स्पुतनिक पुस्ता
म सन् १९४४ मा अमेरिकामा एकदमै सामान्य परिवारमा जन्मिएको थियो। मेरो परिवारसँग धेरै पैसा थिएन, उनीहरू सामान्य श्रमिक वर्गका मानिसहरू थिए, र धेरै पढाइलेखाइ पनि गरेका थिएनन्। यद्यपि, सानै उमेरदेखि मलाई एशियाली विषयहरूप्रति एकदमै प्रबल स्वाभाविक रुचि थियो। यसलाई मेरो परिवारले प्रोत्साहित त गर्नुभएन, तर निरुत्साहित पनि त गर्नुभएन, र जे भए पनि त्यसबेला एशियाका बारेमा त्यति धेरै जानकारी उपलब्ध पनि थिएन। जब म १३ वर्षका थिएँ, म एक जान साथी संग योग गर्न थालेँ, र बौद्ध धर्म, भारतीय दर्शन, चिनियाँ चिन्तन आदि बारे उपलब्ध भएको जति पनि सामग्री थियो, सबै पढ्न थालें।
म अमेरिकाले "स्पुतनिक पुस्ता" भने समूहको हिस्सा थिएँ। जब स्पुतनिक अन्तरिक्षमा गयो, अमेरिका एकदमै चिन्तित भयो किनभने हामीले महसुस गर्यौं कि हामी रूसभन्दा धेरै पछाडि छौं। विद्यालयका सबै बच्चाहरू, म समेत, विज्ञान अध्ययन गर्न प्रोत्साहित गरियौं ताकि हामी रूसलाई दौडमा अघि बढ्न सकौं। त्यसैले, १६ वर्षको उमेरमा, म रसायन विज्ञान अध्ययन गर्न रट्गर्स विश्वविद्यालयमा (Rutgers University) गएँ। रट्गर्स विश्वविद्यालय न्यू जर्सीमा छ, जहाँ म हुर्किएको थिएँ, र यद्यपि काल्मिक मंगोल बौद्ध गुरु गेशे वाङ्ग्याल, सायद केवल ५० किलोमिटर टाढा बस्नुहुन्थ्यो, मलाई उहाँको अस्तित्वको कुनै जानकारी थिएन।
मेरो अध्ययनको भागस्वरूप मैले एशियाली अध्ययनको एउटा अतिरिक्त पाठ्यक्रम लिएको थिएँ, जसले बौद्ध धर्म कसरी एक सभ्यता बाट अर्को सभ्यतामा फैलियो भन्नेबारे चर्चा गर्थ्यो, र कसरी प्रत्येक सभ्यताले यसलाई आफ्नै तरिकाले बुझे भन्ने कुरा देखाउँथ्यो। यद्यपि म त्यतिबेला मात्र १७ वर्षको थिएँ, यसले मलाई यति गहिरो प्रभाव पारेको थियो कि मैले भनेँ, “यही हो जसमा म संलग्न हुन चाहन्छु, बौद्ध धर्म कसरी एक सभ्यताबाट अर्को सभ्यतामा सर्छ भन्ने सम्पूर्ण प्रक्रिया।” र यही मार्ग मैले आफ्नो बाँकी जीवनभर कुनै विचलन वा परिवर्तन बिना पछ्याएको छु।
प्रिन्सटन: रसायन विज्ञानदेखि चिनियाँ भाषा, चिन्तन र दर्शन
प्रिन्सटन विश्वविद्यालयमा एशियाली अध्ययन विभागमा बढी विद्यार्थीहरूलाई आकर्षित गर्न नयाँ कार्यक्रम सुरु गरिएको थियो। त्यस समय त्यहाँ धेरै कम विद्यार्थीहरू थिए; त्यो भियतनाम युद्धको सुरुवाती दिनहरू थियो, र धेरैजसो अमेरिकीहरूले कुनै पनि एशियाली भाषा जान्दैनथे।म धेरै उत्साहित थिएँ, किनभने चिनियाँ भाषा अध्ययन गर्ने अवसर खुलेको थियो। त्यसैले मैले आवेदन दिएँ, र स्वीकार पनि भएँ। १८ वर्षको उमेरमा मैले प्रिन्सटनमा चिनियाँ भाषा अध्ययन गर्न थालेँ, र त्यहीँ आफ्नो स्नातक डिग्रीका अन्तिम दुई वर्ष पूरा गरेँ।
म सधैं यो कुरामा चासो राख्थेँ कि चिनियाँ दर्शनले बौद्ध धर्म चीनमा आउँदा यसलाई कसरी बुझिने गरी प्रभाव पारेको थियो, र त्यसपछि बौद्ध धर्मले चिनियाँ दर्शनलाई कसरी प्रभावित गर्यो। त्यसैले मैले चिनियाँ चिन्तन, दर्शन, इतिहास, बौद्ध धर्म र अन्य कुराहरू अध्ययन गरेँ। मलाई गर्मीको समयमा गहन भाषा विद्यालयहरूमा पठाइयो: एक वर्ष हार्वर्डमा, शास्त्रीय चिनियाँ भाषा सिक्न सुरु गर्न एक वर्ष स्ट्यानफोर्डमा, र डिग्री प्राप्त गरेपछि, ताइवानमा एक गर्मी समय बिताएँ। मेरो स्नातकोत्तर अध्ययनका लागि म फेरि हार्वर्डमा फर्किएँ। चिनियाँ कार्यक्रमको हिस्सा स्वरूप मैले जापानी भाषा सिक्न सुरु गरिसकेको थिएँ, र सुदूर पूर्वी भाषाहरूमा स्नातकोत्तर डिग्री प्राप्त गर्दासम्म, मैले चिनियाँ अध्ययनमा अत्यन्तै व्यापक काम गरिसकेको थिएँ।
चिनीयाँ, संस्कृत र तिब्बती: तुलनात्मक अध्ययनहरू
म बौद्ध धर्मको विकासमा भएका प्रभावहरू बुझ्नका लागि म चिनियाँ पक्षलाई जत्तिकै राम्ररी जान्थेँ त्यत्तिकै राम्ररी भारतीय पक्षलाई पनि जान्न चाहन्थेँ, र त्यसैले मैले संस्कृत अध्ययन गर्न थाले। मैले दुई विभागबाट संयुक्त डक्टरेट डिग्री प्राप्त गरेँ: संस्कृत र भारतीय अध्ययन, र सुदूर पूर्वी भाषा विभागहरू। संस्कृत तथा भारतीय अध्ययनले तिब्बती भाषासम्म पुर्यायो, र अध्ययनको केन्द्रविन्दु दर्शनशास्त्र र बौद्ध धर्मको इतिहासमा थियो।
तपाईंलाई थाहा छ, म ज्ञानप्रति अत्यन्तै प्यासासु छु, त्यसैले मैले दर्शनशास्त्र र मनोविज्ञानमा अतिरिक्त कोर्सहरू लिएँ र विज्ञानमा पनि निरन्तर चासो राखें। यसरी मैले आफ्नो अध्ययन सम्पन्न गरेँ, र अनुवादहरू तुलना गर्ने सामान्य बौद्धशास्त्रीय विधिहरू सिकेँ। हामीहरू संस्कृतमा रहेको बौद्ध ग्रन्थलाई हेथ्यौं र त्यसलाई चिनियाँ र तिब्बतीमा कसरी अनुवाद गरिएको रहेछ भन्ने कुरा अध्ययन गर्थ्यौं, साथै विचारहरूको विकासको इतिहास र त्यो सामान्य इतिहाससँग कसरी अन्तर्सम्बन्धित थियो भन्ने कुरा पनि अध्ययन गरिन्थ्यो। यस्तो प्रकारको तालिमले मेरो सम्पूर्ण पेशागत जीवनमा अत्यन्तै उपयोगी रह्यो।
हार्वर्डदेखि जीवित परम्परातर्फ
यो सम्पूर्ण अध्ययनक्रमभरि म सधैं यो कुरामा चासो राख्थेँ कि, मैले अध्ययन गरिरहेकै एशियाली दर्शन र धर्महरू, जस्तै विभिन्न प्रकारका बौद्ध धर्म र हिन्दु धर्म, साथै दाओवाद र कन्फ्युसियसवादको दृष्टिकोणबाट साँच्चदा कस्तो अनुभूति दिन्थ्यो होला? तर जीवित परम्परासँग प्रत्यक्ष सम्पर्कमा आउने कुनै वास्तविक अवसर थिएन; मानौं म प्राचीन इजिप्टका धर्महरू अध्ययन गरिरहेको थिएँ। यद्यपि, मेरो चासो अत्यन्तै गहिरो थियो।
तर जब म सन् १९६७ मा तिब्बती भाषा अध्ययन गर्न थालेँ, रोबर्ट थरमन हार्वर्ड फर्किए र हामी सहपाठी थियो। थरमन गेशे वाङ्यालका निकट शिष्यमध्ये एक थिए र उनले उहाँसँग केही वर्षसम्म बसोबास गरेका थिए। उनी करीब एक वर्षसम्म भिक्षुसमेत बनेका थिए र धर्मशालामा अध्ययन गर्न भारत गएका थिए। धर्मशालामा तिब्बतीहरू र परम पावन पुजनिय दलाई लामा हुनुहुन्छ भन्ने र त्यहाँ अध्ययनको सम्भावना रहेको कुरा मलाई उनीकै माध्यमबाट थाहा भयो। म बिदामा घर फर्किंदा न्यू जर्सीस्थित गेशे वाङ्यालको विहारमा जान थालें र बौद्ध धर्मलाई जीवित परम्पराको रूपमा बुझ्न थालेँ। यद्यपि मैले उहाँलाई धेरै पटक भेटें, तर उहाँसँगै बसेर अध्ययन गर्ने अवसर भने कहिल्यै पाइनँ। तैपनि उहाँले मलाई भारत जान र त्यहाँ अध्ययन जारी राख्न गहिरो प्रेरणा दिनुभयो, त्यसैले मैले फुलब्राइट छात्रवृत्तिको लागि आवेदन दिएँ ताकि तिब्बतीहरूसँग भारतमा बसेर आफ्नो शोधकार्य गर्न सकूँ।
म सन् १९६९ मा २४ वर्षको उमेरमा भारत पुगेँ, र त्यहीँ मैले परम पावन पुजनिय दलाई लामालाई भेटें र तिब्बती समाजमा पूर्ण रूपमा समाहित भएँ। मलाई यस्तो महसुस भयो कि मानौं त्यसअघिसम्मको मेरो सम्पूर्ण जीवन एउटा कन्वेयर बेल्टमा (conveyor belt) रहेको थियो, जसले मलाई त्यहाँ पुर्याइरहेको थियो। न्यू जर्सीको साधारण परिवारबाट सुरु भएर, प्रिन्सटन र हार्वर्डमा पूर्ण छात्रवृत्तिसम्म, र अहिले दलाई लामा र उहाँ वरपरका महान् तिब्बती गुरुवरसम्म। मैले बुझेँ कि मैले तिब्बती बौद्ध धर्मबारे अध्ययन गरेका सबै कुरा यहाँ जीवित रूपमै थिए, र यहाँ त्यस्ता व्यक्तिहरू थिए जो बौद्ध शिक्षाहरूको वास्तविक अर्थलाई साँच्चिकै जान्दथे। उनीहरूबाट सिक्ने यो त सुनौलो अवसर थियो।
डलहौसीमा तिब्बती भाषा बोल्ना सिक्दै
जब म भारत गएँ, त्यतिबेला म तिब्बती भाषा बोल्न जान्दिनथेँ। हार्वर्डमा मेरो प्रोफेसर नागटोमीलाई त तिब्बती भाषा उच्चारण कसरी गर्ने भन्ने पनि थाहा थिएन। उहाँ जापानी हुनुहुन्थ्यो, र हामीले तिब्बती भाषा जापानी व्याकरणको सन्दर्भमा सिक्यौं, किनभने त्यतिबेला उपलब्ध एकमात्र पाठ्यपुस्तकले तिब्बती व्याकरणलाई ल्याटिन भाषा सँग तुलना गरेर व्याख्या गरेको थियो। ल्याटिन र तिब्बतीको कुनै मेल छैन, जबकि जापानी व्याकरण तिब्बतीसँग वास्तवमै धेरै नजिक छ।
मलाई तिब्बति भाषा सिक्नुपर्थ्यो, तर कुनै पाठ्यपुस्तक वा सामग्री उपलब्ध थिएन। गेशे वाङग्यालसँगको सम्बन्धको मध्यमबाट, म दुई जना युवा टुल्कुहरू (पुनर्जन्म लिएको लामा), शार्पा र खम्लुङ रिन्पोछेहरूसँग जोडिन सकेँ। जो उहाँको गुम्बामा केही वर्षसम्मा बसेका थिए र अंग्रेजी धेरै राम्ररी जान्दथे। तिनीहरू डलहौसीमा बस्थे, जहाँ धेरै तिब्बती शरणार्थीहरू बसोबास गरेका थिए। त्यहाँ, तिनीहरूले दयालुतापूर्वक मेरो लागि एक तिब्बती भिक्षु, सोनाम नोर्बुसँग पहाडको छेउमा रहेको एउटा सानो घरमा बस्ने व्यवस्था मिलाइदिए। उहाँलाई अङ्ग्रेजी आउँदैनथ्यो, मलाई तिब्बती आउँदैनथ्यो, तर सँगै बस्दा हामी कुनै न कुनै रूपमा संवाद गर्नैपर्थ्यो। त्यही बेला मेरो बौद्धशास्त्रसम्बन्धी र अन्य शैक्षिक प्रशिक्षण काम आयो। म आफूलाई मानौं बोर्नियो वा अफ्रिकामा कुनै भाषा बुझ्न खोज्ने मानवशास्त्रीजस्तो अनुभव गरिरहेथेँ।
मैले अध्ययन गरेका सबै एशियाली भाषाहरूले तिब्बती भाषाका स्वरहरू (tones) सुन्न र केही प्रगति गर्नमा धेरै मद्दत गर्यो। जब म सोनामसँग कुराकानी गर्न चाहन्थेँ, म केही कुरा लेख्थेँ (किनकि मलाई तिब्बती लेख्न आउँथ्यो), र उहाँले मलाई यसलाई कसरी उच्चारण गर्ने भनेर भन्नुहुन्थ्यो। हामीले यसरी सँगै मिलेर काम गर्यौं, र मेरो कसै अरू व्यक्तिसँग पनि केही भाषाका पाठहरू थियो। अन्ततः, ती दुई जना युवा रिनपोछेहरूले म तिनीहरूका गुरु, गेशे ङवाङ धर्ग्येसँग अध्ययन गर्न सुझाव दिनुभयो।
गाईको गोठमा लाम-रिम अध्ययन
म मेरो शोधप्रबन्ध लेख्न भारत आएको थिएँ, र यद्यपि मैले गुह्यसमाजको अत्यन्त व्यापक तन्त्र विषयमा अनुसन्धान गर्ने योजना बनाएको थिएँ, सेर्कोङ रिनपोछे, परम पावन दलाई लामाका शिक्षकहरूमध्ये एक जनासँग सल्लाह लिन गएको थिएँ, उहाँले मलाई यो पूर्णतया बेतुका कुरा हो र म यसका लागि पूर्णतया तयार नभएको कुराले विश्वस्त पार्नुभयो। त्रिजाङ रिनपोछे, परम पावनका कनिष्ठ गुरुले, मलाई बरु पहिले लाम-रिम, अर्थात् मार्गका क्रमबद्ध चरणहरू अध्ययन गर्न सुझाव दिनुभयो। त्यस समयमा यसबारे केही पनि अनुवाद भएको थिएन, त्यसैले यो मेरो लागि पूर्णतया नयाँ थियो। ती दिनहरूमा तिब्बती बौद्ध धर्म सम्बन्धी उपलब्ध पुस्तकहरूमा एलेक्जान्ड्रा डेभिड-नील, इभान्स-वेन्त्ज, लामा गोविन्द र केही अन्यका मात्र पुस्तकहरू थिए। मैले गेशे ङग्वाङ धरगेसँग लाम-रिमको मौखिक परम्परा अध्ययन गरें र त्यस आधारमा मेरो शोधप्रबन्ध त्यसैमा आधारित बनाएँ।
म डलहौसीमा धेरै आदिम तरिकाले बस्थें, मेरो घरमा पानी थिएन र शौचालय पनि थिएन। तर गेशे धर्ग्येले मभन्दा धेरै आदिम तरिकाले बस्नुहुन्थ्यो, एउटा गोठमा जुन उहाँभन्दा पहिले गाई राख्न प्रयोग गरिन्थ्यो। त्यहाँ उहाँको ओछ्यान अट्ने लागि मात्र ठाउँ थियो, र ओछ्यानको अगाडि अलिकति ठाउँ थियो जहाँ उहाँका तीन जना जवान रिन्पोछे शिष्यहरू र म माटोको भुइँमा बसेर उहाँले सिकाउनुहुन्थ्यो। झाडो रिन्पोछे शार्पा र खमलुङ रिन्पोछेहरू र मसँग सामेल भएका थिए; उहाँ पछि परम पावन दलाई लामाको गुम्बा, नामग्याल गुम्बाको मठाधीश बन्नुभयो। यो गोठ, झिंगा र अन्य सबै प्रकारका कीराहरूले भरिएको, त्यहीँ हामीले अध्ययन गर्थ्यौं।
यो साँच्चै रोमाञ्चक समय थियो किनभने धेरै नयाँ कुराहरू सुरु भइरहेका थिए। परम पावन दलाई लामाले हाम्रो काम, हाम्रा अध्ययनहरूमा चासो लिनुभयो, र त्यसपछि हामीलाई उहाँका लागि अनुवाद गर्नका लागि केही साना ग्रन्थहरू दिनुभयो। जब परम पावनले धर्मशालामा तिब्बती कार्य र अभिलेखालयको पुस्तकालय निर्माण गर्नुभयो, उहाँले गेशे धर्ग्येलाई त्यहाँ पश्चिमीहरूका लागि शिक्षक बन्न भन्नुभयो र शार्पा र खमलुङ रिन्पोछेहरूलाई, जसले मलाई सहयोग गरेका थिए, अनुवादक बन्न भन्नुभयो। मैले पनि सहयोग गर्न पाउँछु कि भनेर सोधेंर र परम पावनले भन्नुभयो, "पाउँछौ, तर पहिले अमेरिका फर्केर जाऊ, आफ्नो शोधपत्र बुझाऊ, डिग्री लेऊ, र त्यसपछि फेरि फर्केर आऊ।"
तिब्बती समाजमा घुलमिल हुनु: एउटा अनुवादक बन्दै
भारतमा यो प्रारम्भिक अवधिमा, मैले तिब्बती समाजसँग घुलमिल हुन प्रयास गरें एउटा परम्परागत भूमिका ग्रहण गरेर जसलाई तिनीहरूले बुझ्न सक्थे; यसैले म अनुवादक बनें। मलाई आफ्नै बौद्ध अभ्यास सुरु गर्नमा अत्यधिक चासो थियो र त्यसैले १९७० को प्रारम्भमा, म औपचारिक रूपमा बौद्ध बनें र ध्यान अभ्यास सुरु गरें। त्यसबेलादेखि मैले हरेक दिन ध्यान गर्न जारी राखेको छु।
अनुवादकको भूमिकामा तपाईंलाई भाषा सीप मात्र नभई, बुद्ध धर्मको गहिरो बुझाइ पनि आवश्यक पर्छ, जसको अर्थ ध्यान गर्नु र शिक्षाहरूलाई वास्तविक जीवनमा अभ्यासमा उतार्नु हो। वास्तवमा तिनीहरूलाई आफैंले अनुभव नगरी मनका विभिन्न अवस्थाहरू वा ध्यानका विभिन्न अवस्थाहरू वा अनुभवहरू वर्णन गर्ने प्राविधिक शब्दहरूको अनुवाद गर्नु असम्भव हुन्छ। त्यसबेला प्रयोगमा आएका अनुवाद शब्दहरू प्रायः बाइबललाई तिब्बती भाषामा अनुवाद गर्न चाहने मिसनरीहरूले बनाएका थिए, जसको बौद्ध धर्मसँग खासै सम्बन्ध थिएन। त्यसैले, त्यो प्रारम्भिक समयदेखि नै मैले मेरो बौद्ध अभ्यासलाई बौद्ध शास्त्रीय तालिमसँग जोडें।
म १९७१ को अन्त्यमा हार्वर्ड फर्किएँ र केही महिनापछि आफ्नो शोधपत्र बुझाएँ र १९७२ को वसन्तमा डाक्टरेट डिग्री प्राप्त गरेँ। मेरा प्राध्यापकले मलाई अर्को प्रतिष्ठित विश्वविद्यालयमा राम्रो शिक्षणको जागिरको अवसर मिलाइदिनुभएको थियो, किनभने म सधैं विश्वविद्यालयमा प्राध्यापक बन्ने सोचमा थिएँ, तर मैले त्यो अस्वीकार गरेँ। म मेरो बाँकी जीवन त्यस्ता मानिसहरूसँग बिताउन चाहँदैनथेँ जो बौद्ध धर्म के हो भन्ने कुरा केवल अनुमान मात्र गरिरहेका थिए । यसको सट्टा, म त्यस्ता व्यक्तिहरूसँग रहन चाहन्थेँ जसले वास्तवमै यसको अर्थ जान्दछन्, र प्रामाणिक परम्पराबाट अध्ययन र सिकाइ गर्न चाहन्थेँ, साथै मेरो बौद्ध अध्ययन बाट प्राप्त तटस्थ दृष्टिकोण कायम राख्न पनि चाहन्थेँ। अवश्य पनि, मेरा प्राध्यापकले मलाई पागल ठाने, तर पनि म भारत फर्किएँ। त्यहाँ जीवन यापन गर्न निकै सस्तो थियो, त्यसैले यो सम्भव भयो।
मेरो नयाँ भारतीय जीवन
म धर्मशाला सरें र गेशे ङग्वाङ धर्ग्ये र शार्पा र खमलुङ रिन्पोछेहरूसँग काम गर्न थालें, जो पहिले नै पुस्तकालयमा काम गरिरहेका थिए। म डलहौसीको भन्दा पनि साना झुपडीमा बसें, अझै पनि पानी वा शौचालय बिना र एउटै सानो झ्यालमा समेत सिसा थिएन। मसँग अघि भएका तिब्बती भिक्षु सोनाम नोर्बु पनि आएर सँगै बस्नुभयो। कुल मिलाएर, मैले भारतमा त्यो अत्यन्तै साधारण झुपडीलाई आफ्नो घर बनाई २९ वर्ष बिताएँ।
त्यो समयमा, मैले परम पावनका लागि पुस्तकालयमा अनुवाद विभाग स्थापना गर्न सहयोग गरें, र मेरा अध्ययनहरू जारी राखें। मैले देखें कि मेरो बौद्ध शास्त्रीय पृष्ठभूमिले मलाई बौद्ध शिक्षाहरूको थप अध्ययन गर्ने उपकरणहरू दिएको थियो। मलाई इतिहास र विभिन्न ग्रन्थहरूका नामहरू थाहा थियो, र मसँग वास्तविक सामग्री सिकाउने मानिसहरू थिए, त्यसैले म कुराहरूलाई सजिलै जोड्न सक्थें। परम पावन दलाई लामाले मलाई चारैवटा तिब्बती परम्पराहरूसँग अध्ययन गर्न प्रोत्साहन दिनुभयो, यद्यपि मैले मुख्यत: गेलुग्पा परम्पराको अध्ययन गरें, ताकि मैले तिब्बती बौद्ध धर्मको सम्पूर्ण दायरा बुझ्न सकूँ। त्यो धेरै रोमाञ्चक समय थियो किनभने ती दिनहरूमा तिब्बती बौद्ध शिक्षाहरूमा के कस्ता गहिरा विषयवस्तु समेटिएका छन् भन्ने कुरा धेरैलाई थाहा थिएन।
सेर्कोङ रिन्पोछेसँग स्मृति र विनम्रता प्रशिक्षण
सन् १९७४ मा मैले परमपावन दलाई लामाका शिक्षकहरूमध्ये एकजना, सेरकोङ रिन्पोछेसँग अध्ययन गर्न थालेँ, जसलाई मैले पहिलोपटक सन् १९६९ मा एकछिन मात्र भेटेको थिएँ। धर्मशालामा हामीबीचको सम्पर्कको सुरुदेखि नै उहाँले देख्नुभयो कि म उहाँको र पछि परमपावनकै पनि अनुवादक बन्ने कर्मिक सम्बन्ध लिएर आएको छु, र त्यसैले उहाँले मलाई त्यसको लागि प्रशिक्षण दिनुभयो। यद्यपि म पहिले नै पुस्तकहरू अनुवाद गरिरहेको थिएँ, तर यो मौखिक अनुवाद र शिक्षणको प्रशिक्षण थियो। उहाँले मलाई उहाँको नजिकै बसाएर विभिन्न मानिसहरूसँग उहाँले कसरी व्यवहार गर्नुहुन्छ भनेर हेर्न लगाउनुहुन्थ्यो। उहाँले मेरो स्मरणशक्ति पनि अभ्यास गराउनुहुन्थ्यो: म जुनसुकै समयमा उहाँसँग हुन्थें, उहाँ अचानक रोकिनुहुन्थ्यो र भन्नुहुन्थ्यो, “मैले अहिलेसम्म जे भनेँ, सबै शब्दशः दोहोर्याउ,” वा, “तिमीले अहिले भनेको कुरा शब्दशः दोहोर्याउ।
म उहाँका लागि अनुवाद गर्न सुरु गरेको अर्को वर्ष थियो, जब उहाँले अरू पश्चिमेलीहरूलाई पढाइरहनुभएको थियो। उहाँले कहिल्यै मलाई एक्लै पढाउनु हुँदैनथ्यो; सधैं अरू कसैका लागि अनुवाद गर्नुपर्दा त्यसै माध्यमबाट सिकाइ हुन्थ्यो – कालचक्र बाहेक। कालचक्र त उहाँले मलाई व्यक्तिगत रूपमा सिकाउनुभयो; उहाँले मसँग गहिरो सम्बन्ध छ भनेर महसुस गर्नुभयो। मलाई कुनै पनि शिक्षाको समयमा नोट लिन अनुमति थिएन, तर सधैं सबै कुरा सम्झेर पछि लेख्नुपर्थ्यो। केही समयपछि, उहाँले मलाई पाठपछि नोट लेख्न पनि दिनुभएन। उहाँले मलाई अन्य कामहरू दिनुहुन्थ्यो, र त्यसपछि म राति ढिलो मात्र सबै कुरा लेख्न सक्थें।
जसरी गेशे वाङ्ग्यालले आफ्ना नजिकका विद्यार्थीसँग गर्नुहुन्थ्यो, त्यसरी नै सेर्कोङ रिनपोछेले मलाई सधैं गाली गर्नुहुन्थ्यो। मलाई सम्झना छ, एकपटक म उहाँको अनुवाद गर्दै थिएँ, मैले उहाँलाई उहाँले भर्खर भन्नुभएको एउटा शब्दको अर्थ के हो भनेर सोधें, जुन मलाई बुझिएन। उहाँले मलाई रिसाएको अनुहारले हेर्दै भन्नुभयो, “मैले त्यो शब्दको अर्थ तिमीलाई सात वर्ष अघि बुझाएको थिएँ। किन सम्झिँदैनौ? म त सम्झिन्छु !”
उहाँले मलाई बोलाउने मनपर्ने नाम “बेवकुफ” थियो, र म त्यस्तै व्यवहार गरिरहेको बेला, विशेषगरी अरूको अगाडि, उहाँ कहिल्यै औंल्याउन चुक्नुहुन्नथ्यो। यो उत्कृष्ट प्रशिक्षण थियो। मलाई याद छ, एक पटक जब मैले परम पावन दलाई लामाका लागि अनुवाद गरिरहेको थिएँ, त्यहाँ करिब १०,००० मानिसहरूको दर्शकवर्ग थियो, र परम पावनले मलाई रोक्नुभयो, हाँस्दै भन्नुभयो, “उसले भर्खर गल्ती गर्यो।” मलाई सधैं “बेवकुफ” भनेर बोल्ने प्रशिक्षणको कारण, म त्यहीँ अनुवाद गर्न जारी राख्न सकें र लाजले भुइँमुनी पस्नु परेन। अनुवाद गर्न असाधारण ध्यान र अद्भुत स्मरणशक्ति आवश्यक पर्छ, त्यसैले म भाग्यमानी थिएँ कि मैले बौद्ध शास्त्रीय तालिम मात्र नभई परम्परागत तिब्बती शैलीमा पनि प्रशिक्षण पाएको थिएँ।
म सेर्कोङ रिनपोछेसँग ९ वर्षसम्म धेरै गहिरो तालिम लिएँ। मैले उहाँको लागि अनुवाद गरें, उहाँका पत्रहरू र यत्रहरूमा सहयोग गरें, र त्यो सारा समयभरि उहाँले मलाई “धन्यवाद” भनेको जम्मा दुई पटक मात्र थियो। यो पनि मेरो लागि धेरै उपयोगी थियो, किनभने उहाँ प्रायः भन्नुहुन्थ्यो— म के अपेक्षा गर्छौ? कि कसैले मेरो टाउकोमा सुम्सुम्याएर थपथपाउँछ र म कुकुरजस्तै पुच्छर हल्लाउनेछु? अनुवाद गर्ने प्रेरणा अरूलाई लाभ पुर्याउने हुनुपर्छ, “धन्यवाद” भन्ने प्रशंसा पाउन होइन। स्वाभाविक रूपमा, मेरो सबै बौद्ध ध्यान र साधना यस किसिमको परम्परागत प्रशिक्षणको प्रक्रियाबाट कहिल्यै रिस नगरी वा हार नमानिकन जानका लागि अत्यन्त आवश्यक थियो।
संस्कृतिहरूबीच एउटा पुल निर्माण गर्नुमा सहायता गर्दै
सेर्कोङ रिन्पोछेको १९८३ मा निधन भयो। त्यसपछि, मलाई व्याख्यान दिनका लागि विश्वभरि यात्रा गर्न निमन्त्रणाहरू आउन थाले, किनभने म रिन्पोछेका अनुवादकको रूपमा यी धेरै ठाउँहरूमा पहिले नै गइसकेको थिएँ। त्यतिन्जेलसम्म, म कहिलेकाहीं परम पावन दलाई लामाका लागि पनि अनुवाद गर्दै थिएँ। तर अनुवाद भनेको केवल शब्दहरूको मात्र होइन, बल्कि विचारहरूको व्याख्या र अनुवाद गर्ने हो। पश्चिमी मनोवैज्ञानिकहरू, वैज्ञानिकहरू र धार्मिक नेताहरूसँग परम पावनका ती धेरै प्रारम्भिक भेटहरूमा, मेरो मुख्य काम भनेको उनीहरूका विचारहरू व्याख्या गर्ने थियो, उनीहरूका शब्दहरू होइन (किनकि तिनीहरूको अधिकांश शब्द तिब्बतीमा थिएनन्), र एउटा सांस्कृतिक पुल निर्माण गर्ने थियो। र यो ठ्याक्कै त्यही कुरा थियो जसले मलाई सानैदेखि रुचाएको थियो, बौद्ध शिक्षाहरूका सन्दर्भमा विभिन्न संस्कृतिहरूबीच कसरी पुल बनाउने। यस्तो पुल बनाउनका लागि, तपाईंले दुवै संस्कृतिहरूलाई साँच्चै राम्ररी जान्नुपर्छ, मानिसहरूले कसरी सोच्दछन् र उनीहरूको जीवन कस्तो छ भन्ने जान्नुपर्छ। त्यसैले मलाई तिब्बतीहरूसँग यति लामो समयसम्म बस्न सक्ने महान् र अत्यन्त दुर्लभ सुअवसर मिल्यो, उनीहरूले सोच्ने तरिका, बाँच्ने तरिका आदिसँग गहिरो बुझाइ पाउन सकेँ। यो बौद्ध धर्मको प्रसारणका लागि एकदमै आवश्यक भएको छ।
मैले परम पावन दलाई लामाका लागि विभिन्न अन्तर्राष्ट्रिय परियोजनाहरू सुरुवात गरें र ती सञ्चालन गर्न पनि आग्रह गरिएको थियो। मुख्य कुराहरू मध्ये एक भनेको संसारलाई परम पावन र तिब्बतीहरूका लागि खुला गराउने प्रयास गर्नु थियो। उनीहरूसँग राहदानी थिएन, केवल शरणार्थी कागजातहरू थिए, र त्यसैले उनीहरूलाई आमन्त्रणा नगरेसम्म कुनै पनि देशमा भिसा प्राप्त गर्न सक्दैनथे। तर उनीहरूका केही ठाउँहरूमा मात्र सम्पर्कहरू थिए। अब, मेरो हार्वर्डको पिएचडी (Harvard PhD) धेरै उपयोगी भयो, किनभने म संसारभरका विश्वविद्यालयहरूमा अतिथि व्याख्यान दिन आमन्त्रित हुन सक्षम भएँ। यसैमार्फत मैले सम्पर्कहरू बनाएँ जसले भविष्यमा तिब्बतीहरू र अन्ततः परम पावनलाई विदेश आमन्त्रणा गराउन र संसारका विभिन्न क्षेत्रहरूमा परम पावनका कार्यालयहरू स्थापना गर्न सहयोग पुर्यायो। सन् १९८५ मा, मैले पूर्व कम्युनिस्ट देशहरू, लगभग सबै ल्याटिन अमेरिकी देशहरू, र अफ्रिकाका धेरै क्षेत्रहरू भ्रमण गर्न थालें। त्यसपछि म बौद्ध र मुस्लिमहरूबीच संवाद खोल्न मध्यपूर्वमा जान सुरु गरें।
यस सम्पूर्ण प्रक्रियामा, म परम पावनलाई फिर्ता पठाउनका लागि रिपोर्टहरू लेख्नमा केन्द्रित थिएँ, ताकि उहाँले म पुगेका प्रत्येक देशको संस्कृति र इतिहासबारे केही जानकारी पाउन सकुन्। फेरि, मेरो हार्वर्डको पृष्ठभूमिले मलाई ती देशहरूका धार्मिक नेताहरूसँग भेटघाट गर्न र तिनीहरूको धर्मबारे प्रत्यक्षरूपमा बुझ्न सहयोग पुर्यायो, ताकि जब परम पावन ती देशहरू भ्रमण गर्नुहुन्छ, उहाँलाई त्यहाँका विश्वास प्रणालीहरूबारे स्पष्ट बुझाइ होस्। मैले पाएको बौद्धविद्या र वैज्ञानिक तालिमले मलाई के महत्वपूर्ण छ भन्ने छुट्याउन, त्यसलाई व्यवस्थित गर्न र उपयोगी तरिकाले प्रस्तुत गर्न सहयोग गर्यो।
म धेरै धेरै परियोजनाहरूमा संलग्न थिएँ। तीमध्ये एक निकै चाखलाग्दो परियोजना थियो — सोभियत संघको (Soviet Union) स्वास्थ्य मन्त्रालयले आयोजना गरेको, चेर्नोबिलका (Chernobyl) पीडितहरूलाई सहयोग गर्न तिब्बती औषधि प्रयोग गर्ने कार्यक्रम। तिब्बती चिकित्सा अत्यन्तै प्रभावकारी सावित भए पनि, जब सोभियत संघ (Soviet Union) विघटन भयो, रूस, बेलारूस र युक्रेनले परियोजनामा सहकार्य गर्न अस्वीकार गरे र तीनवटा छुट्टाछुट्टै परियोजना सञ्चालन गर्न दबाव दिए। तर, यो शारीरिक र आर्थिक रूपमा सम्भव थिएन। दुःखको कुरा, त्यसैसँग उक्त परियोजना अन्त्य भयो।
अर्को उत्साहजनक परियोजना थियो, बाकुला रिन्पोछेका पुस्तकहरूलाई आधुनिक मंगोलियन भाषामा अनुवाद गरी प्रकाशन गर्ने काम, जसले त्यहाँ बौद्ध धर्मको पुनरुत्थानमा सहयोग पुर्याउने उद्देश्य राखेको थियो। त्यतिबेला बाकुला रिन्पोछे मंगोलियामा भारतका राजदूत हुनुहुन्थ्यो।
पश्चिम फर्किंदै
समग्रमा, मैले संसारभरका सम्भवतः ७० भन्दा बढी देशहरूमा यात्रा गरें र सिकाएँ। यस सम्पूर्ण यात्राको क्रममा मैले मेरो दैनिक ध्यान अभ्यास निरन्तर कायम राखें, जसले मलाई अगाडि बढ्न धेरै सहयोग गर्यो। समयसँगै मलाई थप देशहरूबाट शिक्षा र व्याख्यानका लागि निमन्त्रणा आइरह्यो। व्याख्यान यात्राहरू झनै लामो हुँदै गए; सबैभन्दा लामो यात्रा पन्ध्र महिनाको थियो — प्रत्येक हप्ता दुई वा तीनवटा फरक शहरहरू, जताततै यात्रा गर्दै। यी सबै यात्राहरूसँगै, यो बौद्ध ध्यान अभ्यास नै थियो जसले मलाई यो सबै गर्न स्थिरता दियो, विशेष गरेर किनभने म सधैं एक्लै यात्रा गर्थें।
यी वर्षहरूमा मैले धेरै पुस्तकहरू लेखिसकेको थिएँ, र कुनैबेला यस्तो लाग्यो कि भारतमा बस्दा मेरो प्रकाशक स्नो लायन(Snow Lion) सँग काम गर्नु सजिलो थिएन। साथै, म इन्टरनेटको दिशातर्फ अघि बढ्न चाहन्थें, तर भारतमा त्यो गर्न निकै गाह्रो भइरहेको थियो। त्यसैले, सन् १९९८ मा म भारतबाट पश्चिमतर्फ सरेँ। एक वर्षसम्म विभिन्न स्थानहरूमा गएर प्रयास गरेपछि, जहाँ मलाई निमन्त्रणा गरिएको थियो। मैले अन्ततः जर्मनीको बर्लिनमा बसोबास गर्ने निर्णय गरेँ। म पहिले नै जर्मन भाषा जान्दथेँ, त्यसैले त्यो कुनै समस्या भएन। अनि बर्लिनमै मलाई सबैभन्दा बढी स्वतन्त्रता प्राप्त भयो, जुन मेरो लागि अत्यन्त महत्वपूर्ण थियो; म कुनै पनि संस्थामा बाँधिएर बस्न चाहन्न थिएँ। बर्लिनको अर्को फाइदा थियो, त्यो स्थान पूर्वी युरोपका देशहरू, रसिया, र ती पूर्व सोभियत गणराज्यहरूका (Soviet republics) लागि यात्रा गर्न सहज थियो, जहाँ म बारम्बार पढाउने गर्थें र जससँग मेरो विशेष घनिष्ठ सम्बन्ध महसुस हुन्थ्यो।
म पश्चिममा ३०,००० भन्दा बढी पानाका अप्रकाशित पाण्डुलिपिहरूसहित आइपुगें – मैले लेखेका धेरै अपूर्ण पुस्तकहरू, तिनका लागि पठन टिप्पणीहरू, मैले अध्ययन गरेका पाठहरूका अनुवादहरू, र मेरा केही आफ्नै व्याख्यानहरू र मैले अनुवाद गरेका मेरा शिक्षकहरूका व्याख्यानहरूका लिप्यन्तरणहरू। सथै, परम पावन, उहाँका तीनजना प्रमुख गुरुहरू, र गेशे धार्ग्येको शिक्षाबाट मैले लेखेका धेरैजसो नोटहरूको थुप्रो पनि थियो। म यो सोचेर निकै चिन्तित थिएँ कि म मरेपछि यी सबै सामग्री कतै फोहोरमैलामा फालिने त हैन।
बर्जिन अभिलेखालय
म अत्यन्तै सौभाग्यशाली र विशिष्ट स्थानमा थिएँ, पछिल्लो पुस्ताका महान् गुरुहरूमध्ये महानतमसँग यति लामो समयसम्म अध्ययन गर्ने अवसर प्राप्त भएँ। मैले सिकेको र अभिलेख राखेको ज्ञान अत्यन्त अमूल्य थियो, र त्यसलाई वास्तवमै संसारसँग साझा गर्नु आवश्यक थियो। पुस्तकहरू, यद्यपि समात्न र हेर्न निकै राम्रो लाग्न सक्छ, तिनले धेरै ठूलो पाठक दर्शकसम्म पुग्दैनन, जबसम्म तपाईंले बेस्टसेलर लेखेको हुन्देनन्, जुन मेरा कुनै पनि पुस्तकहरू थिएनन्। सामान्यतः, पुस्तकहरू उत्पादन गर्न महँगो पर्छ; किनमेल गर्न पनि महँगो हुन्छ; तिनलाई तयार पार्न धेरै समय लाग्छ; र एकचोटि छापिसकेपछि अर्को संस्करण नआउँदासम्म सुधार गर्न सकिँदैन। म इतिहास अध्ययनको ठूलो प्रशंसक हुँ, तर म भविष्यतर्फ हेर्ने सोचको पनि समर्थक हुँ र भविष्य इन्टरनेट हो। वास्तवमा, वर्तमान पनि इन्टरनेट नै हो। यही सोचेर मैले मेरो सारा कार्य वेबसाइटमा राख्ने निर्णय गरेँ, र यसै गरी सन् २००१ को नोभेम्बरमा मैले berzinarchives.com सुरु गरें।
मैले सधैँ पालन गर्दै आएको मुख्य सिद्धान्त भनेको यो हो कि वेबसाइटमा रहेको सबै सामग्रीहरू कुनै प्रकारको विज्ञापन बिना र केही पनि बिक्री नगरी निःशुल्क रूपमा उपलब्ध हुनुपर्छ। वेबसाइटमा तिब्बती बौद्ध धर्मका सबै पक्षहरू समेटिएका छन्, जसमा चारवटै तिब्बती परम्पराहरू समावेश छन्, यद्यपि मुख्यतः गेलुग परम्परा प्राथमिक रूपमा प्रस्तुत गरिएको छ। त्यसका साथै, त्यहाँ तुलना आधारित सामग्रीहरू, तिब्बती चिकित्सा, ज्योतिष, बौद्ध इतिहास, एशियाली इतिहास, तिब्बती इतिहास, र बौद्ध धर्म र इस्लामबीचको सम्बन्धसम्बन्धी धेरै सामग्रीहरू पनि छन्। म यस कुरामा गहिरो विश्वास राख्दछु कि यस्ता सामग्रीहरू धेरै भाषाहरूमा अनुवाद हुनु अत्यन्त आवश्यक छ।
मलाई लाग्छ, मुस्लिम खण्डसँगको कार्य अत्यन्तै महत्वपूर्ण छ, र परम पावन दलाई लामाले यसलाई धेरै दृढताका साथ समर्थन गर्नुभएको छ। इस्लामीक संसारमा मेरो यात्राहरू र त्यहाँका विश्वविद्यालयहरूमा दिएको शिक्षणका आधारमा, मलाई यो स्पष्ट भएको छ कि त्यहाँका मानिसहरू संसारको बारेमा ज्ञान प्राप्त गर्न अत्यन्तै उत्सुक छन्। विश्वव्यापी मेलमिलापका लागि तिनीहरूलाई बाहिर राख्नु हुँदैन, बरु तिब्बती शिक्षाहरू उनीहरूलाई पनि उपलब्ध गराउनु अत्यावश्यक छ, तर कुनै पनि हालतमा उनीहरूलाई बौद्ध धर्मतर्फ रूपान्तरण गराउने प्रयासको संकेतसमेत बिना गर्नु पर्छ।
उपसंहार
सन् २०१५ सम्ममा बेर्जिन आर्काइभ्स (बेर्जिन आर्काइभ्स) वेबसाइट २१ वटा भाषाहरूमा उपलब्ध भइसकेको थियो र हरेक वर्ष करिब २० लाखपटक अवलोकन गरिन्थ्यो। यो उपलब्धि १०० भन्दा बढी तलबप्राप्त कर्मचारी र स्वयंसेवकहरूको कठोर परिश्रमको परिणाम थियो। हालैका वर्षहरूमा, परम पावन दलाई लामाले २१औं शताब्दीको बौद्ध धर्मको आवश्यकतालाई बारम्बार जोड दिनुभएको छ। यसबाट प्रेरित भएर, मैले भविष्यमा फराकिलो दर्शकहरूसम्म पुग्न वेबसाइटलाई पुनः निर्माण गर्न सक्ने केही नयाँ पुस्ताका युवाहरू लाई सङ्गठित गर्ने निर्णय लिएँ। यही प्रयासबाट studybuddhism.com को जन्म भयो।
नयाँ वेबसाइट पूर्णतः उत्तरदायी डिजाइनमा (responsive design) आधारित छ, जसले डेस्कटप र सबै प्रकारका मोबाइल उपकरणहरूमा उत्कृष्ट रूपमा देखिन्छ। प्रयोगकर्ता परीक्षण र विश्लेषण (analytics) का आधारमा, हामीले प्रयोगकर्ताको आवश्यकता पूरा गर्ने गरी वेबसाइट निर्माण गरेका छौं। हामीले सामाजिक सञ्जालमा आफ्नो उपस्थिति पनि व्यापक रूपमा विस्तार गरेका छौं, साथै समृद्ध अडियो र दृश्य सामग्रीहरू पनि थपेका छौं। हाम्रो उद्देश्य भनेको तिब्बती बौद्ध धर्ममा रुचि राख्ने मानिसहरूका लागि एक केन्द्रिय केन्द्र (central hub) सिर्जना गर्नु हो, जहाँ सुरुवातीदेखि लिएर उन्नत स्तरसम्मको ज्ञान सजिलो र सहज रूपमा बुझ्न मिल्ने ढंगले प्रदान गरिन्छ। हामी त्यस्तो समुदाय निर्माण गर्न चाहन्छौं, जहाँ प्रयोगकर्ताहरूले सँगै अध्ययन गर्न सकून्, र उत्कृष्ट शिक्षाहरूको लागि खुला प्लेटफर्म प्राप्त होस्।
यस बिन्दुमा, हामी केही सीमित भाषाहरू र पुरानो सामग्रीको थोरै अंशसहित नयाँ वेबसाइट सुरु गर्दैछौं। विशेष रूपमा नयाँ अध्ययनकर्ताहरूका लागि लक्षित गरी धेरै नयाँ लेखहरू थपिएका छन्। पुरानो वेबसाइट पनि नयाँ वेबसाइटमार्फत उपलब्ध रहनेछ, जबसम्म हामी त्यसको सबै सामग्रीलाई पूर्ण रूपमा अद्यावधिक संस्करणमा स्थानान्तरण गरिसक्दैनौं।
निष्कर्षात्मक सारांश
यो मेरो जीवनकथाको एउटा सानो अंश हो। यस सम्पूर्ण यात्राभरि मैले दृढ बौद्ध अभ्यासलाई निरन्तर कायम राखें। उदाहरणका लागि, ती धेरै वर्षहरूमा मैले दैनिक करिब दुई घण्टा ध्यान गर्ने गर्थें। मैले धेरै लामो छम ध्यान (retreat) हरू पनि गरेको छु। अहिलेका दिनहरूमा मैले ध्यानको समय केही घटाएको छु, तर अझै पनि दैनिक कम्तीमा ३० मिनेट ध्यान गर्छु, र बौद्ध शिक्षामा रहेको करुणा, सही प्रेरणा, अहंकारमाथि विजय आदि विषयहरूमा गरिएको जोड नै मेरो अभ्यासको मुख्य पक्ष रहँदै आएको छ। मेरो गुरुहरूको प्रेरणले गेशे वाङ्ग्यालबाट सुरु गरेर जसले मलाई परम पावन दलाई लामासम्म पुर्याउनुभयो, र त्यहाँबाट परम पावनका गुरुहरूतर्फ, मैले एउटा सार्थक जीवन बिताउन सकेको छु, जुन अरूका लागि उपयोगी र लाभदायक भएको आशा गर्दछु। मैले बौद्ध धर्मको अनुभवात्मक र वस्तुगत दुबै पक्षलाई समेट्दै, बौद्ध अभ्यास र बौद्धविद्यालाई एकसाथ जोड्ने प्रयास गरेँ। सायद मेरो यो कथाले तपाईंहरूमध्ये केहीलाई पनि यस्तै बाटोमा लाग्न प्रेरणा मिल्न सक्छ।