बुद्धधर्मलाई दैनिक जीवनमा कसरी उतार्ने

18:02
धर्म शब्दको अर्थ सुरक्षात्मक उपाय हो। यसको उपयोग हामी समस्याहरूबाट बच्नका लागि गर्छौं।

धर्म जीवनका समस्याहरूको समाधानका लागि हो

धर्मको अभ्यासमा प्रवृत्त हुन प्रथमत: हामीले आफ्नो जीवनमा धेरै प्रकारका समस्या वा कठिनाईहरू रहेको कुरा थाहा पाउनु आवश्यक हुन्छ। त्यसपछि धर्मले यी समस्याहरूबाट छुटकारा पाउन सहायता गर्छ भन्ने जान्नु आवश्यक हुन्छ।

धर्मको अभ्यास केहीबेर सुखको अनुभव गर्नका लागि मात्र होइन। न त यो कुनै रमाइलो सोख वा चल्तीको कुनै काम गर्ने वा त्यस्तै केही चीज हो। धर्मको उद्देश्य हामीलाई आफ्ना दु:खहरूबाट मुक्ति दिलाउन सहयोग गर्ने हो। त्यसैले यथार्थपरक ढंगले धर्मको अभ्यासका लागि हामी यो कुरामा स्पष्ट हुनुपर्छ कि यो कुनै सुखसयलपूर्ण अभ्यास होइन। धर्मको अभ्यासका लागि हामीले आफ्नो जीवनका दुःखपूर्ण अवस्थाहरूलाई यथार्थपरक ढंगले हेर्नुपर्छ, आफ्ना कठिनाइहरूबारे जान्नुपर्छ। तिनीहरूबाट भाग्ने होइन, अपितु समाधान गर्ने प्रयत्न गर्नेछु भन्ने भावका साथ तिनको सामना गर्नुपर्छ।

हाम्रा दुःखका अनेक रूप हुन सक्छन्। अधिकांशसँग त हामी परिचित छौं।  जस्तै - असुरक्षाको भाव, अरुसँगको सम्बन्धमा आउने समस्या, एक्लोपना, आफ्ना आवेग र भावनाहरूलाई सम्हाल्न नसक्ने अवस्था आदि। यस्तो खालका समस्याहरू सामान्यतया हामी सबैलाई हुन्छ। हामीलाई आफ्नो परिवार वा मातापितासँगको सम्बन्धमा कठिनाइ भैरहेको हुन्छ। उनीहरू बिरामी पर्छन् र बृद्ध हुन्छन्। हामी आफैं पनि रोगी र बृद्ध हुन्छौं। यदि हामी युवावस्थामै छौं भने जीवनमा के गर्ने भन्ने समस्याले हामीलाई पिरोल्छ। जीवनयापनका लागि के गर्ने, कुन बाटो लिने, आदि अनेक कुराहरूको सामना हामीले गर्नुपर्छ। 

भ्रम

बुद्धधर्मको अभ्यासमा बुझ्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने हामीले भोग्ने सबै समस्याहरू कुनै न कुनै कारणले गर्दा उत्पन्न हुन्छन्। तिनीहरूको अस्तित्व छ भने त्यो अकारण हुँदैन। हाम्रा सबै समस्याको स्रोत हामीभित्रै हुन्छ। यो एक गहन बोध हो जुन धेरै मानिसले सहजतापूर्वक पाउन र स्वीकार गर्न सक्दैनन्। हामीमध्ये अधिकांशमा आफ्ना समस्याका लागि अरु मानिसमाथि वा बाह्य परिस्थितिमाथि दोष थोपर्ने प्रवृत्ति हुन्छ। हामी यसरी सोच्छौं – “तिमीले फलानो काम गर्यौ, त्यसै कारणले म दुःखी भएँ। तिमीले मलाई फोन गरेनौ, मलाई छाडिदियौ, तिमी मलाई माया नै गर्दैनौ। यो सब तिम्रो गल्ती हो।” अथवा हामी आफ्ना मातापितालाई दोष दिन्छौं – हामी साना भएका बेला उनीहरूले के गरे अथवा के गरेनन् भनेर। अथवा हामी बाह्य आर्थिक परिस्थिति, राजनैतिक परिस्थिति, सामाजिक अवस्था आदिलाई दोष दिन्छौं। पक्कै पनि, हामी जीवनमा के भोग्छौं, त्यसमा यी सबैथोकको भूमिका हुन्छ। बुद्धधर्मले त्यसलाई नकार्दैन। तर मुख्य कारण, हाम्रो दुःखको खास कारण, हामीभित्र नै हुन्छ। हाम्रो दृष्टिकोण, खासगरी मिथ्या दृष्टिकोण अर्थात भ्रम, नै यसको खास कारण हो। 

दैनिक जीवनमा बुद्धधर्म अपनाउनुको अर्थ के हो भन्ने सन्दर्भमा एकमात्र मूलभूत अवधारणा बताउनुपर्यो भने म यही कुरा बताउँछु। हामी कुनै समस्या भोगिरहेका छौं भने त्यसको स्रोत आफैंभित्र खोज्ने प्रयत्न गर्छौं, र जब त्यो के हो भन्ने जान्दछौं, त्यसलाई आफूभित्रबाट नै परिवर्तन गर्ने प्रयत्न गर्छौं। तर आफूभित्र फर्केर समस्याको स्रोत पत्ता लगाउने भन्दैमा म त खराब मान्छे हुँ, मैले आफूलाई राम्रो बनाउनुपर्छ, र एक असल मान्छे बन्नुपर्छ – यो ढंगले आफ्ना बारेमा कुनै फैसलात्मक निष्कर्ष निकाल्दैनौं। बुद्धधर्मले नैतिक फैसला सुनाउने काम गर्दैन। हामी दुःख भोगिरहेका छौ, र हाम्रा समस्या तथा दुःखको प्रमुख कारण हाम्रो आफ्नै दृष्टिकोण हो भन्ने जानेर हामी त्यसको स्रोत आफूभित्र कहाँ छ भन्ने मात्र खोजी गर्छौं। बुद्धले हाम्रो समस्या र दुःखको प्रमुख कारण हाम्रो आफ्नै मिथ्या दृष्टि अर्थात् भ्रम हो भन्ने कुरा बताउनुभएको छ। त्यसैले जे भैरहेको छ, त्यससम्बन्धमा हामी कसरी भ्रममा पर्छौं र सही ज्ञान प्राप्त गरेर कसरी त्यो भ्रमबाट मुक्ति पाउन सक्छौं भन्ने कुराको अन्वेषण गर्नु जरुरी हुन्छ।

हाम्रा भ्रमहरू केसँग सम्बन्धित छन्? यसमा धेरै कुरा छन्। एक हो, व्यवहारगत कार्य-कारणको सम्बन्ध। हामी सोच्न सक्छौं, कुनै निश्चित तरीकाले केही काम गर्यौं भने हामीलाई त्यसको कुनै असर हुँदैन। उदाहरणका लागि, हामी सोच्न सक्छौं, “म अलिकति ढीला हुँला, तिमीलाई त्यति वास्ता नगरुँला अथवा त्यस्तै केही काम गरुँला। यसले केही फरक पर्नेवाला छैन।” तर त्यो गलत हो। त्यो भ्रमपूर्ण सोचाइ हो। अथवा हामीले केही गर्यौं अथवा कुनै व्यवहार गर्यौं भने त्यसले कुनै निश्चित नतिजा दिनुपर्छ भन्ने सोच्न सक्छौं। तर यस्तो सोच वाहियात वा असम्भव हुनसक्छ। उदाहरणका लागि, “मैले तिमीसँग राम्रो व्यवहार गरेँ। त्यसैले बदलामा तिमीले मलाई प्रेम गर्नुपर्छ। मैले तिमीलाई त्यति राम्रो उपहार किनेर दिएँ, तर किन तिमी मलाई माया गर्दैनौ?” यस्तो सोच राख्नु भनेको हाम्रो काम वा व्यवहारले कुनै असम्भव नतीजा दिनुपर्छ भन्ने कल्पना गर्नु हो। हामी यस्तो नतिजाको आशलाई चाहिनेभन्दा ठूलो बनाउँछौं र आफ्नो व्यवहारको असर जति हुनसक्छ, त्योभन्दा बढीको आशा गर्छौं। त्यस्तै हामी सोच्न सक्छौं कि कुनै कुराले एकखालको असर गर्नेछ, तर वास्तवमा असर त्यसको ठ्याक्कै उल्टो हुन्छ। उदाहरणका लागि, हामी खुशी हुन चाहन्छौं, र सोच्छौं कि रक्सीको नशामा मस्त रहँदा खुशी भइन्छ। तर यसले खुशी होइन, धेरै समस्याहरू चाहिँ लिएर आउँछ।

हाम्रो अस्तित्वको आधार के हो, अरुको अस्तित्वको आधार के हो, यो संसार कसरी टिकेको छ, आदि कुरालाई लिएर पनि हामीमा भ्रम हुन सक्छ। मानवका रूपमा हामी बुढेसकाल र रोगजस्ता कारणले दुःखी र बेखुशी हुन्छौं। तर मानव भएपछि त्योबाहेक के आशा गर्नु? जवानीमै मरिहाल्यो भने बेग्लै कुरा, नत्र मानिसहरू बिरामी पर्छन् र बुढा हुन्छन्। यसमा कुनै अचम्मको कुरै भएन। तर ऐनामा आफ्नो कपाल फुलेको देख्दा हामीलाई झट्का लाग्छ र हामी दुःखी हुन्छौं भने त्यो चाहिँ आफ्नो अस्तित्व र संसारकै अस्तित्वका बारेमा जुन सत्य छ त्यसलाई नकारेर भ्रममा बाँच्नुजस्तै हुन्छ। 

मानिलिऊँ हामीलाई वृद्धावस्था मन पर्दैन। यससम्बन्धमा हुने भ्रम, र खासगरी यसको यथार्थतालाई स्वीकार गर्न नसक्ने कारणले गर्दा हामी नकारात्मक आवेग र दृष्टिकोणको वशीभूत हुन्छौं र नकारात्मक ढंगले काम गर्न थाल्छौं। जस्तै, जवान र आकर्षक देखिनका लागि हामी व्याकुलतापूर्वक प्रयत्न गर्छौं। आकर्षक युवायुवतीले आफूलाई प्रेम गरुन्, आफूतिर ध्यान दिऊन् भन्ने चाहन्छौं। त्यसो हुँदा आफू सुरक्षित भएको भान पर्छ। यसको पछाडि प्रायः आफूलाई अति नै महत्त्वपूर्ण ठान्ने भ्रम हुन्छ। हामी आफूलाई यो संसारको सबैभन्दा महत्त्वपूर्ण मान्छे अथवा ब्रह्माण्डको केन्द्र नै जस्तो ठान्छौं। “सबैले मलाई ध्यान दिनुपर्छ। म जस्तोसुकै देखिए पनि मानिसहरूले मलाई आकर्षक ठान्नुपर्छ, मलाई मन पराउनुपर्छ” – यस्तो हिसाबले सोच्छौं। कसैले आफूलाई आकर्षक देखेन वा मन पराएन भने त हामी सहनै नसक्ने हुन्छौं। उनीहरू आफूप्रति आकर्षित होऊन् भन्ने ठान्छौ, चाहे त्यो शारीरिक रूपमा नभएर अन्य कुनै रूपमा नै किन नहोस्। तर त्यसो हुँदैन, जुन हामी सहन सक्दैनौं। हामीले के बुझ्नुपर्छ भने स्वयं शाक्यमुनि बुद्धलाई पनि सबैले मन पराउँदैनथिए। त्यसैले हामीलाई सबैले मन पराउदिऊन् भनेर के आश गर्नु?

सबैले हामीलाई मन पराइदिऊन् भन्नु असम्भव आश मात्र हो। यथार्थ यस्तो हुँदैन। यो आशका पछाडि भ्रम र सबैले आफूलाई आकर्षक ठानिदिऊन् तथा आफूप्रति ध्यान दिउन् भन्ने लालसा तथा आसक्तिले काम गरिरहेको हुन्छ। यसको भित्री कारण हाम्रो अबोधपन हो, जुन पक्कै पनि एक अप्रिय अवस्था हो। हामी आफूलाई अति नै महत्त्वपूर्ण र मायाको लायक ठान्छौं र सबैले आफूलाई मन पराउनुपर्छ भन्ने अपेक्षा गर्छौं। त्यसैले कसैले आफूलाई मन पराएन भने त्यो मानिसमा केही खराबी छ भन्ने सोच्छौं। तर त्योसँगै आफूप्रति पनि शंका गर्न थाल्छौं - “पक्कै ममा केही कमी हुनुपर्छ, जसका कारण त्यो मानिस मलाई मन पराउँदैन।” यसबाट हामी आफूप्रति हीनता र अपराधबोधको भावना लिन थाल्छौं। यो पनि अबोधपनले गर्दा हो। 

त्यसैले मुख्य कुरा भनेको बाह्य अवस्था जेसुकै भएपनि आफूभित्र सुधारको काम गर्नु हो। यदि हामी कुनै समस्या, असुरक्षा अथवा त्यस्तै कुनै अवस्थाको सामना गर्दैछौं भने प्रथमतः हामीले आफैँभित्र के भैरहेको छ भनेर हेर्नुपर्छ। हामीले अनुभव गरिरहेको नकारात्मक आवेगको स्रोत अर्थात् हाम्रो भ्रम कहाँ छ? हाम्रो कुनै नातासम्बन्ध समस्याग्रस्त छ र त्यसबारे हामी विवेचना गर्दैछौं भने के बुझ्नु जरुरी हुन्छ भने हामी मात्र भ्रमित छैनौं, अर्को व्यक्ति पनि उत्तिकै भ्रममा छ। हामी यसो भन्दैनौं – “मैले गरेको व्यवहार सबै ठीक छ, तिमीले चाहिँ आफूलाई बदल्नुपर्छ।” त्यस्तै अर्को व्यक्ति ठीकै छ, हामी आफू मात्र बदलिनुपर्छ भनेर पनि सोच्दैनौं किनकि त्यसले आफू सहिद भएको भाव आउन सक्छ। बरु अर्को व्यक्तिसँग खुलारूपमा आपसी सम्बन्धबारे छलफल गर्नुपर्छ। हुनत त्यसका लागि अर्को व्यक्ति पनि राजी हुनुपर्छ। दुबैजना आफू भ्रममा रहेको स्वीकार गर्नुपर्छ। यो सम्बन्ध कुन दिशामा जाँदैछ भन्ने कुरा हामी दुबैले बुझेनौं; त्यसैले हामी दुबै यो पारस्परिक भ्रम हटाउने कोसिस गरौं – यसरी समाधानतर्फ लाग्नुपर्छ। समस्या समाधान गर्ने सबैभन्दा व्यावहारिक र धर्मसंगत तरीका यही हो। 

अभ्यासमा उतार्नुअघि धर्म बुझ्नु आवश्यक

बुद्धधर्मको अभ्यास अनेक प्रकारले गरिन्छ। तर हातको सफाई देखाउने जादूमा निर्देशन लिएर काम गरेजस्तो धर्म अभ्यासमा कुनै निर्देशन लिएर काम शुरु गरिहाल्नु मात्र पर्याप्त हुँदैन। बुद्धधर्मको कुनै पनि अभ्यास गर्दा त्यसले हामीलाई आफ्ना कठिनाइहरूबाट मुक्ति पाउन कसरी सहायता गर्छ, जान्नु आवश्यक हुन्छ। कहिले र कसरी अभ्यास गर्ने मात्र जानेर हुँदैन, अभ्यासको मनोगत आधार के हो पनि थाहा पाउनु पर्छ। त्यसैले हामी एकैचोटि उच्चस्तरको अभ्यास गर्दैनौं, बरु अभ्यासको आधार बनाउँदै लग्छौं। हामी प्रारम्भिक चरणदेखि नै शुरु गर्छौं र त्यहाँबाट धर्म अभ्यासको सिंढी चढ्दै जाँदा आफ्नो अभ्यासमा कहाँ के भैरहेको छ, जान्दछौं। 

हुनत कतिपय बेला हामीलाई यस्तो शिक्षा पनि दिइन्छ – “तिमीलाई कुनै औषधि खान दिइएको छ भने त्यसले कसरी काम गर्छ भनेर सोध्नेतिर नलाग। बरु औषधि खाने काम गर।” यो एक राम्रो सुझाव हो, तर हामीले के बुझ्नुपर्छ भने यो एक अतिवादबाट बच्नका लागि दिइएको सुझाव मात्र हो। यस्तो अतिवादमा मानिसहरू शिक्षा पढ्न र बुझ्न सारा प्रयत्न लगाउँछन्, तर आफूले सिकेका कुरा व्यवहारमा लागू गर्दैनन्। यो अतिवादलाई हामीले त्याग्नु छ। हामीले त्याग्नुपर्ने अर्को एक अतिवाद पनि छ। बुद्धधर्मको कुनै निश्चित अभ्यासबारे कुनै शिक्षा सुन्यौं भने अन्धभक्ति देखाउँदै त्यो शिक्षा अपनाइहाल्न मन लाग्छ। त्यो अभ्यास कसरी र किन गर्ने तथा त्यसको तात्पर्य के हो, थाहा पाउने प्रयत्न नै गर्दैनौं। यो अतिवादका कारण हामी आफूले सिकेका शिक्षा दैनिक जीवनमा राम्ररी उतार्न सक्दैनौं। तर यदि कुनै अभ्यासको तात्पर्य के हो, त्यसले कसरी काम गर्छ र त्यसको उद्देश्य के हो भन्ने थाहा भयो भने हामी त्यसलाई आफ्नो जीवनमा कसैको सहायताबिना पनि उतार्न सक्छौं। जब हामी सार कुरा बुझ्छौं, तब त्यसलाई आफ्नो जीवनमा अपनाउन सक्छौं। 

समस्याबाट मुक्त हुने भनिरहँदा त्यसको अभिप्राय हाम्रो व्यक्तिगत समस्याबाट मात्र मुक्त हुने होइन, अपितु अरुलाई सहयोग गर्न जुन कठिनाई भोगिरहेका छौं त्यसबाट पनि मुक्त हुने हो। “म अल्छीपना, स्वार्थीपना, वा आफ्नो अति व्यस्तताको कारणले अरुलाई सहयोग गर्न सकिरहेको छुईन,” – हाम्रो हालत यस्तो हुन्छ। अथवा, “तिम्रो समस्या के हो, मलाई केही थाहा छैन। न त तिमीलाई कसरी सहायता गर्ने हो, त्यो नै थाहा छ।” यो अवस्था हाम्रा लागि बडो जटिल अवस्था हो, होइन त? यसरी अरुलाई सहयोग गर्न नसक्ने हुनु पनि हाम्रो भ्रमकै परिणति हो। त्यस्तै, हामी आफूलाई सर्वशक्तिमान परमात्माजस्तै ठान्ने भ्रममा हुनसक्छौं, र सोच्छौं – मैले कुनै एउटा सानो काम मात्र गर्नुपर्छ, तिम्रा सारा समस्याहरूको समाधान त त्यत्तिकै भैहाल्छ। यदि समाधान भएन भने पक्कै तिमीमा केही खोट हुनुपर्छ। तिमीले त्यो चीज राम्रोसँग गरेनौ, त्यसैले तिमी दोषी हौ। अथवा म दोषी हुँ, किनकि मैले तिम्रो समस्याको समाधान गर्न सकिन। म गएगुज्रेको हुँ। यस्तो विचार कार्य-कारणको अन्तर्सम्बन्धबारे रहेको भ्रमका कारण आउने हो।

धर्मप्रति दृढ विश्वास 

हामीलाई आफ्ना समस्याहरूबाट मुक्त हुनसक्छु भन्ने विश्वास हुनु पनि जरूरी छ। धर्मलाई दैनिक जीवनमा सन्तुलित र प्रभावकारी ढंगले अपनाउनका लागि अर्को महत्त्वपूर्ण शर्त हो - म आफ्ना समस्याहरूबाट मुक्त हुन सक्छु भन्ने विश्वास। आधारभूत बौद्ध दृष्टिकोण अवलम्बन गर्नाले हाम्रा भ्रमहरूको निवारण हुन्छ भन्ने कुरामा हामीलाई विश्वास हुनुपर्छ। त्यो दृष्टिकोण के हो भने, कुनै चीजको निवारणका लागि हामीले त्यसका कारणहरूको निवारण गर्नुपर्छ। तर पक्कै पनि, हाम्रा भ्रमहरूको पूर्ण निवारण गर्न सकिन्छ र तिनीहरूलाई फेरी कहिल्यै फर्केर नआउने बनाउन सकिन्छ भन्ने कुरामा गहन र दृढ विश्वास हुन असाध्यै कठिन छ। मुक्ति र बोधि प्राप्त गर्न सम्भव छ भन्ने कुरामा दृढ विश्वास हुन पनि त्यत्तिकै कठिन छ। त्यसमाथि मुक्ति के हो, बोधि के हो भन्ने राम्रोसँग थाहा नहुँदा त झन् त्यसमा विश्वास हुन कठिन हुने नै भयो। त्यसो भए हामीले त्यो अवस्था प्राप्त गर्न सम्भव छ कि छैन भनेर कसरी निधो गर्ने? यदि त्यस्तो अवस्था नै हुँदैन वा त्यसलाई प्राप्त गर्न सम्भव छैन भन्ने लाग्छ भने हाम्रो धर्म अभ्यास एक आडम्बर मात्र हुनेछ। यो एक प्रकारको बेवकूफीपूर्ण खेल खेलेजस्तो मात्र हुनेछ, र हाम्रो धर्म अभ्यास यथार्थ अभ्यास हुन सक्दैन।

मुक्ति र बोधि कुरामा हामीलाई दृढ विश्वास हुनुपर्छ, जसका लागि असाध्यै धेरै अध्ययन र सुझबुझको आवश्यकता पर्छ। साथै गहिरोसँग चिन्तन र ध्यान पनि गर्नुपर्ने हुन्छ। मुक्ति र बोधि सम्भव छ, र यो मेरा लागि पनि सम्भव छ भन्ने कुरामा पक्का विश्वास हुनुपर्छ। शाक्यमुनि बुद्धले त्यो अवस्था प्राप्त गरे, तर म चाहिँ सक्दिन भनेर सोच्ने होइन। म त्यो अवस्था प्राप्त गर्न सक्छु, र म मात्र होइन, सबैजना सक्छन् भन्ने विश्वास हुनु जरुरी छ। हाम्रा भ्रमहरूबाट मुक्तिका लागि त्यो अवस्था प्राप्त हुनुपर्छ भन्ने बुझ्नु जरुरी छ। हामीलाई भ्रमबाट साँच्चिकै मुक्त गराउने चीज के हो? सही ज्ञानले नै हामीलाई भ्रमबाट मुक्ति दिलाउन सक्छ। सही ज्ञानले नै भ्रमलाई परास्त गर्न र यसलाई सदाका लागि निवारण गर्न सक्छ भन्ने कुरा बुझ्नु आवश्यक हुन्छ। यो सबै बुझेपछि हामी यो पनि थाहा पाउँछौं कि धर्म अभ्यासका लागि हामीले आफ्नो दैनिक जीवनमै काम गर्ने हो। हामीले आफ्नो जीवनमा आइरहने समस्या, भ्रम, र कठिनाईहरूको सामना गर्ने क्रममा क्षण–प्रतिक्षण धर्मको अभ्यास गर्ने हो।

धर्म अभ्यासका लागि आत्म–निरीक्षण आवश्यक

धर्म अभ्यास भनेको आफ्नो दैनिक जीवनबाट छुट्टी लिनु होइन। यो कुनै सुन्दर र शान्त गुफाभित्र पसेर वा आफ्नै कोठाभित्र आरामपूर्वक ध्यानको चकटीमा बसेर जीवनका समस्याबाट भाग्न गरिने अभ्यास होइन। समस्याबाट भाग्नु धर्म अभ्यासको मर्म होइन। कुनै शान्त स्थानमा गएर ध्यान गर्नुको अभिप्राय जीवनका समस्याहरूको सामनाका लागि आवश्यक पर्ने सीप र क्षमताको विकास गर्नु हो। हाम्रो जीवन नै धर्म अभ्यासको केन्द्रबिन्दु हो। धर्मको उद्देश्य ध्यानमा बस्नु र यसमा ओलम्पिक स्वर्ण पदक जित्नु होइन। धर्मको अभ्यास भनेको धर्मलाई आफ्नो जीवनमा उतार्ने अभ्यास हो।

धर्म अभ्यासमा आफ्नो अन्तर्मनको निरीक्षण गरिन्छ। यहाँ हामी आफ्ना मनोभाव, मानसिक प्रेरणा, दृष्टिकोण, र व्यवहारका बाध्यकारी प्रवृत्तिहरूप्रति सचेत रहने प्रयत्न गर्छौं। आफ्ना नकारात्मक आवेग (क्लेश) हरूप्रति विशेष होश राख्छौं। नकारात्मक आवेग वा दृष्टिकोणको मुख्य विशेषता के हो भने यो आएको बेला हामी आफैंलाई वा अरुलाई कष्ट हुन्छ। हामी आफ्नो चित्तको शान्ति गुमाउँछौं र आफूलाई नियन्त्रित गर्न सक्दैनौं। नकारात्मक आवेगको यो विशेषता थाहा पाउनु हाम्रा लागि उपयोगी हुन्छ, किनकि जब हामी यसको वशमा पर्न लाग्छौं, हामी त्यो जानेर सचेत हुन सक्छौं। चित्तको अवस्था असहज हुनासाथ हामी थाहा पाउन सक्छौं – कुनै कुरा हाम्रो चित्तमा चलिरहेको छ, जसले हामीलाई असहज बनाइरहेको छ। त्यो अवस्थामा आफूभित्र के चलिरहेको छ, जानेर त्यसको निवारणको उपाय अपनाउन सक्छौं।
 
तर यसरी जान्न र निवारणको उपाय गर्न हामी आफ्नो अन्तर्मनको गतिविधिप्रति एकदमै सम्वेदनशील हुनुपर्छ। आफ्नो आवेगात्मक अवस्था कष्टकर भएको जानेर त्यसको निवारण गर्न सक्षम हुनका लागि यो बुझ्नु आवश्यक छ कि हामीले अशान्त भएर वा अशान्ति निम्त्याउने तरीकाले कुनै काम गर्यौं भने त्यसले आफ्नो र अरुको लागि असाध्यै धेरै दुःखको सिर्जना गर्छ। यस्तो अवस्था हामीले धेरै भोगिसक्यौं, अब त पुग्यो – यसरी हेर्नु आवश्यक छ। यदि हामी आफैं विचलित छौं भने कसरी अरुलाई सहयोग गर्न सकौंला र?

लचकता

धर्म अभ्यासका लागि अनेक परस्पर विरोधी तत्त्वहरूबारे जानकारी हुनुपर्छ। यस्ता तत्त्वहरू एक वा दुई मात्र होइन, त्योभन्दा बढी हुन सक्छन्। हाम्रो जीवन अत्यन्तै जटिल छ, र कुनै एकमात्र निवारक उपायले सधैँभरी काम गर्दैन। कुनै एक प्रकारको अभ्यासले मात्र सबै परिस्थितिमा प्रभावकारी ढंगले काम गर्न सम्भव छैन। धर्मलाई दैनिक जीवनमा साँच्चिकै अपनाउन हामीले ज्यादै लचकता र विभिन्न उपायहरूको सहयोग लिनुपर्ने हुन्छ। यो उपायले काम गरेन भने त्यो उपाय अपनाउँछौं, र त्यो उपायले काम गरेन भने फेरी यो उपाय अपनाउँछौं।

मेरा गुरु चेन्शाब सेरकोंग रिन्पोछे भन्नुहुन्थ्यो – तिमी जीवनमा कुनै काम गर्न लाग्दैछौ भने जहिले पनि दुई वा तीनवटा वैकल्पिक योजना बनाएर बस। त्यसो हुँदा ‘प्लान ए’ ले काम गरेन भने तिमीले हार मानेर बस्नुपर्दैन। तिमीसँग वैकल्पिक योजनाहरू हुनेछन्, ‘प्लान बी’ र ‘प्लान सी’। एउटा न एउटाले त काम गरिहाल्छ। मेरा लागि यो सल्लाह एकदमै उपयोगी साबित भएको छ। धर्मको हकमा पनि यही लागू हुन्छ ः पहिलो तरीकाले कुनै परिस्थितिमा काम गरेन भने हामीसँग वैकल्पिक योजना हुन्छ। हामी अरु कुनै कुराको अभ्यास गर्न सक्छौं। तर निश्चय पनि यसका लागि हामीले पर्याप्त अध्ययन र विभिन्न प्रकारका ध्यान तथा साधना पद्धतिहरूको शिक्षा लिएको हुनुपर्छ ताकि हामी त्यसलाई अपनाउन सकौं। यस्तो तरीका शारीरिक कसरतका क्रममा पनि अपनाइन्छ। धर्मको अभ्यासमा हामी आफूलाई यसरी अभ्यस्त बनाउँछौं कि वास्तविक जीवनमा पनि आवश्यक परेका बेला त्यसको उपयोग गर्न सकियोस्। तर त्यसका लागि धर्मलाई एक सोखको रूपमा मात्र नलिएर पूर्णकालीन प्रतिबद्धताको रूपमा लिनु आवश्यक हुन्छ।
 

अतिवादबाट बचौं

बुद्धधर्मलाई हामी आफ्नो पारिवारिक जीवनमा अपनाउछौं। यसलाई आफ्ना मातापिता, सन्तान,  र कार्यालयका सहकर्मीहरूसँगको व्यवहारमा प्रयोग गर्छौं। तर त्यसो गर्दा हामीले अतिवादबाट बच्नुपर्ने हुन्छ। यसबारे अलिकति चर्चा हामीले पहिल्यै गरिसक्यौं। आफ्ना सबै समस्याको दोष अरुमाथि थोपर्ने वा सम्पूर्णरूपमा आफैंलाई मात्र दोषी मान्ने – यी दुवै अतिहरूबाट टाढा रहनुपर्छ, किनकि दोष एक पक्षको मात्र हुँदैन, दुवै पक्षको हुन्छ। हामी अरुलाई बदल्न खोज्छौं, तर त्योभन्दा सजिलो आफैंलाई बदल्नु हुन्छ। 
 
अभ्यासको केन्द्रबिन्दु आफ्नो सुधार नै हो, तर त्यसका लागि हामीले आफूलाई मात्र सर्वोत्तम ठानी अत्यधिक आत्म–केन्द्रित हुनु हुँदैन। आत्म–केन्द्रित हुँदा हामी आफ्नो मात्र खयाल गर्छौं, अरुका बारेमा वास्ता गर्दैनौं। यसले हामी नै ब्रह्माण्डको केन्द्र हौं, हाम्रो समस्या संसारकै ठूलो समस्या हो भन्ने सोचलाई बल प्रदान गर्छ। यस्तो अवस्थामा हामी अरु सबैको समस्या गौण हुन् र उनीहरूलाई जे गरेपनि चोट पुग्दैन भन्ने सोच्छौं। 

अतिवादको अर्को उदाहरण आफूलाई एकदमै नराम्रो वा एकदमै राम्रो ठान्नु हो। हामीले आफ्ना जटिल पक्षहरू केलाउनु पर्छ र तिनको सुधारको प्रयत्न गर्नुपर्छ। तर यसका साथै आफ्ना राम्रा पक्षहरू र राम्रा गुणहरू पनि चिन्नुपर्छ ताकि तिनको थप विकास गर्न सकियोस्। हामी पश्चिमाहरूमा आत्मसम्मानको भाव त्यसै पनि कम हुन्छ। त्यसैले आफ्ना समस्या र भ्रममा धेरै केन्द्रित भयौं भने आत्मसम्मानको भाव झनै न्यून हुन जान्छ। धर्म अभ्यासको अभिप्राय त्यसो गराउनु होइन।

आफ्ना विनाशकारी आवेगहरूप्रति सचेत रहनुका साथसाथै आफ्ना असल गुणहरूको स्मरण गरेर दृष्टिकोणलाई सन्तुलित राख्नुपर्छ। एकदमै क्रुर मानिसहरूले पनि आफूमा केही न केही असल गुणहरू रहेको पाउँछन्। जस्तै, कुनैबेला कुकुर वा बिरालोको सानो छाउरो आफ्नो काखमा बसेको, त्यसलाई मायाले सुम्सुम्याएको र त्योप्रति स्नेहको भाव जागेको अनुभव त उनीहरूले पक्कै पनि गरेका हुन्छन्। हरेक मानिसले कम्तीमा त्यति त अनुभव गरेको हुन्छ। यसरी स्नेहपूर्ण व्यवहार गर्नसक्छु भन्ने जानेपछि हामीलाई आफ्नो सकारात्मक पक्षबारे जानकारी हुन्छ। धर्म अभ्यास हाम्रो नकारात्मक पक्षलाई सुधार्नका लागि मात्र होइन। यो एक सन्तुलित अभ्यास हुनुपर्छ। हामीले आफ्नो सकारात्मक पक्षलाई पनि सबल बनाउनुपर्छ।

आफ्ना कमीकमजोरीलाई सुधार्न र राम्रा पक्षलाई थप सबल बनाउने सन्दर्भमा सन्तुलित दृष्टिकोण कायम गर्न पनि हामी अतिवादबाट बच्नुपर्छ। यहाँ अतिवादको अर्को दुई रूप हुन्छ। पहिलो हो, अत्यधिक अपराधबोध। “म साह्रै नै खराब छु। मैले अभ्यास गर्नैपर्छ। अहिले मैले अभ्यास गरिरहेको छुईन, त्यसैले म झनै खराब हुनेभएँ।” यो “गर्नैपर्छ” भन्ने शब्दलाई हामीले आफ्नो बौद्ध अभ्यासको क्रमबाट हटाउनुपर्छ। अभ्यासमा कहिल्यै पनि यसरी “गर्नैपर्छ” भन्ने बाध्यता हुनुहुँदैन। हामी आफ्ना वर्तमान दुःखहरूबाट मुक्त हुन चाहन्छौं र भविष्यमा नयाँ दुःख सिर्जना नहोउन् भन्ने चाहन्छौं भने त्यसका लागि सबैभन्दा स्वस्थकर दृष्टिकोण यस्तो हुन सक्छ – “मलाई आफ्नो दुःखबाट मुक्ति पाउनु छ। यो अभ्यासले त्यसमा सहयोग गर्छ।” त्यसो हुँदा अभ्यास गर्नु वा नगर्नु हाम्रो आफ्नै रोजाई हुन्छ। हामीलाई कसैले यसो भन्दैन – “तिमीले यो अभ्यास गर्नैपर्छ। गरेनौ भने तिमी खराब हौ।” 
 
त्यस्तै हामी अतिवादको अर्को रूपबाट पनि बच्नुपर्छ। यो अतिले आफूलाई सर्वोत्कृष्ट ठान्छ। “हामी त त्यसै उत्कृष्ट छौं। केवल आफ्नो बुद्ध–स्वभावबारे थाहा पाउनुपर्छ, सब ठीक भैहाल्छ।” यो एक खतरनाक अतिवाद हो किनकि हामीले यस्तो धारणा लियौं भने आफ्नो सुधार गर्नु आवश्यक नै छैन, मैले आफूमा भएका कुनै पनि नकारात्मक कुराहरू छाड्नु जरुरी छैन किनकि म त त्यत्तिकै परिपूर्ण छु – यस्तो सोच्न थालिन्छ। त्यसैले हामीले आफूलाई खराब ठान्ने र उत्कृष्ट ठान्ने दुवै खालको अतिवादलाई छाड्नुपर्छ। मूलतः हामीले आफ्नो जिम्मेवारी आफैं लिनुपर्छ। धर्मलाई आफ्नो दैनिक जीवनको अंग बनाउनका लागि यो अपरिहार्य शर्त हो। हामी आफ्नो जिम्मेवारी लिन्छौं, र आफ्नो जीवनको अवस्था सुधार्न प्रयत्न गर्छौं।

प्रेरणा

आत्मसुधारको काम गर्दा हामी आफ्ना आध्यात्मिक शिक्षकहरू र सँगै अभ्यास गर्ने अन्य साधकहरूबाट प्रेरणा लिनसक्छौं। शिक्षकहरूले हावामा उड्न सक्ने शताब्दियौं अगाडिका गुरुहरूको कथा सुनाउन सक्नुहोला तर त्यस्तो कथा धेरै मानिसका लागि प्रेरणाको भरपर्दो स्रोत हुन सक्दैन। यस्ता कथाहरूलाई आफ्नो वास्तविकतासँग जोडेर हेर्न सकिँदैन र तिनले हामीलाई जादुई दुनियाँको जालमा फसाउँछन्। बरु त्योभन्दा जीवित मानिसहरूबाट लिइने प्रेरणा उत्तम हुन्छ, जसलाई हामीले वास्तविक जीवनमा कुनै तवरले भेटेका हुन्छौं, चाहे त्यो भेट नाममात्रको नै किन नहोस्।
 
मलाई दुद्जोम रिन्पोछेको सम्झना आउँछ। उहाँको मृत्यु भएको निकै वर्ष भयो। उहाँ न्यिङ्मा सम्प्रदायका प्रमुख हुनुहुन्थ्यो र मेरा शिक्षकहरूमध्ये एक हुनुहुन्थ्यो। उहाँलाई दमको असाध्यै समस्या थियो। मलाई पनि दमको समस्या छ, र बुझ्न सक्छु कि दम हुँदा श्वास लिन कति गाह्रो हुन्छ। दमले सताएको बेला शिक्षण गर्न झनै गाह्रो हुन्छ भन्ने पनि मलाई थाहा छ। तपाईंले सामान्य रूपमा श्वास लिन सक्नुहुन्न र आफ्नो सम्पूर्ण शक्ति पर्याप्त श्वास तान्नमै खर्च हुन्छ। त्योबेला कतै गएर केही काम गर्न तपाईसँग कुनै शक्ति हुँदैन। यसरी दमले असाध्यै च्यापेको बेला पनि दुद्जोम रिन्पोछे मञ्चमा जानुहुन्थ्यो र शिक्षा दिनुहुन्थ्यो। उहाँलाई दमले विचलित गर्न सक्दैनथ्यो र शिक्षा दिने क्रममा अविश्वसनीय रूपमा त्यसलाई सम्हाल्न सक्नुहुन्थ्यो। उहाँको त्यो खुबी अद्भूत प्रेरणा दिने खालको थियो। तर त्यो एकदमै यथार्थमा आधारित थियो, उहाँले कुनै जादुई प्रयोग गर्नुभएको थिएन। उहाँ वास्तविक जीवनको समस्याको सामना गरिरहनु भएको थियो, जसबाट हामी प्रेरणा लिन सक्छौं।
 
साधनाको मार्गमा अगाडि बढ्दै र प्रगति गर्दै जाँदा हामी आफैंबाट पनि प्रेरणा प्राप्त गर्न सक्छौं। यो पनि प्रेरणाको एक महत्त्वपूर्ण स्रोत हुन सक्छ। आफैंमा आएको सुधारबाट हामी प्रेरणा लिन सक्छौं। तर यसमा हामी अलि सावधान चाहिँ हुनुपर्छ। धेरै मानिसले प्रगतिसँगै आउने उत्तेजनालाई सम्हाल्न सक्दैनन्।   अलिकति प्रगति हुनेबित्तिकै घमण्ड र दम्भ उत्पन्न हुने सम्भावना धेरै हुन्छ। त्यसैले हामीले कस्तो अवस्थालाई प्रगति भएको मान्ने, त्यसमा सचेत हुनुपर्छ।

प्रगति

प्रथमतः, यो बुझ्नु जरुरी हुन्छ कि प्रगति कहिल्यै पनि सोझो रेखामा अगाडि जाँदैन। यो कहिले माथि जान्छ, कहिले तल। फेरी यो क्रम दोहोरिरहन्छ। यो संसारको एक विशेषता हो, यहाँ यस्तै हुन्छ। उच्च वा निम्नस्तरको पुनर्जन्मको हकमा मात्र होइन, यसरी तलमाथि हुने क्रम हाम्रो दैनिक जीवनमा पनि सधैं देखिन्छ। एकछिनमा म खुशी हुन्छु, एकछिनमा दुःखी। हाम्रो मुड तलमाथि भैरहन्छ। एकछिनमा मलाई साधना गर्न मन लाग्छ, एकछिनपछि लाग्दैन, यसमा पनि तलमाथि भैरहन्छ। त्यसैले अचम्म नमान्नुहोला। वास्तवमा जबसम्म हामी अर्हत् वा संसारबाट मुक्त भैसकेका हुँदैनौं, तबसम्म यो क्रम जारी रहन्छ। तर त्यो भनेको एकदमै उच्च अवस्था हो। त्यसैले कहिलेकाहीँ लामो समय साधना गरिसक्दा पनि व्यक्तिगत प्रेमसम्बन्धका कारण हामी समस्यामा पर्नसक्छौं। अचानक हामी विचलित हुनसक्छौं। यस्तो अवस्था आउन सक्छ, यसबाट हतास हुनु आवश्यक छैन। किनकि यस्तो अवस्था आउनुको मतलब यो होइन कि हाम्रो साधना कामै नलाग्ने थियो। सांसारिक बाध्यताभित्र पाइपर्ने एक स्वाभाविक प्रक्रियाको रूपमा यसलाई लिनुपर्छ।
 
सामान्यतया धर्म अभ्यासमा चमत्कार घटित हुँदैन। यदि हामी धर्मलाई आफ्नो दैनिक जीवनमा उतार्न चाहन्छौं भने चमत्कारको आश गरेर बस्नुहुँदैन। त्यो पनि खास गरेर आफ्नो प्रगतिको हकमा। आफ्नो प्रगतिलाई यथार्थको कसीमा कसरी नाप्ने? यसबारेमा परम पूजनीय दलाई लामा भन्नुहुन्छ – धर्म अभ्यासको एक वा दुई वर्षमै नतिजा नखोज। कम्तीमा पाँच वा दश वर्षसम्म अभ्यास गरेपछि यसबारेमा विचार गर। “पाँच वा दश वर्षअघिको तुलनामा के म बढी शान्त छु? के म कठिन समस्याहरूको सामना राम्रोसँग र विचलित नभैकन गर्नसक्ने भएको छु?” यदि हामीमा यस्तो परिवर्तन आएको छ भने हाम्रो अभ्यास प्रगतिपथमा उन्मुख छ भनेर जान्नुपर्छ। यसबाट हामी प्रेरणा लिन सक्छौं। हाम्रासामु समस्या आउँछन्, तर तिनको सामना गर्ने शक्ति हुन्छ। कठिन परिस्थितिमा हामी विचलित हुँदैनौं। केही भैहाले हामी चाँडै पूर्व अवस्थामा फर्किन सक्छौं।

आफैंबाट प्रेरणा लिनुको मूलमर्म के हो भने यसले हामीलाई आफ्नो बाटोमा थप अगाडि बढ्ने शक्ति प्रदान गर्छ। किनकि हामीलाई आफू सही बाटोमा हिँड्दैछु भन्ने ज्ञान हुन्छ र आफैंप्रति विश्वास हुन्छ। तर यस्तो विश्वास तब मात्र हुनसक्छ जब सही बाटोमा हिँड्नु के हो भन्ने सम्बन्धमा हाम्रो दृष्टि यथार्थपरक हुन्छ। प्रगति सधैँभरी एकैनासको हुँदैन, यसमा तलमाथि परिरहन्छ। यो जान्नु नै यथार्थपरक दृष्टि हो। धर्मलाई आफ्नो दैनिक जीवनमा उतार्नेसम्बन्धमा यी केही सामान्य सल्लाहहरू हुन्। मलाई आशा छ यो उपयोगी हुनेछ। धन्यवाद।

Top