कर्मको परिचय

दैनिक जीवनको भाषामा चार आर्यसत्य

यहाँ जलापामा पुनः आउन पाउँदा मलाई धेरै खुसी लागेको छ। आजको साँझ मलाई कर्मको विषयमा बोल्न दिइएको छ। पक्कै पनि, बुद्धधर्म सम्बन्धी कुनै विषयको अध्ययन गर्नुअघि त्यो विषयको अध्ययन किन गर्न लागेका हौं, त्यो किन महत्त्वपूर्ण छ र बुद्धधर्मको सम्पूर्ण परिप्रेक्ष्यमा त्यसको उपादेयता के छ भन्ने जान्नु जरुरी हुन्छ। बुद्धले दिनुभएको शिक्षा मूलतः सबै मानिसले सामान्यतया गर्ने अनुभूतिका सम्बन्धमा थियो, अर्थात् हामी जीवनमा के अनुभव गर्छौं, जीवनमा के भैरहेको छ जस्ता विषयमा उहाँको शिक्षा केन्द्रित थियो। हामीमध्ये प्रत्येकले जीवनमा अनुभव गर्ने सबैभन्दा मूलभूत कुरा के होला? त्यो के हो भने कुनैबेला हामी बेखुसी हुन्छौं, कुनैबेला खुसी। हामी सबैको जीवन भोगाई त्यस्तै हुन्छ, होइन त?

यसरी कुनैबेला हुने बेखुसी र कुनैबेला हुने खुसीको अवस्थालाई विश्लेषण गर्यौं भने ती अवस्था अनेक समस्यासँग जोडिएको पाउनेछौं। बेखुसी भएको अवस्था दुःखसँग सम्बन्धित छ, यो त स्पष्टै छ। कोही पनि बेखुसी हुन चाहँदैन, होइन त? कुनै साथी हामीसँग विदा लिएर हिँड्दै गरेको देख्दा हामी बेखुसी हुन्छौं। कुनै अप्रिय कुरा वा अप्रिय ध्वनि सुन्दा बेखुसी हुन्छौं। त्यस्तै आफ्ना मनोभावसँग सम्बन्धित अनेक तर्कना मनमा चलेका कारण पनि हामी बेखुसी हुन्छौं। तर कहिलेकाहीँ हामी यसरी स्पष्ट देखिने कारणबिनै पनि बेखुसी हुन्छौं। त्यस्तो बेखुसीको भाव हामीले के देखिरहेका वा सुनिरहेका छौं, अथवा हाम्रो वरिपरिको परिस्थिति कस्तो छ, त्योसँग बिल्कुलै असम्बन्धित हुन सक्छ। यो चाहिँ फसादकै कुरा भयो, होइन त?

के खुसीको सन्दर्भमा पनि त्यस्तै हुन्छ? कहिलेकाहीँ हामी खुसी हुन्छौं, होइन त? कुनै कुरा देख्दा, सुन्दा, आफ्नो प्रिय व्यक्तिको बोली सुन्दा, कुनै व्यक्तिसँग बिताएका रमाइला पल या त्यस्तै अरू कुनै मनपर्ने कुरा सोच्दा हामीलाई खुसी लाग्छ। तर अलि गहिरोसँग हेर्ने हो भने यसरी हामीले गर्ने खुसीको अनुभवसँग पनि अनेक समस्या जोडिएको पाउनेछौं। प्रथमतः त्यो अवस्था कहिल्यै पनि टिकिरहँदैन। खुसी कतिञ्जेल टिक्छ, हामीलाई थाहा हुँदैन। फेरी यो कहिल्यै पर्याप्त हुँदैन। हामी कुनै खानेकुराको एक चम्चा मात्र खाँदा पनि खुसी हुन सक्छौं, तर त्यतिले कहिल्यै पनि पुग्दैन। हामीलाई त्यही खानेकुराको धेरैभन्दा धेरै मात्रा चाहिन्छ। यहाँ एक रमाइलो प्रश्न उठ्छ – कुनै कुरा कति मात्रामा खायो भने तपाईंलाई साँच्चिकै तृप्ति हुन्छ? यसबारे विचार गर्नुहोला। यसरी अनुभव हुने खुसीको अर्को पक्ष पनि छ, अथवा भनौं यसमा एक खोट छ। खुसी त भइयो, तर त्यसपछिको क्षणमा हामी के अनुभव गर्नेवाला छौं, त्यो थाहा हुँदैन। खुसीको अर्को क्षणमा हाम्रो खुसी कायम नै रहन सक्छ, वा बेखुसीले त्यसको ठाउँ लिन सक्छ। यो परिवर्तन हुन सक्छ, त्यसैले यस्तो खुसीमा कुनै सुरक्षाको अनुभूति हुँदैन। 

खुसी र बेखुसीसम्बन्धमा यसरी गरिने विश्लेषण पटक्कै नौलो होइन र यो बुद्धधर्ममा मात्र बताइने कुरा पनि होइन। विश्वका धेरै महान् विचारकहरूले यस्तो विश्लेषण गरिसकेका र यससम्बन्धी शिक्षा दिइसकेका छन्। बुद्धले बोध गर्नुभएको र उपदेश दिनुभएको शिक्षा चाहिँ हाम्रो वास्तविक समस्या अर्थात् दुःखको गहिरो प्रकारसँग सम्बन्धित छ। उहाँले प्रत्येक व्यक्तिको जीवनमा खुसी र बेखुसीको उतार–चढाव भैरहने यथार्थलाई धेरै गहिरोसँग अध्ययन गर्नुभयो। खुसी र बेखुसीको अवस्थामा उतार–चढाव आइरहन्छ, आइ नै रहन्छ। उहाँलाई ज्ञान भयो कि जे कारणले यसो हुन्छ, त्यो वास्तवमा जीवनको हरेक क्षणमा हामीले गर्ने अनुभवको अंगको रूपमा रहेको हुन्छ। अर्को शब्दमा, हामी हरेक चीजलाई खुसी र बेखुसीको उतार–चढावका साथ जसरी अनुभव गर्छौं, त्यो सबैमा असन्तुष्टिको भाव अन्तर्निहित रहेको हुन्छ। 

त्यो कुन कारण हो, जो प्रत्येक क्षण विद्यमान रहन्छ र हामीमा असन्तुष्टिको भावलाई निरन्तरता प्रदान गर्छ? बुद्धले यसको अन्वेषण गर्नुभयो र जान्नुभयो कि यथार्थबारेको भ्रम (मिथ्यादृष्टि) नै त्यो कारण हो। अर्को शब्दमा, हाम्रो अस्तित्वको आधार के हो, हाम्रो वरपरका प्रत्येक व्यक्तिको अस्तित्वको आधार के हो, संसारको अस्तित्वको आधार के हो भन्नेबारेको भ्रम नै त्यो कारण हो।

यो चाहिँ अन्य शिक्षकले बताउनेभन्दा बिल्कुल फरक कुरा हो। कसैकसैले भन्लान् – खुसी वा बेखुसीमा आउने उतार–चढावलाई मूलतः हामीले निश्चित नियमहरू पालना गरेका छौं कि छैनौं त्यो आधारमा हामीले पाउने पुरस्कार वा दण्डले निर्धारित गर्छ। त्यसैले धेरै शिक्षकहरूको भनाईमा हाम्रो खुसी वा बेखुसी मूलतः आज्ञापालनासँग सम्बन्धित छ। तर बुद्धले त्यसो भन्नुभएन। उहाँका अनुसार मूल कारण हाम्रो भ्रम या मिथ्यादृष्टि हो, कुनै आज्ञा पालन गर्यौं वा गरेनौं भन्ने होइन। यो भ्रम जीवनसँग सम्बन्धित छ। तर बुद्धले के पनि भन्नुभयो भने यो भ्रम हाम्रो जीवन र हाम्रा अनुभवहरूमा नभई नहुने, अभिन्न र अनिवार्य अंग होइन। यो नभए पनि काम चल्छ, यसलाई हटाउन सकिन्छ, यसलाई कहिल्यै नफर्किने गरी पूर्णरूपमा निर्मूल गर्न सकिन्छ। त्यसो गर्ने खास उपाय भनेको हामीले आफ्नो भोगाईको तरीका वा प्रतिक्रियालाई बदल्ने हो।

आफूभित्रको भ्रम हटाउनुको अर्थ यो होइन कि हामी अरू कसैलाई आऊ, यहाँ आएर यो हटाइदेऊ भनी आग्रह गरौं। बरु हामी आफैं आफ्ना दृष्टिकोण र यथार्थबारेको धारणालाई बदल्ने काम गर्छौं। हामी मिथ्यादृष्टिलाई सही बोधले प्रतिस्थापित गर्छौं र त्यो बोधलाई सधैं कायम राख्छौं। हामी खुसी र बेखुसीको निरन्तर उतार–चढावको क्रमलाई थप बल दिने छैनौं। तब खुसी र बेखुसीको यो निरन्तरको उतार–चढाव रोकिनेछ। बुद्धको आधारभूत शिक्षालाई सामान्य भाषामा यसैगरी बुझ्नुपर्ला। 

Top