ध्यानका लागि सहयोगी वातावरण
ध्यान अभ्यास शुरु गर्नुपूर्व त्यसका लागि सहयोगी वातावरण आवश्यक हुन्छ। ध्यानमा सहयोग गर्ने तत्त्वहरूका थुप्रै सूची उपलब्ध छन्। तर ती सबै ध्यान शिविर सञ्चालन गर्नेसँग सम्बन्धित छन् र शिविरको सन्दर्भमा तिनको चर्चा गर्ने गरिन्छ जबकि हामीमध्ये धेरै घरमै ध्यान गर्छौं।
तर घरमै गरेपनि ध्यानका लागि सबैभन्दा आवश्यक कुरा भनेको व्यवधानमुक्त वातावरण हो। ध्यान गर्ने ठाउँको वातावरण जतिसक्दो शान्त हुनुपर्छ। हामीमध्ये कतिजना धेरै गाडीहरू आवतजावत गर्ने होहल्लापूर्ण सडक क्षेत्रमा बस्छौं। त्यसैले बिहान सवेरै वा राती अबेला गरी ध्यान गर्न सजिलो हुन्छ किनकि त्यतिबेला गाडीको हल्ला कम हुन्छ। त्यस्तै आफूले ध्यान गर्ने कोठा वरिपरि संगीत वा टेलिभिजनको हल्ला हुनु हुँदैन। यस्तो कुरा धेरै महत्त्वपूर्ण हुन्छ। वातावरण शान्त छैन भने कानमा बुजो (इयरप्लग) हालेर पनि अभ्यास गर्न सकिन्छ। यसले सबै आवाज बन्द त गर्दैन तर तिनको ध्वनिको बेग कम हुन्छ।
हामीमध्ये कतिपयसँग छुट्टै ध्यान कक्ष राख्ने क्षमता हुँदैन। तर तपाईंले आफूसँग जुन ठाउँ छ, त्यसैलाई उपयोग गर्न सक्नुहुन्छ। आफ्नो ओछ्यानमा पनि ध्यान गर्न सक्नुहुन्छ, त्यसमा केही आपत्ति छैन। भारतमा रहेका धेरै तिब्बतीहरू आफ्नो ओछ्यानमै ध्यान गर्छन्।
ध्यानका लागि अर्को महत्त्वपूर्ण कुरा भनेको सफा र व्यवस्थित कोठा हो। यदि वातावरण सफा र व्यवस्थित छ भने यसले हाम्रो चित्तलाई पनि सफा र व्यवस्थित राख्न सहयोग गर्छ। कोठा लथालिंग, छरपष्ट र फोहोरी छ भने चित्त पनि त्यस्तै हुन थाल्छ। त्यसैले ध्यानका लागि आवश्यक पूर्वतयारीमध्ये एक आफ्नो ध्यान कोठालाई सफा राख्ने हो। त्योसँगै केही कुरा चढाउने (अर्पण) गर्दा राम्रो हुन्छ, चाहे एक गिलास पानी नै किन नहोस्। हाम्रो उद्देश्य आफूले जे गर्दैछु, त्योप्रति सम्मानको भाव राख्ने हो। यदि हाम्रो उद्देश्य बुद्ध र बोधिसत्त्व आफ्नो ध्यान कक्षमा आइदिऊन् भन्ने हो भने पक्कै पनि हामी त्यो कक्षलाई फोहोर र अस्तव्यस्त बनाएर राख्दैनौं होला। सामान्य मनोवैज्ञानिक स्तरबाट हेर्दा पनि हामी जे गर्दैछौं, त्यसप्रति आदरको भाव हुनु र त्यसलाई एक विशिष्ट कार्यको रूपमा लिनु आवश्यक हुन्छ। तर विशिष्ट भन्नाले एकदमै भिन्न वातावरण र हलिउडको सिनेमामा देखिनेजस्तो धूप र मैनबत्ती बलिरहेको साजसज्जायुक्त कोठा हामीलाई चाहिने होइन, अपितु एक सरल, सफा, स्वच्छ, र सम्मानको भाव आउने वातावरण होस् भन्ने मात्र हो।
ध्यानको आसन
विभिन्न एशियाली देशहरूमा ध्यानका लागि फरकफरक शारीरिक आसनहरू अथवा बस्ने तरीका प्रयोग गर्ने गरेको पाइन्छ। भारत, तिब्बत, चीन, जापान र थाइल्याण्डमा ध्यानका लागि बस्ने तरीका फरकफरक छन्। त्यसैले कुनै एक बस्ने तरीका मात्र सही हो भन्न सकिँदैन। भारतीय र तिब्बतीहरू पलेँटी कसेर बस्छन्। जापानीहरू र केही चीनियाँहरू खुट्टा दोबारेर बस्छन्। थाइल्याण्डमा आफ्नो खुट्टा एक साइडमा राखेर बस्छन्। तन्त्रका अभ्यासहरूमा शरीरको उर्जालाई व्यवस्थित गर्नुपर्ने भएकाले पूर्ण पद्मासनमा बस्नुपर्ने हुन्छ। तर हामीमध्ये धेरै त्यसमा बस्न अभ्यस्त हुँदैनौं। तपाईंलाई तन्त्रको यस्तो अभ्यासमा बस्ने इच्छा छ भने उमेर सानै हुँदा पूर्ण पद्मासनमा बस्ने अभ्यास शुरु गरिहाल्नुपर्छ किनकि उमेर ढल्दै गएपछि शरीरलाई उक्त आसनमा अभ्यस्त बनाउन धेरै कठिन हुन्छ। पश्चिमी जगतका मानिसले यीमध्ये कुनै एक तरीकाको ध्यान आसनमा बस्ने अभ्यास गर्न सक्नुहुन्छ। त्यसरी बस्न सकिएन भने कुर्सीमा बस्दा पनि हुन्छ। तर जुन आसन छाने पनि ध्यानका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ ढाडलाई सीधा गरेर बस्नु हो।
आँखाको दृष्टि
ध्यानको बेला आँखा के गर्ने? कुनै ध्यानमा आँखालाई बन्द राखिन्छ, कुनैमा खुला। कुनैमा दृष्टिलाई तल राख्नुपर्छ भने कुनैमा माथि। यो ध्यानको तरीकामा भर पर्छ। सामान्यता तिब्बती परम्परामा ध्यानमा आँखा बन्द गर्न लगाईंदैन। आँखा बन्द गर्दा निदाइने सम्भावना त छँदैछ, त्यसका अतिरिक्त हामीमा ध्यान भनेको आँखा बन्द गरेर मात्र गर्ने अभ्यास हो भन्ने एकखालको मानसिक बानी पर्न जान्छ। यसले हाम्रो ध्यानको अभ्यासमा अवरोध हुन सक्छ। किनकि यस्तो बानी पर्नु भनेको ध्यानद्वारा विकसित चित्तावस्थालाई वास्तविक जीवनमा उतार्न कठिन हुनु हो। उदाहरणका लागि, हामी कसैसँग कुरा गर्दैछौं भने त्योबेला अर्को मानिसप्रति प्रेमपूर्ण मैत्रीभाव जागृत गर्न आँखा चिम्म गर्नुपर्ने भयो भने अवस्था सहज हुँदैन। त्यसैले तिब्बती परम्पराको धेरैजसो ध्यानमा आँखालाई आधा खुला राखिन्छ, दृष्टिलाई हलुका राख्दै जमीनतिर हेर्ने गरिन्छ।
बस्ने चकटी
तपाईं पलेँटी कसेर भूईंमा बस्नुहुन्छ भने आफू बस्ने चकटी राम्रोसँग छान्नु आवश्यक हुन्छ। कोही भूईंमा त्यत्तिकै बस्न सक्छन्, उनीहरूको खुट्टा निदाउँदैन। परम पूजनीय दलाई लामा आफ्नो शिक्षणको आसनमा बस्दा यस्तै सहज रूपमा बस्नुहुन्छ। तर हामीमध्ये धेरैजना चकटीबिना भूईंमा बस्यौं भने हाम्रो खुट्टा निदाउन थाल्छ। यस्तो समस्या छ भने आफ्नो चाकमुनि एउटा चकटी राख्नुहोस् ताकि तपाईंको कम्मरको भाग घुँडाभन्दा अग्लो होस्। आफूलाई सहज हुने चकटी लिनुहोस्। हरेक मान्छेको प्रकृति फरक हुन्छ, कसैलाई मोटो चकटी सजिलो लाग्ला कसैलाई पातलो, कसैलाई कडाखालको सजिलो लाग्ला, कसैलाई नरम। जस्तो भए पनि आफू सहजतापूर्वक बस्न मिल्ने चकटी लिनुहोस् ताकि ध्यानमा खुट्टा ननिदाओस् किनकि खुट्टा निदायो भने हामीलाई धेरै असहज हुन्छ। कैयौं बौद्ध केन्द्रहरूमा गोलो अथवा चौकुने मोटो अग्लो चकटी प्रयोग गरेको पाइन्छ, तर यस्तो खालको जेन पद्धतिको चकटी जापानीहरू बस्ने आसनका लागि उपयुक्त हुन्छ जसमा खुट्टा दोबारेर बसिन्छ। तर कसैलाई पलेँटी कसेर बस्न सहज लाग्छ भने यस्तो अग्लो मोटो चकटी उपयुक्त नहुन सक्छ। तपाईंको ध्यान केन्द्रमा यस्तो मोटो अग्लो चकटी मात्र उपलब्ध छ तर तपाईं पलेँटी कसेर बस्नुहुन्छ भने आफ्नै चकटी लिएर जानु उपयुक्त हुन्छ।
कुनबेला ध्यान गर्ने
धेरै मानिसका लागि बिहान उठ्ने बित्तिकै वा राति सुत्नुभन्दा ठीक अगाडि ध्यान गर्न सबैभन्दा उचित हुन्छ किनकि त्यतिबेला दैनिक जीवनको व्यवहारले कमसेकम बाधा गर्छ। कोही “बिहानका चरा” हुन्छन्, कोही “रातका उल्लु” – अर्थात् कसैलाई बिहानको समय होशमा रहन बढी सजिलो हुन्छ, कसैलाई रातिको समय। आफ्नो स्वभाव वा जीवनशैलीका बारेमा तपाईंलाई जत्ति ज्ञान अरुलाई हुँदैन। त्यसैले दिनको कुन समय सबैभन्दा उपयुक्त हुन्छ, तपाईं आफैँ निर्धारण गर्नुहोस्।
तर निद्राले ग्रस्त भएको बेला ध्यान गर्ने सल्लाह कदापि दिईंदैन। तपाईंलाई राति निद्रा लागिरहेको छ र ओछ्यानमा जानुअघि ध्यान गर्न बस्नुभयो भने ध्यानको बीचमै निदाउन सकिन्छ। यसले फाइदा हुँदैन। त्यस्तै बिहान सबेरै तपाईंको निद्रा खुलिसकेको छैन भने त्योबेला पनि ध्यान गर्दा धेरै फाइदा हुँदैन। आफ्नो लागि सबैभन्दा उपयुक्त समय कुन हुन्छ, आफैं निर्णय गर्नुपर्छ। बिहान सबेरै ध्यान गर्ने हो भने चिया वा कफी खाएर ध्यान गर्न सक्नुहुन्छ, त्यसमा कुनै रोकटोक छैन। तर अधिकांश तिब्बतीहरू त्यसो गर्दैनन्।
मेरा गुरु चेन्शाब सेरकोंग रिन्पोछे परम पूजनीय दलाई लामाका पनि एक गुरु हुनुहुन्थ्यो। उहाँ आफूले अध्ययन गरेका तिब्बती तान्त्रिक कलेज–गुम्बाहरूमा कसरी ध्यान गरिन्थ्यो भन्ने कुराको संस्मरण सुनाउनुहुन्थ्यो। सबै भिक्षुहरू ध्यान हलमा बस्थे, तिनीहरू त्यहीँ सुत्थे – आफ्नै आसनमा, छेउका साथीको काखमा टाउको राखेर। तिब्बतीहरू शारीरिक स्पर्शलाई सहज रूपमा लिन्छन्। बिहान सखारै उनीहरूका लागि घण्टी बज्थ्यो। घण्टी बजेपछि उनीहरू उठ्नुपर्थ्यो र त्यहीँ आफ्नो ध्यान तथा जपहरू गर्न शुरु गर्नुपर्थ्यो। तर त्यो पक्कै पनि सहज हुँदैनथ्यो। तपाईं मध्यरातमा उठेर तत्काल बिरामीको अपरेशन अथवा उपचार गर्न थालिहाल्ने बानी परेको डाक्टरजस्तो भए त बेग्लै कुरा होला, तर निद्राबाट उठ्दाउठ्दै ध्यानमा बसिहाल्न धेरै नै कठिन हुन्छ।
कति लामो ध्यान गर्ने
तपाईं भरखर भरखर ध्यानको अभ्यास शुरु गर्दै हुनुहुन्छ भने आफ्नो ध्यानको सत्र छोटो राख्नुहोस्। बरु यस्तो छोटो सत्र धेरैपटक राख्नुहोस्। नयाँ नयाँ अभ्यासीका लागि एकै पटक घण्टौंसम्म एक आसनमा बसेर ध्यान गर्न खोज्नु एकदमै कष्टपूर्ण हुन्छ। केही ध्यान केन्द्रहरूमा त्यस्तो लामोलामो अभ्यास गराइन्छ, तर तिब्बती परम्परामा यस्तो अभ्यासलाई दुरुत्साहित गरिन्छ। किनकि यदि ध्यान कष्टपूर्ण काम बन्यो भने तपाईंलाई ध्यान गर्न मन नै लाग्दैन। तपाईं आफ्नो ध्यान सत्र कहिले अन्त होला भनेर कुरिरहनु हुन्छ। त्यसैले शुरुशुरुमा ध्यान गर्दा पाँच मिनेट जस्तो गर्नुहोला, त्यो पर्याप्त हुन्छ। कतिपय थेरवाद विहारहरूमा बसेर गर्ने ध्यानपछि हिँड्ने ध्यान गरिन्छ, त्यसो गर्दा साधकहरू एकैपटक एउटै खालको ध्यान असाध्यै लामो समयसम्म गर्नबाट बच्छन्।
यसलाई तिब्बतीहरू एक उदाहरणका माध्यमले प्रष्ट्याउँछन्ः मानिलिऊँ तपाईको घरमा कुनै साथी आयो। उ ज्यादै धेरै समय तपाईंको घरमा बस्यो भने उ कतिखेर जाला भनेर सोच्न थाल्नुहुन्छ, तपाई व्यग्र हुनुहुन्छ। र, जब साथी जान्छ, उ फेरी फर्केर आवोस् भन्ने तपाईंलाई कुनै चाहना हुँदैन। तर यदि त्यो साथी अझै केहीबेर बसिदिए हुन्थ्यो भन्ने लाग्दा लाग्दै जान्छ भने उ फेरी फर्केर आउँदा तपाईंलाई खुशी लाग्नेछ। त्यस्तै तपाईंको ध्यानको आसन, चकटी, र ध्यानको अवधि सबै तपाईंलाई आराम दिने खालको हुनुपर्छ ताकि तपाईंलाई आफ्नो अभ्यास फेरीफेरी गर्न पाए हुन्थ्यो भन्ने लागोस्।
लक्ष्य लिनुहोस्
ध्यान शुरु गर्नुपूर्व आफ्नो लक्ष्य निश्चित गर्नु जरुरी हुन्छ। वास्तवमा तपाईंले बिहान निद्राबाट बिऊँझेर आँखा खुल्नेबित्तिकै पहिलो कामको रूपमा लक्ष्य निश्चित गर्नु जरुरी हुन्छ। आँखा खुल्नेबित्तिकै ओछ्यानमै भएको बेला तपाईंले आफ्नो दिनको लक्ष्य निर्धारण गरिहाल्नु पर्दछ। जस्तैः “आज दिनभर म रिसाउँदिन। म बढी धैर्यवान बन्ने प्रयत्न गर्नेछु। म अरुप्रति अझ ज्यादा सकारात्मक भावको विकास गर्नेछु। म आजको दिनलाई खेर जान दिनेछैन, यसलाई सार्थक बनाउनेछु।”
जेन परम्परमा एक औधी सुन्दर कोअन (उक्ति) छ – “मृत्यु कुनै पनि बेला घटित हुन सक्छ। त्यसैले निश्चिन्त होऊ।” यो मलाई मनपर्ने कोअन हो। यसलाई अलि गहिरिएर सोच्ने हो भने यसको गहनता बुझ्नुहुनेछ। आफ्नो मृत्यु कुनै पनि बेला आउन सक्छ भनेर तनावग्रस्त, भयभीत वा चिन्तित हुनुभयो भने तपाईंले केही काम पनि गर्न सक्नुहुने छैन। तपाईंलाई यस्तो विचार आउन सक्छः “मैले चाहिनेजति काम गरेको छुईंन। म काम लाग्ने मान्छे हुईंन।” तर यदि तपाईंलाई थाहा भयो कि मृत्यु कुनै पनि बेला आउन सक्छ, र तपाईं यो कुरालाई सहजतापूर्व लिएर निश्चिन्त हुन सक्नुभयो भने तपाईं आफूले गर्नसक्ने जति काम गर्नुहुनेछ। तपाईं त्यसलाई अर्थपूर्ण ढंगले, यथार्थमा आधारित भएर, चिन्तित वा भयभीत अथवा तनावग्रस्त नभैकन गर्नसक्नु हुनेछ। त्यसैले यो उक्तिलाई स्मरणमा राख्ने प्रयत्न गर्नुहोला – मृत्यु कुनै बेला पनि घटित हुन सक्छ, निश्चिन्त होऊ!
ध्यान शुरु गर्नुपूर्व आफ्नो लक्ष्य निर्धारण गर्नुहोस् – “म यति मिनेटसम्म ध्यान गर्नेछु। म चित्तलाई एकाग्र गर्ने प्रयत्न गर्नेछु। यदि निदाउन लागेको थाहा भयो भने म आफूलाई जागा बनाइहाल्नेछु। मेरो चित्त यताउति भट्कियो भने म त्यसलाई फेरी आफ्नो ध्यानमा ल्याउने प्रयत्न गर्नेछु।” यसलाई हामीले गम्भीरतापूर्वक लिन्छौं, खोक्रो शब्द मात्र बन्न दिँदैनौं। आफ्नो लक्ष्यलाई मनमा राख्नुहोस्, र यसलाई पालना गर्ने प्रयत्न गर्नुहोस्। आफ्नो लक्ष्यमा कायम रहन सजिलो छैन। यदि तपाईंले आफ्नो ध्यानको सत्रलाई अरुथोक सोच्ने काममा व्यतीत गर्नुभयो भने त्यो एक खराब बानीको रूपमा विकास हुनेछ, चाहे त्यो धर्मकै अन्य विषयमा सोच्ने काम किन नहोस्। यस्तो बानी छुटाउन धेरै गाह्रो पर्छ। म अनुभवको आधारमा भन्दैछु, यस्तो बानी छुटाउन धेरै गाह्रो पर्छ। त्यसैले ध्यानको सत्रभन्दा अगाडि एक सही लक्ष्य निर्धारित गर्ने, र त्यसलाई राम्रोसँग पछ्याउने प्रयत्न गर्नु आवश्यक हुन्छ।
ध्यानको प्रेरणा
अर्को काम प्रेरणाको निर्धारण हो। तिब्बती बुद्धधर्मको सन्दर्भमा हेर्ने हो भने प्रेरणाका दुई घटक हुन्छन्ः पहिलो त लक्ष्य होः हामीले प्राप्त गर्न खोजेको खासमा के हो? ध्यानका मानक लक्ष्यहरूको चर्चा “बोधि मार्गक्रम” (लाम–रिम) मा गरिएको छ। लाम–रिममा बताइएअनुसार ध्यानका लक्ष्यहरू हुन्ः (क) भविष्यका जन्महरूको सुधार, (ख) पुनर्जन्मबाट पूर्ण विमुक्ति, र (ग) बोधिको प्राप्ति, जसबाट तपाईंले अरू सबैलाई पनि पुनर्जन्मको चक्करबाट मुक्ति दिलाउन सहयोग गर्न सक्नुहुनेछ। प्रेरणाको दोश्रो घटक होः चित्तको त्यस्तो भाव (मनोभाव) जसले हामीलाई यी लक्ष्यहरूमा पुर्याउँछ।
ध्यानको प्रेरणाको बारेमा सोच्दा आफैँप्रति इमान्दार हुनु आवश्यक हुन्छ। के म साँच्चिकै पुनर्जन्ममा विश्वास गर्छु? हामीमध्ये धेरै पुनर्जन्ममा विश्वास गर्दैनौं। पुनर्जन्ममा विश्वास नहुँदा यसो भन्नु खोक्रो शब्दजाल मात्र हुनेछ – “म यो अभ्यास गर्दैछु ताकि म फेरी अर्कोपटक अमूल्य मानव चोला प्राप्त गर्न सकुँ।” अथवा, “म यो ध्यान गर्दैछु ताकि म पुनर्जन्मको चक्करबाट पूर्ण रूपमा मुक्त हुन सकुँ।” वा, “म यो ध्यान गर्दैछु ताकि म बोधि प्राप्त गर्न सकुँ र अरु सबैलाई पुनर्जन्मको चक्करबाट मुक्ति दिलाउन सकुँ।”
त्यसैले तपाईं मैले भन्ने गरेको “धर्म–लाइट” को सन्दर्भमा ध्यानको अभ्यास गर्न चाहनुहुन्छ भने पनि ठीकै छ। यो “धर्म–लाइट” पुनर्जन्म बाहेकको बुद्धधर्म हो। तपाईंले अरु कसैलाई भन्नु परेन, तर आफ्नो प्रेरणाका बारेमा आफैंसँग चाहिँ इमान्दार हुनुहोस्। “म यो अभ्यास गर्दैछु ताकि म यही जीवनमा आफ्नो स्थितिलाई सुधार्न सकुँ” – यस्तो प्रेरणा पनि ठीकै छ। बस्, हामी आफूसँग चाहिँ इमान्दार हुनुपर्छ। अर्कोतर्फ मैले भन्ने गरेको “द रियल थिङ्ग धर्म” को सन्दर्भमा चाहिँ आधिकारिक रूपमा स्थापित दीर्घकालीन लक्ष्यहरूप्रति श्रद्धा हुनु जरुरी हुन्छ र वर्तमान जीवनकालमा आफ्नो स्थिति सुधार्नका लागि मात्र बुद्धधर्मको अभ्यास गर्ने हो भन्ने ढंगबाट सोच्नु हुँदैन।
प्रेरणाको दोस्रो घटक, अर्थात् हामीलाई आफ्नो लक्ष्यमा पुग्न सघाउने मनोभाव, का लागि रियल-थिङ्गको सन्दर्भमा यस्तो प्रेरणा हुन्छः “म भविष्यको जन्ममा पनि अमूल्य मानव चोला नै प्राप्त गर्ने कामना राख्छु (लक्ष्य) किनकि एक झिंगा, वा साङ्ला, वा त्यस्तै अन्य कुनै निम्नकोटीको चोला पाउनु भनेको कति कष्टकर हुन्छ भन्ने मलाई थाहा छ (मनोभाव)। मलाई यस्तो भविष्य चाहिएको छैन, यसबाट मुक्ति पाउन सकिन्छ भन्ने कुरामा म पूर्ण विश्वस्त छु।” त्यस्तै धर्म लाइटको सन्दर्भमा प्रेरणा यस्तो खालको हुन्छः “म यी चीजहरू जीवनमा पछिसम्म कायम रहुन्, र अझ राम्रो हुँदै जाऊन् भन्ने चाहना राख्दछु (लक्ष्य) किनकि मलाई थाहा छ, परिस्थिति बिग्रियो भने कति ब्याकुलतापूर्ण अवस्था हुनसक्छ (मनोभाव)। मलाई थाहा छ, रचनात्मक कार्यहरू गरेर म त्यस्तो अवस्थालाई रोक्न सक्छु।” दुवै सन्दर्भमा हामीले लिने भय भनेको किंकर्तव्यविमूढ बनाउने खालको भय होइन, किनकि हामी यसरी सोच्दैनौं – “मेरो लागि केही आशा बाँकी छैन। म त बर्बाद भैसकेको छु।” बरु यस्तो स्वस्थकर ढंगले सोच्छौं – “मलाईं त्यस्तो अवस्था चाहिएको छैन। र, मलाई थाहा छ यस्तो अवस्थाबाट बच्न सकिन्छ।” यो त्यस्तै भय हो जुन हामी गाडी चलाइरहेको बेला दुर्घटनाबाट जोगिनका लागि लिन्छौं। हामी सावधान रहन्छौं, तर गाडी चलाउन नसक्ने गरी भयले स्तम्भित हुँदैनौं।
रियल-थिङ्ग धर्मको दोस्रो स्तरमा यस्तो प्रेरणा लिइन्छः “म पुनर्जन्मका कारण हुने सबै दुःखहरूबाट पूर्ण आजित भैसकेँ, यसबाट मलाई घृणा हुन थालिसक्यो, दिक्क लाग्न थालिसक्यो (मनोभाव)।” त्यागको पछाडिको मनोभाव अथवा आवेग हाम्रो यस्तो प्रेरणाले गर्दा हुन्छः “फेरी एक नवजात शिशुको रूपमा जन्मिनु एकदमै झुर काम हो। फेरी हरेक चीज शुरुदेखि नै सिक्न थाल्नुपर्छ। फेरी स्कूल जानुपर्छ र जीविका कसरी चलाउने भन्ने चिन्ता गर्नुपर्छ। पुनः पुनः बिरामी पर्नुपर्छ र बुढो हुनुपर्छ। यो साँच्चिकै वाक्कलाग्दो काम हो। यो त एक खराब फिल्मलाई बारम्बार दोहोर्याएर हेरिरहनु जस्तै हो। यो असाध्यै दिक्कलाग्दो काम हो। मलाई त अब पुग्यो बा!”
प्रेरणाको सबैभन्दा माथिल्लो स्तरमा हामी पूर्ण बुद्धत्त्वको प्राप्ति (लक्ष्य) का लागि बोधिचित्तको संकल्प लिन्छौं, जसलाई करुणा (मनोभाव) ले निर्देशित गरेको हुन्छ। हामी सोच्छौंः “हरेक मानिस यसैगरी दुःख भोगिरहेका छन्। म यो कुरा सहन सक्दिन। त्यसैले मैले त्यस्तो अवस्था हासिल गर्नुछ जसबाट म सबैलाई दुःखबाट मुक्त हुन सहयोग गर्न सकुँ।”
आफ्नो लक्ष्य हासिल गरिसकेपछि के गर्ने भन्ने कुरा पनि प्रेरणाले समेट्छ। यदि हामी महायान पद्धतिमा अभ्यास गर्दैछौं भने प्रेरणाको प्रत्येक स्तरमा हाम्रो प्रयत्न बोधि प्राप्त गर्नेतर्फ नै केन्द्रित हुन्छ। बोधि प्राप्तिको लक्ष्यमा पुगिसकेपछि त्यसैले हाम्रो अगाडिको बाटो प्रशस्त गर्छ।
धर्म–लाइटको स्तरमा अभ्यास गर्दा हामी आफ्नो वर्तमान जीवनकालमै बोधि प्राप्तिको लक्ष्यमा जतिसक्दो प्रगति गर्ने प्रयत्न गर्छौं। हामी अबोधजस्तो भएर बोधि प्राप्त गर्न सजिलो छ भन्दै बस्ने तर जीवनको अन्ततिर पुग्न लाग्दा बोधि प्राप्त गर्न नसकी निराश र हतास हुने काम गर्दैनौं।
- रियल–थिङ्गको स्तरमा अभ्यास गर्दा प्रेरणाका तीन तहमध्ये पहिलोमा यस्तो भाव राखिन्छ – “म फेरी पनि अमूल्य मानव चोला प्राप्त होस् भन्ने कामना गर्छु, ताकि बोधिको मार्गमा निरन्तर अगाडि बढ्न सकुँ। यो लक्ष्य हासिल गर्न धेरै जीवनकालको प्रयत्न चाहिन्छ।”
- दोस्रो तहमा यस्तो भाव राखिन्छ – “म कर्म र क्लेशहरूबाट मुक्ति चाहन्छु। किनकि यदि म अरुसँग रिसाएँ अथवा उनीहरूप्रति आसक्त भएँ भने वा लहडको वशमा परी काम गर्न थालेँ भने उनीहरूको सहायता गर्न सक्दिन। त्यस्तै अहंकार गरेँ वा दम्भ देखाएँ भने पनि अरुको सहायता गर्न सक्दिन। त्यसैले पहिले त मैले आफैँ मुक्ति पाउनु छ।”
- सबैभन्दा माथिल्लो तहमा यस्तो भाव राखिन्छ – “म बोधि प्राप्त गर्न चाहन्छु ताकि प्रत्येक व्यक्तिलाई सहयोग गर्ने सबैभन्दा उत्तम उपाय के हो भन्ने कुराको पूर्ण ज्ञान मलाई होस्।”
प्रेरणाको महत्त्व एकदमै ठूलो छ। चोङ्खापाले त के भन्नुभएको छ भने ध्यान सत्रको शुरुवातमा मात्र होइन, हामीले दिनभर नै आफ्नो प्रेरणालाई कायम राख्नुपर्छ। फेरी, यस्तो प्रेरणा लिनु भनेको सुन्नलाई राम्रो लाग्ने शब्दहरू बोल्नु मात्र होइन, यसलाई हामीले गम्भीरतापूर्वक लिएको हुनुपर्छ। तर गम्भीरतापूर्वक लिनु भनेको के हो? यसको अर्थ हो, हामीले ध्यानको अभ्यासद्वारा यो प्रेरणालाई भित्रैदेखि यति गहिरोसँग आत्मसात गरेको हुनुपर्छ कि यो हाम्रा लागि एक यथार्थ र सहज मनोभाव बनोस् तथा हाम्रो दैनिक जीवनको एक अभिन्न अंगका रूपमा रहोस्।
ध्यानअघि चित्तलाई शान्त राख्नु
ध्यानका लागि सहयोगी भौतिक वातावरणको निर्माण तथा आफ्नो लक्ष्य र प्रेरणाको निर्धारण गरिसकेपछि हामीले आफ्नो चित्तलाई शान्त राख्नुपर्छ। प्रायः त्यसका लागि श्वासको संख्या गन्ने या त्यस्तै कुनै प्रकारले श्वासमा ध्यान केन्द्रित गरी अभ्यास गरिन्छ। श्वासमा ध्यान केन्द्रित गर्ने धेरै तरीकाहरू छन्। तर सामान्यतया नाकबाट श्वास भित्र–बाहिर गैरहेकोलाई याद गर्ने, त्यसलाई एघारपल्टसम्म गन्ने, र यो क्रमलाई केही पल्ट दोहोर्याउनु पर्याप्त हुन्छ। यसरी आफ्नो चित्तलाई शान्त गर्दा हामीलाई ध्यान गर्नुअघिको आफ्ना क्रियाकलाप र ध्यान अभ्यासका बीचमा एक शून्य समय प्राप्त हुन्छ। यस्तो शून्य समयले हाम्रो दैनिक जीवनका व्यस्तताबाट ध्यान अभ्यासमा प्रवेश गराउने सेतुको काम गर्छ।
सप्ताङ्ग अभ्यास
ध्यान सत्रको शुरुवात गर्नुपूर्व हामीले केही सकारात्मक उर्जा सञ्चय गर्नु उपयोगी हुन्छ। यसका लागि हामी “सप्ताङ्ग प्रार्थना” अथवा “सप्ताङ्ग अभ्यास” को प्रयोग गर्न सक्छौं। यहाँ “अङ्ग” को अर्थ “चरण” हुन्छ।
(१) शरणगमन र बोधिचित्तसहित वन्दना (ढोग)
पहिलो चरण हो, बन्दना। यसको अर्थ जसले बोधि प्राप्त गरिसकेको छ, उप्रति सम्मान व्यक्त गर्नु हो। त्यस्तै हाम्रो आफ्नै बोधिको कामनाप्रति पनि सम्मान गर्नु हो, जसको लक्ष्य हामीले बोधिचित्तको भावनाका साथ लिएका छौं। यसमा हामी आफ्नै तथागतगर्भ (बुद्ध–स्वभाव) प्रति सम्मान प्रकट गर्छौं, जसले हामीलाई आफ्नो लक्ष्यको नजीक पुर्याउँछ। त्यसैले आफूलाई शरणगमनको सुरक्षित मार्ग दिन र बोधिचित्तको लक्ष्यलाई सुदृढ गर्ने सन्दर्भमा ढोगको अभ्यास गरिन्छ। हामीले लिन खोजेको जीवनको सुरक्षित दिशाको प्रतिनिधित्व बुद्धहरू, उनीहरूको धर्म अभ्यास तथा उनीहरूले हासिल गरेका उपलब्धि, तथा संघले गर्छन् जो आफैं पनि विमुक्ति र बोधि प्राप्तिको लक्ष्यतर्फ निकै अगाडि बढिसकेका छन्। बोधिचित्तको लक्ष्यका साथ हामी आफ्नो चित्त र हृदयलाई आफैं बुद्ध बन्ने मार्गमा अग्रसर गराउँछौं।
(२) पूजन (अर्पण)
दोस्रो चरण हो, अर्पण। यसको प्रयोजन पनि सम्मान व्यक्त गर्नु नै हो।
(३) प्रतिदेशना (दोषहरूको स्वीकारोक्ति)
अर्को चरण हो, आफ्ना गल्ती र दोषहरूको खुला स्वीकारोक्ति। यसको मतलब आफ्ना गल्तीहरूका कारण अपराधबोधको भावना लिनु होइन, किनकि ध्यानमा अपराधबोध उचित होइन। अपराधबोध भनेको आफूले गरेका कुनै काम पकडेर बस्ने र यसको जिम्मेवार आफैंलाई मात्र ठान्ने, आफ्नो कामलाई खराब हो भनी ट्याग लगाउने, र त्यसमै अल्झेर बस्ने हो। यो त कस्तो भयो भने हामी आफ्नो घरमा फोहोर थुपारेर राख्छौं र भन्छौं – “यो फोहोर ज्यादै खराब छ। यसको गन्ध पनि साह्रै नराम्रो छ।” अपराधबोधमा जलेर बस्नुभन्दा यो तेस्रो चरणले आफ्ना दोषहरूप्रति पश्चात्तापको भावना लिन सिकाउँछ। “म आफ्ना कामप्रति पश्चात्ताप गर्छु, र सकेसम्म त्यसलाई नदोहोर्याउने प्रयत्न गर्नेछु। म आफ्ना कमीकमजोरीहरूबाट पार पाउने भरसक प्रयत्न गर्नेछु।”
(४) अनुमोदना (उल्लासित हुनु)
चौथो चरणमा हामी आफूले र अरुले गरेका सकारात्मक कामप्रति उल्लासित हुन्छौं। यसबाट हामी आफैंप्रति र अरुप्रति सकारात्मक दृष्टिकोणको विकास हुन्छ।
(५) अध्येषणा (शिक्षाका लागि प्रार्थना)
त्यसपछि हामी बुद्धहरूसँग र आफ्ना गुरुहरूसँग शिक्षाका लागि प्रार्थना गर्छौं र भन्छौं – “कृपया सधैँ शिक्षा दिनुहोस्। यसका लागि म तत्पर र ग्रहणशील छु।”
(६) याचना (गुरुहरूको दीर्घजीवनको प्रार्थना)
अर्को चरणमा हामी गुरूहरूसँग प्रार्थना गर्छौं – “कृपया हामीलाई छोडेर नजानुहोस्। कृपया मृत्युवरण नगर्नुहोस्। म सिक्नका लागि गम्भीर छु। म याचना गर्छु, तपाईं हामीबीचमै रहनुहोस्।”
(७) परिणामना (समर्पण)
अन्तमा आउँछ, समर्पण। समर्पणले हाम्रो उर्जालाई निश्चित दिशा प्रदान गर्छ। हामी यस्तो भावना लिन्छौं – “यो अभ्यासका कारण जे जति सकारात्मक उर्जाको सञ्चय भएको छ, त्यसले मेरो लक्ष्य प्राप्त गर्न सहयोग गरोस्।” यो भनेको हामीले कम्प्युटरमा काम गरिसकेपछि त्यसलाई “सेभ” गर्नुजस्तै हो। हामीले आफ्नो कामलाई “निर्वाण” वा “बोधि” नाम गरेको फोल्डरमा सेभ गरेनौं भने त्यो स्वतः “संसार सुधार” भन्ने डिफल्ट फोल्डरमा गएर बस्छ। आफ्नो कामलाई “संसार सुधार” फोल्डरमा राख्नु पनि ठीकै हो, तर हाम्रो उद्देश्य त्यो होइन र हामी आफ्नो अभ्यासले निर्वाण वा बोधि प्राप्तिमा सहयोग गरोस् भन्ने चाहन्छौं भने त्यसलाई प्रयत्नपूर्वक “निर्वाण” वा “बोधि” फोल्डरमा राख्नुपर्छ। यो हो आफ्नो अभ्यासको समर्पण। यसलाई हामी गम्भीरतापूर्वक लिन्छौं, केवल शब्दजालको रूपमा मात्र लिँदैनौं। आफ्नो सकारात्मक उर्जालाई हामी करुणाजस्ता कुनै मनोभावसँग जोडेर समर्पित गर्छौं।
यो सप्ताङ्ग प्रार्थनापछि हाम्रो वास्तविक ध्यान शुरु हुन्छ। ध्यान सकेपछि हामी फेरी अर्कोपटक समर्पण गर्छौं।
सारांश
ध्यान एकदमै जटिल प्रक्रिया हो, र यसका लागि ज्यादै सूक्ष्मतापूर्वक निर्देशन दिइन्छ। यो लेखमा सामान्यता दिइने एकखालको निर्देशन प्रस्तुत गरिएको छ। हरेक ध्यान प्रणालीका आफ्नै विशिष्ट निर्देशनहरू हुन्छन्। तर जुनसुकै प्रणालीमा पनि हामीले के गर्न लागेको हो, कसरी गर्ने, र किन गर्ने भन्ने कुराको स्पष्ट जानकारी हुनु आवश्यक छ।
जेनलगायत केही बौद्ध परम्पराहरू छन् जसमा भनिन्छः “आसनमा बस, ध्यान गर। के कसो गर्ने हो आफैं विस्तारै स्पष्ट हुँदै जान्छ।” यो तरीकाले केही मानिसलाई काम गर्छ। तर कतिपयलाई यसले काम गर्दैन। उनीहरूका लागि यो तरीका धेरै गाह्रो हुन्छ। हामीले माथि गरेको ध्यानको चर्चा चाहिँ भारतीय–तिब्बती बुद्धधर्म प्रणालीअन्तर्गतको हो।