कर्मको बोध
आज म हाम्रो दैनिक जीवनमा कर्मको सान्दर्भिकताबारे बोल्न लाग्दैछु। यसका लागि प्रथमतः कर्मको अर्थ के हो, त्यो जान्नु जरुरी हुन्छ। यससम्बन्धी दुई व्याख्याहरू उपलब्ध छन्। पहिलो व्याख्याअनुसार कर्म भनेको त्यस्तो बाध्यकारी मानसिक उत्कण्ठा हो जसले हामीलाई अनेक प्रकारका कृत्य गर्न प्रेरित गर्छ, चाहे त्यो शरीरको स्तरमा गरिने कुनै काम होस्, वचनको स्तरमा बोलिने बोली होस्, वा मनको स्तरमा लिइने कुनै विचार होस्। दोस्रो व्याख्याअनुसार शारीरिक र वाचिक कृत्यको सन्दर्भमा भिन्नाभिन्नै कुरामा जोड दिइएको छ। शारीरिक कृत्यको सन्दर्भमा कर्म त्यसको बाध्यकारी स्वरूप हो भने वाचिक कृत्यको सन्दर्भमा कर्म बाध्यकारी ध्वनि हो। फेरी, यी दुवै कृत्यको साथ रहने बाध्यकारी सूक्ष्म उर्जाका रूपमा कर्म ती कृत्यपछाडि पनि चित्तको प्रवाह (चित्तसन्तान) मा निरन्तर रहन्छ। यहाँ ध्यान दिनु जरुरी छ कि यी दुवै व्याख्यामा कर्मले ती कृत्य स्वयंलाई जनाउँदैन, यद्यपि बोलीचालीको तिब्बती भाषामा यो शब्दको अर्थ “कृत्य” भन्ने नै लाग्छ।
यसरी बाध्यकारी ढंगले कुनै कार्मिक कृत्य गरिन्छ भने त्यसले हाम्रो चित्तसन्तानमा केही कर्म–प्रभाव छाड्छ। यस्ता कर्म–प्रभावमध्ये सबैभन्दा धेरै व्याख्या गरिएका दुई प्रभावहरूबारे चर्चा गरौं। ती हुन् – कुशल वा अकुशल कर्म–बल र कार्मिक प्रवृत्ति। यी दुईमा केही भिन्नता छन्, तर ती प्राविधिक वर्णनमा हामी अहिले प्रवेश गर्नु आवश्यक छैन। यी कर्म–बल र प्रवृत्तिहरूको एक स्वभाव के हुन्छ भने पर्याप्त हेतु जुटेको अवस्थामा तिनीहरू आफ्नो फल वा परिणाम दिन सक्षम हुन्छन्। प्राविधिक शब्दावलीमा भन्दा जसरी कुनै फल फल्छ वा फलित हुन्छ, त्यसैगरी तिनीहरू पनि फलित हुन्छन् (विपाक हुन्छन्)।
कर्म–बल र प्रवृत्तिबाट के विपाक हुन्छ?
यी कर्म–बल र प्रवृत्तिहरूबाट उत्पन्न हुने परिणाम धेरै प्रकारका छन्। सामान्यतया सबैले अनुभव गर्ने एक परिणाम हो, जीवनका हरेक भोगाइमा सँगसँगै जोडिएर आउने सुख वा दुःखको भाव। दुःखको भाव छ भने त्यो कुनै प्रकारको अकुशल कृत्यको परिणामस्वरूप आएको हुन्छ, र सुखको भाव छ भने कुनै कुशल कृत्यको परिणामस्वरूप।
त्यसका अतिरिक्त, अघिल्लो पटक गरेको कृत्यलाई दोहोर्याउने भाव हामीमा हुन्छ। कर्मको विपाक यस्ता कार्मिक कृत्यको लगत्तै पछि भैहाल्दैन। पहिला कुनै भाव जागृत हुन्छ, जस्तै हामीलाई कुनै व्यक्तिसँग रिसले कराउन, चिच्चाउन मन लाग्ला वा उसलाई मायाले अंगालो हाल्न मन लाग्ला। यो भावका कारण हामीमा त्यो कृत्य गर्ने उत्कण्ठा जाग्छ, र हामी त्यसलाई व्यवहारमा उतार्छौं। यसरी कुनै भाव उत्पन्न हुनु र त्यसको उत्कण्ठा जाग्नुका बीच एक उल्लेखनीय भेद हुन्छ। कुनै कुरा गर्ने भाव उत्पन्न हुनु भनेको त्यसलाई गर्ने चाहना वा इच्छा हुनु हो। तर मलाई लाग्छ “भाव” (अंग्रेजीमा “फिलिङ्”) को अर्थ चाहना वा इच्छाभन्दा अलि स्पष्ट हुन्छ, कम्तीमा अंग्रेजीमा। यसमा सोचविचार कम हुन्छ। हामीमा पहिला गरेजस्तै कृत्यहरू दोहोर्याइरहने भाव पैदा हुन्छ, र आफूलाई पुनः त्यस्तो परिस्थितिमा पुर्याउने भाव आउँछ ताकि त्यस्तै अवस्था हाम्रासाथ पुनः घटित होस्। तर हामीले कुनै व्यक्तिसँग निश्चित प्रकारको व्यवहार गर्यौं र उसले पनि बदलामा त्यस्तै व्यवहार हामीलाई फर्काउँछ भने त्यो हाम्रो कर्म–बल वा प्रवृत्तिका कारण होइन। यसमा प्रष्ट हुनुहोला, उसले गरेको कृत्य उसकै कर्म–बल र प्रवृत्तिहरूका कारण विपाक हुन्छ। हाम्रो तर्फबाट विपाक हुने कुरा भनेको त्यो परिस्थितिमा आफूलाई पुर्याउने, त्यो निश्चित व्यक्तिलाई भेट्ने भाव आदि हुन्।
कर्म–बलका कारण विपाक हुने अर्को कुरा हो – हामीलाई प्राप्त हुने जीवयोनि तथा शरीर र मनको प्रकार। कुकुरको मस्तिष्क हुँदा र मानिसको मस्तिष्क हुँदा मानसिक क्षमताहरू भिन्न हुन्छन्। कर्म¬–बल त्यो तत्त्व हो जसले वास्तविक चित्त–प्रवाह (चित्तसन्तान) को सिर्जना गर्छ। स्तनपायी जीवका रूपमा पुनर्जन्म हुनका लागि यसैले कुनै निश्चित मातापिताका शुक्रकीट र डिम्बसँग हामीलाई जोडाइदिन्छ। यसरी कर्म–बलद्वारा हामीले कुन जीवयोनि पाउने, कस्तो शरीर लिएर जन्मिने आदि कुराको निर्धारण हुन्छ।
यो जन्मका अधिकांश कार्मिक विपाक पूर्वजन्महरूमा जम्मा गरेका कृत्यबाट उत्पन्न हुन्छन्
जीवनका अनुभूतिहरूलाई हेर्दा हामीलाई अक्सर यस्तो सोच आउँछ कि अहिले अनुभव हुने खुसी र बेखुसीका भावहरू र कुनै कुरा गर्न खोज्ने वा बोल्न खोज्ने तमाम भाव हाम्रो यही जीवनमा विगतमा गरेका कर्म–बल र प्रवृत्तिका विपाकका रूपमा आएका हुन्। तर केही निश्चित कार्मिक कृत्यका कर्म–बल वा प्रवृत्तिहरूले मात्र यही जीवनकालमा प्रभाव पार्छन्। यसमा आफूलाई ज्यादै स्नेहपूर्ण व्यवहार गर्ने गुरुजन, आमाबुवा आदिप्रति अत्यन्तै प्रबल प्रेरणाका साथ गरिने सकारात्मक वा नकारात्मक व्यवहार पर्छन्। यसबाहेकका अन्य अधिकांश कर्मफल जो विपाक हुन्छन् र जसको विपाकको अनुभव हामीलाई वर्तमान जीवनमा हुन्छ, ती विगतका जीवनकालहरूमा हामीले संग्रहित गरेका कर्म–बल र प्रवृत्तिहरूको परिणाम हुन्।
यो कुरा हामीमध्ये धेरैलाई, मलाई लाग्छ अधिकांशलाई, बुझ्न गाह्रो हुन्छ। हामी अधिकांश पश्चिमाहरू पूर्व र पश्चात् जन्मको कुरा पटक्कै पत्याउन सक्दैनौं। यो एक अलग विषय हो। र, आज हामीसँग पूर्व र पश्चात् जन्म के हो तथा त्यसमा कसरी आश्वस्त हुन सकिन्छ भन्नेसम्बन्धमा छलफल गर्न पर्याप्त समय छैन। तर मलाई लाग्छ पुनर्जन्ममा विश्वास नगरे पनि कर्मसम्बन्धमा गरिने छलफलले आफ्नो जीवनलाइ बुझ्न र आफ्नासाथ घटित हुने परिघटनालाई कसरी लिने भन्ने सन्दर्भमा दिशानिर्देश गर्न ठूलो सहयोग गर्छ।
आफ्ना बाध्यकारी व्यवहारप्रति होश, स्मृति र प्रज्ञाको विकास
जीवनमा हामी जे अनुभव गर्छौं, त्यसको सामनाका लागि प्रथमतः होशको विकास गर्नुपर्छ। होश, वा कुनै चीजप्रति सचेतनता, त्यो मानसिक तत्त्व हो जसले हाम्रो चित्तलाई कुनै निश्चित वस्तुमा लगेर जोडिदिन्छ। यदि यस्तो होश हरेक क्षण कायम रह्यो भने त्यसैलाई पश्चिमी जगतले “माइन्डफुलनेस” भनेर बुझ्छन्। यद्यपि बुद्धधर्मले भनेको “माइन्डफुलनेस” अर्थात् स्मृति ठ्याक्कै त्यही मानसिक तत्त्व होइन। जब हामी आफ्नो मानसिक र आवेगात्मक जीवनमा घटित भैरहेका स्थितिहरूप्रति होशमा हुन्छौं, तब स्मृति त्यस्तो मानसिक तत्त्वका रूपमा रहन्छ जसले गमले टाँसेर राखेजस्तै हाम्रो चित्तलाई त्यसैमा राख्छ, त्यहाँबाट विमुख हुन दिँदैन। यसप्रकार हाम्रो होश पुष्ट हुँदै जान्छ र कुनै कुरा गर्ने अथवा कुनै कुरा बोल्ने भाव उत्पन्न हुन लाग्यो भने हामी त्यसलाई पहिल्यै थाहा पाउन सक्षम हुन्छौं। र, त्यस्तो भाव तथा त्यसलाई बाध्यकारी ढंगले साँच्चिकै कृत्यमा परिवर्तन गर्ने उत्कण्ठाबीच एक निश्चित समय–दूरी (ग्याप) लाई पकड्न सक्छौं।
बाध्यकारी व्यवहारको ढाँचा (प्याटर्न) बाट निष्क्रमण
बाध्यकारी व्यवहार गरिराख्ने लतबाट छुटकारा पाउन नैष्क्रम्यको आवश्यकता पर्ने यहीँनेर हो। नैष्क्रम्य कुनै कुराबाट मुक्त हुने अठोट र त्यसलाई छाड्ने तत्परता हो। यसका लागि चाहिने मनोभाव पूर्ण वितृष्णा र विरक्तिको होः हामीलाई आफ्नो बाध्यकारी व्यवहारको लतबाट वाक्क लागिसकेको हुनुपर्छ, चाहे ती आत्म–विनाशकारी नकारात्मक लतहरू हुन् वा बहुलट्ठीपूर्ण सकारात्मक लतहरू। उदाहरणका लागि, हामीलाई आफ्नो झनक्क रिसाउने र रिसले चिच्याउने लतदेखि वाक्क लागेको छ, वा हामी आफ्नो हात धोइरहने लतदेखि आजित भएका छौं। त्यसो हो भने फेरी कसैसँग रिसले झडङ्ग चिच्चाउन मन लाग्यो वा हात धुन मन लाग्यो भने त्यसबाट मुक्त हुने आफ्नो अठोटलाई स्मरण गरेर त्यसलाई पुष्ट बनाउनुहोस्। हात धोइ नै सक्नुभयो भने पनि पुनः यस्तो भाव नै नआवोस् भनी अठोट गर्नुहोस्। पहिलो चरणमा हामी कम्तीमा म यस्तो भावलाई व्यवहारमा उत्रन दिनेछैन भन्ने आफ्नो अठोटलाई पुष्ट बनाउँछौं। अनि आत्म–संयमको अभ्यास गर्दै त्यस्तो कृत्य गर्न बन्दै गर्छौं। तर यसरी आफूलाई रोक्नु पहिलो चरण मात्र हो। हामीले आफ्नो बाध्यकारी व्यवहारको जरोसम्म पुगेर त्यसको कारणलाई समूल नष्ट गर्नुपर्छ।
कर्मबारे भ्रमपूर्ण बुझाई
कर्मका सम्बन्धमा हामीमा भ्रान्तिहरू हुनसक्छन्। दैनिक जीवनमा कर्मको शिक्षालाई उतार्ने क्रममा हामीले आफूमा त्यस्ता भ्रान्तिहरू छन् कि छैनन् थाहा पाउनुपर्छ। अहिले हामी जे भोग्दै छौं, हामी त्यसै लायक हौं किनकि त्यो हाम्रै कर्मको परिणाम हो – यसरी सोच्नु भ्रान्ति हो। यस्तो खालको पराजित मानसिकता भयो भने हामी आफू विगतमा खराब मानिस भएको र त्यसैको सजायस्वरूप अहिलेको यो अवस्था भोग्नुपरेको निष्कर्षमा पुग्छौं। शान्तिदेवले के भन्नुभएको छ भने हामीले निशाना प्रदान गरेनौं भने कसैले पनि त्यसमा तीर हान्दैन। यदि हामीले विगतमा अकुशल ढंगले काम गरेका थिएनौं भने अहिले मानिसहरू हामीमाथि रिसले खनिने, हामीलाई दुर्व्यवहार गर्ने आदि हुँदैनथ्यो। शान्तिदेवको तात्पर्य अर्को व्यक्तिलाई दोष थोपर्ने होइन, अपितु हामीले आफ्नै दोष देख्ने हो। तर यसको अर्थ यो होइन कि हामी आफूलाई अधम भन्ठानौं र म त यस्तै दुःखको लायक हुँ भन्दै चुपचाप लागेर कसैलाई सिकायत नगरी आफ्नो सजाय मञ्जुर गरेर बसौं। मलाई लाग्दैन यस्तो व्यवहार कर्मको शिक्षालाई जीवनमा उतार्ने स्वस्थ तरीका हो। यो कर्मसम्बन्धी शिक्षाको अभिष्ट होइन।
यस्तो नियतिवाद–प्रेरित दृष्टिकोण लिनुका साटो हामीले कर्मको शिक्षाका अन्य आयामको अन्वेषण गर्नुपर्छ र तिनलाई कसरी आफ्नो जीवनमा उतारेर लाभ लिने, त्यो प्रयत्न गर्नुपर्छ। कर्मको शिक्षाबाट हामी जान्दछौं कि अहिले हाम्रासाथ जे घटित भैरहेको छ, त्यसको हेतु (कारण) हाम्रो विगतको व्यवहारमा थियो। विगतको व्यवहार अहिलेको भोगाइसँग कसरी सम्बन्धित छ, त्यसबारे विस्तृत शिक्षाहरू प्रशस्तै उपलब्ध छन्। उदाहरणका लागि, यदि हाम्रा सम्बन्धहरू दीगो रहँदैनन्, हामी आफ्नो प्रियजनका साथ रहन पाउँदैनौं, मानिसहरू हामीसँगको नाता तोडिरहन्छन् भने त्यो अवस्था हामीले अरूबीच फूट ल्याउने बोली बोलेको परिणाम हो। विगतमा हामीले अरूलाई उनीहरूका साथीका बारेमा फूट ल्याउने किसिमले कुरा सुनायौं, जसले गर्दा उनीहरूको सम्बन्ध टुट्यो। हामीलाई साथीले छाडेर हिँड्नु त्यही कर्मको विपाकले गर्दा हो, हामी त्यस्तै अवस्थामा आफूलाई पाउँछौं जहाँ अरूले पनि हाम्रासाथ त्यही प्रकारको व्यवहार गर्छन्।
यसरी फूट ल्याउने बोली बोल्नुको अर्को विपाकस्वरुप हामीमा त्यस्तै काम गरिरहने बाध्यकारी भाव उत्पन्न हुन्छ। यो कुरा जानेपछि कर्मको ज्ञानलाई उपयोगी औजारका रूपमा प्रयोग गर्न हामीले आफूलाई इमान्दारीपूर्वक जाँच गर्नुपर्ने हुन्छ। के हामीमा अरूको निन्दा गर्ने वा अरूसँग उनीहरूका मित्र, सहकर्मी, सहपाठीका बारेमा फूट ल्याउने किसिमले कुरा गर्ने बानी छ? यसरी जाँच गर्दा संभवतः हामी आफूलाई अलि बढी नै अरूको निन्दा गर्न रुचाउने स्वभावको पाउनेछौं। हामी अरूका बारेमा राम्रा कुराहरू विरलै भन्छौं, तर नराम्रा कुराहरू सधैँ भन्छौं। यस्तो प्रायः भैरहन्छ, होइन? हामी सधैँ अरूको कमीकमजोरी खोतल्न, अरूलाई उनीहरूको कुरा लगाउन, र उनीहरूबारे गुनासो गर्न व्यग्र रहन्छौं। तर के कहिल्यै अरूसामु उनीहरूको राम्रा गुणको चर्चा वा प्रशंसा गर्छौं? हामीमध्ये अधिकांशले विरलै त्यसो गर्छौं।
कर्मको शिक्षाबाट हामीले सिक्ने यो एक अति उपयोगी बुँदा हो जसलाई हामी आफ्नो दैनिक जीवनमा उतार्न सक्छौं। यसबाट हामी आफूले जीवनमा हाल भोगिरहेको परिस्थिति र आफ्नो नियमित व्यवहारको ढाँचामा समरूपता रहेको पाउनेछौं। त्यसैले पराजित मानसिकता लिएर “म त यसै लायकको छु, किनकि म विगतको जीवनमा धेरै खराब थिएँ, म अरूको निन्दा गर्थें” भन्नुका साटो हामी आफ्नो अबको व्यवहार सुधार्नमा ध्यान केन्द्रित गर्छौं। र, कसैलाई अरूका बारेमा खराब कुरा सुनाउने भाव आयो भने त्यसको साटो उनीहरूको राम्रा गुणको स्मरण गर्न र उनीहरूको प्रशंसा गर्न थाल्छौं।
यस्ता कार्मिक लक्षणका अनेक उदाहरण छन् जसलाई हामी आफूमा पहिल्याउन सक्छौं। मानिलिऊँ हामी गरिब छौं। थोरै आत्मनिरीक्षण गर्यौं भने पाउनेछौं कि हामी सधैँ अरूबाट फाइदा मात्र लिन खोज्छौं, अरूको कुराहरू उपयोग गर्न खोज्छौं, अरूलाई दोहन गर्न खोज्छौं, कसैका लागि कदापि पैसा खर्च गर्दैनौं, सधैँ अरूले मात्र हाम्रा लागि पैसा खर्च गरिदिऊन् भन्ने आस गर्छौं, आदि। मैले विशेष रूपमा इंगित गर्न खोजेको चाहिँ अरूको सामान उनीहरूको अनुमति नलिई चलाइदिने प्रवृत्ति हो, जस्तै फ्रिजबाट अनुमति नलिई अरूको खानेकुरा निकालेर खाइदिने आदि। यस्तो व्यवहारसँग मिल्दोजुल्दो परिस्थिति आफ्नासाथ घटित भैरहने, त्यस्तै प्रकारको व्यवहार गर्ने हाम्रो भाव र प्रवृत्ति भैरहने अनुभव गर्छौं। भारतीय आचार्य धर्मरक्षितले यस्ता अनेक सह–सम्बन्धहरूको चर्चा आफ्नो मतिशोधन ग्रन्थ “शस्त्रचक्र” (व्हील अफ सार्प वेपन्स) मा गर्नुभएको छ।
यसका अतिरिक्त हामीले ध्यान दिनु आवश्यक छ कि यस्ता परिणाम एउटा मात्र हेतुले आउँदैनन्। बुद्धले भन्नुभएको थियो, कुनै भाँडामा पानी भर्दा त्यसमा पर्ने पानीको पहिलो थोपाले मात्र भरिँदैन, न त अन्तिम थोपा मात्रैले भरिन्छ। त्यो भाँडा भरिनका लागि पानीका सबै थोपाहरू जम्मा हुनुपर्छ। त्यस्तै हामीले अहिले भोग्नुपरेको दुःख विगतमा गरिएको कुनै एउटा मात्र नराम्रो कामको परिणाम होइन। विगतका थुप्रै नराम्रा कामहरू जम्मा भएर आएको परिणाम मात्र पनि होइन। यसका लागि त असंख्य हेतु र प्रत्ययहरू एक ठाउँमा मिलेर आएको हुनुपर्छ, तब मात्र कुनै कुरा हाम्रो भोगाइमा आउँछ।
उदाहरणका लागि, मानौं कारले हामीलाई ठक्कर दियो। यसको हेतुमा हामीले पहिला कसैलाई कारले वा अन्य केही चीजले घाइते बनाएको कृत्य मात्र पर्दैन। यसमा हाम्रो मात्र होइन, हामीलाई ठक्कर दिने व्यक्तिको पनि सबै कर्म–बलहरूको प्रभाव संलग्न हुन्छ। त्यसमाथि मौसम, सडकको ट्राफिक अवस्था, हामी सडकमा त्यतिबेलै निक्लिनुपर्ने कारण आदि यावत् कुराहरू पनि आउँछन्। त्यो सडक बनाउने मानिसहरूको पनि कुनै हात हुन्छ। यसरी हामी देख्छौं, सडकमा कारबाट ठक्कर खाने घटना भोग्नुका पछाडि असंख्य हेतु र प्रत्ययहरू एक ठाउँमा भेला भएका हुन्छन्।
कार्य र कारणलाई हेर्ने आफ्नो नजरलाई अलि व्यापक बनायौं र कुनै पनि चीज घटित हुनका लागि असंख्य हेतु र प्रत्ययहरू एक ठाउँमा भेला भएको हुनुपर्छ भन्ने कुराको हेक्का राख्यौं भने हामीले आफ्नो यो ठोस “म” लाई विघटित गर्न थाल्छौं जसले आफूलाई सम्पूर्ण रूपमा दोषी करार गर्दै जे जति भोग्नु परिरहेको छ, त्यो सबै आफूलाई सजायस्वरूप प्राप्त भएको ठान्छ। निश्चय नै हामी जिम्मेवार छौं, तर आफ्नो कृत्यको जिम्मेवारी लिनु र एक ठोस रूपमा अस्तित्ववान “म” भन्ने तत्त्व छ जो निकृष्ट अनि दोषी छ, मेरो वर्तमान हालतको एकमात्र अपराधी यही हो भन्ठान्नुबीच धेरै अन्तर हुन्छ।
कर्मको सन्दर्भमा शून्यता बोध
कार्य–कारणसम्बन्धी आफ्नो बुझाईलाई विस्तृत बनाउनुका साथै हामीले “त्रिकोटी” (तीन वृत्त) लाई विघटित गर्नुपर्छ। यी तीन वृत्तलाई प्रतिपादित गर्ने विभिन्न तरीका छन्। कर्मको विपाकसम्बन्धमा हामी तिनलाई यसरी छुट्याउन सक्छौं – कर्मको विपाक भएको अनुभूति गर्ने “म”, त्यसरी विपाक भएका कारण अहिले हामीले भोगिरहेको भोगाई, र विगतमा गरेको कृत्य जुन अहिले विपाक हुनका लागि कार्मिक हेतु बन्यो। तर हामीलाई यो थाहा हुँदैन कि यी तीन वृत्तहरू एक आपसमा अन्तरसम्बन्धित हुन्छन्। त्यसैले हामी एक त्यस्तो ठोस “म” को कल्पना गर्छौं, त्यसैप्रति ग्राह गरेर बस्छौं, र यो ठान्छौं कि त्यो विगतमा अति अधम थियो र त्यसैले गर्दा अहिले मेरो यो हालत भएको हो, म त्यसैको लायक हुँ। एक अर्थमा हामी आफैं पीडित बन्छौं वा आफूलाई दण्डयोग्य अपराधी बनाउँछौं, र त्यही ठोस भन्ठानिएको आफ्नो अस्तित्त्वलाई पकडेर बसिरहन्छौं। यो त मनको असाध्यै दुःखपूर्ण अवस्था हो, कि कसो? अहिले भोग्नुपरेको अवस्थालाई हामी अति नै ठूलो र भयानक बनाइदिन्छौं, र आफूले विगतमा गरेका कृत्यलाई पनि त्यस्तै ठूलो र भयानक बनाइदिन्छौं। यो सम्पूर्ण ढाँचा आफूप्रतिको अपराधबोध र आत्म–ग्लानिको भावले भरिएको हुन्छ। परिणामस्वरूप हाम्रो दैनिक जीवन निकृष्टबाट निकृष्टतर बन्दै जान्छ।
त्यसैले यहाँनेर शून्यताको बोध आवश्यक हुन्छ। नत्र हामीलाई सबैथोक अपरिवर्तनीय जस्तो लाग्न सक्छ, र सजिलै कुनै न कुनै अतिवाद पकड्न पुग्छौं। यसले हामीले माथि उल्लेख गरेजस्ता समस्या र दुःखहरूलाई थप बढाउने काम मात्र गर्छ। हुनत शून्यताको बोध नभए पनि हामीले जे कृत्य गर्छौं, बोल्छौं वा सोच्छौं ती सबैको कुनै न कुनै कार्मिक फल हुन्छ भन्ने कुरा मनमा राखेर चल्नुपर्छ। यो कुराको हेक्का राख्दै हामीले अकुशल कृत्य गर्न छाड्नुपर्छ र कुशल कृत्य गर्न शुरु गर्नुपर्छ।
अकुशल कृत्यलाई छाड्नु
बौद्ध ग्रन्थहरूमा बताइएअनुसार अकुशल कृत्य गर्दा जे बेफाइदा हुन्छ, त्यसको स्मरण गर्नाले त्यस्ता अकुशल (नकारात्मक) कृत्यबाट आफूलाई बचाउने हेतु प्राप्त हुन्छ। ती कृत्यका कारण भोग्नुपर्ने दुःखपूर्ण परिणाम हामीलाई चाहिँदैनन्, त्यसैले जब कुनै अकुशल कृत्य गर्ने वा बोल्ने भाव हामीमा पैदा हुन्छ, तब त्यो गर्नबाट आफूलाई रोक्छौं। तर सामान्यतया हामी यो ढंगले सोच्दैनौं। हामी आफूलाई त्यस्ता कृत्य गर्नबाट रोक्छौं किनकि त्यसरी अकुशल ढंगको व्यवहार गर्न हामीलाई मन पर्दैन। कतिपय अकुशल कृत्य त्यतिकै पनि ठीक लाग्दैनन्, जस्तै साथीसँग धोकाधडी, तोडफोड, आदि। यदि त्यसो हो भने पनि ठीकै छ। शायद त्यतिबेला हामीले ती कृत्यका नकारात्मक परिणामहरूबारे त्यति सक्रियतापूर्वक चिन्तन गरेका हुँदैनौं, तैपनि हामीलाई ती कृत्य ठीक लाग्दैनन्, त्यसैले हामी तिनलाई गर्दैनौं।
तर लामखुट्टे मार्ने काम चाहिँ? तपाईंका बारेमा मलाई थाहा भएन, तर मलाईं भने राती सुत्न नदिने त्यो लामखुट्टेलाई सके प्याट्ट हिर्काएर मारिहाल्ने, नभए अफ्रिकी जंगलको सफारी टुरमा निक्लेजस्तै कोठाभित्रै त्यसको सिकारमा निक्लने, खोजीखोजी भेट्टाउने र मार्ने काम उपयुक्त लागेको राम्रै अनुभव छ। यसमा त केही समस्या देखिँदैन नि! हुनत यसरी लामखुट्टेको सिकारमा निक्लनु ज्यादै मूर्खतापूर्ण काम हो भनेजस्तो लागेपनि हामी त्यस्तो सिकारमा निक्लने गर्छौं, होइन त? यस्तै बेतुकका उदाहरणबाट हामीलाई कुरा बुझ्न सहयोग मिल्छ।
यो प्रकारको विनाशात्मक व्यवहारमा चाहिँ हामीले लामखुट्टे मार्दा र सहनशीलताको अभ्यास नगर्दाको बेफाइदाबारे मनन गर्नु नितान्त आवश्यक हुन्छ। यसको मतलब अवश्य पनि हामीले लामखुट्टेलाई आफ्नो रगत खुवाएर पाल्नुपर्छ भन्ने होइन। तर लामखुट्टेको समस्या समाधान गर्ने कुशल उपाय अवलम्बन गर्न सक्छौं। उदाहरणका लागि, जब त्यो लामखुट्टे भित्तामा बस्छ, त्यसलाई एउटा जारले छोप्ने, त्यसमुनि कागजको पन्ना छिराउने र त्यसरी पकडेको लामखुट्टेलाई कोठाबाहिर लगेर छाडिदिने। यो एकदमै व्यावहारिक उपाय हो, यद्यपि यसो गरिरहँदा हामीमा जंगल सफारीवाला भाव पैदा हुनसक्छ, त्यसमा सावधान रहनुपर्छ। त्यसरी जार र कागजको पन्ना लिएर लामखुट्टे पकडिरहँदा पनि हाम्रो मनभित्र जंगल सफारी चलिरहेको हुनसक्छ।
यो उदाहरण वास्तवमै विश्लेषणयोग्य छ। के हामी लामखुट्टेलाई आफ्नो कोठाबाट केवल यसकारण निकाल्न लाग्दैछौं कि हामीलाई त्यसले टोक्दा हुने चिलाई मन पर्दैन? या हामी लामखुट्टेको कोणबाट सोच्छौं? निश्चय नै हामीले लामखुट्टेलाई त्यसको खानेकुराबाट वञ्चित गर्दैछौं। यहाँनेर के ख्याल गर्नुपर्छ भने यसरी नियमित रूपमा लामखुट्टे वा झिंगा वा अन्य जुनसुकै पनि जीवलाई मारिरहँदा हामीले कस्तो प्रवृत्तिको विकास गर्छौं? हामी त्यस्तो प्रवृत्तिको विकास गर्छौं जसले आफूलाई मन नपर्ने चीज जेसुकै भएपनि हाम्रो पहिलो प्रतिक्रिया त्यसलाई मार्ने हुन्छ। यो आफूलाई झर्को लाग्ने कुराबाट छुटकारा पाउन शान्तिपूर्ण उपाय खोज्नुको साटो हिंसाको बाटो अपनाउने प्रवृत्ति हो। त्यसैले जब हामी लामखुट्टेलाई जार र कागजको पन्नाको मद्दतले पकड्छौं, कम्तीमा त्यो काम लामखुट्टेप्रति घृणाको भाव राखेर नगरौं। त्योबेला हामीले लामखुट्टेलाई एक अवाञ्छनीय जीव हो र यो मेरो ठाउँमा घुस्न आएकाले मैले यसबाट निजात पाउनुपर्छ भन्ने भाव राख्नु ठीक हुँदैन।
यसमा अन्य उन्नत अभ्यासहरू हामीले जोड्न सक्छौं, जस्तै त्यो लामखुट्टे कुनै न कुनै पूर्वजन्ममा मेरी आमा थिइन् भनेर भावना गर्ने आदि। तर हामीमध्ये अधिकांशलाई इमान्दारीपूर्वक त्यस्तो भावनाको विकास गर्न निकै कठिन हुन्छ। सारमा हामीले के ध्यान दिनुपर्छ भने कुनै कुरामा त्यत्तिकै पनि अकुशल कृत्य गर्न मन लाग्दैन भने कुनै कुरामा हामीले होशपूर्वक आफ्नो प्रेरणालाई ठीक राख्ने प्रयत्न गरिराख्नुपर्छ।
कार्मिक प्रवृत्ति र बललाई सक्रिय गराउने तत्त्वहरू
मैले यहाँ उल्लेख गर्न खोजेको अर्को बुँदा कार्मिक प्रवृत्ति र बललाई सक्रिय गराउने र तिनलाई विपाक हुन प्रेरित गर्ने तत्त्वहरूसँग सम्बन्धित छ। ती तत्त्वहरूलाई प्रतीत्यसमुत्पादको द्वादश निदानको शिक्षाअन्तर्गत मृत्युका बखत कर्म–बललाई सक्रिय गराउने कारकहरूको सन्दर्भमा चर्चा गरिन्छ। ती तत्त्वहरूले हाम्रो चित्त–प्रवाह (चित्तसन्तान) लाई भविष्यको पुनर्जन्ममा “धकेल्ने” काम गर्छन्।
यीमध्ये पहिलो तत्त्व तृष्णा हो। संस्कृत शब्द तृष्णाको अर्थ “तिर्सना” हो, जसको तिब्बती अनुवादलाई अंग्रेजीकरण गर्दा “क्रेभिङ” भनिएको छ। दोस्रो तत्त्व (उपादान) लाई अंग्रेजीमा सामान्यतया “ग्रास्पिङ” भनेर अनुवाद गर्ने गरिन्छ। तर यो ज्यादै सही अनुवाद होइन, किनकि अन्य केही पारिभाषिक शब्द पनि छन् जसलाई “ग्रास्पिङ” भनेर अनुवाद गरिएको छ, जस्तै “सत्कायदृष्टिमा ग्राह” लाई पनि “ग्रास्पिङ” भनिएको छ जबकि यसको अर्थ भिन्न छ। यहाँ प्रयोग गरिने शब्द (उपादान) को शाब्दिक अर्थ “केही कुरा पाउनु” भन्ने हुन्छ। मलाई मनपर्ने अंग्रेजी शब्द चाहिँ “अब्टेनर” हो। यो एक प्राप्त गर्ने आवेग वा मनोभाव हो, यदि यसलाई विकसित गर्यौं भने यसले हाम्रा लागि भविष्यमा पुनर्जन्म निश्चित गर्छ। द्वादश निदानको परिप्रेक्ष्यमा यी दुई तत्त्वहरूले पुनर्जन्म गराउने कर्मलाई सक्रिय गराउँछन् भनेर व्याख्या गरिएको छ। यसलाई अलि भिन्न ढंगले पनि व्याख्या गरिएको छ, जसअनुसार यिनै दुई तत्त्वले हाम्रो जीवनको प्रत्येक क्षणमा कार्मिक बल र प्रवृत्तिहरूलाई सक्रिय गराइरहेका हुन्छन्।
कर्मको शिक्षाको हाम्रो दैनिक जीवनमा के उपयोगिता छ भन्ने सन्दर्भमा यो व्याख्या एकदमै सान्दर्भिक छ। प्रथमतः हामीले जान्नुपर्छ, तृष्णा भनेको के हो? यो तिर्सना वा प्यास भनेको के हो? यो त्यो मानसिक तत्त्व हो जो हामीले अनुभव गरिरहेका खुसी वा बेखुसीका भावप्रति लक्षित हुन्छ, त्यसलाई बढाइचढाइ गर्छ, अतिरञ्जित गरिदिन्छ। खुसीको अनुभूति छ भने हामी त्यसको कहिल्यै अन्त नहोस् भनेर तिर्सना गर्छौं। बेखुसी वा दुःखको अनुभूति छ भने त्यसको अन्त भैहालोस् भनेर तिर्सना गर्छौं। हामी तथाकथित ध्यानस्थ वा पूर्ण समाधिस्थ अवस्थामा लीन भएका छौं र न खुसी न बेखुसी जस्तो तटस्थ अनुभूति भैरहेको छ भने त्यो तटस्थताको भाव कम नहोस् भनेर तिर्सना गर्छौं। यसरी हाम्रो तिर्सना वा प्यासका भिन्न भिन्न श्रेणीहरू हुन सक्छन्।
अर्कातर्फ उपादानले हाम्रा विचलनकारी आवेग र दृष्टिकोणहरूतर्फ इंगित गर्छ। यिनीहरूले तृष्णासँग मिलेर कर्म–बल तथा प्रवृत्तिहरूलाई सक्रिय बनाउँछन्। यसअन्तर्गत आउने सूचीमा सबैभन्दा प्रमुख त्यो दृष्टिकोण हो, जसले हामीलाई एक त्यस्तो शाश्वत अस्तित्ववान “म” भावसँग तादात्म्य गराउँछ जसलाई हामीले आफ्नो शरीर, चित्त, मनोभाव आदिसँग एकाकार गर्दै आफूभित्र अनुभूति हुने स्कन्धहरूलाई “मेरो” भन्ने भाव पैदा गराउँछ।
सारांशमा, तृष्णा खुसी वा बेखुसीको अनुभूतिको मात्रासँग सम्बन्धित हुन्छ भने उपादान त्यसलाई अनुभव गर्ने “म” सँग सम्बन्धित हुन्छ। यस्ता अनुभूतिको शून्यता र यो “म” भावको शून्यताको ज्ञान नभए पनि हामी कर्मको विश्लेषणबाट केले हाम्रो कर्म–बललाई सक्रिय बनाउँछ भन्ने बोधलाई आफ्नो दैनिक जीवनमा उतार्न सक्छौं। आखिर हरेक क्षण हामी कुनै मात्रामा खुसी वा बेखुसीको अनुभूति गरिरहेकै हुन्छौं। त्यस्तै “अष्टलौकिक धर्म” को सन्दर्भमा पनि यो शिक्षालाई दैनिक जीवनमा उतार्न सक्छौं।
लौकिक धर्मको “लौकिक” शब्दलाई तिब्बतीमा अनुवाद गर्दा “जिग्तेन्” भनिन्छ। तेन्को अर्थ आधार हो, जिग् को अर्थ अस्थिर, भत्किने वा मासिने हो। त्यसैले अष्टलौकिक धर्मले त्यस्ता आठ सांसारिक विषयहरू जनाउँछ, जो मासिएर जान्छन् तर जसका प्रति हामीमा एकखालको दृष्टिकोण छ। यी चीजहरूको कुनै ठोस आधार हुँदैन र यी अनित्य हुन्छन्, तर हाम्रो जीवनमा आउने यी कुराहरूप्रति हामी या त अति नै उत्साहित हुन्छौं, या अति नै निराश।
कर्म–बल सक्रिय बनाउने यी तत्त्वहरूको सन्दर्भमा सम्बन्धित लौकिक धर्महरूलाई हामी खुसी भएको अवस्थामा अति उत्साहित भएर ग्रहण गर्छौं भने बेखुसी भएको अवस्थामा अति निराशापूर्वक। यो सन्दर्भमा अस्थिर आधार के हो? हाम्रो खुसी वा बेखुसीको भाव हो। खुसी र बेखुसीका भाव अस्थिर हुन्छन्, त्यसैले अस्थिरतामा आधारित ती धर्म पनि अस्थायी हुन्छन्। तर हामीले त्यसलाई बढाइचढाइ गरेर त्यो शाश्वत छ, ठोसरूपमा अस्तित्ववान छ भन्ने धारणा राखेका कारण जब त्यो हाम्रो अनुभवमा आउँछ, तब या त हामी अति उत्साहित हुन्छौं या अति निराश। तिर्खाएको मानिसले पानीको एक घुट्को भेट्दाजस्तै हामी खुसीको एक झलक देख्दा अति उत्साहित हुन्छौं र त्यसलाई कहिल्यै गुम्न दिन चाहँदैनौं। त्यस्तै तिर्खाएको मानिसले पानीको एकै घुट्को पनि नभेट्दा जसरी तड्पिन्छ, त्यसरी नै हामी बेखुसीको अनुभव हुँदा तड्पिन्छौं र त्यो अनुभव गैहालोस् भन्ने तिर्सना राख्छौं।
खुसी र बेखुसीका अनुभूतिप्रति समता
भारतीय आचार्य शान्तिदेव यस्तो व्यवहारलाई केटाकेटीपन भन्नुहुन्छ। हामीले यस्तो मूर्खतापूर्ण व्यवहार गर्नबाट बच्नुपर्छ। खुसी र बेखुसीको अनुभूतिप्रति उग्र प्रतिक्रिया व्यक्त गर्न बन्द गर्नुपर्छ। यसका लागि समताको विकास गर्नु जरुरी हुन्छ। “समता” को अर्थ हामीलाई हुने खुसी वा अन्य कुनै पनि अनुभूतिप्रति अति प्रतिक्रिया नगर्नु हो, किनकि यो संसारको स्वभाव नै उतारचढाव भैरहने खालको छ। कुनैबेला हामीलाई खुसीको अनुभूति हुन्छ, कुनैबेला बेखुसीको। यो एकदम स्वाभाविक हो। फेरी, हामी कहिले खुसी हुन्छौं र कहिले बेखुसी, त्यसको भविष्यवाणी गर्न सकिँदैन। कुनै प्रत्यक्ष कारणबिनै पनि हाम्रो मुड तत्क्षण परिवर्तन हुनसक्छ। त्यस्तै कुनै नाटकीय ढंगले अत्यधिक खुसी वा बेखुसीको अनुभव हुनुपर्छ भन्ने पनि छैन; त्यो सामान्य मात्रामा पनि हुनसक्छ। हाम्रो अनुभव जस्तोसुकै भएपनि लिनुपर्ने दृष्टिकोण चाहिँ “यसमा केही खास छैन” भन्ने हो।
यो बुँदा वास्तवमा एकदमै गहन छ। “यसमा केही खास छैन” भन्नाले आश्चर्यचकित हुनुपर्ने, वा असाधारण ठान्नुपर्ने कुरा केही पनि छैन भन्ने बुझिन्छ। हामीले के आशा गर्नु? निश्चय नै हरेक चीजमा उँचनीच, उतारचढाव भैरहेको हुन्छ। त्यसैले कुनै कुरालाई पनि अतिरञ्जित गर्नु आवश्यक छैन। हाम्रो जीवन जस्तोसुकै होस्, कुनैबेला खुसीको अनुभूति गर्छौं भने कुनैबेला बेखुसीको। हामीलाई थाहा छ कि सकारात्मक कर्म गर्यो भने खुसी प्राप्त हुन्छ, नकारात्मक कर्म गर्यो भने बेखुसी। कुनै कुरालाई अद्भूत र कुनै कुरालाई भयावह भन्ठानेर त्यसैमा अड्किरहनु आवश्यक छैन। त्यस्तै जसले “म धेरै खुसी छु”, “अहो, विचरा म, म त सारै दुःखी छु,” भन्छ त्यस्तो ठोस र चीरस्थायी “म” प्रति आसक्त भएर बस्नु त झनै आवश्यक छैन।
हुनत सामान्य अर्थमा हामी खुशी नै हुन चाहन्छौं, दुःखी हुन कोही पनि चाहँदैन। फेरी त्यसमाथि बुद्धधर्मको साधना गर्ने हामीहरू त निर्वाण र बोधिकै लागि प्रयत्नरत छौं, जहाँ बेखुसी र दुःखबाट पूर्ण मुक्त भइन्छ। तर यसलाई बढाइचढाइ गर्नुपर्ने कुनै आवश्यकता छैन। मुख्य कुरा यही हो। हाम्रो तात्पर्य कर्मको शिक्षालाई दैनिक जीवनमा उपयोगी बनाउनुसँग छ, चित्तको शान्ति प्राप्त गर्नुसँग छ। चित्तको शान्ति तब प्राप्त हुन्छ जब हामी आफ्नो परिवर्तन भैरहने मुडप्रति समतायुक्त बन्छौं। किनकि स्वाभाविक रूपमा हामीले कहिले खुसी र कहिले बेखुसीको अनुभव त गर्नैपर्छ। यो संसारको रीत नै हो, हामीले योभन्दा बढी आशा गर्न सक्दैनौं। हामी जुन धर्मअभ्यास गर्दैछौं, त्यसैलाई निरन्तरता दिन्छौं। कुनै बेला खुसीको अतिरेक अनुभव भएन रे, त्यसले के फरक पर्यो त?
जीवनका उतारचढाव
तर यसको अर्थ यो होइन कि हामी कुनै अनुभूति गर्न बन्द गरौं, हामी खुशी हुन वा बेखुसी हुन बन्द गरौं र भावशून्य जड बनौं। कुराको तात्पर्य त्यो होइन। खुसी र बेखुसी हुनु ठीकै छ। कुनैबेला केही राम्रो चीज घटित हुन्छ, हामी खुसी हुन्छौं। कुनैबेला केही नराम्रो चीज घटित हुन्छ, हामी खुसी हुँदैनौं। उदाहरणका लागि, हामी कुनै रेष्टुराँ गयौं र आफूलाई मनपर्ने खानेकुरा अर्डर गर्न खोज्यौं। तर त्यो त्यहाँ उपलब्ध छैन। उनीहरूसँग सकिएको छ, त्यसैले हामी खुसी हुँदैनौं। हामीलाई दुःख लाग्छ, तर त्यसलाई अतिरञ्जित गर्दैनौं। दुःख लाग्नु ठीकै छ, केवल त्यसमा अड्केर बसिराख्नु भएन। त्यसैका कारण आफ्नो मुड बिगारेर बस्नु भएन।
हुनत यो अलि बेतुकको उदाहरण होला। अलि सान्दर्भिक उदाहरण प्रियजनको मृत्यु हुनसक्छ। त्योबेला हामीलाई दुःख लाग्नु र बेखुसी हुनु स्वाभाविक हो। यसमा केही खराबी छैन। बरु दुःख नमान्नु चाहिँ एकदमै अस्वस्थकर हुन्छ। तर जे होस्, त्यसैलाई पकडेर बसिराख्नु भएन। त्यो दुःखको भावलाई आफूले कल्पना गरेको विशाल र ठोस “म” सँग लगेर जोड्ने र त्यसलाई अति दुःखी ठानी आफूलाई त्यसैमा तादात्म्य गराउनु चाहिँ उचित होइन। अर्को उदाहरण लिऊँ। मानौं, हामी कसैको साथमा छौं र बारम्बार भनिरहन्छौं – “म अति खुसी छु। हामी असाध्यै रमाइलो गरिरहेका छौं हगि?” यसले सारा मुड नै बिगारिदिन्छ, कि होइन? जीवनमा जे उतारचढाव हुन्छ, केवल त्यसलाई अनुभव गरेर बसौं। हामी खुसी वा बेखुसी हुनु कुनै ठूलो कुरा भएन। त्यसमा केही खास छैन।
यस्तो समभावको विकासका साथसाथै हामीले लिनुपर्ने अर्को दृष्टिकोण र रवैया के हो भने दुःखी भएका बेला वा परिस्थिति राम्रो नचलेका बेला तिनको कार्मिक कारण के होला भनी चिन्तन गर्नुपर्छ। हामीले चर्चा गरेजस्तै त्यसको ढाँचा कस्तो छ, कसरी त्यस्तै खालको परिस्थिति हामी दोहोर्याइरहन्छौं आदि कुरामाथि विचार गर्न र त्यसमा सुधारको काम गर्न सक्छौं।
लाम–रिमको क्रमिक चरणमा प्रेरणाका तीन स्तर
मैले उल्लेख गर्न चाहेको अर्को विषय लाम–रिम मार्गक्रममा प्रस्तुत प्रेरणाको तीन स्तर हो। सामान्यतया कर्मको शिक्षा प्रारम्भिक चरणको प्रेरणाअन्तर्गत आउँछ। हामी अकुशल कर्म गर्नबाट आफूलाई रोक्छौं किनकि त्यसरी आफूलाई नरोकेको परिणामस्वरूप हुने दुर्गतिबाट हामीलाई डर लाग्छ। हाम्रो कामका कारण अरू मानिसले के भोग्नुपर्छ, त्यो हामीलाई थाहा हुँदैन। हाम्रो कर्मको उनीहरूमाथि के प्रभाव हुन्छ, त्यसको ग्यारेन्टी हामी गर्न सक्दैनौं। तर आफ्नो तर्फबाट मात्र सोच्दा आफूले गरेका अकुशल कर्मका कारण भोग्नुपर्ने दुःख र बेखुसीको अवस्थामा पुग्न हामीलाई पटक्कै मन हुँदैन। हामीलाई त्यसको डर वा अत्यास लाग्छ, र यस्तो डर स्वस्थकर हुन्छ। यहाँ हामी दण्डसजाय पाइएला भन्ने डरको कुरा गर्दै छैनौं, हामी त केवल यो भन्दैछौं कि दुःख र बेखुसीको अवस्थाबाट हामी बच्न चाहन्छौं। अझ सटीकरूपमा भन्दा, भविष्यका जन्ममा भोग्न सकिने दुःख र बेखुसीलाई हामी पन्छाउन चाहन्छौं। यो प्रेरणाको प्रारम्भिक स्तर हो।
प्रेरणाको मध्यम स्तरमा हामी कर्मको बाध्यकारी व्यवहारबाट छुटकारा चाहन्छौं, किनकि हामी निर्वाणको कामना राख्छौं। यदि हामीले निर्वाण प्राप्त गरेनौं भने यो संसारका खुसी र बेखुसीका उतारचढावहरूले हाम्रो पिछा कहिल्यै छाड्ने छैनन्। त्यो अवस्था बडो भयावह हुनेछ।
प्रेरणाको उन्नत स्तरमा हामी सबै प्रकारका कार्मिक कृत्यका बाध्यताहरूबाट छुटकारा चाहन्छौं किनकि तिनले अरूलाई सहयोग गर्ने हाम्रो क्षमतालाई कम गर्छन्। यसरी सधैँ उतारचढावमा अल्झिरहनुपर्यो र अप्रिय कुराहरू हाम्रासाथ घटित भैरहे भने हामी कसरी अरूलाई सहयोग गर्न सकौंला र? यहाँ हाम्रो मुख्य चासो अरूलाई सहयोग गर्न सक्ने क्षमतामा यसले नकारात्मक प्रभाव पार्छ भन्ने हो। वर्तमान मानवतावादी सिद्धान्तजस्तो यसले अरूलाई हानि गर्ला कि भन्ने सोचाइमा हामी केन्द्रित हुँदैनौं, अपितु अरूलाई सहयोग गर्नसक्ने क्षमतामा बाधा नपुगोस् भन्नेमा केन्द्रित हुन्छौं।
नैतिकतापूर्ण व्यवहारको बौद्ध दृष्टिकोण र पश्चिमी मानवतावादी दृष्टिकोणमा ठूलो अन्तर छ। मानवतावादी दृष्टिकोणमा “यदि मैले गरेको कार्यले अरूलाई हानि गर्दैन भने ठीकै छ” भन्ने सोच राखिन्छ। हुनत यो दृष्टिकोणमा केही खराबी छैन, तर हामीले गर्ने कार्यले अरूमाथि के असर हुन्छ भन्ने कुराको ग्यारेन्टी गर्न सकिँदैन। उदाहरणका लागि, मानौं हामीले कसैको कुनै सामान चोर्यौं। यसले उनीहरूलाई खुसी तुल्याउन सक्छ, किनकि त्यो सामान रद्दी अवस्थामा हुन सक्छ र त्यो हराएकोमा उनीहरू बीमा रकम दावी गर्न पाउँछन्। अर्कातर्फ यस्तो पनि हुन सक्छ कि हामीले कसैलाई ठूलो रकम दियौं, र त्यही कारण उ लुटियो र मारियो।
ज्ञातै छ, बुद्धधर्मको अभ्यासमा हामी मैत्री र करुणाको विकास गर्छौं र अरूलाई हानि पुर्याउँदैनौं। तर प्रेरणाको यो उन्नत स्तरमा हाम्रो मुख्य ध्यान त्यस्ता कुरा गर्नबाट आफूलाई बचाउने हुन्छ जसले अरूको सहयोग गर्ने हाम्रो क्षमतालाई सीमित गरिदिउन्। यो प्रेरणा बुद्धधर्मको आध्यात्मिक मार्गको त्यो लक्ष्यसँग मेल खान्छ जहाँ हामी बोधिका लागि प्रयत्न गर्छौं र अरूलाई बढीभन्दा बढी सहयोग गर्ने क्षमता विकासका लागि क्रियाशील हुन्छौं। बुद्धधर्मअन्तर्गत कर्मको चर्चामा मुख्य जोड यही कुरामा दिइएको छ।
दैनिक व्यवहारका सन्दर्भमा यो महायान प्रेरणाको उपादेयता केमा छ भने यसले हाम्रो नैतिक आत्म–संयमलाई सुदृढ बनाउँछ। यदि हामीले विनाशात्मक (अकुशल) ढंगको व्यवहार गर्यौं भने कसरी अरूलाई सहयोग गर्न सकौंला र? उदाहरणका लागि, हामी सधैँ अरूका अगाडि फुर्ती लगाउने वा उनीहरूसँग धोकाधडी गर्ने गर्छौं कसैले हामीलाई पत्याउन सक्दैन। त्योबेला कसरी अरूलाई सहयोग गर्न सकिएला? हामी शिक्षक रहेछौं भने यस्तो कर्मको विपाकस्वरूप हाम्रा विद्यार्थीहरूले हामीलाई छाडेर हिँड्छन्। यदि त्यसो हो भने कसरी उनीहरूलाई सहयोग गर्न सकौंला र? हाम्रा विद्यार्थी हाम्रासाथ कहिल्यै रहने छैनन्। उनीहरू छोडेर जान्छन् जान्छन्। यसमा विचार गर्यौं भने हामीलाई अरूको निन्दा गर्न बन्द गर्ने, बरू उनीहरूको राम्रा गुणको तारिफ गर्नेजस्ता व्यवहार अपनाउन प्रबल प्रेरणा मिल्छ।
कुशल कर्मका साथ रहने दुई मानसिक तत्त्व
एक अन्तिम प्रसंग। महान भारतीय आचार्य वसुबन्धुले आफ्नो ग्रन्थ अभिधर्मकोशमा भन्नुभएको छ कि कुनै पनि कुशल कर्म गर्दा दुई मानसिक तत्त्व साथै आउँछन्। अर्का आचार्य असङ्गले आफ्नो ग्रन्थमा यी मानसिक तत्त्वहरूलाई बेग्लै ढंगले व्याख्या गर्नुभएको छ। तर हामीले वसुबन्धुको व्याख्या पनि जान्नुपर्छ। पहिलो तत्त्व हो – सद्गुणहरूप्रति श्रद्धा र जोसँग यस्ता गुण छन्, उनीहरूप्रति श्रद्धा। दोस्रो हो, निर्लज्ज ढंगका नकारात्मक कृत्य गर्नबाट बच्नु। यहाँ निर्लज्जको अर्थ पटक्कै वास्ता नगर्नु भन्ने हुन्छ। यस्तो निर्लज्जताको अवस्थामा हामीमा अलिकति पनि आत्म–संयम हुँदैन। हामी बेपरवाह हुन्छौं र त्यसैले नकारात्मक काम गर्नबाट आफूलाई बिल्कुलै रोक्दैनौं। हामीलाई जे मन लाग्यो त्यही गर्छौं।
तर कुशल कर्ममा हामी त्यसको विपरीत दृष्टिकोण राख्छौं – हामी सकारात्मक गुणहरूलाई सम्मान गर्छौं र तिनलाई पनि सम्मान गर्छौं जोसँग यस्ता सकारात्मक गुण छन्। त्यस्तै हामी आत्म–संयमको अभ्यास गर्छौं। निर्लज्ज ढंगका नकारात्मक कृत्यहरू कदापि गर्दैनौं। आफूले के भन्दैछु र के गर्दैछु भन्ने कुराको ख्याल राख्छौं। यतिबेला हामी सम्भवतः “यही असल व्यवहार हो” भन्ने कुराबाट प्रेरित हुन्छौं।
यसबाट दैनिक जीवनमा हामीले के कुरालाई जोड दिनुपर्छ र आफूलाई के कुराको स्मरण गराइराख्नुपर्छ भन्ने थाहा हुन्छ। हामीले धैर्य, दयालुपना, जस्ता असल गुणहरूप्रति उच्च सम्मानको भाव विकसित गर्नुपर्छ र जोसँग यस्ता गुण छन्, उनीहरूप्रति पनि उच्च सम्मान राख्नुपर्छ। उनीहरू हाम्रा लागि प्रेरणाका महान स्रोत हुन्। यसका अतिरिक्त आत्म–संयमलाई पनि पुष्ट बनाइराख्नुपर्छ र आफूले गर्ने कृत्य तथा बोल्ने वचनप्रति ख्याल राख्नुपर्छ। पूर्णतः विनाशकारी र घिनलाग्दा कामहरू गर्नुहुँदैन।
उपसंहार
हामीले कर्मका बारेमा निकै विस्तारमा चर्चा गर्यौं र यसलाई आफ्नो दैनिक जीवनमा कसरी उपयोगी बनाउने भन्ने पनि चर्चा गर्यौं। आउनुहोस्, केही क्षण अडिएर यी दुई कुरालाई राम्रोसँग आत्मसात गरौं। संक्षेपमा, कुशल कर्म गर्दा हाम्रो उद्देश्य केवल असल पुरुष वा महिला बन्ने मात्र हुनुहुँदैन। त्यो हाम्रा लागि आधार बन्न सक्दैन। बरु हामीले सद्गुणहरूप्रति र सद्गुणले युक्त मानिसहरूप्रति सम्मानको भावलाई आधार बनाएर कुशल कर्म गर्नुपर्छ। र, खुलेआम विनाशात्मक काम गर्न र आत्म–संयमबाट बिल्कुलै रहित हुनबाट आफूलाई बचाउनुपर्छ। यसैअनुरूप चल्नु र तदनुरूप व्यवहार गर्नु आवश्यक छ!