परिचय
६ दूरगामी मनोवृत्तिहरू (षट्पारमिता) मध्ये चौथो हो, वीर्य पारमिता अर्थात् उत्साहको पारमिता। यो चित्तको त्यस्तो अवस्था हो जुन सकारात्मक कृत्यमा उत्साहपूर्वक लाग्छ र त्यसतर्फको प्रयत्नलाई कायम राख्छ। तर यो केही सकारात्मक कृत्यमा मात्र सीमित हुँदैन, यसमा लक्ष्यबाट विचलित नहुने नायकोचित साहस र सिर्जनात्मक कार्य गर्ने उमंग रहन्छ।
यो केवल कठोर परिश्रम गर्ने रवैया मात्र होइन जसमा कर्तव्य–बोध, अपराध–बोध, बाध्यता वा त्यस्तै केहीले थिचेको हुनाले हामी आफूलाई मन नपर्ने काम पनि जसोतसो गर्छौं। वीर्य पारमिताको अभ्यास भनेको कामको व्यसनी (वर्काहोलिक) जस्तो हरेक दिन यान्त्रिक तवरले कुनै काममा लिप्त हुनु पनि होइन। यो “अल्पकालीन जोश” मात्र होइन, जहाँ हामी ज्यादै उल्लासपूर्वक कुनै काम सुरु त गर्छौं, त्यसमा निकै उर्जा पनि लगाउँछौं, तर एक हप्तापछि नै थाकेर छाडिदिन्छौं। त्यसका विपरीत हाम्रो तात्पर्य दीगो प्रयत्न र उत्साहसँग छ, त्यसैले यसलाई उत्साहको पारमिता भनिएको हो। यो दीगो हुन्छ, किनभने हामी आफू संलग्न हरेक सकारात्मक कार्यलाई क्रियान्वित गर्न रमाउँछौं। नायकोचित उत्साहसहितको वीर्य पारमिताको अभ्यास अल्छीपना र काम टार्ने प्रवृत्तिलाई काट्ने सर्वोत्तम उपाय हो।
कवच–समान वीर्य (सन्नाह वीर्य)
वीर्य पारमिताका तीन प्रकार छन्, पहिलो हो : कवच–समान वीर्य पारमिता। यो प्रयत्न गरिरहने तत्परता हो। जतिसुकै समय लागोस् वा जतिसुकै कठिन होस्, हामी प्रयत्न छाड्दैनौं। जेसुकै होस्, हामी अल्छी र हतास हुनेवाला छैनौं। यदि हामीले यो जान्यौं कि धर्मको मार्ग ज्यादै, ज्यादै लामो छ, र यदि हामी अरूको हितका लागि नर्कको यात्रा गर्न समेत तैयार छौं भने बीचमा आउने सानातिना समस्याहरूले हामीलाई अल्छी वा हतास बनाउन सक्ने कुरै आउँदैन। हामीमा यस्तो दृढ कवचसमान अठोट हुनेछ – “जे होस्, जेसुकै होस्, म विचलित हुनेवाला छैन।” यस्तो नायकोचित साहसले हामीलाई हरेक बाधाबाट बचाउँछ, किनकि हामीले यो अठोट लिइसक्यौं कि चाहे जतिसुकै कठिनाइ आवोस्, वा जतिसुकै समय लागोस्, म यो काम फत्ते गरेरै छाड्नेछु।
वास्तवमा हामी बोधि प्राप्तिका लागि जति लामो समय कुर्न तैयार हुन्छौं, त्यति नै चाँडो बोधिलाभ हुन सक्छ। तर यदि तत्कालै र सजिलै बोधिलाभ भैहालोस् भन्ने चाहन्छौं भने चिरकालसम्म कुर्नुपर्ने हुन सक्छ। ग्रन्थहरूमा लेखिएको र गुरुहरूले दिनुहुने शिक्षामा के भनिएको छ भने हामी तत्काल र सजिलै बोधिलाभ गर्न चाहन्छौं भने त्यो मूलतः हाम्रो स्वार्थीपना र आलस्यको संकेत हो। हामीलाई आफ्नो लागि नतिजा चाहिन्छ, तर अरूलाई सहयोग गर्न अलिकति पनि समय दिन मन लाग्दैन। हामीलाई केवल बोधिको मिठो फल मात्र चाहिएको छ। वास्तवमा हामी अल्छी छौं! हामी चाहिने जति परिश्रम गर्न खोज्दैनौं। मानिलिऊँ बोधि बिक्रीमा होस् र हामी त्यसलाई सकेसम्म सस्तोमा किन्न सकौं। तर यसप्रकारको 'बार्गेनिङ' ले यहाँ काम गर्दैन।
“म तीन असंख्य कल्पसम्म अभ्यास गरेर भएपनि अरूको हित गर्नसक्ने सकारात्मक बल सञ्चय गर्नेछु” – यस्तो करुणापूर्ण दृष्टिकोण भयो भने, यस्तो नायकोचित उत्साह भयो भने यसको असीम कुशलमूलका कारण बोधिलाभ चाँडै हुनसक्छ।
कुशलमूलको सञ्चयमा वीर्यको उपयोग
वीर्य पारमिताको दोस्रो प्रकार हो – बोधिलाभका लागि आवश्यक सकारात्मक बल (कुशलमूल) सञ्चय गर्नका लागि सकारात्मक र सिर्जनात्मक कृत्यमा संलग्न हुने प्रबल प्रयत्न। यसको अर्थ हामी ढोग लगायतका पूर्वागत अभ्यास गर्न अल्छी मान्दैनौं। अध्ययन, सिकाइ, र ध्यानको अभ्यासमा आलस्य आउन दिँदैनौं। यी सबै कृत्य हामीले अवश्य नै गर्नुपर्छ, त्यसलाई हामी हर्षपूर्वक गर्छौं।
सीमित क्षमतायुक्त सत्त्वहरूको हितका लागि क्रियाशील हुनु
वीर्य पारमिताको तेस्रो प्रकारमा सत्त्वहरूको हितका लागि क्रियाशील हुने प्रबल प्रयत्न पर्छ। यसको तात्पर्य चार उपायले अरूलाई आफ्नो सकारात्मक प्रभावक्षेत्रमा समेट्नु र ११ प्रकारका मानिसहरूलाई सहयोग गर्नुसँग छ। यी ११ प्रकारका मानिसको हित गर्ने कुरा शीलपारमिताको चर्चामा पनि समेटिएको छ। हुनत यी दुई चर्चामा केही भिन्नता छन्। वीर्य पारमिताको यो प्रकारको मूल अभिप्राय यी विभिन्न खालका मानिसलाई विभिन्न खाले उचित तरिका अपनाउँदै सक्रियतापूर्वक सहयोग गर्नु हो। र यो सबै काम हामी हर्षित मनले गर्छौं, अरूलाई साँच्चिकै सहयोग गर्न पाउँदा हामी साँच्चिकै खुसी हुन्छौं। त्यसका अतिरिक्त वीर्य पारमिताको अभ्यासमार्फत हामी जेसुकै कठिनाइ भएपनि त्यसको सामना गर्ने प्रयत्न गर्छौं, र शील पारमिताको अभ्यासमार्फत अरूलाई सहयोग गर्ने प्रयासमा आउने क्लेशका अवरोधहरूलाई पन्छाउने काम गर्छौं। यसरी हामी देख्छौं, पारमिताहरू एकले अर्काको परिपूरकको काम गर्छन्।
अल्छीपनाका तीन प्रकार
वीर्यमा बाधा पुर्याउने अल्छीपना (कौसीद्य) हो, जसका तीन प्रकार छन्। वीर्य पारमिताको अभ्यास र विकासका लागि हामीले ती अल्छीपनालाई हटाउनुपर्छ।
१. काम टार्ने प्रवृत्ति र सामान्य आलस्य
यो प्रकारको अल्छीपन हामी सबैले प्रत्यक्ष अनुभव गरेका हुन्छौं। हामी जहिले पनि कामलाई भोलि गरौंला भन्दै पन्छाउन चाहन्छौं। यसबाट मुक्त हुने उपाय भनेको मृत्यु र अनित्यताको चिन्तन गर्ने, त्यसमा ध्यान गर्ने हो। हामी निश्चय नै मर्छौं, र मृत्यु कतिबेला आउँछ हामीलाई बिल्कुलै थाहा छैन। हामीलाई कैयौं विशिष्ट काम गर्नका अवसर दिने यो अमूल्य मानव जीवन फेरी पाउन गाह्रो छ।
मलाई मनपर्ने एक जेन उक्ति (कोअन) छ – “मृत्यु जुन बेला पनि घटित हुन सक्छ। त्यसैले निश्चिन्त होऊ।” यो उक्तिलाई स्मरण गर्नु निकै राम्रो हुनेछ। हो, मृत्यु कुनै बेला पनि घटित हुन सक्छ। तर यही कुरालाई लिएर हामी अति चिन्तित वा तनावग्रस्त भयौं भने हामी केही पनि गर्न सक्दैनौं। “मैले हरेकथोक आजै गरिसक्नुपर्छ!” – यस्तो भावना हामीमा आउन सक्छ। यो पागलपनले केही फाइदा हुनेवाला छैन। यो सत्य हो कि हामी मर्नै पर्छ र त्यो क्षण कुनै बेला पनि आउन सक्छ। तर हामी जीवनको सही उपयोग गर्न चाहन्छौं भने यो कुरालाई लिएर निश्चिन्त पनि हुन सक्नुपर्छ। मृत्युको तीव्र भय भैराख्यो भने हामीलाई कुनै काम गर्न समय पुग्दैन भन्ने तनाव सधैँ भैरहन्छ।
२. तुच्छ कुराहरूमा आसक्त हुनु
अल्छीपनाको दोस्रो प्रकारमा तुच्छ कुराहरूमा अल्झेर बसिरहनु पर्छ। यो हामी सबैले अनुभव गरिरहेको कुरा हो। टेलिभिजन हेरेर, साथीहरूसँग व्यर्थको गफ हाँकेर, खेलकुदको गफ गरेर, आदि कैयौं काममा हामी आफ्नो धेरै समय बर्वाद गरिरहेका हुन्छौं। समय खेर फाल्ने भएकाले यी कुराहरूमा लाग्नु अल्छीपनाकै एक प्रकार हो। सीधा रूपमा भन्नुपर्दा – ध्यान गर्नुभन्दा टेलिभिजन अगाडि बसिरहनु ज्यादै सजिलो हुन्छ, होइन त? हामी आफ्नो अल्छीपनाका कारण यस्ता मामुली र तुच्छ कुराहरूमा अल्झेर बसिरहन्छौं। ज्यादै महत्त्वपूर्ण भएपनि अलिकति कठिन रहेछ भने त्यो काम गर्नै चाहँदैनौं।
तर यसको अर्थ यो होइन कि हामीले कहिल्यै केही क्षण विश्राम लिएर मनोरञ्जन वा आरामको काम गर्नुहुँदैन। कहिलेकाहीँ त्यसरी विश्राम लिनु आवश्यक हुन्छ, यसले हामीलाई तरोताजा बनाउन मद्दत गर्छ। कुरा के मात्रै हो भने हामीले अल्छीपनाका कारण यी सब कुरामा अति आसक्त हुने र त्यसैमा टाँसिइरहने गर्नुहुँदैन। हामी बेलाबेलामा 'ब्रेक' लिन सक्छौं, केही बेर टहलिन निस्किन सक्छौं, टेलिभिजनमा कुनै कार्यक्रम हेर्न सक्छौं – तर त्यसैमा मात्र अल्झिइरहन भएन। अब विश्राम गर्न पुग्यो भन्ने थाहा पाएर आफूले गर्दै गरेको सकारात्मक काममा पुनः फिर्ता हुनुपर्छ।
तुच्छ कुराहरूप्रतिको आसक्तिबाट मुक्त हुने सर्वोत्तम उपाय भनेको यस्ता केही मामुली उपलब्धि वा क्रियाकलापबाट प्राप्त हुने सन्तुष्टी वा सुखले हामीलाई कहिल्यै दीगो खुसी प्रदान गर्न सक्दैन भन्ने जान्नु हो। हामी जतिसुकै धेरै चलचित्र किन नहेरौं, चर्चित मानिसका बारेमा जतिसुकै कुरा किन नगरौं, वा जतिसुकै नयाँनयाँ ठाउँमा घुम्न किन नजाऔं – ती सबैबाट प्राप्त हुने सुखले एक रत्ती पनि दीर्घकालीन खुसी प्रदान गर्न सक्दैन। दीर्घकालीन खुसी प्रदान गर्ने एकमात्र उपाय भनेको खुसीको बाटोमा लैजाने धर्मअभ्यासमा आफूलाई प्रशिक्षित गर्ने हो। फुटबललाई जालीभित्र हान्ने काममा पोख्त हुन हामी आफ्नो जीवन नै किन नबिताऊँ, त्यसले हाम्रो पुनर्जन्मलाई उन्नत बनाउन सक्दैन।
यो चर्चाको मूल तात्पर्य भनेको आसक्त नहुनु हो। हामी केही बेर आरामको लागि कुनै काम गर्न सक्छौं, त्यो ठीकै छ। तर त्यसैमा पूर्णरूपमा अल्झेर आफ्नो सबै प्रयत्न त्यसैमा लगाइराख्नु र त्योभन्दा ज्यादा हितकारी काममा समय दिन अल्छी गर्नु भनेको चाहिँ बिल्कुलै वाहियात काम हो। यस्तो प्रकारको अल्छीपनाले हितकारी काममा हर्षपूर्वक संलग्न हुन दिँदैन, त्यसमा साँच्चिकै बाधा खडा गर्छ।
३. आफ्नो क्षमताको अवमूल्यन
अल्छीपनाको तेस्रो प्रकार हो – आफूलाई क्षमताहीन ठान्ने गलत दृष्टिकोण। यो मेरो वशको कुरा होइन, मेरो लागि अति कठिन छ, म गर्न सक्दिन – यस्तो धारणाले गर्दा हामी हिम्मत हार्छौं। यस्तो विचार हामीलाई आइरहन्छ –“म त यो काम गर्ने प्रयत्नै गर्दिन। मजस्तो मानिसले यो काम गर्न कहाँ सक्ला र?” तर कुरा के हो भने बोधिलाभको लक्ष्य जति कठिन जस्तो लागे पनि त्यसको प्रयत्नै नगर्नु चाहिँ अल्छीपना हो।
यसबाट पार पाउनका लागि हामीले आफ्नो तथागतगर्भको गुण स्मरण गर्नुपर्छ। हामी हरेकसँग त्यस्तो अद्भूत गुण र सम्भाव्यता छ, जुन हामी उजागर गर्न सक्छौं। चुईंङगम वा त्यस्तै अनेक थोक बेचेर अलिकति नाफा कमाउन मानिसहरू बिहानदेखि रातीसम्म खट्न सक्छन् भने त्योभन्दा धेरै सार्थक कुरा हासिल गर्न हामी पक्कै पनि समय दिन सक्छौं। जाबो ९० मिनेट चल्ने कन्सर्टको टिकट किन्न हामी घन्टौं लाम लाग्न सक्छौं भने दीर्घकालसम्म लाभ दिने बोधि प्राप्तिको लक्ष्यका लागि केही सकारात्मक काम गर्न सक्दिन भनेर हामीले सोच्न पनि हुँदैन।
वीर्य पारमिता विकासका चार सहयोगी
शान्तिदेवले वीर्य पारमिताको विकास गर्न सघाउने चार सहयोगीहरूबारे बताउनुभएको छ।
१. दृढ विश्वास
पहिलो, धर्मका कुशल पक्षहरूप्रति दृढ विश्वास भयो र यसले हाम्रो हित गर्छ भन्ने ज्ञान भयो भने हामी आफूले सिकेका कुरालाई व्यवहारमा उतार्न दृढप्रतिज्ञ हुन्छौं।
२. अटलता र आत्म–गौरव
दोस्रो, आफूप्रतिको विश्वास र आफ्नै तथागतगर्भको गुण स्मरणको बलबाट आउने अटलता र स्थिरता आवश्यक हुन्छ। तथागतगर्भ, जुन हामी सबैमा रहेको मूलभूत सम्भाव्यता हो, का बारेमा पूर्ण विश्वास भयो भने हामीमा अथाह आत्मविश्वास आउँछ। शान्तिदेवले यसलाई “गौरव” वा “आत्मगौरव” भन्नुभएको छ। यस्तो आत्मविश्वास भयो भने हामी आफ्नो अभ्यासमा अटल र स्थिर बन्न पुग्छौं। जतिसुकै उतारचढाव आएपनि आफ्नो काममा नायकोचित उत्साहका साथ लागिपर्छौं।
३. हर्ष
तेस्रो सहयोगी हो, आफूले गर्दै गरेको काममा हर्ष मान्नु। जीवनमा आफू के गर्दैछु, त्यसमा सन्तुष्टि र तृप्तिको अनुभूति गर्नु। आफ्नो सुधारको काम गर्नु र अरूको हितको प्रयत्न गर्नु – यो सबैभन्दा सन्तुष्टिप्रदायक र परिपूर्णताको अनुभूति दिने कार्य हुनेछ। यो कार्यमा प्रवृत्त हुँदा हामीभित्र आफसेआफ अद्भूत हर्षको भाव उत्पन्न हुन्छ।
४. छाड्न जान्नु
अन्तिम सहयोगी हो, छाड्न जान्नु अर्थात् कतिखेर विश्राम लिनुपर्छ भन्ने जान्नु। हामीले आफूलाई त्यो हदसम्म थकाउन हुँदैन कि सबै छोडछाड गरेर बसियोस् र फेरी फर्केर अभ्यासलाई निरन्तरता दिने जाँगर नै नहोस्। आफूलाई अति नै ज्यादा काममा लदाउने र बालकजस्तो अति नै पुल्पुल्याएर राख्ने – यी दुई अतिवाद बीचको मध्यविन्दु खोज्नुपर्छ। छाड्न जान्नुको अर्थ यो होइन कि अलिकति थकाइ लाग्ने बित्तिकै एकछिन निदाइहाल्छु भनेर सुत्न गइहालौँ!
हुनत परम पूजनीय दलाई लामाका कनिष्ठ शिक्षक स्वर्गीय त्रिजाङ् रिन्पोछेले भन्नुहुन्थ्यो – कहिलेकाहीँ हामी ज्यादै नै खराब र नकारात्मक मुडमा छौं र त्योबेला कुनै पनि धर्म अभ्यासले काम गरेन भने सबैभन्दा उत्तम उपाय भनेको केहीबेर झपक्क निदाउनु हो। बिउँझदा हाम्रो मुड परिवर्तन हुन्छ, त्यो निद्राको स्वभावले गर्दा हो। हाम्रा लागि यो एक व्यावहारिक सल्लाह हुनसक्छ।
नायकोचित वीर्यको विकासका लागि थप दुई उपाय
शान्तिदेवले निम्नानुसार थप दुई उपाय बताउनुभएको छः
१. तत्परताका साथ स्वीकार गर्नु
पहिलो त अभ्यास गर्नुपर्ने कुरालाई तत्परताका साथ स्वीकार गर्छौं र कुनै कुरा त्याग्नुपर्ने छ भने त्यो पनि स्वीकार्छौं। त्यसको अलावा आइपर्ने कठिनाइहरूलाई पनि स्वीकार्छौं। कठिनाइको यथार्थवादी ढंगले जाँच गर्छौं र त्यसको सामना गर्छौं। त्यसपछि हामी यो पनि स्वीकार गर्छौं कि अरूको हित गर्न तथा बोधि प्राप्त गर्न हामीलाई यस्तो सकारात्मक कृत्यको वास्तवमै आवश्यकता छ। हामी स्वीकार गर्छौं कि केही कामहरू गर्न हामीले बन्द गर्नुपर्छ; र मार्गमा बाधाहरू पनि आउँछन्।
यो सबै हामी स्वीकार गर्छौं र यसको जिम्मेवारी आफैं लिन्छौं। तर यो सबै गर्दा आफ्नो सामर्थ्य तथा सम्भावित बाधाहरूको ख्याल राख्छौं। यथार्थ दृष्टिकोण राख्छौं। १००,००० ढोग सम्पन्न गर्ने योजना बनाउँदैछौं भने त्यो सजिलो छैन भन्ने हेक्का राख्छौं। हाम्रा खुट्टाहरू दुख्नेछन्, हत्केलामा फोका उठ्नेछ, र निस्संदेह हामी थाक्नेछौं। त्यसैकारण यो अभ्यासबाट हुने लाभको आफूलाई स्मरण गराउँछौं।
ती के कुराहरू होलान् जो हामीले गर्न बन्द गर्नुपर्छ? प्रथमतः हामीले कामका लागि समय निकाल्नुपर्छ, जुन त्यसै पनि सजिलो लाग्नेछैन। त्यसैले अरू यावत कुराबाट हामीले समय बचाउनुपर्छ। प्रथमत: हामी आफ्नो इमान्दारीपूर्वक विश्लेषण गर्छौं – “के म यो गर्न सकुँला?” कामसँग सम्बन्धित यथार्थलाई हामी स्वीकार्छौं र त्यसपछि हर्ष र उत्साहका साथ आफ्नो प्राण त्यसमा लगाइदिन्छौं।
२. नियन्त्रणमा राख्नु
नायकोचित वीर्यको विकास गर्ने सम्बन्धमा शान्तिदेवले बताउनुभएको दोस्रो उपाय हो – यथार्थवादी दृष्टिकोणका साथ माथिका कुराहरू स्वीकार गरिसकेपछि त्यसलाई आफ्नो नियन्त्रणमा राख्दै प्रयोगमा उतार्नु। हामी इच्छाशक्तिका साथ चल्छौं, कुनै किसिमको सुस्तता वा आलस्यका साथ होइन। हामी स्थितिलाई नियन्त्रणमा राख्छौं र आफूले हासिल गर्न चाहेको सकारात्मक लक्ष्यतर्फ क्रियाशील हुन्छौं। अंग्रेजीमा प्रचलित भनाईजस्तै हामी यसमा “आफ्नो हृदय लगाइदिन्छौं।”
सारांश
धर्म अभ्यासको लाभका बारेमा आफू पूर्ण विश्वस्त भएपछि र यसको फलस्वरूप आउने खुसीलाई जानिसकेपछि हामीमा स्वाभाविक रूपमा नै वीर्यको विकास हुन्छ। यदि हाम्रो प्रेरणा बलवान छ र यसलाई वीर्य पारमिताका साथ जोडिन्छ भने हाम्रो जीवनमा के घटिरहेको छ भन्ने कुराले धेरै फरक पार्दैन। एक नायकले जस्तै हामी आफ्नो लक्ष्य हासिल गर्नेतर्फ लाग्नेछौं।
वीर्य पारमिताको अभ्यासबाट हामी अल्छीपनाबाट मुक्ति पाउन सक्छौं। अल्छीपना हामीलाई लक्ष्यसम्म पुग्न रोक्ने प्रमुख अवरोधमध्ये एक हो। यहाँ बताइएका उपायहरू बोधि प्राप्तिसम्मको यात्रामा मात्र होइन, यो सांसारिक जीवनका लक्ष्यहरू हासिल गर्न पनि उपयोगी हुनेछन्।