जर्मनी जानु अघि परम पावन दलाई लामासँगको भेटघाट
सन् १९९८ को अप्रिलमा, म मंगोलिया र पश्चिमा लामो व्याख्यान यात्रा र गहन लेखन कार्यको अवधि पछि भारतको धर्मशाला फर्किएँ। परम पावन दलाई लामाको वरिपरि बसेको तिब्बती शरणार्थी समुदायसँग अध्ययन र काम गर्दै म १९६९ देखि हिमालयको फेदमा बस्दै आएको थिएँ। अब म मेरो सामानहरू म्युनिख, जर्मनीमा (Munich, Germany) सार्न आएको थिएँ, जहाँ म मेरो पुस्तकहरू अझ प्रभावकारी रूपमा लेख्न र बौद्ध धर्मलाई नियमित रूपमा सिकाउन सक्थें। म परम पावनलाई मेरो निर्णयको बारेमा जानकारी दिन र उहाँको सल्लाह लिन चाहन्थेँ। मेरो आध्यात्मिक गुरुको रूपमा, परम पावनले मलाई पहिले नै निर्देशन दिनुभएको थियो कि अरूलाई अर्थपूर्ण योगदान दिनका लागि मैले मेरो समय कसरी र कहाँ सबैभन्दा प्रभावकारी रूपमा बिताउने भन्ने कुराको न्याय आफैंले गर्नुपर्छ। अनुभव मेरो सबैभन्दा भरपर्दो मार्गदर्शक हुनेछ।
मैले परम पावनलाई लगभग २९ वर्ष अगाडि पहिलो पटक भेटेको बेला, म हार्वर्ड विश्वविद्यालयको सुदूर पूर्वी भाषा र संस्कृत तथा भारतीय अध्ययन विभागको (Departments of Far Eastern Languages and Sanskrit and Indian Studies) लागि मेरो पीएचडी शोध प्रबंध लेख्न फुलब्राइट छात्रवृत्ति (Fulbright Scholar) लिएर भारत आएको थिएँ। त्यस समयमा, केही हदसम्म इजिप्टोलोजी जस्तै गरि तिब्बती बौद्ध धर्मलाई शैक्षणिक रूपमा एउटा मृत विषयको रूपमा पढाइन्थ्यो। म यो आधारलाई स्वीकार गर्न सकिएन र बौद्ध भएर बाँच्नु र सोच्नु कस्तो होला भनेर धेरै वर्षसम्म अनुमान लगाउँदै बिताएको थिएँ। परम पावनलाई बित्तिकै मलाई यो प्राचीन परम्परा अझै जीवित छ भन्ने प्रबल अनुभूति भयो र यहाँ यसलाई पूर्ण रूपमा बुझेका र अवतारित गरेका गुरु हुनुहुन्छ भन्ने बोध भयो।
केही महिना पछि, मैले परमपावनलाई आफूलाई समर्पण गरें र उहाँले मलाई वास्तविक शिक्षाहरू सिक्न र तालिम लिने अवसर दिनुहोस् भनेर अनुरोध गरें। म उहाँको सेवा गर्न चाहन्थें र यसको लागि आफुमाथि अत्यधिक मेहनत गर्नुपर्छ भन्ने थाहा थियो। परमपावनले कृपापूर्वक स्वीकार गर्नुभयो। अन्ततः, मलाई कहिलेकाहीं उहाँको अनुवादकको रूपमा सेवा गर्ने र विश्वभरका आध्यात्मिक नेताहरू र शैक्षणिक संस्थानहरूसँग उहाँका लागि सम्बन्ध स्थापना गर्न मद्दत गर्ने ठूलो अवसर प्राप्त भयो।
परमपावनले मेरो बसाइं युरोपमा सार्ने निर्णयसँग खुशी देखाउनुभयो र मैले लेख्न लागेको अर्को पुस्तकको बारेमा सोध्नुभयो। मैले उहाँलाई आध्यात्मिक गुरुसँगको सम्बन्धबारे लेख्ने मेरो इच्छाको जानकारी दिएं। धर्मशालामा परमपावनसँग पश्चिमी बौद्ध शिक्षकहरूको सञ्जालको तीनवटा बैठकहरूमा सहभागी भएकाले, यस विषयमा पश्चिमीहरूले भोग्ने समस्याहरूबारे परमपावनको दृष्टिकोणबारे मलाई राम्ररी थाहा थियो। परमपावनले अहिले थपेको विशेष टिप्पणी यो थियो कि कठिनाईको मुख्य कारण भनेको वास्तवमा योग्य शिक्षकहरू धेरै कम छन्।
सेर्कोङ रिन्पोछेको बौद्ध शिक्षक बन्ने सल्लाहमाथि चिन्तन
जब म दर्शन कक्षबाट बाहिर निस्कें, मेरो पहिलो प्रतिक्रिया बौद्ध शिक्षक हुनका लागि मेरो आफ्नै योग्यतामाथि प्रश्न उठाउने थियो। वर्षौंको अवधिमा, मैले भारतमा निर्वासनमा रहेको केही उत्कृष्ट तिब्बती गुरुहरूसँग तालिम लिने अत्यन्त महान अवसर पाएको थिएं। तिनीहरूमा परमपावन दलाई लामा मात्र नभएर उहाँका तीन जना दिवंगत गुरुहरू र तिब्बती परम्पराका धेरै प्रमुखहरू समेत समावेश थिए। तिनीहरूको तुलनामा, मसँग कुनै योग्यता नै थिएन। तर, मैले मेरो मुख्य गुरु छेन्शब सेर्कोङ रिन्पोछे, जो परमपावनका मुख्य वादविवाद सहपाठी हुनुहुन्थ्यो, उहाँले मलाई सन् १९८३ मा दिनुभएको एउटा सल्लाहको सम्झना आयो।
म ्पोछेसँग उहाँको दोस्रो विश्व भ्रमणमा अनुवादक र सचिवको रूपमा यात्रा गरिरहेको थिएँ र भेनेजुएलाको कराकासको (Caracas, Venezuela) सानो यात्राबाट भर्खरै फर्किएको थिएँ। रिन्पोछेको प्रोत्साहनमा, त्यहाँ नयाँ बनेको एउटा बौद्ध समूहलाई शिक्षा दिनको लागि आएको निमन्त्रणा मैले स्वीकार गरेको थिएँ, जुन मेरो पहिलो यस्तो कार्य थियो। रिन्पोछे केही दिन आराम गर्नका लागि न्युजर्सी (New Jersey) स्थित गेशे वाङ्ग्यालको मठमा बस्नुभएको थियो। गेशे वाङ्ग्याल, जो रुसका काल्मिक मंगोल (Kalmyk Mongol) हुनुहुन्थ्यो, सन् १९६७ मा मैले भेटेको तिब्बती परम्पराका पहिलो गुरु हुनुहुन्थ्यो, यद्यपि म उहाँसँग गहिरो अध्ययन गर्ने अवसर कहिल्यै पाइनँ।
म फर्किएपछि, मैले कस्तो गरेको थिएँ भन्नेबारे रिन्पोछेले कुनै प्रश्न सोध्नु भएन। यो उहाँको सामान्य शैली थियो र यो मलाई अचम्म लागेन। तर, एक हप्ता पछि लन्डन (London) मा , बेलुकीको भोजनपछि भान्साको टेबल वरिपरि बसेको बेला रिन्पोछेले भन्नुभयो, "भविष्यमा, जब तिमी प्रसिद्ध शिक्षक बन्नेछौ र तिम्रा विद्यार्थीहरूले तिमीलाई बुद्धका रूपमा हेर्नेछन्, तर तिमीलाई पूर्ण रूपमा थाहा हुनेछ कि तिमी बोधि प्राप्त गरेको छैनौ, तब यसले तिम्रो आफ्नै गुरुहरू बुद्ध हुन् भन्ने विश्वासलाई हल्लाउन नदिनुहोस्" उहाँले यति मात्र भन्नुभयो र त्यसपछि हामी दुबै मौन बस्यौं। उहाँका शब्दहरूको गहिराइ बुझ्न धेरै वर्ष लाग्ने थियो।
सेर्कोङ रिन्पोछे "वास्तविक गुरू" हुनुहुन्छ भन्ने लामा जोपाको गवाही
एक पटक पश्चिममा लोकप्रिय तिब्बती बौद्ध गुरु लामा जोपा रिन्पोछेले टिप्पणी गर्नुभयो कि यदि तपाईंले असली लामालाई भेट्न चाहनुहुन्छ भने, सबैभन्दा राम्रो उदाहरण छेनशब सेर्कोङ रिन्पोछे हुनुहुन्छ। लामा जोपाले "लामा" भन्ने तिब्बती शब्दलाई केवल भिक्षु वा तीन वर्षको गहन ध्यान अभ्यास पुरा गरेर अनुष्ठान गर्ने व्यक्तिको सामान्य अर्थमा प्रयोग गर्नुभएको थिएन। न त उहाँले यसलाई केवल "पुनर्जन्मित लामा" को अर्थमा प्रयोग गरिरहनुभएको थियो, जसले आफ्नो पुनर्जन्मलाई निर्देशन गर्न सक्छ र "बहुमूल्य व्यक्ति" रिन्पोछे उपाधि धारण गर्छ। उहाँको अर्थमा "लामा" भनेको शब्दको मौलिक अर्थअनुसार, पूर्ण रूपमा योग्य आध्यात्मिक शिक्षक हो। त्यसैले, यस्तो शिक्षक हुनुको अर्थ के हो र विद्यार्थीका रूपमा त्यससँग कसरी सम्बन्ध राख्ने भन्ने कुरा व्याख्या सुरु गर्ने उपयोगी तरिका छेनशब सेर्कोंग रिन्पोछे र उहाँसँगको मेरो सम्बन्धको मौखिक चित्रण प्रस्तुत गर्नु हुन सक्छ। म यो तस्बिरहरू र सम्झनाहरूको संयोजनमार्फत त्यसो गर्न चाहन्छु।