मैले योङ्जिन लिङ् रिन्पोछेलाई पहिलो पटक सन् १९७० को जनवरीमा बोधगयामा भेटेको थिएँ, जहाँ उहाँ नियमित रूपमा हिउँदो महिनाहरू बिताउनुहुन्थ्यो र त्यहाँको तिब्बती मन्दिरमा वार्षिक शिक्षा दिनुहुन्थ्यो। त्यस समयमा बोधगया अझै विकसित भएको थिएन, र निकै गरिब थियो। स्तूपाको अगाडि माटोको बाटोमा एक अव्यवस्थित कुष्ठरोगीहरूको भीड बस्ने गर्थे, तीर्थयात्रीहरूलाई आफ्ना कुहिएका हातखुट्टा देखाउँदै र एकै स्वरमा कराउँदै भिख माग्थे। त्यहाँका मुट्ठीभर विदेशीहरूमध्ये म एकजना भएकाले, च्यातिएका कपडा लगाएका युवा बालबालिकाहरूको समूहले म जहाँ गए पनि मेरो पछि लाग्थे, लामखुट्टेको झुण्डजस्तै, मेरो लुगाहरू तान्दै र केही सिक्का माग्दै "बक्सिस, मेमसाब" भनेर उच्च स्वरमा एकै ढङ्गले बारम्बार कराउँथे। उत्साही तीर्थयात्रीहरूले स्तुपाको वरिपरि परिक्रमा गर्दै र दण्डवत प्रणाम गर्दै थिए, त्यही जंगली कुकुरहरू र प्रागैतिहासिक जस्तै देखिने सुङ्गुरहरूले स्तूपाको पछाडिको मैदानमा स्वतन्त्र रूपमा खाना खोजिरहेका थिए, जुन स्थानीय खुला शौचालयको रूपमा प्रयोग गरिन्थ्यो। यो एउटा दृश्य थियो जुन म कहिल्यै बिर्सने छैन।
त्यस अवसरमा मैले योङ्जिन लिङ् रिन्पोछेबाट मेरो पहिलो चेनरेजिग (अवलोकितेश्वर) दीक्षा पाएँ र पहिलोपटक बोधिसत्व व्रत लिएँ। योङ्जिन रिन्पोछेको असाधारण उपस्थितिले गरिमा र शक्ति फैलाउँदै विहारको गेट बाहिरको फोहोर र अराजकताको तुलनामा एकदमै फरक छाप छोडेको थियो। विशेष प्रभावशाली कुरा योङ्जिन रिन्पोछेको शिक्षादान गर्नु समयको स्वर थियो। उहाँको वाणी सजिलै मधुर रूपमा, निरन्तर बगिरहेको धारझैँ सुनिन्थ्यो, मानौँ सास फेर्न कहिल्यै नरोकिएको जस्तो लाग्थ्यो।
मेरो अर्को भेट योङ्जिन लिङ् रिन्पोछेसँग १९७१ सेप्टेम्बरमा धर्मशालामा भयो। एउटा ठूलो समारोहमा सहभागी गराउन, मेरा गुरू गेषे ङवाङ् धर्ग्येले मलाई शार्पा र खम्लुङ रिन्पोछेसहित डालहौसीबाट त्यहाँ लगेका थिए। परम पावन दलाई लामाका दुईजना गुरुहरूले उहाँलाई र भेला भएका तान्त्रिक कलेजहरूलाई गेलुग् परम्पराका तीन मुख्य उच्चतम तन्त्र अभिषेक प्रदान गरिरहेका थियो। योङ्जिन लिङ् रिन्पोछेले १३-देवता वज्रभैरव र गुह्यसमाज दीक्षा दिनु भएको थियो र क्याब्जे ठ्रिजाङ रिन्पोछेले चक्रसंवर लुइपाको दीक्षा दिनु भएको थियो। मेरो जानकारीअनुसार, यो सम्भवतः अन्तिम अवसर थियो जब परम पावनले आफ्ना दुई गुरुहरूबाट सार्वजनिक रूपमा दीक्षा ग्रहण गर्नुभएको थियो। प्रमुख शिष्यको हैसियतले धर्मराजाधिराज आफ्ना गुरुहरूको सामुन्ने, अलिकति होचो सिंहासनमा विराजमान हुनुहुन्थ्यो। सहभागी भएको एकमात्र पश्चिमेली भएकाले, म सिंहासनहरूको छेउको सानो कोठरीमा बसेको थिएँ, जहाँ अहिले गुरु रिन्पोछे र सहस्र-भुज अवलोकितेश्वरका प्रतिमाहरू छन्। मेरो एकदमै राम्रो दृश्य पूर्ण थियो। आफ्नो गुरुहरूसामु परम पावनको गम्भीरता, विनम्रता र सम्मानले आध्यात्मिक गुरु र तान्त्रिक आचार्यहरूसँग सम्बन्ध राख्ने उचित तरिकाको स्थायी आदर्श स्थापित गरेको छ।
केही वर्षहरूको अन्तरालमा मैले योङ्जिन रिन्पोछेबाट थप शिक्षादान र दीक्षाहरू ग्रहण गर्ने अवसर पाएँ। तीमध्ये सबैभन्दा सम्झनायोग्य फेरि पनि बोधगयाको मन्दिरमै फेरि वज्रभैरव सम्बन्धी दीक्षा नै थियो। त्यस क्रममा योङ्जिन रिन्पोछेले वरिपरिको खाली ठाउँमा रहेका विभिन्न पक्षहरूलाई औंल्याएर मण्डल दरबारको वर्णन गर्नुभयो। उहाँको लागि त्यो दृश्य यति जीवन्त थियो कि यसले हामी दर्शकहरूका लागि पनि त्यसलाई जीवितजस्तो अनुभव बनायो।
आफ्नो वरिपारिका मानिसहरूको क्षमता बढाउने यो योग्यता योङ्जिन लिङ् रिन्पोछेको उत्कृष्ट विशेषताहरूमध्ये एक थियो। म प्रायः यसलाई "बोध गतिविधिको वृद्धि" भनिने उदाहरणको रूपमा उल्लेख गर्ने गर्दछु। मेरो तिब्बती भाषा मेरा गुरुहरूका लागि मौखिक अनुवाद गर्न सक्ने स्तरमा पुग्नुअघि, जब म योङ्जिन रिन्पोछेलाई भेट्न जान्थेँ त्यस समय म सधैं चकित हुन्थेँ कि उहाँले स्पष्टता र प्रेरणा दिनुभएको माध्यमबाट कुनै न कुनै रूपमा, म उहाँका तिब्बती भाषाका शब्दहरू त्यस समयमा अरू कसैका भन्दा धेरै, धेरै राम्रो बुझ्न सक्थेँ। यो उहाँले सीधा मेरो दिमागमा मनको स्पष्टता प्रक्षेपण गरेको जस्तो लाग्थ्यो।
मेरो तिब्बती भाषाको सीप पर्याप्त सुधार भएपछि, म कहिलेकाहीं योङ्जिन रिन्पोछेका लागि अनुवाद गर्न थालें जब उहाँले अन्य विदेशीहरूलाई निजी शिक्षा दिनुहुन्थ्यो। उहाँ विभिन्न अभ्यासहरूको व्याख्याका लागि अनुरोधहरू स्वीकार गर्नमा अत्यन्त उदार हुनुहुन्थ्यो, र मलाई आवश्यक पर्दा मेरो आफ्नै धर्मसम्बन्धी प्रश्नहरूको उत्तर दिन पनि कृपापूर्वक सहमत हुनुहुन्थ्यो। मैले यो अत्यन्त दुर्लभ र अमूल्य अवसरको दुरुपयोग नगर्ने विशेष ख्याल गरेँ।
एक पटक, जब मैले उहाँले दिनुभएको जटिल अवलोकितेश्वर अभ्यासको व्याख्याका अनुवाद गरिरहेको थिएँ, योङ्जिन रिन्पोछेले विद्यार्थी कोठामा प्रवेश गर्नुअघि मलाई भन्नुभयो कि उहाँ सोचिरहनुभएको थियो यो व्यक्तिले वास्तवमा यी शिक्षाहरूलाई अभ्यासमा ल्याउला कि नल्याउला। तर उहाँले उसलाई केही व्याख्या गर्नु उपयुक्त ठान्नुभयो। त्यसपछि योङ्जिन रिन्पोछेले गहिराइमा नगई वा धेरै विवरणमा नपसी, तर पर्याप्त मात्रामा त्यो अभ्यासप्रति चासो र प्रेरणा जागृत गर्ने खालको अत्यन्तै कौशलपूर्ण व्याख्या दिनुभयो। यसले मलाई पनि पाठ दिनु भयो कि शिक्षा दिने बेलामा सबैभन्दा महत्त्वपूर्ण कुरा शिक्षादाता गुरुको पक्षको निस्वार्थ प्रेरणा हो। त्यस्तो प्रेरणा भएपछि, स्वाभाविक रूपमा तपाईंले विद्यार्थीको स्तर र आवश्यकताअनुसार व्याख्यालाई मापन गर्नुहुन्छ। विद्यार्थीले शिक्षाहरूलाई अभ्यासमा ल्याउछ कि ल्याउदैन त्यो त्यसपछि विद्यार्थीको जिम्मेवारी हुन्छ। पूर्ण शिक्षक कसरी बन्ने भन्ने यो उच्च मापदण्ड पूरा गर्न कठिन भएको छ।
व्यापक रूपमा मान्यता प्राप्त भएको वज्रभैरवको मानव अवतारको रूपमा, जो कि मञ्जुश्रीको बलशाली रूप हुन् र सबै बुद्धहरूको स्पष्टता, बुद्धिमत्ता र प्रज्ञालाई समेट्ने बुद्ध आकृति हुन्, योङ्जिन लिङ् रिन्पोछेले आफ्ना वरिपरि यस्तो प्रचण्ड स्पष्टताको ऊर्जा प्रकट गर्नुभयो, र साथसाथै दृढ चट्टानझैँ स्थिरता र सहाराको आधार हुनुहुन्थ्यो। त्यस्तो ऊर्जा थियो कि, जसको उपस्थितिमा तपाईं भ्रमित, असन्तुष्ट सानो बालकझैँ व्यवहार वा सोच्ना छोड्न बाध्य पार्छ, बरु स्पष्ट, तीक्ष्ण र भावनात्मक तथा मानसिक रूपमा स्थिर र संयमित बनाउँछ।
यस विशेषताको उदाहरणका रूपमा, मलाई याद छ, एकपटक म धर्मशालामा योङ्जिन रिन्पोछे भेट्न उहाँको घरमा गएको थियो। उहाँ कोठाको कुनामा भएको एउटा तल्लो खाटमा बस्नुभएको थियो र म त्यही कुनाको अर्कोतर्फको तल्लो खाटमा थिएँ। जब उहाँले मेरो ध्यान अभ्याससम्बन्धी केही प्रश्नहरूको उत्तर दिइरहनुभएको बेला, अचानक हाम्रो बीचको भुइँमा ठूलो बिच्छी देखा पर्यो। सधैं गरिमामय देखिने योङ्जिन रिन्पोछेले हातहरू आकाशतर्फ जंगली रूपमा उठाएर उत्साहित र भावनात्मक स्वरमा भन्नुभयो, “अरे, बिच्छी!” त्यसपछि उहाँले ठूला-ठूला आँखा खोलेर मलाई हेर्नुभयो र भन्नुभयो, “तिमी डराउँदैनौ?” मैले पनि उहाँको आँखामा हेरेर भनेँ, “वज्रभैरव आफैंको अगाडि म कसरी डराउन सक्छु?” र यो सत्य पनि थियो, म डराएको थिइनँ। मेरो उत्तर सुनेर योङ्जिन रिन्पोछे धेरै हाँस्नुभयो। त्यसपछि उहाँका सहयोगी भित्रिएर एउटा कप र कागज ल्याए, बिच्छीमुनि कागज सारेर कपले ढाकेर त्यसलाई यतिसुकै विधिपूर्वक बाहिर आँगनमा लगेर छोडिदिए। यो जस्तो लाग्यो कि योङ्जिन रिन्पोछेले यो सम्पूर्ण घटनालाई मेरो पाठको भागको रूपमा मञ्चन गर्नुभएको थियो।
यद्यपि धेरैजसो मानिसहरू योङ्जिन लिङ् रिन्पोछे देख्दा डरलाग्दो र अद्भुत अनुभव गर्थे, किनभने उहाँमा वज्रभैरवको अत्यन्त शक्तिशाली र प्रभावशाली ऊर्जा थियो। योङ्जिन रिन्पोछे आफैंले यो प्रतिक्रिया उपयुक्त हो भनेर कहिल्यै महसुस गर्नुभएन। एक पटक जब म उहाँसँग बोधगयाको मन्दिरमा उहाँको कोठामा थिएँ, एक जना युवा भिक्षु तलका भिक्षुहरूले गरिरहेको "छोग" पूजा समारोहको अनुष्ठानिक प्रसादको थाल लिएर भित्र प्रवेश गरे। त्यो बालक स्पष्ट रूपमा घबराएको र डराएको देखिन्थ्यो, यति महान गुरुको उपस्थितिमा आइपुगेकोमा। उनी गएपछि, योङ्जिन रिन्पोछेले हाँस्नुभयो र मलाई भन्नुभयो, "तिनीहरू सबै मसँग यति डराएका छन्। डराउनुपर्ने आवश्यकता छैन, छ र?"
हृदयमा शान्त मञ्जुश्री राखेर प्रचण्ड वज्रभैरवजस्तै, योङ्जिन लिङ् रिन्पोछे बाहिरी रूपमा कठोर, गंभीर र स्थिरता दिने आधारशिला हुनुहुन्थ्यो, तर भित्रीरूपमा न्यानो, दयालु र अनन्त बुद्धिमान हुनुहुन्थ्यो। म आफूलाई उहाँको शिष्य र कहिलेकाहीँ अनुवादक भएकोमा अत्यन्त भाग्यशाली ठान्छु।