रियल थिंग धर्मका लागि प्रेरणाका तीन तह
लाम–रिममा प्रेरणालाई तीन तहमा प्रस्तुत गरिएको छः
- पहिलो तह – यसमा हामी भविष्यको एउटा जन्म मात्र होइन, सबै पुनर्जन्महरूमा उन्नत अवस्थाको प्राप्ति सुनिश्चित गर्ने कोणबाट सोच्छौं।
- मध्यम तह – यसमा हामी अनियन्त्रित तवरले हुने पुनर्जन्महरूको शृंखलाबाट पूर्ण मुक्ति चाहन्छौं, अर्थात् हामी निर्वाण चाहन्छौं।
- उच्च तह – यसमा हामी सम्यक सम्बुद्ध बन्ने लक्ष्य राख्छौं, ताकि अन्य सबैलाई पनि अनियन्त्रित तवरले हुने पुनर्जन्महरूको शृंखलाबाट मुक्त हुन सहयोग गर्न सकौं।
यी तीनै तह पुनर्जन्मको विश्वासमा आधारित छन्। तर हामीले अगाडि चर्चा गरेजस्तै यी तीनवटै तहका लागि प्रस्तुत अभ्यास विधिहरू धर्म–लाइटको स्तरमा पनि प्रयोग गर्न सकिन्छ। प्रेरणाका यी तीन तहहरूलाई हामीले त्यत्तिकै सामान्य भन्ठानेर छाड्नु हुँदैन, यदि तिनमा इमान्दारीपूर्वक काम गर्न सक्यौं भने ती निकै उत्कृष्ट सावित हुनेछन्।
मृत्यु र अनित्यताको चिन्तन गर्दै आफूलाई प्राप्त अमूल्य मौकालाई गुम्न नदिनु
यो प्रारम्भिक तहको साधनामा हामीले मनन गर्नुपर्ने दोस्रो कुरा के हो भने यो अमूल्य मानव जीवन सधैँभरी रहनेवाला छैन। यो जीवनमा हाम्रो अवस्थामा परिवर्तन त आउँछ नै, तर त्योभन्दा महत्त्वपूर्ण, हामी एकदिन मर्छौं। त्यसैले मृत्युमाथि थुप्रै ध्यान साधनाहरूको विकास भएको छ। हुनत कतिपय समुदायमा मृत्युलाई वर्जित विषय मानिन्छ र त्यसमाथि चर्चा गरिँदैन। कुनैबेला हामी सबै मर्छौं, यो कुरालाई स्वीकार गर्न गाह्रो हुन्छ। हाम्रा प्रियजन, चिनेजानेका सबै, र हामी आफैं पनि मर्छौं। यो यथार्थ हो।
हामी सबै एकदिन मर्छौं, यो तथ्यलाई पुष्टि गर्ने प्रमाणहरू धेरै छन्। यो संसारमा कुनै बेला जीवित रहेका हरेक मानिसको मृत्यु भएको छ। हामी उनीहरूभन्दा विशेष हुनुपर्ने कुनै कारण छ? आखिर हामी जन्मेको कारणले नै मर्नु पनि पर्ने हो, अर्थात् हामी जन्मेका छौं भन्नुको अर्थ हामी मर्छौं भन्ने पनि निश्चित हुनु हो। बृद्धावस्थामा यो शरीर कमजोर हुँदै जान्छ र जीर्णशीर्ण हुन थाल्छ। यो शरीर हामीले सोचेजस्तो बलियो कदापि छैन, सजिलैसँग यसलाई चोट लाग्न वा हानि पुग्न सक्छ। यो कुरामा तर्क र विवेकको प्रयोग गर्दै चिन्तन गर्दा हामी यसको यथार्थमा विश्वस्त हुन सक्छौं र क्रमशः यो हाम्रो भावनात्मक स्तरमा उत्रिन्छ।
हामी मर्ने कुरा त निश्चित नै छ। तर कहिले, निश्चित छैन। यो कुरा चाहिँ हामी जान्दैनौं। मर्नका लागि बिरामी वा बुढो हुनुपर्छ भन्ने छैन। कैयौं व्यक्ति बिरामी नभैकन युवा र स्वस्थ अवस्थामै मर्छन्। हालै एक ठूलो हवाई दुर्घटना भयो। त्यो विमान चढ्नेबेला कसैले पनि दुर्घटना होला भन्ने सोचेको थिएन होला। हामीलाई बाटोमा कुनै पनि बेला बसले ठक्कर दिन सक्छ। मेरा एक अनन्य मित्रको दुई हप्ताअघि मात्र हृदयाघातका कारण निधन भयो। उनी भर्खर ५४ वर्ष पुगेका थिए। उनको स्वास्थ्य एकदमै राम्रो थियो।
मृत्यु कुनै बेला पनि घटित हुन सक्छ भन्ने कुरालाई स्थापित गर्ने प्रमाण धेरै छन्। मृत्युले हामीलाई कहिले यसले भोजन गरिसक्ला वा गर्दै गरेको काम सम्पन्न गरिसक्ला भनेर कुर्दैन। मृत्यु आइहाल्यो भने हामी त्यसलाई “एकछिन पर्ख है, म यो काम पहिला सकिहाल्छु” भन्न पाउँदैनौं। मृत्यु आयो भने त आयो, हाम्रो जीवन समाप्त भैहाल्छ। जब हाम्रो जीवनकाल सकिन्छ, त्यसलाई केही गरेपनि लम्ब्याउन सकिँदैन। मृत्युलाई घुस पनि खुवाउन सकिँदैन। कुनै चिकित्सकीय यन्त्रको मद्दतले हामी आफ्नो शरीरलाई केही समय जोगाउन सकौंला, तर त्यस्तो सागसब्जी जस्तो अवस्थामा बस्नुको अर्थ के होला र! फेरी त्यसै गरेपनि कुनै विन्दुमा हाम्रो जीवनलीला त सकिन्छ नै।
मृत्युको सन्दर्भमा ध्यान दिनुपर्ने तेस्रो कुरा, जुनबेला हाम्रो मृत्यु हुन्छ, त्योबेला सबैभन्दा उपयोगी चीज के हो, जान्नुपर्छ। आफूसँग भएका पैसा, साथीहरू, वा परिवार कसैलाई पनि हामी साथमा लैजान सक्दैनौं। एक पिरामिड नै बनाएर मृत्युपश्चात ती सबैलाई त्यहाँ आफूसँगै टाँसेर राखेपनि ती हामीसँग जाने होइनन्। बुद्धधर्मका हिसाबले हाम्रो लागि सहयोगी हुन सक्ने एउटै मात्र कुरा भनेको आफ्नो चेतनाको निरन्तरतामा जुन सकारात्मक प्रवृत्तिहरूको विकास गरेका छौं, त्यो मात्र हो।
हुनसक्छ हामीले जीवनमा धेरै सकारात्मक काम गरेका छौं र अरुलाई धेरै सहयोग गरेका छौं। आफ्नो रिस, स्वार्थीपना आदि विकारहरू कम गरी आध्यात्मिक मार्गमा निकै प्रगति गरेका छौं। यस्तो कामले चाहिँ हाम्रो चित्तको निरन्तरतामा निकै गहिरो छाप पारेको हुन्छ। धर्म–लाइटको तहबाट सोच्दा यसको परिणामस्वरूप हामी कुनै पश्चात्तापबिना शान्तिपूर्वक प्राण त्याग्न सक्छौं। हामीले एक सार्थक र सकारात्मक जीवन बाँच्यौं, आफ्ना प्रियजनको हेरविचार गर्यौं, र बृहत्तर रूपमा समाजमा कुनै योगदान गर्यौं भन्ने सन्तुष्टि हुन्छ। “मैले एक असल र सार्थक जीवन बाँचे” भन्ने सोच र भावका साथ हामी मनमा शान्तिको अनुभव गर्छौं।
रियल थिंग धर्मको तहबाट सोच्दा हाम्रो चित्तको निरन्तरतामा रहेका यी सकारात्मक बानी, झुकाव र प्रवृत्तिहरू आगामी जन्महरूमा पनि निरन्तर रहनेछन् भन्ने आत्मविश्वासका साथ मर्न सक्छौं। “आगामी जन्महरूमा पनि म यो अनमोल मानव जीवन प्राप्त गर्नेछु। म एक असाध्यै सकारात्मक प्रवृत्तिको बालकका रूपमा जन्मनेछु,” यस्तो भावका साथ हामी मर्न सक्छौं। आफ्नो वरपरका बालबालिकामा यो कुरा हामी देख्न सक्छौं। बाल्यावस्थामा कोही रोइरहने वा रिसाइरहने खालका हुन्छन् भने कोही शान्त र दयालु स्वभावका हुन्छन्। यो उनीहरूले पूर्वजन्ममा संग्रहित गरेको सकारात्मक प्रवृत्तिको कारणले हो। मर्ने बेलामा शान्त चित्त भयो भने त्यो हाम्रा लागि धेरै सहयोगी हुन्छ। त्यतिखेर बैंकमा जम्मा भएको पैसाले हामीलाई कुनै सहयोग गर्दैन। मृत्युशय्यामा पुगेका बेला बैंकमा जति पैसा भए पनि ती फगत कम्प्युटर स्क्रिनमा देखिने अंकहरू मात्र हुनेछन्।
मृत्यु ध्यान
यी सब कारणले गर्दा हामी मृत्यु ध्यान गर्छौं। यसमा आजको दिन नै हाम्रो अन्तिम दिन हो भनेर कल्पना गर्छौं, र आफैंलाई प्रश्न गर्छौं – के म कुनै पनि क्षण मृत्युवरण गर्न तैयार छु? यदि म आजै मरे भनेँ आफूले बाँचेको जीवनप्रति मलाई पश्चात्ताप त हुने छैन? यस्तो चिन्तनको प्रयोजन हामीलाई निराश बनाउने होइन, बरु अनमोल मानव जीवन र यसले प्रदान गरेका मौकाहरूको यथाशक्य उपयोग गर्ने दिशामा प्रेरणा प्रदान गर्नु हो। यो नै मृत्यु ध्यानको उद्देश्य हो। हामी प्रत्येक दिन बुढो मात्र भैरहेका छैनौं, हरेक क्षण आफ्नो मृत्युको नजिक पनि पुगिरहेका छौं। एक दिन बित्नु भनेको हामीले बाँच्ने एक दिन कम हुनु हो। हाम्रो समय सकिँदैछ, र अब कति समय बाँकी छ, हामीलाई थाहा छैन। त्यसैले हामी आफ्नो बाँकी समय नष्ट नगर्न र जीवनको अधिकतम सदुपयोग गर्न चाहन्छौं। होइन भने मर्ने बेला मैले त यो जीवन व्यर्थै खेर फालेँ, मैले धेरै गर्न सक्थेँ तर गरिनँ भन्ने भाव आउन सक्छ। मर्ने बेलामा चित्तमा त्यस्तो भाव आउनु भनेको एकदमै दुर्भाग्यपूर्ण अवस्था हो।
“म आफूलाई प्राप्त यो अवसर गुमाउने छुईंन,” हामीले यस्तो चित्तावस्थाको निर्माण गर्नुपर्छ तर सन्तुलित तवरबाट। अतिवादी काम गर्न छाड्नुपर्छ, भयबाट मुक्त हुनुपर्छ, आफ्नो कार्य वा ध्यान अभ्यास रोकिएला कि भन्दै डराएर बस्न हुँदैन। आफूलाई हलुकासँग छाडिदिनु पर्छ र आवश्यक परेमा अभ्यासबाट केही बेर विश्राम पनि लिनु पर्छ ताकि हामीसँग अभ्यास जारी राख्ने उर्जा बाँकी नै रहोस्। मलाई मनपर्ने एक जेन कोअन छ ः “मृत्यु जुन बेला पनि घटित हुन सक्छ। त्यसैले निश्चिन्त होऊ।” यो कुरालाई अलि ध्यान दिएर सोचौं, यो निकै अर्थपूर्ण छ। हामी जुनसुकै बेला पनि मर्न सक्छौं। तर यो कुरालाई लिएर तनावग्रस्त हुनु र अतिवादी व्यवहार गर्नुले आफ्नो हानि मात्र गर्छ।
आफूलाई प्राप्त यो अद्वितीय मूल्यवान मानव जीवनको सकेसम्म सदुपयोग गर्नु नै यो ध्यानको मूल मर्म हो। तर यस्तो प्रयास सन्तुलित हिसाबको हुनुपर्छ। जब आवश्यक नै हुन्छ, तब विश्राम गर्ने, तर अरुबेला इमान्दारीपूर्वक काम गर्ने। साँच्चिकै थकित भएको हो कि अल्छी मात्र लागेको हो, ध्यान दिने। आफ्नो ध्यानको प्रेरणालाई चित्तमा धारण गरिराख्ने प्रयास गर्नुपर्छ।
मृत्यु ध्यान धर्म–लाइट र रियल थिंग धर्म दुवैको स्तरमा उपयोग गर्न सकिन्छ। कुनै काम सम्पन्न गर्नुछ, वा कसैप्रति आफ्नो माया अभिव्यक्त गर्नुछ, वा उनीहरूले गरेका कुनै कामप्रति धन्यवाद दिनुछ, वा कसैसँग क्षमा माग्नुछ अथवा मेलमिलाप गर्नुछ भने त्यसका लागि पर्खेर नबसौं। गर्ने काम गरिहालौं किनकि त्यो व्यक्ति भोली हामीमाझ नहुन सक्छ अथवा हामी आफैं पनि नरहन सक्छौं। धर्म–लाइटको स्तरमा मृत्यु–स्मरणको शिक्षालाई हामी यसरी लिन सक्छौं। जुनसुकै स्तरमा होस्, मृत्युलाई नकार्नुभन्दा यसका लागि तैयार भएर बस्नु धेरै सहयोगी हुन्छ। ध्यानमा हामी आफ्नै मृत्यु भएको, दाहसंस्कार भैरहेको आदिको पनि कल्पना गर्न सक्छौं, यसले मृत्युको सत्यलाई चिन्न हामीलाई सहयोग गर्छ। तर हामीले यो ध्यान गर्दा त्यसैमा मात्र घोरिएर बस्ने, त्रसित वा उदास हुने चाहिँ गर्नुहुँदैन।
मृत्युपश्चात निकृष्ट पुनर्जन्म हुनसक्ने भयपूर्ण अवस्थाको स्मृति विकसित गर्नु
त्यसपछि हामी आफ्नो मृत्युपश्चात के हुन्छ, त्यसको चिन्तन गर्न थाल्छौं। यहाँनेर हामीले लिनसक्ने सम्भावना भएका निकृष्ट पुनर्जन्महरूको विवरण प्रस्तुत गरिएको हुन्छ। यस्तो सम्भावनालाई किन गम्भीरतापूर्वक लिनुपर्छ भन्ने कुरा पनि उल्लेख गरिएको हुन्छ। यो कुरा पनि बुझ्न त्यति सजिलो छैन, किनकि बुद्धधर्ममा प्रस्तुत गरिएका पुनर्जन्महरूको प्रकारमा पशुहरू मात्र पर्दैनन्, हामीले प्रत्यक्ष देख्न नसक्ने अनेक रूपहरू पनि पर्छन्।
पशुको रूपमा हुने पुनर्जन्मको सन्दर्भमा के याद राख्नुपर्छ भने यस्तो पुनर्जन्म सबैप्रकारका किराफट्यांग्रा, माछा लगायत जन्तुजगतका जुनसुकै योनीमा पनि हुनसक्छ। जन्तुजगतमा पुनर्जन्म हुँदा कतिसम्म निकृष्ट अवस्था हुनसक्छ, कतिसम्म भय र पीडाबाट गुज्रिनुपर्छ भन्ने कुराको धेरै उदाहरण देख्न पाइन्छ। पक्कै पनि यस्तो पशुयोनीको जन्ममा हामी कुनै आलिशान बंगलामा नङपालिस लगाएर पुल्पुल्याएर राखिएको कुकुरको कल्पना गर्दैनौं। यसमा हामी ती सांग्ला र मुसाजस्ता जीवको कल्पना गर्छौं जसलाई सबैले घृणा गर्छन्। स–साना किराफट्यांग्रा र माछाहरू जसलाई ठूला जीवले जीउँदै खाइदिन्छन्, जनावरहरू जसलाई मानिसले औद्योगिक रूपमा पालन र वध गर्छन्, तिनको स्मरण गर्छौं।
भविष्यमा हुनसक्ने यस्ता निकृष्ट जन्मसँग सम्बन्धित मनोभावलाई अंग्रेजीमा अनुवाद गर्दा “फियर” (भय) शब्दको प्रयोग गरिएको छ। तर त्यो शब्दले यसलाई ठीकसँग प्रतिनिधित्व गर्छ जस्तो मलाई लाग्दैन। यसले अब कुनै उपाय छैन, हामी केही गर्न सक्दैनौं भन्ने अर्थ दिन्छ, तर कुरा त्यसो होइन। हामी प्रयत्नपूर्वक त्यस्तो अवस्थालाई पन्छाउन सक्छौं। त्यसैले म यसका लागि अंग्रेजीमा “ड्रेड” ९अत्यास० शब्दको प्रयोग गर्छु। यसको अर्थ के हो भने हामी वास्तवमै र प्रबल रूपमा त्यस्तो निकृष्ट अवस्थाबाट बच्न चाहन्छौं।
उदाहरणका लागि, मानिलिउँ हामीलाई आफ्नो कार्यालयको एक दिक्कलाग्दो मिटिङमा जानु छ। त्यो बेला हामीलाई मिटिङमा बस्न पटक्कै मन लाग्दैन। त्यो अरुचिकर र अप्रिय हुन्छ, त्यसैले हामीलाई त्यहाँ जान अत्यास लाग्छ। तर हामी भयभीत चाहिँ हुँदैनौं। हामीले विकास गर्ने मनोभाव यस्तै अत्यासको हो। अहिलेको यो अनमोल मानव जीवन कुनै बेला पनि गुम्न सक्छ। त्यसैले यसको यथासक्य सदुपयोग गर्न खोज्छौं, र अर्को जन्ममा साङ्लाको रूपमा जन्मिनु नपरोस् भनेर प्रयास गर्छौं। साङ्लाको रूपमा जन्मिनु निकृष्ट कुरा हो, जुन हामीलाई विल्कुलै मन पर्दैन। त्यसैले त्यसबाट बच्न हामीले केही त गर्नैपर्छ।
रियल थिंग धर्ममा हामी पशु र कीटपतंगको रूपमा हुने जन्मको मात्र चर्चा गर्दैनौं, अपितु प्रेत र नरक लोकहरूमा हुने जन्मको पनि चर्चा गर्छौं। यस्तो चर्चा गर्दा हामी लज्जित हुनुपर्ने केही कुरा छैन, बुद्धधर्ममा यसलाई चर्चा गर्न नमिल्ने भनेर लुकाउने काम गरिँदैन। यदि यो कुरा पत्यार लाग्दैन भने हामी आफ्नो मनलाई खुला राख्छौं, र भन्छौं, “म अहिले यो कुरा राम्रोसँग बुझ्दिनँ।”
मनुष्य इतरको जन्मलाई कसरी बुझ्ने
यसलाई हामी सतत चेतसिक प्रक्रिया, अर्थात् निरन्तर केही न केही अनुभव गरिरहने प्रक्रियाको रूपमा बुझ्न सक्छौं। प्रत्येक क्षण एक प्रकारको मानसिक होलोग्राम उत्पन्न भैरहेको हुन्छ जसलाई हामी कुनै कुरा देख्नु वा सोच्नु वा त्यसका बारेमा जान्नुका रूपमा बुझ्छौं। प्रत्येक क्षणमा हुने अनुभव सँगसँगै खुशी वा बेखुशीको भाव आउन सक्छ। वास्तवमा हामीलाई कम्प्युटरभन्दा भिन्नै बनाउने तत्त्व पनि यही हो। कम्प्युटरभित्र पनि सूचनाको संग्रह हुन्छ, जसलाई यसले जान्दछ र त्यसलाई सञ्चालन गर्छ। तर कम्प्युटर खुशी वा बेखुशी हुन सक्दैन। यसले आफूसँग भएको सूचनालाई मानिसले जसरी अनुभव पनि गर्न सक्दैन। खुशी वा बेखुशीको भावलाई आफूले गरेको अनुभव भनेर जान्दछौं। यस्तो खुशी वा बेखुशीको भावको दायरा एकदमै व्यापक हुन्छ। कतिसम्म त्यसको अनुभव गर्न सक्छौं, त्यो हामीसँग उपलब्ध हार्डवेयरमा भर पर्छ। अर्थात्, हाम्रो शरीरको प्रकारमा निर्भर गर्छ।
यसलाई खुशी वा बेखुशीको स्तरमा मात्र नभै हामीसँग उपलब्ध सबै ज्ञानेन्द्रियहरूले गर्ने अनुभवको स्तरमा पनि बुझ्न सकिन्छ। केही मानिसले अरुभन्दा टाढासम्म देख्न सक्छन्। कसैले अरुभन्दा राम्रोसँग सुन्न सक्छन्। केही मानिससँग तातो वा चिसो सहन सक्ने क्षमता अरुभन्दा बढी हुन्छ। पशुहरूको कुरा गर्ने हो भने कुकुरले मानिसलेभन्दा धेरै उच्च फ्रिक्वेन्सीको ध्वनि सुन्न सक्छ, किनकि यसको शरीरको प्रकार मानिसको भन्दा भिन्न छ। त्यसैले यसको हार्डवेयर पनि भिन्न छ। त्यस्तै एक चीलले आफ्नो दुरदृष्टिबाट मानिसभन्दा कैयौं गुणा परको चीज पनि देख्न सक्छ। यसरी हाम्रा विभिन्न ज्ञानेन्द्रियहरूको क्षमता अनुसार तिनले गर्ने अनुभव फरक हुन सक्छ भने हामीले गर्ने खुशी वा बेखुशीको अनुभव पनि फरक फरक स्तरको हुन नसक्ला र?
एवं रीतले हामी आराम र पीडाको पनि चर्चा गर्न सक्छौं, यद्यपि तिनीहरू खुशी र बेखुशीभन्दा फरक हुन्छन्। खुशी र बेखुशी मानसिक भोगाइ हुन् भने आराम र पीडा अर्थात् अंग्रेजीमा भनिने “प्लेजर” र “पेन” अक्सर शारीरिक भोगाइ हुन्छन्। मानिसको हार्डवेयरको कुरा गर्दा शारीरिक पीडा असाध्यै ज्यादा भयो भने हामी बेहोश हुन्छौं। भावनात्मक पीडामा भने हामीलाई ठूलै आघात पर्न सक्छ, र शरीर बिल्कुलै बेकामे हुन सक्छ।
अर्कातर्फ, शारीरिक आराम वा सुखको कुरा चाहिँ अलि रोचक छ। तपाईंलाई चिलाइरहेको छ भने खासमा त्यो अत्यधिक सुखपूर्ण संवेदना हो। यसमा पीडा पटक्कै हुँदैन। बरु यो सुखको अतिरेक हो, जसलाई अनायासै कन्याएर हामी नष्ट गरिदिन्छौं। कुनै कुनै असाध्य छालारोगमा यस्तै चिलाउने गर्छ। तर यदि कन्याउँदा घाउ बिग्रन्छ भने हामी चिलाइलाई त्यत्तिकै आरामपूर्वक छाडिदिन्छौं, त्यसैमा आनन्द लिएर बस्छौं। तर यो एकदमै उच्चकोटीको र कठिन अभ्यास हो। यद्यपि यसो गर्नु सम्भव छ। यौनसुखको उदाहरण लिने हो भने यो जति सघन हुँदै जान्छ, हामी त्यति यसको चरमतातिर जान र चरमसुख पाउन तथा स्खलित हुन खोज्छौं। यसले उक्त सुखको अन्त गर्छ।
यसरी हामी देख्छौं, हाम्रो यो मानव शरीरको हार्डवेयरले खुशी र बेखुशी वा आराम र पीडाको व्यापक दायराको एक निश्चित भाग मात्र अनुभव गर्न सक्ने रहेछ। पशुहरूले दृश्य वा श्रवणजस्ता ऐन्द्रिक अनुभव अझ व्यापक दायरामा गर्नसक्छन्, त्यो पनि हामीले चर्चा गर्यौं। त्यसैले यही तर्कका आधारमा पनि त्यस्तो हार्डवेयर हुन सम्भव छ जसले पीडा, आराम, खुशी वा बेखुशी अझ व्यापक स्तरमा अनुभव गर्न सकोस्। त्यसो हुन नसक्ला र?
एकपछि अर्को जीवनको निरन्तरतामा जुन चेतसिक क्रियाकलापको निरन्तरता छ, हामी त्यसको चर्चा गर्दैछौं। यसले पीडा र दुःखको अतिरेकबाट सुख र खुशीको अतिरेकसम्मको सम्पूर्ण दायरालाई अनुभव गर्न सक्दैन भन्ने कुनै आधार छैन। हामीसँग कुनै जीवनकालमा कस्तो हार्डवेयर उपलब्ध छ, फरक केबल त्यसको मात्र हो। बुद्धधर्ममा हामीले देख्न नसक्ने जुन यावत् लोक र जीवको चर्चा छ, त्यससम्बन्धमा खुला मन राख्नु र तिनको अर्थ के हो भनेर बुझ्न खोज्नु नै तर्कसंगत मार्ग ठहरिन्छ। हामीले त्यसै त अमिवा पनि देख्न सक्दैनौं, तर सूक्ष्मदर्शक यन्त्र जस्तो वैज्ञानिक उपकरणका सहायताले अमिवालाई देख्न र यसलाई जीवनको एक रूप हो भनी स्वीकार्न सक्छौं। त्यस्तै, प्रेतहरूलाई देख्न नसकौंला, तर चित्तको उचित विकास हुन सक्यो भने देख्न पनि सकिएला।
धर्म–लाइटले अन्य सबै लोकहरूलाई मानव जीवनमै हुने अनुभवहरूको रूपमा हेर्छ। उदाहरणका लागि कुनै व्यक्तिले असाध्यै मानसिक अशान्तिको अनुभव गरिरहेको हुन सक्छ, अर्थात् उ अहिले नर्कमा छ। त्यो अवस्था देखेर हामी उप्रति समानुभूतिको विकास गर्न सक्छौं, र आफूले भविष्यमा त्यस्तो अवस्था भोग्नु नपरोस् भनी कामना गर्छौं। धर्म–लाइटको स्तरमा यो ठीकै छ। रियल थिंग धर्मको स्तरमा चाहिँ वर्तमान मानव जीवनको अनुभवको मात्र कुरा गरिँदैन, यहाँ त चित्तको निरन्तरतामा आधारित भई हामी स्वयं र अरु सबैले भोग्नसक्ने अवस्थाहरूको चर्चा गरिन्छ। हाम्रो चित्तको निरन्तरतामा खुशी हुनेदेखि दुःखी हुनेसम्म र आराम देखि पीडासम्मका अनुभवको व्यापक दायरा पर्न सक्छन्। हामी पक्कै पनि एक सीमित दायरामा मात्र खुम्चेर कुरा गर्दैनौं र भविष्यमा भोग्न सकिने त्रासदीपूर्ण अवस्थाको मात्र चर्चा गर्दैनौं। यो कुरा त स्पष्ट छ।
यसबाट बच्न सकिने कुनै उपाय छ त? मूल प्रश्न यही हो। प्रथमतः हामीले आफ्नो जीवनलाई एक सकारात्मक दिशा प्रदान गर्नुपर्ने हुन्छ, जसले यस्तो निकृष्ट पुनर्जन्मबाट बच्न हामीलाई सक्षम बनाउँछ। तर त्यति मात्र होइन, यस्तो सकारात्मक दिशाले हामीलाई निर्वाण र बुद्धत्वतर्फ नै लैजान्छ।
शरणगमनः जीवनको सुरक्षित बाटो
मलाई अंग्रेजीको “रेफ्युज” (शरण) भन्ने शब्द त्यति उत्तम लाग्दैन किनकि यसले ज्यादै निष्क्रियताको भाव दिएर भ्रमित तुल्याउन सक्छ। यहाँ हाम्रो तात्पर्य बुद्धलाई एक तारणहार मान्दै “हे बुद्ध, मलाई बचाउनुहोस्!” भन्ने होइन। न त यसको तात्पर्य हामीले आफूलाई वन्यजन्तु संरक्षण गृहमा राखिने संरक्षित पशुजस्तै बनाउनु हो। हाम्रो तात्पर्य क्रियाशीलता हो, निष्क्रियता होइन। म चाहिँ यसलाई आफ्नो जीवनलाई एक “सुरक्षित दिशा” प्रदान गर्ने प्रयत्न भन्छु। यो दिशामा हिड्यौं भने निकृष्ट पुनर्जन्म लिनबाट जोगिन्छौं, अनियन्त्रित रूपमा हुने पुनर्जन्मको क्रमलाई पूर्णतः बन्द गर्न सक्छौं, र अरुलाई प्रभावकारी ढंगले सहयोग गर्ने नसक्ने अवस्थाबाट मुक्ति पाउँछौं।
“धर्म” शब्दलाई बुद्धले प्रदान गर्नुभएको शिक्षाको रूपमा अनुवाद गर्ने गरिन्छ। यसको खास अर्थ चाहिँ निवारक उपाय हो। यो त्यस्तो चीज हो जसलाई हामी आफ्नो अभिन्न अंग बनाउँछौं, यसको सहयोगले भविष्यमा आइपर्ने समस्या र दुःखबाट मुक्ति पाउँछौं। यसलाई हामी आफ्नो जीवनमा समावेश गर्छौं, ताकि निकृष्ट पुनर्जन्म, पुनर्जन्मको चक्र, र अरुलाई सहयोग गर्ने असमर्थताबाट हामी आफैंलाई बचाउन सकौं।
बुद्धले संकेत गर्नुभएको यो सुरक्षित दिशा के होला? यो खासमा बुद्ध आफैंले प्राप्त गर्नुभएको अवस्था हो, जुन सम्पूर्ण बाधा, कमीकमजोरी, भ्रम, र क्लेशहरूको पूर्ण निरोधको अवस्था हो। साथै बुद्धले मानव चित्तले हासिल गर्नसक्ने सबै सकारात्मक क्षमता हासिल गर्नुभएको थियो। हामीले चर्चा गर्दै गरेको सुरक्षित दिशा यही हो। बुद्ध, धर्म र संघको अनमोल रत्न र तिनमा शरणको सुरक्षित दिशा लिनुको तात्पर्य पनि यही हो। धर्मको अर्थ बुद्ध आफैंले के हासिल गर्नुभयो र हामीले पनि त्यही अवस्था कसरी प्राप्त गर्न सक्छौं भन्ने शिक्षा हो। बुद्ध भनेको त्यो अवस्था सम्पूर्ण रूपमा हासिल गरेको व्यक्ति हो। संघ भनेको कुनै विहार वा बौद्ध केन्द्रमा बस्ने मानिसहरूको समूह मात्र होइन, यो त बौद्ध अभ्यासीको समूह हो। हुनत बौद्ध अभ्यासी हुनु मात्रले हामीलाई सुरक्षित दिशा प्रदान गर्ने होइन। त्रिरत्नभित्रको संघ भन्नाले हामी ती उच्च कोटीका बौद्ध अभ्यासी बुझ्छौं जसले बुद्धले सम्पूर्ण रूपमा हासिल गर्नुभएको अवस्थाको केही अंश हासिल गरिसकेका छन्।
हामीले उठाउने पहिलो कदम यही हुनुपर्छ। आफ्नो जीवनलाई एक सुरक्षित दिशा प्रदान गर्ने प्रयास गम्भीरतापूर्वक गर्नुपर्छ। यसैका लागि हामी क्रियाशील हुन्छौं। बुद्धले सम्पूर्ण रूपमा र संघले आंशिक रूपमा जुन अवस्था हासिल गरेका छन्, त्यही अवस्था हासिल गर्ने उद्देश्यले हामी साधना गर्छौं। आफ्नो जीवनमा यो दिशा निर्धारित गर्नाले हाम्रो हरेक पक्षमा अद्भूत प्रभाव पर्न थाल्नेछ, किनकि त्यतिबेला हाम्रो जीवनले एक अर्थ र मार्गनिर्देश प्राप्त गरेको हुन्छ। हामीले आफ्ना कमीकमजोरीहरू हटाउन र आफ्नो पूर्ण सम्भाव्यता हासिल गर्न प्रयत्न गर्न थाल्नेछौं। त्यसबाट हामी भावनात्मक रूपमा सुखी हुन्छौं, किनकि हामी यो ढंगले सोच्न छाड्नेछौं – “यो जीवन के हो मलाई धेरै थाहा छैन। म यहाँ के गर्दैछु भन्ने पनि थाहा छैन। मेरो जीवनको कुनै अर्थ नै छैन।” यसरी सोच्ने अवस्था भनेको मनको दुःखपूर्ण अवस्था हो। अक्सर यस्तो सोच तब आउँछ, जब हामी पैसाको पछाडि मात्र चक्कर लगाइरहेका हुन्छौं। हुनत हामी प्रायः सुन्ने गर्छौं, “पैसाबाट मनको खुशी किन्न सकिँदैन।” वास्तवमा सत्य त्यही हो।
अकुशल कर्मबाट बच्नु
यो सुरक्षित दिशा ग्रहण गरिसकेपछि के गर्ने? यसको आधारमा निकृष्ट पुनर्जन्मबाट कसरी बच्न सकिएला? यसको उपाय भनेको कायिक, वाचिक, मानसिक सबै स्तरमा अकुशल कर्म (विनाशकारी व्यवहार) गर्न छाड्ने हो। रिस, लोभ, आसक्ति, अबोधपन, इर्ष्या, अहंकार लगायत अनेकौं क्लेशको वशमा परी यी तीन प्रकारका अकुशल कर्म गर्न सकिन्छ, त्यो छाड्ने हो। हामीलाई प्राप्त यो अमूल्य मानव जीवनको सदुपयोग गर्ने सबैभन्दा उत्तम प्रारम्भिक उपाय भनेको त्यसरी काम गर्न, बोल्न, र सोच्न बन्द गर्ने नै हो।
यद्यपि हामीले यो सब एक बौद्ध प्रणालीभित्र बसेर गर्नुपर्ने हुन्छ। सामान्यतया सबै धर्मले मार्ने र चोर्नेजस्ता विनाशात्मक व्यवहार नगर्ने शिक्षा दिन्छन्। तर बौद्ध प्रणालीमा के भिन्नता छ भने यसलाई एक कानुनका रूपमा लागू गरिँदैन। कुनै दैवी तत्त्व, व्यवस्थापिका वा सरकारले निर्माण गरिदिएको कानुनजस्तो यो होइन। कानुनमा “तिमीले कानुन मान्नुपर्छ, नत्र तिमीलाई सजाय दिइनेछ।” भनिन्छ, तर बौद्ध विनयमा त्यसो भनिँदैन। नागरिक कानुनमा हामी घुस खुवाएर वा एक अब्बल वकिलको सेवा लिएर सजायबाट उम्किन सक्छौं। त्यस्तै कानुनको पालना गरे असल नागरिक र गरेन भने खराब अथवा अपराधी ठहरिन्छ। बुद्धधर्ममा त्यसो हुँदैन। आज्ञापालक बन्नु बौद्ध विनयको मर्म होइन।
कुशल कर्म गर्नु
बुद्धधर्ममा कुशल कर्म (सकारात्मक व्यवहार) को अर्थ बुझ्नु आवश्यक छ। यसका लागि पहिले त अकुशल कर्मको कोणबाट हेर्नु आवश्यक हुन्छ। उदाहरणका लागि, हत्या वा प्राणहरण गर्नुको एक रूप शिकार खेल्नु हो। तर हामीले कहिल्यै पनि शिकार नखेलेका हुन सक्छौं र हामीलाई त्यसप्रति रुचि नै नभएको हुन सक्छ। त्यो अवस्थामा हामीले शिकार नखेल्नु भनेको कुशल कर्म हुन सक्दैन, यद्यपि नखेल्नु एक राम्रो काम हो। बरु लामखुट्टेलाई प्याट्ट हानेर मार्ने इच्छा भयो, तर त्यसो गरेनौं भने त्यो चाहिँ कुशल कर्म हो। त्यो इच्छालाई व्यवहारमा उतार्दा हामी रिसको वशीभूत भएका हुन्छौं, आफ्नो बारेमा मात्र सोचिरहेका हुन्छौं, म, म, म भन्ने भावले मात्र काम गरिरहेको हुन्छ। यो बुझ्नु आवश्यक छ। यदि लामखुट्टेलाई मार्यौं भने आफूलाई कुनै कुरा मन नपर्ने बित्तिकै त्यसलाई मारिहाल्ने प्रबल बानीको विकास हुन जान्छ। त्यसैले लामखुट्टेलाई मार्नुभन्दा त्यसलाई कुनै कपभित्र पकडेर बाहिर लगी छाडिदिने शान्तिपूर्ण उपाय अपनाउन सक्छौं। त्यसैले प्राणीहत्याको सन्दर्भमा कुशल कर्म भनेको कुनै प्राणीलाई मार्ने इच्छा हुँदा पनि मार्नबाट आफूलाई रोक्नु हो। कार्य र कारणको सिद्धान्त थाहा भएका कारण हामी आफूलाई रोक्छौं। यसरी कुशल कर्म गर्दा हाम्रो चित्तमा प्रबल सकारात्मक उर्जाको विकास हुन्छ।
यस्तो कुशल कर्मको अभ्यास अझ उन्नत स्तरमा पनि गर्न सकिन्छ। लामखुट्टेलाई नमार्ने मात्र होइन, त्यसलाई खान दिने सम्मको अभ्यास गर्न सक्छौं। हामी आफ्नो रगतको अंश उसलाई खान दिन सक्छौं, किनकि हाम्रो शरीरमा पर्याप्त मात्रामा रगत छ। मैले केही त्यस्ता मानिस भेटेको छु, जसले यसको अभ्यास गर्छन्। हामी शिकार खेल्दैनौं भन्नु मात्र त्यति ठूलो कुशल कर्म होइन।
बुद्धधर्ममा नैतिकताको आधार कार्यकारणको सिद्धान्त बुझ्नु हो
बुद्धधर्मको नैतिकता कुनै निश्चित तरीकाले काम गर्दा निश्चित नतीजा प्राप्त हुन्छ भन्ने बोध, तथा कुन कुरा लाभप्रद छ र कुन हानिकारक भन्ने निक्र्यौल गर्नसक्ने क्षमतामा आधारित हुन्छ। उदाहरणका लागि अकुशल खालको कार्य गर्यौं भने त्यसले हाम्रो चित्तलाई दुःखी र विचलित तुल्याउँछ। तैपनि आफूमा विद्यमान केही मूलभूत अज्ञानताका कारण हामी त्यस्तो कर्म गर्छौं। प्रथमतः अकुशल कार्य गर्दा त्यसले हाम्रो आफ्नै विनाश हुन्छ भन्ने थाहा हुँदैन। उदाहरणका लागि लागूपदार्थ वा रक्सीको दुर्व्यसनलाई लिन सक्छौं। दोश्रो, त्यसको सेवनले लठ्ठ हुँदा वा मात्तिँदा आफ्ना सबै समस्याबाट मुक्त हुन्छौं भन्ने मिथ्या सोच राखिरहेका हुन सक्छौं।
यसरी नैतिक व्यवहारको आधार बुझेपछि हामी यो पनि बुझ्छौं कि कुनै अकुशल कर्म गर्नुको मतलब यो होइन कि हामी भित्रैदेखि खराब छौं, बरु यो हो कि हामी भ्रमित छौं। त्यस्तै अरुले अकुशल कर्म गर्छन् भने त्यसको अर्थ उनीहरू खराब छन् र सजायको हकदार छन् भन्ने होइन, बरु उनीहरू भ्रमित र विचलित छन् भन्ने हो। उनीहरू करुणाको पात्र हुन्, हामी उनीहरूलाई भ्रमबाट मुक्त हुन सहयोग गर्न सक्छौं। उनीहरूले अरुलाई हानि गर्ने सम्भावना छ भने बरु पक्राउ गर्न सक्छौं, तर त्यसो गर्दा हाम्रो चित्तको अवस्था बेग्लै हुनुपर्छ। उनीहरूलाई दण्डित वा पीडित गर्ने होइन, सहयोग गर्ने भावना हामीमा हुनुपर्छ। उनीहरूको चित्तमा अकुशल कर्मको प्रवृत्तिले निरन्तरता पाउँछ र त्यसबाट निस्कन सहयोग गर्ने कुनै कदम हामीले चालेनौं भने उनीहरूले भविष्यमा पनि विनाशात्मक कार्य गरिरहन सक्छन्।
तर प्रेरणाको यो प्रारम्भिक स्तरमा हामी मूलतः आफैंमा केन्द्रित भएर काम गर्छौं र भविष्यमा आइपर्न सक्ने भयानक अवस्थाहरूबाट मुक्ति पाउन खोज्छौं। धर्म–लाइटको तहमा यो भनेको वर्तमान जीवनमै केन्द्रित हुन्छ भने रियल थिंग धर्मको तहमा भविष्यका जन्महरूसम्मको विचार गरिन्छ। यो प्रारम्भिक स्तरमा हामी आफ्नो अमूल्य मानव जीवनलाई कसरी उपयोग गर्ने भन्नेतर्फ प्रयत्नशील हुन्छौं र त्यसका लागि एक सुरक्षित दिशा लिन्छौं। यो जीवन एक दिन गुम्नेछ भन्ने बोधका साथ हामी यसको मूल्यप्रति सजग हुन्छौं र भविष्यमा पनि मानव जीवन नै निरन्तर प्राप्त होस् भन्ने सुनिश्चित गर्न खोज्छौं। निर्वाण र बोधिको लक्ष्य हासिल गर्न एकदमै लामो समय लाग्छ, त्यसैले हामीलाई मानव जीवन चाहिने हो। जसरी धर्म–लाइटको तह रियल थिंग धर्मको दिशामा एक पाइला हो, त्यसरी नै हामीले यहाँ चर्चा गरेको प्रारम्भिक स्तरको प्रेरणा उन्नत र उच्चतम स्तरहरूसम्म पुग्ने दिशामा पहिलो कदम हो।
सारांश
प्रारम्भिक स्तरको प्रेरणामा हामी आफूलाई प्राप्त यो अमूल्य मानव जीवनको स्मरण गर्छौं। यो मानव शरीर हामीलाई प्राप्त छ, र अनेकौं अवसर प्राप्त छन्। सबैभन्दा महत्त्वपूर्ण त हामीसँग मानव बुद्धि छ, जसको सहयोगले आफूले खोजेको जेसुकै कुरा पनि हासिल गर्न सक्छौं।
तर हामीलाई प्राप्त यो अद्भूत अवसर पनि सधैं रहनेवाला छैन, किनकि कुनै पनि चीज सधैँ रहँदैन। हामी जतिसुकै धनी किन नहोउँ, अथवा जतिसुकै प्रसिद्ध, साथीभाइले युक्त र बलशाली शरीरवाला किन नहोउँ, हामी एक दिन मर्ने नै छौं। हाम्रो मृत्युलाई रोक्ने कुनै तत्त्व छैन, न त यहाँ हाम्रो समय कहिले सकिन्छ भन्ने कुनै हिसाबले जान्न नै सक्छौं। त्यसैले के भनिन्छ भने मृत्युलाई राम्रोसँग आत्मसात गर्न सक्यो भने मामुली तरीकाको मात्र जीवन व्यतीत गर्न असम्भव हुन्छ।
वर्तमान जीवन नाजुक छ र यसको अन्त कुनै बेला पनि हुन सक्छ भन्ने बोध भएपछि मृत्युपश्चात के हुन्छ भन्ने कुरा सोच्न थाल्छौं। अनेक अवस्थामा हाम्रो पुनर्जन्म हुन सक्छ, त्यसका अनेक सम्भावनाहरू छन्, र त्यसमध्ये धेरै त एकदमै भयपूर्ण अवस्था पनि छन्। त्यसकारण हामी आफ्नो जीवनलाई एक सुरक्षित दिशा प्रदान गर्छौं।
यो सुरक्षित दिशाले हामीलाई भविष्यमा दुःख सिर्जना गर्ने अकुशल कर्म गर्नबाट रोक्छ, र खुशी सिर्जना गर्ने कुशल कर्म गर्न प्रेरित गर्छ। यसरी हामी आफ्नो भविष्यका जन्महरू उन्नत अवस्थामा होऊन् भन्ने सुनिश्चित गर्छौं।