“खास केही होइन” भन्ने रवैयाले जीवनमा काम गर्ला?

प्रश्नः मलाई यो “खास केही होइन” भन्ने रवैया साँच्चिकै मन पर्छ। तर जब बाँकी दुनियाँसँगको सम्बन्धमा यस्तो रवैया लिन्छौं, त्यो बेला चाहिँ मलाई के होला भन्ने लाग्छ। मानिलिउँ, तपाईं कुनै परियोजनामा काम गर्दै हुनुहुन्छ र केही काम बिग्रियो भने “ठीकै छ, खास केही होइन। यस्तो त भैहाल्छ नि!” भन्नुभयो रे। त्यो बेला अरूले हामीलाईं आफ्नो कामलाई गम्भीरतापूर्वक नलिएको सोच्लान् भन्ने मलाई डर लाग्छ। 

डा. बर्जिनः यो खास केही होइन भन्ने रवैयालाई गलत अर्थमा नबुझ्नुहोला। यो केही नगर्ने भन्ने होइन। यो कुनै कुराप्रति बेवास्ता गर्ने र “जेसुकै होस्” भन्ने मनोवृत्ति पनि होइन। “खास केही होइन” भन्नुको मतलब खुसी वा बेखुसी जस्तो अनुभूति हुँदा पनि विचलित नहुने र दुवै अवस्थालाई अनावश्यक ठूलो नबनाउने हो। हामी जे काम गर्दैछौं, त्यसलाई तर्कसंगत र शान्त ढंगले निष्पन्न गर्नुपर्छ। आफूले गर्नुपर्ने कामलाई विचलित नभई गर्नुपर्छ। 

तर अरू विचलित भए भने के गर्नु?

अरू विचलित भए भने तपाईंले उनीहरूलाई शान्तिपूर्ण ढंगले सहयोग गर्न सक्नु हुन्छ। एक सामान्य उदाहरणबाट यो कुरा बुझौं। मानिलिउँ तपाईं कम्प्युटरमा कुनै डकुमेन्टमा काम गर्दै हुनुहुन्छ र एक गलत बटन थिच्नाले त्यो डकुमेन्ट उड्यो। यस्तो कुरा भैरहन्छ। त्यो बेला विचलित भएर केही फाइदा छैन। यदि “अन–डु” गर्ने सुविधा छैन र हामीले गरेको गल्तीलाई नगरेको बनाउन सकेनौं भने त्यो त गयो। त्यसैमा रुवाबासी गरेर पनि फिर्ता आउनेवाला छैन, विचलित भएर वा उदास भएर बस्नाले पनि केही फाइदा छैन। त्यसले त झन काम बिग्रिन्छ। हामीले केवल “ठीकै छ” भन्ने सोचेर फेरि लेख्नुपर्ने हुन्छ। के लेखेको थियौं, त्यो कुराको स्मरण गर्न राम्रोसँग सिकेका छौं भने त्यसलाई पुनः लेख्न सक्छौं, र हुन सक्छ दोस्रो पटक अझ राम्रो लेखियोस्। त्यो परिस्थितिलाई सामान्य ढंगले निपटारा गर्छौं, ड्रामा क्वीनजस्तो नौटंकी गरेर उफ्रिदैनौं। यदि हामीले टीममा बसेर काम गर्दैछौं र उक्त टीमसँग सम्बन्धित लेख कागजात तयार गर्दै थियौं भने हाम्रो शान्त व्यवहारले अरूलाई पनि शान्त रहन सहयोग गर्छ। 

यो कुरा कुनै एक निश्चित परिस्थितिमा अनुभूति गर्ने खुसी वा बेखुसीको सन्दर्भमा हो कि आम परिस्थितिमा?  

म हामीले स्वयंसँग गर्ने व्यवहारको कुरा गर्दैछु। खुसी वा बेखुसी जेको अनुभूति गर्दै भए पनि हामीले आफ्नो जीवनलाई सहजतापूर्वक लिनुपर्छ र चीजहरूलाई अनावश्यक रूपमा बढाइचढाइ गर्नु हुँदैन। तर अरू मानिस खुसी वा बेखुसी वा विचलित भएको बेला के गर्ने त? मानिलिउँ बालक रोइरहेको छ। हामीले उसबाट के आशा गर्नु, उ त बालक न हो! “अहो, लौन, यो बालक त रोइरहेको छ!” भनेर हामी विचलित हुने त कुरा भएन। त्यो परिस्थितिलाई हामी धेरै बढाइचढाइ गर्दैनौं र सहजतापूर्वक उक्त बालकको हेरविचार गर्छौं। उ किन रोइरहेको छ त? त्यो जानेर जे गर्नुपर्ने हो त्यो हामी गर्छौं। कुरा त्यति हो।

शान्तिदेवले यो विषयलाई सुन्दरतापूर्वक बताउनुभएको छ। उहाँ भन्नुहुन्छ, “मानिसहरू त बालकजस्तै हुन्।” त्यसैले उनीहरू दुःखी हुन्छन्। यो त एक बालकले रोएजस्तै हो। बालकबाट हामीले के आशा गर्नु? हामीले त्यो परिस्थितिलाई धेरै बढाइचढाइ गर्ने होइन, बरु उनीहरूलाई शान्त रहन सहयोग गर्नुपर्छ र चीजहरूलाई यथार्थको अनुरूप ल्याउने प्रयास गर्नुपर्छ। 

विचलित हुनु भनेको कुनै कुराको अस्तित्वलाई बढाइचढाइ गर्नु मात्र हो, यसलाई अनावश्यक ठूलो बनाउनु मात्र हो। शून्यताको शिक्षाले यही कुरा बताउँछ। केही पनि कुरा त्यस्तो ज्यादै ठूलो छैन। त्यस्तो ठूलो ठानेको कुरा यथार्थको अनुकूल हुँदैन। चीजहरू घटित हुन्छन्, कुरा बस त्यति हो। हामी तिनलाई उपयुक्त तवरले लिन्छौं। हामीमा आवेग हुन्छन् त? अवश्य पनि। मैत्री, करुणा, धैर्य जस्ता सकारात्मक आवेगहरू धेरै राम्रा हुन्। तर रिस, अधैर्य, असहिष्णुता जस्ता नकारात्मक आवेगहरूलाई व्यवहारमा परिणत गर्नु आवश्यक छैन, किनकि तिनीहरूले हाम्रो रत्तिभर पनि हित गर्दैनन्। 

मलाई के लाग्दैछ भने यो कुरालाई हामीले एक कदम अगाडि लग्यौ भने लोजोङ मतिशोधनको शिक्षासँग मिल्छ। हामीले आफ्ना समस्याहरूलाई गहन अन्तर्दृष्टि विकास गर्नका लागि सिँढीको रूपमा उपयोग गरेर तिनबाट शिक्षा लिन सक्छौं।  

सही हो। 

के तपाईंलाई यो मतिशोधनको विधि अव्यावहारिक छ भन्ने लाग्छ? बरु मानिसहरूले कुनै ठूलो कुरा होइन, खास केही होइन भन्ने हिसाबले व्यवहार गर्नु बढी व्यावहारिक हुन्छ भन्ने तपाईंलाई लाग्छ? 

हाम्रो दृष्टिकोण बदल्ने प्रयास गर्नका लागि लोजोङका मतिशोधन विधिहरू छन्। जस्तै, हामीले नकारात्मक परिस्थितिलाई पनि सकारात्मकको रूपमा हेर्न सक्छौं। यी विधिहरू पक्कै पनि एकदमै राम्रा छन्, तर हामीले आफूलाई अनुभूति भैरहेको कुरालाई बढाइचढाइ गर्न छाड्नुपर्छ र, मलाई लाग्छ कि कुनै पनि परिस्थितिलाई बदल्नका लागि त्यसलाई यथार्थ रूपमा हेर्नुपर्छ। यदि हामीले त्यो परिस्थितिलाई ज्यादै बढाइचढाइ गरेर बर्बादी नै भयो भन्ठान्यौं भने त्यसलाई बदल्न एकदमै कठिन हुनेछ। जस्तै, “अहो यो त सर्वनाशै भयो। बालकले आफ्नो डाइपरमा फेरी दिसा गर्यो।” बरु त्यो परिस्थितिलाई बदल्नका लागि हामीले अलि यथार्थवादी दृष्टिकोण लिन सक्छौं, “सबै दिसा गरेको डाइपर मकहाँ आइपुगोस्, म सबैको डाइपर बदलिदिन्छु।”

यसका लागि हामीलाई एक क्रम चाहिन्छ : पहिला त बालकले दिसा गर्यो भन्ने कुरा। त्यसमा कुन ठूलो कुरा भयो? उ त केवल बालक हो। हामी उसको डाइपर बदलिदिन्छौं। डाइपर बदल्दै गर्दा पनि हामीलाई सुखद अनुभूति हुँदैन, किनकि त्यो गन्ध राम्रो हुँदैन। त्यो बेला हामी लोजोङ अभ्यास गर्न सक्छौं, जस्तो कि “यो बालकको सरसफाई गर्नुसँगै म सबैको दाग र फोहोर सफा गर्न सकुँ। यो कामले गर्दा त्यस्तो हेतु बनोस् जसबाट म सबैलाई सफा राख्न सक्षम होउँ।” तर पहिला हामीले सर्वनाशै भयो भन्ने धारणालाई बिखंडित गर्नुपर्छ। यसरी हामी यो कुरा चरणबद्ध रूपमा गर्छौं।

म सबैका लागि ती सबै डाइपरहरू बदलिदिने कुरा सोच्छु। कस्तो फोहोरी कुरा। 

हो, यसरी सारा संसारको सबै फोहोर आफैंले सफा गर्नुपर्ने हो भने कोही पनि बौद्धमार्गी हुन चाहँदैन। यो साँचो हो। तर एक आम सिद्धान्त के हो भने दिक्कलाग्दा उदाहरणको साटो अलि रमाइलो उदाहरण लिएर कुरा गर्यौं भने मनमा गहिरो छाप पर्छ। कुरा ठीक हो? 

मेरो जिज्ञासा के हो भने, दैनिक जीवनको सन्दर्भमा कुनै विनाशात्मक सम्बन्ध वा त्यस्तै अन्य केही अवस्थामा अप्रिय अनुभूति हुन्छ भने त्यो अवस्थामा यो कुरालाई कसरी लागू गर्न सकिएला? 

हामी कुनै विनाशात्मक सम्बन्धमा छौं र परिस्थिति ज्यादै बिग्रँदै गएको छ भने हामी “के भयो त, यो त संसार हो” भन्दै बेवास्ता गर्दैनौं। त्यो बेला हामी आफ्नो विवेकपूर्ण होशको प्रयोग गर्छौं, जसलाई परम पूजनीय दलाई लामाले “अद्भूत मानव बुद्धि” भन्नुभएको छ। हामीले परिस्थिति हितकर छ कि हानिकारक भनेर छुट्याउनु पर्छ। उक्त सम्बन्धमा रहिरहनु आफ्ना लागि र अर्को व्यक्तिका लागि हितकर छ कि हानिकारक भनेर खुट्याउनु पर्छ। हितकर छैन र दुवै पक्षका लागि हानिकारक छ भने त्यसलाई टुंग्याउनु पर्छ। कुरा के हो भने हामीले स्पष्टसँग सोच्न सक्नुपर्छ। त्यस्तो कुरालाई आधार बनाउनु हुँदैन जो परिस्थितिलाई बढाइचढाइ गरिएको वा यथार्थसँग मेल नखाने गरी आफैँले अनुमान गरिएको होस्। पक्कै पनि, कतिपय बेला छुट्टिनु नै श्रेयस्कर हुन्छ। तर त्यस्तो निर्णय स्पष्ट मन, स्पष्ट विश्लेषणका आधारमा लिनुहोस्। 

के हाम्रा अन्तर्निहित भावहरूका बारेमा सचेत हुने र तिनलाई इमान्दार भएर अभिव्यक्त गर्ने प्रयास गर्नु सकारात्मक कुरा हुन सक्छ?  

अक्सर हामी आवेगहरू अनुभूति गर्छौं, पश्चिमी भाषामा भन्ने हो भने अचेतन स्तरमा। प्रश्न के हो भने कुनै अवस्थामा तिनलाई अभिव्यक्त हुन दिनु ज्यादा उपयुक्त हुन्छ कि हुन्न? यसमा हामीले विचार गर्नुपर्ने दुई फरक अवस्था मेरो दिमागमा आइरहेको छ, एक विनाशकारी आवेग, अर्को सिर्जनात्मक। उदाहरणका लागि रिस वा मैत्रीलाई लिउँ। हाम्रो मनमा अचेतन तहमा कसैप्रति हिंसात्मक भाव आइरहेको छ भने निश्चय नै त्यसप्रति हामी सचेत हुनुपर्छ। त्यसप्रति सचेत हुनुको अर्थ अरूप्रति रिस पोख्नु आवश्यक छ भन्ने होइन। यहाँ पनि हामीले जे भैरहेको छ, त्यसको विभिन्न पक्षहरूका बारेमा अन्वेषण गर्नु र तिनलाई टुक्र्याएर हेर्नुपर्ने हुन्छ। 

उदाहरणका लागि, मानिलिउँ मेरा साथीहरू छन् र उनीहरूसँग कुराकानी गर्ने क्रममा म सधैँ सोध्छु, “तिमीलाई कस्तो छ? हालखबर के छ?” तर उनीहरू मलाई कस्तो छ वा मेरो हालखबर के छ भनेर कहिल्यै सोध्दैनन्। हो, उनीहरू कहिल्यै सोध्दैनन्। कति रिसउठ्दो कुरा! उनीहरू यति आत्मकेन्द्रित छन् कि मेरो हालखबर के छ भनेर सोध्ने विचार पनि उनीहरूमा आउँदैन। तर यहाँनेर अवस्था अलि फरक हो। के त्यो सोचका पछाडि हामीमा कतै न कतै द्वेषभाव छैन त? हुन सक्छ, तर त्यो भावलाई अभिव्यक्त गर्नाले र रिसाउनाले केही फाइदा हुनेवाला छैन। “तिमी त कस्तो स्वार्थी रहेछौ। तिमी त खत्तम रहेछौ।” भन्यौं भने हामी अवश्यै पनि विनाशात्मक तरिकाले प्रस्तुत हुन्छौं र साथीमाथि रिसले उफ्रिन थाल्छौं। त्यसले केही फाइदा हुनेवाला छैन। “मेरो हालखबर के छ भनेर किन सोध्दैनौ? तिम्रो पारा के हो?” यसरी सोध्ने हो भने त कुरा बिल्कुलै बन्दैन। यो अवस्थामा मेरो मनमा द्वेषभाव छ भन्ने कुराप्रति सचेत भएर द्वेषभावलाई अभिव्यक्त हुनबाट रोक्नुपर्छ। त्यसका लागि हामीले साँच्चिकै सावधानी अपनाउनुपर्ने हुन्छ। किनकि त्यो अभिव्यक्त भयो भने हामीले आत्म–संयम गुमाउँछौं र विनाशकारी ढंगले काम गर्छौं।

म आफूभित्रको त्यो द्वेषभावप्रति सजग भएँ भने नरिसाइकनै त्यो अवस्थालाई बदल्ने प्रयास गर्न सक्छु। प्रायः म त्यो काम ठट्यौली पारामा गर्छु। किनकि हँसीमजाकले अवस्थालाई सहज बनाउन निकै सहयोग गर्छ। उनीहरूले आफ्नो सारा बेलिबिस्तार सुनाइसकेर विषयान्तर गर्ने बेलासम्म पनि मेरो हाल के छ भनेर नसोधेपछि म ठट्टा गर्दै भन्छु, “अनि, एलेक्स (अलेक्जेन्डर), तिम्रो हालखबर के छ नि? ल ल, मलाई सोध्नु भएकोमा धन्यवाद!” यो एक जोकजस्तो बन्छ, र मेरो साथीले बुझ्छ कि उसले पनि बदलामा मेरो हालखबर कस्तो छ भनेर सोध्नुपर्ने थियो। यसरी व्यवहार गर्ने हो भने द्वेषभावको स्थिति हुँदैन। 

हामीमा भित्री रूपमा यस्तो द्वेषभाव रहेछ भने त्यसका बारेमा जान्नु उपयोगी हुन्छ। उनीहरूको व्यवहारले मलाई दुःख भएको छैन भने के भयो त? उनीहरूले मेरो हालखबर सोध्छन् कि सोध्दैनन् भन्ने कुरामा मलाई वास्ता भएन भने कुरै सकियो। म के गर्दैछु, कस्तो छु भनेर उनीहरूलाई बताइरहनु पर्ने हो र? मलाई भन्नै मन लाग्यो भने म भनुँला। यो कस्तो भने तपाईंका बालिग सन्तान वा नातिनातिनाले तपाईंलाई कहिल्यै फोन गर्दैनन् तर तपाईंलाई उनीहरूसँग कुरा गर्न मन लाग्यो भने आफैं कल गरे भयो। बस् त्यसो गर्दा द्वेषभाव नराखी र तपाईंलाई फोन नगरेवापत उनीहरूलाई अपराधबोध नहुने गरी तपाईंले व्यवहार गरिदिनुपर्छ। 

सकारात्मक आवेगका सम्बन्धमा के गर्ने त? यसबारे केही विश्लेषण गर्नुपर्ने हुन्छ। हुनत यसमा म विना पूर्व तयारी बोल्दैछु, किनकि मैले यसबारेमा खासै विश्लेषण गरेको छैन। हामीमा अव्यक्त प्रेम हुनसक्छ। त्यसको अर्थ के हो? यहाँ मैले चर्चा गर्न खोजेको विषय दमित वासना वा अरूप्रति लक्षित लुकेको यौन आकर्षण होइन। “मेरो इच्छा तिमीसँग सुत्ने हो,” वा त्यस्तै खालको आवेगको कुरा हामी गर्दै छैनौं। हाम्रो विषय साँच्चिकै सकारात्मक आवेगको हो। उदाहरणका लागि हामी आफ्नो सन्तानलाई माया गर्छौं, होइन? तर आफूले उसलाई गर्ने माया कति पटक अभिव्यक्त गर्छौं? यसलाई अझ स्पष्ट रूपमा चर्चा गरौं, यो उपयोगी हुन सक्छ। 

हामीले विवेकपूर्ण होशको उपयोग गर्नुपर्ने हुन्छ। माया गर्ने भन्दैमा आफ्नो सन्तानलाई चाटेर बस्ने कुरा हुँदैन। उदाहरणका लागि, मानिलिउँ तपाईंको किशोरावस्थाको सन्तान आफ्ना साथीहरूसँग बसिरहेको छ। तपाईं आमा हो र गएर उसलाई “ओहो मेरो बच्चा, म तिमीलाई साह्रै माया गर्छु,” भन्दै अँगालो हाल्ने र म्वाइ खाने काम गर्नुभयो भने उ आफ्ना साथीहरूमाझ लज्जित हुनेछ। त्यसो गर्नु सर्वथा अनुपयुक्त व्यवहार हो। अर्को उदाहरण लिउँ। मानिलिउँ, तपाईंको किशोरावस्थाको सन्तान कतै बाहिर गएको छ। तपाईं बारम्बार उसलाई फोन वा म्यासेज गरिरहनु हुन्छ। उसलाई झर्को लाग्नेछ, “लौ न, फेरी मेरी आमाको फोन आयो। म सञ्चै छु कि छुइँन भनेर सोध्न।”

सकारात्मक आवेग कहिले र कसरी अभिव्यक्त गर्ने भन्ने निर्धारण गर्न हामीले विवेक र सुझबुझको प्रयोग गर्नु पर्छ। आफ्नो दुई वर्षे बालकलाई अभिव्यक्त गर्ने माया पक्कै पनि पन्ध्र वर्षे किशोरलाई गर्नेभन्दा फरक हुन्छ। सकारात्मक आवेग अभिव्यक्त गर्नु ठीकै हो तर त्यसका लागि हामीले नौटंकीबाज जस्तो तमाशा खडा गर्नु पर्दैन। सामान्य स्तरमै राखे हुन्छ। 

भावनात्मक मुद्रा (इमोसनल करेन्सी)

अब हामी अर्को विषयमा प्रवेश गरौं, जुन धेरै उपयोगी छ भन्ने मलाई लाग्छ। मेरा एक जना मनोचिकित्सक मित्र छन्। उनले आर्थिक शब्दावली प्रयोग गर्दै यो कुरा बताएका थिए। हरेक मानिससँग फरक फरक नगद मुद्रा हुन्छ, जसको प्रयोग उसले कुनै चीजको भुक्तानी दिन प्रयोग गर्छ। यो तथ्य हामीले बुझ्नु पर्छ। उनीहरूले जुन मुद्रामा हामीसँग कारोवार गर्छन्, त्यसलाई हामीले स्वीकार गर्नुपर्ने हुन्छ। उदाहरणका लागि कसैले प्रेमलाई शारीरिक स्तरमै प्रदर्शित गर्छन्, जस्तो कि अंगालो हाल्ने वा म्वाई खाने। कसैले हाम्रो ख्याल राखेर प्रेम र सरोकार प्रदर्शन गर्छन्। उनीहरू शारीरिक स्तरमा धेरै प्रेम देखाउँदैनन्, तर हाम्रो ख्याल राख्ने र संरक्षण गर्ने गर्छन्। 

पुरानो पुस्ताको एउटा शास्त्रीय उदाहरण लिउँ। एक पिता आफ्ना सन्तानप्रति ज्यादा मायालु व्यवहार व्यक्त गर्दैनथे। तर सन्तानलाई गर्ने मायाका खातिर आफू बाहिर गएर काम गर्थे, पैसा कमाउँथे, र सन्तानलाई सबै कुरा जुटाइदिन्थे। अर्थात् तिनले आफ्ना सन्तानलाई भुक्तानी दिने मुद्रा त्यो प्रकारको थियो। यो कुरा या त बालक अवस्थामै या वयस्क हुँदासम्म हामीले बुझिसक्नु पर्छ। “मेरो पिताले मलाई माया गर्नुहुन्थ्यो र मेरा लागि यसप्रकारको देखभाल र स्नेहपूर्ण कार्य गर्नुहुन्थ्यो। मलाई मन पर्ने खालको मुद्रामा उहाँले मायाको भुक्तानी दिनुभएन, जस्तो कि मलाई अंगालो हाल्ने, मलाई कति माया गर्छु भनेर भनिराख्ने काम गर्नु भएन। यद्यपि उहाँले आफ्नो तरिकाले माया अवश्य नै जताउनुभयो।” भुक्तानीका यस्ता अनेक मुद्रालाई हामी स्वीकार गर्छौं। यो कस्तो हो भने हामी डेनमार्कमा हुँदा क्रोनरमा भुक्तानी दिन्छौं, युरोमा होइन। आखिर पैसा त पैसा हो। हरेक मानिसको स्नेह प्रदर्शन गर्ने आफ्नै फरक ढंग हुन्छ। 

माथि तपाईंले त्यस्ता साथीको उदाहरण दिनुभयो जसले तपाईंको हालखबर सोधेनन्। त्यसमा मानिलिउँ तपाईंलाई रिस उठेन तर उनीहरूले आफ्ना बारेमा ख्याल राखिदिए हुन्थ्यो र तपाईंको खबर के छ, त्यो सोधिदिए हुन्थ्यो भन्ने आसक्ति वा आवश्यकता रहेछ भने के गर्ने त? तपाईं रिसाउने वा रिसले कराउने काम नगर्नु होला। तर तपाईंलाई अलिकति दुःख लाग्छ र आफूलाई उनीहरूले खासै माया गर्दैनन् भन्ने लाग्छ। तपाईंले त्यो कुरा भन्नु पनि भयो, तर उनीहरूले त्यसअनुसार आफ्नो व्यवहार परिवर्तन गरेनन् वा तपाईंको सल्लाहलाई बेवास्ता गरे भने त्यसबाट हुने दुःखबाट छुटकारा कसरी पाउने? के यस्तो कुराप्रतिको आसक्तिलाई त्याग्ने प्रयत्न गर्नु पर्छ? 

यो अवस्थामा दुई प्रकारका दुःख हुन सक्छन्। पहिलो त स्वयंलाई ज्यादा मूल्यवान ठान्नाले हुने दुःख। “म दुःखी छु किनकि उसले मलाई वास्तै गर्दैन। मलाई रिस त उठेको होइन, तर उसले मलाई वास्ता गरोस् भन्ने चाहन्छु।” यस्तो विचार केवल “म, म, म” भन्ने धारणाबाट आउँछ। यो एक प्रकारको दुःख हो। अर्को प्रकार हो, उ धेरै आत्म–केन्द्रित भएको कारणले हुने दुःख। म उसको व्यवहारलाई व्यक्तिगत रूपमा लिन्न, तर उसमा विद्यमान समस्याको कारणले मलाई दुःख लाग्छ। यसले हामीलाई करुणाको विकास गर्न प्रेरित गर्छ। उसलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने उपाय खोज्नतिर हामी लाग्छौं। 

यदि हाम्रो दुःख आफ्नो बारेको चिन्ताले मात्र हो र “म दुःखी छु किनभने मलाई मानिसले धेरै वास्ता गर्दैनन्,” भन्ने दृष्टिकोण हो भने त्यसलाई सुधार्ने काम शुरु गरिहाल्नुपर्छ। मानिलिउँ मानिसहरूले मलाई वास्ता गर्छन् रे। तर मेरो खास चाहना के हो? के पापाराजी पछि लागेजस्तो मानिसहरू सधैँ मेरो पछि लागेर तस्वीर खिचिराखुन् भन्ने मेरो चाहना हो? यति ज्यादा मानिसले आफूलाई ध्यान दिइराखुन् भन्ने मेरो चाहना हो? यहाँ मैले भन्न खोजेको के हो भने हामीलाई यति धेरै वास्ताले पनि सन्तुष्टि मिल्दैन। हामी जस्तो चाहन्छौं त्यस्तै तरिकाले अरूले आफूप्रति ध्यान दिन्छन् भने पनि हामीलाई प्राप्त हुने भनेको सामान्य सुख मात्र हो, जुन धेरैबेर टिक्दैन। अर्कोतर्फ, अति संरक्षण गर्ने अभिभावक झैं कसैले ज्यादै नै ध्यान दिइराख्छन्, र हरेक पाँच मिनेटमा “तँलाई कस्तो छ? तँलाई ठीकै छ?” वा “सब थोक ठीकठाक नै छ नि?” भनेर प्रश्न सोधिरहन्छन्।

यस्तो व्यवहार म आफूलाई ठीकै हो जस्तो लाग्छ, तर अरू मानिसलाई लाग्दैन। नगद मुद्रासँग तुलना गर्दै हामी भन्न सक्छौं, “म यस्तो प्रकारको छु, तिमी त्यस्तो प्रकारको छौ।” हामी एक अर्काका बारेमा सजग हुन्छौं। हामी एक अर्कालाई मन पर्ने र मन नपर्ने कुरालाई सम्बोधन गर्न सक्छौं र त्यसबाट सिक्न सक्छौं। यसलाई अभिव्यक्त गर्न, यस सम्बन्धमा संवाद गर्न र यसप्रति सजग हुनु उपयोगी हुन्छ। 

यदि हाम्रो सम्बन्ध अहिले पनि कायम छ र अर्को व्यक्ति ग्रहणशील छ भने हामीले यस सम्बन्धमा कुरा गर्नु पर्छ। “मलाई यसरी माया अभिव्यक्त गरेको मन पर्छ।” अर्को व्यक्तिले पनि यसै गरी आफूलाई मायाको कस्तो अभिव्यक्ति मन पर्छ भनेर बताउन सक्छ। यो तरिका पार्टनरवाला सम्बन्धमा काम गर्छ, तर सन्तान र उसका मातापिताबीचको सम्बन्धमा त्यत्ति काम गर्दैन। मातापिता मरिसकेका छन् र हामी आफ्नो बाल्यकाललाई फर्केर हेर्दैर्छौं भने कुनै सहमतिको विन्दुमा पुग्ने ठाउँ हुँदैन। सम्बन्धित दुवै पक्षको स्थिति एकै खालको छ कि छैन भनेर हामीले विचार गर्नुपर्छ। के उनीहरू आफूलाई परिवर्तन गर्न र संवादलाई व्यवहारमा उतार्न सक्छन्? कुनैकुनै हाकिमले कहिल्यै पनि आफ्ना कर्मचारीहरूलाई उनीहरूको हालखबर के छ भनेर सोध्दैनन्। हामी आफ्ना हाकिमसँग यो विषयमा कुरा गर्दैनौं। आफ्ना हाकिमसँग हामीले कामसँग सम्बन्धित कुरा मात्र गर्न सक्छौं, जस्तै, “यो त तपाईंले मलाई अलि बढी नै काम दिनुभयो। म यसमा अलि दु:खी छु।” स्थिति के हो भन्ने कुराप्रति हामी सजग हुनुपर्छ र त्यसलाई विवेकपूर्ण नजरले हेर्नुपर्छ।

मानिलिउँ हामीमा शून्यतालाई जान्ने स्तरको होशको विकास भैसकेको छैन र के लाग्छ भने हामीसँग रिसाउनका लागि यथार्थ कारण छन्, र ती कारण बढाइचढाइ गरिएका पनि होइनन्। तर त्यसलाई हामी छाडिदिन्छौं र रिस प्रदर्शित गर्दैनौं। हामी स्थितिलाई ज्यादै ठूलो बनाउँदैनौं। तर के त्यसो गर्दा स्थिति मनोवैज्ञानिक रूपमा अस्वस्थकर हुने गरी बदलिने संभावना त हुँदैन? 

यो दमनसँग सम्बन्धित विषय भयो। यदि हामीलाई शून्यताको थोरै मात्र पनि अनुभूति वा बोध भएको छैन र रिसलाई दबाउँछौं भने त्यो रिस आफैंतिर फर्किन सक्छ। यसबाट अनेकथरी समस्याहरू उत्पन्न हुन्छन्। त्यो अवस्थामा के गर्ने? यदि तपाईं आफ्नो रिस वा विचलन प्रदर्शित गर्नुहुन्छ र त्यसो गर्नैपर्ने छ भने विवेकपूर्ण होशको प्रयोग गरेर त्यसका लागि उपयुक्त समय चुन्नुहोस्। अर्को व्यक्ति पनि वास्तवमै विचलित वा धेरै व्यस्त छ भने रिस प्रकट गर्ने त्यो उपयुक्त समय होइन। आफ्नो बुद्धिको प्रयोग गरेर हेर्नुहोस्, रिस प्रकट गर्ने सबैभन्दा उपयुक्त समय कुन हो? फेरि, रिस एकदमै कडा छ भने त्यो बेला पनि प्रकट नगर्नुस्, किनकि त्यो बेला स्थिति नियन्त्रण बाहिर जान सक्छ। 

अन्ततः हर स्थितिमा हामीले आफ्नो सामान्य विवेक र बुद्धिको प्रयोग गर्नुपर्ने हुन्छ। कुन बेला के गर्नु उपयोगी हुन्छ? उपयुक्त समय कुन हो? अर्को व्यक्ति ज्यादै थाकेको छ र सुत्न चाहन्छ, वा अर्धनिन्द्रामा छ भने उसको असंवेदनशीलता बारे कुनै गहन र सार्थक कुरा गर्ने त्यो उपयुक्त समय होइन। उ काममा ज्यादै व्यस्त छ भने पनि यही कुरा लागु हुन्छ। त्यो उपयुक्त समय होइन, कि कसो?

Top