शील पारमिता

शील अर्थात् अनुशासन। अनुशासन शब्द सुन्नेबित्तिकै कसैलाई विद्यालय समय सकिइसकेपछि पनि घर जान नपाएको सजाय याद आउला, कसैलाई खानेकुरामा पथपरहेज गर्नुपर्ने कुरा स्मरणमा आउला। बुद्धधर्मको शील (नैतिक आत्म–अनुशासन)ले हामीलाई आफ्नो व्यवहारबाट स्वयं र अरूमा पर्ने प्रभावबारे सचेत रहन सहयोग गर्छ। नैतिक आत्म–अनुशासनको पालनाले हामी कुनै किसिमको बन्देजमा पर्दैनौं, अपितु आफ्नो र अरूको सर्वोत्तम हित गर्नसक्ने स्वतन्त्रता प्राप्त गर्छौं।

परिचय

षट्पारमिता अर्थात् ६ दूरगामी मनोवृत्तिहरूमध्ये दोस्रो हो, नैतिक आत्म-अनुशासन। यो कुनै सांगीतिक वाद्यवादन सिक्न वा कुनै खेलमा अब्बल हुन चाहिने अनुशासन होइन, अपितु नैतिक व्यवहार गर्नका लागि आवश्यक पर्ने अनुशासन हो। यसको सरोकार अरूलाई तह लगाएर राख्नु, आफ्नो कुकुरलाई तालिम दिनु, वा सेनालाई नियन्त्रित राख्नु आदिसँग छैन। यो त हामी आफू नै अनुशासनमा बस्नुसँग सम्बन्धित छ। यसका तीन प्रकार छन् : 

विनाशकारी व्यवहारबाट बच्नु (संवरशील)

पहिलो प्रकारको नैतिक आत्म–अनुशासनमा विनाशकारी व्यवहार (अकुशल कर्म) बाट बच्ने काम गरिन्छ। यो हाम्रो शारीरिक कृत्य, बोली, र सोचाइको तरिकासँग सम्बन्धित छ। यसको सामान्य अर्थ दश अकुशल कर्मबाट बच्नु हो, जसमा प्राणीहिंसा गर्ने, चोर्ने, झुठ बोल्ने जस्ता कार्यहरू आउँछन्। यदि आफ्नो धर्म अभ्यासको प्रगतिमा बाधक कृत्यहरू नगर्ने संवर ग्रहण गरिएको रहेछ भने ती संवरहरूलाई हामी पालन गर्छौं।

विनाशकारी व्यवहारबाट बच्ने चर्चा गर्दा के बुझ्नुपर्छ भने, यस्ता व्यवहार दुइखाले छन्। पहिलो – स्वाभाविक रूपमै विनाशकारी, जस्तै हिंसा र चोरी। यस्तो व्यवहार त सजिलै बुझिन्छ। दोस्रो – ती व्यवहारहरू जो आफैंमा विनाशकारी त हुँदैनन्, तर जसलाई बुद्धले निश्चित मानिसले वा कुनै खास समयमा गर्न उचित नहुने बताउनुभएको छ। उदाहरणका लागि भिक्षु र भिक्षुणीहरूका लागि राति खान वर्जित गरिएको छ, तर यो सबैका लागि लागू हुँदैन। यो नियम किन राखियो भने रातभरी र बिहान उठ्दा पनि आफ्नो चित्त निर्मल राख्न र ध्यान अभ्यास सहज बनाउन रातको समयमा नखानु नै उपयोगी हुन्छ। अर्को उदाहरण लिऊँ, भिक्षु भिक्षुणीलाई लामो कपाल नराख्ने सुझाव दिइन्छ, किनभने त्यसरी लामो कपाल राख्दा आफ्नो सौन्दर्यप्रति आसक्ति बढ्न सक्छ। फेरी हरेक दिन कपाल स्याहारिराख्नु पर्ने हुन्छ, जुन समयको बर्बादी मात्र हो! पक्कै पनि, यो सुझाव सबैका लागि होइन, केवल भिक्षु र भिक्षुणीहरूका लागि मात्र हो।

सकारात्मक व्यवहार गर्नु (कुशलधर्मसंग्राहक शील)

नैतिक आत्म–अनुशासनको दोस्रो प्रकारमा सकारात्मक र सिर्जनशील व्यवहार (कुशल कर्म) पर्छ जसले हामीमा त्यस्तो सकारात्मक बल (कुशल धर्म) को सिर्जना गर्छ जुन बोधिप्राप्तिका लागि आवश्यक हुन्छ। यसअन्तर्गत उपदेश सुन्ने, अध्ययन गर्ने, धर्मको चिन्तन र भावना गर्ने, ढोग, मण्डलअर्पण लगायतका ङोन्ड्रो अभ्यास (तन्त्रसाधनाका लागि पूर्वागत अभ्यास) पूरा गर्ने, आदिका लागि अपनाइने अनुशासन पर्छ। 

नैतिक आत्म–अनुशासनको खास तात्पर्य साँच्चिकै व्यवहारमा उतारिने कृत्यभन्दा चित्तको अवस्थासँग बढी हुन्छ। यो अनुशासन चित्तबाट आउँछ र हामीले गर्ने हरेक कृत्यलाई यसले आकार प्रदान गर्छ। हामी सकारात्मक व्यवहार गर्छौं र विनाशात्मक वा अनुपयुक्त व्यवहार गर्दैनौं भन्ने सुनिश्चितता यो अनुशासनले प्रदान गर्छ। यस्तो अनुशासन भएन भने हामी नियन्त्रणहीन बन्न पुग्छौं र सजिलैसँग विनाशकारी आवेगको वशीभूत बन्छौं।

नैतिक आत्म–अनुशासन विवेक र प्रज्ञामा आधारित हुन्छ। अकुशल कर्म गर्नबाट बच्न हामी त्यस्तो कर्मको हानिका बारेमा विवेकपूर्ण चिन्तन गर्छौं र त्यसबारे निश्चित हुन्छौं। कुशल कर्म गर्ने क्रममा हामी ध्यान, पूर्वागत अभ्यास, आदिका लाभको बारेमा विवेकपूर्ण चिन्तन गर्छौं। यसरी विवेकको प्रयोग गर्नाले हामी कस्तो कर्म गर्नुपर्छ, स्वतः जान्दछौं र त्यसबारे निश्चित हुन्छौं। 

परोपकार (सत्वार्थ क्रियाशील)

नैतिक आत्म–अनुशासनको तेस्रो प्रकारमा अरूलाई साँच्चिकै हित गर्ने र सहयोग पुग्ने काम गरिन्छ। अरूको कल्याण हुने जानेर सहयोग गर्ने, या उनीहरू मन नपरेका कारण वा आफूलाई इच्छा नभएका कारण सहयोग नगर्ने – यी दुईबीचको भेद जानेर हामी व्यवहार गर्छौं। 

अरूलाई सहयोग गर्ने सन्दर्भमा विभिन्न पक्षहरू हुन सक्छन्। सामान्तया हामी “आफ्नो सकारात्मक प्रभावक्षेत्रमा अरूलाई समेट्ने चार तरिका” को सन्दर्भमा आत्म–अनुशासनको अभ्यास गर्छौं। अर्को शब्दमा, हामी त्यस्तो प्रकारले कार्य गर्छौं जसले अरूलाई हाम्रो कुराप्रति ग्रहणशील हुन सहयोग गरोस् ताकि हामी अझ गहिरो र गूढ विषयहरूको ज्ञान उनीहरूसँग बाँड्न सकौं। 

ती चार तरिका हुन्ः 

१. दानशील हुनु

२. अरूलाई मनपर्ने ढंगले बोल्नु

३. अरूलाई उनीहरूको लक्ष्यसम्म पुग्न प्रेरित गर्नु

४. लक्ष्यमा स्थिर रहनु।

पारमिताको अभ्याससम्बन्धी शिक्षामा ११ प्रकारका मानिसहरूको सूची दिइन्छ जसको कल्याण र सहयोगका लागि हामीले विशेष मेहनतका साथ प्रयत्न गर्नुपर्छ। तर यो एक सूची मात्र नभई विशिष्ट निर्देशन नै हो, जसको पालना गर्दै हामी यस्ता मानिसको सम्पर्कमा आउँदा उनीहरूलाई साँच्चिकै सहयोग गर्छौं, बेवास्ता गर्दैनौं। ती ११ प्रकारका मानिस हुन्ः  

१. जो पीडामा छ 

२. जो आफ्नो कल्याण कसरी हुन्छ भन्ने कुराप्रति अन्यौलमा छ

३. जसले हामीलाई सहयोग गरेको छ

४. जो भयभीत छ

५. जो मानसिक पीडाले ग्रसित छ

६. जो निर्धन र अभावग्रस्त छ

७. जो हामीप्रति आसक्त छ

८. जसको इच्छा मुताबिक सहयोग गर्न हामी सक्षम छौं

९. जसले उचित ढंगको जीवनयापन गरिरहेको छ

१०. जसले विनाशकारी जीवन बाँचिरहेको छ

११. जसका लागि हामीसँग भएको विशिष्ट क्षमताको उपयोग गर्नु आवश्यक हुन्छ।

नैतिक आत्म–अनुशासनमा शान्तिदेवको शिक्षा

नैतिक आत्म–अनुशासनको चर्चा शान्तिदेवले आफ्नो ग्रन्थ बोधिचर्यावतारका दुई अध्यायहरूमा गर्नुभएको छ। त्यसमध्ये पहिलो हो “बोधिचित्त अप्रमाद” जसले नैतिक आत्म–अनुशासनको आधार प्रस्तुत गर्छ। यो अभ्यासमा हामी आफ्नो व्यवहारले अरूमाथि पुर्याउने असरप्रति सचेत हुन्छौं, र विनाशकारी आवेग (क्लेश) को वशीभूत हुनबाट बच्ने कुराप्रति सजग हुन्छौं। अरू मानिसका पनि भावना हुन्छन्, हामीले नकारात्मक ढंगले काम गर्यौं भने उनीहरूलाई चोट पुग्छ भन्ने कुराको ख्याल राख्छौं। हाम्रो आफ्नै कार्यको परिणाम भविष्यमा स्वयंले भोग्नुपर्ने कुराको पनि ख्याल राख्छौं। यो सबैले नैतिक आत्म–संयमको आधार दिन्छ। किनकि, यदि आफ्नो कार्यले अरूलाई पुर्याउने चोट वा स्वयं आफूले भोग्नुपर्ने परिणामबारे हामीले वास्ता नगर्ने हो भने त नैतिक तवरले कार्य गर्ने आवश्यकता नै महसुस हुँदैन। 

कतिपय भाषामा यो शब्द “बोधिचित्त अप्रमाद” लाई अनुवाद गर्न कठिन छ। यसमा सचेतना अपनाउनुपर्ने र आफूले गर्ने व्यवहारको ख्याल राख्नुपर्ने कुरा त पर्छ नै, साथै त्यसको परिणाम के हुन्छ, त्यस्तो व्यवहारको आफू र अरूमाथि के असर पर्छ आदि कुराप्रति गम्भीर भइन्छ। 

अर्को अध्यायमा शान्तिदेवले स्मृति र सम्प्रजन्यको कुरा गर्नुभएको छ। स्मृति चित्तको त्यो अवस्था हो जसले अनुशासनमा एक मानसिक पकड बनाएर राख्छ र क्लेशहरूका अगाडि नतमस्तक हुनबाट रोक्छ। यो एक मानसिक गमजस्तै हो जसले अनुशासनमा टाँसेर राख्छ। यसलाई यसरी बुझौं – हामी डाइटिङ् गर्दैछौं, र कुनै बेकरी पसलको अगाडिबाट हिँड्दै गर्दा आफूलाई मनपर्ने केक देख्यौं। त्योबेला केही गरी आफूलाई रोक्छौं, आफ्नो डाइटिङ्लाई त्याग्दैनौं र भन्छौं, “लोभ र आसक्तिका वशमा परी म त्यो केक किन्दिनँ।” यो स्मृति हो। नैतिक आत्म–अनुशासनका लागि यो अपरिहार्य छ। डाइटिङ्को  अनुशासनबाट विमुख हुन लाग्यौं र “एक टुक्रा केक मात्र त हो नि” भन्ने सोच आयो भने सम्प्रजन्यको मद्दतले तत्काल सजग हुन्छौं – मानिलिऊँ हामीभित्र कुनै अलार्म बज्छ जसबाट हामी आफूलाई सम्हाल्छौं र आत्म–संयम कायम राख्छौं। यी कुराहरूप्रति हामी सतर्क रहनुपर्छ। स्मृति र सम्प्रजन्य दुवै नैतिक आत्म–अनुशासनका लागि आधारहरू हुन्। यी त्यस्ता औजार हुन् जसबाट हामी आफ्नो अनुशासनलाई बचाउन सक्छौं र पछि समाधिको विकासमा उपयोग गर्न सक्छौं।  

अन्तमा, शान्तिदेवले स्मृतिको विकासमा सहयोगी तीन तत्त्वहरूबारे बताउनुभएको छः 

  • आफ्ना गुरुजनको सान्निध्यमा बस्नुहोस्। बस्न पाएनुभएन भने पनि उहाँहरूको सान्निध्यमा भएको कल्पना गर्न सक्नुहुनेछ। उहाँहरूको सान्निध्यमा भएको भए हामी आदरपूर्वक व्यवहार गर्ने थियौं। मूर्खतापूर्ण वा विनाशकारी ढंगले काम गर्ने थिएनौं। त्यसैले यसरी सोच्नाले आफ्नो स्मृतिलाई कायम राख्न सहयोग पुग्छ – “के म आफ्नो गुरुका साथमा भएको भए यही ढंगले व्यवहार गर्थें वा यस्तै कुरा बोल्थें होला?” यदि त्यसो गर्दैनथ्यौं भने शान्तिदेवको सल्लाहमुताविक “काठको टुक्राजस्तो” बनेर आफूलाई रोक्न सक्छौं। त्यस्तो काम नै नगरौं। यस्तो उपायले हामीलाई सजग रहन सहयोग गर्छ – पक्कै पनि आफ्ना गुरुसँग रात्रिभोजन गरिरहेका बेला हामी मुखभरी केक दल्ने वा कसैलाई रिसले चिच्याउने जस्तो काम गर्दैनौं।
  • आफ्नो गुरुको सल्लाह र निर्देशन मान्नुहोस्। उहाँले भन्नुभएको कुरा संझिराख्नाले आफ्नो स्मृतिलाई कायम राख्न सहयोग पुग्छ। 
  • होशपूर्ण नहुँदाको परिणामका बारेमा आतेस मान्नुहोस्। हामीले भयभीत नै हुनु त पर्दैन, तर स्मृति नराख्दाको परिणाम सोचेर आतेस मान्नु चाहिँ पर्छ। किनकि हामीलाई आफ्नो आत्म–सम्मान र आत्म–गरिमा प्यारो छ। हामी आफ्नाबारे सकारात्मक दृष्टिकोण राख्छौं र रिस, लोभ आदिको वशमा परेर पतनको बाटोमा हिँड्दैनौं। 

यसबाहेक हामीले आफ्ना आध्यात्मिक गुरुहरूको सम्बन्धमा एक किसिमले डरको भाव उत्पन्न गर्नुपर्छ। हुनत यहाँ “डर” शब्दलाई बुझ्न अलि कठिन होला। यसको अर्थ गुरुहरूले हामीलाई गाली गर्लान् कि भनेर त्रसित हुने होइन। यसको अर्थ के हो भने हामी आफ्ना गुरुहरू र बुद्धधर्मलाई औधी सम्मान गर्छौं र आफूले गर्ने कुनै पनि नकारात्मक व्यवहारले उनीहरूको प्रतिष्ठामा आँच आउने कुरा सोचेरै डराउँछौं। “ओहो, त्यस्तो गुरुको चेलाले यस्तो काम गर्ने?” अथवा “हेर, तिमी त आफूलाई बौद्धमार्गी भन्छौ! फेरी यसरी रक्सी खाएर टुन्न हुने र रिसाउने काम गर्छौ!” भनेर मानिसले औंला ठड्याउन सक्लान्, यो सोचेरै हामी डराउँछौं। यस्तो डर र आदरको भावका साथ हामी आफ्नो स्मृतिलाई कायम राख्छौं र नैतिक अनुशासन पालना गर्छौं।

सारांश

जीवनमा प्रगतिका लागि अनुशासन एक अति महत्त्वपूर्ण तत्त्व हो, यो हामी सबैले अनुभव गरेकै कुरा हो। भाषाको वर्णमाला सिक्न होस् या परीक्षाको तयारी गर्न अथवा शरीरको तौल घटाउन – अनुशासन भएन भने कुनै पनि लक्ष्य हासिल गर्न कठिन हुन्छ। 

बौद्ध साधनामा पनि यही कुरा लागू हुन्छ। साधनाक्रममा अगाडि बढ्न हामीले आफ्नो व्यवहारमा अनुशासन अपनाउनै पर्ने हुन्छ। यदि आफ्नो र अरूको हित चाहन्छौं भने हामीले बुझ्नेछौं कि नैतिक आत्म–अनुशासन कुनै असाध्य कल्पना मात्र होइन, अपितु स्वाभाविक र सामान्य सुझबुझको कुरा हो। आफ्नो व्यवहारलाई सावधानीपूर्वक सिर्जनात्मक बनाउने तथा सकेसम्म अरूलाई हानि नगर्ने प्रयत्नमार्फत हामी आफ्नो वर्तमान र भविष्य दुबैलाई सुखद बनाउने हेतु र प्रत्ययहरूको निर्माण गर्न सक्छौं। 

Top