मध्यम र उन्नत स्तरका प्रेरणा

पुनरावलोकन

हामी आध्यात्मिक मार्गक्रमको चर्चा गर्दैछौं। यहाँ हाम्रो प्रयत्न मूलरूपमा आफ्नो प्रेरणालाई लघु स्तरबाट शुरु गर्ने र यसलाई पूर्णता प्राप्त नगरुञ्जेल विकसित तथा विस्तारित गर्दै लैजाने हो। यस विधिले काम गर्दै जाँदा प्रत्येक स्तर त्योभन्दा अघिल्लो स्तरमा आधारित हुन्छ। 

यो विधिअनुसार प्रगति गर्नका लागि दुई तरिका छन् भन्ने पनि हामीले चर्चा गर्यौं। एक त हामी धर्म–लाइटको बाटो अपनाउन सक्छौं, जसमा वर्तमान जीवनलाई मात्र सुधार गर्ने र त्यसलाई उन्नत बनाउनेमा हामी आफ्नो ध्यान केन्द्रित गर्छौं। हामीमध्ये धेरैले शुरुवात गर्ने यहीँबाट हो। तर परम्परागत पद्धतिमा यो तरिकाको चर्चा नै गरिँदैन, किनकि त्यहाँ वर्तमान जीवनलाई मात्र मानिँदैन। त्यहाँ त अनादिकालदेखि चल्दै आएको र कहिल्यै अन्त नहुने पुनर्जन्मको क्रमलाई मानिएको हुन्छ। जसरी "रियल थिंग कोकाकोला"मा कोकाकोलाको असली संयोजनको कुनै अवयव घटाइएको हुँदैन त्यस्तै यो परम्परागत धर्मपद्धति, अर्थात् "रियल थिंग धर्म"को स्तरमा कुनै अवयव घटाइएको हुँदैन र हाम्रो पुनर्जन्म हुन्छ भन्ने मान्यतालाई मानेर त्यसैको आधारमा प्रेरणाको विकास गरिन्छ।

हामीले यो पनि चर्चा गर्यौं कि प्रेरणाको अन्य स्तरमा जस्तै प्रारम्भिक स्तरमा पनि एक लक्ष्य राखिएको हुन्छ।  त्यो लक्ष्य प्राप्त गर्नुपर्ने कारण हुन्छ। यसका पछाडि हाम्रो मनोभावको एक बल हुन्छ जसले त्यो लक्ष्य प्राप्तितर्फ हामीलाई डोर्याउँछ। प्रारम्भिक स्तरमा हामी भविष्यमा पनि मानवकै रूपमा उन्नत पुनर्जन्म सुनिश्चित गर्न खोज्छौं, ताकि उच्चतर लक्ष्य प्राप्तितर्फ आफूलाई अगाडि बढाउँदै लग्न सकियोस्। यही जीवनकालमा उच्चतम लक्ष्य प्राप्ति गर्न सजिलो छैन भन्ने हामीलाई बोध हुन्छ। त्यसका लागि निकै समय र परिश्रम लाग्छ। निरन्तर उन्नत पुनर्जन्म भैरहोस् भन्ने लक्ष्य राख्नुको कारण चाहिँ मार्गमा निरन्तर अगाडि बढिरहन सकियोस् भन्ने हो।

भविष्यमा पनि अमूल्य मानव जीवन पाउने लक्ष्यपछाडिको हाम्रो मकसद यही हो। अर्को जन्ममा स्वर्ग जाने र सुखभोगको जीवन बिताउने कुरा हामी गर्दैछैनौं। निकृष्ट पुनर्जन्म हुनसक्ने कुराले हामीलाई अत्यास लाग्छ, र यही मनोभाव (इमोशन) ले हामीलाई उन्नत पुनर्जन्म प्राप्तिका लागि प्रेरित गर्छ। त्यस्तो निकृष्ट पुनर्जन्ममा हामीसँग आफ्नो सुधारका लागि काम गर्ने अवसर हुँदैन। तर त्यो अवस्थामा पुग्नबाट बच्न सकिन्छ भन्ने आत्मविश्वास हामीमा आउँछ। त्यसैका लागि भविष्यको सुरक्षित बाटो, अर्थात् शरणगमनको चर्चा हामीले गर्यौं। शरणगमनमार्फत हामी आफ्नो चैतसिक क्रियाकलापका सीमितताहरू र नकारात्मक व्यवहारहरूलाई पूर्णरूपमा अन्त गर्ने प्रयत्न गर्छौं। साथै हामी सकारात्मक व्यवहार गर्ने प्रयत्न गर्छौं। यो अमूल्य मानव जीवन प्राप्त भएको छ र यसलाई मृत्युका समयमा अवश्य नै गुमाउनेछौं भन्ने बोधले हामीलाई त्यो दिशामा सहयोग गर्छ। मृत्यु त अवश्य नै आउँछ। तर कहिले, हामीलाई त्यसको कुनै भेउ छैन। 

उत्कृष्ट पुनर्जन्महरू पनि सन्तोषजनक हुँदैनन्

प्रेरणाको मध्यम स्तरमा हामी अझ गहिरो विश्लेषण गर्छौं। उन्नत खालको पुनर्जन्म भयो भने, अथवा अमूल्य मानव जीवन नै प्राप्त भयो भने पनि त्यही अवस्थामा रहिरहनु सन्तोषजनक हुँदैन। जीवनमा कुनै निश्चितता हुँदैन, उँचनीच भैरहन्छ, र यसको स्वभाव नै कस्तो छ भने अब आउने क्षणमा हामीलाई के अनुभव हुनेवाला छ, केही थाहा हुँदैन। अहिले हामी खुशी हौंला, तर एकैछिनमा असन्तुष्ट, उदास, वा निराश हुन सक्छौं। सानोभन्दा सानो कुराले पनि हामीलाई दुःखी तुल्याउन सक्छ। त्यसमाथि हरेक पटक जन्म लिनुपर्ने र आफ्नो शारीरिक क्रियाकलापमाथि कुनै नियन्त्रण नहुने शिशु अवस्थाबाट गुज्रिनुपर्ने समस्या त छँदैछ। हरेक पटक हिँड्न र बोल्न सिक्नुपर्ने, अनि यही क्रम बारम्बार दोहोरिनुपर्ने अवस्था भनेको निश्चय नै दिक्दारलाग्दो कुरा हो। हामी पुनः विद्यालय जानुपर्छ। यो सबै फेरीफेरी गर्न कसलाई मन होला? फेरी एक जीवनसाथी खोज्नुपर्छ, फेरी जागिर खोज्नुपर्छ, बुढो हुनुपर्छ, मर्नुपर्छ। हाम्रो मात्र होइन, हामीलाई माया लाग्ने जोसुकैको पनि हालत यही हो।

यही अमूल्य मानव जीवनमा पनि धेरै असन्तोषजनक कुराहरू छन्। हाम्रा सबै आवेगात्मक समस्याहरू रहिरहन्छन्। हामीलाई रिस उठ्छ, दिक्क लाग्छ, अथवा लोभ लाग्छ। मानिस र वस्तुहरूप्रति हामी ज्यादै आसक्त हुन्छौं। कार्य–कारण तथा यथार्थको ज्ञानसम्बन्धमा हामी अनभिज्ञ हुन्छौं। त्यसैले हामी मूर्ख्याईंपूर्ण काम गर्छौं।  त्यस्तो तवरले काम गर्छौं कि मानिलिऊँ हामीले गर्ने व्यवहार र बोल्ने बोलीको अरुमाथि कुनै असर हुँदैन। अरु मानिसको अस्तित्व नै छैन, अथवा उनीहरुको कुनै भावना नै हुँदैन भनेजसरी व्यवहार गर्छौं। यो एकदमै बुद्धिहीन काम हो, होइन त?

यी यावत् समस्याहरू रहिरहन्छन् र भाग्यशाली पुनर्जन्ममा पनि राम्रो–नराम्रो अनुभव भैरहन्छ। भाग्यशालीबाट दूर्भाग्यपूर्ण र उत्कृष्टबाट निकृष्ट पुनर्जन्म तथा अवस्थाहरू पनि आउँछन्। यो क्रम चलि नै रहन्छ। यस्तो अनियन्त्रित तवरले दोहोरिरहने पुनर्जन्म वा अस्तित्वको क्रमलाई नै संस्कृतमा “संसार” भनिएको हो।  

नैष्क्रम्य (रिनन्सिएसन)ः मुक्त हुने अठोटका साथ निर्वाणको लक्ष्य

प्रेरणाको मध्यम स्तरमा हाम्रो लक्ष्य यी सबैथोकबाट मुक्त हुने हो। हाम्रो चित्तको शुरुवाती विन्दु वा अन्तिम विन्दु भेटिँदैन। यो संभवतः कहिल्यै अन्त नहुने र अनियन्त्रित हिसाबले दोहोरिरहने पुनर्जन्मको चक्रमै चलिरहन हामी चाहँदैनौं। यहाँनेर “संभवतः कहिल्यै अन्त नहुने” भन्नुको तात्पर्य हामीले कुनै हस्तक्षेप नगर्ने हो भने यो निरन्तर चलिरहन्छ भन्ने हो। हामी यो अवस्था अन्त गर्न चाहन्छौं र यस्तो भवचक्रबाट साँच्चिकै मुक्ति चाहन्छौं। किन? किनकि हामीलाई दुःखबाट मुक्त हुनु छ। कहिलेकाहीँ हामीले भोग्ने समस्याहरू असाध्यै पीडादायी नहोलान्, तैपनि कतिपय सूक्ष्म समस्याहरू आइरहन्छन्। हामी ती सबैबाट छुटकारा चाहन्छौं। मुक्तिको चाहना राख्नुपछाडिको कारण यही हो। 

संस्कृतमा मुक्तिलाई “निर्वाण” भनिन्छ। यसतर्फ डोर्याउने मनोभावलाई सामान्यतया “नैष्क्रम्य” भनिन्छ। अंग्रेजीमा यसलाई “रिनन्सिएसन” भनेर अनुवाद गरिएको छ। यो त्यति उत्कृष्ट अनुवाद नभए पनि यसको अर्थ मूलरूपमा मुक्त हुने उत्कट आकांक्षा हो। नैष्क्रम्यमा हामी अब त दुःख पाउन पुग्यो भन्ने निश्चयबोध गर्छौं। यी सबैथोकबाट हामी आजित भैसक्यौं, भित्रदेखि नै हामीलाई यो बिल्कुल निरर्थक लाग्न थालिसक्यो। अब त अति नै भैसक्यो, हामीलाई अब मुक्ति चाहियो। 

क्लेशहरूलाई त्याग्ने तत्परता

मुक्तिका लागि दुःख र समस्याका कारणहरूबाट छुटकारा पाउनु पर्ने हुन्छ। दुःख मात्र होइन, यसका कारणहरू पनि त्याग्न पूर्णरूपमा तत्पर हुनुपर्छ। आइसक्रिम वा चकलेट खान छोड्ने कुरा मात्र हामी गरिरहेका छैनौं। नैष्क्रम्यलाई त्यसरी बुझ्नु भनेको तुच्छ बुझाई हुनेछ। खासमा हामीले आफूलाई यी सबै कुराहरूप्रति हुने रिस, लोभ, आसक्ति आदिबाट मुक्त गराउनु छ, त्यसैका लागि हामी प्रतिबद्ध हुन्छौं। चकलेटको उदाहरणमा हाम्रो लक्ष्य यसप्रतिको आसक्तिबाट मुक्ति पाउने हो। खासमा हामी आफैंले चकलेटको असल गुणबारे बढाइचढाइ गरेर धारणा बनाएका हुन्छौं, जस्तै – “यो नै संसारको सबैभन्दा अद्भूत र स्वादिष्ट चीज हो। यसले मलाई खुशी, धेरै नै खुशी बनाउँछ।” यदि चकलेटमा त्यस्तो खुबी हुँदो हो त जति धेरै चकलेट खायो त्यति नै धेरै हामी खुशी हुनुपर्ने हो। तर त्यसो हुँदैन र चकलेटको जतिसुकै भोगी भएपनि खाँदै गएपछि हामी त्यसबाट वाक्क हुन्छौं र हामीलाई त्यो छुन पनि मन नलाग्ने हुन्छ।

आसक्ति, रिस आदि क्लेश त्याग्ने चाहनामा साँच्चिकै गम्भीर हुन सक्नु ज्यादै अद्भूत र कठिन कुरा हो। यसलाई हामीले हलुकासँग लिनु हुँदैन। मानिलिऊँ, एक व्यक्ति भित्तामा आफ्नो टाउको ठोकिरहेको छ, र उ के भन्ठान्छ भने त्यसो गर्न छाड्यो भने उसको हालत झन् खराब हुनेछ। हाम्रो हालत पनि त्यस्तै छ, हामी त्यसरी नै भित्तामा टाउको ठोकिरहन अभ्यस्त छौं। हुनत यो अलि उग्र उदाहरण भयो। अलि सामान्य खालको उदाहरण लिऊँ – हामी कसैसँग अस्वस्थ प्रेमसम्बन्धमा छौं। तर त्यो सम्बन्ध तोड्न सक्दैनौं, किनकि हामीलाई एक्लो भइने डर छ। त्यसैले त्यस्तो अस्वस्थ सम्बन्धलाई कायम राख्छौं र पीडित भइरहन्छौं। 

यो सामान्यतया भइरहने कुरा हो, होइन त? कसैले मेरो साथ छोड्ला भन्ने डरले भन्नुपर्ने कतिपय कुरा हामी उसलाई नभनी बस्छौं। यो कुनै अनौठो विषय होइन, हामीले सधैंभरी देख्दै भोग्दै आएको कुरा हो। 

अनियन्त्रित पुनर्जन्मको श्रृंखलाबाट मुक्ति पाउन सकिन्छ? के म यसका लागि सक्षम छु?

यस्तो मुक्तिको लक्ष्य प्राप्त गर्न र अन्ततः बोधिलाभ गर्नका लागि सबैभन्दा पहिला त हामीलाई त्यसो गर्नु सम्भव छ भन्ने थाहा हुनुपर्छ। त्यो अवस्था कसरी हासिल गर्न सकिन्छ भन्ने पनि थाहा हुनुपर्छ। हुनत यो अलि जटिल विषय पनि हो, किनकि ती लक्ष्यहरू हासिल गर्न सकिन्छ र हामी सबै त्यसका लागि सक्षम छौं भन्ने प्रमाण देखाउन कठिन छ। त्यसैले मानिसहरू त्यसलाई पन्छाउन खोज्छन्, जुन एक ठूलो भूल हो। यदि हामीलाई ती लक्ष्य हासिल गर्ने कुरामा विश्वास छैन भने किन व्यर्थै त्यसका लागि प्रयत्न गरिराख्नु? त्यो त कुनै खेलाँची गरेजस्तो हुनेछ, र हामी एक दिन यी सबै कुरा वाहियात हुन् भन्दै आफ्नो अभ्यासलाई छाड्ने विन्दुमा पुग्नेछौं।

आफ्नो तथागतगर्भ गुण (ती चीजहरू जसका कारण हामी निर्वाण र बोधिलाभ गर्न सक्षम छौं), चित्तको नैसर्गिक विशुद्धता आदि कुराहरूको हामीले गहिरोसँग विश्लेषण गर्नुपर्छ। के हाम्रा क्लेश र भ्रमहरू चित्तको आधारभूत अंग हुन्? यदि हुन् भने त ती प्रत्येक क्षण विद्यमान हुनुपर्ने थियो। यदि होइनन् भने के तिनीहरू अस्थायी हुन्? के तिनलाई फेरी कहिल्यै नफर्किने गरी हटाउन सकिन्छ? 

यस्तो प्रश्न गर्नु र यसमा छलफल गर्नु अत्यन्तै जरुरी छ। यो कुरा हामीले केवल अन्ध निष्ठाका आधारमा मात्र स्वीकार गर्नु हुँदैन। जति धेरै प्रश्न गर्यो, त्यति राम्रो, किनकि सबै शंकाको निवारण गरेर आफूले गरिरहेको कामप्रति दृढ विश्वस्त हुनु आवश्यक छ। तर के सतप्रतिशत विश्वस्त नभई काम शुरु गर्नै हुन्न त? पक्कै पनि, यसको जवाफ सहज छैन। हामी पूर्णरूपमा विश्वस्त भैसक्यौं भन्ने कसरी थाहा पाउने? त्यसका लागि त धेरै समय लाग्छ। 

यो सबै बेकारको कुरा जस्तो लाग्छ भने निश्चय नै हामी अभ्यास गर्न सक्दैनौं। तर यो सबै सम्भव हुन पनि सक्छ भन्ने लाग्छ र त्यस्तो लाग्ने दिशातर्फ हामी उन्मुख छौं भने काम शुरु गर्न सकिन्छ। तर यो सत्य हो भन्ने कुरा अन्ध निष्ठा अथवा “मेरो गुरुले भन्नुभएको हो” भन्ने आधारमा मात्र ग्रहण नगरी कुनै तर्कका आधारमा ग्रहण गर्न सकियो भने राम्रो हुनेछ। स्वयं बुद्धले भन्नुभएको थियो, “ममाथि विश्वास गरेका आधारमा मात्रै मैले बताएको कुरामा विश्वास नगरिहाल। बरु, सुन किन्दा जसरी जाँचपरख गरेर किन्छौ, त्यसैगरी जाँचपरख गर।” हामीले पनि यो कुरा सत्य हो कि होइन, जाँच गर्नु जरुरी छ।  

पुनर्जन्मप्रति विश्वास : सेरकोंग रिन्पोछेका दुई जन्मको कथा

पुनर्जन्म साँच्चिकै यथार्थ हो भन्ने विश्वास गर्न धेरै लामो समय लाग्न सक्छ। म आफ्नै अनुभव सुनाउँछु, किनकि मैले पनि यसका लागि धेरै समय लगाएको छु। मैले बौद्धधर्म अध्ययन गर्न थालेको ४५ वर्षभन्दा बढी भयो। एक समय त्यस्तो आयो जब म तर्कका आधारमा यो बौद्धिक निष्कर्षमा पुगेँ कि पुनर्जन्मको कुराले पनि अर्थ राख्छ। तर जब मैले आफ्ना गुरुलाई उहाँका दुइवटा जीवनकालमा भेट्न पाएँ, तब मलाई पूर्ण विश्वास भयो र मैले यो कुरालाई भावनात्मक गहिराइका साथ ग्रहण गर्न सकेँ। उहाँको नाम सेरकोंग रिन्पोछे हो, र उहाँ परम पूजनीय दलाई लामाका पनि एक गुरु हुनुहुन्छ। उहाँको धेरै नजीकको चेला हुन पाउनु मेरा लागि अत्यन्तै ठूलो सौभाग्य हो। मैले उहाँसँग नौ वर्ष बिताएँ, त्यो अवधिमा उहाँको अनुवादक र व्यक्तिगत सहयोगीको रूपमा काम गरेँ। उहाँका सबै विदेश भ्रमणमा सहयोग गरेँ र उहाँ सँगसँगै भ्रमण पनि गरेँ। यसरी उहाँसँग एकदमै नजीक भएर काम गर्न पाएँ। सन् १९८३ मा उहाँको निधन भयो, पुनर्जन्म भयो, र तिब्बती टुल्कु प्रणालीभित्र उहाँको पुनः पहिचान पनि भयो। 

अहिले उहाँ पच्चीस वर्षको हुनुभयो, र अझै पनि मेरो उहाँसँग उहाँको अघिल्लो जन्मजस्तै ज्यादै घनिष्ठ सम्बन्ध छ। हुनत हामीबीचको उमेरको भिन्नता ठ्याक्कै उल्टो भएको छ!

नयाँ सेरकोंग रिन्पोछे चार वर्षको हुँदा मैले भेटेको थिएँ। जब म उहाँको कोठामा प्रवेश गरेँ, सहयोगीहरूले उहाँलाई सोधे “के तपाईँ यी मानिसलाई चिन्नुहुन्छ?” उहाँको जवाफ थियो “कस्तो मूर्ख प्रश्न गरेको, म पक्कै पनि यिनलाई चिन्छु।” पहिलो भेटदेखि नै ती चार वर्षे बालकले मसँग अत्यन्तै घनिष्ठ र स्नेहपूर्ण व्यवहार गरे, जुन अन्य मानिसप्रति गर्नेभन्दा पनि बढी थियो। उहाँ वयस्क भैसक्दा पनि त्यो निरन्तर कायम छ। 

कैयौं पटक उहाँको अघिल्लो जन्मको भिडियो हामीले सँगै बसेर हेरेका छौं। कतिपय बेला उहाँ भन्नुहुन्छ – “त्यसो भनेको मलाई सम्झना छ।” पक्कै पनि उहाँ मसँग बेतुकको कुरा गर्नुहुन्न। यो अनुभवले चाहिँ मलाई तर्क र विश्लेषण तथा “खै, हुन पनि सक्ला...” भन्ने सोचभन्दा माथि लग्यो। यसले मलाई साँच्चिकै दृढ निश्चय प्रदान गर्यो।

यी कुराहरू त्यति सजिला छैनन्। के निर्वाण प्राप्त गर्न साँच्चिकै सम्भव छ? के हाम्रो चित्तको स्वभाव साँच्चिकै विशुद्ध छ? यो कुरा तर्कका माध्यमबाट बुझेपनि भावनात्मक तहमा बुझ्न निकै गहिरो स्तरमा उत्रिनु पर्छ। तर, त्यसतर्फ हामी क्रमैसँग अगाडि बढ्न सक्छौं। 

यथार्थबारे भ्रम नै अनियन्त्रित पुनर्जन्मको श्रृंखलाको कारण 

लाम–रिमअन्तर्गत मध्यक तहको प्रेरणामा प्रतीत्यसमुत्पादका १२ निदानको चर्चामार्फत पुनर्जन्मको प्रक्रियाको विस्तृत व्याख्या गरिएको छ। यो खासमा कर्म र कर्मका परिणाम आदिको चर्चा गरिएको एक जटिल व्यवस्था हो। हामीलाई क्लेशका विभिन्न प्रकार (जस्तै रिस र लोभ), तिनीहरूको उत्पत्ति, तिनका कारण, आदिको गहिरोसँग जानकारी हुनुपर्छ। मोटामोटी रूपमा यी सबैको कारणलाई मैले “भ्रम” (मिथ्यादृष्टि) नाम दिएको छु। हामी सामान्यतया आफ्नो व्यवहारको अरूमाथि र आफैँमाथि हुने असरका बारेमा भ्रममा हुन्छौं। अलि गहिरो स्तरमा भन्ने हो भने हामी स्वयंको अस्तित्व सम्बन्धमा भ्रममा हुन्छौं। त्यस्तै अरुको अस्तित्व र चीजहरूको यथार्थसम्बन्धमा भ्रममा हुन्छौं। 

सामान्यता हामी सोच्छौं – सबैथोक आफ्सेआफ, आफ्नै बुतामा, अरुसँग बिल्कुलै असम्बन्धित रूपमा अस्तित्वमा आएका हुन्, मानिलिऊँ ती कुनै प्लाष्टिकले बेरेका पोकाहरूजस्तो बेग्लाबेग्लै रहेका हुन्। केही प्रकारले तिनीहरू एकआपसमा अन्तरसम्बन्धित छन् भन्ने मानिहाल्यौं भने पनि असम्बन्धित र अलग अलग प्लाष्टिकका पोकालाई सिन्काले उनेकोजस्तो मात्रै रूपमा हामी सोच्ने गर्छौं। यस्तो खालको अस्तित्व सम्भव छैन, र यो कुरालाई हामीले विभिन्न मिहिन स्तरमा बुझ्नु जरुरी छ। कुन कुरा असम्भव हो, र हाम्रो मिथ्या दृष्टिले अरु व्यक्ति र चीजहरूमाथि आफ्नो भ्रमपूर्ण धारणा कसरी प्रक्षेपित गर्छ भन्ने राम्रोसँग बुझ्नु जरुरी छ। 

शून्यता : अस्तित्वबारे मिथ्या दृष्टिको पूर्ण अभाव

यहाँनेर हामीले शून्यताबारे जान्नु जरुरी हुन्छ। शून्यताले पूर्ण अभाव, अर्थात् केही छैन भन्ने अर्थ दिन्छ। यसको अर्थ भ्रमपूर्ण दृष्टिले अस्तित्वबारे जुन असम्भव खालको प्रक्षेपण गरिन्छ, त्यसको अभाव हो। यस्ता प्रक्षेपण यथार्थसँग मेल खाँदैनन्। 

उदाहरणका लागि सान्ता क्लजलाई लिऊँ। कुनै सेतो लामो दाह्री भएको र रातो लुगा लगाएको मानिस देख्यौं भने उनीहरू हामीले मानिआएको “सान्ता क्लज” जस्तै लाग्छ। हामी भन्ठान्छौं उ सान्ता क्लाज नै हो। किन? किनकि उ सान्ता क्लजजस्तै देखिन्छ। तर सान्ता क्लजजस्तै देखिएको आकृतिले कुनै पनि यथार्थ कुरासँग मेल खाँदैन, किनकि त्यस्तो सान्ता क्लज यथार्थमा छैन। हामीले चर्चा गर्ने शून्यता यस्तै हो। हामीले देखेको मानिसको आकृतिसँग मेल खाने त्यस्तो कुनै साँच्चिकै सान्ता क्लज छैन, अर्थात् त्यो नभएको अवस्था छ। तर यसको अर्थ उक्त मानिस छ र उसको आकृति सान्ता क्लजजस्तै देखिन्छ भन्ने कुरालाई नकार्नु होइन। हामी के मात्र भन्दैछौं भने उक्त मानिस जस्तो देखिएको छ, त्यस्तो देखिनु भ्रमपूर्ण हो। त्यो सान्ता क्लजजस्तै देखिन्छ, तर सान्ता क्लज होइन, किनकि यथार्थमा सान्ता क्लज भन्ने कुरै छैन। 

हाम्रो मन सधैँ यसरी नै काम गर्छ। अनेक प्रकारका बेतुकका कुराहरू हामी प्रक्षेपित गरिरहेका हुन्छौं। जस्तै, फलानो व्यक्ति सबैभन्दा सुन्दर छ, फलानो व्यक्ति सबैभन्दा खराब छ, हामी यो संसारमा ईश्वरले पठाएका उपहार हौं, अथवा हामी पूर्णतया गएगुज्रेका मानिस हौं। हामीलाई जस्तो लाग्छ, त्यस्तै रूपमा सबै चीज अस्तित्ववान छन् भनेर मनले प्रक्षेपित गर्छौं, र सोच्छौं ती अरुसँग विल्कुल असम्बन्धित छन्। हामीलाई यो कुरा अपरिवर्तनशील सत्य जस्तो लाग्छ। 

तर यथार्थमा कोही पनि त्यसरी अस्तित्ववान हुँदैन। त्यसो हुनु असम्भव छ, किनकि हरेक कुरा कुनै न कुनै रूपमा अरुसँग सम्बन्धित भएर मात्र अस्तित्वमा आएका हुन्छन्। परम पूजनीय दलाई लामा हातका औंलाहरूको उदाहरण दिने गर्नुहुन्छ। हाम्रो साईंली औंला ठूलो छ कि सानो? यसलाई कान्छी औंलासँग तुलना गर्ने हो भने ठूलो हुन्छ, तर माइली औंलासँग तुलना गर्ने हो भने सानो हुन्छ। तर यो आफैंमा, अथवा आफ्नै बलको भरमा मात्र, ठूलो छ कि सानो? यो प्रश्नको कुनै उत्तर छैन, किनकि सानो र ठूलो अर्को चीजसँगको तुलनामा मात्र हुन्छ। यो पूर्णतया अरु विभिन्न कुरामा तथा ठूलो र सानोसम्बन्धी हाम्रो धारणामा निर्भर हुन्छ। मलाई लाग्छ तपाईंले कुरा बुझ्नुभयो होला। 

यो मध्यम स्तरमा हामी शून्यताको बोध गरेर यस्ता आधारभूत भ्रमबाट मुक्ति पाउने प्रयत्न गर्छौं। यही भ्रमले गर्दा नै हामीले अनियन्त्रित रूपमा पुनर्जन्म लिइरहनु पर्ने हुन्छ, किनकि यसैका कारण कर्म र कर्मका फलहरू सक्रिय हुन पुग्छन्। यो कुराको विस्तृत चर्चा प्रतीत्य समुत्पादको द्वादश निदानको जटिल व्यवस्थाअन्तर्गत गरिन्छ।

समाधि र शीलको आवश्यकता 

शून्यताको बोध गर्न हामीलाई समाधि (एकाग्रता) को आवश्यकता पर्छ। एकाग्रताको विकास गर्न शील (नैतिक आत्मसंयम) को आवश्यकता पर्छ। यहाँनेर रुख काट्ने कामको उदाहरण दिइन्छ। बोध भनेको धारिलो बन्चरो जस्तो हो। रुख काट्नका लागि सधैं एकै ठाउँमा हिर्काइरहनुपर्छ। लगातार एकै ठाउँमा बन्चरोले हिर्काइरहनु भनेको एकाग्रता जस्तो हो। बन्चरोलाई हातमा लिन, उज्याउन, र रुखको एकै ठाउँमा हिर्काउन बल चाहिन्छ। त्यो बल नैतिक आत्मसंयमबाट आउँछ, जहाँ हानि हुने काम गर्नबाट हामी आफूलाई रोक्छौं। 

मध्यम तहमा लिन सकिने विभिन्न शीलहरूको पनि व्याख्या गरिएको छ। यसमा पूर्ण रूपमा प्रवजित भैसकेका वा वा नवप्रवेशी भिक्षु भिक्षुणीहरूले लिने शीलहरू पर्छन्। त्यस्तै गृहस्थी पुरुष वा महिलाले लिनु पर्ने शीलहरू पनि पर्छन्। गृहस्थी भन्नाले ती व्यक्ति हुन् जो कुनै विहार वा गुम्बामा ब्रह्मचारी भिक्षु बनेर बसेका छैनन्। तर उनीहरूको घरपरिवार हुनैपर्छ भन्ने छैन, एकल व्यक्ति पनि हुन सक्छन्। हुनत प्राचीन भारतमा त्यस्तो हुन एकदमै दुर्लभ थियो, लगभग सबै गृहस्थीको घरपरिवार हुन्थ्यो। ती भिक्षु र गृहस्थी शीलहरूलाई साधारणतया “व्यक्तिगत निर्वाणका लागि शील” भन्ने गरिन्छ, किनकि ती प्रायः आफ्नै निर्वाणको उद्देश्यले लिइएका हुन्छन्। यी शीलहरू लिनाले क्लेशका कारण गरिने कतिपय त्यस्ता व्यवहार रोक्न सहयोग पुग्छ, जसले हाम्रो ध्यान साधना र अन्य कुशल कर्महरूमा व्यवधान खडा गर्ने थिए।

शील लिनु वास्तवमा एकदमै महत्त्वपूर्ण छ। किन? किनभने कुनै कुरा फेरी नगर्ने प्रण गर्यौं भने त्यसले हामीलाई अनिर्णयबाट बचाउँछ। उदाहरणका लागि मानिलिऊँ हामी अल्कोहल वा सिरगेट छाड्ने प्रयत्न गर्दैछौं। तर जब कुनै बेला अल्कोहल खाइरहेका वा सिगरेट पिइरहेका मानिसहरूको साथमा हुन्छौं, त्यतिबेला आफूले पनि सेवन गर्ने कि गर्न इन्कार गर्ने, द्विविधा भैरहन्छ। हामीले साँच्चिकै ती चीज छाड्न खोजिरहेका भए पनि यो अवस्था आउने वित्तिकै हामीलाई के गर्ने निर्णय लिइराख्नुपर्ने हुन्छ। यो कुरा तनावपूर्ण नै नभए पनि चुनौतिपूर्ण त हुन्छ नै। 

तर यदि हामीले प्रण गर्यौं भने त्यो कुरा टुंगिहाल्छ। हामीले निर्णय गरिसक्यौं कि “अब म रक्सी खानेछैन। अब म चुरोट पिउनेछैन।” अथवा त्यस्तै केही कुरा हुन सक्छ। त्यसो भयो भने हाम्रा वरिपरिका मानिसले रक्सी खाउन कि नखाउन, हामीलाई केही फरक पर्दैन किनकि हामीले आफ्नो एउटा अटोठ लिइसक्यौं। यस्तो शीलले कुनै रोकटोक वा सजायभन्दा पनि हामीलाई ठूलो बल प्रदान गर्छ, र अनिर्णयबाट मुक्ति दिन्छ, खासगरी ती कुराहरूबाट जुन हाम्रो निर्वाणको लक्ष्यमा बाधक हुन सक्छन्।  

हुनत बुद्धधर्ममा कुनै पनि प्रण गर्नुपर्ने बाध्यता बिल्कुलै हुँदैन। यो कुरा हामीले बुझ्नु जरुरी छ। कसैले पनि तपाईंलाई यो वा त्यो प्रतिज्ञा गर भनेर भन्न सक्दैन, र कसैले पनि तपाईंलाई भिक्षु वा भिक्षुणी बन र विहारमा बस्न जाउ भन्दैन। तर तपाईं साँच्चिकै संसारबाट निर्वाण प्राप्तिको चाहना राख्नुहुन्छ र आफ्ना रिस, आसक्ति, लोभ, आदि क्लेशहरूबाट बच्न चाहनुहुन्छ भने केही प्रणहरू गर्दा धेरै सहयोग पुग्नेछ। त्यतिसम्मका लागि हामील अहिले नै तयार छैनौं भने पनि ठीकै छ। हामीले राम्रोसँग आफ्नो विश्लेषण गर्नुपर्छ र आफ्नो अवस्थाका बारेमा इमान्दार भएर काम गर्नुपर्छ।  

यो मध्यम स्तरको प्रेरणा हो। समाधि र शून्यता यसका अंगहरू हुन् तर त्यसको विस्तृत विवेचना यही स्तरमा गरिँदैन। त्यस्को पूर्ण व्याख्या चाहिँ उन्नत स्तरको शिक्षामा मात्र गरिन्छ।  

प्रेरणाको उन्नत स्तर : सबैको कल्याणको भावना

प्रेरणाको उन्नत स्तरमा हामी यो चिन्तन गर्दछौं कि हामी यस ब्रह्माण्डमा एक्लै छैनौं। अन्य सबै जीवहरू पनि यहाँ छन्, र ती सबै हामी जस्तै अवस्थामा छन्। सबै जीव दुःख भोगिरहेका छन्, उनीहरू सबै अनियन्त्रित तरीकाले बारम्बार पुनर्जन्म लिइरहन्छन्। हामी स्थायी खुशी चाहन्छौं र दुःखकष्टबाट बच्न चाहन्छौं, अरू सबै जीव पनि त्यही चाहन्छन्। यस दृष्टिले हेर्दा हामी सबै एक समान छौं। यो केवल मेरो र केही सीमित मानिसहरूको हकमा मात्र लागू हुँदैन, सबै जीवको हकमा लागू हुन्छ। हामी सबै एकअर्कासँग कुनै न कुनै हिसाबले जोडिएका छौं र एक अर्कामा निर्भर छौं। हाम्रो अस्तित्व अरूबाट पूर्ण रूपमा स्वतन्त्र छैन। त्यसरी हाम्रो अस्तित्व हुनै सक्दैन।

मनलाई उदार बनाउँदै अरु सबैलाई आफ्नो भावनामा समावेश गर्न मद्दत गर्ने केही जटिल अभ्यासहरू छन्। यो सम्बन्धमा हामीले अलिकति छलफल गरिसकेका छौं। हामीले चर्चा गरिसक्यौं कि सबै जीवित प्राणीहरू विगतका कुनै न कुनै जन्ममा हाम्रा आमा रहिसकेका छन्। उनीहरूले त्योबेला हामीप्रति असीम मायापूर्ण व्यवहार गरिसकेका छन्। धर्म–लाइटको तहबाट हामीले चर्चा गर्यौं कि सबै मानिसले हामीलाई आफ्नै आमाजस्तै मायालु व्यवहार गर्ने क्षमता राख्छन्। तर बुझाईको यो तह सीमित हुन्छ, किनकि एक लामखुट्टेप्रति त्यस्तो मित्रतापूर्ण व्यवहारको कल्पना गर्न गाह्रो छ।

मैत्री

हामी “मैत्री” को भावना विकास गर्दै आफ्नो हृदयको द्वार खोल्ने अभ्यास शुरु गर्छौं। यो प्रक्रिया वास्तवमा समताको भावनाबाट सुरु हुन्छ जहाँ हामी केवल केही व्यक्तिप्रति आकर्षित हुने, अन्य केही व्यक्तिप्रति घृणाको भावना राख्ने, र बाँकी सबैप्रति बेवास्ताको भावना राख्ने काम गर्दैनौं। हामी सबैप्रति उदार हुने अभ्यास गर्दछौं र यसको आधारमा प्रत्येक जीवित प्राणीसँग आफ्नो अन्तर–सम्बन्ध रहेको जान्दछौं। यस्तो बोध यो तर्कका आधारमा हासिल गर्न सकिन्छ कि सबै मानिस विगतको कुनै जन्ममा हाम्रो आमा रहिसकेका छन् र त्यतिबेला हामीलाई एकदमै मायालु व्यवहार गरिसकेका छन्। हामी यो पनि स्मरण गर्न सक्छौं कि हामीले प्रयोग गर्ने हरेक चीज अरु कसैले काम गरेका कारण हामीलाई प्राप्त छ। आफ्नो खुट्टामुनिको भूईं हेर्नुहोस्, तपाईं जुन भवनभित्र हुनुहुन्छ त्यसलाई हेर्नुस्, वा आफूले पिउने पानीको बारेमा सोच्नुहोस्। के हामी कहिल्यै सोच्दछौं यो सबै कहाँबाट आयो? हाम्रो पानी, हाम्रो खाना कसरी हामीसम्म आइपुगेको छ? यो सबै अरुको कडा परिश्रमका कारण सम्भव भएको हो, यसका लागि हाम्रो वरपरका सबै व्यक्तिले कडा परिश्रम गरेका छन्। हामी सबै बराबर छौं, र हामीले केवल आफ्नै भलाइ मात्र सोच्नु तर्कसंगत हुँदैन। वास्तविक अर्थमा आफ्नो भलाइ गर्नका लागि अरु सबै प्राणीहरूको भलाइ गर्नु आवश्यक हुन्छ।

यो आधारमा हामी सबैप्रति समान रूपमा मैत्रीपूर्ण प्रेम जागृत गर्न सक्छौं। यो मैत्रीलाई सबै जीव खुशी रहन सकुन् र उनीहरू खुशीका कारणहरूले युक्त हुन सकुन् भन्ने भावनाका रूपमा परिभाषित गर्न सकिन्छ। यो रोमान्टिक खालको प्रेम होइन; त्यसमा असाध्यै ज्यादा आसक्ति मिसिएको हुन्छ। सामान्यतया जब हामी कसैलाई “म तिमीलाई प्रेम गर्छु” भन्छौं, त्यसको अर्थ “मलाई तिम्रो आवश्यकता छ। मलाई छाडेर नजाउ। म तिमीबिना बाँच्न सक्दिन” भन्ने हुन्छ। तर उक्त व्यक्तिले हामीलाई सोचेजस्तो वास्ता गरेन वा केही अप्रिय कुरा भन्यो भने हाम्रो सोचाई तुरुन्तै “म तिमीलाई प्रेम गर्दिन” भन्नेमा पुग्न सक्छ।  

बुद्धधर्मको मैत्रीपूर्ण प्रेम अरूले कस्तो व्यवहार प्रदर्शित गर्छन्, वा हामीलाई के गर्छन् भन्ने कुरामा आधारित हुँदैन। यो त एक भावना मात्र हो जहाँ अर्को मानिसको खुशीको कामना गरिन्छ। मानिलिऊँ, अरु सबै हाम्रो शरीरकै अंग हुन्; हामी आफ्नो खुट्टाका सबै औंलाहरूमा एकसमान सुख चाहन्छौं, केवल केही औंलाहरू सुखी र अरु दुःखी होउन् भन्ने चाहँदैनौं। त्यो औंलाले हाम्रा लागि के गरिदिन्छ भन्ने कुराले फरक पर्दैन। 

करुणा

मैत्रीले युक्त भएपछि हामी “करुणा” को भाव विकास गर्छौं। यो अरू दुःख र दुःखका कारणहरूबाट मुक्त होऊन् भन्ने कामना हो। यो केवल सतही दुःख र जीवनका उतार चढावसँग मात्र सम्बन्धित छैन, अनियन्त्रित तवरले भैरहने बारम्बारको पुनर्जन्म जस्ता गहन स्तरका दुःखहरूसँग पनि सम्बन्धित छ। करुणायुक्त हुनुको मतलब यो होइन कि हामी अरूलाई दयनीय ठान्दछौं र “अहो, बिचरा तपाईं” भन्दै तिनीहरूप्रति दुःख व्यक्त गर्दछौं। बुद्धधर्मको करुणा अरूप्रति सम्मानले युक्त हुन्छ, उनीहरू सबै दुःख तथा दुःखका कारणबाट मुक्त हुन सक्छन् भन्ने अनुभूतिमा आधारित हुन्छ। यसमा केवल केही राम्रो इच्छा वा मोहक शब्दहरूको प्रयोग मात्र गरिँदैन। करुणाले युक्त भएर हामी यथार्थमै दुःखबाट मुक्त अवस्थामा लैजाने जिम्मेवारी लिन्छौं। यो अत्यन्तै ठूलो साहसको कुरा हो। 

त्यसपछि जब “महाकरुणा” को विकास गर्छौं, हाम्रो करुणा सबै सत्त्वप्रति एकै समान लक्षित हुन्छ र उनीहरू सबैलाई एक जिम्मेवार र स्नेही आमाले आफ्नो एकमात्र बच्चाको ख्याल गरेजस्तै ख्याल गर्छ। यस्तो महाकरुणाले हरेक सत्त्वलाई थप दुःख पाउनबाट जोगाउने भावना राख्छ।  

असाधारण संकल्प

त्यसपछिको चरणमा हामीले आफ्नो मनमा “असाधारण संकल्प” को विकास गर्नुपर्ने हुन्छ। यो संकल्प खासमा त्यस्तो दृढ निश्चय हो जहाँ हामी अरूलाई सामान्य वा अलि गहन स्तरमा सहयोग गर्नेसम्मको मात्र जिम्मेवारी लिँदैनौं। अपितु, उनीहरूलाई बुद्धले जस्तै पूर्ण बोधि हासिल गर्न सहयोग गर्नेसम्मको जिम्मेवारी लिन्छौं। यो हाम्रो आशय मात्र हुँदैन, अपितु हाम्रो पक्का अठोट हुनेछ ः हामी त्यो काम गरेरै छाड्नेछौं।  

बोधिचित्त : सबैको हितका लागि बोधि प्राप्त गर्ने लक्ष्य

यो क्रमको अन्तिम चरण “बोधिचित्त” को अवस्था विकसित गर्ने हो। यो त्यस्तो अवस्था हो जो प्रेम, करुणा र असाधारण संकल्पमा आधारित हुन्छ। हामी जान्दछौं कि अरू सबै सत्त्वको सहायता गर्नसक्ने हुनका लागि सबैभन्दा उत्तम उपाय स्वयं आफैंले बुद्धत्व हासिल गर्ने हो। तर यो आकांक्षा तबमात्र व्यावहारिक हुनसक्छ जब हामी बुद्ध के हो, बुद्धले अरूलाई कुन प्रकारले सहयोग गर्न सक्छन् वा सक्दैनन्, जान्दछौं। यो याद राख्नु जरुरी छ कि बुद्ध कुनै सर्वशक्तिमान परमेश्वर होइनन् जसले चुटकी बजाएको भरमा हरेक जीवको दुःख भगाउन सकुन्। एक बुद्धले निश्चय नै अरूलाई बाटो देखाउन सक्छन् र उनीहरूलाई प्रेरित गर्न सक्छन्। तर सबै काम हामी आफैंले गर्नुपर्ने हुन्छ। अरू कसैले हाम्रा लागि यथार्थको बोध हासिल गरिदिने होइन, यो बोध त हामी स्वयंले आफ्ना लागि हासिल गर्नुपर्छ। 

मैत्री र करुणा भावले प्रेरित बोधिचित्तमा हामी भविष्यमा बोधिलाभ गर्ने कुरामा केन्द्रित हुन्छौं। यहाँ हामी आफ्नै बोधिको कुरा गर्दैछौं, शाक्यमुनि बुद्धको वा अरू कसैको बोधिको होइन। हामीले बोधिलाभ गरिसकेका छैनौं, तर त्यो सम्भव छ किनकि हाम्रो चित्तमा तथागतगर्भका गुणहरू छन्। यी गुणहरूमा हाम्रो आधारभूत शुद्ध प्रकृति र यसका सबै क्षमता तथा संभाव्यताहरू पर्छन्। सबै सत्त्वको सकेसम्म हित गर्नका लागि हामी आफ्नो बोधिमा ध्यान दिन्छौं जुन अझै हासिल गर्न बाँकी छ। बोधि प्राप्तितर्फको यात्रामा हामी अरू सत्त्वको सकेसम्म हित गर्ने उद्देश्य राख्छौं। 

यही बोधिचित्त हो। यो वास्तवमा चित्तको एकदमै विशालताको अवस्था हो। यसलाई केवल मैत्री र करुणा भावमा गरिने ध्यानको रूपमा मात्र बुझ्नु हुँदैन। यो त्यति मात्र होइन। मैत्री र करुणा यसका आधार मात्र हुन्, बोधिचित्त त्योभन्दा निकै व्यापक हुन्छ। 

६ पारमिताको अभ्यास

हामीले चर्चा गर्यौं, उन्नत तहको अभ्यासको उद्देश्य बुद्धकै अवस्था हासिल गर्नु हो, ताकि हामी अरूलाई सकेसम्म धेरै मद्दत गर्न सकौं। यस चरणमा हामी मैत्री, करुणा र असाधारण दृढ संकल्पबाट प्रेरित हुन्छौं। तर वास्तवमै यस्तो बोधि कसरी प्राप्त गर्ने? यस प्रश्नको उत्तरका लागि हामीले “६ पारमिता” को चर्चा गर्नुपर्छ। यसलाई मैले प्रायः “६ व्यापक क्षमता” को रूपमा अनुवाद गर्ने गरेको छु। मलाई यो अभिव्यक्ति मन पर्छ किनकि यी क्षमताहरूको दायरा एकदम व्यापक छ, जसले हामीलाई बुद्धजस्तै बोधिको अवस्थातिर लैजान्छ। तर “पारमिता” शब्दको प्रयोगले यो क्षमता एकदमै पूर्णरूपमा विकसित हुनुपर्छ भन्ने सोचाई आउन सक्छ, जुन हुँदैन। त्यसबाट हीनभावना उत्पन्न हुन सक्छ। यस्तो भावना उत्पन्न गर्नु पारमिताको तात्पर्य होइन। 

दान पारमिता

हामीले विकसित गर्नुपर्ने पहिलो पारमिता दान हो। दान भनेको केवल हामीले दिने भौतिक चीज मात्र होइन, यसमा त परामर्श, शिक्षा अथवा डरबाट मुक्ति जस्ता कुरा पनि पर्छन्। यदि हामीसँग दिनको लागि कुनै भौतिक चीज छैन भने पनि अरूलाई चाहिने जति दिन तयार भइरहने मनोभाव विकसित गर्छौं। हामीले दिन सक्ने अर्को उपहार अरूप्रति हाम्रो व्यवहारको रूपमा हुन सक्छ। हामीले समताको भावना विकसित गरेका हुन्छौं त्यसैले अरूहरू हामीसँग डराउनुपर्ने कुनै कारण छैन। हामी अरूसँग रिसाउनेछैनौं, भावनात्मक रूपमा तिनीहरूमा निर्भर हुँदैनौं, र उनीहरूबाट केही पनि पाउने आशा गर्दैनौं। यदि अरूले हामीलाई मन नपर्ने केही काम गरे भने पनि तिनीहरूलाई बेवास्ता गर्ने वा अस्वीकार गर्ने छैनौं। यस बाहेक, हामी तिनीहरूलाई सही अर्थमा र इमान्दारीसाथ सहयोग गर्ने प्रयास गर्नेछौं। वास्तवमा यो हामीले अरूलाई दिन सक्ने एउटा अद्भूत उपहार हुनेछ, जुन हामी उदारताको भावनाका साथ अर्पण गर्दछौं।

शील पारमिता

अर्को पारमिता शील (नैतिक आत्म–संयम) हो, जहाँ हामी विनाशकारी व्यवहार नगर्ने, र सकेसम्म सकारात्मक व्यवहार गर्ने अभ्यास गर्छौं। अध्ययन, ध्यान, र अरुलाई मद्दत गर्न आवश्यक हुने आत्मानुशासनको पालना गर्दछौं। अरूलाई मद्दत गर्ने काममा हरेस खाँदैनौं, र मद्दत गर्न मन लागेन भन्दैमा उनीहरूलाई बेवास्ता गर्दैनौं।

क्षांति पारमिता 

क्षांतिको अर्थ नरिसाई वा निराश नभई दुःख र कठिनाइ सहन सक्ने क्षमता हो। आफैंलाई सुधार्ने र अरुलाई सहयोग गर्ने प्रयास पक्कै पनि सजिलो हुँदैन। धेरै व्यक्तिहरू त्यस्ता हुन्छन् जसलाई मद्दत गर्न सजिलो छैन। तिनीहरूले हाम्रा लागि समस्या खडा गर्न सक्छन्। त्यसैले हामी धैर्यवान हुनु आवश्यक हुन्छ ताकि हामी रिसबाट टाढै रहन सकौं। अन्य पारमिता जस्तै क्षांति पारमिताको अभ्यासका लागि पनि धेरै विधिहरू उपलब्ध छन्। 

वीर्य पारमिता

अर्को अभ्यास वीर्य पारमिताको हो। यसको अर्थ लगनशीलता हो, जसमा हामी जति कठिनाइको सामना गर्नुपरे पनि हार मान्दैनौं। यहाँ हामी वीर नायकले जस्तो विशाल व्यवहार गर्छौं। हामी पछि हट्दैनौं र अरूलाई सहयोग गर्न मन पराउँछौं। वास्तवमा अरूलाई सहयोग गर्ने अवसर पाउनु हाम्रा लागि ज्यादै खुसीको कुरा हुन्छ। यस्तो भावनाको विकास गर्ने शिक्षाहरू धेरै छन्, तिनमा हामीले कतिखेर प्रयास गर्ने र कतिखेर विश्राम लिने भन्ने पनि आउँछ। चाहिनेभन्दा बढी उत्साहित भयौं भने हामी कसैलाई सहयोग गर्न नसक्ने हुन्छौं। त्यस्तै आलस्यले पनि आत्म–सुधार र अरूलाई मद्दत गर्ने लक्ष्यमा बाधा पार्छ। त्यसका विभिन्न प्रकारहरू हुन्छन्, ती सबैको निराकरणका लागि पनि धेरै उपायहरू छन्।

ध्यान पारमिता

त्यसपछिको अभ्यासमा हामी मानसिक स्थिरता विकास गर्ने प्रयास गर्छौं। यो केवल एकाग्रतासँग सम्बन्धित छैन, भावनात्मक स्थिरता पनि यसको दायरा भित्र आउँछ। हाम्रो लक्ष्य भनेको एक स्थिर चित्तको विकास गर्नु हो जसलाई मानसिक भटकावले प्रभावित गर्दैन, जुन आकर्षक चीजहरूतिर बरालिँदैन, र जसलाई सुस्तता वा आलस्यले सताउँदैन। यस्तो चित्त हाम्रो इच्छित विषयमा केन्द्रित रहन्छ। उदाहरणका लागि, जब अर्को व्यक्ति हामीसँग कुरा गर्दैछन्, हाम्रो मनले अरू चीजहरूको बारेमा सोचिराख्दैन। स्थिरताको अर्थ अशान्तकारी आवेगहरूको चपेटामा नपर्नु पनि हो। हामी “मुड” को वशमा पर्दैनौं। यसको मतलब हामी चाहिनेभन्दा बढी संवेदनशील वा असंवेदनशील हुने होइन, अपितु सन्तुलित र स्थिर हुने हो।

प्रज्ञा पारमिता

६ पारमितामध्ये यो अन्तिम पारमिता हो। यो त्यस्तो क्षमता हो जसले अस्तित्वको यथार्थता र त्यसबारेको मिथ्या दृष्टिमा भेद गर्न सक्छ। यो विशिष्ट प्रकारको होश हो; प्रज्ञालाई अंग्रेजीमा “विज्डम्’ भनेर अनुवाद गर्दा अर्थ अलि अस्पष्ट हुन सक्छ। यहाँ हामी त्यस्तो होशको कुरा गर्दैछौं जसले कुनै चीजबारे हाम्रो धारणा कसरी असम्भव हो भन्ने जान्न सक्छ। यो शून्यताको बोधसँग सम्बन्धित छ। यहाँ हामी कुनै कुरा किन बेतुकको छ, कसरी त्यस्तो हुन सम्भव छैन, र कसरी त्यसको यथार्थसँग कुनै सम्बन्ध छैन भनेर भेद गर्छौं। 

हामी विभिन्न अभ्यास र विधिका माध्यमबाट यी ६ पारमिता, साधनाको लक्ष्य, प्रेरणा, संकल्प, र बोधिचित्तको विकास गर्छौं। यी सबै चीजहरू प्रेरणाको उन्नत स्तरको दायराभित्र आउँछन्।

सारांश

प्रेरणाको प्रारम्भिक स्तरको अभ्यासको जगमा हामी मध्यम स्तरमा प्रवेश गर्छौं र अझ उन्नत पुनर्जन्म प्राप्त गर्यौं भने पनि हाम्रो कष्ट अन्त हुनेछैन। हामीले अझै पनि समस्याहरूको सामना गर्नुपर्नेछ, हामी बिरामी हुनेछौं, मर्नेछौं, र फेरि पनि हामी त्यस्तै सम्पूर्ण प्रक्रियाबाट गुज्रिनुपर्नेछ। र त्यसपछि पुनः उही प्रक्रिया दोहोर्याउनु पर्छ। यस निरन्तरको चक्रबाट हामी वाक्क हुन्छौं। अनियन्त्रित ढंगमा बारम्बार हुने यी पुनर्जन्महरूबाट कुनै विशेष कुरा हासिल गर्न सकिँदैन भन्ने जान्दछौं। त्यसैले हामी यी सबैबाट मुक्तिको लक्ष्य राख्छौं।

हामी त्यसपछि प्रेरणाको उन्नत स्तरमा पुग्छौं। म नै सबैभन्दा महत्त्वपूर्ण व्यक्ति हुँ र म नै यो ब्रह्माण्डको केन्द्रबिन्दु हुँ भनेर सोच्न छाड्छौं। हामी यो जान्दछौं कि सबैजना खुशी हुन चाहन्छन् र दुःखबाट जोगिन चाहन्छन्। यो अर्थमा उनीहरू सबै हामीजस्तै हुन्। त्यति मात्र होइन, हामी यो पनि जान्दछौं कि सबै जनाले विगत र वर्तमान जन्महरूमा हामीप्रति औधी दयालु व्यवहार गरेका हुन्छन्। यदि उनीहरू नभएको भए हामीले खाने र पिउने कुरा पाउने थिएनौं, न त केही पढ्न र लेख्न नै पाउने थियौं। हामी पसलमा सामान किन्न जान वा चलचित्र हेरेर आनन्द लिन सक्ने थिएनौं। हामी केही नै गर्न सक्ने थिएनौं। अरूको उदारतालाई बेवास्ता गर्नु लाजमर्दो कुरा हो भन्ने बोधका साथ हामी सबैप्रति मैत्री र करुणा भावबाट प्रेरित बोधिचित्तको विकास गर्छौं। सबैको हितको लक्ष्य लिएर आफैँ बोधि प्राप्त गर्ने आकांक्षा राख्छौं।

Top