ध्यानको अभ्यास बुद्धधर्ममा मात्र होइन, अन्य विभिन्न परम्पराहरूमा पनि पाइन्छ। भारतीय पद्धतिहरूमा ध्यानका धेरै पक्षहरू पाइन्छन्। यो लेखमा हामी बुद्धधर्मको सन्दर्भमा सीमित रहेर ध्यानको चर्चा गर्नेछौं।
ध्यान के हो?
“ध्यान” शब्दको अर्थ आफूलाई अभ्यस्त पार्नु हो। तिब्बती भाषामा यसका लागि “घोम” शब्दको प्रयोग गरिएको छ। यसको अर्थ लाभकारी अभ्यास विकसित गर्नु हो। ध्यानका लागि प्रयोग हुने संस्कृत भाषाको मूल शब्द “भावना” ले कुनै चीजलाई साँच्चिकै सम्भव बनाउने अर्थ दिन्छ। एक निश्चित प्रकारको लाभकारी चित्तको अवस्था हुन्छ, जसलाई हामी सम्भव बनाउन चाहन्छौं। जब त्यस्तो चित्तावस्था बन्छ, त्यो हाम्रो जीवनको सोचाई र जीवन जीउने शैलीको अंग बन्छ। हरेक परम्पराले ध्यानको निर्देशन दिँदा आफ्नै तरीकाले त्यससँग सम्बन्धित लाभकारी अभ्यासहरू के हुन्, तिनका पछाडिको कारण के हो, र त्यसलाई क्रियान्वित गर्नुको उद्देश्य के हो भन्ने व्याख्या गर्छन्। जे होस्, सबै भारतीय परम्परामा यो प्रक्रियाका तीन चरण हुन्छन्ः पहिले शिक्षा सुन्ने, त्यसपछि त्यसमा चिन्तन गर्ने, र अन्ततः त्यसमा भावना गर्ने अथवा ध्यान गर्ने।
शिक्षा सुन्नु (श्रवण गर्नु)
मानिलिऊँ हामी करुणाको लाभकारी बानी आफूमा विकसित गर्न इच्छुक छौं। करुणाको विकास गर्न वा आफूमा भएको करुणा गुणको बृद्धि गर्नका लागि पहिलो काम त त्यससम्बन्धी शिक्षा सुन्नु वा श्रवण गर्नु हो। प्राचीन भारतमा कुनै पनि शिक्षा लेखिँदैन थियो। तिनीहरूलाई मौखिक रूपमा दिइन्थ्यो। त्यसैले ध्यान सिक्न इच्छुक सबैले पहिलो चरणमा त्यससम्बन्धी शिक्षालाई सुन्नुपर्थ्यो। त्यसैले पहिलो चरणलाई “श्रुति” अथवा श्रवण गर्नु भनिन्थ्यो।
वर्तमान युगमा हामी विविध शिक्षाहरूका बारेमा पढ्न सक्छौं, कसैले हामीलाई व्यक्तिगत रूपमा कानमै आएर सुनाउनु पर्दैन। तर प्राचीन कालमा यस्तो चलन थियो र यसका पछाडिको सिद्धान्त त्योबेलाको समय सान्दर्भिक थियो। त्योबेला हरेक कुरालाई कण्ठस्थ गर्ने चलन थियो र वक्ताले जे भन्दै छ त्यो शुद्ध छ भनेर श्रोता विश्वस्त हुनुपर्थ्यो। तर यस्तो पद्धतिमा शिक्षा सुनाउने व्यक्तिले सबै ठीक–ठीकसँग कण्ठस्थ नगर्ने वा उसले कुनै त्रुटि गर्ने र त्यसका कारण समस्या उत्पन्न हुनसक्ने सम्भावना रहन्छ।
प्रज्ञा (धर्मप्रविचय)
त्यसैले कसैको शिक्षा सुन्दा हामीले सुनाईबाट हुने बोध अर्थात् “श्रुतमयी प्रज्ञा” को विकास गर्नुपर्छ। प्रज्ञा अर्थात् तिब्बती भाषाको “शेराब्” शब्दलाई अंग्रेजीमा “विज्डम” भनेर अनुवाद गरिन्छ। तर त्यहाँ “विज्डम” शब्दको अर्थ ज्यादै व्यापक हुन्छ, यसको कुनै एक निश्चित अर्थ हुँदैन। “विज्डम” भन्ने शब्द सुन्दा सबैले त्यसको आ–आफ्नै अर्थ निकाल्छन्। त्यसैले “विज्डम” शब्दले “शेराब्” को सटीक अर्थ दिँदैन। त्यसैले मैले अंग्रेजीमा “शेराब्” लाई “डिस्क्रिमिनेटिङ् अवेयरनेस” भनेर अनुवाद गर्ने गरेको छु।
प्रज्ञा हुनका लागि एक मानसिक कारक हुनुपर्छ जसलाई मैले “भेद” (डिस्टिङ्गिसिङ) भनेर अनुवाद गरेको छु। धेरै मानिसले यसलाई “पहिचान” (रिकग्निसन) भनेर अनुवाद गर्छन्। तर “पहिचान” ले यसको ठ्याक्कै अर्थ दिँदैन। पहिचान गर्नु भनेको तपाईंले कुनै चीजका बारेमा पहिल्यै जानिसक्नु भएको छ, र त्यसलाई पुनः जान्दै हुनुहुन्छ। तर यहाँ हाम्रो अभिप्राय त्यस्तो होइन। “भेद” गर्नु भनेको कुनै चीजलाई “यो हो” भन्नु र यसलाई “यो होइन” भन्न मिल्ने चीजबाट छुट्याउनु हो। हामी “यो चीज हो” लाई “यो चीज होइन” अथवा “अरु” बाट छुट्याउन सक्छौं किनभने हरेक चीजको आफ्नो पहिचानात्मक गुण हुन्छ जसको बोध भएपछि हामी फरक थाहा पाउँछौं। दुधे बालकले पनि “भोक लागेको” र “भोक नलागेको” अवस्थाबीच फरक छुट्याउन सक्छन्। उनीहरूलाई यी शब्दहरूको ज्ञान आवश्यक छैन, न त तिनले दिने वैचारिक अर्थ नै। तर तिनीहरूसँग सम्बन्धित शारीरिक संवेदनाको ज्ञान उनीहरूलाई हुन्छ। त्यसैले उनीहरूले ती दुई अवस्थाको फरक थाहा पाउन सक्छन् किनकि दुवैको एक विशेष पहिचानात्मक विशेषता छ। त्यो हो, विशेष शारीरिक संवेदना।
यसरी गरिने भेदमा प्रज्ञाले एक प्रकारको निश्चितता थप्छ र हामी भन्छौंः “यो निश्चित रूपमा यही हो, अरू होइन।” हामीलाई बौद्ध शिक्षाको श्रवण गर्दा वा पढ्दा यस्तै निश्चितता चाहिन्छ। “यो नै असली शिक्षा हो, यो झूठ होइन” – यसरी हामीलाई पक्का हुनुपर्छ। वास्तवमा यसरी “यो नै असली शिक्षा हो” भनेर निश्चय गर्न धेरै कठिन हुन्छ किनकि मूल धार्मिक ग्रन्थहरू त्यत्तिकै बुझ्न सहज छैन। त्यसलाई कुनै अन्य पुस्तक वा शिक्षकको सहायताले बुझ्नु पर्छ। तर कुनै शिक्षक भरपर्दो छ, पक्का छ, भनेर कसरी थाहा पाउने? कसैले बुद्धधर्मबारे पढाइरहेको हुनसक्छ, वा मैत्री र करुणाको शिक्षा दिइरहेको हुनसक्छ। तर यसरी सिकाएको कुरा बुद्धधर्मको वास्तविक शिक्षाभन्दा उल्टो पनि हुनसक्छ। त्यसैले हामी योसम्बन्धमा निश्चित हुनुपर्छ। आफ्नो प्रज्ञाको प्रयोग गरेर शिक्षकबाट जे पढ्दै छौं वा सुन्दै छौं, त्यो बुद्धधर्मको शिक्षासँग ठ्याक्कै मिल्छ, त्यो नै आधिकारिक शिक्षा हो भनेर पक्का गर्नुपर्छ।
कुनै शिक्षा आधिकारिक बुद्धधर्म हो कि होइन भन्ने निश्चित गर्न त्यसमा केही तत्त्व विद्यमान हुनुपर्छ। यसका बारेमा बोल्ने वा लेख्ने मानिस बुद्धधर्ममा ठीकसँग प्रशिक्षित योग्य मानिस हो कि होइन भन्ने यकिन गर्नुपर्छ, यसको अनुसन्धान गर्नुपर्छ। यसको एक उपाय भनेको अरु मानिसलाई सोध्नु हो। “फलानो व्यक्तिले योग्य शिक्षकबाट सिकेको हो कि होइन? उ र उसको शिक्षकबीचको सम्बन्ध कस्तो छ? उक्त व्यक्तिको शिक्षक कुनै आधिकारिक परम्पराबाट आएको हो कि होइन, त्यसको इतिहास पत्ता लगाउन सकिन्छ कि सकिँदैन?” यसरी सोधखोज गरेर हामी उक्त व्यक्तिका बारेमा थाहा पाउन सक्छौं। कुनै चर्चित मान्छेले लेखेको हो भन्दैमा जुन पायो त्यही पुस्तक उठाएर पढिहाल्न र त्यसैलाई आधिकारिक मानिहाल्न हुँदैन। कसैको व्याख्यान सुन्नुभन्दा अगाडि पनि यसरी नै विचार पुर्याउनुपर्छ।
शिक्षाको सन्दर्भ निश्चित गर्न विवेकको उपयोग
हरेक बौद्ध शिक्षाको एक निश्चित सन्दर्भ हुन्छ, एक निश्चित दर्शन प्रणालीभित्रबाट त्यो शिक्षा आएको हुन्छ। त्यसैले कुनै पनि शिक्षाको सन्दर्भ थाहा पाउनु आवश्यक हुन्छ। यसको कारण के हो भने एउटै प्राविधिक शब्दको पनि भिन्नाभिन्नै बौद्ध प्रणालीमा भिन्नाभिन्नै अर्थ हुन सक्छ। यसको एक उदाहरण “कर्म” शब्द हो। निश्चित प्रणालीमा कर्म शब्दको अर्थ निश्चित खालको हुन्छ, जुन उक्त प्रणालीले अन्य विविध विषयहरूबारे गर्ने व्याख्यासँग एक तरीकाले मेल खान्छ। कुन प्रणालीको सन्दर्भमा उक्त शिक्षा आएको हो, त्यसबारे स्पष्ट हुनुपर्छ ताकि उक्त प्रणालीले अरू विषयमा गर्ने व्याख्याको सन्दर्भमा उक्त शिक्षालाई बुझ्न सकियोस्।
शब्दको सन्दर्भ थाहा पाउनु हाम्रो सामान्य बोलीचालीको हकमा पनि उत्तिकै महत्त्वपूर्ण छ। मानिलिऊँ तपाईंले “बोन” शब्द सुन्नुभयो। यो शब्दले तिब्बतमा बुद्धधर्मको प्रवेश हुनुभन्दा पहिलेको परम्परा बुझिन्छ। तर फ्रेन्च भाषामा “बोन” शब्दको अर्थ “राम्रो” हुन्छ। त्यसैले तपाईंले भाषाको सन्दर्भ जान्नुभएन भने “बोन” शब्दले झुक्याउन सक्छ। तपाईंसँग कुरा गर्ने मान्छेले तिब्बती भाषाको “बोन” भनेको हो कि फ्रेन्च भाषाको? त्यो शब्दको ध्वनिमा मात्र जानुभयो तर कुन भाषाको शब्द हो भन्ने थाहा पाउनु भएन भने यसले तपाईंलाई गलत अर्थ दिन सक्छ।
बौद्ध प्राविधिक शब्दहरूको हकमा त सन्दर्भ थाहा पाउनु झनै महत्त्वपूर्ण हुन्छ। मानिलिऊँ तपाईं शून्यताको बारेमा शिक्षा लिँदै हुनुहुन्छ। यो विषयलाई एक बौद्ध प्रणालीमा एक तरीकाले व्याख्या गरिन्छ भने अर्को प्रणालीमा अर्कै तरीकाले। बुद्धधर्मको एउटै प्रणालीभित्र पनि भिन्नाभिन्नै परम्परामा भिन्नाभिन्नै तरीकाले शून्यताको बारेमा बताइएको छ।
एउटै विषयको बारेमा धेरै किसिमले व्याख्याहरू गरिने भएकाले बुद्धधर्मको अध्ययन गर्ने पश्चिमीहरू रणभुल्लमा पर्ने गरेका छन्। अझ अहिलेको इन्टरनेट युगमा त सबै एशियाली बौद्ध प्रणालीहरूको शिक्षा इन्टरनेटमा उपलब्ध छ, जसले गर्दा कतिपय मानिस अलमलमा पर्छन्। एउटै देशको बौद्ध परम्पराहरूभित्र पनि कुनै एक विषयलाई धेरै तरीकाले प्रस्तुत र व्याख्या गर्ने गरिन्छ। यसको उदाहरण हामी तिब्बती परम्पराहरूमा पनि पाउँछौं।
यो कुरालाई अझ विस्तारमा हेरौं। मानिलिऊँ हामी कर्मका बारेमा कुनै शिक्षकसँग विस्तारमा अध्ययन गर्दैछौं। त्यसबेला हामी आफू अलमलमा पर्नबाट जोगिन उक्त शिक्षकको मात्र व्याख्या सुन्छौं। अन्य सबै प्रणालीमा यो विषयलाई जसरी व्याख्या गरिएको भए पनि ती सबैलाई अलग्ग राख्छौं। उदाहरणका लागि, हामी प्रथमत: यो हेक्का राख्छौं कि हामी बौद्ध व्याख्या सुनिरहेका छौं, हिन्दू होइन। बौद्ध व्याख्यामा पनि हामी भारतीय संस्कृत परम्पराको कुरा सुन्दैछौं, पाली थेरवाद परम्पराको होइन। भारतीय संस्कृत परम्परामा पनि वैभाषिक दृष्टिकोणको कुरा सुन्दैछौं, चित्तमात्र दृष्टिकोणको होइन। त्यसमा पनि हामी गेलुक सम्प्रदायअन्तर्गतको वैभाषिक दृष्टिबाट व्याख्या सुन्दैछौं, काग्यु सम्प्रदायको होइन। हामीलाई ठ्याक्कै सन्दर्भ थाहा हुनुपर्छ किनकि दार्शनिक प्रणालीअनुसार कर्मको व्याख्या फरक हुन सक्छ। गेलुक सम्प्रदायमा गरिएको धर्मको कुनै विषयको व्याख्यालाई काग्यु सम्प्रदायसँग मिसाउन खोज्यौं भने हामी धेरै अलमलमा पर्नेछौं। र, हामीले सबै उपलब्ध व्याख्याहरूलाई एकै ठाउँमा मिसाएर बुझ्न खोज्यौं भने यो अलमल झनै बढ्नेछ।
पश्चिमी जगतका मानिसहरूका सन्दर्भमा मेरा एक गुरु गेशे ङावाङ् धार्ग्ये भन्नुहुन्छः “तपाईं पश्चिमाहरू सधैं एक चीजलाई अर्कोसँग दाँजेर त हेर्नुहुन्छ, तर एउटालाई पनि राम्रोसँग बुझ्नुभएको हुँदैन। परिणामतः तपाईं झन् अलमलमा पर्नुहुन्छ।” यसबाट हामीले सिक्नुपर्ने पाठ के हो भने विभिन्न प्रणालीहरूलाई दाँजेर हेर्नु त ठीकै होला, तर पहिला एउटालाई राम्रोसँग बुझिसक्नु पर्छ। एउटा प्रणालीलाई राम्रोसँग बुझिसकेपछि मात्र तपाईं अरू प्रणालीको पनि अध्ययन गर्न सक्नुहुन्छ, र तिनीहरूबीचको फरक छुट्याउन सक्नुहुन्छ।
त्यसैले यदि हामीलाई कर्म अथवा शून्यता अथवा अरू कुनै बौद्ध विषयमाथि ध्यान गर्नु छ भने पहिला त त्यो विषयको श्रवणसँगै प्रज्ञाको विकास गर्नुपर्छ। यसको मतलब सटीक र निश्चित रूपमा निम्न कुरा थाहा हुनुपर्छः
- ठीक यही कुरा बोलिएको थियो, अरुथोक होइन।
- जसले यो भन्यो, उ सम्बन्धित विषयको सही स्रोत थियो, उ शंका गर्नुपर्ने मान्छे होइन।
- यो व्याख्या ठीक यही दार्शनिक प्रणालीबाट आएको हो, अरुबाट होइन।
यसरी श्रवणमार्फत प्रज्ञा प्राप्त भैसकेपछि हामी अर्को चरणमा जानका लागि तयार हुन्छौं।
श्रवण गरिएका शिक्षामा चिन्तन
अर्को चरणमा हामी चिन्तनबाट जागृत हुने प्रज्ञाको विकास गर्छौं। तर “चिन्तन” भनेको के हो? चिन्तनको अर्थ सुनेका कुरालाई बुझ्न खोज्नु हो। तर फेरी, “बुझ्नु” भनेको के हो त? जुन तिब्बती शब्दलाई “बुझ्नु” भनेर अनुवाद गरिएको छ, त्यसको अर्थ हुन्छः “कुनै कुराको सटीक र निश्चित बुझाई”।
चित्त र चैतसिक गतिविधिका सम्बन्धमा प्रयोग गरिने धेरै संस्कृत तथा तिब्बती शब्दहरूको अर्थ ती भाषाहरूमा अलग्गै र मौलिक पाराको हुन्छ। यो अर्थ तिनका लागि प्रयोग गरिने पश्चिमी भाषाका शब्दहरूभन्दा निकै फरक हुन्छ। त्यसैले यी मौलिक एशियाली भाषाहरूको अध्ययन गर्नु र ती भाषामा ती शब्दहरूको अर्थ बुझ्नु धेरै उपयोगी हुनेछ। यसको मतलब शब्दकोषको अनुवाद पढ्ने होइन, अपितु ती भाषाकै बारेमा जानकारी लिनु र ती शब्दको अर्थ त्यहाँबाट जान्नु हो। यसो गरियो भने बौद्ध शिक्षालाई ठीकसँग बुझ्नका लागि अत्यन्तै प्रभावकारी साधन हाम्रो साथमा हुनेछ।
श्रवण गरिएका शिक्षालाई बुझ्नु
“बुझ्नु” शब्दलाई हामी शिक्षा सुन्ने कामसँग जोडेर हेर्न सक्छौं। “यी शब्दहरू तपाईंले बोल्नुभएको हो भन्ने म बुझ्छु” यसरी हामी सुनाइ र बुझाइलाई जोड्छौं। यदि यहाँ “तपाईं” शब्दमा जोड दिइएको छ भने त्यसको अर्थ हो – यी शब्दहरू तपाईंले नै भन्नुभएको हो भन्ने कुरामा मलाई कुनै शंका छैन; यो कुरा तपाईंले भन्नुभएको होइन वा अरु कसैले भनेको हो भन्ने मलाई लाग्दैन। अर्थात् हामीलाई पक्का थाहा छ कि यो तपाईंले नै भन्नुभएको हो र हाम्रो सुनाइमा केही गडबडी भएको छैन।
तर यदि “यी शब्दहरू” मा जोड दिइयो भने माथिको वाक्य – “यी शब्दहरू तपाईंले बोल्नुभएको हो भन्ने म बुझ्छु” – को भिन्नै अर्थ लाग्छ। “मैले तपाईंले बोल्नुभएका शब्दहरू अलग अलग रूपमा बुझेँ। तर ती शब्दहरूको निहितार्थ मैले बुझ्न सकिनँ होला। तर जे होस्, यो शब्द, यो वाक्यांश र यो वाक्य तपाईंले नै भन्नुभएको हो भन्ने कुरा चाहिँ मलाई पक्का थाहा छ।” – यस्तो अर्थ लाग्छ। हामी यसमा निश्चित हुनुपर्छ कि जे भनिएको हो, हामीले त्यही सुन्यौं र राम्रोसँग सुन्यौँ। हामी अरुलाई पनि सोधेर पक्का गर्न सक्छौं कि उनीहरूले र हामीले सुनेको कुरा उही हो। त्यो कुरालाई रेकर्ड गरिएको छ भने रेकर्ड सुनेर पनि हामी पक्का गर्न सक्छौं। वक्ताको बोली र रेकर्डिङ्गको गुणस्तर स्पष्ट छ भने हामीलाई पक्का हुन्छ कि हामीले त्यही सुन्यौं जे बोलिएको थियो। तर त्यो स्पष्ट छैन भने अरुलाई सोध्न सक्छौं र उनीहरूले सुनेको र आफूले सुनेको कुराको तुलना गरेर हेर्न सक्छौं। शिक्षा उपदेशको रेकर्डिङ्गमा मात्र भर पर्ने हो भने यो विधि एकदमै उपयोगी हुन सक्छ। यसरी विवेकको प्रयोग गर्दै हामी आफूले श्रवण गरेका कुरा ठ्याक्कै उही थियो भनेर निश्चित गर्न सक्छौं।
शब्दका अर्थ बुझ्नु
यसपछिको चरण अर्थात् चिन्तन कुनै कुराको बोधका लागि आवश्यक तीन चरणमध्ये दोस्रो हो। यसको अर्थ ती शब्दहरूको अर्थ बुझ्नु हो। यो एकदमै आवश्यक छ। यदि हाम्रो लक्ष्य एक हितकारी बानीको निर्माण गर्नु हो भने ती शब्द मात्र सुनेर पुग्दैन, तिनको अर्थ पनि राम्ररी बुझ्नु पर्छ। उदाहरणका लागि, मानिलिऊँ केही मानिसहरू तिब्बती भाषामा लेखिएका पाठहरू पढ्दैछन् तर त्यसको अर्थ के हो, पटक्कै जान्दैनन्। यस्तो अवस्थामा, जब तपाईं पाठको अर्थ नै बुझ्नु हुन्न, तिनले बताउने हितकारी बानीको विकास कसरी गर्न सक्नुहोला?
त्यस्ता धेरै तिब्बती बौद्ध शिक्षकहरू छन् जसले विभिन्न प्रार्थना र साधनाको अभ्यास तिब्बती भाषामा नै गर्ने सल्लाह दिनेछन्। अवश्य पनि, शताब्दियौं पुराना पाठहरूको उच्चारण गर्दा फाइदा हुन्छ। तपाईंलाई आफू एक निश्चित परम्पराभित्र अभ्यास गर्दैछु भन्ने सन्तुष्टि मिल्छ र अन्य धेरै देशका विभिन्न भाषाभाषी बोल्ने मानिसहरूले तपाईंले गरेकै पाठ उच्चारण र गायन गरिरहेको देख्दा आनन्द पनि आउँछ। तर यदि हामीलाई तिब्बती भाषा आउँदैन भने सो भाषामा उच्चारण वा गायन गरेर मात्र हामी ती पाठले व्यक्त गर्ने हितकारी बानीहरूको विकास गर्न सक्दैनौं। हामीले तिनको अर्थ थाहा पाउनुपर्छ र त्यस्तो बुझाइ सही र निश्चित हुनुपर्छ। यो बेला प्रज्ञाको प्रयोग गरेर हामी कुनै पाठले के भनेको हो र के होइन भन्ने कुरा पक्कासँग थाहा पाउँछौं। यसका लागि हामी विश्लेषण र तार्किक विभेदको प्रयोग गर्छौं र ती शब्दहरूको ठ्याक्कै अर्थ के हो भन्ने कुरा थाहा पाउँछौं।
शिक्षाको अर्थसम्बन्धमा दृढ विश्वस्त हुनु
शिक्षाको निश्चित अर्थ जानेपछि हाम्रासामु एक कठिन अवस्था आउँछः अर्थ त बुझियो, अब यसका बारेमा दृढ विश्वस्त कसरी हुनु? यो कुरा स्वतःसिद्ध जस्तो पनि लाग्दैन र आफ्ना ज्ञानेन्द्रियहरूको प्रयोग गरेर पनि जान्न सकिँदैन। त्यसैले हामीले तर्कको सहारा लिनुपर्ने हुन्छ। तर केही मानिसका लागि तर्कले काम गर्दैन। तार्किक प्रमाणद्वारा कुनै कुरा बुझाउन खोज्दा पनि उनीहरूलाई त्यो तर्कले जे प्रमाणित गर्न खोजेको हो, विश्वास गर्न गाह्रो पर्छ। कतिपय मानिस तार्किक निष्कर्ष पत्याउन खोज्दैनन्, चाहे त्यो तर्क जतिसुकै प्रमाणसंगत किन नहोस्। हाम्रो स्वभाव त्यस्तो छ भने धर्मको अध्ययनमा धेरै बाधा हुन्छ।
तर यसका विपरीत मानिलिऊँ हामी तार्किक निष्कर्षहरूलाई पत्याउन राजी छौं। विश्लेषण र तार्किक प्रमाणका लागि अनित्यताको उदाहरण लिएर हेरौं। हेतु र प्रत्ययको सम्बन्धमा निर्भर भइ उत्पन्न हुने जुनसुकै कुराको पनि कुनै न कुनै समय अन्त्य हुन्छ – यो कुरा प्रमाणित गर्नु र यसलाई बुझ्नु अनित्यता शिक्षाको उद्देश्य हो। हामी कम्प्युटरको कुरा गरौं वा गाडीको, या हाम्रो शरीरको अथवा व्यक्तिगत सम्बन्धहरूको, सबै चीज विभिन्न हेतु र प्रत्ययहरूमा निर्भर भएर मात्र उत्पन्न हुन्छन्। ती हेतु र प्रत्ययहरू सधैं उस्तै रहँदैनन्, तिनीहरूको हरेक क्षण नवीकरण भैराख्दैन। त्यसैले तिनमा निर्भर भएर उत्पन्न भएका र तिनैमा आश्रित चीजहरू पनि अन्ततः नष्ट हुनैपर्छ।
तपाईंले नयाँ कार किन्नुभयो, जुन केही समयपछि काम नलाग्ने भयो। कुनै फूल वा फल किन्नुभयो, जुन केही समयपछि कुहियो। यस्ता उदाहरणहरूमाथि तपाईं विचार गर्न सक्नुहुन्छ। हरेक चीज कालान्तरमा नष्ट हुने वा बेकम्मा हुने नियमको कुनै अपवाद छैन। त्यस्तो कुनै चीजको उदाहरण हामी पाउँदैनौं जसको निर्माण वा उत्पादन भएको होस् र जो कहिल्यै नबिग्रियोस्, सधैंभरी टिकिरहोस्। यदि त्यो चीजको निर्माण भएको हो भने कुनै समय थियो जतिबेला त्यो थिएन। त्यस्तै कुनै समय हुनेछ जब त्यो रहने छैन। किन? कुनै नयाँ चीज उत्पन्न तब मात्र हुन्छ जब त्यसका लागि केही हेतु (कारणहरू) र त्यसका प्रत्यय (सहायक तत्त्वहरू) विद्यमान हुन्छन्। तर ती हेतु र प्रत्ययहरू त्यो चीजको निर्माणसँगसँगै परिवर्तन भैसकेका हुन्छन्। तिनका पनि आ–आफ्नै कारक तत्त्वहरू थिए, त्यसैले तिनीहरू आफैँ पनि परिवर्तन हुन्छन्। त्यसैले तिनीहरू आफूद्वारा निर्मित चीजलाई प्रत्येक क्षण उत्पन्न भैराख्न सहयोग गर्न सक्षम छैनन्। यी हेतु र प्रत्ययहरू त्यही रूपमा विद्यमान नभएका कारण तिनमा आश्रित भएर उत्पन्न भएका चीजहरू पनि विखण्डित हुन थाल्छन्। तिनीहरू विखण्डित हुन्छन्, किनकि तिनीहरूलाई निरन्तर बनाइराख्ने कारक तत्त्वहरू तिनीहरू निर्माण हुँदाजस्तै अवस्थामा रहँदैनन्। अब अरू हेतु र प्रत्ययहरू पनि जोडिन्छन्, जसले तिनीहरूको अस्तित्त्वलाई प्रभावित गर्छ।
यसको अर्को उदाहरण व्यक्तिगत सम्बन्ध हुन सक्छ। दुई व्यक्तिहरूबीचको सम्बन्ध विभिन्न हेतु र प्रत्ययहरूमा निर्भर भएर बनेको हुन्छ। जस्तैः मेरो एक उमेर होला, अर्को मानिसको एक उमेर होला, मेरो जीवनमा कुनै चीज भैरहेको होला, उसको जीवनमा कुनै अर्को चीज भैरहेको होला, हाम्रो समाजमा केही भैरहेको होला, आदि। यी सबै कारणहरूले कुनै एक समय हामी दुई जनालाई एक ठाउँमा आउन र एक खालको सम्बन्ध विकास गर्न सहयोग गरेका होलान्। तर ती कारणहरू सधैँ कायम रहेनन्, ती निरन्तर परिवर्तन भैरहे। हामी बृद्ध भयौं, हाम्रो जीवनमा आ–आफ्नै हिसाबले धेरैथोक भैरह्यो। यदि हामी धेरै समय एकैसाथ रह्यौं भने पनि एकजनाको मृत्यु अर्कोभन्दा पहिला हुन्छ। हामी दुइबीचको सम्बन्ध अनेक हेतु र प्रत्ययहरूमा निर्भर हुनाको कारणले सधैँ परिवर्तन भैरहन्छ, यो चीरकालसम्म रहन सक्दैन। तर यसरी तार्किक निष्कर्षमा पुगेपनि हामी सम्भवत: यो तथ्यलाई आत्मसात गर्न तयार हुँदैनौं।
एक अर्को उदाहरण लिऊँ। हामीले नयाँ कम्प्युटर किन्यौं भने त्यो सधैँ चलिरहोस्, कहिल्यै नबिग्रियोस् भन्ने आशा गर्छौं। तर त्यो बिग्रिन्छ। किन बिग्रिन्छ? किनकि यसको निर्माण गरिएको थियो। त्यो बिग्रने वा भत्किने बेला जे भएको हुन्छ, त्यो त्यसको विघटनको एक प्रत्यय बन्छ। विघटनको मूल कारण चाहिँ त्यो कम्प्युटर निर्मित चीज हुनु नै हो। यो कुरा “त्यो मानिसको मृत्युको मुख्य कारण के हो?” भनेर सोधेजस्तै हो। हामी भन्न सक्छौंः “मानिसको जन्म हुनु नै मृत्युको पनि मुख्य कारण हो।” जीवनको परिभाषा के हो भन्ने सन्दर्भमा एउटा यस्तो जोक छः “यो यौनसंसर्गबाट सर्ने र शतप्रतिशत मृत्युदर भएको एक रोग हो।” तर दुर्भाग्यवश यो जोकमा सत्यता छ। यस्तै कुनै विषयलाई हामी तर्कद्वारा बुझ्न सक्छौं। तर तर्कद्वारा अनित्यतालाई स्थापित गर्न खोजे पनि यसलाई इन्कार गर्ने हाम्रो प्रवृत्ति प्रबल हुन्छ। कतिपय बेला हामीलाई प्राप्त सूचना पत्यार गर्न मन लाग्दैन। अनित्यता जीवनको सत्य हो भन्ने कुरा सहजै स्वीकार गर्न मन लाग्दैन। त्यसैले हामीले यसको तार्किक विश्लेषणबारे बारम्बार चिन्तन गरिरहनु पर्छ। यसले विषयलाई राम्रोसँग जान्न सहयोग गर्छ।
यस प्रकारको चिन्तनको प्रक्रियाले हामी एक “बुझाइ” मा पुग्छौं। यसलाई विवेकपूर्ण बोध भन्न सकिन्छ, जुन चिन्तनद्वारा आउँछ। हामी शब्दको अर्थ ठीक ढंगले बुझ्छौं, र यो कुरामा हामी स्पष्ट हुन्छौं। हामी तर्कको सहयोग लिन्छौं र प्रस्तुत शिक्षाले जे भनेको होइन, त्यसलाई छुट्याएर अलग राख्छौं। “अनित्यताको मतलब मेरो कम्प्युटर अहिल्यै बिग्रिहाल्छ भन्ने होइन। यसको मतलब के चाहिँ हो भने कम्प्युटर कुनै न कुनै दिन बिग्रिने निश्चित छ।” यसरी चिन्तन गरेपछि हामी “सबै निर्मित चीजको एकदिन अन्त हुनेछ” भन्ने कुरामा पूर्ण विश्वस्त हुन नसकेपनि अनित्यताको अर्थ चाहिँ बुझ्छौं।
श्रवण गरेको शिक्षा सत्य र उपयोगी भएकोमा विश्वस्त हुनु आवश्यक
त्यसपछि हामीले सुनेका शब्दहरूको अर्थ के हो भन्ने कुरामा विश्वस्त हुनुका साथसाथै तिनको अर्थ सत्य हो भन्ने कुरामा पनि विश्वस्त हुनुपर्छ। माथिको अनित्यताको उदाहरणमा, मानिलिऊँ हामीले त्यो कुराको अर्थ बुझ्यौं। तर के त्यो सत्य हो भन्ने हामीलाई लाग्छ? के हामी त्यसमा विश्वस्त हुन सक्छौं? यदि हामी यदि हामीले अनित्यताको बारेमा चिन्तन गर्दै गयौं भने त्यसको एउटै पनि अपवाद पाउन सक्ने छैनौं। र, अनित्यता एक आधारभूत नियम भएको कुरामा हामीलाई पक्का विश्वास हुनेछ। हाम्रो चिन्तन प्रक्रिया यस्तो बन्नसक्छः “म त एक दिन मर्नैपर्छ। जो जन्मेको छ, त्यो मर्छ नै। जन्मेको मान्छे नमरेको एउटै पनि उदाहरण छैन। त्यसैले म मर्ने छैन भन्ने कुरा पत्याउने कुनै आधार छैन।”
जब हामीलाई पक्का विश्वास हुनेछ कि एक दिन हामी सबै मर्नुपर्छ, हामी आफ्नो जीवनलाई सकेसम्म अर्थपूर्ण बनाउने प्रयत्न गर्नेछौं। कहिलेकाहीँ मानिसलाई झण्डै मृत्युको जस्तै अनुभव (नियर डेथ एक्सपिरियन्स) हुन्छ। त्योपछि उसले सोच्छः “अहो! म त अझै जीवित छु। म अब बाँकीको जीवनलाई जतिसक्दो सार्थक बनाउन चाहन्छु।” तर यो जरुरी छैन। मृत्युको जस्तै अनुभव नभए पनि हामी आफ्नो मृत्यु अवश्यंभावी भएको कुरामा विश्वस्त हुन सक्छौं र आफ्नो बाँकीको समयलाई सकेसम्म राम्रो तवरले बिताउन प्रतिबद्ध हुन सक्छौं।
त्यसैले पहिले त हामीले चिन्तनका माध्यमद्वारा शिक्षाको अर्थलाई राम्रोसँग, ठीक तवरले बुझ्नुपर्छ। दोस्रो, त्यो शिक्षा सत्य भएको कुरा निश्चित हुनुपर्छ। तेस्रो, त्यो आफ्नो लागि उपयोगी छ र त्यसलाई सही ढंगले अपनाउँदै जीवनको एक अभिन्न अंग बनाउनुपर्छ भन्नेमा विश्वस्त हुनु आवश्यक हुन्छ।
यो प्रक्रिया – अर्थ ठीकसँग बुझ्ने, त्यो सत्य भएको कुरामा निश्चित हुने, र त्यो आफ्ना लागि उपयोगी भएको कुरामा विश्वस्त हुने – चिन्तनका माध्यमद्वारा प्रज्ञा जगाउने अभ्यासको अंग हो। यो महत्त्वपूर्ण प्रक्रिया हो, र यसका लागि धेरै समय लाग्छ। हामीले सुनेका वा पढेका शिक्षाका बारेमा शान्तिपूर्वक बसेर गहन चिन्तन गर्नुपर्छ। त्यसो नगरी सीधै अनित्यताको ध्यान गर्न थाल्यौं भने हामी अल्मलिन सक्छौं, हाम्रो ध्यान अभ्यास व्यर्थको बसाइ मात्र हुन हुन सक्छ। हामी तन्द्राजस्तो अवस्थामा पनि पुग्न सक्छौं र त्यसैलाई “ध्यान” भनेर झुक्किन सक्छौं। त्यो ध्यान होइन। त्यसो भए ध्यान भनेको के हो त?
ध्यानका तीन प्रकार
कुनै शिक्षा श्रवण गर्दा वा तिनका बारेमा चिन्तन गर्दा हामीले श्रुतमयी र चिन्तनमयी प्रज्ञाको विकास गरेजस्तै ध्यानका माध्यमद्वारा हामीमा एक विशेष प्रज्ञाको विकास हुन्छ, जसलाई “ध्यानबाट जागृत भएको प्रज्ञा” (भावनामयी प्रज्ञा) भन्न सक्छौं। यो प्रज्ञाका माध्यमले हामी पूर्ण एकाग्रताका साथ चित्तको त्यस्तो लाभकारी अवस्था हासिल गर्न सक्छौं जसको हामीले लक्ष्य राखेका छौं। चित्तको यस्तो अवस्थालाई हामी अन्य अवस्थाबाट भिन्न गरेर हेर्न सक्छौं। यस्तो प्रज्ञा हासिल गर्न हामी चित्तको लक्षित अवस्थालाई बारम्बार जागृत गर्छौं र आफूलाई यसमा अभ्यस्त बनाउँछौं। यसो गर्न सहयोग गर्ने ध्यानका विभिन्न प्रकार छन्। तीमध्ये तीन प्रमुख प्रकारको हामी चर्चा गर्नेछौं।
कुनै विषयमाथि चित्तलाई केन्द्रित गर्नु
ध्यानको पहिलो प्रकारमा कुनै विषयमाथि चित्तलाई केन्द्रित गरिन्छ। यस्तो विषय जे पनि हुन सक्छ। हाम्रो प्रयास त्यो विषयमाथि एकाग्रताको विकास गर्नु हो। यस्तो विषय श्वास भित्र वा बाहिर जाँदाको संवेदना, बुद्धको काल्पनिक चित्र, वा चित्तको स्वभाव आदि हुन सक्छ। जे भए पनि यहाँ हाम्रो उद्देश्य त्यो विषयमाथि चित्तलाई टिकाउने हो। उल्लिखित तीन विषय तिब्बती बुद्धधर्ममा चित्तलाई टिकाउन सबैभन्दा धेरै प्रयोग हुने विषयहरू हुन्।
यो ध्यानको एक महत्त्वपूर्ण उपप्रकारमा आफूले छानेको विषयमाथि चित्तलाई केन्द्रित गरिन्छ, र त्योसँगै उक्त विषयबारे विशिष्ट तवरले मनन गरिन्छ। यसको एक उदाहरण उक्त विषय अनित्य भएको कुरा मनन गर्ने हो। यसरी मनन गर्दै एकाग्रताको अभ्यास गर्नाले उक्त चीज साँच्चिकै अनित्य भएको कुरा हाम्रो बोधको गहिराईमा पुग्छ। यसबाट कुनै चीज सधैँभरी टिकिरहन्छ कि भनेजस्तो त्यो चीजप्रति हामीले राख्ने आसक्तिबाट मुक्त हुन सहयोग पुग्छ।
यसलाई एक उपयोगी व्यावहारिक उदाहरणबाट बुझौं। मानिलिऊँ तपाईंको कसैसँग मित्रता वा प्रेमसम्बन्ध छ तर उसले तपाईंलाई फोन गर्दैन वा तपाईंसँग भेट्न आउँदैन। यसले गर्दा तपाईं व्याकुल हुनुहुन्छ। यस्तो बेला तपाईंले यो कुरा बुझ्नु आवश्यक हुन्छ – “मेरो साथीको जीवनमा म मात्र छुईंन। म बाहेक अरु मान्छेसँग पनि उसले व्यवहार गर्नुपर्ने हुन्छ। त्यसैले उसले मलाई मात्र समय दिनुपर्छ र अरु कसैसँग समय बिताउनै हुँदैन भन्नु उचित होइन।” यसरी सोच्नाले तपाईं यस्तो असम्भव कल्पनाबाट बाहिर निस्कनुहुन्छ – “मेरो साथीले जीवनमा व्यवहार गर्नुपर्ने मान्छे म मात्रै एक्लै हुँ।” त्यसैले साथीले आफूसँग पर्याप्त समय नबिताएकोमा तपाईं ब्याकुल हुनुभयो भने उसको यो पक्षमाथि मनन गर्नुहोस्ः “उसले जीवनमा गर्नुपर्ने काम र व्यवहार गर्नुपर्ने मान्छे म बाहेक अरु पनि धेरै छन्।”
जब हामी ध्यानको चर्चा गर्छौं, हामी कुनै रहस्यमयी, जादुई प्रक्रियाको बारेमा कुरा गरिरहेका हुँदैनौं। न त हामी कल्पनाको दुनियाँमा नै हराइरहेका हुन्छौं। त्यसका विपरीत, ध्यानले एकदमै व्यावहारिक विधिहरू समेट्छ जुन हाम्रो जीवनका दुःख, कठिनाइहरू र समस्याहरूको समाधानमा सहयोगी हुन्छ।
यसरी ध्यानको यो पहिलो प्रकारमा कुनै विषयमाथि निश्चित तरीकाले चित्तलाई एकाग्र गरिन्छ। साथीको उदाहरणमा चर्चा गरिएजस्तै यो प्रकारको ध्यानमा या त केवल एकाग्रताको मात्र बोध गरिन्छ, या त्यो विषयको बारेमा कुनै निश्चित प्रकारले बोध वा चिन्तन गरिन्छ।
चित्तावस्थाको निर्माण
ध्यानको दोस्रो प्रकारमा मैत्री वा करुणाजस्तो चित्तको निश्चित अवस्थाको निर्माण गरिन्छ, र त्यसको अनुभवमा चित्तलाई एकाग्र गरिन्छ। यसमा पनि कुनै विषय हुन्छ जसमाथि हामी मैत्री वा करुणाको भावना लक्षित गर्छौं। तर त्यो विषय हाम्रो लागि प्रधान हुँदैन, बरु मैत्री वा करुणाको भावना विकास गर्नु चाहिँ हाम्रा लागि प्रधान काम हुन्छ।
ध्येयको निर्माण
ध्यानको तेस्रो प्रकारमा कुनै निश्चित विषयसँग सम्बन्धित लक्ष्य प्राप्त गर्ने ध्येयका साथ उक्त विषयमा चित्तलाई केन्द्रित गरिन्छ। उदाहरणका लागि, मानिलिऊँ हाम्रो ध्यानको विषय बोधि प्राप्ति हो, जुन अहिले हासिल भैसकेको छैन। यसका लागि बोधि प्राप्तिमा यस्तो ध्येयका साथ चित्तलाई केन्द्रित गरिन्छ – “म यो प्राप्त गर्नेछु।” यो ध्यान “बोधिचित्त ध्यान” हो। बोधिचित्तलाई जागृत चित्त भनेर पनि बुझ्न सकिन्छ। यस्तो बोधिचित्त ध्यानमा आमरूपमा बोधि प्राप्त गर्ने कुरामाथि वा बुद्धको बोधिमाथि ध्यान गरिँदैन, बरु आफ्नो व्यक्तिगत बोधिमाथि ध्यान गरिन्छ। हाम्रो बोधि घटित भैसकेको छैन, तर त्यो घटित हुन सक्छ। हामीलाई पक्का विश्वास छ कि हाम्रो आफ्नै तथागतगर्भ (बुद्ध–स्वभाव) र लामो परिश्रमको फलस्वरुप बोधि घटित हुन सक्छ। यसरी ध्यानको यो तेस्रो प्रकारमा हामी भविष्यको लक्ष्यमाथि चित्तलाई केन्द्रित गर्छौं। त्यो प्राप्त गर्ने हाम्रो पक्का ध्येय हुन्छ।
दैनिक जीवनमा ध्यानका तीन प्रकार
ध्यानका यी तीनै प्रकारहरूमा हामीले आफ्नो दैनिक जीवनमा अपनाउन चाहेका लाभकारी प्रवृत्तिहरू विकसित गर्ने अभ्यास गरिन्छ। त्यसैले हामीले ध्यानलाई त्यस्तो गौण अभ्यास बनाउन हुँदैन जसको सामान्य जीवनमा कुनै सम्बन्ध नहोस्। ध्यान भनेको जीवनबाट भाग्नु होइन। यो कुनै क्रीडा पनि होइन, न त कुनै शोखको विषय हो। यो त त्यस्ता गुणहरूको विकास गर्ने पद्धति हो जसलाई हामी आफ्नो जीवनमा उतार्न र हरेक दिन उपयोग गर्न चाहन्छौं।
माथिकै उदाहरणका माध्यमबाट यी तीन प्रकारका ध्यान अभ्यासलाई कसरी व्यवहारमा उतार्न सकिन्छ भन्ने चर्चा गरौं। जब हामी पहिलो प्रकारको ध्यान अभ्यास गर्छौं, अर्थात् कुनै ध्यानको विषयमाथि आफ्नो चित्तलाई केन्द्रित गर्छौं, तब हामी आफ्नो चित्तलाई शान्त गर्न र आफ्नो एकाग्रताको गुणको विकास गर्न सिक्छौं। यसबाट हामी आफ्नो काममा मात्र नभई अरुसँगको कुराकानीमा पनि एकाग्रचित्त हुन्छौं। अर्को मानिसमाथि र उसले के भनिरहेको छ, त्यसमाथि एकाग्रचित्त हुन सक्छौं। मनमा कुनै तर्कनाहरू नल्याइकन र उसले के भन्दैछ त्यसबारे पक्षपाती धारणा नबनाइकन उसको कुरा सुन्ने अभ्यास गर्छौं। “यसले कस्तो मूर्ख कुरा गरेको होला” अथवा “अहो, यो मान्छे चुप लागिदिए हुन्थ्यो” – यस्तो ढंगबाट नसोची उसले भनेको कुरा सुन्ने अभ्यास गर्छौं। बरु यस्तो विवेकी चिन्तनको विकास गर्दै उसको कुरा सुन्न सक्छौं – “तिमी पनि म जस्तै मानिस हौ, मेरा जस्तै तिम्रा पनि भावनाहरू छन्। जसरी मलाई आफूले बोलिरहेको बेला अरुले ध्यान दिएर सुनुन् भन्ने लाग्छ, त्यस्तै तिमीलाई पनि लाग्दो होला।”
त्यस्तै, हामी दोस्रो प्रकारको ध्यान अभ्यास (चित्तावस्थाको निर्माण) को उपयोग दैनिक जीवनमा मैत्री (प्रेम) र करुणाको भाव विकास गर्न गर्छौं। हामी मैत्रीभावको विकास गर्छौं र आफू जहाँ तथा जोसुकै मानिसको साथमा भए पनि सबैजना सुखी होऊन् भन्ने कामना गर्छौं। यहाँ मैत्री (प्रेम) को अर्थ सबैप्रति मैत्री हो। हामी चढेको बसका सबै यात्रु, सब–वेमा हिँडिरहेका वा सडकको ट्राफिकमा रहेका सबै मानिस, सपिङ स्टोरभित्र रहेका सबै मानिस, सबै जनावर तथा कीरा फट्याङ्ग्राहरू – सबैजना सुखी होउन् भन्ने कामना हो। सबै जीव सुखको चाहना गर्छन्, कोही पनि दुःखको चाहना गर्दैन। त्यो अर्थमा सबै समान छन्। र, सबैजना सुखको उत्तिकै हकदार छन् – चाहे त्यो एक झिंगा नै किन नहोस्।
तेस्रो, हामी ध्यान अभ्यासको उपयोग कुनै ध्येयको निर्माणका लागि गर्छौं जसलाई हामी जीवनभर संगालेर राख्छौं। “म एक लक्ष्यका लागि क्रियाशील छु। म आफ्ना कमी कमजोरीहरू न्यून गर्न चाहन्छु। म असल गुणहरूको निर्माण गर्न प्रयत्नशील छु। म मुक्ति र बोधिको लक्ष्यमा अग्रसर छु” – यस्तो ध्येयका साथ हामी काम गर्छौं। यो ध्येय हामी ध्यान गर्न चकटीमा बसेको बेला मात्र होइन, अपितु हाम्रो जीवनको पलपलमा व्याप्त हुन्छ।
लाभकारी चित्तावस्था निर्माणका लागि चोङ्खापाको सुझाव
महान् तिब्बती आचार्य चोङ्खापाले यी सबै प्रकारका ध्यान अभ्यासका लागि जान्नुपर्ने कुराहरू, अर्थात् ध्यानका लागि कसरी लाभकारी चित्तावस्थाको निर्माण गर्ने भन्नेबारे विस्तारमा बताउनुभएको छ।
आफ्नो ध्यानको विषयबारे जान्नुहोस्
प्रथमतः हामी कुन विषयमाथि ध्यान गर्दैछौं, त्यो जान्नु आवश्यक हुन्छ। करुणाकै उदाहरण लिऊँ। करुणा ध्यान गर्दा हामी अरुले भोग्नुपरेका दुःखमा चित्त केन्द्रित गर्छौं। यो बोधिचित्त ध्यानभन्दा धेरै फरक हो जहाँ हामी आफ्नै व्यक्तिगत बोधि प्राप्तिमा केन्द्रित हुन्छौं, जुन अहिले घटित भैसकेको छैन। केही मानिसहरू करुणा ध्यान गरिरहेका हुन्छन्, तर आफूले बोधिचित्त ध्यान गरिरहेको भन्ठान्न सक्छन्। करुणाले बोधिचित्तका लागि आधारको काम गर्छ। तर ती दुई एउटै चीज होइनन्।
त्यो विषयका सबै पक्षबारे जान्नुहोस्
आफ्नो ध्यानको विषय स्पष्ट रूपमा चयन गरिसकेपछि हामीले त्यसका सबै पक्षबारे जान्नु आवश्यक हुन्छ। ध्यानको विषय करुणा हो भने सबैले अनुभव गर्ने दुःखका विविध पक्ष र प्रकारहरूबारे जान्नु आवश्यक हुन्छ, जस्तैः बेखुशी, औसत खालको खुशी, कर्मको बाध्यताबाट नियन्त्रित हुनुपर्ने अवस्था, र बारम्बारको बाध्यकारी पुनर्जन्म आदि। हामी केही जीवहरूको कुनै निश्चित प्रकारको दुःखमा मात्र सीमित हुँदैनौं। उदाहरणका लागि, केही मानिसले जागिर गुमाउनुपरेका कारण भोग्नु परेको बेखुशी र समस्याहरूका बारेमा मात्र सोच्दैनौं। महाकरुणाको अभ्यासमा हामी जनावरहरू लगायत संसारका सबै प्राणीहरूले भोग्नु परेका सबै प्रकारका दुःखको बारेमा चिन्तन गर्छौं।
आफ्नो चित्तले त्यसलाई कसरी लिन्छ भन्ने जान्नुहोस्
ध्यानको विषय चयन गरिसकेपछि आफ्नो चित्तले त्यसलाई कसरी लिन्छ भन्ने जान्नुहोस्। करुणा ध्यानमा हाम्रो चित्तले अरुका सबै दुःखहरूमाथि ध्यान केन्द्रित गर्दै तिनीहरूका सबै दुःख सकिऊन् र ती दुःखहरू कहिल्यै फर्केर नआऊन् भन्ने कामना गर्छ। “अहो कस्तो खराब!” – यस्तो खालको दृष्टिकोण राखिँदैन। तर जे होस्, यो ध्यानमा गरिने भाव बोधिचित्तभन्दा धेरै फरक छ। बोधिचित्त ध्यानमा हामी अहिलेसम्म आफूमा घटित नभएको बोधिमा केन्द्रित हुन्छौं, र यस्तो खालको मानसिक प्रेरणा लिन्छौं – “म यो अवस्था प्राप्त गर्नेछु र त्यसका माध्यमले अरुको कल्याण गर्नेछु।” अरु जीवको दुःखलाई आत्मसात गर्ने करुणा ध्यानभन्दा यो धेरै फरक भावना हो।
चित्तावस्था विकासमा के सहयोगी हुन्छ, जान्नुहोस्
त्यसपछि आफूले चाहेको चित्तावस्थाको विकासमा के चीजले सहयोग पुर्याउँछ, जान्नु आवश्यक हुन्छ। माथिको उदाहरणमा हामीले आफैंप्रति राख्ने करुणापूर्ण भावले अरुप्रतिको करुणा भाव विकासमा सहयोग पुर्याउँछ। यो “मुक्त हुने अठोट” हो, जसलाई “त्याग” भन्न सकिन्छ। यसमा हामी आफ्ना दुःखहरूलाई ध्यानमा राख्छौं, तिनीहरूबाट र तिनका कारणहरूबाट पनि मुक्त हुने अठोट लिन्छौं। दुःखका कारणहरूबाट मुक्त हुने चाहना राख्नाले हाम्रो चित्तले त्यस्तो व्यवहार त्याग गर्ने तत्परता देखाउँछ जसले हामीलाई दुःखी बनाउँछ (उदाहरणका लागि, रिसाउनु)। आफ्ना दुःखबाट मुक्त हुने अठोटलाई हामीले साँच्चिकै पुष्ट गर्न सक्यौं भने त्यसको बलले अरुप्रति पनि उत्तिकै प्रबल रुपमा उस्तै भावनाको विकास गर्न सहयोग पुग्छ।
चित्तावस्था विकासमा के बाधक हुन्छ, जान्नुहोस्
चाहेजस्तो चित्तावस्थाको विकासमा बाधक हुने चीजहरूबारे पनि हामीले जान्नु आवश्यक हुन्छ। अरु मानिसलाई गम्भीरतापूर्वक नलिने, उनीहरूको दुःखलाई गम्भीरतापूर्वक नलिने जस्ता व्यवहारले करुणाको विकासमा बाधा पुर्याउँछ। यसको निवारणका लागि हामीले यस्तो भावले सोच्नुपर्छः “सबैजना खुशी हुन चाहन्छन्। कोही पनि बेखुशी हुन चाहँदैन। दुःखबाट मुक्त हुने चाहना सबैको हुन्छ, यसमा कोही पनि अरुभन्दा फरक छैन। हामी सबै उस्तै हौं। जसरी मेरा भावनाहरू छन्, अरुका पनि हुन्छन्। मेरो दुःखले जति मलाई पीडा दिन्छ, त्यत्तिनै पीडा अरुलाई पनि उनीहरूको दुःखले दिन्छ। जसरी म आफ्नो दुःखबाट मुक्त हुन चाहन्छु, त्यसरी नै सबैजना मुक्त हुन चाहन्छन्।” यसबाट हामी अरुप्रति संवेदनशील हुन सक्छौं, र उनीहरूप्रति सम्मानको भाव विकास गर्न सक्छौं। अरुप्रति संवेदनशीलता वा सम्मानको भाव भएन भने करुणाको सच्चा विकास गर्नमा बाधा पुग्छ।
यस्तो चित्तावस्थाको उपयोग कसरी गर्ने, जान्नुहोस्
चोङ्खापा अगाडि भन्नुहुन्छ – चाहेको चित्तावस्थाको विकास गरिसकेपछि त्यसको उपयोग कसरी गर्ने, त्यो जान्नुपर्छ। मैले करुणा भावको विकास गरेँ। त्यसपछि के गर्ने त? करुणाको भावले मलाई अरूसँग व्यवहार गर्न सहयोग गर्छ। यसले मलाई अरुको हितमा काम गर्न सहयोग गर्छ। यसले मलाई बोधि प्राप्तिको अन्तिम लक्ष्यमा पुग्ने प्रेरणा दिन्छ, त्यो दिशामा साँच्चिकै अगाडि बढ्न प्रवृत्त गराउँछ, ताकि म अरुलाई उल्लेखनीय रूपमा सहयोग गर्न सकुँ। मलाई थाहा छ, मेरा कमी कमजोरीहरूका कारण म अहिले अरुको सहयोग गर्न सक्दिन। त्यसैले म आफ्ना यी कमी कमजोरीहरूबाट पार पाउने प्रयत्न गर्नेछु।
यो चित्तावस्थाले के निर्मूल गर्छ, जान्नुहोस्
त्यसपछि हामीले यो जान्नु आवश्यक हुन्छः यस्तो चित्तावस्थाको निर्माण भएपछि केबाट मुक्ति पाइन्छ, के कुराको निर्मूल हुन्छ? करुणाको विकास भयो भने मैले अरुप्रति गर्ने चिसो व्यवहार र उनीहरूलाई वेवास्ता गर्ने प्रवृत्ति निर्मूल हुन्छ। यसले अरुलाई सहयोग गर्न तत्पर नहुने अल्छीपनाबाट बाहिर निस्कन मद्दत गर्छ। यसले आफ्नै हितमा काम गर्न अल्छी गर्ने मेरो बानीबाट मलाई मुक्ति दिलाउन सहयोग गर्छ। हृदयको चिसोपना निर्मूल गरेर यसले मलाई अरुको थप हित गर्न सक्षम बनाउँछ। यसरी करुणा ध्यान र यसको विकाससँग सम्बन्धित सबै पक्षहरूबारे जानकारी भयो भने हामी आफूले राम्ररी ध्यान गर्दैछु भन्ने कुरामा विश्वस्त हुन सक्छौं। आफूले ठ्याक्कै के गरिरहेको छु, र किन गरिरहेको छु भन्ने हामीलाई जानकारी हुन्छ। ध्यानको अभ्यास गर्ने तयारी राम्रोसँग पुग्नेछ। यति नजानी ध्यान गर्नु भनेको पौडी खेल्नै नजानिकन गहिरो पानीमा हामफाल्नुजस्तै हुनेछ। आफूले के गर्ने हो, त्यसको राम्रो जानकारी नभई “क्यै छैन। बस्ने हो, ध्यान गर्ने हो” भनेर ध्यान शुरु गर्दा हामीले उचित फल प्राप्त नगर्ने सम्भावना बढी हुन्छ।