बुद्धको मानसदर्शन

धेरै ध्यानसाधनामा मानसदर्शनको अभ्यास गरिन्छ। अंग्रेजीमा यसलाई “भिजुअलाइजेसन” भनेर अनुवाद गरिएको छ। तर यसले ठ्याक्कै अर्थ दिँदैन, किनकि मानसदर्शनमा हामी आँखाको प्रयोग गर्दैनौं। यसमा हामी मनको कल्पनाशक्तिको प्रयोग गर्छौं, जसमा दृष्य मात्र होइन शब्द, ध्वनि, गन्ध, स्वाद, शारीरिक संवेदना पनि आउन सक्छन्। जब हामी विभिन्न पदार्थहरू मानसिक रूपमा चढाउँछौं, संवेदनाको स्तरमा तिनीहरूबाट प्राप्त हुने आनन्दको पनि कल्पना गर्छौं। यसका अलावा हामी कुनै प्रतिमा या कार्टून आकृतिको दुई आयामी स्वरूपको कल्पना मात्र गर्दैनौं, अपितु सजीव, त्रि–आयामी प्रकाशस्वरूप आकृतिहरूको कल्पना गर्छौं। 

बुद्धको आकृतिमा ध्यान

महायान परम्परामा एकाग्रताको ध्यानसाधना गर्दा आजकल धेरै गुरुहरूले श्वासमा ध्यान केन्द्रित गर्ने सल्लाह दिन्छन्। यसको एउटै मात्र कारण यो सबैभन्दा सजिलो तरीका भएकाले हो। तर यो परम्परामा सबैभन्दा धेरै साधना गरिने भनेको बुद्धको एक सानो स्वरूपको मानसदर्शन हो। हुनत हामी एउटा स्याउलाई एकटकसँग हेरिराखेर पनि आफूलाई एकाग्र गर्न सक्छौं। तर स्याउलाई मात्र हेरिराख्नाले के वास्तविक लाभ होला र? यदि हामी बुद्धमाथि ध्यान केन्द्रित गर्छौं भने त्यसबाट एकाग्रता हासिल गर्नुका अतिरिक्त हामी बुद्धका गुणहरूप्रति पनि सचेत रहन्छौं। अनि हामी आफ्नो जीवनलाई बुद्धद्वारा इंगित सुरक्षित दिशातर्फ मोड्न सक्छौं, र बोधिचित्तको विकास गरेर आफैं बुद्धत्व प्राप्त गर्न सक्छौं। 

प्राचीन भारतीय आचार्य असङ्गले के भन्नुभएको छ भने, सम्पूर्ण एकाग्रता मानसिक सचेतनताको माध्यमबाट मात्र प्राप्त हुन सक्छ, कुनै इन्द्रिय ज्ञानका माध्यमबाट होइन। हामी आफ्नो एकाग्रताको उपयोग मैत्री भाव, करुणा, शून्यताको बोध आदिको विकासका लागि गर्छौं। यस्तो चित्तावस्थाको विकास गर्न र त्यसमा एकाग्रता हासिल गर्नका लागि बुद्धको मानसदर्शन एक साधन बन्छ। यसको सहायताले हामी आफ्नो मानसिक सचेतनताको विकास गर्छौं। त्यसैकारण विशेष रूपले तिब्बती गेलुग सम्प्रदायमा सम्पूर्ण एकाग्रता हासिल गर्नका लागि बुद्धको मानसदर्शनमा विशेष जोड दिइएको छ। 

तर तिब्बतकै साक्या, न्यिङ्मा र काग्यु सम्प्रदायमा प्रायजसो श्वासमा ध्यान केन्द्रित गर्न वा बुद्धको चित्र वा मूर्तिमा हेर्न सिकाइन्छ, त्यसको मतलब के त? के यो असङ्गको सल्लाहको विपरीत हो? होइन। चित्तले कसरी कुनै वस्तुको बोध गर्छ भन्ने कुराको व्याख्या ती सम्प्रदायमा कसरी गरिएको छ, त्यो हेर्दा कुनै विरोधाभाष छैन। यी तीनै परम्पराले के भन्छन् भने दृष्टि बोध (चक्षुर्विज्ञान) केवल रंगीन आकृतिहरूप्रति मात्र सचेत हुन्छ, जुन एक पटकमा एक क्षणका लागि मात्र हुन्छ। यसैप्रकार श्रवण बोध (श्रोत्रविज्ञान) पनि केवल ध्वनिप्रति मात्र सचेत हुन्छ, जुन एक पटकमा एक क्षणका लागि मात्र हुन्छ। त्यसपछि वैचारिक बोध (मनोविज्ञान) ले त्यसलाई एक साथ जोडेर जुन स्वरूप दिन्छ, त्यसलाई हामी सामान्यतया कुनै वस्तुको नाम दिन सक्छौं। यसरी हेर्दा स्याउ केवल एक रातो गोलो डल्लो मात्र होइन। यो कुनै स्वाद वा गन्ध मात्र पनि होइन। यो तपाईंले हातमा लिँदा उत्पन्न हुने शारीरिक संवेदना मात्र पनि होइन, न त तपाईंले यसलाई टोक्दा उत्पन्न हुने आवाज नै हो। यो एक क्षण रहने र अर्को क्षण विल्कुलै भिन्नै पदार्थ हुने होइन, यसमा एक निरन्तरता हुन्छ। हुनत स्याउ एक दिन कुहिएर जान्छ, तर त्यो स्याउ वैचारिक स्तरमा केही दिन रहन्छ। आखिरमा तपाईंले देख्ने स्याउ भनेको मानसिक चित्र मात्र हो।

मानसिक बोधको यो व्याख्याअनुसार हामी जुन स्याउमा वा श्वासमा आफ्नो ध्यान केन्द्रित गर्छौं, त्यो एक मानसिक विषय मात्र हो। त्यो मानसिक विषयमाथि मानसिक सचेतनताका साथ ध्यान गरिन्छ। वैचारिक दृष्टिले हामी रंगीन आकृति, गन्ध र त्योसँगै अनुभवमा आउने क्षणहरूलाई एक साथ राखेर कुनै वस्तुको रूप दिन्छौं, जसलाई सामान्य बुद्धिले हामी “स्याउ” वा त्यस्तै अन्य केही नाम दिन सक्छौं। त्यसैले यी सम्प्रदायहरूले पनि असङ्गको यही कुरालाई सम्मान गर्छन् कि एकाग्रताको विकास गर्न मानसिक सचेतनताको आवश्यकता हुन्छ। 

वास्तविक अभ्यास

यदि हामी एकाग्रता हासिल गर्न कुनै बुद्ध आकृतिका साथ अभ्यास गर्छौं भने त्यो आकृति लगभग हाम्रो हातको बुढी औंलाजत्रो हुनुपर्छ, र त्यो हामीभन्दा करीब एक हात अगाडिको दूरीमा हुनुपर्छ। हाम्रो आँखा अलिकति तल झुकेको हुन्छ र उक्त मानस आकृतिलाई हेरिरहेको हुँदैन, किनकि त्यो आकृति आँखाले उत्पन्न गर्ने होइन। हामी तलतिर हेरिरहेका हुन्छौं, र बुद्धको आकृति हाम्रो निधारको उचाईमा हुन्छ। 

यसरी ध्यानको बिन्दु निर्धारण गर्न गाह्रो छैन। आँखाले भूईंतिर हेर्नुहोस्, र आफ्नो हातलाई अगाडि तन्काउनुहोस् ताकि बुढीऔंला निधारको उचाईमा रहोस्। बुढीऔंलालाई सीधा नहेर्दा पनि त्यो त्यहाँ भएको थाहा पाइन्छ। त्यसमा ध्यान मात्र केन्द्रित गर्नुहोस्। त्यसपछि हात तल झार्दा पनि तपाईंको ध्यान त्यही बिन्दुमा रहन्छ जहाँ बुढीऔंला थियो। यो काम यति सजिलो छ। 

थेरवाद बुद्धधर्मको धेरैजसो अभ्यासमा आँखालाई बन्द राख्ने गरिन्छ। तर महायानका ग्रन्थहरूमा आँखा खुल्लै राख्ने सल्लाह दिइएको छ। कुनै विशेष अभ्यासमा आँखालाई पूरै खुला राख्ने र कुनैमा बन्द राख्ने निर्देशन पनि छ। तर सामान्यतया महायानका प्रायः अभ्यासमा आँखा बन्द होइन, खुलै राखिन्छ। सामान्यतया आँखालाई पूरै खुला राखिँदैन, किनकि त्यसो गर्दा मन सजिलैसँग भट्किन सक्छ। त्यसैले आँखाले तलतिर नाकको टुप्पोको दिशामा हेरिन्छ। तर त्यसको मतलब आँखा बङ्ग्याएर नाकको टुप्पोमै हेर्ने होइन, अपितु त्यसको सीधा रेखामा भूईंतिर हेर्ने हो। आँखालाई शिथिल छाडिन्छ। भूईंमा खसेको कन्ट्याक्ट लेन्स खोजेजस्तो गरी बलपूर्वक एकटक लगाएर हेरिँदैन।

आँखा बन्द राखेर ध्यानसाधना गर्नुका केही बेफाइदा पनि छन्। मानिलिउँ आफूलाई शान्त बनाउने र मैत्री भाव तथा करुणा जगाउने अभ्यास आँखा बन्द राखेर मात्र गर्ने हाम्रो बानी बस्यो भने वास्तविक जीवनमा यी भावको विकास गर्न कठिनाई हुन सक्छ। यदि तपाईं अरु मानिससँग कुराकानी गर्दै हुनुहुन्छ भने एकाएक आँखा चिम्म गरेर कुनै चित्तावस्थाको निर्माण गर्न सक्नुहुन्न। त्यसो गर्न थाल्नुभयो भने बडो असहज अवस्था हुन्छ। महायानमा हामी आफ्नो आँखालाई थोरै खुला छोड्छौं, किनकि यहाँ हामीले जे हासिल गर्ने प्रयत्न गर्छौं, त्यो सबै जीवको सहायताका लागि हो। त्यसैले हामी आफ्नो आँखा बन्द गरेर उनीहरू सबैलाई बाहिर छोड्न सक्दैनौं। आँखा बन्द गरेर ध्यानसाधना गर्नुमा एक अर्को सूक्ष्म समस्या पनि छ, जसको उल्लेख परम पूजनीय दलाई लामाले गर्नुभएको छ – आँखा बन्द राख्दा आँखा झिम्झिम् हुने सम्भावना रहन्छ, जसले गर्दा रातो धब्बाहरू घुमिरहेको देखिन्छ। यसबाट ध्यान भंग हुन्छ। 

मानसदर्शनका दुई पक्ष

मानसदर्शनको अभ्यास गर्दा हामीले दुई महत्वपूर्ण पक्षबारे ख्याल राख्नुपर्छ। एक त आकृति बनाउनेसँग सम्बन्धित छ, जसको अंग्रेजी अनुवाद “क्लारिटी (स्पष्टता)” को रूपमा गर्ने गरिएको छ। यो शब्द चयन त्यति उत्कृष्ट होइन, किनकि यसको निहितार्थ हुन्छ – ध्यानको केन्द्रमा कुनै चीज छ। तर यहाँ खास कुरा के हो भने हामी आफ्नो कल्पनाशक्तिका माध्यमबाट कुनै चीजलाई प्रकट गर्दैछौं। दोस्रो पक्षको शाब्दिक अर्थ “गर्व” हो। हामी यो कुरामा गर्व गर्छौं कि हामी जुन कुराको मानसदर्शन गर्ने प्रयत्न गर्दैछौं, त्यो कुरा वास्तवमै छ। 

चोङ्खापाले यो गर्वको भावना साधनाको प्रारम्भमा एकदमै सहयोगी हुने बताउनुभएको छ। हामी आफ्नो मानसदर्शन ठ्याक्कै स्पष्ट फोकसका साथ भयो कि भएन भन्नेमा धेरै चिन्ता गर्दैनौं, बरु आफ्नो अगाडि साँच्चिकै बुद्ध भएको कुराको चाहिँ अनुभव गर्छौं। यो एकदमै राम्रो कुरा हो। हामीलाई केवल एक आकृति मात्र चाहिएको हो। त्यो आकृति शुरुमा पहेँलो ज्योतिजस्तो मात्र पनि हुन सक्छ। त्यसलाई नै हामी “यही हो, साँच्चिकै बुद्ध यहीँ छन्” भनेर ग्रहण गर्छौं। एकाग्रता बढ्दै जाँदा बुद्धको स्वरूप विस्तारमा प्रकट हुँदै जान्छ। 

आफूमाथि धेरै दवाब नदिउँ

साधकका रूपमा हामीले गर्ने सबैभन्दा ठूला गल्तीहरूमध्ये एक गल्ती हो – जुन आकृतिको मानसदर्शन गर्ने प्रयत्न गर्दैछौं, त्यसको विवरणमा धेरै उल्झिरहनु। जस्तै, बुद्धको वस्त्र, आभूषण आदि कस्तो हुनपर्छ, उनको आँखाको रंग कस्तो हुनुपर्छ, आदि। यसले गर्दा हामी ज्यादै तनावग्रस्त भएर ध्यान अभ्यास गर्न बिल्कुलै असमर्थ हुन सक्छौं। मानसदर्शन गर्न लागेको आकृति एकभन्दा बढी भयो भने त हाम्रो अवस्था झन् खराब हुन सक्छ। ग्रन्थहरू पनि धेरै सहयोगी हुँदैनन्, किनकि त्यहाँ सबै विवरण एकदमै सूक्ष्मतापूर्वक दिइएको हुन्छ। यस्तो लाग्छ, हामीले शुरुमै त्यो सबै विवरणका साथ मानसदर्शन गर्नुपर्ने हो। धेरै आकृतिहरूको जटिल मानसदर्शनमा सबै विवरणलाई आफ्नो कल्पनामा ल्याउन सक्नु एकदमै उन्नत स्तरको उपलब्धि हो। कालान्तरमा हामी धेरै कुशल भयौं भने ती सम्पूर्ण विवरणका साथ मानसदर्शन गर्न सकौंला, तर शुरुवातमा हामी यस्तो प्रयत्नलाई छाडिदिन्छौं। यदि शुरुवातमै सबै विवरण स्पष्टसँग देख्ने प्रयत्न गर्यौं भने हाम्रो ऊर्जा अस्तव्यस्त हुन्छ र हामी हतोत्साहित हुन्छौं। तिब्बती भाषामा यस्तो अवस्थालाई “लुङ्” बिग्रेको भनिन्छ। 

चित्ताकृतिहरूको निर्माण

चोङ्खापाले मानसदर्शनमा जटिल चित्ताकृतिहरूको निर्माणका लागि व्यावहारिक सल्लाह दिनुभएको छ। उहाँले दुई विधिको उल्लेख गर्नुभएको छ। पहिलो, चित्ताकृतिको विवरणलाई एक–एक गरेर निर्माण गर्दै जाने र अघिल्लो पटककोमा थप्दै गएर मानसदर्शनलाई पूर्ण स्वरूप दिने। उहाँका अनुसार यो विधि केही विशिष्ट मानिसहरूका लागि उपयुक्त हुन्छ। दोस्रो, अस्पष्ट भएपनि सम्पूर्ण चित्ताकृतिको मोटामोटी रूपमा एकसाथ मानसदर्शन गर्ने र त्यो अस्पष्ट आकृतिमा विस्तारै विवरणहरू भर्दै जाने। धेरैजसो मानिसले यो विधिबाट अभ्यास गर्छन्। 

विवरण भर्दै जाने क्रम संचयी ढंगले गर्नुपर्छ, अर्थात् कुनै आकृति स्पष्ट फोकसमा आइसकेपछि त्यसलाई गुम्न नदिइकन अन्य विवरण थप्दै जाने गर्नुपर्छ। दुईवटा आकृति स्पष्ट फोकसमा आएपछि दुवैलाई गुम्न नदिई तेस्रोको विवरणमा लाग्नुपर्छ। अर्कोको विवरण थप गर्दा आफूले निर्माण गरिसकिएको आकृति गुम्न नदिनु एकदमै महत्त्वपूर्ण छ।

बुद्धको चित्ताकृति निर्माण गर्दा चोङ्खापाको सल्लाहअनुसार आँखाबाट शुरु गर्नुपर्छ। शरीरको सामान्य स्वरूप स्पष्ट छ भने त्यसलाई कायम राख्नुपर्छ। शरीर सम्पूर्ण रूपमा स्पष्ट छैन तर केही भागहरू मात्र स्पष्ट छन् भने ती भागहरू आफ्नो चित्तमा कायम राख्दै अभ्यास गर्नुपर्छ। तर यी भागहरू पनि अस्पष्ट छन् भने सम्पूर्ण शरीरलाई पुनः एकसाथ आफ्नो चित्तमा ल्याउने प्रयत्न गर्नुपर्छ।

मानसदर्शन, चित्तविस्तारको साधन

यसरी जटिल मानसदर्शनको अभ्यास गर्नुको कारण के हो त? पक्कै पनि यसको उद्देश्य हाम्रो चित्तको एथ्लेटिक खेलकौशल बढाउने होइन। हामीलाई कुनै मानसदर्शनको ओलम्पिकमा सहभागी भएर स्वर्णपदक विजेता बन्नु छैन। चित्ताकृति निर्माणको अभ्यासले हाम्रो चित्तको सचेतनता र बोधलाई विस्तार गर्न सहयोग गर्छ। यसले हामीलाई अनेक जटिल विषयको एकैपटक बोध गर्न सक्षम बनाउँछ। यहाँ सबै विवरणको अर्थ त्यो कस्तो देखिन्छ भन्ने भन्दा पनि त्यसले के कुराको प्रतिनिधित्व गर्छ भन्ने हो।   

बुद्धत्त्वको मार्ग प्रशस्त गर्ने विभिन्न अनौपचारिक ध्यानसाधनाहरूको उदाहरण लिउँ। त्यस्ता ३२ प्रमुख साधना छन्। एकै पटक यी सबै ३२ प्रकारका साधनामा ध्यान केन्द्रित गर्न एकदमै कठिन हुन्छ, त्यो पनि विशेष गरेर हामी यी साधनाहरूलाई अमूर्त रूपमा गर्दैछौं भने। तर यदि यी ३२ साधनालाई चित्रात्मक रूपमा बुद्धको शरीरका ३२ लक्षणहरू (जस्तै घडीको सुइको दिशामा घुम्रिएको कपाल) को स्मृति गर्दै अभ्यास गर्यौं भने सबै साधनालाई एकसाथ समूहबद्ध गर्न सहज हुन्छ। आखिर हाम्रो लक्ष्य पनि त्यही हो। यदि हामी यीमध्ये प्रत्येक बोधलाई एक–एक गर्दै विकसित गर्न सक्दैनौं भने ती सबैलाई एकसाथ समूहबद्ध कसरी गर्न सकौंला र? हाम्रो लक्ष्य सबै जीवको भलाई गर्नु हो। यसको मतलब हो, हामी सबै जीवहरूप्रति एकैसाथ एकै समय सचेत रहन सक्नुपर्छ। यस्तो गर्नका लागि हामीले शनैः शनैः आफ्नो चित्तको विस्तार गर्नुपर्छ, ताकि हाम्रो सचेतनताको विकास हुन सकोस्। मानसदर्शनको जटिल अभ्यासले हामीलाई त्यस्तो क्षमताको विकासमा सहयोग गर्छ।

सारांश

हामी कुनै कुराप्रति साँच्चिकै उत्साहित छौं, तर कहिलेकाहीँ त्यसबाट केही समयका लागि ब्रेक लिन्छौं र त्यतिञ्जेल अभ्यासलाई थाँती राख्छौं भने हामीले अल्छी गरेको ठहर्दैन। कतिबेला आराम गर्ने भन्ने थाहा पाउनु एकदमै जरुरी हुन्छ नत्र हामी अभ्यासबाट थाकेर त्यसलाई पूर्णतया छाडिदिने सम्भावना हुन्छ। हामीले शिक्षा ग्रहणको महत्त्व बुझ्यौं, त्यसमा चिन्तन गर्यौं, र त्यसमा ध्यान पनि गर्न थाल्यौं भने विस्तारै उक्त अभ्यासका लागि आवश्यक पराक्रम (वीर्य)को उदय हुन थाल्छ। यसलाई धैर्य र आनन्दले साथ दिन्छ। यसमाथि बौद्धमार्गमा गरिने मानसदर्शनको अभ्यासले हाम्रो चित्तको एकाग्रता र सचेतनताको स्तरलाई अकल्पनीय स्तरसम्म बढाउँछ। तर सफलताको सूत्र भनेको क्रमैसँग अभ्यास गर्नु हो। अभ्यासको निरन्तरतालाई कायम राख्यौं भने कालान्तरमा हामी आफ्नो र अरू सबैको हितका लागि अद्भूत रूपमा कल्याणकारी चित्तावस्थाको निर्माण गर्न सक्छौं। 

Top