सविवेकी ध्यान
सामान्यतया ध्यानका दुई चरण हुन्छन् : सविवेकी ध्यान र स्थिरकारी ध्यान। सविवेकी ध्यानमा हामी क्रमिक चरण वा तर्कको सहारा लिएर अगाडि बढ्छौं। यस्तो प्रक्रिया हामी चिन्तनका लागि पनि अपनाउँछौं। यसबाट हामी वाञ्छित चित्तावस्थामा आफूलाई अभ्यस्त गराउँछौं। करुणाको हकमा हामी आफ्ना दुःखहरूमाथि चिन्तन गर्छौं र तिनबाट मुक्त हुने संकल्पको विकास गर्छौं। त्यसपछि यो संकल्पलाई आधार बनाएर आफ्नो वरिपरि असंख्य जीवहरू रहेको भावना गर्छौं र ती सबैलाई आफ्नो चित्त र हृदयको द्वार खुला राख्दै स्वीकार गर्छौं। हामी उनीहरूप्रति आसक्ति, घृणा, वा उदासीनताको भाव राख्दैनौं। त्यसपछि ती सबै जीवहरूप्रति आफ्नो चित्त लक्षित गर्दै ध्यानका क्रमिक चरणहरूअनुसार काम गर्छौं। यसमा सर्वप्रथम हामी उनीहरूसँग आफू सम्बन्धित रहेको र उनीहरूसँग एक आपसमा आश्रित रहेको कुरा स्मरणमा ल्याउँछौं।
त्यसपछि ती सबै जीवहरूले भोग्नु परेको दुःखलाई आफ्नो स्मरणमा ल्याउँछौं। उनीहरू दुःखी छन्, निराश छन्, र उनीहरूले पाएको कुनै पनि खुशी धेरै समय टिक्दैन। त्यसैले उनीहरू कहिल्यै पनि सन्तुष्ट हुँदैनन्। उनीहरू खुशी हुन खोज्छन्, र खुशीका लागि अनेक प्रयत्न गर्छन्। आफ्नो बाहिरी रूपप्रति अत्यन्तै चिन्तित रहन्छन्, अनेक सामग्री थुपार्न थाल्छन्। तर ती कुनै कुराले काम गर्दैनन्, बरु समस्याहरू मात्र थप्छन्। हामी यो कुराको पनि स्मरण गर्छौं कि यही हालत हामी सबैको छ र सबैलाई एक अर्काको सहयोग चाहिन्छ। सबैजना स्वार्थी मात्र हुने हो भने सबैजनाले दुःख भोग्नुपर्छ।
यसप्रकार हामी आफूमा करुणाको भाव उत्पन्न गर्छौं। त्यो भावका साथ हामी असंख्य प्राणीहरूको भलाईको कामना गर्छौं। यो कामना सबैका लागि समान रूपमा विस्तारित गर्छौं। उनीहरू सबैजना हरप्रकारका दुःखबाट मुक्त होउन, र म आफैं उनीहरूलाई दुःखबाट मुक्तिमा कुनै प्रकारले सहयोग गर्न सकुँ भन्ने भावना राख्छौं।
यसरी करुणा भावको सविवेकी ध्यान गर्दा हामी आफ्नो चित्तलाई ती असंख्य जीवहरूप्रतिको करुणा भावमा केन्द्रित राख्छौं। साथै करुणाको विकासका लागि जेजति तर्क र विवरणको सहारा लिएका छौं, तिनको पनि बोध गर्ने प्रयत्न गर्छौं। यसका लागि विवेकपूर्ण विश्लेषणको प्रक्रिया अपनाउँछौं। यसका लागि हाम्रो चित्तको करुणापूर्ण अवस्थामा स्थूल बोध र सूक्ष्म विश्लेषण दुवै समाहित हुन्छन्। पहिलोमा हामी आफ्नो ध्यानको विषय (प्रस्तुत उदाहरणमा सबै जीवको दुःख) लाई स्थूल तवरमा केवल जानेर मात्र बस्छौं। दोस्रोमा सबै जीवले भोग्ने दुःखका सबै पक्षको विस्तारपूर्वक सूक्ष्म विश्लेषण गर्छौं। यी दुई प्रक्रियाको संयोजनद्वारा हामी उक्त विषय (दुःख) का सबै पक्षहरूबारे जान्दछौं, र तिनलाई चित्तको एक अवस्थामा समाहित गर्छौं। यसरी ती सबै पक्षको हामीलाई विस्तारमा ज्ञान हुन्छ, तर ध्यानमा ती सबैलाई शब्दमा उच्चारण गर्दै स्मरण गर्ने काम गर्दैनौं। यी विवरणहरूको जानकारी र विश्लेषणमा कुनै कमजोरी भयो भने फेरी सम्पूर्ण प्रक्रिया दोहोर्याउँछौं र एक–एक गरी सबै पक्षको पुनः विश्लेषण गर्छौं। त्यसपछि पुनः करुणा भाव जागृत गर्छौं, जसमा स्थूल बोध र सूक्ष्म विश्लेषण तथा चित्तको एकाग्रता, सबै समाहित हुन्छन्।
स्थिरकारी ध्यान
सविवेकी ध्यानपछि हामी स्थिरकारी ध्यान गर्छौं। यसमा सबै जीवहरूप्रति उत्तिकै करुणाको भावना राख्छौं। तर यसमा उनीहरूको दुःखको बोधका लागि स्थूल ज्ञान वा सूक्ष्म विवेकको प्रयोग गर्दैनौं। केवल उनीहरू दुःखमा रहेको कुराप्रति सचेत भएर होशमा मात्र बस्छौं।
ध्यानको प्रक्रिया यही हो कि जे चीजलाई तपाईं अपनाउनु हुन्छ, त्यसैमा आफूलाई अभ्यस्त बनाउनुहुन्छ। चाहे कुनै एक वस्तुमा केन्द्रित भएर बस्नुहोस् वा कुनै विषयबिना आफ्नो चित्तको एक निश्चित अवस्था निर्माण गरेर त्यसैमा केन्द्रित भएर बस्नुहोस्, अथवा दुवै प्रकारका अभ्यास एकैसाथ गर्नुहोस्, सबै अभ्यास माथि उल्लिखित प्रक्रियासँग नै मिल्ने हो।
सविवेकी र स्थिरकारी ध्यानबीच फरक
परम पूजनीय दलाई लामाले सविवेकी र स्थिरकारी ध्यानबीचको भेद प्रष्ट पार्नुभएको छ। कुन उर्जाका साथ हाम्रो चित्त क्रियाशील हुन्छ भन्ने आधारमा यो भेद गरिएको छ। यी दुई प्रकारका ध्यानको अन्तर थाहा पाउने यो एक सूक्ष्म र परिष्कृत तरीका हो। सविवेकी ध्यानमा हाम्रो उर्जा बहिर्मुखी प्रकृतिको हुन्छ किनभने यसमा कुनै कुरालाई एकदमै विस्तारमा जान्ने प्रयत्न गरिन्छ। स्थिरकारी ध्यानमा चाहिँ हाम्रो उर्जा अन्तर्मुखी प्रकृतिको हुन्छ। किनकि यसमा हामी आफ्ना मनोभाव वा बोधलाई आफूभित्रै स्थिर हुन दिन्छौं र सविवेकी ध्यानले दिएको ज्ञानमाथि आफ्नो होशलाई केन्द्रित रहन दिन्छौं। यसो गर्दा हाम्रो उर्जा सविवेकी ध्यानमा जस्तो साना साना विवरणमा बाडिँदैन बरु सूक्ष्म रूपमा मुख्य बुँदामा मात्र केन्द्रित भएर रहन्छ।
करुणा ध्यानको अभ्यासमा यसरी सविवेकी र स्थिरकारी ध्यान गर्नुबीचको फरक छुट्याउन अलि कठिन छ किनकि कसैप्रति करुणाको भाव उत्पन्न गराउँदा हाम्रो उर्जा त्यसको साना साना विवरणमा विभाजित हुन्छ। तर त्यही करुणाको भावमा स्थिर हुँदा हाम्रो उर्जा एक ठाउँमा केन्द्रित हुन्छ। चित्तलाई शान्त गराउँदा यस्तो लाभ प्राप्त हुन्छ। हाम्रो दिमागमा अनेकथरी हल्लाहरू चलिरहेका हुन्छन्। हामी बोलिरहन्छौं, अरुको टिकाटिप्पणी गरिरहन्छौं, वा आफ्नो आइपडमा सधैँभरी कुनै न कुनै गीत लगाइरहन्छौं। तर यी अनेक हल्लाहरूलाई केही हदसम्म भएपनि शान्त गराउन सकियो भने हामी आफ्नो उर्जाप्रति सचेत हुन सक्छौं र आफ्नो चित्तको उर्जा कुन अवस्थामा छ, थाहा पाउन सक्छौं।
आफ्नो उर्जाप्रति सचेतनता विकास गर्ने सम्भवतः सबैभन्दा उचित तरीका भनेको त्यो विचलित अथवा शान्त कुन अवस्थामा छ, जान्नु हो। यदि त्यो विचलित अवस्थामा छ भने पक्कै पनि तपाईं रिस, डर, वेचैनी, लोभ, वा घमण्डजस्ता कुनै नकारात्मक आवेगको वशमा हुनुहुन्छ। तपाईं कसैसँग कुरा गर्दै हुनुहुन्छ र त्योबेला आफ्नो पेटमा भारीपनको महसुस गर्नुहुन्छ त्यसले तपाईंको उर्जा अलि विचलित रहेको संकेत दिन्छ। यसको मतलब के हो भने कुनै नकारात्मक आवेगले काम गर्दैछ। तपाईं उक्त मानिसलाई प्रभावित पार्ने प्रयत्न गर्दै हुनुहुन्छ वा उसलाई कुनै हिसाबले आफ्नो कुरा मान्न लगाउँदै हुनुहुन्छ, वा तपाईंको व्यवहार अलि आक्रामक पाराको छ भने पक्कै पनि तपाईंको चित्तमा कुनै नकारात्मक आवेग सक्रिय छ। त्यतिबेला केही गडबड छ भन्ने थाहा पाउन सकियो भने तपाईंले आफ्नो सोच्ने प्रक्रियामा परिवर्तन ल्याउन सक्नुहुन्छ। तपाईंले कम्प्युटरलाई रिबुट (पुनःप्रारम्भ) गरेजस्तै आफ्नो मनलाई रिबुट गर्न सक्नुहुन्छ र आफ्नो तत्कालको व्यवहारका पछाडिको मनोभावलाई परिवर्तन गरेर हितकर भावहरू ल्याउन सक्नुहुन्छ। खासगरी अरुसँगको अन्तर्क्रियाका दौरान आफ्ना नकारात्मक आवेगहरूप्रति होशमा रहनु जरुरी छ।
समय बित्दै जाँदा र अभ्यास पुष्ट हुँदै जाँदा अन्ततः हाम्रो चित्त सूक्ष्म हुनेछ। र, हामी सविवेकी ध्यानमा बाहिरतर्फ निर्दिष्ट विभाजित उर्जा र स्थिरकारी ध्यानमा भित्रतर्फ निर्दिष्ट एकत्रित उर्जाबीचको फरक छुट्याउन सक्नेछौं।
एकाग्रता प्राप्तिका कारक तत्त्व
सविवेकी ध्यान र स्थिरकारी ध्यान दुवैमा एकाग्रता प्राप्तिका कारक तत्त्व एउटै हुन्छन्। शान्तिदेवले आफ्नो ग्रन्थ बोधिचर्यावतारमा शील तथा नैतिक आचरणको विकास गर्ने सन्दर्भमा यी तत्त्वहरूको चर्चा गर्नुभएको छ। यसअनुसार हामीले सम्बन्धित विधिलाई आफ्नो व्यवहार र वचनका तौरतरीकामा अभ्यास गर्दै तिनलाई आफ्नो चित्तमा धारण गर्नुपर्छ।
दुबै ध्यानमा हामीलाई चाहिने कारक र सहयोगी तत्त्व भनेको स्मृति (माइन्डफुलनेस) हो। हाम्रो चित्तावस्था र हामीले गर्ने व्यवहारका लागि स्मृतिको अभ्यासले एक ग्लु (मानसिक गम) को काम गर्छ र चित्तलाई एक ठाउँमा राख्छ। स्मृति शब्दको अर्थ हुन्छ, “स्मरण गर्नु”। स्मरण गर्नुको अर्थ कुनै कुरालाई चित्तबाट बाहिर निकालेर फेरी त्यसलाई फिर्ता ल्याउनु होइन। यसको अर्थ हो, कुनै कुरालाई धारण राखिराख्नु, त्यसलाई आफ्नो चित्तमा राखिराख्नु। आफ्नो ध्यानको विषय र त्यसप्रति आफ्नो चित्तमा आउने भावमा केन्द्रित रहन यस्तो मानसिक गमको आवश्यकता पर्छ।
स्मृतिका साथ ध्यान अभ्यास गर्दा हामी आफ्नो ध्यानको विषयप्रति होशमा रहन्छौं। चोङ्खापाका अनुसार यहाँ हामी स्थूल ज्ञानयुक्त चैतसिक गुणको उपयोग गर्दै आफ्नो चित्त कुनै नकारात्मक आवेग, मानसिक भटकाव, वा शिथिलताको प्रभावमा परेको छ कि भनेर जाँच गर्छौं। चोङ्खापाले सूक्ष्म विवेकको नभई स्थूल ज्ञानको कुरा गर्नुभएको छ, र यो ज्यादै महत्त्वपूर्ण कुरा हो। सूक्ष्म विवेकमा साना साना कुराको विस्तारमा जाँच गरिन्छ, जसले गर्दा हाम्रो चित्त ध्यानको मुख्य विषयमा केन्द्रित हुन सक्दैन। यहाँनेर के खतरा रहन्छ भने हामी आफ्नो ध्यानको विषयबाट भट्किन लागेकोमा विक्षुब्ध हुन्छौं, तनाव र चिन्ताले भरिन्छौं। यसले हामीलाई समस्यामा पार्छ। तर अर्कोतिर ज्यादै लापरवाह र अल्छी पनि बन्न हुँदैन। त्यसले पटक्कै फाइदा गर्दैन।
त्यसैले हामीलाई चित्तको सतर्कता आवश्यक हुन्छ। यसले अलार्म सिस्टमले झैं काम गर्छ। ध्यानको विषयबाट मन भट्किन लागेको थाहा पाउने बित्तिकै यो अलार्म सिस्टमले काम गर्न थालिहाल्छ र हामी थाहा पाउँछौं कि कुनै कुरा सुधार्नु आवश्यक छ। त्यसपछि हामी ध्यानलाई पुनः आफ्नो विषयमा केन्द्रित राख्छौं।
सुधार्नुपर्ने कमजोरीहरू
हामीले सुधार गर्नुपर्ने कमजोरीहरू छन्, जसलाई मुख्य रूपले दुई प्रकारमा विभाजन गर्न सकिन्छ – “चित्तको अस्थिरता” र “चित्तको आलस्य”। चित्तको अस्थिरता हामीमा भएको आसक्ति र इच्छा आकांक्षाहरूका कारण हुन्छ। यसमा चित्त भट्किरहन्छ। शाब्दिक चिन्तन वा मनभित्र चल्ने चलचित्रजस्ता स्वरूपहरूमा यो प्रकट हुन्छ। अधिकांश शास्त्रीय ग्रन्थहरूले यसलाई यौन आसक्तिको कोणबाट व्याख्या गर्छन्। सम्भवतः त्यो उतिबेलाका बह्मचारी भिक्षु र भिक्षुणीहरूका लागि लक्षित थियो किनकि उनीहरूका लागि यौन आसक्तिबाट मुक्ति पाउनु सबैभन्दा अहम् कुरा हुन्थ्यो। तर यस्तो आसक्ति खानेकुरा, संगीत वा अन्य जेसुकै चीजका लागि पनि हुन सक्छ। चित्तको अस्थिरता कुनै नकारात्मक आवेग, विचार, कुनै होहल्ला, वा संवेदनाको स्तरमा हुने कुनै बाह्य हलचलका कारण पनि हुन सक्छ। चित्तको अस्थिरतालाई हामी सामान्य शब्दमा “मन भट्किनु” पनि भन्न सक्छौं।
कुनै वस्तु वा भावनामा हाम्रो ध्यान कसरी टिकेको छ भन्ने आधारमा चित्तको अस्थिरताका विभिन्न तहहरू हुन्छन्।
- स्थूल अस्थिरता – यसमा ध्यानको वस्तुमाथि तपाईंको पकड पूर्णतः छुट्छ र चित्तले अन्य अनेकथरी चीजहरूमा बारेमा सोच्न थाल्छ। यतिबेला स्मृति, अर्थात् तपाईंको मानसिक गम, यति कमजोर हुन्छ कि तपाईंले आफ्नो ध्यानको वस्तुलाई पूर्णतः बिर्सनुहुनेछ।
- सूक्ष्म अस्थिरता – यसमा तपाईंले आफ्नो ध्यानको वस्तुमाथिको पकड त गुमाउनुहुन्न तर अरु केही चीजका बारेमा मनमा भित्रभित्रै विचार चलिरहेको हुन्छ।
- सूक्ष्मतम अस्थिरता – यो अवस्थामा तपाईंले भित्रभित्रै अन्य कुरा सोच्नु त हुन्न, तर आफ्नो ध्यानको वस्तुलाई छाड्ने र अरु केही कुराको बारेमा सोच्ने इच्छा हुन्छ। यो चाहिँ ध्यानमा बढी जोडपूर्वक प्रयत्न लगाउनाले हुन्छ।
आलस्यमा ध्यानवस्तु स्पष्टसँग तपाईंको पकडमा आउँदैन। उदाहरणका लागि, मानसदर्शन (भिजुअलाइजेसन) मा आधारित ध्यानको अभ्यासमा चित्ताकृति र करुणा ध्यानको अभ्यासमा करुणाभाव स्पष्ट हुँदैन। यसका पनि तहहरू हुन्छन्।
- स्थूल आलस्य – यसमा तपाईंको चित्तमा “आकृति बनाउने” क्षमता यति कमजोर हुन्छ कि तपाईंले कुनै प्रकारको मानसदर्शन वा मनोभाव उत्पन्न गर्न सक्नुहुन्न। यसका साथ अन्य दुई कारक पनि जोडिएका हुन सक्छन् – भारीपन र निन्द्रा वा तन्द्रा। भारीपन शरीर र मन दुवैको स्तरमा अनुभव गरिन्छ भने निन्द्रा वा तन्द्रा मनको स्तरमा अनुभव गरिन्छ। यी दुवैलाई “अस्पष्ट–चित्तता” भनिन्छ।
- सूक्ष्म आलस्य – यसमा कुनै आकृति त मानसपटलमा आउँछ, तर त्यसमाथिको पकड धेरै बलियो हुँदैन। त्यसैले उक्त आकृति स्पष्ट हुन पाउँदैन। यो कुरा मानसदर्शनको आकृतिका हकमा मात्र नभई हामीले ध्यान गर्ने करुणा जस्तो मनोभावको हकमा पनि लागू हुन्छ। पकड बलियो नहुँदा एकाग्रता भंग हुन सक्छ। तपाईंको चित्तमा अस्पष्ट खालको भाव आउँछ। “प्रेम… शान्ति… म सबैसँग मैत्रीभाव राख्छु” – यस्तो भाव तपाईं विकसित गर्दै त हुनुहुन्छ, तर त्यो भाव सबै जीव दुःख र दुःखका कारणहरूबाट मुक्त होउन् भन्ने कामनामा केन्द्रित हुँदैन। हामीले यो कुरा ध्यानमा राख्नुपर्छ कि हामी जुन चित्तावस्थाको विकास गर्न प्रयत्न गर्दैछौं, त्यो हरेक दृष्टिले स्पष्ट होस् – त्यसमा कुनै पनि अस्पष्टता नहोस्।
- सूक्ष्मतम आलस्य – ध्यानको वस्तु तपाईंको चित्तमा स्पष्ट रूपमा प्रकट भयो भने, तपाईंको ध्यान पनि राम्रोसँग केन्द्रित हुन्छ। तर त्यसलाई कायम राख्नका लागि तपाईंसँग पर्याप्त अभ्यास हुँदैन, त्यसैले त्यो प्रतिक्षण स्पष्ट र जीवन्त नहुन सक्छ। आफ्नो ध्यानको वस्तु प्रतिक्षण स्पष्ट र तरोताजा हुनुपर्छ। यो पुरानो र कक्रक्क परेको, हेर्दै अरुचि हुने, बासी पाउरोटीजस्तो हुनु हुँदैन।
हामी ध्यानमा “होश हराउने” कुरा गर्छौं। त्यसको मतलब माथि उल्लेख गरेजस्तै कुनै अवस्था हो। यीमध्ये कुनै अवस्थामा हामी छौं भने त्यसको बोध तत्काल गर्नुपर्छ। ध्यान अभ्यासमा हामी प्रथमतः आफ्नो ध्यान वस्तु वा मनोभावमा चित्तलाई टिकाउँछौं, र स्मृति अर्थात् मानसिक गमले त्यसलाई त्यहीँ टाँसेर राख्छौं।
हामी ध्यानको विषयमा चित्तलाई टिकाउँछौं, तर हलुकासँग मात्र, धेरै बल प्रयोग नगरिकन। ध्यानको सफलताका लागि यो सबैभन्दा महत्त्वपूर्ण तत्त्व हो। उदाहरणका लागि, मानिलिउँ तपाईं डाइटिङ् गर्दै हुनुहुन्छ, अर्थात् आफ्नो आहारको मात्रामा संयम अपनाउँदै हुनुहुन्छ। बाटोमा हिँड्दै गर्दा बेकरी पसलको अगाडि पुग्नुभयो र शीशामा केकहरू सुन्दरताका साथ सजाएर राखिएको देख्नुभयो। त्यतिबेला डाइटिङ्लाई आफ्नो चित्तमा टिकाउनुपर्छ, त्यसलाई चित्तबाट जान दिनुहुँदैन। तपाईंले पसलभित्र छिरेर चकलेट केक किन्नबाट आफूलाई बचाउनुपर्छ। अथवा, कुनैबेला खानाको टेबलमा हुनुहुन्छ र त्यहाँ आयोजकले सबैलाई आइसक्रिम पस्किँदै छन्। त्यतिबेला पनि आफ्नो डाइटिङ्लाई चित्तमा टिकाएर राख्नुपर्छ, र भन्नुपर्छ, “तपाईंलाई धन्यवाद, तर म आजकल आहार संयमको अभ्यास गर्दैछु।”
कतै हामी आफ्नो मार्गबाट विचलित त भैरहेका छैनौं? – यो थाहा पाउनसक्ने हुनुपर्छ। “कतै ध्यान वस्तुमा चित्तलाई टिकाउने र त्यसमाथि पकड बनाइराख्नेमा मबाट कुनै त्रुटि त भैरहेको छैन? चित्तमा ध्यान वस्तु वा वाञ्छित मनोभाव उत्पन्न गर्ने प्रयासमा कुनै त्रुटि त भैरहेको छैन?” यदि हामीलाई आफ्नो कुनै त्रुटिको जानकारी भयो भने त्यसको होशले हामीभित्र आन्तरिक अलार्म बजाइदिन्छ। र, यो होशका माध्यमबाट हाम्रो ध्यान पुनः आफ्नो विषयमा फर्किन्छ। तर कुनै सनकी प्रहरी अधिकृतजस्तो हामीले आफूलाई नियन्त्रित गर्ने काम पनि गर्नु हुँदैन। त्यो अवस्थामा प्रहरी अधिकृत “म” र ध्यानसाधक “म” बीच द्वन्द्वको स्थिति बन्छ। ध्यानसाधनामा यस्तो द्वन्द्वबाट बच्नका लागि हामीलाई आफ्नो आत्म–शून्यताको थोरै बोध हुनु आवश्यक हुन्छ – हाम्रो अस्तित्व यस्तो दुई (द्वैत) अवस्थाको हुन पटक्कै सम्भव छैन।
ध्यानमा सिकिएको सीपको व्यवहारिक उपयोग
हाम्रो दैनिक जीवनचर्यामा पनि कुनै एक विषयमा केन्द्रित रहने र त्यसको स्मृतिमा रहने क्षमता आवश्यक हुन्छ। त्यसैले हामी ध्यानको अभ्यास गर्छौं ताकि आफूले विकास गरेको हितकर बानीलाई दैनिक जीवनमा उतार्न सकियोस्। हामी कसैसँग गफ गर्दैछौं वा उनीहरूको कुरा सुन्दैछौं भने त्यसमा ध्यान दिनुपर्छ। आफ्नो चित्तलाई कुराकानीकै विषयमा केन्द्रित राख्नुपर्छ, कुराकानी गर्दै गर्दा भोजनको बारेमा सोच्ने वा अर्को मान्छेलाई मनमनै “चुप लागेर गैहाल्” भन्ने काम गर्नुहुँदैन। यसरी व्यक्तिगत कुराकानी, आफ्नो काम वा अध्ययनलगायतका धेरै अवसरहरूमा हामी चित्तको एकाग्रताको अभ्यास गर्न सक्छौं।
ध्यानका चार आधारस्तम्भ
ध्यानमा एकाग्रताको अवस्था हासिल गर्न हामीलाई दुइवटा तत्त्वले सहयोग गर्छन् – पराक्रम (वीर्य) र धैर्य। पराक्रम भनेको कुनै सकारात्मक कार्य सम्पन्न गर्नका लागि नायकले देखाएजस्तो साहस र परिश्रम हो। धैर्य भनेको हतोत्साहित वा क्रोधित नभै सबै प्रकारका कठिनाइहरूको सामना गर्नसक्ने क्षमता हो। आफ्नो ग्रन्थ बोधिचर्यावतारमा शान्तिदेवले पराक्रमको विकास गर्ने ६ सहयोगी कारक तत्त्वहरूको व्याख्या गर्नुभएको छ। त्यसमध्ये चारले आधारस्तम्भको र दुईले बलको काम गर्छन्। तिनका बारेमा जान्नु हाम्रा लागि उपयोगी हुन्छ।
पहिलो हो, दृढ संकल्प वा दृढ आकांक्षा। “आकांक्षा” कुनै दृढ कामनाका लागि प्रयोग गरिने शब्द हो। यसलाई कुनै लक्ष्यको प्राप्ति हुँदा हुने लाभ र लक्ष्य प्राप्ति नहुँदा हुने हानिका बारेमा दृढतापूर्वक आश्वस्त हुने अर्थमा परिभाषित गरिएको छ। लक्ष्यमा आश्वस्त भएपछि त्यसलाई प्राप्त गर्ने आकांक्षाबाट न त विचलित हुन सकिन्छ, न त्यसबाट पछाडि फर्किन नै। बौद्ध साधनामा विभिन्न प्रकारका चित्तावस्थाहरूको अध्ययन गर्दा हामी पाउँछौं कि सबैमा तिनलाई प्राप्त गर्दा हुने लाभ र प्राप्त नगर्दा हुने नोक्सानीकै बारेमा बताइएको हुन्छ। त्यसैले यो कुरालाई अध्ययनका क्रममा बुझ्नु जरुरी हुन्छ। शान्तिदेवले आफ्नो ग्रन्थमा यसै प्रारूपलाई अपनाएका छन्। ग्रन्थको पहिलो अध्याय बोधिचित्तका बारेमा छ। हामी यो चित्तावस्थाबाट हुने लाभका बारेमा आफूलाई आश्वस्त गराउँछौं। यसबाट हामीलाई बल मिल्छ, र यसको विकासबाट हामीलाई खुशी प्राप्त हुन्छ। यदि कुनै बेला हामी हतोत्साहित भयौं भने उक्त चित्तावस्था विकसित गर्दा हुने लाभको स्मरण गरेर आफूलाई पुनः अभ्यासमा लगाउन सक्छौं।
दोस्रो आधारस्तम्भ दृढता या आत्मविश्वासको हो। यहाँ “दृढता” को अर्थ अभ्यासका प्रति दृढ र लगनशील बनिरहनु हो। हामी आफ्नो वाञ्छित लक्ष्य प्राप्त गर्न सक्षम छौं कि छैनौं भन्ने अन्वेषण गरेर र लक्ष्य प्राप्त गर्न सक्षम छौं भन्ने कुरामा पूर्ण विश्वस्त भएर आत्मविश्वासको विकास गर्न सक्छौं। त्यसपछि सोही आत्मविश्वासका साथ आफ्नो अभ्यासमा दृढ भएर अगाडि बढ्छौं। हाम्रो प्रगतिमा उतार–चढाव आउन सक्छ किनकि उतार–चढाव त एक वास्तविकता हो। कुनै दिन हाम्रो साधना एकदमै राम्रो हुन्छ, तर कुनै दिन हामीलाई सफलता मिल्दैन। कुनै दिन हामी साधना गर्नका लागि एकदमै उत्साहित हुन्छौं भने कुनै दिन बिल्कुलै मन लाग्दैन। तर यदि हामी साधनाबाट हुने लाभका प्रति आश्वस्त भयौं र हामीमा लगन छ (लगनलाई एक सुरक्षा कवचका रूपमा बताइएको छ) भने हामी सोच्छौं, “केही फरक पर्नेवाला छैन। यदि मेरो साधनामा उतार–चढाव हुन्छ भने पनि मलाई त्यसको कुनै परवाह छैन। म त हरेक दिन दृढतापूर्वक साधना गरिरहन्छु। मलाई थाहा छ, अन्ततोगत्वा मैले आफ्नो लक्ष्य प्राप्त गर्न सक्नेछु।”
लामो समयसम्म साधना गरिराख्दा हामीलाई शनैः शनैः आफ्नो एकाग्रतामा बृद्धि भएको अनुभव हुन थाल्छ। तब हामी तेस्रो आधारस्तम्भ अर्थात् आनन्दको विकास गर्छौं। अलिकति मात्र प्रगतिले हामीलाई सन्तोष मिल्दैन। त्यसैले हामी थप अगाडि बढ्छौं र त्यसमा आनन्द खोज्छौं। त्यसो गर्दा हामीलाई थप आत्मसन्तुष्टि प्राप्त हुन्छ। यसबाट हामीमा अझ बढी खुशीको सञ्चार हुन्छ। आखिर हाम्रो मुख्य उद्देश्य दुःखको अन्त्य नै हो। जब हाम्रो चित्त कम विचलित हुन्छ, कम व्याकुल र कम अशान्त हुन्छ, तब पक्कै पनि हामी ज्यादा खुशी हुन्छौं। यो सम्भावनालाई देखेर हामी आफ्नो साधनामा अझ अगाडि बढ्न उत्साहित हुन्छौं।
चौथो आधारस्तम्भ विश्राम हो। यहाँ विश्रामको अर्थ थाकेको बेला आफ्नो साधनाबाट केही समय अवकाश लिनु हो। यस्तो अवकाश आलस्यका कारण लिइँदैन, अपितु आफूलाई पुनर्नवीकृत वा तरोताजा गराउनका लागि गरिन्छ। कामका लागि आफूमाथि धेरै दबाव दिनु जति हानिकारक अरु केही हुँदैन। यसबाट धेरै थकान हुन्छ। परिश्रमको बोझ धेरै भयो भने हाम्रो शरीरका ऊर्जाहरूको सन्तुलन बिग्रन्छ – जस्तै, कुनै बेलुनलाई चाहिनेभन्दा बढी थिच्यो भने त्यो फुट्छ। हामीले आफ्नो स्थितिको आँकलन गर्न सिक्नुपर्छ, ताकि कतिबेला विश्राम गर्ने भन्ने हामीलाई थाहा होस्, र त्यसरी विश्राम गर्दा अपराध–बोध पनि नहोस्। विश्रामका लागि हामी त्यस्तो कुनै काम चुन्न सक्छौं जसमा आराम त प्राप्त होस्, तर हामीभित्र नकारात्मक आवेगको बृद्धि नहोस्। स्पष्टै छ, फरक फरक मानिसका लागि फरक फरक छनौट हुनेछ। पराक्रमका आधारस्तम्भ यिनै चार हुन्।
दुई बल
अब हामी दुई बलका बारेमा चर्चा गर्छौं। पहिलो बल सहजतापूर्वक स्वीकृतिको हो। यसको अर्थ के हो भने लक्ष्यसम्म पुग्न कुन चीजको अभ्यास गर्ने र कुनबाट आफूलाई मुक्त गराउने, त्यसलाई सहजतापूर्वक स्वीकार गर्नुपर्छ। हामी आफ्नो अवस्थाको यथार्थलाई बुझ्छौं, आफूलाई मुक्त गराउनुपर्ने कुराहरूलाई सहज रूपले स्वीकार गर्छौं (जस्तै नकारात्मक आवेग)। हामीले व्यावहारिक ढंगले सजिलो कुराहरूबाट काम शुरु गर्नुपर्छ, ताकि यो काम कति गाह्रो रहेछ भनेर पछि विस्मय नहोस्।
परम पूजनीय दलाई लामा अक्सर भन्नुहुन्छ – “यदि कुनै बौद्ध शिक्षक या व्यक्तिले बुद्धधर्मको साधना एकदमै सजिलोसँग र कम समयमा गर्न सकिन्छ भन्ने कुरा गर्छ भने तपाईंले त्यो व्यक्ति र उसको नियतमाथि शंका गर्नुपर्छ। किनकि यो बिल्कुलै सजिलो छैन, र यसलाई चाँडै गर्न सकिँदैन। हामी आफ्ना नकारात्मक आवेगहरूसँग एकदमै धेरै अभ्यस्त छौं। कुनै औषधीको चक्की खाएजस्तै यसबाट सजिलैसँग छुटकारा पाउन सकिँदैन।” मेरा एक अन्य गुरु गेशे ङावाङ् धार्ग्ये सधैँ भन्नुहुन्थ्यो, “यदि कुनै व्यक्ति बुद्धधर्ममा चाँडै र सजिलैसँग परिणाम पाइहाल्ने उपायतिर आकर्षित हुन्छ भने त्यो मूलतः आलस्यका कारण हुन्छ। यस्ता मानिस आवश्यक परिश्रम गर्नबाट भाग्न खोज्छन्।”
दोस्रो बल नियन्त्रणको हो। यसको अर्थ हो, हामी आफ्नो स्थितिमाथि नियंत्रण स्थापित गर्दै आफूलाई वाञ्छित कार्यको सिद्धिका लागि परिश्रम गर्नेतर्फ प्रेरित गछौं। हामी आफूलाई आलस्य वा अन्य कुनै नकारात्मक आवेगको वशमा पर्न दिँदैनौं, अपितु लक्ष्य प्राप्त गर्ने आकांक्षाको नियन्त्रणमा छाडिदिन्छौं। हामी आफैंलाई भन्छौं, “केटाकेटीपन छोड। आफूलाई व्यवस्थित गरेर काममा लाग!”
थकान कि आलस्य?
थकान र आलस्यबीच कसरी भेद गर्ने? हाम्रो मनमा यो प्रश्न उठ्न सक्छ। यहाँ पहिलो कुरा त, आलस्य नै दुई प्रकारका हुन्छन्। कहिलेकाहीँ एकदमै मामूली कुराहरूमा हाम्रो ध्यान बाँडिन्छ। हामी यति ज्यादा अल्छी हुन्छौं कि आफ्नो ध्यानसाधना या अध्ययन या जे हामीले गर्न चाहेको हो, त्यो गर्ने प्रयत्न गर्दैनौं, बरु कुनै टेलिभिजन कार्यक्रम हेर्न वा इन्टरनेट चलाउनमा आफ्नो ध्यान जान दिन्छौं। त्यस्तै, हामी आफूले गर्नुपर्ने कामलाई पछिको लागि पन्छाउँछौं। कामलाई कसरी जतिसक्दो पन्छाउने, त्यसैको ध्याउन्नमा हामी रहन्छौं। एक अन्य प्रकारको आलस्यको स्थितिमा हामी काम नगर्ने बहाना बनाउँछौं र भन्छौं, “म यो काम गर्नै सक्दिन।”
थकानका बेला चाहिँ हामीभित्र कामलाई पूरा गर्ने इच्छा हुन्छ। “म यो काम साँच्चिकै सम्पन्न गर्न चाहन्छु। तर अहिले मलाई निन्द्रा लागिरहेको छ। त्यसैले म केही बेर विश्राम गर्छु, र फेरी पूर्ण निष्ठाका साथ आफ्नो काममा फर्किन्छु।” यहाँ हामी बहानाबाजी गर्दैनौं, न त कुनै लापरवाही नै गर्छौं। तर आलस्यको वशमा हुँदा हामीलाई काम जारी राख्ने इच्छा हुँदैन।
सारांश
ध्यान सजिलो अभ्यास होइन। त्यस्तो मानिससँग हामी सावधान रहनुपर्छ जसले यो दावी गर्छ कि ध्यानका परिणामहरू प्राप्त गर्ने छोटो बाटो पनि छ। सामान्यतया यस्तो हुँदैन।
हाम्रो ध्यान अभ्यास एक सक्रिय प्रक्रिया हुनुपर्छ। यो अल्छीलाग्दो र वाक्कलाग्दो हुनु हुँदैन। हामीले श्रवण गरेका शिक्षालाई भित्रबाट बुझ्नुपर्छ र त्यसमाथि चिन्तन गर्नुपर्छ। हामीले दिनैपिच्छे, वर्षैपिच्छे आफ्नो अभ्यासलाई जारी राख्नुपर्छ ताकि यो हाम्रो जीवनको अभिन्न अंग बनोस्। त्यसो हुँदा जब समस्या वा नकारात्मक आवेग उत्पन्न हुन्छ, तब हामी तिनको सामना सहजतापूर्वक गर्न सक्छौं।