विनाशकारी व्यवहार (अकुशल कर्म) को परिभाषा
नीति र आचारसम्बन्धी हरेक प्रणालीमा विनाशात्मक व्यवहारको आफ्नै परिभाषा हुन्छ। के स्वीकार्य छ र के छैन भन्ने आधारमा हरेक प्रणालीले यस्तो व्यवहारको आ–आफ्नै सूची बनाएका हुन्छन्। धार्मिक तथा नागरिक प्रणालीहरू कुनै दैवीसत्ता, राष्ट्राध्यक्ष, वा कुनै कानुन निर्माता अंगद्वारा निर्धारित व्यवस्था तथा विधानमा आधारित हुन्छन्। उक्त विधानको उल्लंघन गर्यौं भने हामी दोषी ठहरिन्छौं र सजायको भागी हुन्छौं। यदि विधानको पालना गर्यौं भने पुरस्कारस्वरूप या त स्वर्गमा या यसै संसारमा सुरक्षित र सद्भावपूर्ण जीवन पाउँछौं। मानवतावादी पद्धतिहरू अरुलाई हानि नगर्ने कुरामा जोड दिन्छन्। तर यसमा एउटा समस्या छ ः अरुका लागि कुन कुरा साँच्चिकै हानिकारक वा लाभदायक हुन्छ भनेर सधैं कसरी थाहा पाउने? उदाहरणका लागि कुनै मानिसलाई रिसाएर गाली गर्दा उसको भावनामा चोट पुग्न सक्छ, तर कहिलेकाहीँ त्यही कामले उसलाई कुनै खतराबाट बचाउन पनि सक्छ।
नीति र आचारको बौद्ध परम्परामा आत्म-विनाशकारी व्यवहारबाट बच्ने कुरामा जोड दिइएको छ, खास गरेर त्यस्तो व्यवहार जसले हामीलाई दीर्घकालीन रूपमा हानि गर्छ। यदि हामी सडकमा आफूलाई उछिनेर अगाडि जान लागेको गाडीको ड्राइभरमाथि रिसले खनिन्छौं भने त्यसले केही समयका लागि त हाम्रो चित्तलाई मत्थर पार्ला तर दीर्घकालीन रूपमा त्यस्तो व्यवहारबाट हामीलाई हानि हुन्छ। त्यस्तो व्यवहारले चित्त व्याकुल हुन्छ, उर्जाहरू विचलित हुन्छन् र हामी अशान्त हुन्छौं। अरुमाथि रिसले खनिने हाम्रो बानी बन्यो भने अलिकति मात्र असुविधा हुँदा पनि हामीलाई रिस उठ्छ र त्यसलाई सहन नसक्ने हुन्छौं। यसबाट अरुसँगको सम्बन्ध त बिग्रिन्छ नै, हाम्रो आफ्नै स्वास्थ्य पनि खराब हुन्छ।
यसका विपरीत यदि हाम्रो व्यवहार स्वाभाविक रूपले अरुप्रति स्नेह, प्रेम, करुणा र सुझबूझबाट प्रेरित छ भने हामी उक्त ड्राइभरप्रति ज्यादै रिस उठ्दा पनि चिच्याउँदैनौं, बरु शालीनतापूर्वक उसलाई अगाडि जान दिन्छौं। यसको परिणाम के हुन्छ भने उक्त ड्राइभर पनि खुशी हुन्छ र हामी आफैंलाई पनि फाइदा हुन्छ। यसबाट मूलतः एक सुखी मनोभावका साथ हाम्रो चित्तमा शान्ति र स्थिरता कायम रहन्छ। तर हामीले रिसलाई दबाएर उक्त ड्राइभरसँग बोल्नबाट आफूलाई रोक्यौं भने हामीमा कुन्ठा उत्पन्न हुन सक्छ। बरु हामी यस्तो कोणबाट सोच्छौं – सडकमा यात्रा गर्ने सबैलाई आफ्नो गन्तव्यसम्म पुग्ने हतारो छ। त्यसैले आफ्नो सडक यात्रालाई एक दौडको प्रतिस्पर्धा बनाउनु हुँदैन, यो व्यर्थ र निरर्थक कुरा हो।

बुद्धधर्मले विनाशकारी व्यवहारलाई विनाशकारी आवेग (क्लेश) र नकारात्मक प्रवृत्तिका आवेशको वशमा परी गरिने व्यवहारका रूपमा परिभाषित गरेको छ। हामी के कुरा हानिकारक छ र के लाभदायक भन्ने कुरा ठीक ढंगले छुट्याउन सक्दैनौं। यसका दुई कारण छन् – या त सबैभन्दा उपयुक्त के हुन्छ हामीलाई थाहा छैन, या थाहा भएपनि आत्मनियन्त्रण नहुनाले हामी त्यसअनुसार काम गर्न सक्दैनौं। लोभ र रिस सबैभन्दा ठूला विनाशकारी आवेग हुन्। यसका अलावा यी आवेगहरूको प्रभावमा परी गरिने काम, बोलिने वचन, र सोचिने सोचको परिणाम के हुन्छ, त्यसप्रतिको अनभिज्ञता पनि एक प्रमुख कारण हुन्छ। त्यसमाथि, आफ्नो मूल्य आफैंलाई थाहा नहुनुका कारण पनि हामी लापरवाहीपूर्वक व्यवहार गर्छौं। हामीले लगाउने कपडा कस्तो छ, कपाल कस्तो देखिएको छ, हाम्रा साथीहरू को को कस्ता कस्ता छन्, आदि केही सतही कुराहरू बाहेक महत्त्वपूर्ण कुराहरूमा चाहिँ “जेसुकै होस्” भन्ने खालको रवैया अपनाउँछौं। हामी यो कुराको पनि परवाह गर्दैनौं कि हाम्रो व्यवहारले हाम्रो पूरै पुस्ता, हाम्रो लैंगिक समूह, जाति, राष्ट्रियता वा आफ्नो समुदायमा त्यसको के प्रभाव पर्छ। हामी आत्मप्रतिष्ठा र आत्मसम्मानको भाव नभएका कारण यसो गर्छौं।