ध्यानबाट के लाभ हुन्छ
ध्यान जीवनलाई रुपान्तरित गर्ने तथा सुधार्ने अभ्यास हो। तर यो कसरी हुन्छ? हाम्रो व्यक्तित्व र मनोदशा (मुड) ले हाम्रो जीवनलाई प्रभावित गरिरहेको हुन्छ। फेरी, व्यक्तित्व र मनोदशालाई हाम्रो जीवनको परिस्थिति, आर्थिक अवस्था, हामीले संगत गर्ने मानिसहरू आदिले प्रभावित गरिरहेको हुन्छ। जीवन जीउनुको अनुभवले हामीलाई के भन्छ भने रोजगारी, धनसम्पत्ति, साथीसंगी आदि बाह्य दुनियाँमा जेजस्तै परिवर्तन आएपनि यदि हाम्रो दृष्टिकोण र चित्तको अवस्थामा परिवर्तन आएन भने हाम्रा समस्याहरू ज्युँका त्युँ रहन्छन्। हाम्रा साथीहरू जति भएपनि हामी असुरक्षित महसुस गर्न सक्छौं। हामी जतिसुकै सम्पन्न भएपनि हामीलाई रिस उठ्न सक्छ र निराशा आउन सक्छ। यो अवस्थालाई बाह्य परिस्थिति बदलेर मात्र परिवर्तन गर्न सकिन्न।
यहाँनेर ध्यानले सहयोग गर्न सक्छ। जीवन जीउने तरीकामा वास्तविक सुधार ल्याउन हामीले आफ्नो चित्तको जगतमा काम गर्नुपर्छ। यसको अर्थ बौद्धिक गुणहरूको विकास, एकाग्रता, वा आलस्यमाथि विजय मात्र होइन। हामीले गर्नुपर्ने अझ महत्त्वपूर्ण कामहरू पनि छन्, जसका लागि हामीले आफ्नो भावनाको गहिरो तहमा काम गर्नुपर्छ। त्यो हो – असुरक्षाको भाव र आफूप्रतिको भ्रम।
बुद्धधर्मको सन्दर्भमा ध्यान
ध्यानको अभ्यास बुद्धधर्ममा मात्र होइन, अन्य धेरै धर्म प्रणालीमा पनि गरिन्छ। बुद्धधर्ममा चाहिँ ध्यानको अर्थ चित्तको एक सकारात्मक अवस्थाको प्राप्ति हो, जसका लागि हामीले आफ्नो अभ्यासलाई दोहोर्याइरहनु पर्छ। यो एक एथलेटिक्स खेल अथवा सांगीतिक बाजा बजाउन सिकेजस्तै हो जहाँ एउटै अभ्यासलाई बारम्बार दोहोर्याइरहनु पर्ने हुन्छ। ध्यानमा हामी एक रचनात्मक चित्तावस्थाको निर्माण गरेर त्यसमा आफूलाई अभ्यस्त बनाउने काम गर्छौं। प्रारम्भमा यो जबरजस्ती लादिएको वा कृत्रिमजस्तो लाग्न सक्छ। तर समय बित्दै गएपछि हामी यो चित्तावस्थामा अभ्यस्त हुँदै जान्छौं र यो हाम्रो अस्तित्वको एक स्वाभाविक अंग बन्न पुग्छ।
यसरी हामी आफैंले एक नयाँ चित्तावस्थाको निर्माण गर्छौं। यसलाई कुनै हिसाबले अप्राकृतिक वा अनुपयुक्त भन्न मिल्दैन। कतिपय मानिसले के सोच्छन् भने हामी प्राकृतिक रूपमा जुन अवस्थामा छौं, त्यही अवस्थामा रहनु उचित हुन्छ, त्यसमा कुनै पनि परिवर्तन आवश्यक छैन। तर के बिर्सनु हुँदैन भने प्राकृतिक अवस्थामै हुने हो भने त हामी अहिले पनि जहाँपायो त्यहीँ दिसा गर्ने थियौं होला। सांसारिक रूपमा हामी जेजति कुराको तालिम लिन्छौं, त्यो सबै आफ्नो जीवनको सुधारका लागि नै लिएका हुन्छौं। चित्तको हकमा पनि यही कुरा लागू हुन्छ।
हामी आफ्नो प्राकृतिक अवस्थामा रहनु पर्छ, त्यो अवस्थामा सबै ठीक हुन्छ भनेर तर्क गर्न सकिँदैन। किनकि प्राकृतिक अवस्थामा रहनाले सधैं उत्तम नतिजा मात्र आउँछ भन्ने छैन। मानिलिउँ एउटा सानो बच्चा रोइरहेको छ र हामीलाई रिस उठ्यो। प्राकृतिक रूपमा त रिस उठेपछि त्यो बच्चालाई पिटेर चुप लगाउन सजिलो लाग्छ। तर त्यो कुनै हालतमा उत्तम होइन, हो त? हामीलाई थाहा छ कि त्यसो गर्नु उचित होइन। यद्यपि जब बच्चा मध्यरातमा रुन थाल्छ, हाम्रो दिमागमा प्राकृतिक रूपमा आउने पहिलो विचार भनेको त्यो बच्चालाई पिटेर चुप लगाउने हुनसक्छ।
त्यसैले ध्यानसाधना चाहिएको हो। बुद्धधर्मको अध्ययन र अभ्यासमा यसको महत्त्वपूर्ण भूमिका छ। मानिसहरूले प्रायः भूलवश अध्ययन र ध्यानलाई अलग ठान्छन्। तर बुद्धधर्ममा त्यस्तो हुँदैन।
हितकर बानीको विकास
हितकर बानीको विकासका लागि प्रथमतः हामीले ती के हुन् भनी तिनका बारेमा अध्ययन गर्नुपर्छ। तर यसरी अध्ययन गर्नु मात्र आफैंमा एक लक्ष्य हुनु हुँदैन। यसलाई हामीले आफ्नो जीवनको अंगका रूपमा अपनाउनु पर्छ। यो ध्यानका माध्यमबाट गर्न सकिन्छ। जसरी कुनै कुरा खाएर पचाउनका लागि पहिला हामी त्यसलाई आफ्नो मुखमा राख्छौं र चपाउँछौं, त्यस्तै शिक्षालाई ध्यानद्वारा पचाउनका लागि पहिला त्यसलाई चित्तमा लिनुपर्छ र त्यसमाथि चिन्तन गर्नुपर्छ। तर खानेकुरालाई चपायो चपायो अनि थुक्यो गर्नाले केही फाइदा हुँदैन। हामीले खानेकुरालाई निल्नुपर्छ र त्यसलाई पचाउनुपर्छ, अनि मात्र त्यसबाट फाइदा लिन सकिन्छ।
त्यसो भए ध्यानको अभ्यास कसरी शुरु गर्ने? तीन चरणको अभ्यासमा ध्यान तेस्रो चरणमा आउँछ। उपनिषद् आदि हिन्दू ग्रन्थ र अन्य भारतीय प्रणालीहरूमा पनि यही पद्धति अपनाएको पाइन्छ। प्रायः मानिसहरू यो बुझ्दैनन् कि बुद्धधर्ममा प्रयोग हुने धेरै विधिहरू परम्परागत भारतीय विधिहरूमा समान रूपमा प्रयोग भएको पाइन्छ। यी विधिहरू समान हुन सक्छन्, तर बुद्धधर्मको विशेषता के हो भने यसले एक विशिष्ट सन्दर्भ दिन्छ – हाम्रो लक्ष्य के हो, यथार्थलाई हामीले कसरी बुझेका छौं, र हाम्रो प्रेरणा के हो आदि विषयमा।
धर्मसाधनाका तीन चरण हुन् – शिक्षा श्रवण, चिन्तन वा विवेचना, र ध्यान। यदि बुद्धधर्मको सन्दर्भमा हामीले ध्यानको अभ्यास गर्ने हो भने यसको उपयोग बौद्ध शिक्षालाई आत्मसात गर्नका लागि गर्नुपर्छ।
शिक्षा श्रवण
पहिलो चरणलाई किन “श्रवण” भनिएको हो? बुद्धको पालामा कुनै पनि शिक्षालाई लेख्ने गरिँदैन थियो। ती शिक्षा सुनेका मानिसले आफ्नो सम्झनाको आधारमा तिनको वाचन र व्याख्या गर्थे, त्यो नै अरु मानिसका लागि शिक्षाको स्रोत हुन्थ्यो। आजकल हामी सबै शिक्षा पढ्न सक्छौं, त्यसोभए अब तिनीहरूलाई सुनेर के फाइदा हुन्छ? फाइदा के हुन्छ भने यसो गर्दा हामी एक सजीव शिक्षकसँग सीधा सम्पर्क गर्ने अवसर प्राप्त गर्छौं, जो आफ्ना शिष्यहरूलाई ज्ञान प्रदान गर्न इच्छुक छन्। ती शिक्षकहरूले धेरै विषयहरूमा सीधा व्याख्या गर्न सक्छन्, र यदि तपाईंलाई कुनै जिज्ञासा भयो भने प्रत्यक्ष रूपमा प्रश्न सोध्न सक्नुहुन्छ। पुस्तकको अध्ययनमा त्यस्तो सुविधा हुँदैन।
श्रवण गर्नाको बेफाइदा पनि छ। तपाईंको ध्यान अन्यत्र गयो भने पुस्तकको पेज पुनः पल्टाएजस्तै वा रिवाइन्ड गरेर सुनेजस्तै छुटेको कुरालाई पुनः सुन्न सकिँदैन। ठूलो समूहमा शिक्षकको कुरा सुनिरहँदा आफूले ध्यान नदिएका कारण छुट्यो भने शिक्षकलाई पुनः दोहोर्याउन अनुरोध गर्नु असजिलो हुन्छ। हलको पछाडि कुनामा बस्नुभएको छ भने राम्रोसँग नसुनिन पनि सक्छ। हलमा एकदमै गर्मी रहेछ भने तपाईंलाई निन्द्रा लाग्न सक्छ। तसर्थ शिक्षा श्रवणका पनि आफ्नै कठिनाइहरू छन्। त्यसैले तपाईंले यसमा थप प्रयत्न गर्नुपर्ने हुन्छ। तर यसरी प्रयत्नशील हुनु बुद्धधर्मको अभ्यासमा सहयोगी हुन्छ। किनकि बुद्धधर्मको शिक्षा ग्रहण र अभ्यास निष्क्रिय भएर गरिँदैन।
शिक्षकहरूका लागि पनि शिक्षा कसरी दिने भन्ने निर्देशन हुन्छ। आफ्ना विद्यार्थीलाई पहिलो पटकमै सबै कुराको विस्तृत व्याख्या गरेर चाहिनेभन्दा बढी सजिलो बनाइदिने अनुमति हुँदैन। कतिपय मानिसलाई यसले अप्ठ्यारो पर्छ। म पनि त्यसै कोटीमा पर्छु, मलाई कुराहरू एकदमै स्पष्ट रूपमा बुझ्नुपर्छ। मेरा गुरु सेरकोँग रिन्पोछेका लागि म अनुवादकको काम गर्थें, त्योबेला उहाँले मलाई शिक्षा कसरी दिने भन्ने निर्देशन दिनुभएको थियो – “शुरुमै सबै कुरा धेरै बिस्तारमा नबताउ। किनकि तिमीले को साँच्चिकै शिक्षाका लागि आएको हो र को अरु कुनै प्रयोजनले आएको हो छुट्याउन सक्दैनौ। जो साँच्चिकै इच्छुक छ, उसले थप प्रश्न सोध्छ। विद्यार्थीहरूले धेरैभन्दा धेरै ज्ञान लिनका लागि प्रबल इच्छा जागृत गर्नु पनि आवश्यक हुन्छ।”
एक विद्यार्थीका रूपमा तपाईंलाई आफ्नो शिक्षकले स्पष्टसँग व्याख्या गरेनन्, त्यसैले म उनीकहाँ अब जान्न भनेजस्तो लाग्यो भने उक्त शिक्षकको विशेषता के हो भनेर विचार गर्नु आवश्यक हुन्छ। के उक्त शिक्षक साँच्चिकै अयोग्य र स्पष्टसँग शिक्षा दिन नसक्ने हुन्? धेरै शिक्षक त्यस्ता पनि छन्। वा उक्त शिक्षकले तपाईंमा धैर्य र लगनशीलताको गुण विकसित गराउन जानाजानी सबै विवरण नदिइरहेका हुन्? शिक्षा श्रवणको उद्देश्य त्यसपछिको दोश्रो चरणमा प्रवेश गर्नु हो, अर्थात् शिक्षामाथि चिन्तन गर्नु हो। त्यसैले तपाईंको शिक्षकले तत्काल सबै विवरण दिएका छैनन् भने त्यो तपाईंको लागि ज्यादै उत्तम हुनेछ किनकि तपाईंले यसबारे चिन्तन गर्न पाउनुहुनेछ, र उक्त शिक्षाको स्तर आफैं विश्लेषण गरेर हेर्न सक्नुहुनेछ।
शिक्षाको परीक्षण
शिक्षाको परीक्षण गर्नु र आफ्ना लागि त्यो उपयोगी छ कि छैन भनेर जाँच गर्नु आवश्यक छ। त्यसका बारेमा आफूलाई के लाग्छ, त्यो जान्नु र आफ्नो विचार अरुलाई कस्तो लाग्छ, त्यो पनि जान्नु आवश्यक हुन्छ। धेरै ठूलो समूहमा यो सजिलो हुँदैन र आफ्ना शिक्षकलाई वर्षमा एकपटक मात्र भेट्न पाइन्छ भने त झनै कठिन हुन्छ। त्यो अवस्थामा के गर्नु उचित हुन्छ भन्ने चर्चा गरौं। कतिपय बौद्ध केन्द्रहरूमा शिक्षक सधैँभरी बस्दैनन्। त्यसैले हामी पाठ्य र श्रव्य सामग्रीमा भर पर्नुपर्ने हुन्छ, जहाँबाट धेरै ज्ञान लिन सकिन्छ। तर ती सामग्री कुनै उपन्यास पढेजस्तो वा शौच गर्न बस्दा पढ्ने सामग्रीजस्ता होइनन्। तिनको अध्ययन सम्मानपूर्ण वातावरणमा गरिनुपर्छ। ती सामग्रीलाई हामी सुस्तरी अध्ययन गर्छौं, र त्यहाँका मुख्य बुँदाहरूमा ध्यान दिन्छौं। आफ्नो बौद्ध केन्द्रमा शिक्षक नभएपनि हामी आपसमा छलफल गर्न सक्छौं। समूहमा कसैलाई अलि बढी बोध हुन सक्छ, जसले अरुलाई बुझाउन सक्छन्। तर हामी तथाकथित “स्वतन्त्र साधक” हौं र कुनै बौद्ध केन्द्र जाँदैनौ वा नजीकको केन्द्रलाई आफ्नो ठान्दैनौं भने आफ्नो रुचिअनुसारको कुनै अनलाइन बौद्ध समूहमा सामेल हुनु उपयुक्त हुन्छ।
यसप्रकारले अरुसँग गरिने अन्तरक्रिया एकदमै उपयोगी हुन्छ। नत्र धर्म शिक्षा एक बौद्धिक उपक्रम मात्र हुनेछ र यसले वास्तविक जीवनको प्रतिनिधित्व गर्नेछैन। यसबारेमा हामी केही गम्भीर हुनु आवश्यक छ। तर गम्भीर हुनुको मतलब अररो भई बस्ने र कहिल्यै नमुस्कुराउने खालको रवैया लिने होइन। यसको मतलब के हो भने हामी धर्मको चर्चा गर्दा गहिराइसम्म पुग्छौं। तर साथै कसैले केही हाँसोउठ्दो कुरा गर्यो वा कुनै भूलचूक गर्यो भने त्यसलाई हाँसेर उडाउँछौं।
पश्चिमाहरूका लागि यसरी एकैसाथ गम्भीर र विनोदप्रिय हुन निकै कठिन हुन्छ। तर त्यसो गर्न सक्नुबाट तपाईंले धर्मलाई आफ्नो दैनिक जीवनमा कतिसम्म उतार्न सक्नुभएको छ भन्ने कुराको संकेत मिल्छ। आखिरमा धर्मको एक मूलभूत उद्देश्य भनेको तपाईंलाई खुशी प्रदान गर्नु हो। हामीले सैनिकहरूले जस्तो ज्यादै औपचारिक व्यवहार मात्र गर्यौं भने त्यो अवस्थालाई खुशीको अवस्था मान्न सकिँदैन। कतै ममा केही कमी छ कि, मैले कुनै गल्ती गरिहाल्छु कि, कुनै सजाय भोग्नुपर्ने हो कि – यस्तो डर मनमा भयो भने त्यो त बुद्धधर्मको अभ्यास नै भएन!
उल्टो फूलदानी, फोहोर फूलदानी, फुटेको फूलदानी
फेरी धर्म श्रवणकै चर्चामा फर्कौं। हामीलाई धर्मको श्रवण गर्दा फूलदानीजस्तो हुनबाट बच्ने सल्लाह दिइन्छ। प्रथमतः हामी उल्टो फूलदानीजस्तो हुनु हुँदैन किनकि त्यस्तो फूलदानीमा केही कुरा पनि राख्न मिल्दैन। हामीले त आफ्नो मनलाई खुला राख्नुपर्छ। फुटेको फूलदानीजस्तो पनि हुनु हुँदैन किनकि त्यहाँभित्र जे जान्छ, सबै बाहिर निस्किन्छ। त्यस्तै, हामी फोहोर फूलदानीजस्तो पनि हुनुहुँदैन किनकि त्यहाँ पहिल्यैदेखि धेरै पूर्वाग्रहहरू भरिएका हुन्छन्। त्यहाँ शिक्षा प्रदूषित बन्छ।
बुद्धधर्मको शिक्षा श्रवण गर्दा त्यसलाई अरु प्रणालीहरूसँग तुलना गर्न थाल्नुहुँदैन, त्यसबाट बच्नुपर्छ। तपाईंलाई विचार आउन सक्छ – “हिन्दूधर्ममा यसो भनिन्छ। ताओधर्ममा यसो भनिन्छ।” मेरा एक शिक्षकले भन्नुहुन्थ्यो – “तपाईंले दुईवटा कुरालाई एक आपसमा दाँज्नुहुन्छ, तर ती दुईमध्ये कुनै पनि राम्रोसँग बुझ्नुभएको छैन भने त्यसको कुनै अर्थ हुँदैन। तपाईं झनै रणभुल्लमा पर्नुहुनेछ।” तपाईंले दुइवटै प्रणालीलाई राम्रोसँग बुझ्नुभएको छ भने मात्र तपाईंले गर्ने तुलना पनि अर्थपूर्ण हुनसक्छ। तपाईंले बुद्धधर्मको शिक्षा राम्रोसँग जान्नुभएको छैन भने प्रथमतः यो शिक्षा त्योसँग मिल्यो, अथवा अर्को कुनैसँग मिल्यो भनेर तुलना गर्न छाड्नुपर्छ, र यसलाई यसकै विशुद्ध स्वरूपमा जान्ने प्रयास गर्नुपर्छ। होइन भने यसको शिक्षा तपाईंभित्रको पूर्वाग्रहमा मिसिनेछ। त्यसो गर्नु त्रुटिपूर्ण मात्र होइन, अर्थहीन पनि हुनेछ।
फुटेको फूलदानीजस्तो हुनु हुँदैन भन्नुको मतलब आफूले सिकेको कुनै पनि कुरा बिर्सिहाल्ने हुनु हुँदैन। धेरै मानिसलाई शिक्षा श्रवण गर्दा नोट गर्न मन लाग्छ। तर पछि ती नोटलाई हेरियो भने मात्र त्यसको अर्थ हुन्छ। तर जे होस्, हाम्रो स्मरणशक्ति असाध्यै प्रबल छैन भने मुख्य मुख्य बुँदाहरू कापीमा नोटका रूपमा उतार्नु राम्रै कुरा हो।
हामी पश्चिमाहरूको मनोविज्ञान पनि अलि बेग्लै छ। हामीलाई कुनै परीक्षा दिनु छैन भने प्रायः नयाँ कुरा सिक्नलाई मेहनत गर्दैनौं। हामी परीक्षा दिनका लागि मात्र अध्ययन गर्छौं, र परीक्षामा चोर्न पाइन्छ भने मेहनत गर्दैनौं। तर बुद्धधर्ममा त्यसरी चल्दैन। यहाँ कुनै परीक्षा पनि दिनुपर्दैन र शिक्षकले पास भयौ भनिदिने वा राम्रो ग्रेड ल्याउने कुरा हुँदैन। हाम्रो अभ्यासको मूलभूत कुरा आफ्नो सुधार हो। बुद्धमाथि हामीलाई विश्वास छ भने यति कुरा जानौं कि उनले जेजति शिक्षा दिए, त्यो अरुको भलाईका लागि थियो। त्यसैले यहाँ कुनै प्रतिस्पर्धाको कुरा भएन। हामीले शिक्षालाई आफ्नै सन्दर्भमा मात्र लिनुपर्छ। यहाँ हामी यसरी सोच्दैनौं – “त्यो मानिस रिसाउँछ। म त रिसाउँदिन।” धर्मको ऐना बाहिरतिर फर्केको हुँदैन, यसले अरुलाई देखाउँदैन। यो हामीतिरै फर्केको हुन्छ।
औषधिको उदाहरण
शिक्षा श्रवण गर्ने सन्दर्भमा अर्को निर्देशन पनि छ। आफूलाई विरामीको रूपमा हेर्ने, बुद्ध तथा गुरुहरूलाई डाक्टरको रूपमा र बुद्धको शिक्षालाई औषधिका रुपमा लिने। त्यस्तै उपल्लो कोटीका साधकहरूलाई हाम्रो सहयोग गर्ने नर्सहरूका रूपमा लिने। यसलाई सरल शब्दमा भन्नुपर्दा, हामी आफ्नो जीवनमा समस्याहरू रहेको बोधका साथ बुद्धधर्मको अभ्यास शुरु गर्छौं। हामीमा कुनै बिमारी छ, जुन स्वार्थीपना वा रिस वा जेसुकै पनि हुन सक्छ। हामी त्यसको उपचार चाहन्छौं। बुद्ध सर्वोत्तम डाक्टर हुन्, र म उनले दिएको यो अद्भूत औषधिको सेवन गर्छु। म यसलाई बिर्सन्न र यसलाई ठ्याक्कै निर्देशनअनुसार नै सेवन गर्नेछु। म कुनै दिन पनि यो लिन छुटाउँदिन, र एकैपटक औषधिको सिंगै बोतल सक्ने काम पनि गर्दिन। बुद्धधर्मको अभ्यास एन्टीवायोटिक्सको सेवन गरेजस्तै हो! यसलाई निश्चित समयमा निश्चित मात्रामा लिनुपर्छ। बीचैमा छाड्यो अथवा कैयौं दिनसम्म औषधि लिन बिर्सियो भने त्यसले काम गर्दैन। यसरी यो निर्देशनअनुसार बुद्धधर्मलाई एक उपचार प्रणालीका रूपमा लिइन्छ।
त्यस्तै अर्को निर्देशनअनुसार आफू कुनै बुद्धक्षेत्रमा भएको भाव उत्पन्न गरिन्छ जहाँका शिक्षक आफैं बुद्धस्वरूप हुन्, उनीबाट हामी विशुद्ध शिक्षा ग्रहण गर्दैर्छौं। यसको मतलब शिक्षकलाई स्वयं बुद्ध नै भनेर मान्ने होइन, बरु हामी उक्त शिक्षकप्रति, आफैंप्रति र धर्मको शिक्षाप्रति अत्यन्तै श्रद्धा गर्छौं। हामी जे गर्दैछौं, त्यो महत्त्वपूर्ण छ भन्ने भाव राख्छौं, तर त्यसको मतलब हामी एकदमै गम्भीर अनुहार बनाएर बस्छौं भन्ने होइन। हामी आफू बसिरहेको हलको गर्मीलाई बेवास्ता गर्छौं र जे शिक्षा दिइँदै छ, त्यसलाई खुला मनले ध्यानपूर्वक सुन्छौं।
मनलाई खुला राख्नु आवश्यक
बुद्धको स्पष्ट निर्देशन छ कि हामीले शिक्षा सुन्दा सुन किन्न लागेजस्तो गरेर राम्रोसँग परीक्षण गर्नुपर्छ। उनीप्रति श्रद्धा भएर मात्र कुनै शिक्षामा विश्वास गरिहाल्ने होइन। यसका लागि एक खुला मन चाहिन्छ, तर साथसाथै के बुझ्नु पनि जरुरी हुन्छ भने बुद्धले आफ्नो रमाइलोका लागि कुनै मूर्खतापूर्ण कुरा सिकाएका थिएनन्। यस्तो अवधारणा लिएर हामी शिक्षाको अर्थ के हो भन्ने परीक्षण गर्छौं। त्यसो गर्दा जे सत्य र लाभकारी छ, त्यो कुरा लिन सक्छौं। अवधारणाको एक उदाहरणको रूपमा पूर्व र पश्चात् जन्मको चर्चा गर्न गैरहेको छु।
म एक आम पश्चिमी संस्कृतिमा जन्मे हुर्केको मानिस हुँ। त्यसैले बुद्धधर्मको अध्ययन शुरु गर्दाखेरीसम्म मलाई पूर्व र पश्चात् जन्ममा कुनै विश्वास थिएन। पश्चिमी दुनियाँमा यो अवधारणा विल्कुलै नयाँ हो। यदि उनीहरूले भविष्यको कुनै जीवनमा विश्वास गरिहाले भने त्यो क्रिश्चियन धर्ममा भनिने स्वर्ग वा नर्कजस्तै ठाउँ हुनसक्ला। तर बुद्धधर्ममा सबै प्राणी कुनै न कुनै पूर्व जन्ममा आफ्नो आमा रहेको कुरा बताइन्छ, र यो कुरा हरेक शिक्षामा कहीँ न कहीँ आइरहन्छ। त्यसैले यो अवधारणालाई त्यसै बेवास्ता गरिहाल्न सकिँदैन।
त्यसैले मैले यसलाई ग्रहण गर्ने एक तरीका अपनाएँ – “ठीकै छ, म यो पुनर्जन्मको अवधारणालाई सही होला भनेर मान्छु। यद्यपि यो के हो, म अहिले बुझ्दिन। म यसलाई बेवास्ता गर्दिन र पोको पारेर एकातिर थन्काउने काम पनि गर्दिन। बरु यसलाई बुझ्ने प्रयत्न गर्छु, भलै त्यसका लागि केही समय किन नलागोस्।” पछि मैले के बुझ्दै गएँ भने पुनर्जन्मलाई आधार मानेर जेजति पनि शिक्षा दिइएको छ, त्यो कल्याणकारी र सही रहेछ। त्यसैले त्यसको आधार अर्थात् पुनर्जन्म पनि सत्य नै होला।
विस्तारै तपाईंलाई बोध हुनेछ कि बुद्धका शिक्षाहरूको सम्बन्ध कुन कुरासँग छ र पुनर्जन्म कसको हुन्छ भन्ने नजानिकन पुनर्जन्मका बारेमा जान्न पनि सम्भव हुँदैन। तपाईंले यसलाई गहिरो स्तरमा बुझ्नुपर्ने हुन्छ, तर त्यहाँसम्म पुगिसकेपछि नरक गति, प्रेत गति आदिका बारेमा कुरा बुझ्न थालिन्छ। र, यदि हामीलाई आफ्नो चित्तको प्रकृतिका बारेमा बोध भएन भने यी कुनै पनि कुरा बुझ्न सकिँदैन। त्यसैले हामीले बुझेनौं वा पत्याउन गाह्रो लाग्यो भन्दैमा शिक्षाको कुनै भागलाई खारेज गरिहाल्न हुँदैन, यो एकदमै महत्त्वपूर्ण कुरा हो। मनलाई खुला र ग्रहणशील राख्ने तथा सविवेक बोधको प्रयोग गर्ने भन्नुका पछाडि हाम्रो आशय यस्तो हुन्छ – “बुद्धले हामीलाई यो कुरा बताएका थिए। बुद्धले पुनर्जन्मको बारेमा बताएका थिए। हुनसक्छ, मलाई यो कुरा मन पर्दैन। तर शिक्षामा यो पनि पर्छ, त्यसैले मैले बुद्धधर्मको गहिरो ज्ञान लिनु छ भने यसका बारेमा जान्नै पर्छ।”
सारांश
बौद्ध ग्रन्थहरूमा दिइएका सल्लाह सुझाव बुद्धधर्मको अध्ययनका लागि मात्र होइन, हाम्रो दैनिक जीवनका लागि पनि उत्तिकै उपयोगी छन्। जस्तै, फोहोरी वा फुटेको फूलदानीजस्तो हुनु कदापि राम्रो होइन। बुद्धधर्मलाई आफ्नो जीवनमा उतार्नु एक सक्रिय प्रक्रिया हो। यसको सुरुवात शिक्षाको सुनाइ अर्थात श्रवणबाट हुन्छ। सुनिसकेपछि हामी शिक्षाको परीक्षण गर्छौं, मानिलिउँ हामी कुनै हीराको औंठी किन्न लागिरहेका छौं। कतिपय कुरा यही चरणमा हामीले नबुझ्न सक्छौं, त्यसैले हामी खुला र ग्रहणशील चित्तले तिनलाई बुझ्ने प्रयत्न गर्छौं।