हरेक व्यक्ति बुद्ध बन्न सक्छ

05:14
हामी सबै दीर्घकालीन खुशी प्राप्त गर्न चाहन्छौं। यो लक्ष्य प्राप्तिका लागि सबैभन्दा अर्थपूर्ण र उचित कदम भनेको यथार्थपरक ढंगले काम गर्नु नै हो। हुनत भौतिक वस्तुहरूले पनि केही सुख दिन सक्छन् तर हाम्रो खुशीको असली स्रोत हाम्रो आफ्नै मन हो। हाम्रा क्षमताहरूको पूर्ण विकास भयो र कमी कमजोरीहरू पूर्ण रूपमा हटाउन सकियो भने हामी बुद्ध बन्छौं। यो अवस्था हाम्रो आफ्नो लागि मात्र होइन, सबैका लागि खुशीको अवस्था हो। हामी सबै बुद्ध बन्न सक्छौं, किनकि हामी सबैमा ती तत्त्वहरू छन् जसले हामीलाई बुद्धत्वको लक्ष्यसम्म पुर्याउन सक्छन्। हामी सबैसँग त्यो बुद्ध–धातु अर्थात् तथागतगर्भ छ।

बुद्धले हामी सबै बुद्ध बन्न सक्छौं भन्ने कुरालाई जोड दिएर भनेका छन्। यसको वास्तविक अर्थ के हो? बुद्ध त्यस्तो व्यक्ति हो जसले आफ्ना सबै कमी कमजोरीहरूलाई निर्मूल गरिसकेको छ, आफ्ना सबै दोषहरूलाई सुधार गरिसकेको छ र आफ्नो पूर्ण क्षमता हासिल गरिसकेको छ। तर प्रत्येक बुद्धको यात्रा हामीजस्तै शुरु भएको हुन्छ – एक साधारण जीवको रूपमा जसलाई आफ्नो मिथ्या दृष्टि र काल्पनिक प्रक्षेपणहरूका कारण यथार्थप्रति भ्रम हुन्छ र जसले जीवनमा बारम्बार उत्पन्न हुने दुःखको अनुभव गर्दछ। आफ्ना जड कल्पनाहरू यथार्थबाट बिल्कुल फरक भएको कुरा बुद्धहरूले थाहा पाउँछन्। दुःखबाट पूर्ण मुक्त हुने दृढ निश्चयका साथ उनीहरू चित्तलाई काल्पनिक प्रक्षेपणहरूबाट स्वतः मुक्त रहन सक्षम बनाउँछन्। उनीहरू नकारात्मक आवेग (क्लेश) र बाध्यकारी व्यवहार (कर्म) हरूबाट मुक्त हुन्छन् र यसप्रकार सबै प्रकारका दुःखहरूबाट पनि मुक्त हुन्छन्।

आफ्नो यात्रामा उनीहरूले मैत्री र करुणाजस्ता सकारात्मक मनोभावहरूलाई सुदृढ बनाउने दृष्टिले अभ्यास गरेका हुन्छन्। र, जति धेरै सम्भव हुन्छ, अरुको सहायता गरेका हुन्छन्। एउटी आमामा आफ्नो एक मात्र सन्तानप्रति जुन प्रेमको भावना हुन्छ, बुद्धले त्यस्तै मैत्रीपूर्ण प्रेमभावको विकास गरेका हुन्छन्। तर फरक के हुन्छ भने बुद्धको मैत्रीभाव प्रत्येक मानिसप्रति उत्तिकै हुन्छ। यो गहन मैत्री र करुणाको भाव तथा सबैको सहायता गर्ने उनीहरूको असाधारण संकल्पका कारण यथार्थप्रति उनीहरूको बोध झन् झन् सुदृढ हुँदै गएको हुन्छ। अन्ततः उनीहरूको बोध यति प्रबल हुन्छ कि चित्तले सबै भ्रान्तिपूर्ण कल्पनाहरू गर्न बन्द गर्छ। कुनै पनि वस्तु र व्यक्तिको आफ्नो एक स्वतन्त्र अस्तित्व हुन्छ जो अरु सबै वस्तु या व्यक्तिसँग असम्बद्ध हुन्छ – यस्तो भ्रान्तिपूर्ण कल्पना बुद्धको चित्तले गर्दैन। उनीहरूले अस्तित्वमा भएका सबै चीजको परस्पर सम्बद्धता र निर्भरतालाई पूर्ण स्पष्टताका साथ र बिना कुनै भ्रम देखेका हुन्छन्।

यो अवस्थाको प्राप्तिसँगै उनीहरूले बोधि प्राप्त गर्छन् र उनीहरू बुद्ध बन्छन्। उनीहरूको शरीर, अरुसँग सञ्चार गर्न सक्ने क्षमता र चित्त सबै सीमितताहरूबाट मुक्त हुन्छ। आफूले दिने शिक्षाको अन्य व्यक्तिमाथि कस्तो असर पर्छ, त्यो उनीहरूलाई थाहा हुन्छ। यो बोधका साथ उनीहरू सबै सत्त्वको सकेसम्म यथार्थवादी ढंगले सहयोग गर्न सक्षम हुन्छन्। तर यति हुँदा हुँदै पनि बुद्ध सर्वशक्तिमान हुँदैनन्। बुद्धले पनि त्यस्ता व्यक्तिहरूमाथि मात्र सकारात्मक असर पार्न सक्छन् जो उनीहरूको शिक्षा ग्रहण गर्न र त्यसको सही ढंगले अनुसरण गर्नका लागि राजी हुन्छन्। 

तर बुद्धले भनेका छन् कि उनले जुन अवस्था हासिल गरेका छन्, त्यो हरेक व्यक्तिले सक्छन्। अर्थात् सबै व्यक्ति बुद्ध बन्न सक्छन्। किनभने हामी सबैसँग “तथागतगर्भ” अर्थात् बुद्ध–धातु छ। यसमा ती तत्त्वहरू पर्छन् जसले बुद्धत्त्व प्राप्त गर्न सघाउँछन्। 

न्युरोसाइन्समा “न्युरो प्लास्टिसिटी” को कुरा गरिन्छ। यो मानव मस्तिष्कको त्यो क्षमता हो जसका कारण जीवनभर नयाँ स्नायुमार्गहरू बन्न र विकसित हुन सम्भव हुन्छ। उदाहरणका लागि, मानिलिऊँ केही कारणवश हाम्रो मस्तिष्कको त्यो भागमा पक्षघात भयो जसले हाम्रो दाहिने हात चलाउँछ। यो अवस्थामा फिजियोथेरापीको सहयोगले मस्तिष्कको अर्को भागमा नयाँ स्नायुमार्गहरूको निर्माण गर्न सकिन्छ जसबाट हाम्रो देब्रे हात चल्न थाल्छ। हालैका अध्ययनहरूले देखाएका छन् कि करुणा आदि ध्यानको सहायताले नयाँ स्नायुमार्गहरू बन्छन् जसबाट हामी खुशी हुन्छौं र चित्त शान्त हुन्छ। मस्तिष्कको प्लास्टिसिटी जस्तै हामी चित्तको प्लास्टिसिटीको कुरा गर्न सक्छौं। हाम्रो चित्त जड र अपरिवर्तनशील हुँदैन, त्यसैले हाम्रो व्यक्तित्व पनि जड र अपरिवर्तनशील हुँदैन। यसमा परिवर्तन ल्याउन सकिन्छ र नयाँ सकारात्मक मार्गहरूको निर्माण गर्न सकिन्छ। यो यथार्थ नै त्यस्तो तत्त्व हो जसले हामी सबैलाई बुद्ध बन्न सक्षम बनाउँछ। 

शरीर विज्ञानका दृष्टिले हामी यदि सकारात्मक ढंगले काम गर्छौं, बोल्छौं वा सोच्छौं भने त्यस्तो व्यवहारलाई दोहोर्याइरहन सहज र स्वाभाविक हुन्छ। बुद्धधर्मका अनुसार यसले चित्तको स्तरमा सकारात्मक बल र सम्भाव्यताको संग्रह गर्छ। यस्तो सकारात्मक बललाई बढाउन हामीले जति प्रयत्न गर्यौं, त्यत्ति नै यो प्रबल हुँदै जान्छ। यसमा पनि यदि हामीले अरुको कल्याण गर्यौं भने अझ सहयोग पुग्छ। बुद्धको जस्तै सबै सत्त्वलाई सम्पूर्ण रूपमा सहायता गर्ने उद्देश्य भयो भने हाम्रो सकारात्मक बलले विश्वकै कल्याण गर्न सहयोग गर्छ। 

त्यस्तै यदि हामी आफ्ना मिथ्या कल्पनाको दृष्टिले देखिने कुरामा सत्यता देख्न छाड्छौं र यो बोधलाई पुष्ट बनाउँदै लग्छौं भने ती स्नायुमार्गहरू क्षीण हुँदै जान्छन् जुन यस्ता मनगढन्ते व्यर्थका कुरामा विश्वास गर्नमा र तिनलाई सत्यका रूपमा प्रक्षेपित गर्नमा प्रयोग हुन्छन्। अन्ततः हाम्रो चित्त यस्तो भ्रान्तिपूर्ण स्नायु तथा मानसिक मार्गहरूबाट मुक्त हुन्छ। यसबाट हामी नकारात्मक आवेग तथा बाध्यकारी व्यवहारको चक्रबाट पनि मुक्त हुन्छौं जुन यस्ता निरर्थक कल्पनाहरूमा निर्भर हुन्छन्। यी सबैथोकबाट मुक्त भएर हामी गहिरो यथार्थ बोधका प्रबल मार्गहरूको विकास गर्न सक्छौं। बुद्धको सर्वकारज्ञाता चित्तले प्रत्येक चेतनशील जीवको उच्चतम सहायता कसरी गर्ने भन्ने जान्दछ। यदि हामीले यस्तो चित्तको विकास गर्ने लक्ष्य राख्यौं भने यी स्नायु र मानसिक मार्गहरू सबल बन्छन्, र तिनले हामीलाई बुद्धको जस्तै चित्त विकसित गर्न सक्षम बनाउँछन्। 

हामी सबैसँग एउटा शरीर छ, अरूसँग सञ्चार गर्नसक्ने क्षमता (मूलतः वचन) छ, र चित्त पनि छ। अर्थात्, हामी सबैसँग ती सबै कच्चा सामग्री छन् जसको विकास गरेर बुद्धको जस्तै शरीर, वचन र चित्तको विकास गर्न सकिन्छ। यी तीन तत्त्व तथागतगर्भका तत्त्वहरू हुन्। हामी सबैसँग एक हदसम्म असल गुणहरू विद्यमान छन्। जस्तैः आफ्नो र आफ्नो प्रजातिको सुरक्षा गर्ने प्रवृत्ति, मातृत्व र पितृत्वको क्षमता, आदि। त्यस्तै हामीसँग अरुमाथि कुनै हिसाबले प्रभाव पर्ने काम गर्नसक्ने क्षमता पनि हुन्छ। यी पनि तथागतगर्भका तत्त्वहरू हुन्। यिनीहरू मैत्री, स्नेह, र बुद्धको जस्तो मुक्तिदायी काम गर्ने सद्गुणहरूको विकास गर्ने कच्चा सामग्रीहरू हुन्। 

चित्तले कसरी काम गर्छ भन्ने अनुसन्धान गरेपछि तथागतगर्भका थप तत्त्वहरू के हुन् भन्ने कुरा हामी जान्दछौं। हामी सबैजना सूचना ग्रहण गर्न सक्छौं, एकै खाले प्रकृति भएका चीजहरूको एक समूह बनाउन सक्छौं, चीजहरूलाई अलग अलग रूपमा देख्न सक्छौं, आफ्नो जानकारीमा आएका कुराप्रति प्रतिक्रिया गर्न सक्छौं र चीजहरूको स्वरूप जान्न सक्छौं। यसप्रकारका कार्यहरू गर्ने हाम्रो क्षमता अहिले सीमित छ। तर यी कुराहरू पनि बुद्ध चित्त हासिल गर्नका लागि कच्चा सामग्री हुन्, जो बुद्धत्वको अवस्थामा आफ्नो पूर्ण क्षमतामा क्रियाशील हुन्छन्। 


सारांश 

हामी सबैभित्र बुद्ध बन्नका लागि आवश्यक कच्चा सामग्री विद्यमान छन्। अन्तर्प्रेरणा र निरन्तरको प्रयत्नले हामी बुद्धत्व प्राप्त गर्न सक्छौं। तर हाम्रो प्रगति कहिले पनि सीधा रेखामा हुँदैन। कहिलेकाहीँ राम्रो हुन्छ, कहिलेकाहीँ नराम्रो। बुद्धत्व प्राप्तिसम्मको बाटो लामो छ र सजिलो छैन। तर हामी जति आफ्नो तथागतगर्भ स्वभावहरूको स्मरण गर्छौं, त्यति हाम्रो विश्वास डगमगाउन पाउँदैन। हामीले केवल यो कुरा बिर्सन हुँदैन कि हामी मूलरूपमै खराब छैनौं। दृढ अन्तर्प्रेरणा कायम राख्न तथा करुणा र प्रज्ञालाई उपायकुशल ढंगले संयोजन गर्न सक्यौं भने हामी सबै अवरोध पन्छाएर अगाडि बढ्न सक्छौं।

Top