परिचय
हामीले एक अमूल्य मानव जीवन पाएका छौं जो बुद्धधर्मको अभ्यासका लागि आवश्यक क्षण (फुर्सद) र सम्पतिहरूले युक्त छ। तर यी क्षण र सम्पतिहरू सधैं रहिरहने छैनन्। त्यसैले अहिले हामीलाई जुन अवसर प्राप्त छ, त्यसलाई पूर्णरूपमा उपयोग गरिहाल्नु पर्छ।
यो अमूल्य मानव जीवनको सकेसम्म लाभ उठाउने सबैभन्दा उत्तम उपाय भनेको यसलाई बोधिचित्तको ध्येय विकसित गर्ने काममा लगाउनु हो। बोधिचित्त भनेको आफ्नो व्यक्तिगत बोधिमा लक्षित चित्त तथा हृदयको अवस्था हो। अहिले हामीलाई बोधिलाभ भैसकेको छैन, तर आफ्नो तथागतगर्भ गुणहरूको बलले पछि बोधिलाभ हुनेगरी यसलाई आफ्नै चित्तसन्तानमा आरोपित गर्न सक्छौं। यस्तो बोधिलाभलाई तथागतगर्भ गुणहरूले नै सम्भव बनाउने हो। तथागतगर्भ गुणहरूमा हाम्रा कुशल कर्मको बल, गहन होश, सद्गुणहरू र चित्तको नैसर्गिक निर्मलता पर्छन्। यो बोधिचित्त लक्ष्यमा दुई आशय जोडिएर आउँछन् – सकेसम्म चाँडो बोधिलाभ गर्ने र त्यसबाट सबै जीवको सकेसम्म हित गर्ने।
बोधिचित्तको विकास गर्ने क्रममा हामी ती आशयलाई उल्टो क्रममा अभ्यास गर्छौं। पहिलो, सीमित क्षमतावाला सबै जीवको यथाशक्य हित गर्ने उद्देश्य राख्छौं, जसमा मानवजाति मात्र पर्दैनन्। यसलाई मैत्री, करुणा, र असाधारण संकल्पले सम्भव बनाउँछ, जसको चर्चा हामी केही बेरमा गर्छौं। त्यसपछि, ती सबै जीवको सर्वोत्तम तरिकाले हित गर्न आफैँ बोधिलाभ गर्ने र बुद्ध नै बन्ने अठोट गर्छौं। आफैँले बोधिलाभ गर्नु आवश्यक छ किनकि त्यसबाट मात्र आफ्ना सीमितता र कमीकमजोरीबाट मुक्ति पाइन्छ। यी सीमितता र कमीकमजोरीले गर्दा नै अरूको सर्वोत्तम हित गर्न नसकिने हो। उदाहरणका लागि, हामी अरूसँग रिसाउछौँ भने त्योबेला उनीहरूको हित गर्न के सक्थ्यौं र? त्यस्तै हामीले आफ्नो पूर्ण क्षमता हासिल गर्न पनि बोधिलाभ गर्नुपर्छ। आफ्नो पूर्ण क्षमता पूर्ण रूपमा हासिल गर्न सकेमा त्यसबाट अरूको पनि सर्वोत्तम हित गर्न सकिन्छ। त्यसैले बोधिचित्तको ध्येय विकसित गर्ने क्रममा पहिला म आफैं बुद्ध बन्छु किनकि त्यो नै सर्वोच्च अवस्था हो र त्यसबापत बाध्यकारी रूपमा कर तिरेजसरी अरूलाई पनि सहयोग गरौंला – यस्तो दृष्टिकोण राखिँदैन।
बोधिचित्त ध्येय विकसित गर्ने दुई मुख्य तरिका छन्। पहिलो तरिकामा हेतु–फलसम्बन्धी ७ चरणको शिक्षा पर्छ भने दोस्रोमा आफू र अरूबारेका दृष्टिकोणहरूमा समानता खोज्ने तथा आफू र अरूप्रति जस्तो दृष्टिकोण राखिन्छ त्यसलाई अदलाबदली गरेर हेर्ने अभ्यास पर्छन्। यहाँ हामी पहिलो तरिकाको चर्चा गर्छौं।
समभावको विकास
हेतु–फलसम्बन्धी ७ चरणको शिक्षामा पहिलो ६ चरणले सातौं, अर्थात् बोधिचित्त लक्ष्यको यथार्थ विकासमा हेतुको काम गर्छ। त्यसको सुरुवात एक प्रारम्भिक चरणबाट गरिन्छ, जसको गणना यी ७ चरणभित्र गरिएको छैन। त्यो हो, समभावको विकास जसबाट हामी कसैप्रति आसक्त, कसैप्रति विकर्षित, र कसैप्रति उदासीन हुने अवस्थाबाट मुक्ति पाउँछौं। यो प्रारम्भिक चरणको उद्देश्य हामी सबैप्रति समान रूपले खुलापनको भाव राख्न सकौँ भन्ने हो।
यसरी सबैप्रति समान रूपले खुलापनको भाव आउनका लागि सबै एक समान हुन् भन्ने थाहा हुनुपर्छ। यसका लागि हाम्रो चित्तसन्तान अर्थात् चित्तको निरन्तरताको कुनै सुरुवाती वा अन्तिम विन्दु छैन भन्ने बोध हुनुपर्छ। त्यसैले हरेक मानिस कुनै न कुनै बेला हाम्रो साथी रहिसकेको छ, कुनै बेला शत्रु त कुनै बेला अपरिचित व्यक्ति रहिसकेको छ। यो सम्बन्ध बदलिरहन्छ। यस दृष्टिले सबैजना एक समान हुन्।
यसप्रकारको दृष्टिकोण विकसित गर्नका लागि हामीले बुझ्नुपर्ने मुख्य कुरा भनेको सुरुवाती बिन्दु नभेटिने चित्त हो। यो बुद्धधर्मको आधारभूत मान्यता हो। पुनर्जन्ममा हाम्रा भोगाइहरूको निरन्तरता हुन्छ। चित्तसन्तान भोगाइहरूको निरन्तरता हो। यो अलग–अलग हुन्छ र यसमा मानिस, जनावर, पुरुष, महिला भनेर छुट्याउने अन्तर्निहित पहिचान हुँदैन। चित्तसन्तान यो जन्ममा कुन जीवस्वरूप र लिंगमा प्रकट हुन्छ भन्ने कुरा पहिलेको कार्मिक व्यवहार र त्यसका प्रभावहरूमा आधारित हुन्छ।
सुरुवाती बिन्दु नभेटिने चित्तलाई जान्नुको मुख्य तात्पर्य त्यस्तो आधारभूत र अपरिहार्य बोध हासिल गर्नु हो जसका आधारमा हामी बोधिचित्तको विकास गर्न सक्छौं र प्रत्येक जीवप्रति मैत्री र करुणाको भाव अनुभव गर्न सक्छौं। र, अगाडि परेको जीवलाई फगत एक लामखुट्टे वा त्यस्तै केही रूपमा मात्र देख्न छाड्छौं। लामखुट्टे देख्दा कर्मको फलस्वरूप यो जन्ममा लामखुट्टेको रूपमा जन्मिएको एक अनन्तकालदेखि निरन्तर रहेको चित्तको प्रवाह देख्छौं। अर्थात्, त्यो जीव अन्तर्निहित रूपमै लामखुट्टे होइन रहेछ भन्ने देख्छौं। यस्तो बोधले हाम्रो हृदय जसरी एक मनुष्यप्रति खुला हुन्छ, त्यसैगरी उक्त लामखुट्टेप्रति पनि खुला हुन पाउँछ। यो बोधले हामीमा प्रत्येक जीवको हितका लागि काम गर्ने भावना पैदा हुन्छ। बोधिचित्तको बल त्यसैबाट प्राप्त हुने हो। तर, पक्कै पनि यो सजिलो छैन।
सबै जीव आफ्नो आमा रहिसकेको स्मरण (मातृसंज्ञा)
सबै जीव अलग अलग रूपमा अनादिकालदेखि निरन्तर आइरहेका चित्तसन्तान हुन् भन्ने कुरा समभावबाट थाहा हुन्छ, जसमा उनीहरूको वर्तमान जीवन जुन रूपको छ त्यसलाई त्यही रूपमा जानिन्छ। यो बोधपछि हामी ७ चरणको हेतु–फलविषयक अभ्यासको पहिलो चरणमा प्रवेश गर्छौं। यसमा सबै जीव कुनै न कुनै समयमा आफ्नो आमा रहिसकेको स्मरण गरिन्छ। किनभने जसरी यो जन्ममा हाम्रो एक आमा भएजस्तै विगतका प्रत्येक जन्ममा हाम्रो कुनै आमा हुनुपर्छ, चाहे त्यो जन्म गर्भाशयबाट भएको होस् या अन्डाबाट। एकातिर अनादिकालदेखि चलिआएको पुनर्जन्मको श्रृङ्खला छ भने अर्कोतिर जीवहरूको संख्या गणना गर्न नसकिने धेरै त छ तर अनन्त छैन। यस दृष्टिले अनादिदेखिको यो श्रृङ्खलामा कोही न कोही हाम्रो आमा र हामी उनीहरूको आमा रहिसकेका छौं। आमामात्र होइन, बुबा, साथी, आदि अनेक रूपमा उनीहरू हाम्रा सम्बन्धी रहिसकेका हुन्छन्।
तर यसरी सबै जीवलाई आफ्नो आमाको रूपमा हेर्दा हाम्रो आमा हुनु नै उनीहरूको अन्तर्निहित पहिचान हो भनेर हेर्न चाहिँ हुँदैन। यस्तो दृष्टिले समस्या पैदा गर्छ। हामीले शून्यताको बोधलाई छाड्न हुँदैन र कसैको पनि अन्तर्निहित ठोस सत्ता हुँदैन भन्ने बिर्सिनु हुँदैन।
हरेक जीवलाई आफ्नो आमा रहिसकेको स्मरणले हामी अरूसँग कस्तो व्यवहार गर्छौं भन्ने कुरालाई पूर्णतः रुपान्तरण गरिदिन्छ। यो भनेको सबैप्रति समभाव राख्नुभन्दा उपल्लो स्तरको अभ्यास हो। यसको तात्पर्य के हो भने हामीले सबैसँग आत्मीय, स्नेहपूर्ण र प्रेमपूर्ण सम्बन्ध राखिसकेका छौं र अझै पनि राख्न सक्छौं।
मातृवात्सल्यमा रहेको कृपाको स्मरण (मातृगुण स्मरण)
सात चरणको अभ्यासमा दोस्रो चरण भनेको आमाको वात्सल्यमा रहेको कृपालु व्यवहारको स्मरण गर्नु हो। धेरै पश्चिमाहरूका लागि ध्यानको यो चरणमा समस्या हुन सक्छ। भारतीय र तिब्बतीहरूका लागि चाहिँ आमाको कृपाको स्मरण सहज हुन्छ। पश्चिमी समाजको तुलनामा ती समाजहरूमा आमासँगको सम्बन्धमा उलझन र समस्या कम हुन्छ। हुनत यो व्यक्तिपिच्छे फरक होला, तर मैले तिब्बती र भारतीयहरूमाझ २९ वर्ष बिताएका आधारमा के भन्न सक्छु भने यहाँको समाजमा आमा र वयस्क सन्तानबीचको सम्बन्ध पश्चिमाहरूका तुलनामा धेरै कम उल्झनपूर्ण हुने गर्दछ।
ध्यानको यो चरणमा हामी आमाले आफूलाई गरेको स्नेहलाई सम्झिन्छौं। उनको मृत्यु भैसकेको रहेछ भने पनि उनले कसरी हामीलाई आफ्नो गर्भाशयभित्र लिएर हिँडिन् होला भन्ने स्मरण गर्छौं। त्यसपछि अन्य सबै जीव पनि विगतको कुनै जन्ममा आफ्नो आमा रहेको र हामीप्रति त्यस्तै कृपालु व्यवहार गरेको सम्झिन्छौं।
कतिपय गुरुहरूले यो अभ्यास पश्चिमालाई सिकाउँदा आमाप्रति यस्तो भावना आउन गाह्रो छ भने बुबा वा आत्मीय मित्र वा त्यस्तै आफूप्रति ज्यादै कृपापूर्ण व्यवहार गर्ने अरू कसैलाई सम्झिए पनि हुन्छ भनेर सिकाउनु हुन्छ। यो उपायले ध्यान गर्न नसकेर अड्किने समस्याबाट राहत दिन्छ। मलाई यो उपाय ठीकै लाग्छ। यद्यपि मलाई के लाग्छ आफ्नी आमासँग तपाईंको सम्बन्ध सुमधुर छैन भने त्यसलाई त्यत्तिकै बेवास्ता गर्नुभन्दा सुधार गर्नेतर्फ प्रयास गर्नु अति नै महत्वपूर्ण हुन्छ। आफ्नो आमासँग स्वस्थ सम्बन्ध भएन भने अरू कसैसँग पनि स्नेहपूर्ण सम्बन्ध हुन धेरै नै कठिन हुन्छ, त्यस्तो सम्बन्धमा जटिलता आइरहनेछ। त्यसैले मेरो विचारमा आफ्नो आमासँगको सम्बन्धमा पुनर्विचार गरेर विगतमा वा हाल त्यो सम्बन्ध जतिसुकै असहज रहेको भएपनि उहाँले आफूलाई लगाउनुभएको गुन सम्झिने प्रयास गर्नु अति नै महत्वपूर्ण हुन्छ।
प्रथमतः हामीले एक आदर्श मातृत्वप्रेम कस्तो हुन्छ भनेर जान्नु पर्छ। शास्त्रीय ग्रन्थहरूमा यसको व्याख्या गरिएको छ – तपाईंले जनावरहरूमा यसको उदाहरण देख्न सक्नुहुन्छ। चरीले अण्डालाई छोपेर ओथारो बस्दा आफूलाई जतिसुकै जाडो भएपनि वा पानीमा निथ्रुक्कै भिजेपनि सहिरहन्छ। बच्चा कोरलिएपछि गएर किरा पकड्छे, चबाउँछे, तर निल्दिन र ल्याएर बच्चालाई खुवाउँछे। यो साँच्चिकै अद्भूत कुरा हो।
हुनत जनावर र किराहरूको दुनियाँमा आमाले आफ्नो बच्चालाई खाने उदाहरण पनि भेटिन्छ, तैपनि उ बच्चालाई जन्म दिने पीडाबाट त गुज्रेकै हुन्छे। हाम्रो हकमा जैविक आमा वा सट्टा आमा (सरोगेट आमा) जे भएपनि कसैले हामीलाई आफ्नो गर्भभित्र बोकेको थियो। हाम्रो गर्भधारण टेस्ट ट्युबभित्र नै भएको रहेछ भने पनि कसैले उक्त टेस्ट ट्युबलाई निगरानी गरेको थियो, त्यसलाई सही तापक्रममा राखेको थियो। गर्भमा हामीलाई लिँदा आमा खुसी थिइन् कि थिइनन् भन्ने कुराले धेरै अर्थ राख्दैन। आफ्नो गर्भभित्र हामीलाई पालिरहनु, गर्भपात नगराउनु उनको असाधारण कृपा हो – त्यो उनको लागि कुनै हालतमा पनि सहज थिएन। हामीलाई जन्म दिनेबेलामा उनी ज्यादै पीडाबाट गुज्रेकी थिइन्। फेरी, हामी नवजात शिशु हुँदा कसैले मध्यरातमा उठेर हामीलाई खुवाएको र हाम्रो देखभाल गरेको थियो। अन्यथा हामी जीवित रहने थिएनौं। शास्त्रीय ग्रन्थहरूमा यस्ता खालका कुरालाई जोड दिइएको हुन्छ।
हामीलाई आफ्नो आमासँग समस्या छ भने पाँचौ दलाई लामाको लाम–रिम ग्रन्थको गुरुयोग सम्बन्धी शिक्षाबाट सहयोग लिन सक्छौं। कतिपय प्राचीन ग्रन्थहरूमा के बताइएको छ भने सद्गुणहरू मात्र भएको आध्यात्मिक गुरु पाउनु लगभग असम्भव नै छ। कुनै पनि आध्यात्मिक गुरु पूर्णरूपमा आदर्श हुन सक्दैन; हरेकमा सबल र दुर्बल पक्षहरूको सम्मिश्रण रहेको हुन्छ। गुरुयोगको ध्यान गर्दा उनीप्रति असाधारण श्रद्धा, प्रेरणा र कृतज्ञताको भाव उत्पन्न गर्न उनको राम्रो पक्ष र हामीप्रति उनले गरेको स्नेहपूर्ण व्यवहारको स्मरण गरिन्छ। यसले आफूमा पनि त्यस्तो असल गुण र स्नेहपूर्ण व्यवहार विकसित गर्ने प्रेरणा प्राप्त हुन्छ।
पाँचौं दलाई लामाले यो अभ्यास गर्ने क्रममा आफ्नो गुरुमा भएका कमीकमजोरी र दोषहरूलाई नकार्नु पर्दैन भन्नुभएको छ। किनकि त्यसो गर्नु अबोधपन हुनेछ। हामी कमीकमजोरी रहेको कुरालाई स्वीकार गर्छौं, तर तिनलाई एकातिर पन्छाउँछौं किनकि गुरुको दोषको मात्र चिन्तन गर्नाले हामीमा उनीप्रति गुनासो गरिरहने बानी र नकारात्मक दृष्टिकोणको विकास हुन्छ। त्यो कुनै हालतमा पनि प्रेरणादायी अभ्यास होइन। उनको असल गुण र स्नेहपूर्ण व्यवहारमा ध्यान केन्द्रित गर्नाले मात्र हामीलाई सही प्रेरणा प्राप्त हुन्छ।
त्यसैले पहिला त हामी कमीकमजोरीलाई स्वीकार गर्छौं। र, ती साँच्चिकै कमीकमजोरी हुन् या हाम्रो तर्फबाट गरिएका काल्पनिक प्रक्षेपण मात्र हुन् भनेर इमान्दारीपूर्वक विश्लेषण गर्छौं। यदि ती काल्पनिक प्रक्षेपण मात्र रहेछन् भने तिनलाई पूर्णतः खारेज गरिदिन्छौं। ती हाम्रो काल्पनिक प्रक्षेपण मात्र होइन रहेछन् भने के अझै पनि ती गुरुभित्र विद्यमान छन्, या विगतका कुरालाई हामीले छाड्न नसकेर पकडिराखेको हो, विश्लेषण गर्छौं। ती अहिले छैनन्, विगतमा मात्र थिए भने तिनलाई पनि हामी छाडिदिन्छौं, तिनमा केन्द्रित हुँदैनौं, किनकि त्यसले वर्तमानमा कुनै अर्थ राख्दैन। अन्ततः ती कमीकमजोरी अहिले पनि विद्यमान छन् भने हामी तिनलाई त्यही रूपमा स्वीकार गर्छौं। तिनलाई एकातिर पन्छाउँछौं, र आफ्नो वर्तमान अभ्यासमा उनको असल गुणहरूमाथि मात्र ध्यान केन्द्रित गर्छौं।
मेरो विचारमा आमाको कृपालाई सम्झिन यस्तो खालको तरिका उपयुक्त र उपयोगी साबित हुन्छ। कसैको पनि आमा पूर्णरूपमा आदर्श हुँदैनन्। हामी आफैंले सन्तान जन्मायौं भने पनि आदर्श आमाबुबा बन्न अति नै कठिन हुनेछ। यो कुरा हामीलाई थाहा छ। त्यसैले आफ्ना आमाबुबा पनि पूर्णरूपमा आदर्श होउन् भनेर आस गर्नु हुँदैन। आफ्नो आमामा विगतमा वा हाल के कस्ता कमीकमजोरी रहे, के कारण वा परिस्थितिले गर्दा ती उत्पन्न भए, जान्ने प्रयास गर्छौं। उनी अन्तर्निहित रूपमै खराब मानिस हुन सक्दिनन्, जसरी कुनै पनि चित्तसन्तान अन्तर्निहित रूपमै लामखुट्टे (र अन्तर्निहित रूपमै कष्टकारक) हुन सक्दैन। हामीले आमामाथि कमीकमजोरीको काल्पनिक प्रक्षेपण थोपर्दै छैनौं वा विगतको इतिहासमा मात्र रुमल्लिरहेका छैनौं भनेर सुनिश्चित गर्नुपर्छ। अनि सबै काल्पनिक प्रक्षेपण तथा विगत र वर्तमानमा भएका सबै कमीकमजोरीलाई पनि एकातिर पन्छाउँछौं, र भन्छौं – हो, पक्कै पनि उनमा कमीकमजोरी थिए वा छन्। तर उनी पनि अरूजस्तै एक मानिस हुन्, र सबै मानिसमा कमीकमजोरी हुन्छन् भन्ने जानेर उनमा भएका असल गुण र उनले हामीलाई लगाएको गुनमा आफ्नो ध्यान केन्द्रित गर्छौं।
एक पश्चिमी बौद्ध शिक्षक – ठ्याक्कै को हो, मैले बिर्सें – ले एक ध्यान बिधि सिकाउनुभएको छ। मलाई लाग्छ त्यो विधि अति उपयोगी छ। यसमा आफ्नो आमाका सबै नकारात्मक गुणलाई बिर्सेर हामी जीवनलाई पाँच या दश वर्षका खण्डहरूमा विभाजित गरेर हेर्छौं। उक्त पाँच या दश वर्षको अवधिमा आमाले हामीप्रति गरेका सबै स्नेहपूर्ण व्यवहारको स्मरण गर्छौं। पाँच मिनेट, आधा घण्टा, एक घण्टा, वा आफूले चाहेजति समय यो अभ्यास गर्न सक्छौं। प्रथमतः गर्भावस्थादेखि जन्मेर पाँच वर्ष उमेर हुँदासम्मको समय स्मरण गर्छौं। उहाँले हाम्रो फोहोर दिसापिसाब सफा गरिदिनुभयो, खुवाउनुभयो, नुहाइदिनुभयो, आदि। त्यसपछि पाँचदेखि दसवर्षसम्मको समय स्मरण गर्छौं, र एवं रीतले आफ्नो जीवनका कालखण्डहरूको स्मरण गर्छौं। उहाँले हामीलाई विद्यालय लैजानुभयो होला, गृहकार्य गर्न सहयोग गर्नुभएन अथवा गर्नुभयो होला, तर संभवतः हाम्रो लागि खानेकुरा पकाइदिनुभयो होला र कपडा धोइदिनुभयो होला। किशोरावस्था हुँदा संभवतः पकेटखर्च दिनुभयो होला। आमा जतिसुकै खराब भएपनि हाम्रो जीवनका विविध कालखण्डमा केही न केही स्नेहपूर्ण व्यहार गर्नुभएकै हुन्छ।
त्यसपछि यस्तै स्मरण आफ्नो बुबा, अन्य नातेदार, इष्टमित्र, आदिका लागि गर्न सक्छौं। ध्यान साधनाका लागि यस्तो स्मरण ज्यादै उपयोगी हुन्छ। खासगरी यो अभ्यास हामीलाई बेलाबेला हुने निराशा र “कसैले पनि मलाई माया गर्दैनन्” भन्ने सोचको सबल प्रतिपक्ष हो। अहिलेको जुनीमा आमाको स्नेहलाई स्मरण गर्न सक्यौं भने सबैजनाले त्यसरी नै हामीप्रति स्नेहपूर्ण व्यवहार गरेको जान्न सहज हुन्छ। कुनै पनि आमा पूर्णतः आदर्श हुन सक्दैनन्, त्यो पक्का हो। जस्तै विगतका कुनै जुनीको आमाले हामीलाई नै खाइदिएको पनि हुनसक्छ। तर उहाँले निश्चय नै स्नेहपूर्ण व्यवहार पनि गर्नुभएको हुन्छ।
आमाको कृपापूर्ण वात्सल्यको ऋण तिर्नु (मातृगुण प्रत्युपकार)
सात चरणको यो अभ्यासको तेस्रो चरणमा आमाको कृपापूर्ण वात्सल्यको ऋण तिर्ने इच्छा पर्छ। यसका लािग हामी आफ्नी आमा आँखा नदेख्ने भएको र पूर्णतः निराश तथा विलखबन्दमा परेर भीरको छेउमा उभिएको र त्यहाँबाट दुःखको अनन्त खोँचमा खस्न लागेको कल्पना गर्छौं। आफू उहाँको छोरा वा छोरी भएको र उहाँकै छेउमा उभिएको तथा उहाँलाई त्यहाँबाट खस्नबाट बचाउन सक्षम भएको पनि कल्पना गर्छौं। त्यस्तो अवस्थामा उहाँको सन्तान अर्थात् हामीले नै उहाँलाई सहयोग गरेनौं भने अरू कसले गर्ला? उहाँ सहयोगका लागि कसको शरणमा जानुहोला? यस्तो स्मरणले उहाँलाई सबै प्रकारका दुःखबाट मुक्ति दिलाएर उहाँले आफूलाई लगाउनुभएको गुनको ऋण तिर्ने हार्दिक आकांक्षा विकास गर्न मद्दत गर्छ।
यस्तो आकांक्षालाई सुदृढ गर्न हामी आमाको स्नेहपूर्ण व्यवहार स्मरण गर्ने माथि वर्णित अभ्यासलाई परिमार्जित गरेर लिन सक्छौं। यसमा पनि आफ्नो जीवनलाई पाँच वा दश वर्षको खण्डहरूमा विभाजित गरेर त्यो अवधिमा आमाले लगाउनुभएको गुनको ऋण तिर्ने काम के गर्यौं, त्यसको स्मरण गर्छौं। र यस्तो स्मरण आफ्नो बुबा, नातेदार, इष्टमित्र आदिका लागि पनि गर्छौं।
अरूले आफूप्रति गरेको स्नेहपूर्ण व्यवहार र त्यसको बदलामा आफूले अरूप्रति गरेको व्यवहारको तुलना गर्यौं भने हामीमध्ये अधिकांशले आफूले अरूलाई दिएकोभन्दा अरूबाट आफूले पाएको नै बढी हुनेछ। तर त्यसो भन्दैमा त्यही कारणले आफूलाई दोषी ठान्ने होइनस जुन बहुलट्ठीपनाले ग्रसित पश्चिमा जगतमा सामान्यतया गरिन्छ। बरु यसको अर्थ अभ्यासको अर्को चरण, अर्थात् बोधिचित्त ध्यानमा प्रवेश गर्नु हो। यहाँ आफूले अरूबाट पाएको स्नेहको स्मरण गर्दै गहिरो कृतज्ञताको भावका साथ त्यो स्नेहको ऋण तिर्ने चाहना गरिन्छ।
मलाई लाग्छ, ध्यान अभ्यासको माथि वर्णित परिमार्जित रूपले हाम्रो हृदयलाई साँच्चिकै छुन्छ र हामी साँच्चिकै केही अनुभूति गर्न सक्छौं। यो एकदमै महत्वपूर्ण छ भन्ने मलाई लाग्छ। मैले धेरै पश्चिमा बौद्ध अभ्यासीहरूलाई देखेको छु जो मैत्री र करुणाका ध्यान गर्छन् र समाजमा गएर साँच्चिकै अरूको सेवा गर्छन्। तर उनीहरूको आफ्नो आमाबुबासँगको सम्बन्ध चाहिँ खत्तमै हुन्छ। त्यसैमा उनीहरू अल्झिरहेका हुन्छन्। मलाई लाग्छ सम्बन्ध अलि पेचिलो छ भन्दैमा त्यसबाट पन्छिन खोज्नुभन्दा त्यो सम्बन्धलाई सुधार्ने प्रयास गर्नु धेरै राम्रो हुन्छ।
अभ्यासलाई व्यवहारमा उतार्ने विधि
यी सबै साधनाका चरणमा महत्वपूर्ण कुरा के हो भने हामीले आफूलाई उदार राख्ने र आफ्नो अभ्यासको दायरा बढाइ सबै जीवसम्म पुग्ने प्रयास गर्नुपर्छ। प्रत्येक चरणमा हामी सानोस्तरबाट अभ्यास सुरु गर्न सक्छौं, तर क्रमशः त्यसलाई विस्तार गर्दै लग्नुपर्ने हुन्छ। समभावमा आधारित हुँदै हामी यो अभ्यास गर्छौं र सबै जीवलाई चित्तसन्तानको रूपमा हेर्ने प्रयत्न गर्छौं। मेरो अनुभवमा यसका लागि एक प्रभावकारी उपाय भनेको आसनमा बसेर आँखा चिम्म गरी अमूर्त रूपमा “सबै जीवहरू” भनेर चिन्तन गर्नु होइन, बरु सन्तुलित भावना विकसित गर्ने संवेदनशीलता सम्बन्धी प्रशिक्षणमा मैले सुझाव दिए जस्तै अभ्यास गर्नु हो।
अर्थात्, हाम्रा मित्रहरू, मन नपर्ने व्यक्तिहरू, र अपरिचितहरू आदि विभिन्न व्यक्तिप्रति उनीहरूको फोटोमा ध्यान केन्द्रित गर्दै यी सकारात्मक मनोवृत्तिहरू विकसित गर्ने प्रयास गर्नुहोस्। त्यसपछि प्रत्यक्ष ध्यान अभ्यासमा हाम्रो वरिपरि घेरामा बसेको समूहका वास्तविक मानिसलाई हेर्दै उनीहरूप्रति यी मनोवृत्ति विकसित गर्ने प्रयास गर्नुहोस्। त्यसपछि सब–वे वा बसमा सवारी गर्दा त्यहाँ रहेका मानिसहरूप्रति यो अभ्यास गर्नुहोस्। यसरी, हामीले आफूमा विकास गर्न खोजेका सकारात्मक मनोवृत्तिहरू अरूप्रति लागू गर्छौं।
यो अभ्यास हामी जनावरहरू, कीराफट्याङ्ग्रा, आदि सबैमा लागू गर्न सक्छौं, त्यो पनि कल्पनामा मात्र होइन, तिनलाई प्रत्यक्ष देख्दाखेरि। तर यहाँनेर त्यस्तो अतिवादबाट बच्नु आवश्यक छ जसमा किराप्रति त सजिलै स्नेहको भाव आउँछ तर मानिसप्रति आउँदैन। कहिलेकाहीँ तिब्बतीहरूमा यस्तो अतिवाद देखिन्छ। यतिसम्म हुन्छ कि मन्दिरमा कुनै कमिला हिँड्दै गरेको देख्यो भने त्यसलाई चोट लाग्नबाट बचाउन सबैजना अत्यधिक प्रयास गर्छन्। तर त्यहीँ कुनै जिज्ञासु भारतीय या विदेशी मूलका मानिस पुगे भने त्यो स्तरको सरोकार वा उदारता कसैले देखाउँदैन। त्यसैले हामीले आफ्नो दृष्टिकोण ठीक राख्नुपर्छ।
कतिपयले भन्न सक्लान् कि मानिसलाई सहयोग गर्नुभन्दा कमिलालाई सहयोग गर्नु धेरै सजिलो काम हो। किनभने कमिलाले तपाईंलाई जवाफ फर्काउँदैन, तपाईंलाई कुनै अप्ठ्यारो पनि पार्दैन जबकि मानिसहरूले अक्सर तपाईंलाई अप्ठ्यारोमा पार्ने काम गर्छन्। तपाईं कमिलालाई टपक्क टिपेर बाहिर लैजान सक्नुहुन्छ, तर मानिसले दुःख दिन थाले भने त्यसो गर्न सक्नुहुन्न। यहाँनेर मैले उठाउन खोजेको कुरा के हो भने धेरै मानिस यो ध्यान अभ्यासमा “सबै जीव” भनेर अमूर्त खालको भावना गर्छन्, जसले “वास्तविक संसार” का वास्तविक मानिसलाई समेट्दैन। त्यसैले यस्तो अभ्यासले मार्गमा अगाडि बढ्न निकै बाधा पुर्याउँछ।
महामैत्री
सबैजना कुनैबेला आफ्नो आमा रहिसकेको ज्ञान, उनीहरूले आफूलाई गरेको मातृसुलभ स्नेहको स्मरण, त्यसप्रति कृतज्ञताको भाव र उनीहरूले आफूलाई लगाएको गुनको ऋण तिर्ने इच्छा जागृत भएपछि हामीमा सहज रूपमै एक न्यानो मैत्रीभाव उत्पन्न हुन्छ। कुनै व्यक्तिलाई भेट्दा उप्रति स्वतः घनिष्ठता र स्नेहको भाव उत्पन्न हुन्छ। यस्तो भाव उत्पन्न गराउनका लागि कुनै अलग्गै ध्यान साधनाको आवश्यकता पर्दैन। यहाँ अरूको ख्याल राखिन्छ, अरूप्रति सरोकार राख्दै मैत्रीको भाव अनुभूति गरिन्छ, उसको कल्याणप्रति सजग भइन्छ, र उसलाई केही नराम्रो भयो भने आफूलाई दुःख लाग्छ।
यस्तो न्यानो मैत्रीको जगमा हामी चौथो चरण अर्थात् महामैत्री ध्यानमा प्रवेश गर्छौं। मैत्री भनेको अरू सुखी होउन् भन्ने चाहना हो। सामान्यतया आफूलाई मनपर्ने मान्छेप्रति यस्तो चाहना आउँछ। महामैत्रीमा सबैजना सुखी होउन् र सुखका कारणहरूले युक्त होउन् भन्ने भावना गरिन्छ। यहाँ सुख र सुखका कारणहरू दुवै समावेश गरिन्छ, त्यो महत्वपूर्ण छ। यसको अर्थ के हो भने सुख कारणहरूले गर्दा उत्पन्न हुन्छ, यो कुनै ईश्वर वा भाग्यको कृपास्वरूप आउने होइन – र त्यो कारण “म” चाहिँ होइन।
सुखका कारणहरू के हुन् भन्ने कुरा कर्मको शिक्षामा बताइएको छः कुनै व्यक्तिले कुशल कर्म गर्छ, आसक्ति, क्रोध, आदिबाट अलग रहन्छ भने उसले सुखको अनुभव गर्छ। त्यसैले हामीले यस्तो भावना गर्नुपर्छ, “तपाईंलाई सुख र सुखका हेतुहरू प्राप्त होउन्। तपाईंका कर्म कुशल र गुणकारी होउन्, ताकि तपाईं सुखले युक्त हुनसक्नुहोस्।”
यो चरणबाट के स्पष्ट हुन्छ भने बोधिचित्तका यी ध्यानहरूमा हामी आफैं बुद्ध बन्ने आकांक्षा राख्छौं ताकि सबै जीवलाई सकेसम्म सहयोग गर्न सकियोस्। तर सहयोग गर्ने यो भूमिकालाई हामी अतिशयोक्तिपूर्ण ढंगले ठूलो बनाउँदैनौं। हामी अरूलाई बाटो देखाउन सक्छौं तर उनीहरूले आफ्नो सुखका हेतुहरू आफैंले निर्माण गर्नुपर्छ।
महाकरुणा
यसपछि पाँचौं चरण आउँछ, जुन हो महाकरुणा। यो सबैजना दुःख र दुःखका कारण (हेतु) हरूबाट मुक्त होउन् भन्ने चाहना हो। यहाँ पनि सबै जीवको दुःखका पछाडि कारणहरू हुन्छन् र दुःखबाट मुक्तिका लागि उनीहरूले ती कारणहरू नष्ट गर्नुपर्छ भन्ने पूर्ण बोधका साथ अभ्यास गरिन्छ। यो एकदमै यथार्थवादी दृष्टिकोण हो। महामैत्री र महाकरुणा केवल भावुक भएर “अहो, सबैजना कति दुःखी छन्, त्यो देख्दा मलाई साह्रै दुःख लाग्छ” भन्ने सोच्नु मात्र होइन। ती त व्यवहारगत हेतु र फल (कारण र कार्य) को बोधका साथ गरिने अभ्यास हुन्।
सामान्य करुणाभन्दा महाकरुणा धेरै कुराले श्रेष्ठ छः
- यो केही निश्चित व्यक्तिहरूप्रति मात्र नभै सीमित क्षमतावाला सबै सांसारिक जीवप्रति समान रूपले लक्षित हुन्छ।
- महामैत्रीजस्तै यसमा पनि प्रत्येक जीवलाई महत्व दिने र उसको ख्याल राख्ने भाव सामेल हुन्छ, जसरी स्नेहभावले युक्त कुनै आमा आफ्नो एक्लो सन्तानको ख्याल राख्छिन् र उसको सुरक्षालाई ध्यानमा राख्दै उसको देखभाल गर्छिन्।
- यो सबै जीवहरू बारम्बार र अनियन्त्रित ढंगबाट हुने पुनर्जन्मको सर्वव्यापी दुःखबाट मुक्त होउन् भनेर गरिने कामना हो। दुःखका सबै स्कन्ध (समूह) भ्रमका कारण उत्पन्न हुन्छन्, तिनले थप भ्रमसँग मिलेर थप दुःखको सिर्जना गर्छन्। त्यसैले यो अरू मानिस दुःख वा परिवर्तनको पीडाबाट मुक्त होउन् भन्ने चाहना मात्र होइन। परिवर्तनको पीडा सामान्य सांसारिक सुखसँग सम्बन्धित हुन्छ किनकि त्यो कहिल्यै पनि स्थायी हुँदैन र त्यो कहिल्यै पनि सन्तुष्टि दिँदैन। यस्तो समस्याबाट मुक्त हुन जीवहरू स्वर्ग लोकमा पुगुन् भन्ने चाहना गर्नु मात्र महाकरुणा होइन।
- यो करुणा त्यस्तो दृढ विश्वासमा आधारित हुन्छ जसले यो जान्दछ कि सबै जीव आफ्ना सर्वव्यापी दुःखबाट मुक्त हुन सक्छन्। यो फगत अभिलाषा मात्र होइन।
करुणालाई व्याख्या गर्दा जहिले पनि नैष्क्रम्यमा लिइनेजस्तै मनोभाव, अर्थात् मुक्त हुने चाहना भनेर बुझाइन्छ। नैष्क्रम्य हामी आफैँसँग सम्बन्धित हुन्छ, आफ्नो दुःख र तिनका कारण चिन्ने र तिनबाट मुक्त हुने चाहनालाई नैष्क्रम्य भनिन्छ। यसरी आफ्नो दुःख र तिनका कारणबाट मुक्त हुने चाहनालाई आधार बनाउँदै हामी अरूप्रति समानुभूतिको विकास गर्न सक्छौं। यहाँ हामी त्यही मनोभावको दिशा परिवर्तन गरेर अरू जीवको ख्याल राख्छौं, उनीहरूको दुःख जान्दछौं, तिनका कारण जान्दछौं र उनीहरू दुःख र यसका सबै कारणबाट मुक्त होउन् भन्ने कामना गर्छौं। हामी स्वयंप्रति जुन तीव्रताका साथ दुःखमुक्तिको कामना गर्छौं, अरूप्रति पनि त्यही तीव्रताका साथ गर्छौं।
आफ्नो दुःखबारे विचार नगरी र त्यसबाट आफ्नो मुक्तिको कामना नगरी अरूको दुःख जान्न र त्यसबाट उनीहरूको मुक्तिको कामना गर्न अति कठिन हुन्छ भनिन्छ। हामीलाई दुःखका कारण जुन पीडा हुन्छ, अरूलाई पनि त्यस्तै पीडा हुन्छ भन्ने हामीले बुझ्नु जरुरी छ। यो बुझ्नका लागि दुःखको अवस्थामा हामीलाई पीडा हुन्छ भन्ने थाहा हुनुपर्छ। नत्र हामी अरूको अवस्थालाई गम्भीरतापूर्वक लिन सक्दैनौं। याद राख्नुहोला, हामी आफूलाई धेरै गुन लगाएकी आमाप्रति लक्षित गरेर यो भावना गर्दैछौं। हामी उनको खुसी र दुःखमुक्तिको कामना गर्दैछौं। यसरी हामी आफ्नी आमालाई सम्झेर ध्यानको अभ्यास गर्छौं, र एवं रीतले अरूप्रति पनि सोही भावना गर्दै जान्छौं। यो हिसाबले अभ्यास गर्नुको तात्पर्य हाम्रो ध्यान साँच्चिकै भावयुक्त बनोस् भन्ने हो।
हीनभावनाबाट मुक्तिका लागि यो विधिको उपयोग
ग्रन्थहरूमा के बताइन्छ भने करुणा तब मात्र सही रूपमा विकसित हुन सक्छ जब हामी सर्वप्रथम आफ्नै लागि दुःख र यसका कारणहरूबाट मुक्तिको कामना गर्छौं। मेरो विचारमा यही सिद्धान्त मैत्रीको हकमा पनि लागू हुन्छ। हामीमध्ये कोही हीनभावनाले ग्रस्त छौं भने यो उपाय विशेष उपयोगी हुन्छ। हुनत हीनभावना विशेषगरी पश्चिमाहरूमा देखिने अवस्था हो; तिब्बती वा भारतीयहरूमा यो समस्या मैले धेरै देखेको छैन। अरूका लागि भित्रैदेखि सुख र सुखका हेतुहरू प्राप्त हुन् भन्ने कामना गर्नसक्ने हुनका लागि हामीले पहिला त आफ्नै लागि सो भावना गर्नसक्नु पर्छ। हामी आफूलाई सुख र सुखका हेतु प्राप्त गर्न लायक ठान्दैनौं भने अरूका लागि कसरी सुखको कामना गर्न सकौंला र?
त्यसैले मलाई के लाग्छ भने हामी हीनभावनाले ग्रस्त छौं भने ध्यानको अभ्यासको क्रममा आफूलाई पनि सुख प्राप्त होस् भन्ने भावना जोड्न सक्छौं। यो एकदमै महत्वपूर्ण छ भन्ने मलाई लाग्छ। हरेक जीव सुखको हकदार छ भन्ने भावना विकसित गर्ने अभ्यासले हामीलाई आफ्नै बुद्ध–बीज (तथागतगर्भ) सँग जोडिन सहयोग गर्छ। हामी खराबै मात्र छैनौं; कोही पनि पूर्णतया खराबै मात्र हुँदैन। हामी सबैमा बुद्ध बन्नसक्ने सम्भावना विद्यमान छ, अरूको हित गर्ने, खुसी हुने, आदि क्षमता सबैमा विद्यमान छ।
नोटः मैत्री र करुणाको विकास थेरवाद तथा अन्य हिनयान निकायहरूमा पनि गरिन्छ। तर त्यहाँका ध्यान विधिमा यहाँ उल्लेख गरिएजस्तो सात चरणका अभ्यास सामेल छैनन् जसले आमाको कृपापूर्ण वात्सल्यको स्मरण आदि तर्कसंगत उपायका आधारमा मैत्री र करुणाको विकास गरुन्। तर त्यसो भन्दैमा थेरवादमा मैत्री र करुणाको ध्यान छैन भन्ने होइन। बरु त्यसपछिको चरण, अर्थात् बोधिचित्त ध्यानको अभ्यास चाहिँ त्यहाँ पाईंदैन।
असाधारण संकल्प (अध्याशय)
छैठौं चरणलाई अन्य भाषामा व्यक्त गर्दा विभिन्न अनुवादकले विभिन्न तरिकाले गर्ने गरेका छन्। कसैले यसलाई “विशुद्ध आत्मरहित आकांक्षा” भन्छन्। परम पूजनीय दलाई लामा यसलाई “सार्वभौमिक उत्तरदायित्व” भन्नुहुन्छ। म आफैंले यसलाई विभिन्न तरिकाले अनुवाद गरेको छु, त्यसमध्ये अहिले “असाधारण संकल्प” (अध्याशय) भनेर लिउँ। महाकरुणामा हामी अरूको हित गर्ने पूर्ण आकांक्षा र आशय लिन्छौं। यहाँ चाहिँ त्यो गरेरै छाड्ने ठोस अठोट गर्छौं। अरूलाई दुःखबाट मुक्ति दिलाउन आवश्यक उपाय आफैं गर्ने जिम्मेवारी लिन्छौं। कोही तलाउमा डुब्दै छ भने किनारमा उभिएर “ओहो विचरा, यस्तो नभैदिएको भए हुन्थ्यो,” भन्दै अलापेर बस्दैनौं। त्यो बेला त आफैं तलाउमा हाम फालेर उक्त व्यक्तिलाई बचाउने प्रयत्न गर्नुपर्छ। त्यसैगरी बोधिचित्तको ध्यानमा हामी सबै जीवलाई सकेसम्म सहयोग गर्ने सार्वभौमिक जिम्मेवारी आफैं लिने संकल्प गर्छौं।
बोधिचित्त लक्ष्य
अभ्यासका माथि उल्लिखित छ चरणहरूको विकासलाई हेतु बनाउँदै त्यसको फलको रूपमा सातौं चरणको अभ्यास गरिन्छ। त्यो हो, बोधिचित्त लक्ष्य। सीमित क्षमता र अशान्तकारी क्लेश तथा दृष्टिकोणहरूका वशमा परेको वर्तमान अवस्थामै हामी अरूको सर्वोत्तम हित गर्न सक्छौं कि सक्दैनौं भनेर विचार गर्ने हो भने पाउनेछौं कि साँच्चिकै अरूको धेरै हित गर्न सक्दैनौं। यदि म स्वार्थको वशमा छु, अधीर छु, कुनै व्यक्तिप्रति आसक्त र अन्यप्रति क्रोधित हुन्छु, मलाई सधैँ अल्छी नै लाग्छ, अरूको कुरा बुझ्न सक्दिन, राम्रोसँग संवाद गर्न सक्दिन, अरूलाई देखेर डर लाग्छ, अरूले मन नपराउलान् वा मलाई अस्वीकार गर्लान् भन्ने शंका लाग्छ भने यस्ता सीमितताहरूले हामीलाई अरूको यथाशक्य हित गर्नबाट रोक्नेछन्। तर म साँच्चिकै अरूको हित गर्न चाहन्छु भने यस्ता सीमितता र कमीकमजोरीबाट आफूलाई मुक्त गर्नैपर्छ। मैले आफ्नो सुधारको काम गर्नुपर्छ र यी कुराहरूबाट आफूलाई माथि उठाउनुपर्छ ताकि म आफ्नो प्रतिभा, क्षमता र तथागतगर्भ गुणलाई अरूको हित गर्नमा उपयोग गर्न सकुँ। “यथाशक्य धेरै” भन्ने कुरालाई हामी आफ्नो स्मरणमा राख्छौं; यसको मतलब हामी सर्वशक्तिमान ईश्वर हुन्छौं भन्ने होइन। यसप्रकारको भावनाका साथ हामी अरुको यथाशक्य धेरै हित गर्न सकियोस् भनी आफैं बुद्ध बन्ने लक्ष्यमा आफ्नो चित्त र हृदयलाई प्रेरित गर्छौं। यो बोधिचित्तको विकास गर्ने अभ्यास हो। हामीले अहिले नै बोधिलाभ गरिसकेका छैनौं, तर त्यसका लागि पूर्ण लगनका साथ हामी यो अभ्यासमा प्रवृत्त हुन्छौं ताकि सकेसम्म चाँडो बोधिलाभ होस् र यथाशक्य धेरै अरूको हित गर्न सकियोस्।
बोधिसत्त्व चर्या
बोधिचित्तको विकास गरिसकेपछि हामी आफ्ना सीमितताका बावजूद अरूलाई सकेसम्म सहयोग गर्ने प्रयास गर्छौं। यो किनभने हामीले अरूको यथाशक्य हित गर्ने एक असाधारण संकल्प लिइसक्यौं। माथि उल्लिखित हेतु–फलसम्बन्धी सात चरणको बोधिचित्त ध्यानको अभ्यासले यसलाई आधार प्रदान गर्छ।
मानिलिउँ हामीले कुनै समस्याग्रस्त व्यक्तिलाई देख्यौं। उदाहरणका लागि हाम्रो सामु एक घरवारविहीन व्यक्ति छ। उसलाई फगत एक घरवारविहीन व्यक्तिको रूपमा मात्र हेर्दैनौं। उसलाई अन्तनिर्हित रूपमै गरीब, अल्छी, वा त्यस्तै केही भएको मान्दै उसप्रति कुनै धारणा बनाइहाल्दैनौं। हामी के स्मरणमा राख्छौं भने यो जीवनकालमा, र त्यसमा पनि यही निश्चित समयअवधिमा उसको अवस्था त्यसप्रकारको छ। तर उसको चित्तको प्रवाह अनादिकालदेखि सतत चलिरहेको छ, र कुनै कालखण्डमा उ हाम्रो आमा रहिसकेको छ र हामीप्रति स्नेहपूर्ण व्यवहार गरेको छ। उसले आफ्नो गर्भमा हामीलाई धारण गरेको छ, हाम्रो दिसापिसाब सफा गरेको छ, आदि कुराको स्मरण गर्छौं। त्यो उपकारप्रति म अनुगृहित छु र त्यसको ऋण तिर्न चाहन्छु; उ सुखी होस्, सुखका कारणहरूले युक्त होस्, दुःखबाट मुक्त होस्, दुःखका कारणहरूबाट मुक्त होस् भन्ने कामना गर्छौं। उसको सहयोगका लागि केही गर्ने जिम्मेवारी लिने प्रयत्न गर्छौं।
त्यसो भए हामीले के गर्नुपर्ला त? त्यस्तो व्यक्तिको सहयोगका लागि कुनै वास्तविक कदम उठाउनुका साटो लुसुक्क घर गएर आफ्ना कमीकमजोरीबाट मुक्त हुनुपर्यो भन्दै ध्यानमा बस्नु हाम्रो तात्पर्य होइन। यद्यपि हामीले ध्यानको अभ्यास अझ धेरै गर्नुपर्छ, तर उक्त अवस्थामा हाम्रो अभ्यासले आफ्नो धक, लाज, कन्जुस्याईं आदिबाट माथि उठ्दै उक्त व्यक्तिलाई साँच्चिकै केही सहयोग गर्न प्रेरित गर्नुपर्छ। हामी उसलाई केही न केही दिन सक्छौं, भलै एक मुस्कान मात्र किन नहोस्! केही न केही त हामीले गर्नुपर्छ।
अर्को शब्दमा, हामी कमीकमजोरीबाट जतिसक्दो धेरै मुक्त हुन र अरूको हितका लागि आफ्ना क्षमताको जतिसक्दो धेरै उपयोग गर्न वर्तमान क्षणमै असाधारण संकल्प लिन्छौं। पक्कै पनि, घर पुगेपछि हामीले आफ्नो सुधारका लागि थप काम गर्नुपर्छ, तर बाहिरका घरवारविहीन मानिसलाई बिल्कुल बेवास्ता गरेर घर जाने र ध्यान गरेर बस्नाले मात्रले काम बन्दैन। हामी आफ्नो संकल्पमा गम्भीर छौं भने यी कुरामा सचेत रहन्छौं।
प्रत्येक क्षण आफ्नो सुधारका लागि काम गर्ने सबैभन्दा प्रबल प्रेरणा हामीलाई तब प्राप्त हुन्छ जब हामी कुनै त्यस्तो जीवलाई भेट्छौं जसलाई सहयोगको खाँचो छ। जाडोमा कुनै बुढी महिलालाई भूमिगत रेल स्टेशनको चिसो भूईंमा बसेर भीख मागिरहेको देख्यौं भने सोच्छौं, यदि त्यो महिला मेरो आमा भएको भए? यदि उक्त महिला वर्तमान जन्ममा मेरो आमा भएकी भए र त्यसरी चिसो भूईंमा बसेर भीख मागिरहेको भए के हामी त्यत्तिकै हिँड्थ्यौ होला? अथवा कुनै घरवारविहीन युवक जो अखवार बेचेर गुजारा चलाउँछ, यदि त्यो युवक मेरो छोरा भएको भए मलाई के महसुस हुन्थ्यो होला? त्यो युवकको पनि आमाबुवा होलान्! यो एकदम महत्वपूर्ण विषय हो। भारतमा हामी कुष्ठरोगी र अन्य अपांगतायुक्त मानिसहरू देख्छौं। तर हामीलाई कहिल्यै पनि यो ख्याल आउँदैन कि उक्त कुष्ठरोगीको पनि आफ्नो परिवार होला। अवश्यै पनि उनीहरूको परिवार हुन्छ। उनीहरूसँग मानवोचित व्यवहार गर्नु जरुरी छ।
पक्कै पनि, यी घरवारविहीन मानिसको व्यावहारिक परिस्थितिको ठीक विश्लेषण गर्न हामीमा विवेक हुनुपर्छ। कोही लागूपदार्थ वा रक्सी किन्नका लागि सडकमा मानिसहरूसँग पैसा मागिरहेका हुन सक्छन्। यो अवस्थामा हामीले बुद्धधर्ममा भनेजस्तो “उपाय कौशल्य” अपनाउनुपर्छ। हामी उनीहरूलाई सहयोग गर्न चाहन्छौं, उनीहरूको दुःखको कारण के होला भन्ने हामी अनुमान गर्न सक्छौं, र उनीहरूको सुखको कारण के हुन सक्ला भन्ने पनि जान्दछौं। अनि हामी त्यो काम गर्ने प्रयास गर्छौं जसले उसलाई साँच्चिकै सहयोग पुगोस्। सम्भवतः उनीहरूलाई पैसा दिनु कुनै हालतमा पनि उपयुक्त हुँदैन किनकि त्यो पैसाले उनीहरू थप लागूपदार्थ वा रक्सी किन्नेछन्। त्यसैले हामी उनीहरूलाई पैसा दिँदैनौं। बरु केही खानेकुरा भए दिन्छौं। जे भएपनि हामी उनीहरूको ख्याल राख्छौं र इज्जतिलो व्यवहार गर्छौं। र उनीहरू भयानक र घीनलाग्दा जंकी वा जँड्याहा मात्र हुन् भन्ने दृष्टिले हेर्दैनौं। तिनीहरू मानिस हुन्, दुःख भोगिरहेका मानिस हुन्।
कसैलाई सहयोग गर्ने सबैभन्दा उत्तम उपाय के हो भनेर निधो गर्न सजिलो हुँदैन। अहिलेको अवस्थामा हाम्रो क्षमता सीमित छ, त्यो जान्दछौं। त्यसैले के सबैभन्दा उत्तम हो, हामीलाई थाहा छैन। त्यो थाहा हुन बुद्ध हुनुपर्छ, तैपनि हामी सकेसम्म राम्रो प्रयास गर्छौं। कुनै बेला हामीले त्रुटि पनि गर्न सक्छौं, यो जान्दछौं। तर कम्तीमा हामी प्रयास चाहिँ गर्छौं।
सारांश
हेतु–फलसम्बन्धी ७ चरणको विधिबाट आफूलाई प्रशिक्षित गर्दै बोधिचित्तको विकास गर्नाले विविध भावनाहरूलाई एकसाथ समेट्ने सुदृढ मनोदशा प्राप्त हुन्छ। यसले बुद्धत्वलाभ गर्ने र सबै जीवको सर्वोत्तम हित गर्ने हाम्रो लक्ष्यलाई आधार प्रदान गर्छ। यस्तो सुदृढ मनोदशाले सबैसँग समान रूपले घनिष्ठता र आत्मीयता, अरूले हामीलाई गरेको उपकारको कदर, कृतज्ञताको गहन भावना, अरूप्रति स्नेह, मैत्री, करुणा, तथा सबैलाई यथाशक्य धेरै सहयोग गर्ने जिम्मेवारी वहनको अठोट आदि भावनाहरूलाई समेट्छ। यसप्रकारको सहयोगी भावनाहरूको बलमा हाम्रो बोधिचित्तको लक्ष्य सबल, हार्दिक, र दीगो बन्छ।