कुनै पनि कार्यको परिणाम त्यसको आशयमा निर्भर गर्छ। कार्य एउटै भए पनि त्यसका पछाडिको मनोभाव नकारात्मक छ कि सकारात्मक, त्यसले परिणाममा फरक पार्छ। एउटै खालको मनोभाव (जस्तै करुणा) का साथ गरिएको कार्य छ भने पनि त्यसको पछाडिको मानसिक र भावनात्मक आधारले नतिजा फरक पार्छ।
करुणाका तीन प्रकार
करुणाका तीन प्रकार छन्ः
- पहिलो, आफ्ना नातेदार र प्रियजनतर्फ लक्षित हुन्छ। तर आसक्तिमा आधारित भएका कारण यसको निश्चित सीमा हुन्छ। सानो कारणले पनि यो तुरुन्तै रिस या घृणामा परिवर्तित हुन सक्छ।
- दोस्रो, दुःखमा रहेका जीवहरूप्रति लक्षित हुन्छ, यसका पछाडि उनीहरूप्रतिको दयाभाव हुन्छ। यो प्रकारको करुणामा हामी उनीहरूलाई हेय दृष्टिले हेछौंं र आफूलाई उनीहरूभन्दा उत्तम ठान्छौं। यी दुवै प्रकारका करुणा क्लेशयुक्त मनोभावले आउँछन्, त्यसैले तिनले समस्या नै सिर्जना गर्छन्।
- तेस्रो प्रकारको करुणा पूर्वाग्रहमुक्त हुन्छ। यो समझदारी र सम्मानमा आधारित हुन्छ। यसमा हामी अरूलाई पनि आफू समान भएको जान्दछौं : सुखी रहने र दुःखबाट मुक्त हुने अधिकार उनीहरूको पनि हाम्रो जत्तिकै छ। यो बुझाइका साथ हामी अरूप्रति मैत्री, करुणा र स्नेहको अनुभूति गर्छौं। यो तेस्रो प्रकारको करुणामा स्थायित्व हुन्छ। यो अभ्यास, शिक्षा र विवेकको मद्दतले विकसित गरिन्छ। करुणा जति स्थायी हुन्छ, त्यति नै हितकारी हुन्छ।
यी तीन प्रकारका करुणालाई दुई वर्गमा बाँड्न सकिन्छ। पहिलो र दोस्रो स्नायुतन्त्रमा आधारित तथा स्वतः उत्पन्न हुने मनोभावहरू हुन् भने तेस्रो तर्क विवेकमा आधारित मनोभाव हो।
नवजात शिशुप्रति आमाको प्राकृतिक निकटता र ममता
तर्कसम्मत र पूर्वाग्रहबाट मुक्त करुणा प्राकृतिक रूपमा नै प्रबल हुन्छ। समुद्री कछुवा र पुतलीको त मलाई ज्ञान छैन, तर चाहे मानिस होस् या कुनै स्तनपायी जनावर वा चराचुरुङ्गी, जन्मको समयमा हामी सबै आफ्नो आमाप्रति पूर्वाग्रहमुक्त प्रेमको स्वतः अनुभूति गर्छौं, हामीले उनीलाई नचिनेकै भएपनि। प्राकृतिक रूपमै हामी उनीप्रति लगाव, निकटता, र स्नेहको अनुभूति गर्छौं। आमाले पनि आफ्नो नवजात शिशुप्रति प्राकृतिक रूपमै स्वतः एक प्रकारको निकटता र स्नेहको अनुभूति गर्छिन्। यसैकारण उनी त्यो शिशुको ख्याल राख्छिन् र स्याहारसुसार गर्छिन्। यस्तो स्नेहयुक्त हेरचाह उक्त शिशुको बृद्धिका लागि आवश्यक हुन्छ।
यसबाट हामी के बुझ्न सक्छौं भने जैविकतामा आधारित निकटता र ममता करुणाका बीउ हुन्। यो हामीले पाउन सक्ने सबैभन्दा ठूलो उपहार हो, र यो आमाबाट प्राप्त हुन्छ। यो बीउलाई हामीले तर्क विवेक र शिक्षाद्वारा पुष्ट गर्न सक्यौं भने यथार्थ करुणामा विकसित हुन सक्छ – त्यस्तो करुणा जुन पूर्वाग्रहरहित हुन्छ, सबैप्रति समान रूपले उपलब्ध हुन्छ, र हामी सबै एकै समान छौं भन्ने बोधमा आधारित हुन्छ।
करुणामा आधारित धर्म–निरपेक्ष नैतिकता
शिशुका लागि गरिने स्नेहयुक्त व्यवहार धर्म, कानुन, वा प्रहरी प्रशासनले बलपूर्वक लागु गर्ने चीज होइन। यो त प्राकृतिक रूपमा स्वतः आउँछ। त्यसैले धर्मले सिकाउने करुणा राम्रो भएतापनि यसको यथार्थ बीउ वा यथार्थ आधार जैविक हो। यो नै मैले भन्ने गरेको “धर्म–निरपेक्ष नैतिकता” को आधार हो। धर्मले यो बीउलाई पुष्ट मात्र बनाउनुपर्छ।
केही मानिसको विचारमा नैतिक आचरण पूर्णतया धार्मिक आस्थामा आधारित हुनुपर्छ। कसैले नैतिक भावनाको विकास प्रशिक्षणका मद्दतले गर्न सकिन्छ भन्ने ठान्छन्। कसैको विचारमा “धर्म–निरपेक्ष” भनेको धर्मलाई निषेध गर्नु हो। कसैले “धर्म–निरपेक्ष” भनेको भारतको संविधानमा बताइएजस्तै सबै धर्म र धर्म नमान्नेहरूलाई समेत पूर्वाग्रह बिना समान रूपमा सम्मान गर्नु हो भन्ने बुझ्छन्। यो पछिल्लो प्रकारको नैतिकता र अझ यसलाई आधार दिने करुणाको मूल हामीमा सहज रूपमै विद्यमान छ। आमा र नवजात शिशुको उदाहरणजस्तै यो करुणा जीवित रहिरहने आवश्यकताको परिणामस्वरूप स्वतः उत्पन्न हुन्छ। जैविक कारणमा आधारित हुनाले यो करुणा ज्यादा स्थायी हुन्छ।
जब हामी ज्यादा करुणायुक्त हुन्छौं, हाम्रो मानस र हृदय ज्यादा खुला हुन्छ र अरूसँग ज्यादा सहजतापूर्वक सञ्चार गर्न सक्छौं।
बालबालिकाहरू आपसमा खेल्दा धर्म, जाति, राजनीति, वा पारिवारिक पृष्ठभूमिका बारेमा सोचिरहेका हुँदैनन्। उनीहरू आफ्ना खेलसाथीको मुस्कानमा रमाउँछन्, चाहे तिनीहरू जोसुकै हुन्। खुसी भएर तिनीहरूप्रति राम्रो व्यवहार गर्छन्। उनीहरूको मानस र हृदय खुला हुन्छ। तर वयस्कहरू चाहिँ जातीय भिन्नता, राजनैतिक भिन्नता, आदि अनेक अन्य कुराहरूमा केन्द्रित हुन्छन्। यसले गर्दा उनीहरूको मानस र हृदय खुम्चिएको हुन्छ।
यी दुईबीचको फरकमा ध्यान दिउँ। जब हामीमा करुणाले भरिएका हुन्छौं, तब हाम्रो मानस र हृदय ज्यादा खुला हुन्छ र हामी अरूसँग ज्यादा सहजतापूर्वक सञ्चार गर्न सक्छौं। तर जब हामी आत्म–केन्द्रित हुन्छौं, हाम्रो मानस र हृदय बन्द हुन्छ र अरूसँग सञ्चार गर्न कठिन हुन्छ। रिसले रोग प्रतिरोधात्मक क्षमता कमजोर गराउँछ भने करुणा र स्नेहपूर्ण हृदयले रोग प्रतिरोधात्मक क्षमता मजबुत बनाउँछ। रिस र डरले भरिँदा हामी निदाउन सक्दैनौं, निदाइहाले पनि दुःस्वप्न देख्छौं। हाम्रो मन शान्त छ भने राम्रोसँग निदाउन सकिन्छ। कुनै निद्रा लगाउने औषधीको आवश्यकता पर्दैन – हाम्रो उर्जा सन्तुलित हुुन्छ। तनावको अवस्थामा हाम्रो उर्जा उद्वेलित हुन्छ र हामीलाई बेचैनीको अनुभव हुन्छ।
करुणाले चित्तलाई शान्त र खुला गराउँछ
कुनै स्थितिलाई स्पष्ट रूपमा देख्न र बुझ्न हामीलाई शान्त चित्त चाहिन्छ। उत्तेजित अवस्थामा यथार्थलाई देख्न सक्दैनौं। त्यसैले अधिकांश समस्याहरू, यहाँसम्म कि विश्वव्यापी समस्याहरू पनि मानव–निर्मित हुन्छन्। यथार्थलाई नदेखेका कारण स्थितिलाई उचित तरिकाले व्यवस्थापन गर्न सक्दैनौं, त्यसैले ती समस्या उत्पन्न हुन्छन्। हामीले गर्ने कार्य रिस, डर र तनावमा आधारित हुन्छन्। मानसिक खिँचाव अति नै छ। चित्त दिग्भ्रमित भएका कारण हाम्रो दृष्टिकोण निष्पक्ष हुन सक्दैन। यी क्लेशहरूले चित्तलाई साँघुरो बनाउछन्। यसबाट समस्याहरूको सिर्जना हुन्छ र हामीलाई कहिल्यै सन्तोषजनक परिणाम प्राप्त हुँदैन।
अर्कातर्फ, करुणाले हाम्रो चित्तलाई खुला र शान्त बनाउँछ। यसबाट हामी यथार्थलाई देख्न सक्छौं। र, ती काम गर्ने तरिका जान्दछौं जसले सबैका लागि अवाञ्छित स्थितिको अन्त्य गर्छ र वाञ्छित् स्थितिको सिर्जना गर्छ। यो महत्वपूर्ण बुँदा हो, यस्तो तर्कसम्मत करुणा धेरै कल्याणकारी छ। तसर्थ आमा तथा शिशुबीचको सहज स्नेहपूर्ण र मायालु व्यवहारको जैविक आधार र तर्कसम्मत दृष्टिले मानवीय मूल्य मान्यताको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्छन्।