बौद्ध मार्गक्रमको अनुसरण कसरी र किन गर्ने

लामरिम के हो र यो बुद्धको शिक्षाबाट कसरी विकसित भयो?

मार्गक्रम अर्थात् लाम–रिम बौद्ध शिक्षा ग्रहण गर्ने र त्यसलाई आफ्नो जीवनमा उतार्ने उपाय हो। बुद्धको जीवनकाल २५०० वर्ष अगाडिको हो। उहाँले भिक्षुहरू र पछि भिक्षुणीहरूलाई समेत शिक्षा दिनुभयो। त्यसका अतिरिक्त उहाँलाई गृहस्थीहरूले पनि आफ्नो घरमा आमन्त्रण गर्थे, भोजन अर्पण गर्थे र उहाँबाट शिक्षा लिन्थे। 

बुद्धले सधैँ “उपाय कौशल” को प्रयोग गर्दै शिक्षा दिनुभयो। अर्थात्, सुन्ने मानिसले जसरी ग्रहण गर्न सक्थे, त्यसैगरी शिक्षा दिनुभयो। त्यो आवश्यक थियो किनकि त्यतिबेला मानिसको बुद्धि र आध्यात्मिक जागरणको अवस्था एकसमान थिएन। अहिले पनि हुँदैन। त्यसैले बुद्धले विविध विषयमा विभिन्न स्तरबाट शिक्षा प्रदान गर्नुभयो। 

बुद्धका धेरै शिष्यहरूको स्मरणशक्ति असाधारण क्षमताको थियो। त्योबेला शिक्षालाई लेखेर राख्ने चलन थिएन, केवल भिक्षुहरूले आफ्नो स्मरणमा कण्ठस्थ राख्थे। एक पछि अर्को पुस्तामा ती शिक्षालाई मौखिक रूपमै हस्तान्तरण गरियो। अन्ततः शिक्षालाई लेखनमा पनि उतारियो, जसलाई सूत्र भन्न थालियो। केही शताब्दीपश्चात महान भारतीय आचार्यहरूले ती सामग्रीलाई व्यवस्थित गर्ने र तिनमा भाष्यहरू लेख्ने प्रयत्न गरे। ती महान भारतीय आचार्यहरूको श्रृंखलाका अतीश तिब्बत पुग्नुभयो, र त्यहाँ उहाँले एघारौं शताब्दीमा बुद्धशिक्षालाई लाम–रिमको प्रारूपमा प्रस्तुत गर्नुभयो। 

अतीशले प्रस्तुत गर्नुभएको प्रारूपले मानिसहरूलाई बुद्धत्व प्राप्तिमा अग्रसर हुने मार्ग दियो। सूत्रहरूलाई अव्यवस्थित ढंगले पढ्दैमा स्पष्ट आध्यात्मिक मार्ग भेटाइन्छ वा बोधि लाभ हुन्छ भन्ने छैन। हुनत त्यसका लागि चाहिने सबै शिक्षा सूत्रहरूमा छन्, तर तिनलाई व्यवस्थित ढंगले ग्रहण गर्न त्यति सहज छैन। 

लाम–रिमले हामीलाई त्यस्तो व्यवस्था प्रदान गर्छ। बुद्धशिक्षालाई व्यवस्थित क्रममा हामीलाई उपलब्ध गराउँछ। अतीशपश्चात यसलाई थप विकसित गर्ने काम भयो र तिब्बतमा यो मार्गक्रमको थप विस्तारित संस्करणहरू आए। हामी पन्ध्रौं शताब्दीमा चोङ्खापाले लेख्नुभएको संस्करणको चर्चा गर्नेछौँ, जुन सम्भवतः लाम–रिमको सबैभन्दा विस्तृत रूप हो। चोङ्खापाको संस्करणमा सूत्र र भारतीय आचार्यका भाष्यहरू उद्धृत छन्, त्यसकारण उहाँले त्यत्तिकै हावादारी गफ दिनुभएको होइन भन्ने कुरामा हामी ढुक्क हुन सक्छौं।

यसमा अर्को महत्त्वपूर्ण कुरा के छ भने चोङ्खापाले सबै विषयमा विस्तृत र तर्कसंगत प्रमाण पेश गर्नुभएको छ।त्यसैले हामी शिक्षालाई तर्क र विवेकको कसौटीमा राखेर लिन सक्छौं, जसबाट शिक्षा प्रामाणिक भएको कुरामा अझ दृढ विश्वास हुन्छ। चोङ्खापाको विशेषता के हो भने अन्य ग्रन्थकारले चर्चा गर्न नचाहेका जटिल विषयलाई पनि उहाँले सम्बोधन गर्नुहुन्थ्यो।

तिब्बतका चार बौद्ध परम्परामध्ये चोङ्खापाबाट स्थापित परम्परालाई “गेलुक्पा” भनिन्छ।

Top