सबै जनाको एकै खालको स्वभाव र झुकावहरू नहुने भएकाले नै बुद्धले विविध प्रकारका विधिहरूको शिक्षा दिनुभएको थियो ताकि सबैले आफ्नो स्वभाव अनुसार लाभ लिन सकुन्। यो कुरा मनन गरेर नै परम पूजनीय दलाई लामाले भन्नु भएको छ – यो संसारमा यतिका धेरै धर्महरू अस्तित्वमा हुनु धेरै राम्रो कुरा हो। एक प्रकारको खानेकुरा सबैका लागि रुचिकर नभए जस्तै एउटै धार्मिक आस्था र एकै प्रकारका मान्यताले सबैको आवश्यकता पूरा गर्न सक्दैन। धेरै प्रकारका धर्महरू हुनु सबैको हितमा छ, यसलाई सबैले स्वागत गर्नुपर्छ, यसलाई खुशीसाथ स्वीकार्नुपर्छ।
अन्तरधर्म सम्वाद
आजकल परस्पर सम्मानको भावनाका साथ बुद्धधर्मका आचार्यहरू र अन्य धर्मका अग्रणीहरूबीच सम्वादको क्रम बढेको छ। दलाई लामाले पोप जन पाल द्वितीयसँग धेरैपल्ट भेट गर्नुभएको छ। सन् १९८६ मा पोपले इटलीको एसिजी शहरमा संसारका सबै धर्मका नेताहरूको एक विशाल सभा बोलाउनुभएको थियो। उक्त सभामा करीब एक सय पचास प्रतिनिधि उपस्थित थिए। पोपसँगैको आसनमा दलाई लामा बस्नुभएको थियो। उहाँलाई प्रथम वक्ताको सम्मान दिइएको थियो। उक्त सभामा धार्मिक नेताहरूले नैतिकता, प्रेम र करुणाजस्ता विषयहरूमाथि चर्चा गरे। यी विषयहरूलाई सबै धर्ममा समान रूपले महत्व दिइएको छ। धार्मिक नेताहरूबीचको आपसी सहयोग, सौहार्द्रता र सम्मानको भावनाबाट मानिसहरू प्रेरित भए।
पक्कै पनि, हरेक धर्म अरुभन्दा अलग छ। तत्त्वमीमांसा र धर्मशास्त्रको हिसाबले यी भिन्नताहरूलाई हटाउने कुनै उपाय छैन। तर त्यसको मतलब हामी एक आपसमा झगडा गर्नुपर्छ भन्ने होइन। “मेरो आस्था तेरोभन्दा उत्तम छ” भनेर कसैको भलो हुँदैन। बरु सबै धर्ममा के कुरा समान छ, त्यसमा ध्यान दिनु चाहिँ सबैको हितमा हुन्छ। सबैले प्रेम, करुणा, दयालुपन जस्ता नैतिक व्यवहारको शिक्षामार्फत मानवजातिको जीवन सुधार्ने उद्देश्य राखेका हुन्छन्। सबै धर्मले भौतिक दुनियाँमा पूर्ण लिप्त भएर नबस्न सिकाउँछन्। सबैले आध्यात्मिक र भौतिक उन्नतिबीच सन्तुलन कायम राख्न प्रयत्न गर्ने शिक्षा दिन्छन्।
यदि सबै धर्म एक ठाउँमा उभिएर यो विश्वको अवस्था सुधार गर्ने दिशामा एकताबद्ध भै प्रयत्न गरे भने असाध्यै राम्रो हुनेछ। भौतिक उन्नति महत्त्वपूर्ण त छ, तर आध्यात्मिक उन्नति पनि उत्तिकै महत्त्वपूर्ण छ। हालका दिनहरूमा हामीलाई यो बोध स्पष्टसँग भैरहेको छ। यदि हामीले जीवनको भौतिक पक्षलाई मात्र जोड दियौं भने एक शक्तिशाली बम बनाउने र सबै मानवजातिलाई मार्ने उद्देश्य पनि राम्रो लाग्न सक्छ। तर त्यसका विपरीत हामीले मानववादी र आध्यात्मिक दृष्टिले हेर्यौं भने आमविनाशकारी हतियार निर्माणको खतराबारे सचेत हुन्छौं। तर फेरी हामीले आध्यात्मिक प्रगतिलाई मात्र ध्यान दियौं र भौतिक पक्षलाई पूर्णतः उपेक्षा गर्यौं भने सबैजना भोकभोकै बस्नुपर्ने हुन्छ। त्यो पनि राम्रो होइन। त्यसैले एक सन्तुलन आवश्यक हुन्छ।
एक आपसबाट सिकौं
विश्वका धर्महरूबीचको अन्तर्क्रियाको एक राम्रो पक्ष भनेको उनीहरूले आफ्नो विशेषताहरू एक अर्कासँग साट्न पाउँछन्। उदाहरणका लागि, क्रिश्चियन ध्यान अभ्यासीहरूले बुद्धधर्मबाट एकाग्रता र ध्यानको विधि सिक्न रुचि देखाएका छन्। कैयौं क्याथोलिक पुजारीहरू, चर्च प्रमुखहरू, संन्यासी तथा संन्यासिनीहरूले भारतस्थित धर्मशाला गई यस्ता विधि सिकेर आफ्ना सहकर्मीहरूलाई सिकाएका छन्। कैयौं बौद्ध शिक्षकहरूले क्याथोलिक गुरुकूलहरूमा गई शिक्षा दिएका छन्। म आफैं पनि कहिलेकाहीँ ध्यान कसरी गर्ने, एकाग्रता र मैत्रीभावको विकास कसरी गर्ने जस्ता विषयमा प्रशिक्षण दिने निमन्त्रणा पाउँछु। क्रिश्चियानिटीले सबैलाई प्रेम गर्ने शिक्षा त दिन्छ तर कसरी गर्ने भन्ने कुराको विस्तृत जानकारी दिँदैन। बुद्धधर्ममा चाहिँ मैत्रीभाव (प्रेम) को विकास गर्ने विधिहरू विस्तारपूर्वक सिकाइएको छ। क्रिश्चियन धर्मको उच्च तहमा यस्ता विधिहरू बुद्धधर्मबाट सिक्ने अनुमति छ। यसरी सिक्नुको मतलब यो होइन कि उनीहरू सबै बौद्धमार्गी हुनेछन्। यहाँ अरुको धर्म परिवर्तन गराएर आफ्नो धर्ममा ल्याउने उद्देश्य कसैको पनि होइन। तर यी विधिहरू सिकेर तिनलाई आफ्नो धर्मभित्रै रहेर प्रयोग गर्न सकियो भने सहयोग पुग्नेछ, तपाईं अझ राम्रो क्रिश्चियन बन्न सक्नुहुनेछ।
त्यस्तै, धेरै बौद्धमार्गीहरू क्रिश्चियन धर्मबाट समाज सेवा कसरी गर्ने सिक्न चाहन्छन्। अधिकांश क्रिश्चियन परम्पराले आफ्ना संन्यासी र संन्यासिनीहरूलाई शिक्षण, चिकित्सा, बृद्धबृद्धा र अनाथहरूको सेवा, आदि सेवाकर्ममा संलग्न हुन प्रेरित गर्छन्। केही बौद्ध देशहरूले यस्ता समाज सेवाका कामको शुरुवात गरिसकेका छन्। तर विभिन्न सामाजिक तथा भौगोलिक कारणहरूले गर्दा केही देशहरूले यसलाई अवलम्बन गर्न सकेका छैनन्। क्रिश्चियनहरूबाट बौद्धहरूले समाज सेवाबारे धेरै कुरा सिक्न सक्छन्, र परम पूजनीय दलाई लामा पनि यो कुरालाई स्वागत गर्नुहुन्छ। सबै पक्षले एक अर्काको विशेष अनुभवबाट सिक्नु एकदमै राम्रो कुरा हो। यो प्रकारले आपसी सम्मानको आधारमा विश्वका विभिन्न धर्महरू सिकाइको खुला मञ्चमा एकसाथ आउन सक्छन्।
सारांश
हालसम्म विभिन्न धर्महरूबीचको अन्तर्क्रिया धार्मिक नेतृत्त्वको उच्च तहमा मात्र सीमित रहेको छ। यो तहमा मानिसहरू एक आपसमा खुला हृदय र कमभन्दा कम पूर्वाग्रह राखेर व्यवहार गर्न सक्छन्। तर तल्लो तहमा मानिसहरूबीच असुरक्षाको भावना ज्यादा हुन्छ। उनीहरूमा फुटबल टीमको जस्तो मानसिकता हुन्छ, जहाँ प्रतिस्पर्धा गर्नु र झगडा गर्नु सामान्य कुरा मानिन्छ। यस्तो मानसिकता राख्नु दुखद कुरा हो, चाहे त्यो भिन्नाभिन्नै धर्महरूबीच होस् वा बुद्धधर्मकै विभिन्न परम्पराहरूबीच। बुद्धले धेरै प्रकारमा विधिहरू सिकाउनु भएको थियो। ती सबै विधिहरूले बिना कुनै विरोधाभाष विविध जनसमुदायको हित गर्छन्। त्यसैले सबै परम्पराहरूलाई सम्मान गर्नु अत्यन्तै महत्त्वपूर्ण छ, चाहे ती बुद्धधर्मभित्रकै हुन् या विश्वका विभिन्न धर्महरूका।