विचारलाई शान्त कसरी गर्ने

हाम्रा लागि विकल्पयुक्त विचार अपरिहार्य हुन्छ। यसको अभावमा कुनै पसलमा राखिएको वस्तु स्याउ हो या आरुबखडा, छुट्याउन सक्दैनौं। अथवा कसैले “मलाई त्यो कार्यक्रमको दुईवटा टिकट देऊ,” भन्यो भने त्यसको अर्थ लगाउन सक्दैनौं। दैनिक जीवनमा विकल्पयुक्त विचार आवश्यक पर्छ, तर कहिलेकाहीँ यो अवरोध पनि बन्न सक्छ। जस्तै, ध्यानमा एकाग्र हुँदा हामी आफ्ना मनका सबै गन्थनबाट र ध्यानको अनुभूतिबारेका पूर्वाग्रही धारणाबाट मुक्त हुन खोज्छौं, त्यो बेला विकल्पात्मक विचार चाहिँदैन।

चित्तको शान्ति

एकाग्रताका लागि चित्तलाई शान्त गर्नुपर्ने हुन्छ। ध्यानका कतिपय निर्देशनमा चित्तको स्वाभाविक स्थितिमा पुग्ने कुरा बताइन्छ, जसका लागि चित्तको शान्ति आवश्यक छ। तर यहाँ के स्पष्ट हुनु जरुरी छ भने हामी बिलकुलै शून्य, सोचविचार नै गर्न नसक्ने भूतजस्तो, वा बन्द भएको रेडियोजस्तो निष्कृय चित्त बनाउन खोजिरहेका छैनौं। त्यो नै उद्देश्य हो भने त खुरुक्क सुते भैहाल्यो! हाम्रो उद्देश्य त मनको अशान्त अवस्थाबाट मुक्त हुनु हो। व्याकुलता, चिन्ता वा डर जस्ता कतिपय आवेगहरू अति नै अशान्तकारी हुन्छन्, हाम्रो उद्देश्य तिनलाई शान्त गर्नु हो। 

चित्त शान्त भएको अवस्थामा हामीले अनुभव गर्ने चित्तावस्था निर्मल र सचेत हुन्छ। त्यो अवस्थामा हामी मैत्री र सुझबुझपूर्ण काम गर्न सक्छौं। आफूसँग भएको मानवीय स्नेहभावलाई प्रस्फुटित गर्न सक्छौं। यसको लागि भित्री तहदेखिको विश्रान्ति चाहिन्छ। शरीरका मांशपेशीहरूको विश्रामले मात्र पुग्दैन, हामीलाई मानसिक र आवेगात्मक तनावबाट विश्राम चाहिन्छ, किनकि यस्तो तनावले हाम्रो स्वाभाविक स्नेहभाव र चित्तको निर्मलतालाई मात्र होइन, अन्य जुनसुकै कुरालाई पनि अवरोध गरिरहेको हुन्छ। 

ध्यानसम्बन्धी एउटा मिथ्या धारणा हो – ध्यान गर्दा सोचविचार बिलकुल बन्द गर्नुपर्छ। तर सोचविचार बन्द गर्नुको साटो ध्यानमा ती सबै असंगत र अनावश्यक सोचविचारलाई अलग राखिन्छ, जसले हामीलाई विचलित बनाउँछन्। यस्तो विचलनकारी विचारमा भविष्यको चिन्ता (जस्तै “भरे रातीको खाना के खाने होला?”) वा नकारात्मक सोच (जस्तै “हिजो तिमीले मसँग कस्तो स्वार्थी व्यवहार गर्यौं। तिमी त अति खराब मान्छे रहेछौ!”) आदि पर्छन्। यो अवस्था भनेको मन बरालिएको वा अशान्त विचारहरूले आक्रान्त बनाएको अवस्था हो।

हुनत शान्त चित्त हुनु पनि एक साधन मात्र हो, अन्तिम साध्य होइन। हाम्रो चित्त अलि शान्त, निर्मल र खुला भयो भने यसलाई सिर्जनात्मक काममा लगाउन सक्छौं। यसलाई आफ्नो दैनिक जीवनका क्रियाकलापमा पनि उपयोग गर्न सक्छौं र जीवनबारे सही ज्ञान हासिल गर्न ध्यान अभ्यासमा पनि उपयोग गर्न सक्छौं। विनाशकारी आवेग र असंगत विचारहरूबाट मुक्त चित्तलाई उपयोग गर्दै महत्त्वपूर्ण विषयहरूमा उचित तवरले मनन गर्न सक्छौं, जस्तो कि “म यो जीवनमा के गर्दैछु? मेरो यो महत्त्वपूर्ण सम्बन्ध कतातिर गैरहेको छ? यो सम्बन्ध स्वस्थ छ कि अस्वस्थ?” यसरी हामी विश्लेषण गर्न सक्छौं। यो आत्मविश्लेषण हो। यी कुराहरू बुझ्न र सिर्जनात्मक तरिकाले आत्मविश्लेषण गर्न हामीलाई चित्तको स्पष्टता चाहिन्छ। हाम्रो चित्त शान्त र स्थिर हुनुपर्छ, र यो अवस्थामा पुग्न ध्यानले सहयोगी साधनको काम गर्छ।

विकल्पयुक्त र विकल्पमुक्त चित्तावस्था 

ध्यानका कतिपय ग्रन्थमा विकल्पात्मक विचारहरूबाट मुक्त हुने र विकल्पहरूबाट मुक्त अवस्थामा स्थित हुने निर्देशन दिइन्छ। यहाँ के बुझ्नुपर्छ भने यो निर्देशन सबै ध्यानका लागि होइन। यो निर्देशन यथार्थको ज्ञानमा एकाग्र हुन गरिने उच्चस्तरका ध्यानका लागि हो। तर सबै ध्यानमा एक निश्चित खालको विकल्पात्मक अवस्थाबाट मुक्त हुनुपर्ने हुन्छ। ध्यानका ग्रन्थहरूमा बताइने विकल्पका प्रकारहरूबारे बुझ्न पहिला त बुद्धधर्मअनुसार “विकल्प” भनेको के हो, त्यो नै जान्नुपर्छ। 

विकल्पयुक्त विचार भनेको दिमागी तर्कना मात्र होइन

कसैकसैलाई लाग्न सक्छ कि विकल्पयुक्त विचार भनेको हरेक दिन हाम्रो मनभित्र चल्ने विचारहरू अर्थात् दिमागी तर्कनाहरू हुन्, र विकल्पमुक्त हुनु भनेको त्यो तर्कनालाई बन्द गर्नु मात्र हो। तर त्यस्तो तर्कनालाई बन्द गर्नु त शुरुवात मात्र हो। यो महत्त्वपूर्ण चरण भए पनि प्रारम्भिक चरण मात्र हो। यो चित्तलाई निर्मल र शान्त गर्नका लागि मनमा चल्ने बाह्य अशान्तकारी विचारहरू बन्द गर्ने अभ्यासको एक अंग मात्र हो। फेरी कसैकसैलाई के लाग्न सक्छ भने विकल्पमुक्त भएर मात्र कुनै कुरा साँच्चिकै बुझ्न सकिन्छ, विकल्पयुक्त विचार र यथार्थ बोध एकैसाथ सम्भव छैन। कुरा त्यसो पनि होइन।

विकल्पहरूसँग सम्बन्धित जटिलतालाई सुल्झाउन हामीले प्रथमतः विचारमा शब्दको जालो बुन्नु र कुनै कुरा बुझ्नुबीचको फरक छुट्याउनुपर्ने हुन्छ। कुनै कुराको बोध भएर वा नभैकन पनि हामी विचारमा शाब्दिक अभिव्यक्ति दिनसक्छौं। उदाहरणका लागि, हामी मनमनै कुनै वैदेशिक भाषाको प्रार्थना वाचन गर्न सक्छौं, चाहे त्यसको अर्थ बुझौं या नबुझौं। अर्कातर्फ शब्दमा अभिव्यक्ति दिएर वा नदिइकन पनि हामी कुनै कुरा जान्न सक्छौं, जस्तो कि कसैलाई प्रेम गर्दा हुने अनुभव। 

ध्यानमा हुने विकल्पयुक्त र विकल्पमुक्त अवस्था कुनै कुरा बुझ्नु र नबुझ्नुसँग मात्र सम्बन्धित छैन। दैनिक जीवनमा जस्तै ध्यानमा पनि हामीले कुनै जानकारी वा बोध राख्नुपर्छ, चाहे त्यो विकल्पयुक्त होस् या विकल्पमुक्त, चाहे त्यसलाई हामीले शब्दमा विचार गरौं या नगरौं। कहिलेकाहीँ शब्दमा विचार गर्नु उपयोगी पनि हुन्छ, कहिलेकाहीँ पटक्कै हुँदैन। कहिलेकाहीँ आवश्यक नै पर्दैन। उदाहरणका लागि जुत्ताको तुना बाँध्ने कुरा लिऊँ। तुना कसरी बाँध्ने, त्यसको बोध हुनुपर्छ। तुना बाँध्दा यो तुनालाई यसो गर्छु, त्यो तुनालाई त्यसो गर्छु - यसरी शब्दमा सोच्नु आवश्यक पर्ला? पटक्कै पर्दैन। वास्तवमा, मलाई लाग्छ तुना कसरी बाँध्ने भनी शब्दमा व्यक्त गर्नुपर्यो भने हामीमध्ये धेरैलाई अति कठिन हुनेछ। यद्यपि यसको जानकारी त हामीलाई हुन्छ। यस्तो जानकारी वा बोधको अभावमा हामी जीवनमा केही पनि गर्न सक्दैनौं, होइन त? हामी एउटा ढोका खोल्न समेत सक्दैनौं। 

कतिपय परिप्रेक्ष्यमा शब्दीकृत गर्नु उपयोगी हुन्छ। अरूलाई सूचना दिन वा संवाद गर्न शब्दको उपयोग गर्नुपर्ने हुन्छ। तर सोचलाई शब्दीकृत गर्नु अति आवश्यक नै भने हुँदैन। शब्दीकरण आफैँमा निष्पक्ष हुन्छ, यसलाई हितकारी वा विनाशकारी दुवै ढंगले प्रयोग गर्न सकिन्छ। ध्यानका केही उपयोगी अभ्यास छन् जसमा शब्दको उपयोग गर्नुपर्ने हुन्छ। जस्तै, मनमनै मन्त्रको उच्चारण गरिरहनु शब्दीकरणको एक उदाहरण हो, जसले मनमा एक निश्चित प्रकारको लय वा स्पन्दन उत्पन्न गर्छ। मन्त्रले उत्पन्न गर्ने यस्तो नियमित लय अति उपयोगी हुन्छ। चित्तको कुनै अवस्थामा एकाग्र हुन यसले सहयोग गर्छ। उदाहरणका लागि, मैत्री र करुणाभाव विकास गर्नका लागि तपाईं ‘ओम् मणि पद्मे हुँ’ जस्तो कुनै मन्त्रजप गर्दै हुनुहुन्छ भने त्यस्तो मैत्रीपूर्ण अवस्थामा एकाग्र हुनुपर्ने हुन्छ। हुनत तपाईं मनमनै केही उच्चारण नगरीकनै पनि मैत्रीपूर्ण भावमा रहन सक्नुहुन्छ। त्यसैले शब्दको उपयोग आफैँमा समस्याजनक होइन। तर, मनले शब्दहरूको निरर्थक बकबक मात्र गरिरहेको छ भने त्यसलाई अवश्य पनि शान्त राख्नु पर्दछ।  

विकल्पयुक्त विचार भनेको हरेक चीजलाई मानसिक श्रेणीहरूमा वर्गीकृत गर्नु हो 

यदि विकल्प भनेको शब्दीकृत गर्नु वा कुराको बोध गर्नु होइन भने के हो त? विकल्पयुक्त मन के हो र ध्यानमा यसबाट मुक्त दिइने निर्देशन के हो? के यो निर्देशन ध्यानका सबै तह र स्तरमा लागू हुन्छ? के यो हाम्रो दैनिक जीवनमा पनि लागू हुन्छ? यी कुराहरूमा स्पष्ट हुनु जरुरी हुन्छ। 

विकल्पयुक्त मन हुनु भनेको मानसिक श्रेणीहरूमा वर्गीकृत गरेर सोच्नु हो, मानिलिऊँ तिनलाई अलग अलग डिब्बा मा हालेर हामी छुट्याउँदैछौं, जस्तो कि असल वा खराब, कालो वा सेतो, कुकुर वा बिरालो आदि। 

सपिङ्गमा गएको बेला हामीले स्याउ र सुन्तलाबीच फरक छुट्याउन सक्नुपर्छ, खासगरी पाकेको र काँचो फलबीचको फरक त छुट्याउनै पर्ने हुन्छ। दैनिक जीवनमा यसरी श्रेणीमा छुट्याएर सोच्नु समस्या होइन। तर यसरी गरिने वर्गीकरणका केही प्रकारले चाहिँ समस्या खडा गर्न सक्छन्। त्यसमध्ये एक हो “पूर्वाग्रह”। 

पूर्वाग्रहको एक उदाहरण होः “मलाई लाग्छ, तिमी मसँग सधैँ स्वार्थी व्यवहार गर्छौ। तिमी अति खराब मान्छे हौ किनकि तिमीले विगतमा पनि त्यस्तो व्यवहार गरेका थियौ। त्यसैले मलाई थाहा छ, तिमी खराब व्यवहार नै रहिरहनेछौ।” हामीले उक्त व्यक्ति खराब छ र हामीसँग सधैँ खराब नै व्यवहार गर्छ भन्ने कुराको फैसला पहिल्यै गरिसक्यौं। यो एक पूर्वाग्रह हो। आफ्नो सोचाइमा हामीले त्यो व्यक्तिलाई खराबको कोटीमा राखिसक्यौं, अर्थात् खराबको डिब्बाभित्र राखिसक्यौं। यो ढंगले सोच्दै हामीले उक्त व्यक्तिलाई “उ त स्वार्थी छ, मसँग सधैँ निकृष्ट व्यवहार गर्छ,” भन्ने कोणबाट हेर्यौं भने निश्चय नै आफू र उक्त व्यक्तिबीच एक ठूलो पर्खाल खडा हुनेछ। यो पूर्वाग्रहले तपाईं उसँग कस्तो व्यवहार गर्नुहुन्छ भन्ने कुरा निर्धारण गर्छ। त्यसैले पूर्वाग्रह मनकै एक अवस्था हो जसमा हामी चीजहरूको वर्गीकरण गर्छौं, तिनलाई आफ्नै मनका डिब्बाहरूभित्र हालेर हेर्छौं।

विकल्पमुक्त हुनु

विकल्पमुक्त अवस्थाका थुप्रै स्तरहरू छन्, जसमध्ये एक हो – कुनै परिस्थिति उत्पन्न भयो भने त्यसलाई सामान्यरूपमा, खुलापनका साथ लिने। त्यसको मतलब हामीले सबै विकल्पयुक्त बुझाइलाई त्याग्नुपर्छ भन्ने होइन। उदाहरणका लागि, कुनै कुकुरले धेरै मानिसलाई टोकिसकेको छ भने त्यसलाई “यो एक टोक्ने कुकुर हो” भनेर जान्नु जरुरी हुन्छ ताकि उक्त कुकुर छेउछाउ हुँदा हामी सतर्क रहन सकौं। त्यसो हुँदा हामी उसको नजीक पर्दा उचित सावधानी अपनाउँछौं, तर यस्तो पूर्वाग्रह राख्दैनौं – “यो कुकुरले मलाई अवश्य नै टोक्नेछ, त्यसैले यसको छेउमै जादिँन।” यहाँ हामी उत्पन्न परिस्थितिलाई स्वीकार गर्ने र त्यसप्रति पूर्वाग्रह नराख्नेबीच मिहीन सन्तुलन राख्छौं। पूर्वाग्रह भयो भने परिस्थितिलाई पूर्णरूपमा अनुभव गर्न सकिँदैन। 

सबै प्रकारका ध्यानमा आवश्यक विकल्पमुक्तताको अवस्था त्यो हो जहाँ चित्त पूर्वाग्रहहरूबाट मुक्त होस्। 

एक सामान्य निर्देशन के हो भने ध्यान गर्दा कुनै अपेक्षा नराखी तथा कुनै चिन्ता नलिई गर्नुपर्छ। मलाई राम्रोसँग ध्यान लाग्नुपर्छ भन्ने अपेक्षा, ध्यानमा बस्दा खुट्टामा पीडा होला भन्ने चिन्ता, वा “म सफल हुन्न होला” भन्ने सोच – यी ध्यानसम्बन्धी पूर्वाग्रह हुन्। चाहे तपाईं यस्ता अपेक्षा वा चिन्तालाई मनमनै शब्दीकृत गर्नुहोस् या नगर्नुहोस्, यी पूर्वाग्रह नै हुन्। यस्तो सोचले तपाईंको ध्यान सत्रलाई “विलक्षण अनुभव” वा “पीडादायी अनुभव” भन्ने मानसिक श्रेणी वा “डिब्बा” भित्र बन्द गरिदिन्छन्। ध्यानको विकल्पमुक्त पद्धतिमा जेजस्तो अनुभव भएपनि त्यसलाई सहजतापूर्वक स्वीकार गरिन्छ, दिइएको निर्देशनअनुसार त्यसलाई लिइन्छ, र परिस्थितिलाई आफ्नो पूर्वाग्रही कोणबाट हेरिँदैन।

सारांश

विकल्पात्मक विचारका प्रकारहरूका बारेमा ज्ञान नहुँदा हामी यस्ता हरेक विचार ध्यान साधनाका लागि मात्र होइन कि दैनिक जीवनयापनका क्रममा पनि हानिकारक हुन्छन् भन्ने मिथ्या धारणा कल्पित गर्न सक्छौं। ध्यानका धेरैजसो पद्धतिमा मनभित्र कुरा खेल्ने क्रमलाई शान्त गर्नुपर्छ र सबै प्रकारका पूर्वाग्रहहरूलाई छाड्नुपर्छ। तर उच्चकोटिका अभ्यासीबाहेक अरुका हकमा कुनै पनि कुरालाई बोध गर्न ती चीजलाई मानसिक श्रेणीहरूमा विभाजन गरेर हेर्नुपर्ने हुन्छ, चाहे त्यसलाई शब्दमा व्यक्त गरियोस् या नगरियोस्। ध्यानको अभ्यासमा र अरु बेला पनि यो कुरा लागू हुन्छ।

Top