका लागि, परम पावनले प्रायः सामान्यतया सम्पूर्ण संसारको र विशेष गरी आफ्ना जनताको कल्याणका लागि विशेष ध्यान अभ्यास र अनुष्ठान समारोहहरू (पूजा) सम्पन्न गर्नुहुन्छ। यीमध्ये केही उहाँले एकान्तमा गर्नुहुन्छ, केही छानिएका भिक्षुहरूको सानो समूहसँग, र अरू ठूलो सभाको सामु गर्नुहुन्छ। परम पावनले प्रथाअनुसार रिन्पोछेलाई यी कार्यविधिहरूमा सामेल हुन वा यदि उहाँ अन्य कामहरूमा व्यस्त हुनुहुन्छ भने उहाँका तर्फबाट ती सम्पन्न गर्न वा अध्यक्षता गर्न अनुरोध गर्नुहुन्थ्यो। यसबाहेक, जब परम पावनले शिक्षा दिनुहुन्थ्यो, रिन्पोछे उहाँको दाहिने छेउमा बस्नुहुन्थ्यो, यदि परम पावनलाई आवश्यक परे कुनै शब्द आपूर्ति गर्नुहुन्थ्यो, वा यदि परम पावनले सोध्नुभयो भने कुनै प्रश्न वा शङ्काको जवाफ दिनुहुन्थ्यो। जब अरूहरू परम पावनलाई प्रत्यक्ष रूपमा शिक्षा वा वंशपरम्परा हस्तान्तरण गर्न लजाउँथे, तिनीहरूले ती कुरा रिन्पोछेलाई दिन्थे। आध्यात्मिक नलीझैं, रिन्पोछेले त्यसपछि ती परम पावनलाई अर्पण गर्नुहुन्थ्यो।
कूटनीतिक कौशलहरू
परम पावनले प्रायः सेर्कोङ रिन्पोछेलाई आफ्ना नीतिहरू गुम्बाहरू र जनतामा पुर्याउनका लागि आफ्ना सल्लाहकार र प्रमुख सहयोगीको रूपमा उल्लेख गर्नुहुन्थ्यो। यसको कारण रिन्पोछे धार्मिक र धर्मनिरपेक्ष दुवै क्षेत्रमा निपुण कूटनीतिज्ञ हुनुहुन्थ्यो। उहाँले प्रायः स्थानीय विवादहरूमा मध्यस्थता गर्नुहुन्थ्यो र आफू परिचित भएको क्षेत्रहरूमा स्थानीय शिष्टाचार सम्बन्धी परम पावनका कार्यालयहरूलाई सल्लाह दिनुहुन्थ्यो।
उहाँको न्यानो हास्यबोधले उहाँको कूटनीति कौशललाई अझ बढी मजबुत बनाउछ। मानिसहरू प्रायः उहाँलाई चुटकुला र रमाइलो कथाहरू सुनाउन आउँथे, उहाँले ती धेरै हाँस्नुहुन्थ्यो र सराहना गर्नुहुन्थ्यो भन्ने कारणले मात्र नभई, बल्कि उहाँले ती कुराहरू अरूलाई पनि उत्तिकै रमाइलो तरिकाले सुनाउनु हुन्छ भन्ने कारणले पनि हो। उहाँको सम्पूर्ण शरीर हाँसोले काँप्थ्यो, र जुन उहाँका वरिपरि भएका सबैमा पूर्णरूपमा सर्ने गर्थ्यो। व्यावहारिक ज्ञान र प्रफुल्ल हास्यको यो संयोजनले उहाँलाई भेट्ने जो कोहीको मन जित्थ्यो।
गुम्बाहरूको पुनःस्थापना र राज्य देववाणीहरूको माध्यमहरूको प्रशिक्षण
चिनियाँ आक्रमणले तिब्बतमा नष्ट पारेका धेरै गुम्बाहरू भारतमा पुनर्स्थापना गर्नमा रिन्पोछेको महत्त्वपूर्ण भूमिका थियो। उहाँले अभिषेक र शिक्षाहरू दिएर यो गर्नुभयो ताकि तिनीहरूले आफ्ना परम्परागत अनुष्ठानहरू पुनः सुरु गर्न सकून्। यो विशेष गरी दुई राज्य देववाणी - नेछुङ र गाडोङका गुम्बाहरूको हकमा सत्य थियो, जससँग उहाँले आफ्नो जीवनभर निकट सम्बन्ध कायम राख्नुभयो। जसरी रिन्पोछेले परम पावनका मुख्य मानवीय सल्लाहकारको रूपमा सेवा गर्नुभयो, त्यसै गरी राज्य देववाणीहरू दलाई लामाका परम्परागत अलौकिक सल्लाहकार हुन्। तिनीहरूले समाधिमा रहेको माध्यमको द्वारा उहाँसँग कुरा गर्छन्। रिन्पोछेले माध्यमहरूको आध्यात्मिक तालिमको निरीक्षण गर्नुभयो ताकि तिनीहरू उच्च बुद्धिका शुद्ध माध्यम बन्न सकून्।
रिन्पोछेले बुद्धको शिक्षालाई ग्रहण गर्न वा अरूलाई दिन कहिल्यै कठिनाइबाट पछि हट्नु भएन। उदाहरणका लागि, एक गर्मीमा उहाँले बोधगयामा खुनु लामा रिन्पोछेबाट कालचक्रको शिक्षा लिनका लागि त्यहाँको तीव्र गर्मी सहनुभयो। हिमालयको भारतीय भूभागमा पर्ने तिब्बती सांस्कृतिक क्षेत्र किनौरका यो महान् गुरु आधुनिक समयमा सबै तिब्बतीहरूले बोधिसत्त्व भनेर मान्यता दिएको एक मात्र जीवित आचार्य हुनुहुन्थ्यो। बोधिसत्त्व भनेको पूर्ण निःस्वार्थी र अरूको कल्याणका लागि पूर्ण रूपमा बोधिलाभ गर्ने संकल्पमा समर्पित व्यक्तिलाई जनाउँछ। बोधगया बुद्धले बोधि वृक्षमुनि बोधिलाभ गर्नुभएको पवित्र स्थान हो। यो भारतको सबैभन्दा गरिब र सबैभन्दा तातो क्षेत्रमा पर्दछ। गर्मीमा त्यहाँको तापक्रम प्रायः १२० डिग्री फारेनहाइट (Fahrenheit) जुन झण्डै ५० डिग्री सेन्टिग्रेड(Centigrade) पुग्छ। त्यहाँ प्रायः बिजुली काटिन्छ, पानीको अभाव हुन्छ, र हावापंखाको सुविधा हुँदैन, जसका कारण बस्नु नै कठिन हुन्छ। खुनु लामाले त्यहाँ नियमित रूपमा झ्यालविहीन सानो कोठामा पंखा विना नै बस्नुहुन्थ्यो।
हिमाली उपत्यका स्पीति मा बौद्ध धर्मको सुधार
रिन्पोछेले भारत, नेपाल, र दुई पटक पश्चिमी यूरोप र उत्तर अमेरिकामा शिक्षा दिन व्यापक यात्रा गर्नुभयो। यद्यपि उहाँले प्रमुख केन्द्रहरूको भ्रमण गर्नुहुन्थ्यो, उहाँ सधैं शिक्षक दुर्लभ भएका र अरूले जान नचाहेका साना, दुर्गम स्थानहरूलाई प्राथमिकता दिनुहुन्थ्यो। उदाहरणका लागि, कहिलेकाहीं उहाँ भारत-तिब्बती सीमानामा भारतीय सेनाको तिब्बती डिभिजनका सैनिकहरूलाई सिकाउन याक चढेर यात्रा गर्नुहुन्थ्यो। उहाँ उच्च उचाइमा पालमा बास बस्नुहुन्थ्यो, कुनै असुविधाको परवाह नगरी।
यी दुर्गम सीमान्ती क्षेत्रहरूमध्ये, रिन्पोछेको स्पीति सँग विशेष घनिष्ठ सम्बन्ध थियो, स्पीति भनेको भारतको हिमालयको उच्च उपत्यका हो जुन किनौरसँग जोडिएको छ। त्यहीँ उहाँको निधन र पुनर्जन्म दुवै भएको थियो। एक हजार वर्ष पहिले, यो बाँझो, धुलोले ढाकिएको जिल्ला तिब्बतमा समावेश थियो र बौद्ध धर्मको पुनर्जागरणको केन्द्र थियो। तर हालको समयमा, एक सहस्राब्दी पहिले जस्तै, यहाँको स्तर खस्किएको थियो। भिक्षुहरूले आफ्ना ब्रह्मचर्य र मदिरा त्यागका व्रतहरूलाई बेवास्ता गर्थे। तिनीहरूले बुद्धका वास्तविक शिक्षाहरूको थोरै अध्ययन र अभ्यास गर्थे।
उपत्यकामा पाँच पटक भ्रमण गर्ने क्रममा, रिन्पोछेले दोस्रो पुनर्जागरण ल्याउने प्रयास गर्नुभयो। उहाँले यो कार्य स्पीति क्षेत्रको सबैभन्दा प्राचीन गुम्बा, ताबो गोन्पा पुनः समर्पित गरेर, र त्यहाँका भिक्षुहरूलाई परम्परागत अनुष्ठानका लागि आवश्यक अभिषेक र मौखिक परम्परा प्रदान गरेर गर्नुभयो। उहाँले विद्वान् आध्यात्मिक शिक्षकहरूलाई ल्याउनुभयो र स्थानीय बालबालिकाका लागि विद्यालय स्थापना गर्नुभयो। अन्ततः, १९८३ जुलाईमा, रिन्पोछेले परमपावन दलाई लामालाई ताबोमा कलचक्र दीक्षा दिन निमन्त्रणा गर्ने कार्य आयोजना गर्नुभयो। भारतबाट तिब्बतमा सन् १०२७ मा कलचक्र शिक्षाहरूको परिचयले त्यहाँ लामो समय अव्यवस्थित अवस्थापछि बौद्ध धर्म पुनःस्थापना भएको पुष्टि गर्ने ऐतिहासिक घटना बनेको थियो। उहाँले सोही उद्देश्यका लागि यो दीक्षा पनि उपयोगी हुनेछ भन्ने आशा गर्नुभयो।
गुम्बाहरूमा व्यापक अर्पण
सेर्कोङ रिन्पोछे शिक्षाका महान् संरक्षक पनि हुनुहुन्थ्यो। उहाँले स्पीतिमा अर्पणहरू जे प्राप्त गर्नुभयो, उदाहरणका लागि त्यो सबै फेरि मठमै दान गर्नुभयो। यस उदार दानको माध्यमबाट ताबो गोनपाले वार्षिक प्रार्थना महोत्सव सुरु गर्न सक्षम भएको थियो, जसमा स्थानीय मानिसहरू तीन दिनसम्म ॐ मणि पद्मे हुँ को जाप गर्न भेला हुन्छन्। यी पवित्र अक्षरहरू (मन्त्र ) अवलोकितेश्वरसँग सम्बन्धित छन्, जो करुणाको मूर्त रूप बुद्ध-आकृति (यिदाम ) हुन् र तिब्बती बौद्ध धर्मका सबै अनुयायीहरूका लागि विशेष रूपमा निकट छन्। यो मन्त्र जाप गर्नाले सबै प्राणीहरूप्रति प्रेममा केन्द्रित रहन सहयोग पुर्याउँछ।
रिन्पोछेले आफ्नो पहिलो पश्चिमी भ्रमणबाट प्राप्त अर्पण वा भटीहरू प्रयोग गरेर कालचक्र बुद्धप्रतिमाको ठूलो आप्लिके थाङ्का बनाउन लगाउनुभयो। यसलाई उहाँले यस ध्यान प्रणालीको अभिषेक दिन विभिन्न स्थानहरूमा यात्रा गर्दा प्रयोग गर्नका लागि परम पावनलाई अर्पण गर्नुभयो। त्यसै पैसाबाट उहाँले चोङ्खापाको जीवनचित्र दर्शाउने पूर्ण थाङ्का-श्रृंखला बनाउन लगाउनुभयो, जुन उहाँले आफ्नै मठ गान्देन जाङ्तचेमा अर्पण गर्नुभयो। केही वर्षअघि उहाँले दक्षिण भारतको मुन्डगोडमा यसलाई पुनःस्थापना गर्न सहयोग गर्नुभएको थियो। दोस्रो पश्चिमी भ्रमणमा प्राप्त दानहरूबाट उहाँले सन् १९८३ मार्चको महिनामा मुन्डगोडस्थित द्रेपुङ मठमा आयोजित भारतको पहिलो पूर्ण मोलाम उत्सवमा भेला भएका ४००० भन्दा बढी भिक्षु र भिक्षुणीलाई ठूलो अर्पण गर्नुभयो। मोलाम भनेको परम्परागत रूपमा ल्हासामा आयोजना हुने प्रार्थना महोत्सव हो, जसमा सबै सङ्घीय सदस्यहरू एक महिनासम्म सामूहिक भक्ति साधनामा भेला हुन्छन्।
औपचारिकताप्रति अरुचि र सादगीको अभ्यास
यद्यपि रिन्पोछे अनुष्ठान र शिष्टाचारका निपुण गुरु थिए, उनी सादा स्वभावका थिए र औपचारिकताहरू मन पराउँदैनथे। उदाहरणका लागि, जब उहाँ पश्चिममा यात्रा गर्थे, उहाँले आफूसँग कहिल्यै पनि अलंकृत अनुष्ठानिक उपकरणहरू वा चित्रहरू लिएर जानुहुन्नथ्यो। जब उहाँले अभिषेक प्रदान गर्नुहुन्थ्यो, उहाँले आवश्यक पर्ने कुनै पनि आकृतिहरू आफ्नै हातले कोर्नुहुन्थ्यो, मूर्ति बनाइएका पीठो अर्पण (तोर्मा ) को सट्टा कुकीज वा केक प्रयोग गर्नुहुन्थ्यो, र अनुष्ठानिक कलशका लागि फूलदानी वा दूधको बोतल समेत प्रयोग गर्थे। जब उहाँको यात्राहरूको क्रममा द्विमासिक छोग अनुष्ठानका लागि कुनै विशेष तयारी नभएको खण्डमा, जसमा पवित्र गरिएको मदिरा, मासु, तोर्मा, फलफूल र मिठाई अर्पण गरिन्छ, उहाँले मौनतामा आफूलाई परोसिएको भोजनलाई अर्पण गर्नुहुन्थ्यो।
यसबाहेक, रिन्पोछेले सधैं आफ्ना श्रोताहरूका अनुसार बुद्धका शिक्षाहरू प्रस्तुत गर्नुहुन्थ्यो। एकपटक रिन्पोछेलाई न्यू योर्कको वुडस्टक (Woodstock, New York) नजिकैको माउन्ट ट्रेम्पर जेन सेन्टर (Mount Tremper Zen Center) मा आमन्त्रण गरिएको थियो। सदस्यहरूले उहाँलाई मञ्जुश्रीको अभ्यासका लागि अनुमति समारोह (जेनाङ ) प्रदान गर्न अनुरोध गरे, जो बुद्धिमत्ताको मूर्त रूप बुद्ध-आकृति हुन्। जेन परम्पराको सादगीलाई ध्यानमा राखेर, रिन्पोछे सिंहासनमा नबसेर भुइँमा बसे, र कुनै अनुष्ठानिक उपकरण वा अलंकृत समारोह बिना जेनाङ प्रदान गर्नुभयो।
दम्भहीनता र साँचो विनम्रता
परम पावनले प्रायः छेनशब सेर्कोङ रिन्पोछेलाई एक साँचो कदम्पा गेशे भनेर वर्णन गर्नुहुन्थ्यो। कदम्पा गेशेहरू एघारौंदेखि तेह्रौं शताब्दीका तिब्बती बौद्ध गुरुहरू थिए जो आफ्नो निष्ठावान, प्रत्यक्ष अभ्यास र विनम्रताका लागि प्रसिद्ध थिए। एकपटक एक प्रवचनमा उदाहरणका लागि, परम पावनले रिन्पोछेलाई उल्लेख गर्दै भन्नुभयो कि यहाँ विनम्रतापूर्वक बसिरहेको एकमात्र व्यक्ति त्यो हो जसलाई त्यसो गर्नु पर्ने कुनै आवश्यकता नै छैन, जबकि अरू सबै अहंकारपूर्वक बसिरहेका छन्। एकपटक, उहाँलाई मुख्य सल्लाह के दिनुहुन्छ भनेर सोध्दा, रिन्पोछेले सधैं विनम्र, निष्कपट, न्यानो हृदय राख्नू, र सबैलाई गम्भीरतापूर्वक लिनुपर्ने भन्नुभयो।
रिन्पोछेले आफ्नो जीवन पूर्ण रूपमा यसै सल्लाह अनुसार बिताउनुभयो। एकपटक रिन्पोछे इटालीको मिलान (Milan, Italy) मा एक राम्रो परिवारको ठूलो अपार्टमेन्टमा बस्नुभयो। यस सहरमा आएका धेरैजसो उच्च लामाहरू यसै घरमा बस्ने गर्थे। घरकी हजुरआमाले भनिन् कि यी सबै लामाहरूमध्ये उनलाई सेर्कोङ रिन्पोछे सबैभन्दा मनपर्छ। अरूहरू आफ्ना कोठामा धेरै औपचारिक रूपमा बस्ने गर्थे र भोजन पनि एक्लै गर्थे। यसको विपरीत, सेर्कोङ रिन्पोछे बिहान सबेरै आफ्नो भित्री लुगा र बनियानमै भान्छामा आउनुहुन्थ्यो। उहाँ भान्छाको टेबलमा साधारण रूपमा बसेर चिया पिउनुहुन्थ्यो, हातमा माला समातेर मन्त्र जप्दै, पूर्ण रूपमा शान्त र मुस्कुराउँदै, जब उनी बिहानको खाजा तयार गरिरहेकी हुन्थिन्।
अरूलाई विनम्रता सिकाउने र सबैलाई गम्भीरतापूर्वक लिने कौशल
रिन्पोछेले अरूलाई पनि सबै देखावट त्याग्न सिकाउनुहुन्थ्यो। एक पटक फ्रान्सको लावुरस्थित (Lavaur, France ) नालन्दा मठका पश्चिमी भिक्षुहरूले रिन्पोछेलाई तीन दिनका लागि शिक्षण दिन निमन्त्रणा गरेको थियो। उनीहरूले आठौं शताब्दीका भारतीय आचार्य शान्तिदेवद्वारा रचित बोधिचर्यावतार को अत्यन्त गहन ज्ञानसम्बन्धी अध्यायको व्याख्या गर्न अनुरोध गरे। रिन्पोछेले प्रवचन शून्यताको व्याख्या यति जटिल र परिष्कृत तहमा सुरु गर्नुभयो कि कोहीले पानि बुझन सकेन। त्यसपछि उहाँ रोकिनुभयो र भिक्षुहरूलाई अति आडम्बर गरेको भन्दै गाली गर्नुभयो। उहाँले भन्नुभयो, यदि चोङ्खापाले नै शून्यता ठिकसँग बुझ्न धेरै कठिनाइ बेहोर्नुपर्यो र प्रारम्भिक साधनामा यति ठूलो प्रयास गर्नुपर्यो भने, तिनीहरूले यसलाई सजिलो ठानेर तीन दिनमै सम्पूर्ण विषय बुझ्छौं भन्ने कसरी सोच्न सक्छन्। त्यसपछि रिन्पोछेले ग्रन्थलाई सरल तहमा व्याख्या गर्नुभयो, जसलाई भिक्षुहरूले सहजै पछ्याउन सके।
रिन्पोछेले एकपटक भन्नुभएको थियो कि बुद्धका शिक्षाहरूप्रति धेरै मानिसहरूको साँचो चासो बाहेक पश्चिमको बारेमा उहाँलाई केहीले पनि प्रभावित गर्ने कुरा थिएन । त्यसैले, जसले पनि शिक्षाको अनुरोध गर्नुहुन्छ, उहाँले तिनीहरूको चासोलाई सम्मान गर्नु हुन्थ्यो। यद्यपि उहाँले तिनीहरूलाई उनीहरूले बुझ्न सक्ने स्तरमा सिकाउँनुहुन्थ्यो, उहाँले सधैं उनीहरूले कल्पना गरेको आफ्नो क्षमता भन्दा अलि बढी तान्थे। सर्कस मन पराउने रिन्पोछेले भन्ने गर्थे कि यदि भालुलाई साइकल चलाउन सिकाउन सकिन्छ भने, कुशल उपाय र धैर्यताको साथ मानिसलाई कुनै पनि कुरा सिकाउन सकिन्छ।
एकपटक बौद्ध धर्ममा नयाँ र लागूपदार्थले मातेको हिप्पी जस्तो देखिने एक पश्चिमीले रिन्पोछेलाई नारोपाका छवटा अभ्यासहरू सिकाउन आग्रह गरेको थियो। सामान्यतया, यो अत्यन्तै उन्नत विषय धेरै वर्षको गहन ध्यानपछि मात्र अध्ययन गरिन्छ। तर, त्यो युवकलाई हास्यास्पद र अहंकारी ठानेर अस्वीकार गर्ने सट्टामा रिन्पोछेले सहमति जनाए र उसको चासो उत्कृष्ट छ भन्नुभयो। तर पहिले, उसले आफूलाई तयार गर्नुपर्ने हुन्छ भेनेर रिन्पोछेले उसलाई प्राथमिक अभ्यासहरू सिकाउनु भयो। मानिसहरूको आत्म-विकासप्रतिको चासोलाई गम्भीरतापूर्वक लिँदा, रिन्पोछेले धेरै पश्चिमीहरूलाई आफूलाई गम्भीरतापूर्वक लिन प्रेरणा दिनुभएको छ, र यसले तिनीहरूलाई आध्यात्मिक मार्गमा अगाडि बढ्न धेरै सहायता गर्यो।
सबैप्रति समान सम्मान
उहाँले जोसँग भेटे पनि, चाहे त्यो पुजिनिय पोप होस्, सडकमा रक्सी खाएको व्यक्ति होस्, वा बालबालिकाहरूको समूह होस्, रिन्पोछेले सबैलाई समानता र समान सम्मानका साथ व्यवहार गर्नुहुन्थ्यो। उहाँले कहिल्यै कसैलाई तुच्छ ठानेनन्, कसैको उपकार खोज्नुभएन, वा कसैलाई प्रभावित पार्ने कोसिस गर्नुभएन। एकपटक, न्यू योर्कको इथाका (Ithaca, New York) स्थित विज्डम्स गोल्डेन रोड सेन्टर (Wisdom’s Golden Rod Center) का सदस्यहरूले रिन्पोछेलाई आफ्ना बालबालिकाहरूसँग कुरा गर्न अनुरोध गरे। उहाँले ती बालबच्चाहरूलाई भन्नुभयो कि उहाँले उनीहरूको सम्मान गर्नुहुन्छ, किनभने उनीहरू युवा र खुला मानसिकता राख्छन्। उनीहरूसँग आफ्ना अभिभावकहरू भन्दा पनि अघि बढ्ने क्षमता छ। यसरी, उहाँले बालबच्चाहरूलाई आफ्नो सम्मान गर्न प्रेरणा दिनुभयो।
विशेष कर्म सम्बन्ध चिन्न सक्ने क्षमता
यद्यपि सेर्कोङ रिन्पोछेले आफूले भेटेका मानिसहरूसँगको कर्म सम्बन्ध प्रायः देख्न सक्थे, उहाँले आफूले गर्न सक्ने भन्दा बढी सहायता गर्न सक्छु भनेर कहिल्यै दिखावट गर्नुभएन। एकपटक स्विस नागरिक एक जना धर्मशालामा उहाँको सामु आएर उनलाई भूत-प्रेतको समस्याले सताइरहेको व्याख्या गरे। रिन्पोछेले जवाफ दिए कि उहाँसँग यो समस्यामा मद्दत गर्ने कर्म सम्बन्ध छैन, र त्यसपछि त्यो व्यक्तिलाई अर्को लामाकहाँ पठाए जससँग त्यो सम्बन्ध थियो। तर, अरूलाई भने रिन्पोछेले तुरुन्तै चिनेको जस्तो लाग्थ्यो र पहिलो भेटमा नै आफ्ना सेवकहरूलाई ती व्यक्तिहरूको ठेगाना लिन भन्थे। अनिवार्य रूपमा, गहिरो सम्बन्धहरू विकास हुन्थे। म पनि यी भाग्यमानी व्यक्तिहरूमध्ये थिएँ, यद्यपि रिन्पोछेले मेरो ठेगाना लिनु पर्ने आवश्यकता महसुस गर्नुभएन, म फर्केर आउने नै थियो।