बुद्धधर्मको सन्दर्भमा ध्यानको कुरा गर्दा हामी एक विशिष्ट अभ्यासको कुरा गरिरहेका हुन्छौं। आजकल “ध्यान” शब्द धेरै सुनिन्छ, यसको चर्चा सबैतिर छ। धेरै मानिसले यसलाई शिथिलीकरण वा त्यस्तै अन्य प्रयोजनका लागि उपयोग गरिरहेका छन्। तर जब साँच्चिकै ध्यानको अभ्यास गर्नुपर्ने हुन्छ, धेरै मानिसलाई के गर्ने थाहा हुँदैन। प्रायः सबैलाई लाग्छ कि ध्यानमा हामी एक ठाउँमा शान्तसँग बस्नुपर्छ। तर त्यसपछि के? ध्यान गर्दा श्वासमा केन्द्रित हुनु र दयाको भाव जगाउनुभन्दा पर्तिर पनि केही छ कि?
संस्कृतमा ध्यानका लागि जुन शब्द प्रयोग गरिन्छ, त्यसले कुनै कुरालाई यथार्थमा घटित गराउनु भन्ने अर्थ दिन्छ। तिब्बती भाषामा यसका लागि प्रयोग हुने शब्दले कुनै निश्चित बानीको विकास गर्नु भन्ने अर्थ दिन्छ। जब हामी कुनै निश्चित बानीको विकास गर्छौं, हामी उक्त कुरालाई आफ्नो अभिन्न अंग बनाउँछौं। ध्यानमा हामीले गर्ने त्यही हो। हामी आफूभित्र त्यस्तो परिवर्तन ल्याउने प्रयत्न गर्छौं जुन लाभकारी हुन्छ। त्यसका लागि प्रथमतः हामीले परिवर्तन केका लागि भन्ने प्रश्न आफैंलाई सोध्नुपर्छ। सामान्यतया हामी आफ्नो जीवनको अवस्था, आफ्ना भावनाहरू, अरु मानिससँगको सम्बन्ध, वा आफ्नो कामका कारण बेखुशी हुन्छौं। यस्ता कारणहरूको सूची लामो हुन सक्छ। तर जे होस्, हामीमध्ये धेरैजना आफ्नो जीवनमा केही न केही परिवर्तन होस् भन्ने चाहन्छौं।
समस्याबाट भाग्ने होइन, सामना गरौं
हामी आफूमा केही परिवर्तन चाहन्छौं र सुधार गर्न चाहन्छौं। यो महत्त्वपूर्ण कुरा हो। ध्यानको अभ्यास कुनै कल्पनाको दुनियाँमा गएर हराउनका लागि होइन, त्यसका लागि अरु धेरै उपाय छन्ः लागूपदार्थ, जाँडरक्सी आदिको सेवन गरे भैहाल्छ। हामी दिनभर गीत सुनेर बस्न सक्छौं, त्यसो गर्दा अरु केही सोच्नै परेन। यस्ता कुराहरूको प्रभाव रहुञ्जेल समस्याको सघनता कम भएजस्तो लाग्छ। तर समस्या त फेरी फर्केर आइहाल्छन्, किनकि हामीले तिनको निवारण गर्ने प्रयत्न गरेका छैनौं। कतिपय मानिसले ध्यानलाई एक अम्मलको रूपमा प्रयोग गर्छन्, त्यसले दीर्घकालीन समाधान दिँदैन। हामी ध्यानको घण्टी बजाऔं वा ड्रमसेट, यसले एक “बौद्ध डिज्नेल्याण्ड” जस्तो काल्पनिक दुनियाँ मात्र बनाउने काम गर्यो भने हामीभित्र धेरै सुधार हुन सक्दैन। यो समस्याबाट भाग्ने काम मात्र हुनेछ।
तर यदि हामी बौद्ध परम्परामा बताइएअनुसार ध्यानको अभ्यास गर्छौं भने त्यसमा समस्याबाट भाग्ने काम हुने छैन। बरु समस्याको सामना गर्ने र तिनबाट पार पाउने प्रयत्न हुनेछ। तर यो सजिलो छैन, यसका लागि प्रशस्तै साहस र मेहनत चाहिन्छ। यसमा मोजमस्ती हुँदैन, यो कुराका लागि पनि हामी तैयार रहनुपर्छ। यसलाई शारीरिक कसरतसँग तुलना गर्न सकिन्छ, जसको अभ्यास कठोर हुन्छ। कसरतबाट मांसपेशीहरूमा पीडा हुन्छ। तर हामीलाई शारीरिक रूपमा सबल र स्वस्थ हुनुछ भने यो कठिनाइलाई खुशीसाथ सहन्छौं।
ध्यानको अभ्यास पनि त्यस्तै हो। केमात्र फरक हो भने शारीरिक कसरतमा जस्तो यहाँ शरीरमाथि मेहनत गरिँदैन, मनमाथि गरिन्छ। हुनत बुद्धधर्मका केही परम्परामा ध्यानलाई मार्सल आर्टस्जस्तै कुनै शारीरिक क्रियाकलापसँग जोडेर अभ्यास गरिन्छ। तर तिब्बती परम्परामा त्यसरी अभ्यास गरिँदैन। शारीरिक अभ्यास गर्नुमा केही खराबी छैन, बरु लाभ नै छ। तर हाम्रो अभ्यासको केन्द्रविन्दु हाम्रो मन हो। बुद्धिको स्तरमा मात्र होइन, भावना र हृदयको स्तरमा पनि। महान् बौद्ध आचार्यहरूले बताउनुभए अनुसार बौद्ध अभ्यास शुरु गर्दा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको मनलाई नियन्त्रित गर्नु हो, किनकि हाम्रो क्रियाकलाप, वचन, र अरुसँगको व्यवहार सबैलाई मनले नै निर्देशित गर्छ।
आफूप्रति इमान्दार बनौं
जीवनमा समस्याहरू रहेको कुरा हामी जान्दछौं। र, यो पनि जान्दछौं कि यी समस्याहरूको स्रोत मनभित्र रहेको कुनै असन्तुष्टि हो। यदि हामीले साँच्चिकै इमान्दार भएर आफूभित्र जाँच गर्ने हो भने पाउनेछौं, त्यहाँ धेरै नकारात्मक आवेग (क्लेश) हरू विद्यमान छन्। रिस, स्वार्थीपना, ईर्ष्या, आसक्ति, घमण्ड, अबोधपन आदि आवेगका विभिन्न रूपहरू हुन्। अझ गहिरोगरी आफ्नो अनुसन्धान गर्ने हो भने पाउनेछौं हामीभित्र जीवनकै बारेमा केही असुरक्षाको भाव र भ्रमहरू छन्। यस्ता नकारात्मक आवेगले हाम्रो मनको अवस्थालाई नियन्त्रित गर्छन्, र हामी त्यो ढंगले व्यवहार गर्छौं तथा अरूसँग बोल्छौं जसबाट हाम्रो र उनीहरूको लागि समस्या खडा हुन्छ। एक्लै भएका बेला पनि हाम्रो चित्त व्याकुल हुन्छ, अनेकथरी अशान्तकारी विचारहरू यसमा घुमिरहेका हुन्छन्। अर्थात्, हामी खुशी हुँदैनौं।
ध्यानको उद्देश्य यो अवस्थामा परिवर्तन ल्याउनु हो। यो तरीका कुनै औषधी सेवन गरेर आफ्नो अवस्थाको बारेमा केहीबेर नसोची बस्नुभन्दा भिन्न हो। त्यसरी केहीबेर नसोची बस्नाले समस्याको समाधान हुँदैन, जबकि केही मानिसहरू ध्यानलाई पनि त्यही रूपमा अभ्यास गर्ने प्रयत्न गर्छन्। उनीहरूको विचारमा तपाईं आँखा चिम्म गरेर आफ्नो आसनमा बस्नुभयो र बाह्य सबै कुरालाई मनबाट निकाल्नुभयो भने तपाईंका सबै समस्याहरूको समाधान भैहाल्ने छ। तर त्यो तरीकाले काम गर्दैन। हामीले आफ्ना समस्याहरूलाई आफैं सक्रिय रूपमा सम्बोधन गर्नुपर्छ।
असली शत्रुलाई चिनौं
बौद्ध ग्रन्थहरूमा हाम्रो वास्तविक शत्रु नकारात्मक आवेगहरू (क्लेशहरू) हुन् भन्ने कुरा सशक्त रूपमा व्याख्या गरिएको छ। तर त्यसको मतलब तिनीहरू कुनै दानवजस्ता हुन् र त्यसबाट हामी भयभीत वा आतंकित हुनुपर्छ भन्ने होइन। बरु, तिनीहरूबाट मुक्ति पाउने प्रयत्नमा हामी लाग्नुपर्छ भन्ने चाहिँ हो। बौद्ध ग्रन्थहरूमा हाम्रा शत्रुरूपी क्लेशहरूबारे सुन्दर वर्णन गरिएको छ – “तिमीहरूको खेल मैले धेरै देखिसकेँ। मैले धेरै दुःख र समस्या झेलिसकेँ। अब तिमीहरूको समय सकियो।” यो बुझेर हामी आफ्नो चित्तको अवस्थामा सुधार ल्याउन कम्मर कसेर लागिपर्छौ। ध्यानमा हामीले गर्ने यही नै हो।
साधारण भाषामा भन्ने हो भने ध्यान त्यस्तो प्रक्रिया हो जहाँ हामी आफैँलाई प्रशिक्षित गर्छौं र खराब बानीहरूमा परिवर्तन ल्याई हितकर बानीहरूको विकास गर्छौं। यी बानीहरू हामीले सोच्ने, महसुस गर्ने, र विभिन्न परिस्थितिमा भावनात्मक प्रतिक्रिया गर्ने तरीकासँग सम्बन्धित छन्। यसका लागि हामीले आफूलाई प्रशिक्षित गर्नुपर्छ, र आफ्नो अभ्यासलाई दोहोर्याइरहनुपर्छ। सुधारको वैज्ञानिक पद्धति यही हो। यो एथलेटिक्स, संगीत, नाट्यकला आदिको अभ्यास जस्तै हो, जहाँ हामीले आफूलाई प्रशिक्षित गरिरहनुपर्छ। प्रारम्भमा यस्तो अभ्यास अलि असहजजस्तो लाग्छ। तर केही समयपछि हामी आफ्नो अभ्यासमा बानी पर्छौं र हामीलाई सहज लाग्न थाल्छ। चित्त, मनोभाव र आवेगहरूको सम्बन्धमा पनि यही कुरा लागू हुन्छ।
के सुधार सम्भव छ?
यहाँनेर हाम्रा सामु एक यक्ष प्रश्न खडा हुन्छ – के सुधार साँच्चिकै सम्भव छ? आफूभित्र सुधारको काम गर्नका लागि प्रथमतः हामी के कुरामा विश्वस्त हुनुपर्छ भने सुधार सम्भव छ। कतिपय बेला मानिसहरू यसो भन्छन् – “म यस्तै छु, के गर्नु। म आफूलाई परिवर्तन गर्न सक्दिन। त्यसैले म जस्तो छु त्यस्तै रहनुपर्छ।” अथवा यसो भन्छन् – “म त रिसाहा छु। मेरो रिस नै ठूलो छ। म त यस्तै छु, के गर्नु।” यसरी हामीले आफ्नो पहिचानलाई कुनै कुरामा यतिसारो बाँध्यौं भने सुधार गर्न निश्चय नै गाह्रो हुन्छ।
हामीले इमान्दारीपूर्वक आफ्नो अन्वेषण गरेर हेर्नुपर्छ। हामी किन आफ्नो पहिचानलाई कुनै कुरामा बाँधेर राख्छौं? यदि हामी साँच्चिकै रिसाहा मान्छे भएको भए सधैँभरी रिसाएर बस्नुपर्ने होइन र? त्यस्तै हामी आफ्नो अवस्थाको दोष अरुलाई दिन्छौं – मेरा मातापिताले यस्तो काम गरे, त्यसैले म रिसाहा हुनुपरेको हो। यस्तो दृष्टिकोणले धेरै फाइदा गर्दैन। यसलाई गहिरोसँग अन्वेषण गर्दै हामी यस्ता आवेगहरू कहाँबाट उत्पन्न हुन्छन् पत्ता लगाउने प्रयत्न गर्छौं। हामी भावनात्मक रूपमा के अनुभव गर्छौं, त्यसलाई सुधार गर्ने तरीका पत्ता लगाउने प्रयत्न गर्छौं। नत्र हरेक दिन “अब म रिसाउँदिन, म लोभ गर्दिन, म स्वार्थी हुन्न” भन्ने सोचेपनि यस्ता भावनालाई रोक्न सकिन्न।
दृष्टिकोणले नै सबैथोक प्रभावित गर्छ
बुद्धधर्मले के भन्छ भने हाम्रो दृष्टिकोणले नै हाम्रो भावनात्मक अवस्थालाई निर्धारित गर्छ। दृष्टिकोणको अर्थ हो – कुनै पनि चीजलाई हेर्ने हाम्रो नजर। मानिलिउँ हाम्रो जागिर गुम्यो। यसलाई हामी ठूलो विपत्ति मान्न सक्छौं र रिसाएर वा झोक्राएर बस्न सक्छौं। किन? किनभने त्यसबेला हामीलाई यस्तो लाग्छ कि संसारमा त्योभन्दा ठूलो अनर्थ केही हुँदैन।
हाम्रो जागिर गुम्यो – यो एक तथ्य हो। त्यसलाई हामी परिवर्तन गर्न सक्दैनौं। हामी सिर्फ जागिर गुमेको तथ्यलाई हेर्ने आफ्नो नजर मात्र परिवर्तन गर्न सक्छौं। दृष्टिकोणको अर्थ यही हो। त्यसैले हामी यसलाई अर्कै तरीकाले हेर्न प्रयास गर्न सक्छौं – अब हामी आफ्ना बच्चाहरूलाई बढी समय दिन सक्षम हुनेछौं, वा हाम्रो व्यवसाय परिवर्तन गर्नेबारे सोच्न सक्नेछौं। ठीकै छ, आर्थिक दृष्टिकोणबाट हामीलाई फाइदा भएन। तर त्यसैमा उदास भएर बस्नुपर्छ भन्ने पनि केही छैन। यसरी आफूले लिने दृष्टिकोणलाई हामी ध्यानको केन्द्रबिन्दु बनाउन सक्छौं। हामी कुनै पनि कुरालाई कसरी हेर्छौं, त्यसप्रति सचेत हुन सक्छौं किनभने हामी कस्तो महसुस गर्छौं भन्ने कुरा त्यसैले निर्धारण गर्छ।
मेरा एक घनिष्ठ साथीको गत हप्ता मृत्यु भयो। यो दुःखको कुरा हो। मलाई यसमा दुःख लागेको छ। यसरी दुःखी हुनु एक स्वस्थ प्रक्रिया हो, यसमा केही खराबी छैन। पक्कै पनि, उनको मृत्युले मलाई खुशी बनाउने कुरै भएन! यो अवस्थामा म कसरी आफ्नो मानसिक अवस्थालाई नियन्त्रणमा राख्न सक्छु? उनको मृत्युको एक हप्ताअघि मेरो मनमा उनलाई फोन गर्ने विचार आएको थियो। तर मैले गरिनँ। मृत्युअघि उनी एकदम स्वस्थ देखिन्थे। स्नानागारमा नुहाउन गएका थिए, त्यहाँ उनलाई हृदयाघात भयो। उनी लडे र त्यहीँ उनको मृत्यु भयो। यो एकदमै अप्रत्याशित थियो, र अचानक भएको थियो। यहाँनेर, एक हप्ताअघि उनलाई फोन गर्ने विचार आएर पनि किन मैले गरिनँ भनेर मलाई असाध्यै ग्लानिबोध हुन सक्थ्यो। मलाई आफैंप्रति असाध्यै रिस उठ्न सक्थ्यो। उनी मर्दैछन् भन्ने थाहा भएको भए म कति कुरा गर्थें होला! यदि यस्तो सोचेको भए मलाई आफूप्रति साह्रै नराम्रो अनुभव हुने थियो।
यसको सट्टामा मैले उनीसँग बिताएका खुशीका क्षणहरू र हामीले एक आपसमा बाँडेका सुखद सम्झनाहरूको स्मरण गरेँ। हामी दुइबीचको मित्रता ३५ वर्ष पुरानो थियो। मैले एक असल व्यक्तिसँगको गहिरो मित्रतालाई सम्झेँ, र आफूलाई भाग्यमानी ठानेँ। पश्चिमी संसारमा मैले चिनेका सबै मानिसहरूमध्ये उनी धर्मका सबैभन्दा इमान्दार र वास्तविक उपासक थिए। यस कारणले म उनलाई आफ्नो प्रेरणाको स्रोतका रूपमा लिन्छु। उनीबाट प्रेरणा लिएर म आफ्नो धर्म अभ्यासलाई अझ सबल बनाउने प्रण गर्छु। उनी आफ्नो श्रीमतीको राम्रो ख्याल राख्थे। यदि कसैले त्यसरी नै ख्याल राखेको थाहा पाए भने उनी कति खुशी हुन्थे होलान्!यो सोचेर मैले उनको सोधखबर गर्ने गरेको छु।
यो ध्यानकै उपलब्धि हो। ध्यानले तपाईंलाई कुनै अतिमानवीय शक्ति वा कुनै असाधारण परिणाम दिने होइन। तर यति बोध चाहिँ हुनसक्छ - अप्ठेरो परिस्थितिको सामना गर्नुपरेको बेला वा चित्त नकारात्मक, दुःखी भएको बेला आफ्नो चित्तलाई त्यही तालमा छाडिदियो भने अवस्था झन खराब हुन सक्छ। हामी त्यस्तो अप्ठेरो परिस्थितिलाई राम्रोसँग जान्ने क्षमता हासिल गर्छौं, र पर्याप्त अभ्यासपछि हामी त्यस स्थितिको बारेमा आफ्नो दृष्टिकोणलाई पूर्णरूपमा परिवर्तन गर्नसक्ने हुन्छौं। हुनसक्छ हामीमा दुःखको भाव अझै बाँकी नै होस्, जस्तो कि मैले मेरो साथीको मृत्युपछि अनुभव गरेँ। तर हामी त्यस्तो दृष्टिकोण लिन सक्छौं जसले दुःखको भावलाई कमजोर गर्दै खुशीका उपायहरू खोज्न सहयोग गर्छ।
आफ्नो क्षमतामा विश्वास गर्नु
त्यसकारण हामी आफैलाई प्रश्न सोध्छौं, के हामीमा आफ्नो दृष्टिकोण परिवर्तन गर्ने क्षमता छ? र उत्तर हो – अवश्य छ। यसलाई यसरी हेरौं – हामी बच्चा हुँदा कति चीज असाध्यै रमाईलो र आश्चर्यजनक लाग्थ्यो। तर अहिले त्यही चीज बेकारको, मूर्खतापूर्ण, र झर्कोलाग्दो लाग्छ। उमेर बढ्दै जाँदा हाम्रो दृष्टिकोणमा व्यापक परिवर्तन आएको छ। त्यसैगरी भविष्यमा थप परिवर्तन आउन सम्भव छ। यो कुरामा विश्वस्त भएपछि हामीले परिवर्तनका लागि केही विधिहरू सिक्नु पर्दछ। यो तीन चरणमा गरिन्छः
- सही शिक्षा हासिल गर्नु – प्रथमतः केमा अभ्यस्त हुनु हाम्रा लागि बढी हितकर छ, त्यो जान्नुपर्छ। यो सुनेर, पढेर, वा अनुसन्धान गरेर जान्न सकिन्छ। तर यत्तिकैमा हामी त्यसलाई पूर्णरूपमा जानिहाल्दछौं भन्ने होइन। केवल त्यस्तो अभ्यस्तता बौद्धमार्ग अन्तर्गतको अभ्यास हो भनेर चाहिँ छुट्याउन सक्छौं।
- त्यसको अर्थमा चिन्तन गर्नु – आफूले लिएको शिक्षामाथि विचार गर्नुपर्छ र त्यसलाई फरक–फरक दृष्टिकोणबाट विश्लेषण गर्नुपर्छ ताकि त्यसलाई राम्रोसँग बुझ्न सकियोस्। यसरी चिन्तन गरेको शिक्षा वास्तविक हो, कुनै रद्दीको टोकरीजस्तो मात्र होइन भन्ने यकिन गर्नुपर्छ। यो हाम्रा लागि हितकर छ भन्नेमा पनि विश्वस्त हुनुपर्छ। र, यसलाई आफ्नो व्यावहारिक जीवनमा समाहित गर्न सक्छौं भन्ने जान्नुपर्छ।
- ध्यान गर्नु – यति जानेपछि हामी ध्यान अभ्यासका लागि तैयार हुन्छौं, ताकि आफूले सिकेको र बुझेको शिक्षालाई हितकर अभ्यासको रूपमा विकसित गर्न सकियोस्।
सही शिक्षा र चिन्तन
सही शिक्षा पाउनु हामीले सोचेजस्तो सजिलो छैन। धेरै मानिसहरू आफूले दिने शिक्षा प्रामाणिक बौद्ध विधि हो भन्ने दावी गर्छन्। उनीहरूले कुनै एउटा पुस्तक लेखेका वा त्यसलाई छपाएका हुन सक्छन्। तर त्यसो भन्दैमा उक्त पुस्तकमा दिइएको सामग्री सही हुनुपर्छ भन्ने छैन। त्यस्तै कुनै शिक्षक धेरै लोकप्रिय र आकर्षक व्यक्तित्वको भयो भन्दैमा उसले दिएको शिक्षा सही हुनेछ भन्ने पनि होइन। हिटलर एक धेरै चामत्कारिक व्यक्तित्वका लोकप्रिय नेता थिए, तर पक्कै पनि उनले देखाएको बाटो सही थिएन।
तसर्थ, बुद्धधर्ममा हामीले आफ्नो विवेक र बुद्धिको प्रयोग गर्नुपर्ने कुरामा जोड दिइएको छ। त्यस्तो के कुरा हो जसले हामीलाई जनावरहरूभन्दा माथि राख्छ? हुनत जनावरहरूलाई पनि विभिन्न काम गर्ने तालिम दिन सकिन्छ। तर हामीसँग बौद्धिक क्षमता छ जो उनीहरूसँग हुँदैन। हामी के हितकर हो र के होइन भनेर छुट्याउन सक्षम छौं। कुनै नयाँ शिक्षा लिँदा शुरुमा केही बुझेनौं भने पनि हामी आफ्नो बुद्धिको प्रयोग गरेर बुझ्ने प्रयत्न गर्छौं। शिक्षाको श्रवण वा अध्ययन गर्दा हामीले अपनाउनुपर्ने तरीका यही हो।
बुद्धले जेजति शिक्षा दिए, त्यसको उद्देश्य मानिसहरूको हित गर्नु थियो। तैपनि हामी आफैं अनुसन्धान गरेर हेर्न सक्छौं – बुद्धले जे शिक्षा दिए, के त्यो साँच्चिकै मानिसको हितका लागि थियो? यसका लागि हामीले शिक्षाको दीर्घकालीन प्रभावलाई विचार गर्नुपर्छ, किनकि अल्पकालीन दृष्टिमा त कहिलेकाहीँ कुनै शिक्षा त्यति रुचिकर नहुन सक्छ। यो रोगको उपचार गरेजस्तै हो, जुन पहिला त कष्टकर हुन्छ तर त्यसको दीर्घकालीन परिणाम राम्रो हुन्छ। उदाहरणका लागि क्यान्सरको उपचारका लागि गरिने केमोथेरापीलाई लिन सकिन्छ।
यदि हामीले माथि उल्लिखित चरणहरू, अर्थात् पाएको शिक्षाको विवेचना गर्ने र त्यसलाई आफ्नो जीवन भोगाइको सन्दर्भमा प्रयोग गरेर हेर्ने प्रयत्न गरेका छैनौं भने तिनमाथि ध्यान गर्न कसरी सकौँला र! यो आफूलाई कुनै चीज आवश्यक छ कि छैन, वा त्यो चीजले आफूलाई कुनै फाइदा हुन्छ कि हुँदैन भन्ने विचार नगरीकनै बजारबाट किनेर ल्याइहाल्नुजस्तै हुनेछ।
औपचारिक ध्यान अभ्यास
शिक्षामाथि चिन्तन गर्नु ज्यादै नै लाभकारी अभ्यास हो। केही मानिसहरूले यसैलाई ध्यानको अभ्यास भन्ने गरेका छन्। तर औपचारिक रूपमा “ध्यान” भन्न मिल्ने चाहिँ त्यो अभ्यास हो जसबाट हामी चित्तको हितकर अवस्थालाई आफ्नो सामान्य दैनिक जीवन व्यवहारमा उतार्न सक्छौं। यो अभ्यासका दुई चरण छन्ः
- सविवेकी ध्यान – ध्यानको यो पहिलो चरणलाई “विश्लेषणात्मक ध्यान” पनि भनिन्छ। यसमा हामी ध्यान अभ्यासको विषय वा वस्तुमा आफ्नो दृष्टिकोणलाई सही राख्दै र त्यससम्बन्धी सबै पक्षको सूक्ष्मतापूर्वक विश्लेषण गर्दै ध्यानको अभ्यास गर्छौं।
- स्थिरकारी ध्यान – ध्यानको यो दोस्रो चरण हो। यहाँ हामी आफूले छानेको विषयको हरेक सूक्ष्म विवरणमाथि सक्रियतापूर्वक विश्लेषण गर्दैनौं, अपितु ध्यानको वस्तु वा आफ्नो विश्लेषणको मुख्य निष्कर्षमाथि सघन रूपमा ध्यान गर्छौं।
धेरै मानिसले ध्यानको शुरुवात गर्दा चित्तलाई श्वासमा केन्द्रित गर्ने अभ्यासबाट शुरु गर्छन्। यसमा पहिला आफ्नो चित्तलाई केही शान्त गर्ने प्रयत्न गरिन्छ, त्यसपछि श्वास भित्र आइरहेको र बाहिर गइरहेको प्रक्रियालाई हेरिन्छ। यो काम सुन्दा सजिलो लाग्छ, तर गर्न अत्यन्तै कठिन छ। श्वासमाथि ध्यान केन्द्रित गर्नुको खास उद्देश्य के हो? प्रथमतः श्वासको सहयोगले हामी आफ्नो चित्तमा चलिरहेका सबै प्रकारका तर्कनाहरूलाई शान्त राख्ने प्रयत्न गर्छौं जसको काम हामीभित्र अनेकथरीका नकारात्मक आवेग र भावनाहरू उत्पन्न गर्नु हो। यो हाम्रो पृष्ठभूमिमा चलिरहेको हल्लालाई बन्द गर्नुजस्तै हो। तर त्योसँगै हामी आफूले पढेका, सुनेका, चिन्तन गरेका र बुझेका शिक्षाको आधारमा श्वासमाथि ध्यान केन्द्रित गर्छौं। सविवेकी र स्थिरकारी ध्यानको अभ्यास यहाँबाट शुरु हुन्छ। उदाहरणका लागि हामी श्वासलाई अनित्यताको शिक्षा बुझ्ने साधनको रूपमा लिन सक्छौं। यसको स्वरूप सधैँभरी परिवर्तन भैरहेको हुन्छ। त्यस्तै हामी “आफू” लाई श्वासभन्दा भिन्न नभएको दृष्टिले हेर्न सक्छौं। आखिर यो श्वास कसले फेरिरहेको छ त? तर प्रारम्भिक साधकहरूका लागि यसरी विश्लेषण गर्नु अलि कठिन हुनसक्छ।
ध्यानको अभ्यासमा आफूभित्र अनुसन्धान गर्दै काम शुरु गर्नु उत्तम हुनेछ। हामी जहिले पनि आफ्नो काम, परिवार र समाजको दवाब झेलिरहेका हुन्छौं। अधिकांश समय हाम्रो मन चिन्ता र कष्टदायी विचारहरूमा रुमल्लिरहेको हुन्छ। अलिकति शान्तिपूर्वक बस्न पनि गाह्रो हुन्छ! तसर्थ, थोरैमात्र भए पनि तनावमुक्त र शान्त भएर बस्नु पनि हाम्रा लागि ज्यादै महत्त्वपूर्ण हुन्छ। यद्यपि यसले हाम्रा समस्याहरूको समाधान त हुँदैन, तैपनि शुरुवाती चरणमा यो एक सकारात्मक कदम हो। श्वासमा ध्यान केन्द्रित गरेर हामी आफ्नो शरीरको वास्तविकता जान्दछौं – त्यो हो, म जीवित छु भन्ने ज्ञान! श्वास हामी जीवित हुनुको राम्रो परिचायक हो, नमरुञ्जेल यो चलिरहन्छ। हाम्रो जीवनमा जतिसुकै कठिनाइ भए पनि श्वास त हाम्रो साथै छ। यसबारे हामी जति बढी सचेत हुन्छौं, जीवनबारे पनि त्यति नै सचेत हुन्छौं, र जान्दछौं कि जीवन चलिरहेको छ। हाम्रो परिस्थिति जेसुकै होस्, जीवन निरन्तर चलिरहेको छ। जीवनको अनुभूति हुनु मात्र पनि हाम्रा लागि धेरै सहयोगी हुन्छ। मेरो साथीको मृत्यु भयो। त्यस्तो घडीमा जीवनको निरन्तरताको महत्त्व बुझिन्छ।
हामीले कुनै शिक्षा पायौं, त्यसबारे चिन्तन गर्यौं, त्यसलाई बुझ्यौं, र यो जान्यौं कि त्यो शिक्षा सारपूर्ण छ। त्यो अवस्थामा भय र निराशायुक्त विचारहरूमा हराउनुको साटो जीवनको निरन्तरको बोध हुनु र आफ्नो शरीरप्रति जागरुक हुनु बढी सहयोगी हुन्छ, होइन त? अवश्य पनि। के म आफ्नो श्वासमा मनलाई केन्द्रित गर्न र त्यहाँ टिकाएर राख्न सक्छु? अवश्य पनि। आफ्ना अरु सबै क्रियाकलाप एक वा दुइ सेकेन्डका लागि बन्द गरेर हेरौं, श्वास त हामीसँग छँदैछ। यसको होश हामीमा छ। त्यसैले हामीलाई एकदमै गहिरो र जटिल ज्ञानको आवश्यकता पनि पर्दैन। हुनत ज्ञान जति गहिरो भयो, त्यति राम्रो हो। तर नभएपनि हामी अभ्यास शुरु गर्न सक्छौं।
ध्यानको प्रक्रिया
श्वासमा ध्यान केन्द्रित गर्ने भावना दुई मानसिक तत्त्वहरूमा निर्भर हुन्छ। यी तत्त्वहरू हामीले ध्यान केन्द्रित गरेसँगै आउँछन्।
- स्थूल ज्ञान – कुनै कुरालाई स्थूल रूपमा जान्नु
- सूक्ष्म विवेक – कुनै कुरालाई एकदमै विस्तारमा जान्नु
शास्त्रीय रूपमा यी दुई मानसिक तत्त्वहरूलाई कुनै चित्रकलाको अवलोकन गर्नुसँग तुलना गरिन्छ। स्थूल ज्ञानमा हामी कुनै चित्रकलालाई चित्रकला हो भनेर जान्दछौं। त्यो कुनै व्यक्तिको हुन सक्छ। यो ज्ञानमा मनले त्यो कुनै व्यक्तिको चित्रकला भनेर नाम पनि दिँदैन। सामान्य भाषामा यसलाई नै “बुझाई” भनिन्छ। अर्को हो सूक्ष्म विवेक जहाँ हामी चित्रकलालाई विस्तारपूर्वक सबै कोणबाट अवलोकन गर्छौं र कुन व्यक्तिको चित्र हो, त्यो पनि जान्न खोज्छौं।
श्वासमा ध्यान केन्द्रित गर्दा पनि हामी यही विधि अपनाउँछौं। पहिला त हामी श्वासलाई हेर्छौं र यो सधैँभरी चल्ने प्रक्रिया हो भनेर जान्दछौं। त्यसपछि यसलाई सूक्ष्मरूपमा हेर्छौं र यसको भित्र आउने, बाहिर जाने प्रक्रियाबारे जानेर बस्छौं। जेसुकै होस्, हामी बाँचुञ्जेल यो चलिरहन्छ। त्यस अर्थमा यो एक स्थिर, सुरक्षित, तथा भरपर्दो साधन हो। त्यसैले यो ध्यानलाई हामी सविवेकी ध्यान भन्छौं किनकि यसमा हामी श्वासलाई सक्रियतापूर्वक हेर्छौं। श्वासको विश्लेषण नगरे पनि हामी यसलाई एक निश्चित दृष्टिकोणबाट, एउटा निश्चित तरीकाले हेर्छौं।
दोस्रो चरण अर्थात स्थिरकारी ध्यानमा सक्रिय रूपमा विवेकको प्रयोग गर्नुपर्दैन। त्यहाँ केवल होश मात्र राखेर बसे हुन्छ। कुनै कुरालाई सक्रिय रूपमा जान्नु र त्यसै होश मात्र राख्नु – यी दुई चित्तका फरक अवस्थाहरू हुन्। हामी ध्यान गर्छौं, जसको परिणामस्वरूप हामी धेरै सन्तुलित हुन्छौं र स्थिरता तथा सुरक्षाको अनुभव गर्छौं। यो परिणाम निरन्तर र सकेसम्म दैनिक रूपमा अभ्यास गरिरहेपछि मात्र प्राप्त हुन्छ।
अभ्यासलाई आफ्नो दैनिक जीवनमा उतार्नु
ध्यानको अभ्यासलाई हामी विशेष गरी त्यस्तो अवस्थामा सम्झिन्छौं जब हाम्रो मन विचलित भएको हुन्छ। हो, यो अभ्यास सजिलो छैन। ध्यान अभ्यासको तुलना हामीले शारीरिक व्यायामसँग गरेका थियौं। तर अन्ततः ध्यानको अभ्यास हामीभित्र एक अभिन्न अंगको रूपमा समाहित हुनपुग्छ र यो सधैँ हाम्रो अनुभूतिमा रहन्छ। जीवन निरन्तर चलिरहेको छ, यो कुरा हामी जान्दछौं। मनको अन्तरतमबाट हामी जान्दछौं कि जे भए पनि चिन्ता गर्नुपर्ने केही कारण छैन। हामीले यसलाई यति गहिरोसँग अनुभव गर्छौं कि यो हाम्रो स्वभाव बन्छ र यसले हाम्रो जीवनप्रतिको दृष्टिकोण नै बदल्छ। यो ध्यानको परिणाम हो। यो कुरा हाम्रो स्मरणमा नआएपनि फेरि श्वासमा ध्यान केन्द्रित गर्दै आफूलाई स्मरण दिलाउन सक्छौं। हामी आफ्नो चित्तको अवस्थामा परिवर्तन ल्याउँछौं जसले हाम्रो दैनिक जीवनको व्यवहारलाई प्रभावित गर्छ। यो कुनै काल्पनिक दुनियाँमा गएर आफ्ना समस्याहरू भुल्ने प्रयास होइन, अपितु एक सक्रिय अभ्यास हो जसबाट हामी आफ्नो चित्तको अवस्था र आवेगहरूमा नियन्त्रण गर्न सक्छौं। अन्ततः यसले हामीलाई बाह्य परिस्थितिहरूको सामना गर्न सक्षम बनाउँछ।
माथिको चर्चालाई मनोविज्ञानको एक उन्नत पद्धतिको रूपमा हेर्न सकिन्छ। त्यसरी हेर्नुमा केही खराबी छैन, तर बुद्धधर्मलाई केवल मनोविज्ञानको अर्को रूपमा मात्र हेर्न चाहिँ मिल्दैन। बुद्धधर्ममा त्योभन्दा धेरै कुराहरू छन्। माथि चर्चा गरिएकोभन्दा धेरै माथिको अवस्थासम्म बुद्धधर्मले लैजान सक्छ, त्यो हो – बोधि प्राप्ति र लोकको कल्याण। तर त्यसका लागि यो प्रारम्भिक चरणलाई पार गर्नैपर्छ।
सारांश
आफ्ना समस्याहरूबाट भाग्ने प्रयत्न गर्नु त सजिलै हुन्छ। यसका लागि अनेक उपाय छन् – दिनभरी संगीत सुनेर बस्ने वा आफूलाई निरन्तर व्यस्त राख्ने। त्यस्तै रक्सी खाने, मात्तिने र सबै कुरा केही बेरलाई भुल्ने पनि गर्न सकिन्छ। तर यी सबै अस्थायी उपाय हुन्, जसले धेरै सहयोग गर्दैनन्। हाम्रा समस्याहरू बल्झिरहन्छन्। तर अर्को उपाय पनि छ। धर्मका शिक्षामा चिन्तन गर्नाले र तिनमा ध्यान गर्नाले हामी आफ्नो दृष्टिकोण बदल्न सक्छौं र आफूलाई, अरुलाई तथा परिस्थितिहरूलाई अर्को कोणबाट हेर्न सक्छौं। यसले हाम्रा सबै समस्याहरू तत्काल निराकरण गरि त हाल्दैन, तर हामीलाई ती समस्याको सामना गर्न सक्ने बनाउँछ। यसले हामीलाई यो ज्ञान दिन्छ कि हामी आफ्ना समस्याहरूको सामना गर्न सक्षम छौं।