मृत्युको स्मरण
मृत्यु निश्चित छ
यो शरीरलाई हेरौं। यो कुनै चट्टान वा फलामले बनेको होइन। बनेको भए अलि लामो समय टिक्थ्यो होला। यो शरीरलाई काटेर भित्र के रहेछ भनेर हेर्यो भने रगत र आन्द्राभुँडी निस्कनेछ। मानिसहरू बजारमा मासुपसलबाट जनावरका भित्री अंग किनेर घरमा ल्याई झुण्ड्याउँछन्। हाम्रो शरीरभित्रका अंग पनि त्यस्तै हुन्। घडीको भित्री पूर्जाहरूजस्तै हाम्रो शरीरका भित्री अंगहरू अति नाजुक छन्।
हामीले मृत्युका बारेमा सोच्यौं र कति मानिस मरे होलान् भनेर गन्न थाल्यौं भने कैयौं जपमालाहरू सकिनेछन्। म यहाँ धर्मशाला आएपछि मात्र कति तिब्बतीहरू मरे भनेर गन्ती गर्न थालें भने एउटा जपमाला त तुरुन्तै सकिनेछ।
संसारमा त्यस्तो कोही व्यक्ति छैन जो मानव शरीरका साथ जन्मेको होस् तर नमरेको होस्। रुखविरुवाहरू पनि मर्लान् त? भन्ने लाग्न सक्छ। तर त्यो पनि केही समयको कुरा मात्र हो। जन्मेपछि मृत्यु हुन्छ, त्यो नै प्रकृतिको स्वाभाविक नियम हो। यसमा कसैले केही गर्न सक्दैन। यहाँ यसरी जुटेर आउनुको निष्कर्ष के हो भने हामी छुटिनु पनि पर्छ। माथि गएपछि तल झर्नु नै पर्छ। एक दिन मर्नुबाहेक हामीसँग अर्को विकल्प छैन भन्ने जानेपछि हामीले मृत्यु नआउञ्जेल धर्मको जतिसक्दो धेरै अभ्यास गर्नु जरुरी हुन्छ।
हामीले आफ्नै मृत्युको चिन्तन गर्नु उपयोगी हुनेछ। कल्पना गर्नोस्, तपाईं एकदमै विरामी हुनुहुन्छ, तपाईंका मांसपेशीको रंग उडेर घिनलाग्दो भएको छ, र तपाई एकदमै दुर्बल हुनुभएको छ। तपाईंका सबै नातेदार रुँदै छन्, ज्यादै नराम्रो भयो भनेर विलाप गर्दैछन्। डाक्टर आउँछ र तपाईंलाई औषधि दिन्छ। तर उ पनि अवस्था साह्रै नराम्रो छ भनेर चुक्चुकाउँछ मात्र।
हामी कुनैबेला पनि मर्न सक्छौं
तपाईं कहिले मर्नुहुन्छ, कुनै निश्चित छैन। कहिलेकाहीँ सेतै फुलेका बुढाबुढीले आफ्नो सन्तानको अन्तिम संस्कार गर्दैगरेको देखिन्छ। कहिलेकाहीँ सामान्य खानेकुरा खाँदाखाँदै मानिस गला लागेर मर्छन्।
तिब्बतमा दिइने एक उदाहरण लिऊँ। कुनै मानिस मासु खाँदैछ र केही टुक्रा भोलि बिहान खान्छु भनेर साँचेर राख्छ। तर के थाहा, त्यो मासुको टुक्राको आयु उसको भन्दा लामो हुने हो कि? अर्को उदाहरण ः सिम्ला (भारत) का एकजना आलु किसान मेरा परिचित थिए। एक दिन उनी लञ्चका लागि भुटेको रोटी बनाउँदै थिए। रोटी बनाउँदा बनाउँदै उनको मृत्यु भयो। रोटी पाक्न नै पाएन।
आफूले चिनेका र मरिसकेका मानिसहरूको स्मरण गर्ने हो भने अनित्यता र मृत्युबोध गर्न सहज हुनेछ। त्यसबारे लेखिएका पुस्तक मात्र पढेर त्यति लाभ हुँदैन।
मृत्युका बेला धर्म मात्र काम लाग्छ
मृत्यु ध्यान किन महत्त्वपूर्ण छ? किनभने यसबाट हामी जान्दछौं कि जीवनमा सबैभन्दा सारपूर्ण काम भनेको धर्मको अभ्यास मात्र हो।
भौतिक वस्तुहरूबारे सोचौं। तपाईंले कुनै पनि चीज आफूसँग लैजान पाउनुहुन्न। मानिलिऊँ तपाईं एक धनी व्यापारी हुनुहुन्छ र तपाईंले धेरै पैसा कमाउनुभएको छ। मरेपछि त्यसले के फरक पर्छ? हद से हद तपाईंको मृत शरीरलाई जलाउनुअघि ढाक्ने कपडा अलिकति महंगो किनिदेलान्। तर एक व्यापारीका रूपमा तपाईंले अनेक देश घुमेर धन कमाउनलाई जति अकुशल कर्म गर्नुभएको छ, त्यसको कुनै सीमा नै हुँदैन।
तपाईंका कैयौँ नोकरचाकर होलान्, सेनाको जर्नेलका रूपमा तपाईंले १००,००० सैनिकलाई कमाण्ड गरिरहनुभएको होला, तर मृत्युपछि तपाईंका साथ कोही आउन सक्दैन। देशैभरी तपाईंका नातेदार छन् भने पनि केही काम लाग्दैन। हद से हद उनीहरूले गर्नसक्ने भनेको तपाईंको मृत्युसय्याछेउ उभिने हो। त्यो भीडले तपाईंको मृत्युपछिको शान्तिपूर्ण प्रस्थान र पुनर्जन्मलाई बिथोल्ने काम मात्र गर्छ।
मृत्युका बेला तपाईंलाई सहयोग गर्नसक्ने एउटै मात्र कुरा भनेको धर्मको अभ्यास हो। तपाईंले सिर्जनात्मक व्यवहार (कुशल कर्म) मार्फत पर्याप्त मात्रामा सकारात्मक कर्मको उर्जा सञ्चित गर्नुभएको छ भने त्यसले भविष्यका जन्ममा असाध्यै सहयोग गर्छ। नकारात्मक कर्मको उर्जाले पुनर्जन्मलाई निकृष्ट बनाउँछ। हामीलाई के कुरा साँच्चिकै काम लाग्छ भन्ने बुझ्न मृत्युसम्म पनि पुग्नुपदैन। तिब्बतको उदाहरण लिऊँ – कैयौं तिब्बतीहरू आफ्नो ठाउँमा धनसम्पन्न थिए। तर त्यहाँबाट हिँड्दा उनीहरूसँग केवल आफ्नो ज्ञान र अन्तर्मनका गुणहरू मात्र थिए। त्यसैले हामीले आफ्नो जीवनभरी धर्मको विशुद्ध अभ्यास गर्नुपर्छ र क्षणिक सांसारिक क्रियाकलापमा समय खेर फाल्नु हुँदैन।
यो जीवनका सबै क्षणिक सांसारिक क्रियाकलापलाई गहुँको बाहिरको खोस्टाजस्तो अर्थहीन जानेर व्यवहार गर्नुपर्छ। त्यसको सार नै छैन। यहाँ हामीले गर्ने सबै क्रियाकलाप केटाकेटीले बालुवाको महल बनाएजस्तो मात्र हो। जब उनीहरूको खेल सकिन्छ, त्यसलाई त्यत्तिकै छाडेर हिँड्छन्। सांसारिक क्रियाकलापलाई हामीले त्यसरी नै लिनुपर्छ।
यी विषयहरूबारे चिन्तन गर्नुभयो भने तपाईंको धर्म अभ्यासलाई धेरै सहयोग पुग्छ।
प्रेरणाका दुई निम्नस्तर
प्रारम्भिक स्तर
सबै सांसारिक क्रियाकलापलाई अर्थहीन र कुनै ठूलो सार नभएको जानेपछि धर्मको अभ्यास हाम्रा लागि एकमात्र महत्त्वपूर्ण कुरा रहेछ भन्ने जान्दछौं। धर्मको अभ्यास त्यस्तो अभ्यास हो जो तपाईंको भविष्यको जन्मका लागि पनि हितकारी हुन्छ। “अहिले मसँग यो अमूल्य मानव शरीर छ। भविष्यमा कुनै नीच लोकमा पुनर्जन्म नहोस् भनेर यसको सदुपयोग गर्नेछु,” यस्तो प्रेरणाले हामीले काम गर्यौं भने त्यो आफ्नो मानव जीवनको सदुपयोग न्यूनस्तरमा गरेको ठहरिनेछ।
शीललाई कडाइका साथ पालना गर्यौं भने ती निम्नकोटीका लोकहरूमा जन्मिनबाट बचिन्छ। तर शील पालनाको जतिसुकै दृढ इच्छा राखेपनि सामान्यतया यसमा कमजोरी भइहाल्छ। त्यसैले ती नीच लोकहरूमा झर्नबाट बच्न हामीले आफूलाई क्लेशहरूबाट पनि मुक्त गर्नुपर्छ। यो असाध्यै मैलो कपडा धोएजस्तै हो। प्रारम्भमा हामी अलि कम बल लगाउँछौं। धुँदै जाँदा बल बढाउँदै लैजानु पर्छ। क्लेशबाट मुक्तिका लागि पनि तपाईंले विस्तारै र आरामपूर्वक काम शुरु गर्नुपर्छ। क्रमशः आफ्नो प्रयास र बललाई बढाउँदै पूर्ण क्षमताका साथ क्लेशमुक्तिको काम गर्नुपर्छ। त्यसैले शील पालनादेखि तपाईंले विस्तारैसँग काम शुरु गर्नुपर्ने हुन्छ र क्षमता बढाउँदै पूर्णरूपमा क्लेशहरूबाट पनि मुक्तिको प्रयत्न गर्नुपर्छ। यसरी क्रमैसँग नगए तपाईंको प्रयत्न चाँडै क्षीण भएर समाप्त हुन सक्नेछ।
तीनप्रकारका नीच लोकहरूमा जन्मिनबाट बच्न शीलको पालना गर्दै अभ्यास थाल्नु धर्मको प्रारम्भिक स्तरको प्रेरणा हो।
मध्यम स्तर
तर नीचलोकहरूमा जन्मिनबाट बच्यौं र मनुष्य वा देवताका सुखसयल र भोगविलासपूर्ण उच्च लोकमा जन्मियौं भने पनि ती सांसारिक लोक नै हुन्। त्यहाँ हुने पुनर्जन्ममा पनि दुःख अवश्य हुन्छ भन्ने कुरा सम्झिने प्रयत्न गर्नुपर्छ। यसको विस्तृत व्याख्या लाम–रिमको शिक्षामा दिइन्छ। यहाँ एक उदाहरणबाट बुझौं – मानिलिऊँ तपाईं बाहिर घाममा उभिनुभएको छ र अति गर्मी छ। त्यसैले तपाईं घरभित्र पस्नुहुन्छ, तर घरभित्र चिसो छ। तपाईं गर्मीको दुःखबाट त बच्नुभयो, तर जाडोको दुःख शुरु भयो। त्यस्तै संसारिक जीवनका कुनै अवस्था पनि दुःखबाट मुक्त छैनन्।
क्लेशहरूका कारण हामी संसारको चक्रमा रुमल्लिरहन्छौं, अनियन्त्रित तवरले हाम्रो पुनर्जन्म भैरहन्छ। यसको जड भनेको हाम्रो भ्रम हो जसका कारण चीजहरूको स्वतन्त्र अस्तित्व छ भन्ठान्दै त्यसैलाई पकडेर बस्छौं। यो रुखको जरा जस्तै हो, पक्रेर बस्ने। संसारको चक्रमा घुम्नु भनेको एक गोलचक्करभित्र चक्कर मारिरहनु जस्तै हो, जतिपटक घुमेपनि हामी कहीँ पुग्दैनौं। यसबाट निस्कने एकमात्र उपाय भनेको उफ्रेर फुत्त बाहिर निस्कनु नै हो। यसका लागि हामी आर्य हुनुपर्छ, अर्थात् उन्नत क्षमतायुक्त हुनुपर्छ। यसको मतलब त्यस्तो क्षमता हो जसले धारणाहरूबाट मुक्त प्रज्ञाका साथ चीजहरूको स्वभावशून्यतालाई देख्न सकोस् र हामीले सोचेजस्तो “आत्मा” नहुने कुरा जान्न सकोस्। यो शून्यता देख्ने प्रज्ञा हो।
हाम्रो चित्तमा निरन्तर यस्तो शून्यताबोध स्थापित गर्न शमथ अर्थात् चित्तलाई स्थिर र शान्त बनाउने अभ्यास (समाधिको अभ्यास) को आवश्यकता हुन्छ। यसका लागि नैतिक आत्म–संयम अर्थात् शीलको अभ्यास जरुरी हुन्छ। शील, समाधि र प्रज्ञा – यी तीन उच्च अभ्यास हुन् जसले हामीलाई अनियन्त्रित सांसारिक पुनर्जन्महरूबाट बाहिर निकाल्छन्। यी तीनको अभ्यास गर्यौं भने हामी संसारमा चक्कर लगाइरहने कामबाट उन्मुक्ति पाउन सक्छौं।
आर्यको रूपमा आफूलाई स्तरोन्नति गरेका मानिसहरूलाई तीन प्रकारमा विभाजन गर्न सकिन्छ ः
- ती जसले दर्शनमार्ग चित्तको अवस्था हासिल गरिसकेका छन्।
- ती जसले भावनामार्ग चित्तको अवस्था हासिल गरिसकेका छन्।
- ती जसले अशैक्ष चित्त अर्थात् थप शिक्षाको आवश्यकता नपर्ने चित्तको अवस्था हासिल गरिसकेका छन्।
दर्शनमार्ग चित्तको अवस्थामा पुगेका व्यक्तिले शून्यतालाई धारणातीत र स्पष्ट ढंगले देख्न सक्छन्। जो भावनामार्ग चित्तको अवस्थामा पुगेका छन्, उनीहरू उत्तरोत्तर ध्यान साधनाका माध्यमबाट स्वयंलाई शून्यताको यस्तो धारणातीत अनुभूतिका लागि अभ्यस्त पार्छन्। ध्यान साधना गर्दा गर्दा आफ्नो चित्तलाई शून्यताको यस्तो अनुभूतिमा पूर्णतः अभ्यस्त गर्नुभयो भने तपाईंले आफ्नो निर्वाणमा बाधा पुर्याउने सबै भावनात्मक व्यवधानहरूलाई चित्तबाट पूरै अलग गर्न सक्नुहुन्छ। त्यो अवस्थामा तपाईं एक अर्हत वा निर्वाणप्राप्त सत्त्व हुनुहुनेछ।
प्रेरणाको उन्नत स्तर
मैत्री र करुणा
तर तपाईंले आफूलाई मात्र मुक्त गराएर पुग्दैन, किनकि सबै सीमित क्षमताका सत्त्वहरू तपाईंजस्तै दुःखपूर्ण अवस्थामा छन्। सबै सत्त्व दुःखमै छन्, र उनीहरू सबै त्यसबाट उन्मुक्ति चाहन्छन्। यस अर्थमा सबै एकसमान छन्। यदि हामीले ती सबै सत्त्व दुःखबाट मुक्त होऊन् भन्ने भावना गर्ने चित्तको विकास गर्छौं भने त्यो “करुणा” हो। तर सबै सत्त्वका लागि यस्तो भावनाको विकास तपाईंले तबमात्र गर्न सक्नुहुनेछ जब स्वयं आफ्ना दुःखका बारेमा लामो समयसम्म ध्यान गरेर अवस्था कति भयावह छ भन्ने बोध गर्दै यसबाट छुटकारा पाउने अठोट (नैष्क्रम्य) को विकास गरिसक्नुभएको हुनेछ। यसरी आफ्ना लागि दुःखबोध र त्यसबाट मुक्तिको कामना गरिसकेपछि तपाईंले त्यस्तै भावना सबै सत्त्वका लागि निर्देशित गर्न सक्नुहुनेछ। त्यो करुणा हो।
नैष्क्रम्यमा म सबै दुःखबाट मुक्ति पाउँ भन्ने भावना हुन्छ भने करुणामा अरू सबैलाई दुःखबाट मुक्ति दिलाउने भावना हुन्छ। करुणा र मैत्रीबीचको फरक चाहिँ के हो भने करुणामा हामी “ओहो, सबै सत्त्व दुःख र दुःखका हेतुबाट मुक्त भैदिए कति राम्रो हुने थियो” भन्ने चाहना राख्छौं भने मैत्रीमा “सबैजना सुख र सुखका हेतुहरूले युक्त होउन्” भन्ने चाहना राख्छौं।
समता र बोधिचित्तको विकास कसरी गर्ने
हामीमा मैत्री र करुणाको भाव किन देखिँदैन? किन हामी सबै सत्त्व दुःखबाट मुक्त होऊन् र सुख प्राप्त गरून् भनेर कामना गर्न सक्दैनौं? किनभने हाम्रो चित्त समतायुक्त छैन। यो मिलेको छैन, उबडखाबड छ। यसमा पहाडका चुचुरा पनि छन्, खोँच पनि छन्। चित्तको यो विषमताको अर्थ के हो? यसको अर्थ के हो भने हामी आफ्ना नातेदार र मित्रहरूप्रति अति नै आसक्त छौं, तर आफ्ना शत्रु वा मन नपर्ने मानिस देख्ने बित्तिकै असाध्यै दुराशयले भरिन्छौं।
त्यसोभए एकनाससित सम्म मिलेको बाटो कसरी बनाउने त? एउटा उदाहरणमार्फत बुझौं – मानिलिऊँ तपाईंलाई कसैले हिजो एक सय रूपैयाँ दियो र आज अर्कै मानिसले फेरी एक सय रूपैयाँ दियो। हिजो पैसा दिने मानिसले आज बिहान आएर तपाईंलाई अनुहारमा एक मुक्का हानेर गयो। आज पैसा दिनेले चाहिँ हिजो बिहान एक मुक्का हानेर गएको थियो। अब तपाईं कसलाई माया गर्नुहुन्छ र कसलाई घृणा?
हाम्रा शत्रु र मित्र यस्तै हुन्। अहिलेका शत्रुले विगतमा हामीलाई असाध्यै धेरै कल्याण गरेका हुन सक्छन्, र भविष्यमा पनि गर्न सक्छन्। त्यस्तै अहिलेका मित्रले विगतमा हामीलाई असाध्यै धेरै हानि पुर्याएका र भविष्यमा पनि त्यस्तै हानि पुर्याउने हुन सक्छन्। यो केवल समयको खेल मात्र हो।
अर्को उदाहरण लिऊँः मानिलिऊँ तपाईंले कुनै मानिसलाई असाध्यै मन पराएर विवाह गर्नुभयो। तर त्यो मानिस खासमा नरभक्षी वा मानिसको भेषमा नरपिशाच वा ब्वाँसो रहेछ। एक रात उ आफ्नो असली रूपमा आयो र तपाईंलाई खाइदियो।
तपाईंले कुकुरलाई हिर्काउनुभयो भने त्यसले तपाईंलाई भुक्छ र टोक्छ। त्यस्तै यदि तपाईं कुनै शत्रुप्रति क्रोधित हुनुहुन्छ भने तपाईंले गर्ने प्रतिक्रिया उक्त कुकुरले गर्नेभन्दा भिन्न भएन। हामीले आफ्नो चित्तको यस्तो विषमता हटाउनुपर्छ। यस्ताखाले आसक्ति र घृणाबाट मुक्ति पाउनुपर्छ र चित्तमा समताको विकास गर्नुपर्छ। समतायुक्त चित्तमा हामी मैत्री र करुणाको विकास गर्न सक्छौं। यो भनेको बाटो सम्याइसकेपछि त्यसमाथि कालोपत्रे गरेजस्तै हो। त्यस्तो बाटोमा कार सजिलोसँग गुड्न सक्छ।
पहाडका उबडखाबड चट्टान फुटाएर सम्म परेको बाटो बनाउन तपाईंले डाइनामाइटजस्तै शक्तिशाली विचारहरू लिनुपर्छ। ती विचार के होलान्? कैयौं अबोध जीवहरूले हामीलाई लगाएको गुनको स्मरण गरौं। मानिलिऊँ तपाई दुध पिउनुहुन्छ। त्यो गाई वा भैंसीबाट आउँछ। उनीहरू चर्न जान्छन्, घाँस खान्छन्, पानी पिउँछन्। हामीले गर्ने भनेको उनीहरूबाट दुध निकाल्ने मात्र हो। खरायो र मुसालाई मानिसले मेडिकल अनुसन्धानमा प्रयोग गर्छन्। हाम्रो उपचार गर्ने औषधिका लागि ती खरायो र मुसाले आफ्नो ज्यान दिएका हुन्छन्।
त्यस्ता अबोध जीव पनि छन् जसलाई हामी आफ्नो शत्रु ठान्छौं, जसले हामीलाई हानि पुर्याउँछन्। तर उनीहरूले गरेको हानि र लगाएको गुनको तुलना गर्ने हो भने हानिभन्दा गुन कैयौं गुणा बढी हुन्छ। खासमा त्यस्तो हानिले पनि हामीलाई सहयोग नै गरेको हुन्छ। बुद्ध बन्नका लागि हामीसँग धैर्य हुनुपर्छ। यसको अभ्यास गर्न अप्ठ्यारा मानिस नै चाहिन्छन्। सबैले हामीसँग राम्रो व्यवहार गर्नेभए हामीले धैर्यको विकास गर्नसक्ने थिएनौं। जो हामीसँग रिसाउँछन्, उनीहरू न्यून क्षमताका अबोध मानिस हुन्, बुद्ध होइनन्। तिनीहरूले नै हो हामीलाई धैर्यवान बन्न सहयोग गर्ने। अतीश तिब्बत जाँदा भारतबाट एक अत्यन्तै घामड मानिसलाई आफ्नो साथमा लिएर जानुभएको थियो। उनले अतीशलाई सधैँ सताइरहन्थे। कसैले उहाँलाई किन यस्तो मानिसलाई साथ ल्याउनुभएको भनी सोधे। उहाँको जवाफ थियो – धैर्यको अभ्यास गर्न। त्यसैले बुद्धले हामीले लगाउने गुन र सीमित क्षमताका अबोध जीवले लगाउने गुनमा तात्त्विक भिन्नता छैन। शान्तिदेवले बोधिचर्यावतारमा यही कुरालाई पुष्टि गर्नुभएको छः
बुद्धलाई रिस नउठ्ने कारण छ। त्यो के भने उहाँको चित्त एकाग्र छ, सबै क्लेशबाट मुक्त समाधिमा स्थित छ। यस्तो एकाग्र चित्त भएका कारण बुद्धलाई रिस उठ्दैन। त्यसैले हामीले पनि यस्तै चित्तको विकास गर्नुपर्छ। हरेक बिहान हामीले निम्नानुसार दुई विचार मनमा लिँदै उठ्नुपर्छः
- आज म अरूलाई रिस उठाउने काम गर्दिन।
- म आफू पनि अरूका कारण रिसाउँदिन।
यस्तो भावनामा आफूलाई अभ्यस्त गर्दै लग्यौं भने हामी आफ्ना क्लेशहरू कम गर्न सक्छौं र अन्ततः सबै क्लेशहरूलाई सधैंका लागि निर्मूल गरेर बुद्ध बन्न सक्छौं।
बुद्धलाई खुशी पार्न के गर्नुपर्ला? कसैले सोध्यो भने जवाफ हुनेछ – यी सीमित क्षमतायुक्त अबोध जीवहरूप्रति दया गर्ने र उनीहरूलाई सहयोग गर्ने। बुद्धलाई वास्तवमै मनपर्ने कुरा यही हो। आमाबुबालाई खुशी पार्न उनीहरूका छोराछोरीलाई माया गर्नुपर्छ। आफूलाई गरेको मायाले भन्दा आफ्ना छोराछोरीलाई गरेको मायाले आमाबुबाको मन प्रफुल्लित हुन्छ। त्यस्तै बुद्धलाई पनि आफूलाई मात्र होइन, सबै अबोध सत्त्वहरूलाई गरेको मायाले बढी खुशी तुल्याउँछ। यो विश्लेषणका आधारमा हामीले बोधिचित्तको यस्तो लक्ष्य लिनुपर्छ – “म सबै अबोध सत्त्वको हितका लागि बुद्ध नै बन्नेछु।”
यसै जीवनकालमा बुद्धत्त्व प्राप्त गर्नु
बुद्धत्त्व प्राप्त गर्ने मात्र होइन, यसै जन्ममा, सकेसम्म अहिल्यै, सबै सत्त्वको हितका लागि म बुद्ध नै बन्नेछु – यस्तो उच्च आकांक्षाका साथ हामीले काम गर्नुपर्छ। बुद्धले यसै जीवनकालमा बुद्धत्त्व प्राप्त गर्नसक्ने उपायका बारेमा शिक्षा दिनुभएको थियो। त्यो उपाय के हो? त्यो उपाय तन्त्र हो। यो बाटोमा हिँड्यो भने यसै जीवनकालमा बुद्धत्त्व प्राप्त गर्न सकिन्छ।
तर यसरी यही जीवनकालमा बुद्धत्त्व प्राप्त गर्ने उच्च आकांक्षा राखेपनि यो काम सजिलो छ भनेर चाहिँ नसोच्नुहोला। सजिलो छैन, किनभने हामीले अनादिकालदेखि असंख्य अकुशल कर्मको संग्रह गरेर राखेका छौं। तन्त्र छोटो बाटो त हो, तर यो अत्यन्तै कठिन छ। हवाइजहाज चढेर छिट्टै पुगेजस्तै यो छोटो बाटो हो भनेर नझुक्किनु होला, यो त्यति सजिलो कुरा होइन। जेचुन मिलारेपाको उदाहरण लिने हो भने उहाँले आफ्ना गुरु मार्पासामु अत्यन्तै कठिन परीक्षाबाट गुज्रिनुपरेको थियो। उहाँले कैयौँ टावर बनाउनुभयो, पिटाइ खानुभयो, अनगिन्ती पीडाबाट गुज्रिनुभयो। ती सब कठिनाइलाई पार गर्दै उहाँले एकै जन्ममा पूर्ण बोधि प्राप्त गर्नुभयो। तर मिलारेपाले भोगेका कठिनाइको एक अंश पनि भोग्ने तत्परता हामी देखाउँदैनौं।
यदि तपाईंसँग यही एक जन्ममा पूर्ण बोधि प्राप्त गर्ने अत्यन्तै प्रबल आकांक्षा छ र जस्तोसुकै कठिनाइको सामाना गर्न तैयार हुनुहुन्छ भने निरन्तरको साधनामार्फत बुद्धत्त्व नै प्राप्त गर्न सक्नुहुनेछ, त्यो सम्भव छ।
सारांश
अमूल्य मानव शरीरका साथ जन्मिएका हामीले उच्चलोकमा पुनर्जन्म, निर्वाण र बोधि प्राप्तिको उद्देश्यले यो जीवनलाई धर्म अभ्यासमा सदुपयोग गर्न सक्छौं। यसका लागि एक क्रमिक मार्ग अपनाउनु पर्छ। यसभित्र दश अकुशल कर्मबाट बच्नु, आफूलाई क्लेशहरूबाट मुक्त राख्नु, तथा यो संसारको चक्रबाट मुक्त हुने अठोट र बोधिचित्त लक्ष्यका साथ समाधि र शून्यताको धारणातीत अनुभूतिको प्राप्ति पर्छन्।