आफ्नो क्षमताका बारेमा जानौं
ध्यानको लक्ष्य प्राप्त गर्न सकिन्छ भन्ने कुरामा हामी साँच्चिकै विश्वस्त छौं कि छैनौं भन्ने कुराको चर्चा गरौं। के म यो लक्ष्य प्राप्त गर्न सक्षम छु? यसका लागि हामीले बुद्ध–बीज (तथागतगर्भ/सुगतगर्भ) को चर्चा गर्नु आवश्यक हुन्छ। बुद्ध–बीजको अर्थ हो, हामी सबैसँग ती तत्त्वहरू छन् जसका कारण हामी बुद्धमा रुपान्तरित हुन सम्भव छ। यो चर्चा मूलतः चित्तको स्वभावसँग सम्बन्धित छ।
हामी कुनै कुरा बुझ्न सक्षम छौं? पक्कै पनि। कुनै कुराप्रति प्रत्येक क्षण होशमा रहन सक्छौं? केही समयका लागि सक्छौं। त्यसो भए त्यो होशको समयावधिलाई बढाउन सकिन्छ? पक्कै पनि। ध्यान गर्ने र चित्तलाई यसमा बानी पार्ने अभ्यासबाट यो समयावधिलाई बढाउन सकिन्छ। तर यसको सफलता मूलभूल रूपमा हाम्रो रुचि र प्रेरणामा भर पर्छ। यो कुरा हाम्रा लागि महत्त्वपूर्ण र सान्दर्भिक हुनुपर्छ।
यो कुरा हामी बजारमा सामान किन्न गएजस्तै हो। बजार जाँदा हाम्रो खल्तीमा कति पैसा छ, त्यो थाहा हुनुपर्छ। आफूसँग जति छ, त्योभन्दा बढी खर्च गर्न सकिँदैन। तर घरमा बसिरहेको बेला आफ्नो खल्तीमा कति पैसा छ, त्यसले धेरै फरक पर्दैन। तपाईं पैसा गन्ने कुरा सोचेर बस्नुहुन्न, किनकि त्यतिबेला तपाईंका लागि त्यो सान्दर्भिक हुँदैन। त्यस्तै बौद्ध शिक्षाका बारेमा हामी तबमात्र सोच्छौं जब त्यो हाम्रा लागि सान्दर्भिक हुन्छ। शिक्षा सान्दर्भिक हुनका लागि हामीले त्यसको प्रयोजन के हो, र त्यो हाम्रा लागि किन महत्त्वपूर्ण छ भनेर बुझ्नु आवश्यक हुन्छ। आफ्ना लागि महत्त्वको कुरा जान्न हामीले “स्नेहपूर्ण दृष्टि” ले हेर्नुपर्ने हुन्छ। यस्तो स्नेहपूर्ण दृष्टि हाम्रो चित्तकै एक आधारभूत गुण हो। यसबाट हामी आफू, आफ्नो परिस्थिति र आफ्ना अनुभवहरूको ख्याल राख्न सक्छौं।
आफ्नो ख्याल राखौं
स्नेहपूर्ण दृष्टि अरु व्यक्तितर्फ लक्षित भयो भने हामी त्यसलाई सजिलोसँग बुझ्न सक्छौं। अरुको ख्याल नराख्ने हो भने हामी आफूले भन्ने र गर्ने कुराप्रति लापरवाह हुन्छौं र अरुले आफ्नो कुरा वा व्यवहार मन पराउन् कि नपराउन्, वास्ता गर्दैनौं। तर अरुलाई महत्त्व दिने हो भने आफ्नो व्यवहारले उनीहरूलाई के असर गर्छ, त्यो विचार गर्छौं। यस्तै स्नेहपूर्ण व्यवहार हामीले आफ्नो हकमा पनि अपनाउनु आवश्यक हुन्छ। किनकि हामीले आफ्नो सबै समय बर्वाद गर्यौं र अमूल्य मानव जीवनको पूर्ण सदुपयोग गरेनौं भने मृत्युको घडीमा त्यो अपव्ययका लागि घोर पश्चात्ताप गर्दै मर्नुपर्ने हुन्छ।
यस्तो स्नेहपूर्ण दृष्टि हामी दैनिक जीवनका अन्य कुराहरूतर्फ पनि निर्देशित गर्न सक्छौं। यसको प्रयोगले हामी आफ्ना सन्तानको पालनपोषणको ख्याल राख्छौं, आफ्नो कामको र शारीरिक तथा मानसिक स्वास्थ्यको ख्याल राख्छौं। यस्तो स्नेहपूर्ण दृष्टिले नै शिक्षा हाम्रा लागि उपयोगी रहेको कुरा थाहा पाउँछौं। शिक्षालाई चित्तमा धारण गर्दै हामी तिनको स्मरण गर्न सक्षम हुन्छौं। सधैंभरी नभए पनि केही समय हामी स्मरण गर्न अवश्य नै सक्छौं। ध्यानको अभ्यास शिक्षालाई बारम्बार आफ्नो चित्तमा धारण गर्ने र त्यसमा अभ्यस्त हुने अभ्यास हो, ताकि त्यो हाम्रो चित्तको स्वाभाविक अंग बन्न पुगोस् र त्यसका बारेमा सोच्नलाई प्रयत्न समेत गर्नु नपरोस्।
आफ्ना बारेमा विशेष ज्ञान हासिल गर्न सम्भव छ भन्ने कुरामा विश्वास भयो भने हामी त्यस दिशामा पूर्ण प्रयत्न लगाउँछौं। तर विश्वास नभएको अवस्थामा कुनै प्रयत्न गर्नु भनेको आफ्ना हातलाई पखेटाजस्तो फड्फड् गरेर उडेजस्तो गर्नु मात्र हो। यस्तो वाहियात कामका लागि किन समय नष्ट गर्नु? प्रारम्भमा हामीलाई मुक्ति र बोधि शब्दले के भन्न खोजेको हो, थाहा हुँदैन। तर तिनका बारेमा जान्नु हाम्रो दीर्घकालीन लक्ष्य हो, र हामी त्यस दिशामा प्रयत्न गर्छौं। यसका लागि मृत्युको बोध सहयोगी हुन्छ, किनकि त्यो बोधले गर्दा नै हामी आफ्नो समय खेर फाल्दैनौं।
करुणा ध्यान
अब हामी अभ्यासको तेस्रो चरणको चर्चा गरौं। त्यो चरण हो, ध्यान। महान तिब्बती बौद्ध आचार्य चोङ्खापाले ध्यानको परिचय एकदमै उपयोगी ढंगले दिनुभएको छ। आफ्नो ग्रन्थ ‘सूत्र तथा तंत्रसम्बन्धी व्यावहारिक उपदेश पत्र’ मा उहाँले लेख्नुभएको छ, ध्यानका लागि हामीले “जुन चित्तावस्थाको निर्माण गर्न लागेका हौं, त्यसका कारक तत्त्वहरू के हुन् भनेर जान्नु जरुरी छ।” त्यसैले यदि हामी करुणा ध्यानको अभ्यास गर्न लाग्दै छौं भने यसलाई विकसित गर्ने कारक तत्त्वहरू के हुन् भनेर जान्नुपर्छ।
यहाँनेर निर्भरताको कसीको कुरा आउँछ। बुद्धधर्मअनुसार करुणा अर्थात् अरुको कल्याण होस्, उनीहरू दुःखबाट तथा दुःखका कारणहरूबाट मुक्त होऊन् भन्ने कामनाको विकास गर्न हामी आफैँ उनीहरूसँग अन्तरसम्बन्धित रहेको कुरा बुझ्नु आवश्यक हुन्छ। होइन भने हामी अरुको ख्याल राख्न सक्दैनौं। सबैले आ-आफ्नो स्तरमा गर्ने कठोर परिश्रम र एक आपसमा गर्ने स्नेहपूर्ण व्यवहारका कारण यो जगत् टिकेको छ भन्ने बुझ्नु आवश्यक छ। हाम्रा लागि अरुले खानेकुरा उत्पादन गरिदिन्छन्, अरुले सडक बनाइदिन्छन्। अरुले गर्ने यस्ता कैयौं कामका कारण हाम्रो जीवन सम्भव भएको छ। यो कुराको स्मरण गर्दै हामी सबैप्रति कृतज्ञता र कदरको भाव उत्पन गर्छौं। यो कुरालाई हामीले इमानदारीपूर्वक, गहिराईबाट बुझ्यौं भने हाम्रो कृतज्ञताको भावबाट सहज रूपमा स्नेहको भाव उत्पन्न हुन्छ। त्यसपछि हामी ती सबै मानिसलाई महत्वपूर्ण ठान्छौं र उनीहरूलाई केही नराम्रो भयो भने हामीलाई नरमाइलो लाग्छ। यसबाट हामीमा मैत्रीभाव जाग्रृत हुन्छ। उनीहरू सुखी होउन् र सुखका सबै कारक तत्त्व उनीहरूलाई प्राप्त होस् भन्ने कामना गर्छौं। र, यदि उनीहरू सुखी छैनन् र अनेकथरी दुःखहरूबाट ग्रस्त छन् भने हामीभित्र करुणाको भाव उत्पन्न हुन्छ। यसरी करुणाको भाव उत्पन्न हुनका लागि यी सबै चरणको सही क्रमअनुसार गुज्रिनुपर्छ।
करुणा भाव निवृत्तिको कामनामा पनि निर्भर गर्छ। यसको अर्थ हो, हामी आफ्ना दुःखहरू चिन्छौं, तिनबाट मुक्त हुने निश्चय गर्छौं, र यो बुझ्छौं कि अरु सबैजना त्यस्तै दुःखहरूबाट त्रस्त छन् र तिनबाट मुक्त हुने उनीहरू सबैको कामना हुन्छ। निवृत्तिको अर्थ यही हो – दुःखबाट मुक्ति पाउने संकल्प। अरुको दुःखप्रति लक्षित यस्तै दृढ निश्चयसहितको करुणा स्पष्ट रूपमा यो कुरामा निर्भर गर्छ कि त्यस्तै दृढ निश्चय हामीले आफैंप्रति पनि लिएका छौं।
त्यसकारण यदि हामी आफ्नो ध्यानमा करुणा भाव उत्पन्न गर्न चाहन्छौं र त्यसका लागि प्रयत्नशील छौं भने यो निर्भरताको कसीलाई बुझ्नुपर्ने हुन्छ। हामी धेरै प्रयत्न तथा अभ्यासका माध्यमबाट चित्तमा तत्काल करुणा उत्पन्न गर्न सक्ने हुन सक्छौं, तर प्रारम्भमा त्यो अवस्थासम्म पुग्ने बाटो क्रमिकरूपमा नै तय गर्नुपर्छ। अर्थात्, करुणा ध्यानको हाम्रो क्षमता करुणाको अवस्थामा पुग्ने क्रमिक चरणहरू र यसका कारक तत्त्वहरूमा निर्भर गर्छ।
चोङ्खापा अगाडि भन्नुहुन्छ, हामीले यसका “विभिन्न पक्षहरूबारे जान्नुपर्छ।” अर्थात्, करुणा जागृत गर्नका लागि हामीले दुःखका विभिन्न पक्षहरू र दुःखका कारणका विभिन्न पक्षहरूबारे पनि जान्नुपर्छ। सबैलाई दुःखबाट मुक्त हुन सहयोग गर्ने हो भने यो आवश्यक छ। किनकि हामी अरुलाई एउटा जागिर खोजिदिने वा मिठो खानेकुरा दिएर सहयोग गर्ने जस्तो सामान्य कुरा मात्र गर्दै छैनौं। हामी त बारम्बार दोहोरिने विवशतापूर्ण पुनर्जन्मको चक्र (अर्थात् भवचक्र) को दुःख र यसको मूलभूत कारकको रूपमा रहेको हाम्रो आफ्नै अज्ञान तथा भ्रमपूर्ण दृष्टिको कुरा गर्दैछौं। मैत्री र करुणाको भावमा ध्यान गर्नका लागि तपाईं चुपचाप बसेर “अहा, कति राम्रो! म त सबैप्रति मैत्रीभाव राख्छु।” भन्ने मात्र सोचेर हुँदैन। यस्तो अस्पष्ट तालले ध्यान गरेर हुँदैन। हामी ध्यानमा विशिष्ट चित्तावस्थाको निर्माण गर्ने प्रयत्न गर्छौं। चोङ्खापाले यस्तो वाञ्छित चित्तावस्था प्राप्त गर्न हामीलाई सहयोग गर्ने सबै तत्त्वहरूको व्याख्या गर्नुभएको छ।
हामी कुनै चित्तावस्थाको निर्माण गर्ने प्रयत्न गर्दैछौं भने आफ्नो ध्यानको मुख्य विषय के हो भन्ने जान्नु एकदमै आवश्यक हुन्छ। ध्यानको अभ्यासमा हाम्रो चित्तमा के चीज प्रकट हुनुपर्छ? करुणा ध्यानमा हामी अरु जीव र उनीहरूको दुःखमा आफूलाई केन्द्रित गर्छौं। यो वास्तवमा करुणा मात्र होइन, “महाकरुणा” को अभ्यास हो, जुन सबै जीवप्रति समान रूपमा लक्षित हुन्छ। यो संसारमा जीवहरूको संख्या धेरै छ, हामी ती सबैप्रति करुणाको भाव राख्छौं। “म यो ब्रह्माण्डका प्रत्येक कीराफट्यांग्राको समेत सहायता गर्छु” – यसरी सोच्नका लागि हाम्रो चित्तको दायरा अकल्पनीय रूपमा व्यापक हुनुपुर्छ। खासमा यी सबै जीव चित्तको निरन्तरताका कारण यहाँ छन् जो अहिले एक कीराको रूपमा प्रकट भएका छन्। त्यसको मतलब यो होइन कि उनीहरू सदा सर्वदा कीरा नै थिए। हामी यी सबै जीवलाई मुक्तिको बाटो देखाउने प्रयत्न गर्छौं, जो भलै यो जुनीमा कीराको रूपमा जन्मिए, तर कुनै पूर्व जन्ममा हाम्री आमा हुन सक्छिन्। त्यस्तै हामी वर्तमान जीवनकी आमालाई मुक्त गराउने कामना गर्छौं जो कुनै पूर्व जन्ममा कीराको रूपमा प्रकट भएकी हुन सक्छिन्।
यस प्रकारले गरिने ध्यान अभ्यासका लागि प्रत्येक जीवलाई आफ्नो मानसपटलमा ल्याउन सजिलो छैन। तर बृहत् चित्तोत्पादको महायान बौद्ध अभ्यासमा हामी आफ्नो वरिपरि असंख्य जीवहरू रहेको र आफ्नो अभ्यासका माध्यमद्वारा उनीहरू सबैको दुःख समाप्त गर्ने भावना उत्पन्न गर्छौं। महायानका विभिन्न सूत्रहरूको प्रारम्भमै हाम्रो वरिपरि अरबौं जीवहरू रहेको कुरा बताइएको छ। त्यसबाट तपाईंले जीवहरूको व्यापकताको अन्दाज गर्न सक्नुहुन्छ।
सबै जीवप्रति समान रूपले करुणाको भावना राखिने यो खालको विश्वव्यापी करुणा अविश्वसनीय जस्तै लाग्छ। यस्तो भावनाको आधार समभावको अभ्यास हो, जसमा हामी आफ्नो चित्त सबैका लागि खुला राख्छौं। यी सबै कुरा हामीले बुझ्नु पर्छ, ताकि हामी करुणा ध्यानको अभ्यास राम्रोसँग गर्न सकौं।
यसका अतिरिक्त, हामी जुन कुरामा ध्यान केन्द्रित गर्दैछौं, त्यो कुरालाई आफ्नो चित्तसँग कसरी तादात्म्य गराउँछौं, त्यसमा पनि विचार गर्नु आवश्यक हुन्छ। करुणाको ध्यान गर्ने बेला हामी सबैजना दुःखबाट मुक्त होउन, र उनीहरूको दुःखका सबै कारक तत्त्व समाप्त होउन् भन्ने कामना गर्छौं। अरु कोही आएर उनीहरूलाई सहयोग गरिदेला, वा उनीहरूको दुःख त्यत्तिकै हराउला भन्ने सोच्दैनौं, अपितु आफूले उनीहरूलाई दुःखबाट मुक्त हुन कसरी सहयोग गर्ने हो, त्यसको चिन्तन गर्छौं।
चोङ्खापा अगाडि भन्नुहुन्छ, करुणाको विकास गर्न के कुराले सहयोग गर्छ र के कुराले हानी गर्छ अथवा के कुरा प्रत्युत्पादक हुन्छ, त्यो जान्नु आवश्यक छ। यसका लागि सबैभन्दा सहयोगी र अत्यावश्यक कुरा के हो भने दुःखबाट मुक्त हुन साँच्चिकै सम्भव छ भन्नेमा हामीलाई पूर्ण विश्वास हुनुपर्छ। यदि यसमा विश्वास नै भएन भने हामी यसको कामना गर्न र यसका लागि प्रयत्न गर्न सक्ने छैनौं। म आफू दुःखबाट पूर्ण मुक्त हुन सक्छु, र अरु सबैलाई पनि दुःखबाट मुक्त हुन सहयोग गर्न सक्षम छु भन्नेमा पूर्ण विश्वास हुनु नै करुणा ध्यानको आधार हो। तर यसका लागि पनि हामीलाई आफ्नो क्षमताको र बुद्धको क्षमताको सही जानकारी हुनु आवश्यक छ। अर्कोतर्फ, आत्म–केन्द्रित सोच, स्वार्थीपना तथा उत्साह र आत्मविश्वासको कमी करुणाको विकासका लागि प्रत्युत्पादक हुन्छन्। बुद्धकै भनाईमा, अरुलाई दुःखबाट मुक्त गराउनु भनेको कसैको खुट्टामा बिझेको काँडा निकालेर फ्याँक्नु जस्तो सामान्य कुरा होइन। यसका लागि बुद्धले हामीलाई सही बाटो देखाउँछन्, मेहनतपूर्वक काम गर्ने चाहिँ हाम्रै हातमा छ। हामी बुद्धभन्दा जान्ने पल्टेर आफ्नै तालमा हिँड्यौ भने काम बन्ला र?
संक्षेपमा भन्नुपर्दा, करुणा वा त्यस्तै कुनै चित्तावस्थाको निर्माण गर्नका लागि आवश्यक विशिष्ट प्रक्रियाको हामीलाई जानकारी छैन भने हामी सफल हुन सक्दैनौं। ध्यान वास्तवमै एक विशिष्ट र गहन अभ्यास हो। त्यसैले त यसलाई “चित्तको विज्ञान” भनिएको हो।
ध्यान सत्रहरूका बीचमा के गर्ने
चोङ्खापाका अनुसार ध्यानका सत्रहरूको बीचको समयमा हामी के गर्छौं, त्यो पनि महत्त्वपूर्ण हुन्छ। उहाँको सल्लाह छ, यो बीचको समयमा हामीले आफ्नो ध्यानको विषयसँग सम्बन्धित ग्रन्थहरूको अध्ययन गर्नुपर्छ। एक त यसले हामीलाई के आत्मविश्वास दिन्छ भने हामी जे अभ्यास गर्दैछौं, त्यो वास्तवमै बुद्धको शिक्षा हो। अर्को, महान आचार्यहरूले उक्त अभ्यासद्वारा जे हासिल गरे, त्यो हामी जान्दछौं। यसले हामीलाई प्रेरणा दिन्छ। यसका अतिरिक्त चोङ्खापा सकारात्मक उर्जाको विकास गर्ने र शुद्धिकरणको अभ्यासद्वारा आफ्नो चित्तका नकारात्मक उर्जाहरूको निराकरण गर्ने सल्लाह दिनुहुन्छ।
यहाँ मैले “पुण्य” शब्द प्रयोग नगरेर “सकारात्मक उर्जा” प्रयोग गरेको छु। किनकि पुण्य शब्दलाई गलत तरीकाले बुझ्न सकिन्छ। तपाईंलाई यस्तो लाग्न सक्नेछ कि तपाईंले निश्चित अंकहरू जोड्नु पर्नेछ, र मानिलिउँ सय अंक पुग्यो भने तपाईंले जित्नुहुनेछ। तर त्यसरी हुँदैन, बरु तपाईंले पर्याप्त मात्रामा सकारात्मक उर्जा जम्मा गर्नुपर्छ, ताकि तपाईंलाई काम गर्नका लागि आवश्यक उर्जा पुगोस्। यसलाई आफ्नो मोबाइल फोन चार्ज गरेको उदाहरणबाट बुझ्न सक्नुहुन्छ। हामीले आफ्नो चित्तबाट अवरोधहरू हटाउनका लागि शुद्धिकरणको अभ्यास गर्नुपर्छ। कुनै बेला यस्तो लाग्न सक्छ कि तपाईंले केही पनि बुझ्नुभएन। यो एक अवरोध हो। त्यस्तै कहिलेकाहीँ भावनात्मक अवरोधहरू हुन सक्छन्। सकारात्मक उर्जाको सञ्चय र शुद्धिकरणको अभ्यास – यी दुवैले हामीलाई चित्तका अवरोधबाट मुक्ति पाई अन्तर्दृष्टि र अन्तर्बोधका साथ काम गर्न सक्षम बनाउँछन्।
यसलाई व्यावहारिक स्तरमा कसरी बुझ्ने त? व्यावहारिक स्तरमा जब हामी कुनै कुराको ज्ञान लिन खोज्दैछौँ, वा आफ्नो काममा केही नयाँ सिक्न खोज्दैछौँ तर सकेनौं भने केही समय आफ्नो प्रयासबाट विश्राम लिन्छौं। आफूलाई ब्रेक दिने क्रममा हामी अरुसँग समय व्यतीत गर्छौं र कुनै न कुनै तवरले उनीहरूलाई सहयोग पुग्ने काम गर्छौं। त्यसले हाम्रो चित्तमा सकारात्मक उर्जा भरिन्छ, हामी प्रफुल्ल हुन्छौं, निराशाको बदलामा आत्मसम्मानको भावले भरिन्छौं, र नयाँ कुरा सजिलै सिक्न सक्छौं। हामी जुनसुकै ओहदाको मानिस भए पनि अरुको सहयोगका लागि केही न केही काम गर्न सक्छौं। उदाहरणका लागि आफ्ना बच्चाहरूसँग समय बिताउने, बिरामी र बृद्ध आफन्तकहाँ गएर केहीबेरका लागि उनीहरूको एक्लोपना हटाउने, वा त्यस्तै केही काम गर्नसक्छौं। कुनै न कुनै सकारात्मक काम गर्नु जरुरी हुन्छ। हामीले गर्ने कर्मकाण्डी कामहरू अरु पनि होलान्, तर वास्तविक जीवनमा गरेको अभ्यास जत्तिको बलशाली अरु केही हुँदैन।
आफ्नो प्रगतिको मापन गर्नुहोस्
हामीमध्ये धेरैको त्यस्तो व्यक्तिगत गुरु नहुन सक्छन् जसकहाँ गएर हामी आफ्नो प्रगतिको मापन गर्न सकौं। तर लोजोङ अर्थात मतिशोधनको शिक्षामा के भनिएको छ भने हामी आफैं आफ्नो सवोत्कृष्ट साथी हौं। हामीले आफैंलाई सोध्नुपर्छ – के मैले राम्रोसँग एकाग्रताको अभ्यास गरेँ? मेरो मन कति भट्कियो? यो कुराको मापन हामी आफैं बाहेक अरु कसैले गर्न सक्दैन। सबै शिक्षा र अभ्यासहरू हाम्रो चित्तको भावनात्मक अवस्थाको सुधारका लागि हो। यसका लागि हामीले आफ्नै अन्तर्जगतमा काम गर्नुपर्छ। हामीले आफ्नो मूल्यांकन आफैं गर्नुपर्छ – के म पहिलाजत्तिकै रिसाउँछु कि मेरो रिस पहिलाभन्दा कम भएको छ, आदि।
हामीले बिर्सन नहुने एउटा तथ्य के हो भने जीवनमा उतारचढाव भैरहन्छ। प्रगति कहिल्यै पनि सीधा रेखामा जाँदैन। हरेक दिन अघिल्लो दिनभन्दा राम्रो मात्र हुँदै जान्छ भन्ने छैन। जबसम्म हामी मुक्त सत्त्व हुँदैनौं तबसम्म कुनै न कुनै उतारचढाव भैरहन्छ। लामो अवधिसम्म अभ्यास गरिसकेपछि हामी अधिकांश समय नरिसाई बस्न सकौंला, तैपनि कुनै न कुनै बेला रिस उठिहाल्छ। तर त्यसो भन्दैमा हामी हतोत्साहित हुनु पर्दैन। एकातर्फ हामी आफ्नो सुधारको प्रयत्नलाई जारी राख्छौं भने अर्कोतर्फ कुनै भूलचुक भयो भने आफूलाई दोषी करार गर्दैनौं र दण्डित गर्दैनौं। परम पूजनीय दलाई लामा भन्नु हुन्छ, हामीले आफ्नो प्रगतिको मापन एक हप्ताको अवधि हेरेर गर्ने होइन, अपितु पाँच वर्षको अवधि हेरेर गर्ने हो। पाँच वर्ष अघि कुनै अवस्थामा कस्तो व्यवहार गर्थें र अहिले कस्तो गर्छु, त्यो तुलना गरेर हामी आफ्नो प्रगतिका बारेमा थाहा पाउन सक्छौं।
सारांश
ध्यान अभ्यासका लागि कुनै विशिष्ट ठाउँ चाहिँदैन। अपेक्षाकृत अन्यत्रभन्दा अलि शान्त, सफा कुनै ठाउँ उपलब्ध हुन सक्यो भने ठीकै छ, भएन भने पनि ठीकै छ। मेरी एक महिला मित्र आफ्नी आमासित एक सानो अपार्टमेन्टमा बस्थिन्। त्यहाँ कोठा भनेको एउटा मात्र थियो, जहाँ आमाले टेलिभिजन र रेडियो राख्नुहुन्थ्यो। उनी ध्यान गर्न बसेको आमालाई मन पर्दैनथ्यो। त्यसैले उनका लागि ध्यान गर्ने ठाउँ भनेको ट्वाइलेटको सीट थियो। उनले हरेक दिन आफ्नो अभ्यास त्यहीँ गरिन्। उनले राम्रै अभ्यास गरिन्। ध्यानमा बस्न तपाईंलाई मैनबत्ती, सुगन्धित धुप वा त्यस्तै अन्य कुरा चाहिँदैन। ती सबै बाह्य पदार्थ मात्र हुन्। ध्यानमा हामीले काम गर्ने भनेको चित्तको अवस्थामा हो, जसका लागि जुनसुकै ठाउँ र समय उपयुक्त हुन सक्छ। कुनै चित्तावस्थाको निर्माण गर्न हामी सब–वेमा हिँड्दै गरेका बेला वा बसमा चढेका बेला अझ सजिलो हुन्छ। जस्तै, यदि हाम्रो उद्देश्य धैर्यको विकास गर्ने र सबैजना आफ्नो लागि दुःख होइन खुशी चाहन्छन् भन्ने तथ्यको बोध गर्ने हो भने सुनसान कोठामा एक्लै बसेर मानिसहरूको कल्पना गर्नुभन्दा भीडभाडयुक्त बस नै उपयुक्त ठाउँ हुन सक्छ।
ध्यानका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा नियमित र दैनिक अभ्यास हो। अभ्यास गर्न कुनै दिन पनि छाड्न हुँदैन। तपाईं दाँत माझ्न वा शौचालय जान बिर्सनुहुन्न भने ध्यान गर्न किन बिर्सनु? यसलाई आफ्नो दैनिक जीवनको अभिन्न अंग बनाउनुपर्छ, भलै हामी दिनको पाँच मिनेट मात्र अभ्यास किन नगरौं। हामी जुनसुकै स्तरको मानिस भए पनि अरु बेलाभन्दा पाँच मिनेट अगाडि ओछ्यानबाट उठ्न सक्छौं। यो अभ्यासलाई एक बोझको रूपमा लिनु हुँदैन। अभ्यास गर्यो भने तपाईंको चित्त शान्त र स्थिर रहनेछ। तपाईं दिनभरी जतिसुकै व्यस्त भए पनि आफ्ना लागि यति समय छुट्याएर अभ्यासलाई निरन्तरता दिन सक्नुहुनेछ।